पोखरा:  पोखराका पत्रकार रुद्र श्रीस मगरलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ अर्पण गरिने भएको छ ।  नेपाल मगर पत्रकार संघका केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय मौलिक कौराहा ...

काठमाडौं:     आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ। होटल याक एन्ड यतीमा असार १६ गते भएको उक्त समारोहमा ३ सय ९० जना विद्यार्थीहरू दीक्षित भएका छन्। सन्डरल्यान्ड विश्वविद्यालयको उच्च तहका प्रतिनिधिहरू र अभिभावकको उपस्थितिमा सम्पन्न उक्त दीक्षान्त समारोहमा बिबिए, बिएचएम, बिएससी, आइटी (सिएसइ) मा उत्तीर्ण गरेका विद्यार्थीहरू दीक्षित भएका हुन्। आइएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा सन्डरल्यान्ड विश्वविद्यालयको सम्बन्धन कलेज सञ्चालन गर्दै आइरहेको छ।

लमजुङ:     वर्षाले पहिरो जाँदा डुम्रे– बेँसीसहर सडक अवरुद्ध भएको छ । सो सडकअन्तर्गत बेँसीसहर नगरपालिका– १ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईँका अनुसार सो स्थानमा पटकपटक पहिराले सडक अवरुद्ध बनाउँदै आएको छ  । सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् । लमजुङ–तनहुँ जिल्ला जोड्ने मुख्य यस सडक हुँदै बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवन, भैरहवालगायत स्थानमा जाने र सो स्थानबाट बेँसीसहर र मनाङ आउने यात्रुलाई बर्खायाममा बर्सेनि समस्या हुँदै आएको छ ।

म्याग्दी:      पहिराका कारण अवरुद्ध बनेको म्याग्दीको बेनी–दरबाङ सडक ३ दिनपछि सञ्चालनमा आएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतमा गत शुक्रबार पहिरो जाँदा सडक अवरुद्ध बनेको थियो । पहिरोले सडक बगाएपछि २४ किलोमिटर दूरीमा पर्ने जिल्लाको पश्चिमी भेग धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने उक्त खण्डमा आवतजावत पूर्ण रुपमा बन्द भएको थियो । बांगे भिर, घुमाउने भिर र तोराखेतमा गएको पहिरोले सडक अवरुद्ध भएको थियो । पहिरो गएको ठाउँमा ग्यावीयन पर्खाल र नयाँ ट्र्याक खनेर सडक मर्मत गरेपछि आजदेखि नियमित सञ्चालनमा आएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा आवतजावत, निर्माण र खाद्यान्न सामग्री ढुवानीका साथै बिरामीलाई अस्पताल पुर्‍याउन समस्या भएको थियो । यसैबीच बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेत खण्डमा पर्ने बेनी–दरबाङ सडकको वैकल्पिक मार्ग खोजिनुपर्ने म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले जोड दिए । भौतिक पूर्वाधार मन्त्रालयसहित सरोकार भएकासँग पहिरोको समस्यालाई दीर्घकालीन समाधान गर्न छलफल भइरहेको उनले बताए । सडकदेखि करिब दुई सय मिटरमाथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ । ‘यहाँ १८ वर्षअघि सडक खोल्नुपूर्व पहिरोको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा वर्षायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको छ’, सांसद गर्बुजाले भने, ‘पश्चिम म्याग्दीमा रहेका मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका स्थानीय सदरमुकाम बेनीसम्म पुग्न वर्षामा जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।’

