सिरहा: आजभन्दा करिब १५ वर्षअगाडि अर्थात् २०६७ साल असार महिना हुँदो हो । एक दिन मध्यरात, लहान–१३ स्थित पक्की टोल गहिरो निद्रामा थियो । त्यसैबखत गाउँमा अचानक डाँकाहरूको समूह गाउँमा पस्यो । ढोका फोड्दै, मा...

काठमाडौं:     साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ ।       साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।      संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।       साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो ।       साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् भट्टराई बताउनुहुन्छ । तर यसको कुनै शास्त्रीय वचन भने छैन ।       ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खिर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खिर बनाउँछन् ।       चामल, सावधाना, सेवइ, मकै, गाजरलगायतको खिर बनाउने गरिन्छ । सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिर समेत बनाएर खाने चलन छ । खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।       नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खिरलाई परिभाषित गरेको छ ।      नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खिर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवा लगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रही आएको छ ।      दूधबाट बनेको खिरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । बोर्डको २०७७ फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खिर खाने दिन अर्थात् खिर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।      नेपालको खाद्य नियमावली अनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, चार दशमलव सात प्रतिशत ल्याक्टोज र तीन दशमलव पाँच  प्रतिशत प्रोटिनको गणना गर्दा प्रति एक सय ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने उल्लेख छ ।

काठमाडौं:     परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग पूर्वब्रिटिस गोरखाहरूले आफूहरूको समान ज्याला, सुविधा र व्यवहारका लागि बेलायत सरकारसँग पहल गरिदिन आग्रह गर्नुभएको छ ।   ब्रिटिस गोरखा सत्याग्रह संयुक्त सङ्घर्ष समिति युके नेपालको प्रतिनिधिमण्डलले आज मन्त्री डा राणासँग भेटगरी यस्तो आग्रह गरेको हो ।  सङ्घर्ष समितिका प्रतिनिधिहरूले सामान्यतया सिपाहीहरू जुन देशको झण्डामुनि गोलबद्ध हुन्छन् उनीहरूले सोही देशका सेना सरह नै सेवा सुविधा पाउनुपर्ने व्यवस्था रहेको भए पनि बृटिश गोरखाका हकमा त्यसो हुन नसकेको भन्दै समानताका लागि पहल गरिदिन आग्रह गरेका थिए । त्यस अवसरमा मन्त्री डा राणाले ब्रिटिस सरकारका पक्षमा ब्रिटिस गोरखाहरूको ठूलो योगदान र बलिदान रहेको चर्चा गर्नुहुँदै उनीहरूकै सेना सरहको सेवा र सुविधाका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।     उक्त सङ्घर्ष समितिका अध्यक्ष भीमबहादुर तावा लिम्बूले ब्रिटिस गोरखाहरूले आफ्ना अधिकारका लागि करिब ३४ वर्षदेखि सङ्घर्ष गर्दै आएको स्मरण गर्नुहुँदै सन् २०१३ र सन् २०२१ मा गरिएको लामो अनशनपछि केही सुविधा दिए जस्तो देखिए पनि त्यो आफूहरूका पक्षमा नभएको बताउनुभयो । यसअघिका वार्ताहरूमा भएका सहमति कार्यान्वयन गर्न पनि उनीहरू तयार नरहेको भन्नुहुँदै उहाँले यो समस्या समाधानका लागि नेपाल सरकारले नै मन्त्रीकोे अध्यक्षतामा एक उच्चस्तरीय आयोग गठन गर्न पनि मन्त्री डा राणासँग माग गर्नुभयो ।       