काठमाडौं: बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरामा परी काठमाडौं उपत्यकमा नौ महिनाकी गर्भवतीसहित ३४ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले ललितपुरमा १८, काठमाडौंमा ११ र भक्तपुरमा पाँच जनाको मृत्युभएको पुष्टि गरेको छ । मृत्यु भएकामध्ये आज साँझसम्म २७ जनाको सनाखत भएको छ । अझै सात जनाको सनाखत हुन बाँकी छ । बाढी पहिरोमा परी काठमाडौंको दक्षिणकाली नगरपालिका–८ का ४३ वर्षीय भविन्द्र लिम्बू, सोही ठाउँका ४० वर्षीय कुमार तामाङ र २३ वर्षीया मनु तामाङ, दक्षिणकाली–९ का ३७ वर्षीय प्रेम बलामी र सोही ठाउँका ३४ वर्षीय कान्छा बलामी, दक्षिणकाली–७ का ५० वर्षीया देवी लिम्बुको मृत्यु भएको छ । उनीहरुको घरमा बसिरहेको अवस्थामा पहिरोमा परेको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले राससलाई जानकारी दिनुभयो । यस्तै नागार्जुन नगरपालिका–६ इचङ्गुनारायण बस्ने सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपलिका–२ का अन्दाजी ४५÷४५ वर्षका सचिन साह, चन्द्रागिरी नगरपालिका–२ मसिनेका ३८ वर्षीय गर्व तामाङ र निजकी श्रीमती ३६ वर्षीया सबिनाको पनि मृत्यु भएको छ । दुवै जना घरमा बसिरहेका थिए । अर्घाखाँची घरभई कीर्तिपुर बस्ने २४ वर्षीय अजय पाण्डेको वर्षाका कारण ढलेको रुखमा मोटरसाइकल ठोक्किदा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । हालसम्म नामथर वतन नखुलेको अन्दाजी ४०÷४५ वर्षका पुरुष व्यक्तिको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासेस्थित सूर्यमोडमा पहिरोले टहरो बगाउँदा कालीकोट सानी त्रिवेणी नगरपालिका–५ की २४ वर्षीया बमिला शाही, निजकी १४ वर्षकी बहिनी मनिशा शाही र निजको चार वर्षको छोरी श्रीया बमको मृत्यु भएको छ । बमिला नौ महिना पुगेको गर्भवती भन्ने बुझिएको प्रहरीले जनाएको छ । सूर्यविनायक–८ आशापुरी नैचाल बस्ने ५० वर्षीय मसली तामाङ र निजकी ३७ वर्षीया बहिनी मनु तामाङको पनि पहिरोमा परी मृत्यु भएको छ । ललितपुरको गोदवरी नगरपालिका–१० टाखेल निवासी ५८ वर्षीया सानु चालिसे र गोदावरी–९ चुनिखेल घर भइ हाल सोही ठाउँ बस्ने वर्ष ४८ की सुशीला लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै महाङ्काल गाउँपालिका–३ माथिल्लो गोटिखेल निवासी राजकुमार सिङतानको घर पुरिँदा निजको दुई वर्षीय छोरा सम्यमको मृत्यु भएको छ । गोदावरी नगरपालिका–९ छम्पीस्थित भैसेपाटी–टीकाभैरव सडक खण्डमा माथिबाट पहिरो आई बाटो अवरोध भएको र सोही स्थानमा सिन्धुली घर भइ हाल सोही स्थानमा टहरो बनाई बस्ने ४२ वर्षीया सुनिता तामाङको पुरिएर मृत्यु भएको छ । गोदावरी–३ स्थित ३५ को पवन नगरकोटीको टहरोमाथिबाट पहिरो झर्दा पवन र निजको २० वर्षीया छोरी मेन्सिलाको पनि मृत्यु भएको छ । ललितपुर महानगरपालिका–२५ तालिम केन्द्र नजिकका ६६ की ताराराज कनिकाको घरमाथिबाट आएको पहिरोले बगाएर मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका–९ सिस्नेरी ठकुरीगाउँकी ३५ वर्षीया रिना महिमकर्मी श्रेष्ठको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । सोही ठाउँको सिस्नेरी खोलामा बस्ने ४४ वर्षीय रवीन भुजेलको खोलाले बगाएर मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ कार्नतिपुर कलौनीमा रौतहटका २७ वर्षीय नन्दु साहको नख्खु खोलाले बगाएर मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका–८ शङ्खादेवीमा पहिरोमा पुरिएर घाइते भएकी ६१ वर्षीया राधिका थापाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । विपद्का घटनामा परी १७ जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन् । बाढीपहिरा तथा डुबानमा परेका एक हजार तीन सय १५ जनालाई उद्धार गरिएको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले बताउनुभयो । बाढीपहिरोबाट काठमाडौँमा चार घर भत्केका छन् भने भक्तपुरमा एउटा घरमा क्षति पुगेको छ । काठमाडौंमा एक हजार तीन सय २४, ललितपुरमा पाँच सय र भक्तपुरमा चार सय १७ गरी उपत्यकामा दुई हजार दुई सय ४१ घर डुबानमा परेका छन् । विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौँमा तीन हजार ६०, ललितपुरमा एक हजार एक सय र भक्तपुरमा तीन सय ५० जना प्रहरी खटिइएको उपत्यका प्रहरीका कार्यालयले जनाएको छ ।
