गण्डकी: साँझ छिप्पिँदै थियो । मधुरो उज्यालोमुनि कलाकार भुइँमा पलेँटी कसे । बागलुङ बजारको एक प्रतिक्षालयमा सङ्गीतप्रेमी व्यग्र थिए, गीसङ्गीत सुन्न र त्यसको तालमा रमाउन । विस्तारै गुञ्जियो ‘तिमी रामराम भजी बाँच’ । यही भजनबाट शनिबार गायक अरुण थापा मगरको २५औँ स्मृति दिवस ‘अरुण स्मृति साँझ’ आरम्भ भयो । दिवसका अवसरमा नेपाल मगर युवा सङ्घ, नेपाल मगर विद्यार्थी सङ्घ, नेपाल मगर सांस्कृतिक सङ्घ र नेपाल मगर विद्यार्थी सङ्घ धवलागिरि बहुमुखी क्याम्पस एकाइ समिति बागलुङले संयुक्त रुपमा ‘अरुण स्मृति साँझ’ आयोजना गरेका हुन् । भजन गायक रमेश राजभण्डारीले अरुणले गाएको भजनसँगै उहाँसँगका स्मृतिलाई कोट्याउनुभयो । अरुणले आफ्नो जीवनकालमा यही एउटा मात्र भजन गाउनुभएको उहाँले सुनाउनुभयो । उहाँहरुबीच विसं २०३० तिर पोखरामा भेट भएको थियो । त्यो बेला अरुणले पोखराको डाँफे कला मन्दिरमा गीत गाउनुहुन्थ्यो । “गायनसँगै गितारवादनमा पनि उहाँ सिद्धहस्त हुनुहुन्थ्यो”, राजभण्डारीले भन्नुभयो, “भारतीय गायक किशोरकुमारबाट बढी प्रभावित हुनुहुन्थ्यो अरुण थापामगर ।” राजभण्डारीले नेपाली सङ्गीत जगत्का अमर प्रतिभाका रुपमा उहाँलाई स्मरण गर्नुभयो । अरुणका गीत युवा पुस्तामाँझ बढी लोकप्रिय रहेका राजभण्डारीले बताउनुभयो । अरुणका अधिकांश गीतमा मानवीय संवेदना, प्रेम र वियोगको अभिव्यक्ति पाइन्छ । कार्यक्रममा राजभण्डारीपछि पालैपालो अरु कलाकारले अरुण थापा मगरका गीत सुनाए । आफ्ना मनप्रिय गायकका गीत सुन्दा दर्शक मुग्ध देखिन्थे । उनीहरु साँझ अबेरसम्म सङ्गीतमा झुमिरहे । प्रेक्षालयमा घरी गहिरो मौनता छाउँथ्यो, घरी वाहीवाही चल्थ्यो । प्रेम र वैवाहिक सम्बन्धको दुःखान्त अन्त्यपछि अरुणले गाएका ‘जति माया लाए पनि...’, ‘चोट के हो व्यथा के हो...’ जस्ता लोकप्रिय गीतमा कलाकारलाई दर्शकले खुलेर साथ दिए । आफ्ना आदर्श गायकको सम्झनामा गायक शुभराम भारी, ताराप्रसाद श्रेष्ठ, किशोर थापालगायत पलेँटीमा प्रस्तुत भए । अरुण थापाको चर्चित गीत ‘ऋतुहरुमा तिमी...’ गायक श्रेष्ठले सुनाउनुभयो । किशोर थापाले ‘भुलुँभुलुँ लाग्यो मलाई...’, ‘चोट के हो व्यथा के हो...’लगायत गीत गाउनुभयो । कलाकार प्रेम बुढामगरले थापाको लोकप्रिय गीत ‘जति माया लाए पनि...’ र सागर सुनारले ‘आँखाको निद...’ सुनाउनुभयो । शुभराम भारीले अरुण थापालाई समर्पित गर्दै नारायणगोपालद्वारा स्वरबद्ध ‘आजै र राति के देखेँ सपनी...’ र ‘अल्झेछ क्यारे पछ्यौरी...’ प्रस्तुत गर्नुभयो । वाद्यवादनमा कलाकार सूर्य घतानेलगायतले साथ दिनुभयो । अरुण थापाका दर्जन बढी चर्चित गीत कार्यक्रममा प्रस्तुत भए । अरुणले आफ्नो जीवनकालमा झण्डै ५० गीत गाउनुभएको छ । गायक अरुण थापामगरको सम्मानमा स्मृति साँझको आयोजना गरिएको नेपाल मगर विद्यार्थी सङ्घ बागलुङका कार्यवहाक अध्यक्ष डम्मर बुढामगरले बताउनुभयो । कार्यक्रममा नेपाल मगर सङ्घका जिल्ला सदस्य सङ्गम घर्तीमगरले अरुणको व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो । उहाँले अरुण थापा जनमानसमा