पोखरा:  पोखराका पत्रकार रुद्र श्रीस मगरलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ अर्पण गरिने भएको छ ।  नेपाल मगर पत्रकार संघका केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय मौलिक कौराहा ...

काठमाडौँ:   यो वर्षको मनसुन अवधिमा विपत्तिमा परेर आजसम्म एक सय २८ जनाको मृत्यु भएको छ ।   प्रहरी प्रधान कार्यालयका अनुसार मनसुन सुरु भएको दिन गत जेठ २८ गतेदेखि आजसम्म ४२ दिनको अवधिमा अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्परी आज दिउँसोसम्म एक सय २८ जनाको मृत्यु र एक सय ४३ जना घाइते भएका छन् ।   प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा २२, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ ।   बाढीका कारण जम्मा एक सय ८२ घर डुबानमा परेका तथा दुई सय २८ वटा घर, ८३ वटा गोठ, ४३ वटा पुल, एक विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।   विपद्मा परी पाँच सय ८९ वटा पशुचौपाया मारिएका छन् ।   उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार सात सय ७९ घरपरिवार विस्थापित भएका छन् ।

काठमाडौं:    मनसुनी विपद्मा परी ज्यान गुमाएका ६९ जनाका परिवारलाई मापदण्ड अनुरुप रु दुई लाखका दरले राहत वितरणका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ ।   राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म मृत्यु भएका ६९ जनाका परिवारका लागि एक करोड ३८ लाख निकासा भएको र उक्त रकमबाट कतिपय जिल्लाले प्रक्रिया पु¥याएर पीडितपरिवारलाई राहत वितरण पनि गरिसकेका छन् ।  मनसुनको अवधिमा सबै प्रकृतिका विपद्मा परेर अहिलेसम्म एक सय २५ भन्दा बढीको मृत्यु भइसकेको छ । त्यसमा सबैभन्दा बढी बाढीपहिरो र चट्याङका कारण मानवीय क्षति भएको छ ।मनसुनका समयमा यही देशभर परेको भारी वर्षाका कारण विपद्का घटना बढेपछि उच्च जोखिममा रहेका एक सय २५ जनालाई सुरक्षा निकायद्वारा जीवित्तै उद्धार गर्न सफल भएको पनि प्राधिकरणले जानकारी गराएको छ ।  प्राधिकरणका प्रवक्ता उपसचिव डा डिजन भट्टराईले ओखलढुङ्गा, ताप्लेजुङ, कालीकोट र बझाङलगायत जिल्लाबाट हेलिकप्टरमार्फत उद्धार गरिएको पनि जानकारी दिनुभयो । शुक्रबार मात्रै गएको एक महिनामा भएको मनसुनी विपद्को अवस्था प्रतिवेदन सार्वजनिक गर्दै प्राधिकरणले जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समिति, नेपाल रेडक्रसलगायत सङ्घ संस्थाद्वारा प्रभावित परिवारलाई खाद्यान्न तथा गैरखाद्यान वस्तु वितरण गरिएको जानकारी दिएको छ ।  प्रतिवेद अनुसार मनसुनबाट प्रभावित परिवारलाई तत्काल राहतस्वरुप रु १५ हजारदेखि २० हजारसम्म वितरण गरिएको जनाइएको छ । प्रवक्ता भट्टराईका अनुसार रेडक्रसबाट हालसम्म सात सय ४५ थान तारजाली, दुई सय ९५ थान ब्ल्याङ्केट, दुई सय पाँच थान म्याट्रेस, एक सय २५ थान भाँडाकुँडा, एक सय थान झुल, दुई सय २५ थान सरसफाइ किट, एक हजार एक सय ३८ मिटर कपडा उपलब्ध गराइएको र गृह मन्त्रालयमातहत निकायबाट पाँच सय २० थान त्रिपाल, ५० थान टेन्ट, तीन सय थान ब्ल्याङ्केट, उक सय थान म्याट्रेस र ५० थान स्लिपिङ ब्याग उपलब्ध गराइएको छ । उहाँले समन्वयात्मक रुपमा विपद् व्यवस्थापनको काम जारी रहेको पनि जानकारी दिनुभयो । यसपाली बढी वर्षा हुने आँकलन रहेको  थियो । मनसुनको सुरुआत महिनामै भारी वर्षाले जनधनको क्षति गराएको छ ।