काठमाडौं:     जल तथा मौसमविज्ञान विभागले आजदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जानुका साथै मुलुकको अधिकांश भूभागमा वर्षा कम हुने पूर्वानुमान गरेको छ । विभागका अनुसार न्यूनचापीय रेखा क्रमिक रुपमा दक्षिणतर्फ सर्दै जाने भएकाले मुलुकमा मनसुनको सक्रियतामा कमी आई आजदेखि वर्षा कम हुनेछ । मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् सरोज पुडासैनीले आजदेखि केही दिनसम्म अधिकांश स्थानमा वर्षा कम हुने जानकारी दिनुभयो । “आइतबारसम्म न्यूनचापीय रेखा उत्तरतर्फ भएकाले भारी वर्षा भएको थियो, आजदेखि उक्त रेखा दक्षिणतर्फ सर्दै जाने भएकाले मनसुन कम सक्रिय हुनेछ”, उहाँले भन्नुभयो । आजदेखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना भने रहेको मौसमविद् पुडासैनीले बताउनुभयो । उहाँका अनुसार मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  वर्षाका कारण भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै खहरे खोलामा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु हुन सर्वसाधारण तथा सरोकार भएका सबैलाई विभागले अनुरोध गरेको छ ।

दाङ:      दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन् ।  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएका जानकारी दिए ।  आज विहान तुलसीपुर उपमहानगरपालिका–९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरुलाई बाघले आक्रमण गरेको थियो ।  केसीको दुवै हातमा सामान्य चोट लागेको छ, त्यस्तै सीताको ढाड र पेटमा तथा सरिताको दायाँ हातमा सामान्य चोट लागेको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइहरेको छ । 

नवलपुर:    निरन्तर परेको वर्षाको कारण नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरकाअनुसार अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहज रुपमा सञ्चालन गराउनका लागि पहल भइरहेको बताए ।  ‘पानीमा सडक विस्तारको काम गर्न सकिने अवस्था नभएपछि अहिले यातायात सहज बनाउनेतर्फ हामीले ध्यान दिएका छौँ,’ उनले भने, ‘निर्माण कम्पनीले आफ्नो जनशक्ति र उपकरण सडक अवरुद्ध भएको ठाउँमा यातायात सहज बनाउन लगाएको छ ।’ सडकमा भएका खाल्डाखुल्डी पुर्ने, पानीले बाटो चिप्लो भएको ठाउँमा गिटी राख्ने, पहिरो हटाउनेलगायतको काममा निर्माण व्यवसायीलाई खटाइएको उनले बताए ।  ‘यसवर्षको मनसुन सुरु भएपछि एक हप्ता अगाडिदेखि नै निर्माण कम्पनीले आफ्नो स्रोतहरु घटाउँदै लगेको थियो,’ उनले भने, ‘पानी परेपछि सडक विस्तारको काम गर्न नमिल्ने भएकाले काम बन्द गरिएको हो ।’ साढे तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी विसं २०७५ माघमा सडक बिस्तारको लागि सम्झौता भएर काम सुरु गरिएको सडकको भौतिक प्रगति हालसम्म ५२ प्रतिशतमात्रै देखिएको योजना प्रमुख मगरले बताए । नारायणगढ बुटवल सडकको ११४ किलोमिटरमध्ये पूर्वी खण्डमा ६५ किलोमिटर सडक पर्दछ ।  समयमै सडक विस्तारको काम नसकेको निर्माण कम्पनी चाइना स्टेट इन्जिनीयरिङ कर्पोरेसन लिमिटेडले दोस्रो पटक पाएको म्याद थपको अवधि यही साउन ८ गते सकिँदैछ । म्याद सकिन लागेपछि निर्माण कम्पनीले अझ एक वर्ष म्याद थपका लागि निवेदन दिएको मगरले बताए। ‘निर्माण कम्पनीले विभिन्न कारणहरु देखाउँदै म्याद थपका लागि निवेदन दिएको छ,’ उनले भने, ‘काम सुरु गर्ने बेलामा फैलिएको कोभिड प्रकोप, ढिला गरि दिइएको रुख काट्ने स्वीकृति, बिजुलीको पोल सार्न भएको ढिलाइसहित पुरानै कारण देखाएर म्याद थपका लागि निवेदन दिएको छ ।’ निर्माण कम्पनीले दिएको निवेदनको आधारमा कति दिन म्याद थप गर्दा उचित हुन्छ भन्ने विषयमा आफूहरु छलफलमा नै रहेको मगरले बताए । ‘कति दिन म्याद थप गर्ने भन्ने विषयमा कन्सल्टेन्ट र हामी मिलेर छलफल गरिरहेका छौँ,’ उनले भने, ‘हामीले यहाँबाट सिफारिस गरेपछि म्याद थपका लागि मन्त्रालयमा फाइल पठाउँछौँ ।’ म्याद थपको स्वीकृति साउन ८ भन्दा अगाडि नै आउने भए पनि कति दिन थप हुन्छ भनेर भन्न सक्ने अवस्था नभएको थापाले बताए ।