लोकप्रिय गायकका रुपमा स्थापित भए पनि तत्कालीन समयमा राज्यको उपेक्षामा परेको उल्लेख गर्नुभयो । “सुरुको कालखण्ड सुखद् रहे पनि अरुण थापाको जीवन वियोगान्त ढङ्गले टुङ्गिन पुग्यो”, उहाँले भन्नुभयो, “उहाँ जत्तिको गायकलाई राज्यकै तवरबाट सम्मान दिइनुपथ्र्यो तर आज मगर समुदायले मात्र सम्झनुपर्ने बिडम्वनापूर्ण अवस्था छ ।” अरुणले विसं २०३४ मा गाएको ‘ऋतुहरुमा तिमी हरियाली वसन्त हौँ’ बिबिसीले गरेको सर्वेक्षणमा विश्वका उत्कृष्ट १० गीतमध्ये सातौँ स्थानमा पर्न सफल थियो । नेपाली सुगम सङ्गीतलाई विश्वजगत्मा चिनारी गराउने श्रेय पनि गायक अरुणलाई दिइन्छ । जन्म विसं २००९ माघ ११ गते भारतको कलकत्तामा जन्मनुभएका अरुणको विसं २०५६ साउन ५ गते काठमाडौँको एक होटलमा देहान्त भएको थियो । जीवनको आखिरीतिर गम्भीर रुपमा अस्वस्थ भई उहाँले मुत्युवरण गर्नुपरेको थियो । ४७ वर्षको छोटो आयु बाँचे पनि गायक अरुण थापामगरले नेपाली सुगम सङ्गीतलाई कालजयी गीतहरु छोडेर जानुभएको छ । अरुणले विसं २०३२ मा रेडियो नेपालमा स्वरपरीक्षा उत्तीर्ण गरेपछि आश्विन गुरुङको रचना र ओमविक्रम विष्टको सङ्गीतमा ‘कतै टाढा तिमीबाट पुगेँ भने सम्झेर नरुने ठूलो छ संसार’ बोलको गीत ‘रेकर्ड’ गराउनुभएको थियो । यही गीतबाट अरुणको साङ्गीतिक यात्रा सुरु भएको थियो । उहाँको पहिलो गीतले सोचेजति सफलता पाउन सकेन । विसं २०३४ को अन्त्यतिर गाएको ‘ऋतुहरुमा तिमी’ र २०३६ मा सार्वजनिक ‘जति माया लाए पनि’ बोलको गीतले अरुण थापालाई एकाएक चर्चामा ल्याएको थियो । नेपाल मगर विद्यार्थी सङ्घलगायतका सङ्घसंस्थाले बर्सेनि अरुण स्मृतिका दिवसका अवसरमा ‘अरुण स्मृति साँझ’को आयोजना गर्दै आएका छन् ।
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भ्रष्टाचार र अनियमितताको छानबिन गरी दोषीउपर कारबाही गरिने बताउनुभएको छ । प्रतिनिधिसभामा आज विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार नगर्ने र नसहने बताउनुभयो । उहाँले सुशासनका पक्षमा आफ्नो नेतृत्वको सरकार दृढताका साथ अगाडि बढ्ने स्पष्ट पार्नुभयो । भ्रष्टाचारी एकदिन कानुनको कठघरामा पुग्ने विश्वास समाजमा स्थापित गराइने प्रधानमन्त्री ओलीको भनाइ थियो । सरकारले सहकारी पीडितका सन्दर्भमा उचित निर्णय लिने र सहकारी ठगलाई कानुनको कठघरामा उभ्याएरै छाड्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
काठमाडौँ: बङ्गलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली विद्यार्थी काठमाडौँ फर्किन थालेका छन् । यसैक्रममा आज ५७ जना नेपाली विद्यार्थी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । ती विद्याथीहरु बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजलगायत स्थानबाट स्वदेश फर्किएका परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिनुभयो । आज केहीबेर अघि यहाँ आइपुगेका ती विद्यार्थीलाई परराष्ट्र मन्त्रालयका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । परराष्ट्र मन्त्रालयले स्वदेश फर्कन चाहने विद्यार्थीको