पोखरा:  पोखराका पत्रकार रुद्र श्रीस मगरलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ अर्पण गरिने भएको छ ।  नेपाल मगर पत्रकार संघका केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय मौलिक कौराहा ...

गण्डकी:     नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठका युगजयी विचारको अध्ययन–अनुसन्धान गर्ने सोचका साथ निर्माण गरिएको पोखराको फेदीपाटनस्थित पुष्पलाल अध्ययन केन्द्र भवन ओझेलमा परेको छ ।      नेपालमा कम्युनिष्ट आन्दोलनको जग बसाल्ने प्रमुख नेता पुष्पलालले अघि सार्नुभएका दर्शन र सिद्धान्तलाई जीवन्त राखी भावी पुस्तालाई हस्तान्तरण लक्ष्यका साथ निर्माण गरिएको भवन पूर्णरुपमा सञ्चालनमा आउन नसक्दा ओझेलमा परेको हो ।       पोखरा महानगरपालिका–२१ फेदीपाटन, पोटेरामा पाँच वर्षअघि निर्माण गरिएको सुविधासम्पन्न भवन अत्यावश्यक संरचनाको अभावमा पूर्णरुपमा सञ्चालन गर्न नसकिएको पुष्पलाल अध्ययन केन्द्रका अध्यक्ष एवम् नेकपा एमाले स्थायी कमिटीका सदस्य खगराज अधिकारीले जानकारी दिनुभयो ।  उहाँका अनुसार तत्कालीन जहानियाँ राणा शासनका विरुद्धमा आवाज उठाउँदै नेपाली जनताको स्वतन्त्रताका पक्षमा कम्युनिष्ट विचारधारालाई अघि बढाएका आदर्श पुरुष पुष्पलालको विचारलाई जीवन्त राख्ने उद्देश्यका साथ केन्द्र स्थापना गरिएको हो ।      करिब रु १० लाखमा खरिद गरेको आठ आना जग्गामा सङ्घ र स्थानीय सरकार, विभिन्न सङ्घसंस्था एवं व्यक्तिबाट सङ्कलन गरिएको रु एक करोड ५० लाख बराबरको आर्थिक सहयोगबाट भवन निर्माण गरिएको अध्ययन केन्द्रले जनाएको छ ।       गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता अधिकारीले भन्नुभयो, “तीनतले पक्की भवनमा पुस्तकालय, तालिम कक्ष, पुष्पलालसम्बन्धी अध्ययन–अनुसन्धान  गर्न इच्छुक सङ्घसंस्था एवं व्यक्तिका लागि नवीनतम् प्रविधिसहित आवश्यक वातावरण तयार गरिए पनि अपेक्षा गरिएअनुसार भवनको सदुपयोग हुन सकेको छैन, त्यसतर्फ हामी सबैको ध्यान जान आवश्यक छ ।”        पुष्पलालको ४६औँ स्मृति दिवसका अवसरमा नेकपा (एमाले) पोखरा महानगरपालिकाद्वारा सोही भवनमा आज आयोजित प्रवचन गोष्ठीलाई सम्बोधन गर्दै एमाले नेता अधिकारीले यसै क्षेत्र आसपासका करिब एक सय  रोपनी सार्वजनिक जग्गाको पहिचान एवं संरक्षण गरी जननेता मदन भण्डारी र कम्युनिष्ट आन्दोलनका शीर्षस्थ नेताहरुको सालिकसहित पुष्पलाल स्मृति वाटिका निर्माण गर्न केन्द्र जुटिरहेको जानकारी दिनुभयो ।          पोखरा महानगरपालिका–१७ र २१ जोडने फुस्रेखोलामाथिको पक्की पुल निर्माण प्रक्रियाअन्तर्गत रु ४९ करोड लागतसहितको डिपिआर तयार भएको जानकारी दिँदै पूर्वमुख्यमन्त्री अधिकारीले पुल निर्माणपछि अध्ययन केन्द्रसहित स्थानीय बासिन्दाका लागि यातायातको पहुँच पुग्ने विश्वास व्यक्त गर्नुभयो ।            एमाले केन्द्रीय सदस्य एवं पोखरा महानगरपालिका इन्चार्ज कृष्ण थापाले नेपाल कम्युनिष्ट पार्टीमार्पmत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ पुष्पलालले २००६ साल वैशाख १० गते नेकपाको स्थापना गर्नुभएको बताउनुभयो ।      यसैगरी, केन्द्रीय सदस्य एवम् अध्ययन केन्द्रका महासचिव भीमबहादुर कार्कीले पुष्पलालले विश्व कम्युनिष्ट घोषणापत्रलाई नेपालीमा अनुवाद गरी प्रकाशन गर्नुभएपछि नेपालमा कम्युनिष्ट आन्दोलनको बीजारोपण भएको धारणा व्यक्त गर्नुभयो ।        