बागलुङ: बडिगाड गाउँपालिका–१० आरुपाटास्थित जोगलाल बुढाको घर र गोठ पुरिँदा तीनजना बेपत्ता भएका छन् । जोगलाल बुढाकी श्रीमती र दुई छोरी बेपत्ता भएका बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । घटनास्थल पुग्ने सडक अवरुद्ध भएको तथा प्रहरी र उद्धारकर्मी त्यहाँ पुग्न नसक्दा घटनाको पूर्ण विवरण प्राप्त नभएको गाउँपालिका अध्यक्ष गण्डकी अधिकारीले बताउनुभयो । केही क्षण्मा प्रहरी घटनास्थलतर्फ पुग्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख ऋषिराम कँडेलले बताउनुभयो ।
गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका–१ मा पहिरोले घर पुरिँदा चारजनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् । उक्त नगरपालिकाको बिसौना बस्ने विष्णु विकको घर आज बिहान पहिरोमा पुरिँदा चारजनाको ज्यान गएको हो । स्थानीय सञ्चारकर्मी माधव खरेलका अनुसार पहिरोमा परी ४५ वर्षका गोरे विक, ६७ वर्षीय हुकुम विक, ६६ वर्षीया मसुरी विक र दुई वर्षीया रियन्सी विकको मृत्यु भएको हो । घाइते भएका दुईजनालाई सकुशल उद्धार गरिएको छ । नेपाल प्रहरी र स्थानीयको सहयोगमा उनीहरूको उद्धार गरिएको हो ।
नवलपुरासी: बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका–५ राम्चेमा बस्दै आउनुभएका ८० वर्षीय जयबहादुर चितौरेलाई पछिल्लो समय पहिरोले गाउँ नै लैजाने हो कि भन्ने चिन्ताले सताउने गरेको छ । बाजेको पालादेखि राम्चेगाउँमा बस्दै आउनुभएका उहाँलाई बर्सेनि पहिरोले बस्ती क्षेत्रको जमिन कटान गर्दै लगेकाले कुनै दिन गाउँ नै पहिरोले निल्ने हो कि भन्ने त्रासले रात कटाउन मुस्किल पर्ने गरेको छ । “गाउँको शिरमा भिर छ । त्यही भिर कतिबेला खस्ने हो भन्ने सधैँभरिको पिर छ । पानी पर्यो कि त बस्ती बगाउने हो कि भन्ने चिन्ताले रातमा निद्रा नै पर्दैन”, उहाँले भन्नुभयो । हुप्सेकोट गाउँपालिका–५ को राम्चेगाउँको सिरानमा राम्चेभिर छ । केरुङ्गेखोलाको मुहानमा रहेको राम्चेको पहिरोले जयबहादुर चितौरे मात्र होइन राम्चेगाउँका ३५ घरपरिवार बर्खा लागेसँगै पहिरोका डरमा बस्न बाध्य भएका छन् । हुप्सेकोट गाउँपालिका वडा नं ५ को राम्चेगाउँ पहिरोको उच्च जोखिममा छ । गाउँ नजिकै बर्सेनि सानाठूला पहिरो जान थालेपछि डाँडो नै खस्ने खतरा बढ्दै गएको स्थानीयहरू बताउँछन् । राष्ट्रिय पहिरो भनेर चिनिने राम्चे पहिरो विसं २०३८ मा काउले बस्ती नै विस्थापित हुनेगरी गएका कारण अहिले पनि सो क्षेत्रका अन्य बस्ती पहिरोको जोखिममा पर्दै आएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदम रानाले बताउनुभयो । “पहिरोका कारण कच्ची सडक पनि भत्किराख्ने र जमिनमा धाँजा फाट्ने गरेको छ । बर्खामा मात्र होइन, हिउँदमा पनि सुक्खा पहिरोले सताउने गरेको छ”, उहाँले भन्नुभयो, “राम्चेवासी बर्खामा मात्र होइन, अन्य समयमा पनि रातदिन त्रासमा बाँच्नुपरेको छ ।” पहिरोको त्रासले सक्ने जतिले गाउँ नै छाडेर अन्यत्र बसाइँ सरेका छन् । तर आयस्तर कम भएका धेरैले आफ्नो जीवन जोखिममा राख्दै यही पहिरो हेर्दै दैनिकी कटाइरहेका छन् । बाजेबराजुको पालादेखि सोही ठाउँमा बसोबास गर्दै आएका स्थानीयवासीले सरकारले सुरक्षित स्थानमा बस्ती सारिदिने आशा भने मारेका छैनन् । स्थानीय आसबहादुर चितौरेमगरका अनुसार, “सुक्खा पहिरोसमेत गएर गाउँको नजिकै धेरै धाँजा फाटेको छ । ठूलो पहिरोले कतिबेला गाउँ नै सोहोरेर लैजान्छ भन्ने डर र त्रासमा स्थानीय बासिन्दाले दैनिकी कटाइरहेका छन् ।” पहिरोकै कारण एकपछि अर्को संरचनासँगै गाउँ नै सखाप पार्ने पहिरो नियन्त्रण गर्न माग गर्दा पनि कसैले नसुनेको स्थानीयको भनाइ छ । पहिरो रोक्न केही बजेटसहित तारजालीको काम हुने गरे पनि त्यो प्रभावकारी बन्न नसकेको स्थानीय हरि मगरले बताउनुभयो । “पहिरो रोक्नै नसक्ने खालको छ, बजेटमात्र सकिने भएकाले पनि हामीलाई अन्तै सारिदिनुपर्यो”, उहाँले भन्नुभयो, “पहिरो रोक्नका लागि सरोकारवालालाई भनेको वर्षौँ भयो तर कतैबाट पनि सुनुवाइ भएन ।” हुप्सेकोट गाउँपालिकाले पहिरोको जोखिम रहेको राम्चेगाउँलाई रुद्रपुरगढी धौवादीमा स्थानान्तरण गर्ने योजना बनाएको थियो । विसं २०७६ भदौमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई ल्याएर गाउँपालिले बस्ती सार्न धौवादी एकीकृत नमूना बस्ती योजनाको शिलान्याससमेत गरिएको थियो । तर त्यो योजना शिलान्यास भएको पाँच वर्ष हुँदा पनि सुरु हुनसकेको छैन । राम्चेगाउँका पहिरो जोखिम घरपरिवारलाई स्थानान्तरणको योजना बनाएको भए पनि बस्ती स्थानान्तरण गर्न स्थानीयले नमानेका कारण योजना अलपत्र परेको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो । सोही वडाको अर्को गाउँमा राम्चे क्षेत्रका घरपरिवारलाई स्थानान्तरण गर्ने प्रयास गरिए पनि अहिले अलपत्र परेको अध्यक्ष पाण्डेले बताउनुभयो ।