सहजीकरण गरिरहेको छ । मन्त्रालयले बङ्गलादेशको राजधानी ढाकास्थित नेपाली दूतावासका अधिकारीहरुलाई नेपाली विद्यार्थीको सुरक्षित वातावरण तथा नेपाल फर्कन चाहनेका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएको छ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थीको सहयोगका लागि मन्त्रालयमा ‘हेल्प डेस्क’ स्थापना गर्न लगाउनाका साथै ढाकास्थित नेपाली दूतावाससँग आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको छ । परराष्ट्रमन्त्री डा राणा आफैँले ढाकास्थित नेपाली राजदूतावाससँग निरन्तर सम्पर्कमा रही त्यहाँ रहेका नेपाली विद्यार्थी एवं अन्य नेपाली नागरिक कुनै समस्यामा परेका भए उनीहरुलाई सहजताका लागि समन्वय गर्न निर्देशन दिनुभयो । साथै नेपाल आउन चाहनेहरुका लागि पनि आवश्यक वातावरण मिलाउन पनि उहाँले निर्देशन दिनुभयो । परराष्ट्र मन्त्रालयले शनिबार नै एक सूचना जारी गरी त्यहाँ रहेका विद्यार्थीको सहजताका लागि आवश्यक सम्पर्क व्यक्तिसहित हेल्प डेस्कको व्यवस्था गरिएको जनाएको थियो । मन्त्रालयले समस्यामा परेका विद्यार्थी तथा अभिभावक एवं आफन्तका लागि आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि इमेल वा फोन नम्बरमा सम्पर्क गर्न एवं अनलाइन फाराम भर्न अनुरोध गरेको छ । यस प्रयोजनका लागि नेपाली राजदूतावास ढाकामा द्वितीय सचिव योजना बम्जन र रिया क्षेत्री तथा सिंहदरबारस्थित मन्त्रालयमा शाखा अधिकृत महेश्वरमणि त्रिपाठीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ । उता दूतावासले पनि विज्ञप्ति जारी गर्दै अत्यावश्यकबाहेक बाहिर ननिस्कन विद्यार्थीलाई सूचित गर्दै आवश्यक सहयोगका लागि दूतावासमा सम्पर्क गर्न भनिएको छ । सरकारी सेवा प्रवेशमा निर्धारित आरक्षणको विरोधमा भएको आन्दोलनका कारण शनिबारसम्म करिब आठ सय नेपाली विद्यार्थी नेपाल आइसकेका मन्त्रालयले हिजो जनाएको थियो ।
काठमाडौं: नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा दुईवटा बस खस्दा बेपत्ता भएका यात्रुहरुको खोजी गर्न दुई सयभन्दा बढी सुरक्षाकर्मी खटिएका छन् । खोजीकार्यमा सुरक्षाकर्मीसँगै चितवन पुगेको भारतीय प्राविधिक टोलीले आज बिहानैदेखि घटनास्थल सिमलतालबाट खोजी थालेको हो । चितवनका प्रहरी उपरीक्षक भावेश रिमालले नेपाली सुरक्षाकर्मीसहित भारतीय प्राविधिक टोलीले खोजीकार्य अघि बढाएको जानकारी दिनुभयो । शनिबार आवश्यक उपकरणसहित चितवन पुगेको टोलीले जिल्लास्थित सुरक्षा समितिसँत छलफल गरेको थियो । भारतको ‘राष्ट्रिय आपदा मोचन बल (एनडीआरइफ)’ का १२ जनाको प्राविधिक टोली चितवन आइपुगेको हो । “टोलीले ३० मिटर गहिराइसम्मको वस्तु सङ्केत गर्नसक्ने सोनार क्यामेरालगायत प्रविधि प्रयोग गरिरहेको छ”, प्रहरी उपरीक्षक रिमालले भन्नुभयो, “जिल्ला सुरक्षा समितिको बैठकपछि शनिबार नै टोली कुरिनटार पुगेको थियो ।” गृहमन्त्री रमेश लेखक र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच केही दिनअघि भएको शिष्टाचार भेटमा सिमलताल पहिरोमा परी बेपत्ता