सुनसरी: बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलङ्का टापुमा ३४ जना थुनिएका छन् । बराहक्षेत्र–६ ठाकुरीवारीस्थित कोशीको बीच टापुमा भैंसीपालन गरी बस्दै आएका उनीहरु शुक्रबारदेखि सप्तकोशीको बाढीका कारण अलपत्र परेका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता नविनकृष्ण भण्डारीका अनुसार बाढीका कारण बराहक्षेत्र–६ मा २२ जना तथा बराहक्षेत्र–९ मा १२ जना अलपत्र परेका छन् । आज बिहानैदेखि उनीहरुको उद्धारका लागि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिए पनि उद्धार सम्भव नभएको उहाँले बताउनुभयो । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले निरन्तर वर्षा भइरहेका कारण उनीहरुको उद्धार तत्काल सम्भव नभएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सप्तकोशीमा पानीको बहाव बढ्दै गएको छ, हेलिकप्टरबाट उद्धार गर्नका लागि सङ्घीय सरकारसँग समन्वय भइरहेको छ ।”
काठमाडौं: अविरल वर्षाका कारण आएको बाढीले ललितपुर महानगरपालिका नखिपोट कोलोनी क्षेत्रमा नख्खु खोलाले बगाउँदा चार जना व्यक्ति बेपत्ता भएका छन् । सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बेपत्ता हुनेमा नाम र वतन नखुलेका दुई पुरुष, एक महिला र एक बालक रहेका छन् । उक्त घटना केहीबेरअघि भएको प्रहरी बलले जनाएको छ ।
पाँचथर: पाँचथरमा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु भएको छ । निरन्तरको वर्षाका कारण खसेको पहिरोमा परी पुरिँदा फिदिम नगरपालिका–४ चिसापानीमा बस्दै आएका फिदिम नगरपालिका–१२ का २५ वर्षीया सपना शेर्पा र उहाँकी छोरी पाँच वर्षीया डोल्माको मृत्यु भएको हो । उनीहरूसँगै रहेका अन्य तीन जना भने भागेर बाँच्न सफल भएका छन् । पहिरोमा परी आज बिहान ३ः४५ तिर दुवैजनाको मृत्यु भएको हो । मृतकहरूको शव स्थानीयवासीको सहयोगमा प्रहरीले पहिरोबाट निकालेको छ । पहिराले यहाँ रहेको नेपाल आदिवासी जनजाति महासङ्घको भवन पनि पुरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
काठमाडौं: सरकारले दसैँका लागि लक्षित गरी आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । देशका विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीका लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरेको हो । घटस्थापना आउन पाँच दिन बाँकी रहँदा सरकारले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि यात्रुको भीड लागेको छ । शुक्रबारदेखि नै मुलुकको सङ्घीय राजधानी काठमाडौँसहित देशभर अविरल वर्षासमेत भएकाले बिहानैदेखि छाता ओढेर यात्रु टिकट काट्न लाइनमा बसेका छन् । अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको दार्चुला, डडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीडभाड लागेको छ । सरकारले अनलाइनमार्फत टिकट काट्न पाउने व्यवस्था मिलाए पनि यात्रु भने बिहानैदेखि छाता ओढेर लाइनमा बसेका हुन् । सार्वजनिक यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद ९सरोज० सिटौलाले आज बिहान ६ बजेदेखि नै अग्रिम टिकट बुकिङ खुला भएको बताउनुभयो । उहाँले शुक्रबारदेखि परेको अविरल वर्षाका कारण देशभरका राजमार्ग अवरुद्ध हुँदा सर्वसाधारण यात्रुलाई मर्का परेको बताउनुभयो । उहाँले आज पनि राजमार्ग हुँदै सार्वजनिक यातायात आवतजावत गर्ने परिस्थिति नहरेको उल्लेख गर्नुभयो । वरिष्ठ उपाध्यक्ष सिटौलाले यसपालिको दसैँमा घर जानका लागि यात्रुले सहजै टिकट पाउने दाबी गर्नुभयो । “राजमार्ग बिग्रिएका कारण काठमाडौँ आवतजावत गर्न सार्वजनिक सवारीसाधनलाई केही समय लाग्ला तर बस नपाएर कोही यात्रु रोकिनु पर्दैन”, उहाँ भन्नुहुन्छ । हरेक वर्ष दसैँ मनाउनका लागि राजधानी काठमाडौंबाट २० लाखको हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन् । सरकारले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि छोटो दूरीका सवारीसाधनको टिकट भने घटस्थापनाबाट खुल्नेछ ।
काठमाडौं: निरन्तरको भारी वर्षाका कारण हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण शुक्रबार साँझ ७ बजेदेखि स्थगित गरिएको आन्तरिकतर्फ उडान अहिलेसम्म खुलेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आन्तरिक उडान अहिलेसम्म खुलेको छैन भने अन्तर्राष्ट्रियतर्फको उडान भने सञ्चालन भइरहेको छ । आज विहान जजिरा एयरको विमान काठमाडौं विमानस्थलमा अवतरण ग¥यो भने फ्लाइ दुबईको विमान डाइभर्ट भएको छ । एयर अरेबियाको विमान भर्खरै अवतरण भएको छ । वर्षाका कारण भिजिबिलिटी कमजोर हुँदा शुक्रबार पनि आन्तरिकतर्फ धेरैजसो उडान रद्द भएको थियो । हिजो अन्तर्राष्ट्रियतर्फ दुई विमान ‘होल्ड’ हुनका साथै धेरै उडान डिले भएका थिए । ‘इन रुट वेदर’ बिग्रिएकाले अन्तर्राष्ट्रिय उडानका विमानलाई पनि अवतरणमा कठिनाइ भएको थियो । शुक्रबार थाइ एयरवेजको विमान करिब दुई घण्टा सिमरामाथिको आकाशमा होल्ड भएको थियो भने इण्डिगो एयर पनि एक घण्टा होल्ड भएर अवतरण भएको थियो । विमानस्थलका अनुसार शुक्रबार आन्तरिकतर्फ दुईतर्फी तीनसय १६ उडान तालिका रहेकामा दुईसय ३८ हाराहारी उडान रद्द भएका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणले खराब मौसमका कारण शुक्रबार साँझ ७ बजेदेखि शनिबार विहानसम्म आन्तरिकतर्फ सबै उडान स्थगित गरेको थियो । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले आन्तरिक उडान अहिलेसम्म कतैपनि नभएको बताउनुभयो । “काठमाडौँ विमानस्थल खुलेपनि आन्तरिकतर्फ अहिलेसम्म कतैपनि उडान भएको छैन, मौसम र गन्तव्य हेरेर उडानको थप निर्णय हुन्छ”, उहाँले भन्नुभयो ।
सुनसरी: निरन्तर वर्षा भएसँगै सप्तकोसी नदीको जलसतह बढेको छ । जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी अहिले कोसी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ । आज बिहान ७ बजे तीन लाख ८१ हजार आठ सय ४० क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको थियो भने ८ बजे चार लाख १८ हजार दुई सय ८५ क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको सुनसरी जिल्ला प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ । पानीको सतह निरन्तर बढेपछि कोसी ब्यारेजमा जोखिमको सङ्केत देखिन थालेको सुनसरी जिल्ला प्रमुख अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभयो । सप्तकोसी जलमापन केन्द्रले जलसतह जोखिम बिन्दुभन्दा माथि पुगेको बताएको छ । नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख अधिकारी तिवारीले आग्रह गर्नुभएको छ ।