एमाले पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी जिल्ला कमिटी अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीलगायतले नेपाल कम्युनिष्ट पार्टी स्थापनामा पुष्पलालको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।       सो अवसरमा अध्ययन केन्द्र भवनको अग्रभागमा पुष्पलाल र पोखरा–१६ बाटुलेचौर जन्मस्थान भएका पुष्पलालका सहपाठी कम्युनिष्ट नेता बलराम उपाध्याय तिमल्सिनाको अर्धकदको सालिकमा माल्यार्पण गरिएको थियो ।       विसं १९८१ साल असार १५ गते रामेछाप जिल्लाको भङ्गेरीमा बाबु भक्तलाल र आमा तुलसीमाया श्रेष्ठका कोखबाट माइलो सन्तानका रुपमा जन्मनुभएका पुष्पलालको नयाँ दिल्लीस्थित गोविन्दवल्लभ पन्त अस्पतालमा २०३५ साल साउन ७ गते उपचारका क्रममा निधन भएको थियो ।

काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति उच्च सम्मान र श्रद्धा व्यक्त गर्नुभएको छ ।  पुष्पलालको ४६औँ स्मृति दिवसका अवसरमा आज उहाँले सामाजिक सञ्जालमार्फत्  निरङ्कुश राजतन्त्रविरुद्ध कम्युनिष्ट र नेपाली कांग्रेसले मिलेर जनआन्दोलन गर्नुपर्ने पुष्पलालको विचार सही सावित भएको स्मरण गर्नुभयो ।  “उहाँले नै सामान्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यसाथ कम्युनिष्ट घोषणापत्र नेपालीमा अनुवाद गर्नुभयो र पार्टी स्थापनाको नेतृत्व गर्नुभयो”, प्रधानमन्त्रीले भन्नुभएको छ । विसं २००६ साल वैशाख १० गते पुष्पलालको नेतृत्वमा नारायणविलास जोशी, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, मोतिदेवी श्रेष्ठसहितले भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो ।  

काठमाडौं:     शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताउनुभएको छ ।  मिडिया एडभोकेसी ग्रुप ९म्याग० र हाई कमिसन अफ क्यानाडाद्वारा संयुक्त  रूपमा आज यहाँ आयोजित  ‘राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने महिला पत्रकारको क्षमता अभिवृद्धि’  विषयक दुईदिने गोष्ठीमा उहाँले सञ्चारमाध्यममा महिला सहभागिता कम देखिनु चिन्ताको विषय हो भन्नुभयो ।  “शिक्षा र सञ्चारलाई प्रविधिसँग जोडनुपर्छ, विश्व एआइमा पुगिसकेको अवस्थामा हामीले प्रविधिको अधिकतम प्रयोग गर्नुपर्छ”, मन्त्री भट्टराईले भन्नुभयो, “सञ्चारमाध्यममा राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने पत्रकार महिलालाई प्रोत्साहन गर्न जरुरी छ ।” नेपालका लागि क्यानाडाका राजदूत क्यामेरोन म्याकेले नेपालमा सामाजिक न्यायमा लागि पत्रकार महिलाको उपस्थिति जरुरी छ भन्नुभयो ।  उहाँले क्यानाडामा महिला सहभागिता ५० प्रतिशत र महिला पत्रकार ५२ प्रतिशत रहेको जानकारी गराउनुभयो ।  प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार महिला पेसागत रूपमा टिकाउन ध्यान दिनुपर्ने र पत्रकार महिलालाई राजनीतिक विषयमा समाचार लेख्दा सन्तुलित समाचार लेखेको भनेर स्रोतले विश्वास गरेको अध्ययनले देखाएको बताउनुभयो ।  उहाँले पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्न काउन्सिलले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले राष्ट्र सबल भएमा मिडिया पनि सबल हुने उल्लेख गर्दै राजनीतिक विषयले अहिले पनि बढी स्थान लिने गरेको बताउनुभयो ।  