भएका यात्रुको खोजी गर्न अत्याधुनिक प्रविधिसहित सहायता उपलब्ध गराउनेबारे छलफल भएको थियो । घटनापछि लगातार सुरक्षा निकाय खोजी कार्यमा जुटेको छ । हालसम्म बेपत्ता २५ जनाको शव भेटिएको छ । सात जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खोजीकार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र भारतीय प्राविधिक टोली परिचालन गरिएको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई तत्कालीन राजाले निर्वाचित हुन पाइन्न भन्ने सन्देश दिन जेलमा थुनेको बताउनुभएको छ । बिपी कोइरालाको ४२औँ स्मृति दिवसका अवसरमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको बिपी कोइराला राष्ट्रिय पुरस्कार, २०८० समर्पण समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले डेढ दशकमा सबै जनतालाई प्रधानमन्त्री सो सरहको जीवनयापन गर्ने अवस्थामा पु¥याउँछु भनेकैले बिपीलाई जेलमा हालिएको बताउनुभयो । सोही कारण बिपीलाई आठ वर्षसम्म सुन्दरीजल बन्दीगृहमा थुनिएको उहाँले सुनाउनुभयो । “झूटा आरोप र मुद्दाका आधारमा बिपीलाई जेल हालियो, कांग्रेसले गद्दीमा ल्याएर राखेका राजाले बिपीलाई बिनाकारण जेल हाले, बिपीले सत्यको मार्ग हिँडेर जीवनभर मूल्य चुकाउनुभयो, सत्य बोल्ने र सही काम गर्ने हो भने मूल्य चुकाउनुपर्छ भन्ने मानसिकताले उहाँ अघि बढ्नुभएको थियो,” प्रधानमन्त्री ओलीले भन्नुभयो । जनताले लगाएको कपडाका साथै जनताको अवस्था देखाउँदा बिपीका पिता कृष्णप्रसाद र माता दिव्या कोइरालालाई पनि राणा शासकले सर्वस्व हरण गरी निर्वासनमा पठाएको उहाँको भनाइ छ । बिपीले भिन्न विचार राख्न पाउने स्वतन्त्रताका लागि सङ्घर्ष गर्नुभएको प्रधानमन्त्री ओलीले बताउनुभयो । बिपीले विसं २०३५ मा बिबिसीलाई दिनुभएको अन्तर्वार्तामा तर्कसहित स्पष्ट रुपमा राष्ट्रिय एकताको सवाल उठाउनुभएको उहाँले सुनाउनुभयो । अहिलेको पुस्तालाई कथाजस्तो लाग्ने बिपीको जीवनकथा पढ्न रोमाञ्चक भए पनि भोग्न सहज नहुने प्रधानमन्त्री ओलीको भनाइ छ । “जीवनमा सङ्घर्ष गरेरै बिपीले राजनीति र साहित्यलाई नयाँ उचाइमा लग्नुभयो, बिपीका बेलाको बलिदान र सङ्घर्ष अहिलेको पुस्तालाई कथाजस्तो लाग्नसक्छ, त्यस्तै सङ्घर्ष गरेकैले बिपी कालजयी व्यक्तित्व बन्नुभयो,” उहाँले भन्नुभयो । सो अवसरमा प्रधानमन्त्री ओलीले विसं २०८० को बिपी कोइराला राष्ट्रिय पुरस्कारबाट राजनीतिक दर्शन विधातर्फ किशोरकुमार अधिकारी र होमनाथ दाहाललाई पुरस्कृत गर्नुभयो । संयुक्त रुपमा प्रदान गरिएको पुरस्कारको राशि रु दुई लाख नगद, प्रमाणपत्र र दोसल्ला छ । यसैगरी, साहित्यिक विधातर्फको बिपी कोइराला राष्ट्रिय पुरस्कार प्राडा योगेन्द्रप्रसाद यादव र प्राडा हरिप्रसाद शर्मा पराजुलीलाई संयुक्त रुपमा प्रदान गरिएको थियो । पुरस्कारको राशि रु दुई लाख नगद, प्रमाणपत्र र दोसल्ला रहेको छ । मन्त्रालयले विसं २०७८ देखि यो पुरस्कार प्रदान गर्दै आएको छ ।