काठमाडौं:     खानी तथा भूगर्भ विभागले देशका विभिन्न स्थानमा रहेका ८० वटा खानी खोजतलासका लागि अनुमति दिएको छ ।  चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म विभिन्न कम्पनीलाई खानी खोजतलासका लागि प्रमाणपत्र प्रदान गरिएको विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले जानकारी दिनुभयो । सोही समयमा आठवटा खानी उत्खननका लागि प्रमाणपत्र प्रदान गरेको छ । चालु आवमा देशभरिका विभिन्न एक सय सात खानीको अनुगमन गरेको र एक सय १४ स्थानको उत्खनन तथा खोजतलास अनुमति प्रमाणपत्र रद्द गरेको सूचना अधिकारी बाँस्कोटाले बताउनुभयो ।    यस्तै, दैलेखमा रहेको सम्भावित पेट्रोलियम भण्डार क्षेत्र अन्वेषणका लागि चीन सरकारको सहयोगमा ड्रिलिङ कार्य सञ्चालन भइरहेको विभागले जनाएको छ । हालसम्म नौ सय ५१ मिटर ड्रिलिङ कार्य सम्पन्न भइसकेको छ । विभागले चालू आवमा देशका विभिन्न भूभागमा चार रेक्टर स्केलभन्दा माथिका ५७ भूकम्प मापन भएको समेत जनाएको छ । विभागले यस अवधिमा गोरखाको बारपाकमा भूकम्प तथा पहिरोसम्बन्धी अभिमुखीकरण, मधेस प्रदेशअन्तर्गत जीतपुर सिमरा र आसपासका क्षेत्रको भूइन्जिनियरिङ तथा भूवातावरणीय अध्ययन गरिएको पनि बाँस्कोटाले जानकारी दिनुभयो ।   विभागले पहिलो चरणमा सुर्खेतस्थित चुनढुङ्गा खानीको प्रवद्र्धन सम्पन्न गरेको र उक्त समयमा रु ५८ करोड ७४ लाख राजस्व सङ्कलन गरेको छ । 

काठमाडौं:     आज असार २४ गते मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएको छन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाका प्रवक्ता ओमप्रसाद रिजालले जानकारी दिए।  ‘सोमबार रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टीएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) एक हप्ताका लागि बन्द हुनेछन्’, रिजालले भने, ‘कानुनमै उल्लेख भएको विषय भएकाले मलेनिकाले यस वर्ष प्रलेनिका र कोलेनिकालाई खाता बन्द गर्न परिपत्र गरेको छैन। तर रातिदेखि बजेट भुक्तानी हुँदैन।’   सङ्घ, प्रदेश तथा स्थानीय तहको बजेट भुक्तानी निकासाका लागि प्रयोग हुँदै आएका सबै खाता एक हप्ताका लागि बन्द भएकाले आजसम्ममा चालु आर्थिक वर्ष २०८०÷८१ को बजेट भुक्तानी दायित्व फरफारक गरिसक्नुपर्ने पनि उनले बताए। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष समाप्त हुन एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ। विनियोजन ऐनले ‘फ्रिज’ नहुने भनी तोकेको शीर्षकबाहेक अन्य रकम भुक्तानी गर्न पाइँदैन। यद्यपि, अत्यावश्यक प्रयोजनमा भएको खर्चका लागि भने मलेनिकाको सहमतिमा भुक्तानी गर्न सकिने व्यवस्था नियमावलीमा छ।

अविरल वर्षाका कारण सेती नदीको बहाव बढेको छ । सेती नदीको बहाव बढ्दा पोखरा महानगरपालिका १ कस्केरी सहितका सेती किनारका बस्तीहरु जोखिममा परेका छन् ।