उहाँले राजनीतिक विषयमा महिलाको उपस्थिति सशक्त हुनुपर्ने र मिडियाहाउसले पनि त्यहीअनुरूप नीति बनाउनुपर्नेमा जोड दिनुभयो । न्यूनतम पारिश्रामिक निर्धारण समिति अध्यक्ष सङ्गीता खड्काले राजनीतिक विषयमा समाचार लेख्न महिला पत्रकारलाई चुनौती भए पनि अहिले राम्रोसँग लेख्ने महिला पत्रकार भएको बताउनुभयो ।  उहाँले सञ्चारमाध्यमले पनि राजनीतिक बिटमा समाचार लेख्ने महिलालाई प्रोत्साहित गर्नुपर्ने र नीतिगत रूपमा पनि सुधार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । म्यागका अध्यक्ष अनिता विन्दुले राजनीतिक विषयमा काम गर्ने महिला पत्रकारको सङ्ख्या कम भएकाले प्रविधिसहितको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुई  दिनको तालिमको आयोजना गरेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घको तथ्याङ्कानुसार १८ प्रतिशत महिला क्रियाशील रहेका छन् ।

काठमाडौं:    स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु एक सयले बढेको छ ।      नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु एक लाख ४६ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४६ हजार तीन सय निर्धारण भएको छ ।      त्यस्तै, आइतबार प्रतितोला रु एक लाख ४५ हजार पाँच सयमा कारोबार भएको तेजाबी सुन आज रु एक लाख ४५ हजार छ सय निर्धारण भएको छ ।      चाँदीको मूल्य प्रतितोला रु २० ले घटेको छ । आइतबार प्रतितोला रु एक हजार आठ सय १० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार सात सय ९० निर्धारण गरिएको छ । 

काठमाडौँ:   प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सांसदहरूद्वारा सोधिएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।   प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्री ओली सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै हुनुहुन्छ ।   उक्त परिच्छेदमा प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको पहिलो घण्टा निर्धारण गर्ने व्यवस्था रहेको छ ।   गत असार ३० गते चौथो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री ओलीको सांसदसँग यो पहिलो प्रश्नोत्तर हो ।   प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभाबाट दुईतिहाइ समर्थनसहित विश्वासको मत प्राप्त गर्नुभएको थियो ।

काठमाडौं:    परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बङ्गलादेशमा रहेका सबै नेपाली विद्यार्थीहरू सुरक्षित रहेका जानकारी दिनुभएको छ । त्यहाँ रहेका नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूबारे सामाजिक सञ्जालमार्फत आज बिहान उहाँले सो जानकारी गराउनुभएको हो ।   