काठमाडौं:    गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायसँग सम्बन्धित कानुनलाई समयक्रमसँगै संशोधन गर्न आवश्यक भएकाले सरकारले यसलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।       सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय कार्यालय हलचोकको शुक्रबार निरीक्षण गर्दै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बलको सुदृढीकरण र वृत्तिविकास गर्न मन्त्रालय सधैँ साथमा रहेको बताउनुभयो । “राजस्व चुहावट रोक्न सशस्त्र प्रहरी बलको ठूलो योग्दान छ । प्राकृतिक प्रकोपका बेला पनि सशस्त्र प्रहरीको काम प्रशंसा गर्न लायक छ”, उहाँले भन्नुभयो । सुरक्षा निकायलाई स्रोतसाधन सम्पन्न बनाउन लागिपरेको उहाँको भनाइ थियो ।       तेइस वर्षअघि सशस्त्र प्रहरी बलको स्थापना अध्यादेशबाट भएको स्मरण गर्दै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बल स्थापनाबारे अध्ययन गर्न स्व सुवासचन्द्र नेम्वाङको नेतृत्वमा बनेको समितिमा कांग्रेसका तर्फबाट सदस्यका रुपमा सहभागी भएर काम गरेको बताउनुभयो । “सशस्त्र द्वन्द्वका समयमा सशस्त्र प्रहरी बलको भूमिका मुख्य रह्यो । देशमा शान्तिसुरक्षा कायम गर्नमा सबैभन्दा पछि स्थापना गरिएको सुरक्षा सङ्गठनको धेरै योगदान छ”, उहाँले भन्नुभयो ।       निरीक्षणका क्रममा गृहसचिव एकनारायण अर्यालले मन्त्रालय सशस्त्र प्रहरी बल नेपालको साथमा रहेको बताउनुभयो । “सशस्त्र प्रहरी बल नेपालको कानुन छिट्टै संसद्मा पेस हुन्छ”, उहाँले भन्नुभयो । सीमित साधन स्रोतका बीचमा  सशस्त्र प्रहरी बलले सीमासुरक्षामा तदारुकता देखाएको उहाँले बताउनुभयो । उच्च मनोबलका साथ काम गर्न गृहसचिव अर्यालले निर्देशन दिनुभयो । विपद्का समयमा अहोरात्र खट्न उहाँले आग्रह गर्नुभयो ।       सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल आफ्नो काममार्फत जनताको मनमा बस्न सफल भएको बताउनुभयो । सरकारले सशस्त्र प्रहरी बलप्रति राखेको विश्वासलाई कायमै राखेर काम गर्ने उहाँले उल्लेख गर्नुभयो । सीमासुरक्षा बलसँगसम्बन्धी कानुनमा सुधारको आवश्यकता रहेको महानिरीक्षक अर्यालको भनाइ थियो । 

काठमाडौं:     नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालबाट पहिरोसँगै त्रिशूलीमा खसेको दुई बस र यात्रुको खोजीका लागि भारतको खोज तथा उद्धार टोली नेपाल आइपुगेको छ ।        भारत सरकारको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) को १२ सदस्यीय टोली सिमलताल घटनाको खोज तथा उद्धारका लागि नेपाल आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो ।  उहाँका अनुसार गएराति सुनौली नाका हुँदै नेपाल भित्रिएको टोली भैरहवामा बसेर आज बिहानै घटनास्थलतर्फ आइरहेको छ । टोलीले आजैदेखि काम थाल्ने प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले बताउनुभयो ।       पानीमुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेटसहित उनीहरु आएका हुन् । उनीहरुले तीन वटा अत्याधुनिक सोनार उपकरण पनि ल्याएका बताइएको छ । उनीहरु सशस्त्र प्रहरीको एक टोलीका साथ घटनास्थल पुग्दै छन् ।  