काठमाडौं: सुनको मूल्य आज प्रतितोला रु एक हजार तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला रु एक लाख ४७ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४६ हजार दुई सय निर्धारण भएको हो । त्यस्तै शुक्रबार प्रतितोला रु एक लाख ४६ हजार आठ सयमा कारोबार भएको तेजाबी सुन आज रु एक लाख ४५ हजार पाँच सय निर्धारण भएको छ । चाँदीको मूल्य भने आज प्रतितोला रु २० ले घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार आठ सय ३० मा कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार आठ सय १० निर्धारण भएको छ ।
चितवन: नारागणगढ–मुग्लिन सडकको सिमलतामा पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस र तिनमा सवार यात्रीको खोजीमा भारतीय टोली जुटेको छ । भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ)को १२ सदस्यीय टोली आज बिहानदेखि खोजतलासमा जुटेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले राससलाई बताउनुभयो । असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेएको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस र काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–२४९५ख ००१ नम्बरको बस सिमलताल पहिरोमा बगेका थिए । बसमा सवार ६५ जनामध्ये तीनजना बाँच्न सफल भएका थिएभने ६२ जना बेपत्ता भएका थिए । आजसम्म २५ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ भने १७ जनाको सनाखत भएको छ । अझै ३७ यात्री र दुईवटै बसको अवस्था अज्ञात छ । मुलुकमा अत्याधुनिक उपकरणसहितका जनशक्ति नहुँदा सरकारको अनुरोधमा भारतबाट उक्त टोली आएको हो ।
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्नो दलका सांसदलाई पार्टीले ह्विप जारी गरेको नेता मेटमणि चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सरकारमा सहभागी दलको साझा नीति तथा कार्यक्रमका आधारमा पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने छ । पार्टीले प्रतिपक्षमा रहेर सरकारलाई गुण र दोषका आधारमा सहयोग गर्नेछ ।”
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आज काठमाडौँ ल्याइने बताउनुभएको छ । प्रधानमन्त्रीले सम्बन्धित परिवारको मागबमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन प्रबन्ध मिलाइएको बताउनुभएको हो । प्रधानमन्त्री ओलीले शनिबार राति सामाजिक सञ्जालमा जारी गर्नुभएको सन्देशमा भनिएको छ, “बङ्गलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहेका छन् । ती विद्यार्थीका परिवारसँग आज मेरो भेट भयो । परिवारको मागबमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीलाई भोलि बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौ फर्काउने प्रबन्ध गरिएको छ ।” प्रधानमन्त्री ओलीले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको पनि उल्लेख गर्नुभएको छ । बङ्गलादेशमा सरकारी सेवा प्रवेशमा निर्धारित गरिएको आरक्षणको विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । करिब तीन हजार नेपाली विद्यार्थी बङ्गलादेशमा रहेका ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।