उहाँले भन्नुभएको छ, “ढाकास्थित नेपाली दूतावासले स्थानीय अधिकारी, कलेज प्रशासन र नेपाली विद्यार्थीहरूसँग उनीहरूलाई सुरक्षित तवरले बस्ने, सुरक्षा दिने र आवश्यक परेको अन्य सहयोग सम्बन्धमा नियमित रूपमा सम्पर्क गरिरहेको छ । बङ्गलादेशमा रहेका सबै नेपाली विद्यार्थी एवं अन्य नेपाली सुरक्षित छन् ।” बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण उत्पन्न परिस्थितिले त्यहाँ रहेका नेपाली विद्यार्थीहरू प्रभावित भएका जनाउँदै त्यहाँबाट विद्यार्थी र यहाँ उनीहरूका आफन्तहरूले समेत चिन्ता व्यक्त गरेपछि उनीहरूलाई त्यहाँ सुरक्षित तवरमा बस्ने र आवश्यक परे नेपाल फर्किने व्यवस्थाका लागि पनि परराष्ट्र मन्त्रालयले उचित प्रबन्ध गरेको उहाँले बताउनुभएको छ । मन्त्रालयमा ‘हेल्प डेस्क’ स्थापना गरी आवश्यक समन्वयका लागि अधिकारी तोकिएको तथा ढाकास्थित नेपाली दूतावासलाई पनि त्यहाँ रहेका विद्यार्थीको सुरक्षाका लागि आवश्यक समन्वय गर्न तथा नेपाल फर्कन चाहनेहरूका लागि उनीहरूको यात्रामा सहजीकरण गर्न निर्देशन दिइएअनुसार दूतावासले सो कार्यसम्पादन गरिरहेको मन्त्री डा राणाले बताउनुभयो । आइतबार मात्र हवाईमार्गबाट एक सय १५ र काँकडभिट्टा नाका भएर तीन सय पाँचजना नेपाली विद्यार्थी स्वदेश फर्किएका थिए । आइतबार बिहान फर्किएका ५७ जना नेपाली विद्यार्थीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रका अधिकारीले स्वागत गरेका थिए । बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण नेपाली विद्यार्थीहरू समस्यामा पर्न थालेको समाचार आएपछि उनीहरूको सहयोगका लागि मन्त्रालयमा ‘हेल्प डेस्क’ स्थापना गरिएको छभने ढाकास्थित नेपाली दूतावासलाई निमियत सम्पर्कमा राखिएको छ । यस विषयमा परराष्ट्रमन्त्री डा राणाले पनि ढाकास्थित नेपाली राजदूतावासलाई निरन्तर सम्पर्क गरी त्यहाँका नेपालीहरूका बारेमा जानकरी लिइरहेको बताउनुभएको छ । आइतबारसम्म बङ्गलादेशबाट एक हजार दुई सय विद्यार्थी स्वदेश फर्किएका परराष्ट्र मन्त्रालयले आइतबार जानकारी दिएको छ । बङ्गलादेशमा सरकारले निर्धारण गरेको रोजगारीमा कोटा प्रणालीको विरोधमा विद्यार्थीले आन्दोलन गरिरहेका छन् ।

काठमाडौं:     प्रधानसेनापति प्रभुराम शर्माले चीनको इतिहासमा चिनियाँ जनमुक्ति सेनाले ठूलो बलिदान प्रदर्शन गरेका उल्लेख गर्दै दुई देशका सेनाबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो,“हालका दिनमा यो सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै गएकोे छ ।” चिनियाँ जनमुक्ति सेनाको ९७औँ स्थापना दिवसका अवसरमा यहाँस्थित चिनियाँ दूतावासले आइतबार साँझ आयोजना गरेको स्वागत समारोहमा प्रधानसेनापति शर्माले नेपाललाई चिनियाँ जनमुक्ति सेनाले सैनिक सहायता उपलब्ध गराउँदै आएकामा आभार व्यक्त गर्नुभयो ।  पञ्चशीलका सिद्धान्तमा आधारित पारस्परिक सम्बन्ध पछिल्ला दिनमा अझ सुदृढ बन्दै गएको जनाउँदै प्रधानसेनापतिले नेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्ध छ भन्नुभयो । उहाँले चीनको सुरक्षा चासोप्रति नेपाल संवेदनशील रहेको बताउनुभयो । “शान्तिप्रिय राष्ट्र नेपालको सबै देशसँग मैत्री कायम गर्ने नीति छ । हाम्रो परराष्ट्र सम्बन्ध पनि यसै आदर्शबाट अभिप्रेरित छ”, उहाँले भन्नुभयो । नेपालका लागि चिनियाँ राजदूत छन सोङले  चीन र नेपालबीचको सम्बन्ध हिमालझैँ अटल रहेको बताउँदै नेपालसँगको सम्बन्धलाई चीनले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । उहाँले आपसी सौहार्द, सम्मान, भाइचारा तथा पञ्चशीलको सिद्धान्तमा आधारित चीन–नेपाल सम्बन्ध पारस्परिक विश्वास, सहयोग, सहकार्यका साथ निरन्तर अगाडि बढिरहेको बताउनुभयो ।    