कार्यकारी प्रमुख पोखरेलका अनुसार नेपालको स्रोतसाधनले बसको अवस्था पत्ता लगाउन नसकेपछि सरकारले खोजीका लागि अन्तर्राष्ट्रिय उद्धार टोली मगाएको हो । गृह मन्त्रालयले परराष्ट्रमार्फत भारतीय उद्धार टोली मगाएको थियो ।      गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा भीष्मकुमार भुसालका अनुसार गएको असार ३१ गते भारतबाट विज्ञसहतिको उद्धार टोली मगाउन परराष्ट्रमार्फत पत्राचार गरिएको थियो । सोही आधारमा भारतीय खोज तथा उद्धार टोली नेपाल आएको हो ।  यही असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा यात्रु बेपत्ता भएका थिए ।       उक्त बसमा सवार ६५ जनामध्ये ३ जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । आजसम्म २३ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ । अझै ३९ यात्रुको दुईवटै बसको अवस्था पत्ता लाग्न सकेको छैन । उक्त घटनाको अध्ययन गर्न गृहमन्त्रालयले गठन गरेको कार्यदलले अहिले काम गरिरहेको छ । 

काठमाडौं:    गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र अमेरिकाबीच रहिआएको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको थियो ।        सो अवसरमा गृहमन्त्री लेखकले नेपाल र अमेरिकाबीच विगत ७० वर्षदेखि रहिआएको द्विपक्षीय सम्बन्ध सौहाद्र्रपूर्ण रहेको उल्लेख गर्दै लोकतन्त्र, मानव अधिकार, कानुनी शासनजस्ता विषयमा दुवै देशको साझा धारणा रहेको बताउनुभयो ।         नेपालको सामाजिक–आर्थिक विकास तथा गृह मन्त्रालयका विभागीय सुरक्षा निकायहरूको क्षमता अभिवृद्धिमा अमेरिकाले उल्लेख्य सहयोग गर्दै आएको बताउँदै गृहमन्त्री लेखकले अमेरिकी सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो ।      जलवायु परिवर्तनको असरका कारण नेपाल उच्च जोखिममा रहेको र यस विषयमा नेपालको उच्च चासो र चिन्ता रहेको उल्लेख गर्दै उहाँले यस विषयमा समर्थन गर्न आग्रह गर्नुभयो ।       राजदूत थम्पसनले गृहमन्त्री पदमा नियुक्त हुनुभएकामा लेखकलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । नेपालको सामाजिक–आर्थिक विकासका विविध क्षेत्रमा सहयोग गर्न अमेरिका सधैँ इच्छुक रहेको उल्लेख गर्दै उहाँले नेपालको आर्थिक विकासमा एमसिसी परियोजना महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।       राजदूत थम्पसनले एससिसी परियोजना कार्यान्वयनमा नेपाल सरकारका तर्फबाट सधैँ सहयोग रहने आफूहरूको अपेक्षा रहेको उल्लेख गर्नुभयो । उहाँले अपराध नियन्त्रण तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा सहकार्य र समन्वय गर्न अमेरिकी सरकार तत्पर रहेको बताउनुभयो । 

मनाङ:    हिमाली जिल्ला मनाङको एक मात्र स्थलमार्ग डुम्रे–बेँसीसहर–चामे सञ्चालनमा आएको छ । अविरल वर्षापछि असार १८ मा आएको बाढीले हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–१ तिमाङ खोलाले काठेपुल बगाएपछि अवरुद्ध सडक पुनः सञ्चालनमा आएको हो ।  प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानले तिमाङ खोलामाथि २४ दिनपछि शुक्रबार नयाँ काठेपुल राखेपछि डुम्रे–बेँसीसहर–चामे सडक सञ्चालनमा आएको जानकारी दिनुभयो । उहाँका अनुसार काठेपुल निर्माण भएपछि सवारीसाधन सञ्चालनमा अएको हो ।  