सिन्धुपाल्चोक: सिन्धुपाल्चोकको लिसङ्खु पाखरमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । लिसङ्खु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाका अनुसार गएराति आएको पहिरोले पुरिएर वडा नं ३ का पूर्वअध्यक्ष काजीबहादुर लामा र उहाँकी श्रीमतीको मृत्यु भएको हो । घरमा सुतिरहेकाको समयमा राति १ बजेतिर आएको पहिरोले पुरिँदा दुवै जनाको मृत्यु भएको अध्यक्ष लामाले जानकारी दिनुभयो । स्थानीयले रातिदेखि नै उद्धार सुरु गरेका थिए । अविरल वर्षाका कारण सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ । सुनकोसी नदीले खतराको तह पार गरेको छ । अरनिको राजमार्गलगायत अन्य सहायक मार्गमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । इन्द्रावती नदीमा आएको बाढी इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा पस्दा आयोजना बन्द भएको आयोजनाका कर्मचारी विनोद कार्कीले जानकारी दिनुभयो । मेलम्ची खोलामा आएको बाढीले मेलम्ची–७ र हेलम्बु गाउँपालिका–४ जोड्ने तालामाराङ डाँडापसलको झोलुङ्गे पुल उच्च जोखिममा रहेको स्थानीय तारा गिरीले जानकारी दिनुभयो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने क्रममा सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर अपराधका घटनामा आममाफी नदिइने बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज अमेरिकाको न्युयोर्कबाट बोस्टन आइपुग्नुभएका प्रधानमन्त्री ओलीले हावर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै हालै संसदद्वारा पारित सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रक्रियाले कानुनी उपचारलगायत पीडितको अधिकार र हितको रक्षा गर्ने स्पष्ट गर्नुभयो । दुई ठूला दलको सहभागितामा आफ्नो नेतृत्वको सरकार बनेपछि सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगसँग सम्बन्धित विधेयक संसद्बारा लगभग सर्वसहमतिका आधारमा पारित भएको बताउँदै उहाँले विगतमा गठन भएका आयोगले गर्न बाँकी रहेका कामहरू अबका दिनमा अगाडि बढ्ने जनाउनुभयो । “नेपालको शान्ति प्रक्रिया हामी आफैँले नेतृत्व गरेको र राष्ट्रिय अपनत्व प्राप्त भएको एक मौलिक प्रक्रिया हो । वामपन्थी र लोकतान्त्रिक सबै राजनीतिक दलहरू मिलेर गरेको ‘शान्ति सम्झौता’ त्यस अर्थमा पनि अनुपम छ ।” प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी शान्ति प्रक्रियाको अन्तिम किस्ताका कार्यहरूमा प्रवेश गर्दा पारित ऐनको प्रभावकारी कार्यान्वयनका लागि प्रक्रियामा हाम्रा साझेदारसहित अन्तर्राष्ट्रिय समुदायबाट समर्थन र प्रोत्साहनको स्वागत गर्दछौँ ।” उहाँले द्वन्द्वकालका घाउहरू निको पार्न र सम्पूर्ण समाजलाई मेलमिलाप, शान्ति र सद्भावको भावनाका साथ अगाडि बढ्न मद्दत गर्न हिंसात्मक प्रक्रियाको अन्त्य गर्न कटिबद्ध रहेको स्पष्ट गर्नुभयो । प्रधानमन्त्री ओलीले शान्तिका प्रवर्तक गौतम बुद्धको जन्मभूमि भएकाले नेपाल स्वाभाविक रूपमा अहिंसावादी, सहिष्णु र शान्तिपूर्ण समाज भएको अवगत गराउनुभयो । प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घका मञ्चहरूमा उठाउँदै आएको जलवायु न्यायका विषयलाई पनि विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीमाझ प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूले प्रधानमन्त्री ओलीसँग राखेका प्रश्नहरूमा उहाँले जवाफ दिँदै नेपालका युवाहरू सधैँ विदेश मात्रै जान्छन् र नेपालको अर्थतन्त्र विप्रेषणका आधारमा मात्रै चल्छ भन्ने तथ्य सही नभएको बताउँदै स्वदेश फर्कने युवाको सङ्ख्यालाई पनि हेर्न आग्रह गर्नुभयो । उहाँले स्वदेशमा युवाहरूलाई रोजगारी र उद्यमशीलता वृद्धि गर्न ‘स्टार्ट अप’जस्ता कार्यक्रम अघि सारिएको पनि जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले नेपालका दुवै छिमेकीसँग सहकार्य र सन्तुलित सम्बन्धका माध्यमबाट नेपालको आर्थिक विकासमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । एक प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले संविधानमा निर्माणका बेला धेरैका माग र विषय एकै पटक सम्बोधन हुन नसकेको स्थितिलाई स्मरण गराउँदै आवश्यकता र औचित्यताका आधारमा यसबीचमा दुईपटक संविधान संशोधन भइसकेको र फेरि पनि गर्न सकिने स्पष्ट गर्नुभयो ।

