ताप्लेजुङ: पहिरोमा परेर घाइते हुनुभएका सिरिजङ्घा गाउँपालिका–६ मामाखेका ६३ वर्षीय पदमबहादुर लिम्बूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । वडा कार्यालयले वितरण गरेको राहत सामग्री बुझेर घर फर्किने क्रममा माथिबाट झरेको पहिरोमा परेर गम्भिर घाइते हुनुभएका लिम्बूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी नोबेल अस्पताल विराटनगर लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार शुक्रबार साँझ राहत सामग्री लिएर घर फर्किने क्रममा माथिबाट झरेको पहिरोले बगाएको थियो । पहिरोले करिब १५ मिटर तल बगाएर हाङ्खोलामा पुगेका लिम्बूको टाउकोमा गम्भीर चोट लागेको थियो । लिम्बूलाई गाउँलेले उद्धार गरेर स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गराएका थिए । गएको जेठ ३२ देखि असार ४ गतेसम्मको पहिरोले मामाखेमा धेरै क्षति पुगेको छ ।
चितवन: चितवनको भरतपुरस्थित होटलमा एक चिनियाँ नागरिक मृत फेला परेका छन् । बीपी कोइराला क्यान्सर अस्पताल अगाडिको बर्षना होटलमा बस्दै आएका ५६ वर्षीय पियान छाङ्गसिन आज बिहान मृत फेला परेका हुन् । यही असार १० गतेदेखि सो होटलमा बसेर उनले बीपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए । उनी आज बिहान ८ बजेर ५५ मिनेटमा होटलको कोठाभित्र मृत फेला परेको प्रहरीले जनाएको छ । क्यान्सर पीडित छाङ्गसिनको मृत्युको कारण खुलेको छैन । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले धानखेतीमा पारेको बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्दै धान उत्पादन एवं उत्पादकत्व बढाउन सरकार, कृषक र सरोकारवाला पक्षलाई सचेत र जागरुक बनाउनुपर्ने आजको आवश्यकता रहेको बताउनुभएको छ । एक्काइसौँ राष्ट्रिय धान दिवस, २०८१ का अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले धानबालीमा जलवायुमैत्री प्रविधिहरूको अवलम्बन गराई उत्पादनमा वृद्धि गरी धान चामलको आयात प्रतिस्थापन, खाद्य सुरक्षाको सुनिश्चितता गर्न र कृषि श्रमको सम्मान गर्ने संस्कृति बसाल्न आजको दिनले प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले खाद्य सुरक्षा र आत्मनिर्भरताको राष्ट्रिय लक्ष्य प्राप्तिका लागि आजको दिनले थप उत्साह प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । “नेपालको संविधानले प्रत्येक नागरिकको खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक पनि सुनिश्चित गरेको छ । नेपालको धानखेती आकासे सिचाइँमा निर्भर छ । वर्षा राम्रो नभएको वर्ष धान उत्पादन घट्ने र वर्षा राम्रो हुँदा उत्पादन बढ्ने गरेको सन्दर्भमा धानखेती योग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउन राज्यको सम्पूर्ण ध्यान केन्द्रित हुन जरुरी छ भन्ने म ठान्दछु”, राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देसमा भनिएको छ । राष्ट्रपति पौडेलले कृषि क्रान्तिको पहिलो कदम सिँचाइ सुविधा भएको भन्दै आधुनिक खेती प्रणालीमार्फत जनताको जीवनस्तर माथि उठाउन खेतीयोग्य जमिनमा सिँचाइ सुविधासहित आधुनिक उपकरण, मल, उन्नत बीऊ र दक्ष जनशक्ति तयार गर्न हाम्रो ध्यान जान जरुरी रहेको उल्लेख गर्नुभयो । धान एवम् चामल आयात बर्सेनि बढ्दै जानु चिन्ताको विषय भएको भन्दै उहाँले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुनेतर्फ हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने खाँचो औँल्याउनुभयो । राष्ट्रपति पौडेलले देशको श्रम शक्ति वैदेशिक अध्ययन तथा रोजगारीका लागि दैनिक सयौँका सङ्ख्यामा विदेश पलायन हुनाले कृषि क्षेत्रमा जनशक्तिको अभाव हुनु दुःखद् हो भन्दै कृषिलाई आकर्षक पेसाका रुपमा विकास गरी विदेश पलायन हुने जनशक्तिलाई स्वदेशमा नै रोक्ने पहल गर्न आग्रह गर्नुभयो । साथै, उहाँले खानामा भातको मात्र भर पर्ने बानीलाई वैकल्पिक रुपमा लिई खाने बानी परिवर्तन गरेर अन्य बालीलाई समेत प्रवद्र्धन गर्न हामीले उत्तिकै ध्यान दिनु जरुरी छ भन्नुभयो । उहाँले धान दिवसका अवसरमा सम्पूर्ण नेपाली किसान, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना समेत व्यक्त गर्नुभएको छ । धानको उत्पादन वृद्धि आधुनिकीकरण र व्यावसायिकीकरणलाई प्रवद्र्धन गर्ने हेतुले विसं २०६१ देखि प्रत्येक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो । यसवर्ष ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने राष्ट्रिय नाराका साथ २१औँ राष्ट्रिय धान दिवस मनाइएको छ । नेपाल कृषि प्रधान देश हो । यहाँका अधिकांश जनता कृषिमै निर्भर छन् र हाम्रो प्रमुख खाद्यान्न बाली धान हो ।