सङ्घर्ष समितिका प्रमुख सल्लाहकार एलबि घिसिङ, महासचिव एसबि घिसिङलगायतले बेलायतको पक्षमा दुई सय आठ वर्ष लामो समयदेखि लड्दै आएका गोरखालाई आफ्ना सैनिक सरहको सेवा, सुविधा दिई समान व्यवहार गर्नुपर्नेमा ब्रिटिस सरकारले उल्टै आधारभूत मानव अधिकारको पनि संरक्षण नगरेको र श्रम शोषण मात्र गरेको आरोप लगाउनुभयो । उहाँहरूले सन् २०१८ मा पनि दुवै सरकारका तर्फबाट एक संयुक्त प्रतिवेदन बनाएको भए पनि त्यसको कार्यान्वयनमा बेलायत सरकार इच्छुक नदेखिएको जानकारी गराउनुभयो । 

मनाङ:    बाढीका कारण पूर्ण रुपमा अवरुद्ध मनाङ प्रवेशको एक मात्र सडक सञ्चालनमा आएको छ । चामे गाउँपालिका–१ तिमाङस्थित स्याक्र्यु झरनामा फलामको पुल राखेपछि यातायात सञ्चालनमा आएको हो ।      वर्षा भइरहेकाले केही कठिनाइ भएको भन्दै लामो समयको प्रयासपछि पुल राख्ने काम पूरा भएसँगै यातायात नियमित सञ्चालनमा आएका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताउनुभयो ।  निरन्तरको वर्षासँगै गत असार १८ गते झरनाको बाढीसँगै आएको ढुङ्गासहितको गेग्र्यानले मोटरेवल पुलमा क्षति पु¥याएपछि आवतजावत रोकिएको थियो । उक्त स्थानमा फलामको पुल राखेपछि आजदेखि यातायातका साधन सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो ।      प्रजिअ लामिछानेले भन्नुभयो, “पानी पर्ने क्रम केही कम भए पनि मनसुन कायम रहेकाले काम केही ढिलाइ भएको हो । आजदेखि सञ्चालनमा आएको पुलबाट पैदलयात्रीका साथै सवारीसाधन आवतजावत गर्न सक्छन् ।”       गत असार १८ गते तिमाङ खोलाको बाढीले काठेपुल पनि बगाएको थियो । तिमाङ खोलामा बाढीले डुम्रे–चामे–बेँसीसहर खण्डअन्तर्गत दानाक्यु, तिमाङ सडक अवरुद्ध भएको थियो । तिमाङ खोलामा पनि काठेपुल राखेर यातायात सञ्चालन गरिएको प्रजिअ लामिछानेले बताउनुभयो ।         प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङले पटकपटकको बाढीपहिराको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गतको मनाङ क्षेत्रमा मोटरेबल राख्न पहल भइरहेको बताउनुभयो । उहाँका अनुसार जिल्लावासीलाई सहज यात्रा गर्ने वातावरण बनाउन यहाँका विभिन्न आठ स्थानमा मोटरेबल पुल राख्न पहल भइरहेको छ ।        सांसद गुरुङले भन्नुभयो, “यहाँका नागरिकले सधैँ जोखिम र सास्ती भोगेर गर्नुपर्ने यात्रामा सहज बनाउने प्रयासमा छौँ । चालु आर्थिक वर्षमा समावेश हुनेगरी आठवटा पुल निर्माण गर्न माग गरिएको छ ।” पर्यटकीय क्षेत्र भएकाले पनि मनाङको यात्रा सहज बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।      गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङले आवतजावत रोकिएपछि प्राथमिकताका साथ स्थलगत रुपमा खटिएर फलामको पुल राखी यातायात सञ्चालनमा ल्याइएको बताउनुभयो । मनाङवासीको सास्तीलाई सहज बनाउने प्रयासमा प्रदेश रहेको उहाँको भनाइ छ ।      नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मनाङका इन्चार्ज कपिल लामाले यात्रा कठिन भइरहेको अवस्थामा पुल पुनःनिर्माण भई सञ्चालनमा आएपछि खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका साथै अन्य निर्माण सामग्री ढुवानीमा सहज भएको बताउनुभयो ।  झरनामा फलामको पुल राख्ने क्रममा कामदारले जोखिमपूर्ण अवस्थामा काम गरेका प्रजिअ लामिछानेले बताउनुभयो । “झरनाको पानी कम भएपछि मात्रै काम थालिएको थियो”, उहाँले भन्नुभयो, “यहाँ पुल निर्माण भएसँगै यात्रा सहज भएको छ ।” पुल बनेसँगै विच्छेद भएको तल्लो र माथिल्लो मनाङ आवतजावत सहज हुँदा स्थानीय खुसी भएका छन् ।   

मुस्ताङः    मुस्ताङमा तालुधर्से अर्जुनक नामको नयाँ प्रजातिको चरा भेटिएको छ । चराविद् सञ्जय था श्रेष्ठ र शङ्कर तिवारीले उपल्लो मुस्ताङको समर क्षेत्रमा नयाँ प्रजातिको चरा फेला पार्नुभएको नेपाल पन्छीविद् सङ्घले जनाएको छ ।       नेपाल बर्ड रेकर्ड कमिटि (चरा अभिलेख तथा प्रमाणीकरण गर्ने समिति) का अध्यक्ष डा तुल्सी सुवेदीले श्रेष्ठ र तिवारीले उक्त तिनधर्से अर्जुनक जातको चरा नेपालमा पहिलो पटक भेटिएको विज्ञप्तिमार्फत जानकारी दिनुभयो । स्पोटेड फ्लाइक्याचर (Spotted Flycatcher) अंग्रेजी नाम भएको उक्त चराको वैज्ञानिक नाम मुसिकापा स्ट्रिएटा (Muscicapa Striata)  रहेको कमिटिका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।       समुन्द्री सतहबाट तीन हजार छ सय ५० मिटर उचाइमा यही साउन २ गते बिहान पदयात्राका क्रममा श्रेष्ठ र तिवारीले खिच्नुभएको सो चराको तस्विर पुष्टिका लागि नेपाल बर्ड रेकर्ड कमिटिमा पठाउनु भएको थियो ।       उपलब्ध प्रमाण, विवरण अध्ययन र राष्ट्रिय अन्र्तराष्ट्रिय पन्छीविद्सँगको सुझावका आधारमा तालुधर्से अर्जुनक भएको पुष्टि गरी नेपालमा पाइने चराको अभिलेखमा प्रजाति थप गरिएको अध्यक्ष सुवेदीले बताउनुभयो ।       धर्से अर्जुनकसहित नेपालमा चरा प्रजातिको सङ्ख्या आठ सय ९६ वटा पुगेका छन् । अर्जुनक प्रजातिको सङ्ख्या २४ पुगेको छ । नेपालबाट सबैभन्दा नजिक मङ्गोलिया, उत्तरी चीनको विभिन्न ठाउँ, पश्चिमतर्फ अफगानिस्तान, पाकिस्तानमा यो चरा पाइन्छ ।       जाडो याममा यिनीहरु नियमित रुपमा दक्षिणतिर बसाइँ सर्छन् । मुस्ताङमा भेटिएको यो चरा बसाइँसराईको क्रममा बाटोमा फिरन्ते रुपमा आइपुगेको हुन सक्ने अनुमान गरिएको चराविद् सञ्जय था श्रेष्ठले बताउनुभयो ।       “देशका लागि नयाँ चरा पहिचान गर्न सकेकामा खुसी लागेको छ”, वाइल्डलाइफ फोटोग्राफरसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो, “यसले चरा पर्यटनमा लाग्न उत्साह थपिएको छ । चराका फोटो खिच्न उत्प्रेरित गरेको छ ।” नेपाल बर्ड रेकर्ड कमिटीले नेपालमा नयाँ चराको अभिलेख राख्ने गर्दछ । श्रेष्ठले सन् २०२० मा मनोहरामा सेतोजुँगे बगेडी चरा मुलुकका लागि पहिलो पटक अभिलेख गर्नुभएको थियो । 