चिनियाँ राजदूले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति चीनबाट सक्दो सहयोग हुने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । दूतावासका सैनिक सहचारी लिउ गोझेङले चिनियाँ जनमुक्ति सेनाको स्थापना अगस्त १, १९२७ देखि हालसम्मको अवस्थाका बारेमा जानकारी दिँदै मातृभूमिको रक्षार्थ जनमुक्ति सेनाले निर्वाह गरेको भूमिकाको चर्चा गर्नुभएको थियो । समारोहमा सांसद, गृहसचिव एकनारायण अर्याल, बलाधिकृत रथी अशोक सिग्देल, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, उच्चपदस्थ सरकारी अधिकारी यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि एवं सैनिक सहचारी, पत्रकार, राजनीतिज्ञलगायत समाजका प्रतिष्ठित व्यक्ति सहभागी हुनुहुन्थ्यो । साथै जनमुुक्ति सेनाको इतिहास र गतिविधि झल्कने वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।   यसैबीच, चीनले  नेपालको आर्थिक उन्नति तथा विकासलाई नै प्राथमिकता दिँदै आएको सन्दर्भमा मुलुकको पूर्वाधार विकासमा उत्तरी छिमेकीको योगदान महत्त्वपूर्ण रहेको बताउँदै अवकाशप्राप्त सहायक रथी सुरेश शर्माले चीनको यो साथ र सहयोगको नेपाल सरकार तथा जनताले सधै उच्च मूल्याङ्कन गर्नुका साथै सहयोगको यो निरन्तरता भविष्यमा पनि जारी रहने विश्वास गरेका बताउनुभयो । 

झापा:    बङ्गलादेशमा अशान्ति बढेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरु काँकडभिट्टाको स्थलमार्ग हुँदै स्वदेश फर्किएका छन् । आज मात्रै दुई सयभन्दा बढी विद्यार्थी काँकडभिट्टा नाका हुँदै सकुशल नेपाल भित्रिएका हुन् ।      “पछिल्लो दुई दिनको तुलनामा आज विद्यार्थीको आगमन बढेको हो”, अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले भन्नुभयो, “विद्यार्थीहरु विहानैदेखि आइरहेका छन् ।” उनीहरुलाई छिटोभन्दा छिटो अध्यागमन प्रक्रिया पूरा गरेर घर जाने वातावरण मिलाइरहेको उहाँले जानकारी दिनुभयो ।       बङ्गलादेशमा विद्यार्थीको आन्दोलन हिंसात्मक भएपछि विगत सात दिनदेखि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम सुरु भएको हो । सात दिनमा काँकडभिट्टा नाका हुँदै स्वदेश फर्किने विद्यार्थीको सङ्ख्या सात सयभन्दा बढी रहेको अध्यागमन प्रमुख पनेरुले बताउनुभयो ।      आज दिउँसो काँकडभिट्टा आइपुग्नु भएकी रंगपुर कम्युनिटी मेडिकल कलेजकी एमबीबीएस छात्रा भावना राईले नेपाली समुदायका चार सयभन्दा बढी विद्यार्थीलाई कलेजले आफ्नो बसमा ओसारेर भारतको सीमानाका फुलबारीमा ल्याइदिएको बताउनुभयो ।      इटहरी निवासी राईले विद्यार्थी ओसार्न प्रयोग गरिएको कलेजको बसलाई बङ्गलादेश सरकारले सुरक्षा दिएको थियो । “कलेजका प्राध्यापक र  कर्मचारीहरु पनि भारतको सीमासम्म हामीलाई पुर्याउन आउनु यो”, उहाँले भन्नुभयो, “कफ्र्यु लागेको अवस्थामा बङ्गलादेशबाट भारत प्रवेश गर्न सफल भयौँ ।”      आज मात्रै नौ वटा बसमार्फत एकै भारतीय सीमानाकासम्म आएका रंगपुर मेडिकल कलेज र प्राइम मेडिकल कलेजका विद्यार्थीमध्ये धेरैजसो दार्जीलिङ, सिक्किम र सिलिगुढी क्षेत्रका भएको उहाँले जानकारी दिनुभयो । केही विद्यार्थी भुटानबाट समेत आएका थिए ।            