उहाँले भन्नुभयो, “तिमाङ खोलामा पानीको सतह कम हुनासाथ पर्खाल लगाएर काठेपुल निर्माण गरिएको छ । डुम्रे–बेँसीसहर–चामे सडक योजनाले यातायात सञ्चालनका लागि पूर्ण रुपमा सहयोग गरेको छ । मनाङको मेरुदण्डको सडक निर्माणका काम पनि यस योजनाले नै गरिरहेको छ । जसले गर्दा पनि योजनाले काम समयमा गरेको हुनसक्छ ।”      प्रजिअ लामिछानेले तिमाङ झरनाको मोटरेबल पुलमा पनि कल्भर्ट राखेर यातायात सञ्चालन भएको बताउनुभयो । तिमाङ छहरा पनि गत असार १८ गते ग्रेग्यान तथा ढुङ्गा खसेर पुलमा क्षति पुर्‍याउँदा सञ्चालन आउन सकेको थिएन । यहाँ योजनाले नयाँ पुलका लागि पनि काम गर्ने जिम्मा पाइसकेको डुम्रे–बेँसीसहर–चामे योजनाका सबइन्जिनियर सुमन अधिकारीले जानकारी दिनुभयो ।       अधिकारीका अनुसार सदरमुकाम जानुपर्ने काममा पनि सकस भएकाले चाँडो यहाँको यातायात तथा पैदलयात्रा गर्ने वातावरण बनाउने लक्ष्य पूरा भएको छ । पर्यटकीय क्षेत्र भएकाले जोखिम मोलेर पनि केही पर्यटक आवतजावत हुने भएकाले चाँडो पुल निर्माण गर्नुपर्ने र तल्लो मनाङ तथा माथिल्लो मनाङबीचको विच्छेद भएकामा सहज बनाउन २४ दिन लागेको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा मनाङमा एक सय १६ पुल बनाउने तयारी भइरहेको पनि उहाँले जनाकारी दिनुभयो । 

मुस्ताङ:    मुस्ताङको घरपझोङ गाउँपालिका–५ ढुम्बामा ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु भएको छ । ढुम्बाको कुछपतेरङ्गा गुुम्बाको नाली खन्ने क्रममा माटोको ढिस्कोले पुरिँदा उनीहरुको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका–१५ का २३ वर्षीय होमबहादुर बुढाथोकी र दाङको गडवा गाउँपालिका–१ का २३ वर्षीय रवि दर्लामी मगरको मृत्यु भएको हो ।  नेपाल प्रहरी, स्थानीयवासीलगायतको सहयोगमा मजदुरको शव माटोबाट बाहिर निकालिएको हो ।

काठमाडौं:     उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै आधार र प्रमाण नपुग्दा सफाइ हुने ठहर गरेको छ ।        न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते गरेको फैसलाको आज सार्वजनिक गरेको पूर्णपाठमा आधार र प्रमाण नपुगेका कारण सफाइ दिएको उल्लेख छ ।            फैसलाको पूर्णपाठमा भनिएको छ, “आधार र कारण समेतबाट यसमा प्रतिवादी सन्दीप लामिछानेले अनुसन्धानका क्रममा र अदालतमा गरेको इन्कारी बयान, परिवर्तित नाम गौशाला २६ ले पठाएको म्यासेज, निजको शारीरिक परीक्षण प्रतिवेदन, निजको शारीरिक अवस्था, घटनास्थल मुचुल्का, घटना विवरण कागज गर्ने होटल काठमाडौँ इन होटलका सेक्युरिटी कार्ड राजन राणाले गरेको वकपत्रका साथै मिसिल संलग्न परिस्थितिजन्य प्रमाणहरुबाट पुनरावेदक प्रतिवादीले अभियोग मागदाबी बमोजिमको कसुर गरेको पुष्टि हुन आएन ।”        फैसलामा पीडितले प्रतिकार गरेको, कराएको, चिच्चाएको, तेस्रो व्यक्तिसँग आत्मरक्षाका लागि कुनै सहयोगको याचना गरेको नदेखिएको उल्लेख छ । त्यस्तै, उमेर पुगेका व्यक्तिहरूबीच जबर्जस्ती करणीको १ नं विपरीत नभई सहमतिमा भएको करणीलाई जबर्जस्ती करणी नमानिने भनेर सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तलाई प्रस्तुत मुद्दाको उल्लिखित तथ्यहरूले अनुमोदन गरेको इजलासको ठहर छ ।        