गोरखाः    उत्तरी गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेमा पहिरोमा परेर आइतवारदेखि बेपत्ता भएका चार जनाको शव आज फेला परेको छ ।  पहिरोमा परेर बेपत्ता भएका ७० वर्षीय सुलाल कान्छा गुरुङको शव घर नजिकै २० मिटर तल पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।  यस्तै बेपत्ता ३७ ७० वर्षीय   जीतबहादुर गुरुङको शव पनि भेटिएको छ । उनको  शव घरदेखि करिब २५ मिटर तल पहिरोले पुरिएको अवस्थामा फेला परेको हो ।  पहिरोमा परेर बेपत्ता भएका ३३ ७० वर्षीय रेशम गुरुङको शव भने आज दिउँसो करिब ३ बजे फेला परेको हो । उनको शव घरदेखि ३० मिटर तल फेला परेको उहाँले बताउनुभयो । पहिरोमा परेर बेपत्ता भएकी ३५ ७० वर्षीया कान्छी गुरुङको शव भने गण्डकी गाउँपालिका–८ बर्खेघाटमा फेला परेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।  आइतबार दिउँसो वेवारिसे अवस्थामा बुढीगण्डकी नदी किनारमा भेटिएको उक्त शव पहिरोमा परेर बेपत्ता भएकी कान्छीको भएको परिवारले पुष्टी गरेको हो । पहिरोमा बेपत्ता भएका आरुघाट गाउँपालिका २७ वर्षीय रमेश परियारको अवस्था  अझै अज्ञात छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं:     प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताका लागि आवश्यक पर्दा जोसिनुपर्ने बताउनुभएको छ । युगकवि सिद्धिचरण श्रेष्ठको एक सय १३औँ जन्मजयन्ती समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले युगकविका रचनाले क्रान्तिमा होमिएका युवाहरुको उदाहरण दिँदै देश र जनताका लागि आवश्यक पर्दा युवाहरु जोसिनु स्वाभाविक रहेको बताउनुभएको हो ।      “जसरी नेपाल–अङ्ग्रेज युद्धका बेला नेपाली जोसिएका थिए, त्यसरी नै आवश्यक पर्दा कहिलेकाहीँ जोसिनुपर्छ, युवाहरु चम्किनुपर्छ”, उहाँले भन्नुभयो । प्रम ओलीले आफू पनि युगकवि सिद्धिचरणबाट वैचारिक र साहित्यिक रुपमा प्रभावित रहेको उल्लेख गर्नुभयो ।  “उहाँ मेरो पनि गुरु हो, उहाँबाट म अति  प्रभावित छु”, उहाँले भन्नुभयो, “उहाँले लेख्नुभएको गीतको प्रेरणाबाट धेरै युवाहरु क्रान्तिमा होमिन र सहिद हुन तयार हुनुभयो । गङ्गालाल श्रेष्ठ पनि उहाँकै गीतबाट प्रभावित भई सहिद हुनुभएको प्रसङ्ग आयो । म पनि क्रान्तिमा होमिएको थिएँ ।”      युगकविका सिर्जनाबाट धेरै स्रष्टाको सिर्जनामै प्रभाव परेको उहाँको भनाइ थियो । युगकवि सिद्धिचरण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा युगकवि सिद्धिचरण पुरस्कार प्राडा उषा ठाकुरलाई नगद रु एक लाखसहित प्रदान गरियो । युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका लागि ओखलढुङ्गा संवाददाता नवराज कार्की नगद रु ४० हजारसहित पुरस्कृत हुनुभयो ।      सोही समारोहमा प्रतिष्ठानद्वारा प्रकाशित ‘युगकवि सिद्धिचरणका गद्य कविता’ र ‘विज्ञका दृष्टिमा युगकवि’ नामक दुईवटा कृति विमोचन गरिएको छ । विसं १९६९ जेठ ९ गते जन्मनुभएका युगकवि श्रेष्ठको जन्मजयन्ती समारोह जेठ ९ गते गरिँदै आएकामा यस वर्ष उहाँकी सुपुत्रीको निधन भएकाले स्थगित गरी आज सम्पन्न गरिएको हो ।       कार्यक्रमको अध्यक्षता युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष कवि बैरागी काइँलाले गर्नुभएको थियो । समारोहमा प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठ, प्रधानसेनापति प्रभुराम शर्मालगायत साहित्य र प्राध्यापन क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।      कवितामा क्रान्ति शब्द प्रयोग गरेकै कारण तत्कालीन राणा शासकहरुले सिद्धिचरण श्रेष्ठलाई सर्वस्वसहित १८ वर्ष कारावासको सजाय सुनाएको थियो । उहाँ पाँच वर्ष जेल सजायपछि विसं २००२ मा जेलमुक्त हुनुभएको थियो । उहाँका हालसम्म ३९ कृति प्रकाशित भइसकेका छन्  । अझै प्रकाशोन्मूख सातवटा कृति रहेको युगकवि सिद्धिचरण प्रतिष्ठानले जनाएको छ । 