बागलुङ: बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन् । बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गएराति पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो । अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको छ । यसैबीच पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ । कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीशेरा सडक पनि अवरुद्ध छ ।
काठमाडौं: प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभ काममा निस्कनु अघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ । पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रुप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ । आज धान दिवस विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश जनतको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापा छ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ । यस वर्ष असार मध्यसम्म पनि पर्याप्तमात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुन सकेको छैन । कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको जनाएको छ ।
पोखरा: गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुुकुुमार थापाले आत्मनिर्भरका लागि सीप विकास तालिम आवश्यक रहेको बताएका छन् । शुक्रबार गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गतको व्यावसायिक तथा सीप विकास तालिम केन्द्रले आयोजना गरेको तीन महिने सीप विकास तालिमको समापन कार्यक्रममा बोल्दै उनले युवा जनशक्तिहरुलाई श्रम बजार अनुुकुलको ज्ञान र सीपको आवश्यकता रहेको बताएका हुन् । “सीपले आत्मनिर्भर बनाउछ, स्वरोजगार बन्न प्रेरित गर्छ । आशा छ, प्रदेश सरकारले उपलब्ध गराएको तालिमले सहभागी सबै युवाहरु लाभन्वित हुनुुभयो । स्वरोजगार बनी अन्यलाई रोजगार दिने बाटोमा यहाँहरु अग्रसर रहनुहुुनेछ भन्ने अपेक्षा लिएको छु ।’, उनले भने । मन्त्री थापाले सीप सिकेर खेर नजाने र कुुनै न कुुनै समयमा काम लाग्ने उल्लेख गरे । आफुु पनि सुरुवातको समयमा बेरोजगार हुँदा परदेशिने योजना बनाएता पनि सीप विकास तालिमले नै देशमै बस्ने वातावरण सिर्जना गरेको र यहाँसम्म पु¥याएको अनुभव सुुनाए । आत्तिएर कुुनै पनि काम नबन्ने र धैर्यताको खाँचो युवामा रहेको भनाई उनको छ । प्रदेश सरकारले नेपालमा नै बसेर स्वरोजगार तर्फ आकर्षण बढाउन युवा लक्षित कार्यक्रम ल्याएको उनले उल्लेख गरे । सीप सिक्नेहरुका लागि अवसर थुप्रै रहेको बताउँदै सीपबाट वञ्चित नहुन उनको आग्रह छ । बेसीकसँगै एडभान्स लेवलको सीप विकास तालिममा समेत प्रदेश सरकारले लगानी गर्ने प्रतिबद्धता उनको छ । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र पोखराका केन्द्र प्रमुख लक्ष्मी भद्र वाग्लेले चालु आर्थिक वर्षमा मात्रै ३६ वटा तालिम गर्न आफुहरु सक्षम भएको बताए । जसमा १९५१ जनाको आवेदनमा ७०५ जनाले तालिम लिएको भनाई उनको छ । तालिमबाट सीप सिकी नेपालमा नै बस्ने प्रेरणा युवालाई मिलेको विश्वास उनले लिएका छन् । तालिम लिएर आफ्नो अनुभव सुनाउँदै पोखरा २० की अस्मिता बस्नेतले सीप विकास तालिमले आफुलाई दक्ष बनाएको बताइन् । आधारभूत केश श्रृङ्गारको तालिम लिएकी उनले स्वरोजगार बन्न प्रेरित भएको सुुनाइन् । उनले आफुले सिकेको सीपलाई कार्यान्वयनमा लाने र नेपालमा नै केही गर्ने प्रतिबद्धता व्यक्त गरिन् । फेशन डिजाइन, प्लम्बिङ, आधारभूत केश श्रृङगार, कपाल काट्ने सैलुन, विद्युत