फैसलाको पूर्णपाठको भनिएको छ, “प्रतिवादीसँग पीडितले आर्थिक संरक्षण मागेको, प्रतिवादीले पछि सकेको सहयोग गर्छु भनेको तर कुनै सहयोग नगरी प्रतिवादी केन्यातर्फ गएको घटनाक्रमले रिसको आवेगमा प्रतिवादी उपर यस्तो जघन्य कसुरमा जाहेरी दिएको होला भनी यो तथ्यलाई ठाडै इन्कार गर्न सकिने अवस्था पनि देखिँदैन ।” पीडितले प्रतिवादीले आफूलाई जबर्जस्ती करणी भने पनि निज वारदातको समय १८ वर्ष पूरा भएको देखिएको फैसलामा उल्लेख गरिएको छ ।        अदालतले मिसिल संलग्न सिसिटिभी फुटेजको स्क्रिप्टसमेतका प्रमाणबाट अभियोग दाबी शङ्कारहित तवरले पुष्टि नभएको, पीडित र प्रतिवादीबीच होस्टल नजिकबाट प्रतिवादीको गाडीमा बसी नगरकोट गएको, रातको समयमा काठमाडौँ होटल इनमा बसी भोलिपल्ट प्रतिवादीले पीडितलाई निजको होस्टलमा पुर्‍याउँदाका अवस्थासम्मका उल्लिखित घटनाक्रमलाई विश्लेषण गरी हेर्दा जबर्जस्ती करणीको कसुर भएको मान्न मिल्ने अवस्था नदेखिएको ठहर छ ।        फैसलामा भनिएको छ, “प्रतिवादीलाई पीडित बालक ठहर गरी जबर्जस्ती करणी गरेको ठहर्‍याइ काठमाडौँ जिल्ला अदालतबाट भएको फैसला सो हदसम्म मिलेको देखिन आएन ।” फैसलामा पीडित आफैँले प्रतिवादीलाई ‘फ्रेन्ड रिक्वेस्ट’ पठाएको, प्रतिवादीलाई ‘स्न्याप च्याट’मार्फत फोटो पठाउने गरेको, प्रतिवादी आफूले क्रिकेट खेल्न विदेश गई दुई महिनापछि फर्केर आएर भेट्नेभन्दा पीडितले मलाई सहयोग गर्नुपर्‍यो भनेर तुरुन्तै भेट्न चाहेको विषयलाई पनि अदालतले लामिछानेमाथि जबर्जस्ती करणीको कसुर प्रमाणित नहुने आधारका रूपमा व्याख्या गरेको छ ।        फैसलामा लामिछानेले गाडी लिएर आउँदा स्वस्फूर्त रूपमा पीडित गाडीमा गइबसेको, नगरकोट जाँदासमेत पीडितले कुनै प्रतिकार नगरेको र प्रतिवादीले नगरकोटबाट पीडितलाई ‘चाँडै जाउँ, तिम्रो होस्टेल बन्द हुन्छ’ भन्दा ‘होस्टेल जुनसुकै बखत खुला हुन्छ’ भनी प्रतिवादीलाई विश्वास दिलाएको र नगरकोटको होटल प्रतिवादी ९सन्दीप०ले ‘बुक’ गराएको भन्ने तथ्य पुष्टि नभएको जस्ता आधारमा टेकेर अदालतले सन्दीपलाई सफाइ दिएको उल्लेख छ ।            जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस २५ गते आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी पाँच लाख भराउने  र गौशाला २६ को कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको ठहर गरेको थियो । सो फैसलाविरुद्ध लामिछाने उच्च अदालत पाटन जानुभएको थियो । सो अदालतमा उक्त मुद्दाको सुनुवाइपछि लामिछानेलाई सफाइ हुने ठहर गरेको हो ।         गौशाला २६ माथिको बलात्कारको अभियोगमा लामिछानेविरुद्ध २०७९ भदौ २१ गते उजुरी परेपछि उहाँलाई गत असोज २० गते अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको थियो । उक्त मुद्दामा लामिछानेलाई अदालतले सफाइ दिएको छ ।

म्याग्दी:    गत असार २७ गते रातिदेखि खस्न थालेको पहिरोका कारण बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध बनेको छ । उक्त खण्डको तातोपानीमा गएको पहिरोका कारण यातायात सञ्चालन नहुँदा पश्चिम म्याग्दीका सयौँ नागरिकले दैनिक यात्रामा सास्ती भोग्दै आएका छन् ।      पिठ्युमा भारी र काँधमा छोरीलाई बोकेर तातोपानी परको घुमाउने भिरपारी पैदल हिडेर यात्रा गर्नुभएकी धवलागिरि गाउँपालिका–७ धारापानीकी जमुना थापाले लामो सुस्केरा हाल्दै बेनी–दरबाङ खण्डको पहिरोलाई नियाल्नुभयो ।      