पोखरा:    सांसदहरुले कास्कीको पोखरा महानगरपालिका–२१ मा दुर्घटनामा परेको विद्यार्थी बोकेको स्कूल बसको विषयबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।    प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद शिव नेपालीले तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको निष्कर्ष रहेको उल्लेख गर्दै विद्यालयको बसको गति सीमित तुल्याउन र नियमन गर्न सरकारलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “चालकले तीव्र गतिमा बस कुदाउने गर्दछन्, त्यसकारण नेपाल सरकारले कडाईका साथ विद्यालयका बसको गति सीमिततालाई कार्यान्वयन गर्न जरुरी छ ।” कास्कीको पोखरा महानगरपालिका–२१ मटिखान नजिकै एलपी देवकोटा मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको बस आज बस दुर्घटनामा परेको थियो । दुर्घटनामा ६ वर्षीय प्रिन्स विक र ३३ वर्षीया आरती विकको मृत्यु भएको थियो ।     सांसद नेपालीले भन्नुभयो, “पछिल्लो समयमा सडक तथा हवाई दुर्घटना बढेको छ, उड्नेबाट यात्रा गरे शव नै नचिनिने र गुड्नेबाट यात्रा गरे शव नै नभेटिने अवस्था छ, दुर्घटना न्यूनीकरणमा सरकारको ध्यान जानुपर्छ ।”   सांसद नेपालीले बिपी कोराइलाको ‘उत्पादन र उद्यमशीलतामा जोड दिनुपर्छ’ भन्ने भनाइलाई स्मरण गर्दै नेपालमा प्रजातन्त्र तथा गणतन्त्र आए पनि तीनै तहका सरकारले सही ढङ्गबाट काम गर्न नसकेको आरोप लगाउनुभयो ।  गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय यातायातसम्बन्धी ऐन, कानून तथा नियमावली जारी गरे पनि सो ऐन, कानुन तथा नियमावली यातायात व्यवसायी विरुद्ध भएको उहाँको भनाइ थियो ।   “कानुनका कयौँ बुँदा यातायात व्यवसायीका विरुद्धमा छन्, यातायात महासङ्घ, स्थानीय समितिसँग छलफल नै नगरी ऐन ल्याएको देखिन्छ,” सांसद नेपालीले भन्नुभयो ।     सांसद रोशन कार्कीले महिला हिंसाको उजुरी परेका प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानलाई कुनै पनि सरकारी निकायमा नियुक्त गर्न नहुने जिकिर गर्नुभयो ।      सांसद अब्दुल खानले वर्षाका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग पुनः सञ्चालनमा ल्याउन आग्रह गर्नुभयो । उहाँले दैलेखको आठबिस नगरपालिका–१ असारघाट नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएकाले सुर्खेतबाट माथिलो कर्णाली र माथिलो कर्णालीबाट सुर्खेततर्फ आवतजावत गर्ने यात्री अलपत्र परेको सदनलाई जानकारी गराउनुभयो ।         सांसद खानले कास्कीको पोखरामा भएको स्कूल बस दुर्घटनामा परेका विद्यार्थीको उपचारमा ध्यान दिन सरकारसँग माग गर्नुभयो । उहाँले हवाई तथा सडक यातायात असुरक्षित बन्दै गएकामा चिन्ता व्यक्त गर्दै सुरक्षित यात्राको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।        सांसद  डा अमरेशकुमार सिंहले पछिल्ला दिनमा सडक दुर्घटना बढ्दै गएको भन्दै सडक पूर्वाधारको गुणस्तरमाथि प्रश्न उठेको टिप्पणी गर्नुभयो ।