जडान, एडभान्स ब्युुटिपार्लर जस्ता विभिन्न ६ वटा विषयगत तालिम उपलब्ध गराइएको थियो । जसमा करिब १ सय ६० जना प्रशिक्षार्थीको सहभागिता रहेको जनाइएको छ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति र परिवर्तनका उपलब्धीहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको बताउनुभएको छ । ‘साहसिक योद्धा जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू’ पुस्तक आज यहाँ लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित सरकार अघि बढिरहेको बताउनुभयो । “हजारौँ महान् शहिदहरू, हजारौँ बेपत्ता योद्धाहरू र लाखौँ क्रान्तिकारी योद्धाहरूले त्याग, तपस्या र बलिदानको जगमा आज हामी समाजवादउन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेका छौँ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यी उपलब्धीहरूलाई संस्थागत गर्दै समाजवादको यात्रा तय गर्नुपर्छ ।” जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि क।बोहराले देश र जनताको मुक्ति र परिवर्तनलाई नै केन्द्रमा राखेर काम गर्नुभएको स्मरण गर्दै प्रधानमन्त्रीले नेपाली समाजको क्रान्तिकारी रूपान्तरणका पक्षमा भएको महान् जनयुद्धको दौरानमा समेत उहाँको महत्त्वपूर्ण योगदान गर्नुभएको उल्लेख गर्नुभयो । एकदलीय निरङ्कुश पञ्चायती व्यवस्थाका विरूद्ध जनताले गरिरहेको वीरतापूर्ण प्रतिशोधमाथि दमनस्वरूप २०४० सालको माघे सङ्क्रान्तिका दिन सिन्धुपाल्चोक जिल्लाको पिस्करमा सर्वसाधारण जनतामाथि निर्मम दमन र हत्या भएको थियो । स्थानीय समुदायले माघीको अवसरमा शान्तिपूर्ण सांस्कृतिक कार्यक्रम भइरहँदा पञ्चायती शासकहरूले गरेको आक्रमणमा परी पिस्करमा इले थामी र वीरबहादुर थामी लगायतका योद्धाहरूले उच्च बलिदान गर्नुभएको थियो । उक्त घटनामा छत्रबहादुर बोहरा, मानबहादुर थामी, मेघनाथ पौडेल, अरूण नेपाल, सरेश नेपाल, गोपाल थपलिया लगायतका दर्जनौँ योद्धाले जेलनेल र यातनाको सामना गर्नुपरेको थियो । जगतबहादुर बोहरा उक्त घटनामा सख्त घाइते हुनुभएको थियो ।
काठमाडौं: प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा रहेका नेपाली मतदातालाई निर्वाचन प्रक्रियामा सहभागी गराउने विषयमा राजनीतिक दल र सम्बद्ध पक्षबीच गहन छलफल आवश्यक रहेको बताउनुभएको छ । निर्वाचन आयोग र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रमुख आयुक्त थपलियाले स्वदेशमै एक ठाउँमा मतदाता नामावली भएर अर्को ठाउँमा बस्ने र नेपालमा मतदाता भएर विदेशमा बस्नेलाई मतदानको अधिकारबाट वञ्चित नगराउने मुद्दा विश्वव्यापी सरोकारको विषय भएको बताउनुभयो । उहाँले विद्यमान संवैधानिक व्यवस्था, अन्तर्राष्ट्रिय तथा कानुनी अभ्याससमेतका आधारमा कानुनी र व्यवस्थापकीय प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभयो । आयोगका सचिव रविलाल पन्थले बसाइँसराइ नागरिकको अधिकार र आवश्यकताको विषय हुने भएकाले विदेशमा रहेका मतदातालाई मताधिकारबाट वञ्चित नगर्ने सवालमा आयोग गम्भीर रहेको बताउनुभयो । उहाँले गत निर्वाचनमा कतिपय जिल्ला र क्षेत्रमा ५० प्रतिशतभन्दा कम मत खसेको पाइएकाले आप्रवासनको समस्याका कारण त्यसो भएको हुनसक्ने उल्लेख गर्नुभयो । कार्यक्रममा यससम्बन्धी विज्ञ, विभिन्न राजनीतिक दलका प्रतिनिधि र सरोकार भएकाहरुबीच छलफलपछि रायसुझाव तयार गर्ने कार्यसूची छ । सर्वोच्च अदालतले २०७४ चैत १७ गते विदेशमा बस्ने नेपालीलाई निर्वाचनमा मतदान दिने कानुनी प्रबन्ध गर्न आदेश दिएपछि आयोग र नेपाल सरकारले कार्यान्वयनका लागि पहल गर्दै आएका छन् ।
काठमाडौं: स्थानीय सीतापाइलास्थित सिभिल होमनजिक छमछमे खोलाको कल्भर्टमा कार खस्दा चालकको मृत्यु भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार नागार्जुन नगरपालिका–६ खरिटारका ४५ वर्षीय पूर्ण दर्नालको मृत्यु भएको हो । दर्नाल आफैँले चलाएको बाप्र ०२७ च ०४९१ नम्बरको कार कल्भर्टबाट खसेर उक्त दुर्घटना भएको थियो । राती खसेका उनको आज बिहान उद्धार गरिएको हो । उनको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।