सदरमुकाम बेनीबाट खाद्यपदार्थका साथै दैनिक उपभोग्य सामग्री गाउँतर्फ लैजान नसक्दा खाद्यान्नलगायत विकास निर्माणमा आवश्यक पर्ने सामग्रीको अभाव भएको छ । गाउँमा उत्पादित तरकारी, फलफूल तथा अन्य कृषिजन्य वस्तु बिक्रीका लागि बजारसम्म ल्याउन नसक्दा खेतबारीमा खेर गएका कृषकले बताएका छन् ।      वर्षासँगै म्याग्दीको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सीमानामा पर्ने फापरखेतमा गत असार २७ गते राति खसेको पहिरोले सडक अवरुद्ध भएको थियो ।       सडक डिभिजन कार्यालय, यातायात व्यवसायीले मेसिन र जनशक्ति परिचालन गरेर पटकपटक पहिरो पन्छाउने प्रयास गरेपनि पहिरो खस्ने क्रम नरोकिएको तातोपानीका व्यवसायी कुमार केसीले बताउनुभयो । यसले पश्चिम म्याग्दीका नागरिकलाई आवागमनमा सास्ती हुँदै आएको उहाँले बताउनुभयो ।      यातायात सञ्चालन हुन नसकेपछि पश्चिम म्याग्दी जाने सयौँ यात्रु बेनीबाट तातोपानीसम्म गाडीमा र त्यहाँबाट पैदल हिडेर म्याग्दी नदीको झोलुङ्गे पुल हुँदै सिमलचौर निस्केपछि अर्को गाडीमार्फत गन्तव्यमा जाने गरेका छन् ।      पश्चिम म्याग्दीको ‘लाइफ लाइन’का रूपमा लिने गरिएको बेनी–दरबाङ सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि आवागमन अवरुद्ध हुने समस्याले स्थानीयले सास्ती खेप्दै आएका यातायात व्यवसायी टेकबहादुर राम्जालीले जानकारी दिनुभयो ।      उन्नाइस वर्षअघि सडकको मार्ग खोल्नुपूर्व यहाँ पहिराको जोखिम थियो । पहिरो रोकथाम गर्न दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन् ।       धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताउनुभयो ।       “बेनी–दरबाङ खण्ड पाखो र भिरको बीचमा खनिएको छ । सडकमुनि म्याग्दी नदी छ । सडकमाथिको भिरमा ढुङ्गा र ग्रेगर छ । खोल्सामा पर्ने सडकमाथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन”, अध्यक्ष रोकाले भन्नुभयो “म्याग्दी नदीको किनारमा बनाइएका पक्की पर्खालले कटान रोकिएको छ ।” उहाँका अनुसार सडकदेखि करिब दुई सयमाथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ ।      पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नतिको काम रोकिएको र यातायात अवरुद्ध हुन नदिन डोजर तैनाथ राखेर पहिरो खस्दाबित्तिकै पन्छाउने गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताउनुभयो । “फापरखेत, लाम्पाटा र बाङ्गेको पहिरो नियन्त्रणका लागि बायोइन्जिनियरिङसहितको छुट्टै काम गर्नुपर्छ, ठूलो पहिरो भएकाले लगानी पनि बढी लाग्छ ।”      बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेतअन्तर्गत बेनी–दरबाङ्ग खण्डको वैकल्पिक माग खोजिने म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले बताउनुभयो । पहिरोको दीर्घकालीन समाधान गर्न वैकल्पिक मार्ग र बेलिब्रिज निर्माण गर्नुपर्ने भएकाले तीनै तहका सरकारले यसतर्फ ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।      वर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको भन्दै वैकल्पिक मार्ग निर्माणमा ध्यान दिन सरोकार भएका निकायलाई अनुरोध गरिएको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । “वर्खाको समयमा वैकल्किप मार्ग आवश्यक छ, पालिकाले धेरै पहल गरेको छ”, उहाँले भन्नुभयो, “अहिले मोटरसाइकललाई सहज हुने गरी वैकल्पिक बाटो मर्मतमा जुटेका छौँ ।”