काठमाडौं:    नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा लामो समयदेखि कार्यरत विमान परिचारक र विमान परिचारिका (एयरहोस्टेस)ले सेवासुविधा नपाएको भन्दै सेवा वृत्तिको माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेसमक्ष आग्रह गरेका छन् ।      निगमका करार सेवामा कार्यरत एयरहोस्टेसको टोलीले आज पर्यटनमन्त्री पाण्डेलाई उहाँको कार्यकक्ष सिंहदरबारमा भेटी मागसहितको १२ बुँदे सुझावपत्र बुझाएका हुन् ।  निगममा कार्यरत सम्पूर्ण एयरहोस्टेस सेवा प्रवेश गर्दा करारमा रहेको र हाल पनि करारमै काम गरिरहनुपरेको उल्लेख गर्दै जीवनभर नै करार सेवामा बिताउनुपर्दा वृत्तिविकासको चिन्ता र आश्रित परिवार तथा सन्तानको समेत भविष्यलाई दृष्टिगत गरी सेवा वृत्ति गर्न उहाँहरुले माग गर्नुभएको छ ।      एयरहोस्टेसको सुझावपत्र बुझ्दै पर्यटनमन्त्री पाण्डेले मागप्रति सकारात्मक रहेको भन्दै आवश्यक पहल गर्ने बताउनुभएको भेटमा सहभागी ‘क्याबिन क्रू’ एसोसिएसन अफ नेपालका (सिक्यान) का अध्यक्ष प्रभा कार्कीले जानकारी दिनुभयो ।  आफूहरु कर्मचारी सञ्चयकोषदेखि विभिन्न सेवासुविधाबाट वञ्चित रहेको र अन्यायमा परेकाले समस्या सम्बोधन गरिदिन मन्त्री पाण्डेसमक्ष आग्रह गरिएको उहाँले बताउनुभयो ।      नेपाल एयरलाइन्समा एयरहोस्टेस लामो समयदेखि करारमा कार्यरत छन् । नेपाल एयरलाइन्समा करिब एक सय ७० एयरहोस्टेस रहेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । एसोसिएसनका अध्यक्ष कार्की नेतृत्वको करिब ३५ जनाको टोलीले मन्त्री पाण्डेसँग सामूहिक रुपमा भेट गरेको हो ।      नेपाल वायुसेवा निगम ऐन, २०१९ र निगमका कर्मचारीहरुको सेवा, सर्तसम्बन्धी विनियमावली, २०५८ (संशोधन सहित) अन्तर्गत रही कार्यरत छन् । करार सेवामा नियुक्त गरिएका अन्य कर्मचारीहरुभन्दा एयरहोस्टेसलाई भेदभावको व्यवहार गरिएको एसोसिएसनका अध्यक्ष कार्कीले बताउनुभयो ।      एयरहोस्टेस नेपाल वायुसेवा निगमका कर्मचारीहरुको सेवा, सर्तसम्बन्धी (संशोधन) विनियमावली, २०५८ को विनियमबमोजिम ‘क्याबिन क्रू’ का रुपमा परिभाषित छन्भने विमान चालक (पाइलट) हरु ‘ककपिट क्रू’ का रुपमा छुट्टै परिभाषाअन्तर्गत राखिएको छ । संसारका धेरै मुलुकहरुमा पाइलट र एयरहोस्टेसलाई  ‘फ्लाइड क्रू’ का रुपमा परिभाषा गरी एउटै वर्गको सेवामा राखिएको भन्दै समान व्यवहार गर्न माग गरिएको छ ।      “निगमका पदाधिकारी, कर्मचारी, इन्जिनियर, पाइलट तथा अन्य विभागमा कार्यरत कर्मचारीको सेवा आकर्षक छ, बढुवाको र निवृत्तिभरणको व्यवस्था छभने दुर्घटनामा अशक्त वृत्तिको राम्रो प्रबन्ध छ ।  सेवाको प्रकृति अनुकूल हामीले विमानको व्यवस्थापनको महत्वपूर्ण सेवा गरेकाले हामीहरुलाई फरक व्यवहार गरिनु र सेवा सर्तका रुपमा ठूलो विभेदको सिकार हुनुले हामीलाई गम्भीर पीडा दिँदै आएको छ”, सुझावपत्रमा उल्लेख छ ।      ‘एयरहोस्टेसलाई कुनै सेवा र सुविधाको सुनिश्चितता नुहनु, दुर्घटनामा पर्दासमेत विमान परिचारक र परिचारिकाले कुनै खालको अशक्त वृत्तिको व्यवस्था नहुने, सेवामा रहँदा समेत बढुवाको व्यवस्था नहुनु, जिन्दगीभर एउटै पदमा उही रुपमा काम गर्नु, र निस्केको दिन खाली हात निस्कनुपर्ने’ विनियमावलीको व्यवस्थाले पीडा दिएको उहाँहरुको गुनासो छ । एयरहोस्टेस विगत १७ वर्षदेखि एउटै पदमा  कार्यरत रहेका छन् ।