रंगपुर कम्युनिटी मेडिकल कलेजमा एमबीबीएसमा अध्ययनरत् समृद्ध थापाले स्वदेश फर्किने हतारका कारण आज सबै विद्यार्थी भोकै रहेको बताउनुभयो । काठमाडौँ निवासी उहाँले भन्नुभयो, “एक हप्तादेखि होस्टेलबाट बाहिर निस्कन पाएका थिएनौँ । सडकमा दिनहुँ गोली चलेको आवाजले हाम्रो मुटु हल्लिन्थ्यो । कहिले घर जान पाइएला जस्तो भएको थियो । आज खाना खाने फुर्सद पनि भएन । काँकडभिट्टा आइपुग्दा भोक र तिर्खा सबै हरायो । ढुक्क भइयो ।”      उत्तरी बङ्गलादेशको विभिन्न मेडिकल कलेजमा अध्ययनरत् नेपाली विद्यार्थीहरु नजिकको दूरी भएकाले काँकडभिट्टाबाट स्वदेश फर्किरहेका हुन् ।  काँकडभिट्टा आइपुग्ने वित्तिकै उनीहरुले परिवारसँग फोन र इन्टरनेट सम्पर्क गरी आफू सकुशल रहेको खबर गरेका थिए ।       सुर्खेत घर भएका रेणुका गुरुङले बङ्गलादेशमा फोन र इन्टरनेट बन्द भएपछि अत्यास लागेको अनुभूति सुनाउनुभयो । नयाँ विद्यार्थीहरुलाई सम्झाउन गाह्रो भएको उहाँको भनाइ थियो        उहाँले भन्नुभयो, “आज विहान चार बजे कलेजबाट हिँडेका थियौँ । शिक्षकहरुले हामीलाई भारतको सीमासम्म ल्याउन सहयोग पुर्याउनु भयो । जुस र पानी मात्र पिएर हामी काँकडभिट्टा आइपुग्यौं ।”      बङ्गलादेशस्थित कलेजले त्यहाँको सुरक्षा निकायसँग समन्वय गरेर भारतीय सीमानाका फुलबारीसम्म ल्याइदिएको कञ्चनपुरकी रक्षा भण्डारीले बताउनुभयो । विद्यार्थीहरुले बङ्गलादेशको बङ्गलाबन्ध, भारतको फूलबारी र पानीट्याङ्की नाकामा अध्यागमन प्रक्रिया पूरा गरेपछि मात्र नेपाल आउन पाउँछन् ।      पानीट्याङ्की नाकाबाट ई–रिक्सा र ट्याक्सी चढेर उनीहरु सिधै काँकडभिट्टस्थित अध्यागमन कार्यालयमा आइपुग्छन् । अध्यागमन प्रक्रिया सकेर उनीहरु झापा, इलामलगायतका नजिकका जिल्लाबासी भए गाडी रिजर्भ गरेर घर जाने गरेका छन् ।      काठमाडौँ र त्योभन्दा पश्चिमका विद्यार्थीहरु भद्रपुर विमानस्थलबाट हवाईमार्ग हुँदै घर जाने गरेका छन् । कतिपय अभिभावकहरु छोराछोरी लिन काँकडभिट्टाको अध्यागमन परिसरमै पुग्ने गरेका छन् । बङ्गलादेशको फरिदपुरस्थित मेडिकल कलेजमा एमबीबीएसमा अध्ययनरत् प्रतिभा नायकलाई लिन उहाँका आमावुवा अध्यागमन परिसरमै घण्टौं कुर्नु भएको थियो ।

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ ।            प्रधानमन्त्री ओलीद्वारा नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम राख्नुभएको प्रस्तावलाई बहुमतले पारित गरेको हो । बैठकमा भएको मतदानको परिणाम घोषणा गर्दै सभामुख देवराज घिमिरेले सभामा तत्काल कायम रहेको सङ्ख्याको बहुमतले सो प्रस्ताव स्वीकृत भएको जानकारी गराउनुभयो ।            मतदानमा कुल दुई सय ६३ सदस्यले भाग लिएकामा प्रधानमन्त्रीले राख्नुभएको विश्वासको मतको प्रस्तावका पक्षमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले)लगायतका राजनीतिक दल सम्वद्ध सांसदको गरी कूल एक सय ८८ मत परेको थियो ।  विपक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीलगायतका दलका गरी ७४ मत परेको छ । प्रधानमन्त्रीले प्राप्त गर्नुभएको उक्त मत संसदमा रहेका कूल सदस्यको दुई तिहाइ हो ।      मतदानमा एक सदस्य तटस्थ रहनुभएको थियो । गत असार २८ गते एमालेका अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो । गत असार १७ गते कांग्रेस र एमालेबीच सात बुँदे सहमति भएको थियो ।