काठमाडौं:     प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाली आकाशमा हवाई दुर्घटना बढेसँगै नियामक निकायको भूमिकामाथि प्रश्न उठेको छ ।       बैठकमा सांसद उदयशमशेर जबराले पछिल्लो छ दशकमा साना ठूला गरी ७२ वटा हवाई दुर्घटना भएकाले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको भूमिकामाथि प्रश्न उठेको बताउनुभयो ।  सो अवधिमा भएका हवाई दुर्घटनामा परी नौ सय ३५ जनाले ज्यान गुमाएका तथ्याङ्क प्रस्तुत गर्दै उहाँले हवाई दुर्घटना न्यूनीकरणमा विशेष योजना ल्याउन र कडाइका साथ कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षण गराउनुभयो ।       सांसद रघुजी पन्तले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताबारे मुलुकका सबै राजनीतिक दल र नागरिकको एउटै आवाज हुनुपर्ने आवश्यकता औँल्याउँदै सार्वभौमसत्ता र भौगोलिक अखण्डता जोगाउने सबालमा सरकार सशक्त रुपमा भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।        सांसद अमनलाल मोदीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायलाई दृढताका साथ अघि बढाएको उल्लेख गर्दै वर्तमान सरकारले सुशासनको अभियानलाई निरन्तरता दिन्छ कि दिँदैन भनेर प्रश्न गर्नुभयो ।       सांसद रवि लामिछानेले सरकारले अन्य पार्टी र पार्टीका नेतालाई कमजोर देखाउनेतर्फ भन्दा पनि सुशासन, जनतालाई राहत दिने, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषयमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।       सांसद अनिसा नेपालीले विपन्न क्षेत्रका बालबालिका विद्यालय जानबाट वञ्चित हुनुपरेको उल्लेख गर्दै असहाय, अपाङ्गता भएका, अनाथ र जोखिममा रहेका बालबालिकालाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।       सांसद रञ्जुकुमारी झाले राजनीतिक दलले एक–अर्काप्रति आरोप प्रत्यारोप नगरी मुलुकका समस्या पहिचान गरी समाधान गर्नुपर्नेमा जोड दिनुभयो । सांसद रेखा यादवले देशका विभिन्न स्थानमा रहेका खोलामा पुल निर्माण गर्ने भनिए पनि निर्माणले पूर्णता पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।       “किसानले कहिलेसम्म मल र बीउविजन नपाउने हो, किसानले कहिलेसम्म कृषि सामग्रीको हाहाकार खेपिरहने हो, किसानका लागि आवश्यक सागग्री पनि महँगो बनाइएको छ”, उहाँले भन्नुभयो ।      सांसद रामप्रकाश चौधरीले देशका विभिन्न स्थानमा बढ्दै गएको आपाराधिक क्रियाकलाप नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । सांसद प्रेम सुवालले देशको सन्तुलित विकास गर्न जिल्ला भित्रमात्रै बसाइँसराइ हुने कानुनी व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो ।       सांसद कान्तिका सेजुवाल पहिराका कारण कर्णाली राजमार्गका विभिन्न स्थानमा सडकअवरुद्ध भएको जानकारी गराउँदै निर्वाध सडक सञ्चालनको व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।        सांसद जुलीकुमारी महतोेले प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहभागितामा गठित वर्तमान सरकारले जनताको समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।       सांसद जावेदा खातुनले वर्तमान सरकारसँग जनताले ठूलो आशा राखेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनाका विषयमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।