काठमाडौं: गएरातिदेखिको लगातारको वर्षाले मुलुकको हवाई उडान प्रभावित भएको छ । निरन्तरको वर्षाका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार बिहान टर्किस एयरलाइन्सको जहाज भारतको लखनउ र एयर इन्डियाको विमान बनारस ‘डाइभर्ट’ भएको छ । अन्तर्राष्ट्रिय उडानका आकाशमै ‘होल्ड’ भएका विमान अहिले अवतरण भइसकेका छन् । आन्तरिकतर्फ वर्षाले नियमित उडान प्रभावित भएको छ । निर्धारित उडान केही समय पछि सारिएको विमानस्थलले जनाएको छ । वर्षा रोकिएसँगै भिजिबिलिटीमा सुधार आएपछि अहिले विमानस्थलबाट हुने उडान नियमित सञ्चालन भइरहेको महाप्रबन्धक निरौलाले बताउनुभयो । आन्तरिक उडानमा केही ढिलाइ भए पनि नियमित विमान गन्तव्यमा उडिरहेका छन् । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेकाले आज र भोलि मनसुन सक्रिय भई भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको छ । विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
काठमाडौं: संविधानसभा सदस्य एवं वरिष्ठ उद्योगपति श्रवणकुमार अग्रवालको ७७ वर्षको उमेरमा निधन भएको छ । मारवाडी सेवा समितिका पूर्वअध्यक्ष अग्रवालको सोमबार राति सानेपास्थित आफ्नै निवासमा निधन भएको हो । उहाँ नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालका पिता हुनुहुन्छ । नेपाल उद्योग परिसङ्घले आज शोक विज्ञप्ति निकालेर उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ । स्वर्गीय अग्रवाल ५८ वर्षदेखि विभिन्न उद्योग व्यवसायमा क्रियाशील हुनुहुन्थ्यो । उहाँका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । पशुपति आर्यघाटमा आजै उहाँको अन्तिम संस्कार गरिने परिसङ्घले जनाएको छ ।
बागलुङ: बागलुङको बडिगाड गाउँपालिका–९ दर्लिङखोलामा पहिरोले एउटा घर पुरिएको छ भने एकजनाको मृत्यु भएको छ । भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको मृत्यु भएको हो । उनको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ । बडिगाड गाउँपालिका–१० दर्लिङमा तीनवटा घर पुरिएका छन् । विकट स्थानमा पहिरो खसेकाले त्यहाँ पुग्न कठिन भएको प्रहरीले जनाएको छ । ती घरमा मानिस भएनभएको यकिन हुन बाँकी रहेको वडा नं ९ का वडाअध्यक्ष कृष्ण बहादुर केसीले बताउनुभयो ।
काठमाडौं: हाल देशका अधिकांश भागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाउँदै ती स्थानमा सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ । विभागका अनुसार आज राति देशभर साधारणतया बदली रहने तथा सबै प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सबै प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ । साथै बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै सबै प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको बताएको छ । साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्र्यान बहाव, बाढी र पहिरोको क्षतिबाट जोगिन विभागले आग्रह गरेको छ ।
काठमाडौं: काठमाडौं महानगरपालिका–३१ आलोकनगरस्थित सौराहा होटल नजिक सडकमा कैलाली धनगढी उपमहानगरपालिका–२ घर भई हाल काठमाडौं आलोकनगर बस्ने २२ वर्षीय मनत केसीलाई खुकुरी प्रहर गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली फिकल गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–३१ आलोकनगर बस्ने १८ वर्षीय अनिष मगर, दैलेख महावु गाउँपालिका–४ घर भई हाल आलोकनगर बस्ने २६ वर्षी कुमार पण्डित तथा दार्चुला बाँज घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटार हात्ती डाँडा बस्ने १९ वर्षीय प्रेमसिंह महरा रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । खुकुरी प्रहारबाट घाइते भएका केसीको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट प्रहरीले एक थान खुकुरी बरामद गरेको छ । उनीहरुमाथि प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो ।
मकवानपुर: प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराई÷मधेस द्रूतमार्ग ९फास्ट ट्रयाक० सडक आयोजनाअन्तर्गत घट्टेपाँखा–धेद्रे सुरुङको स्वीच थिचेर ‘ब्रेक थ्रु’ गर्नुभएको छ । मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेमा आज एक समारोहबीच प्रधानमन्त्री ओलीले काठमाडौँ–निजगढतर्फको एक दशमलव सात सय २८ किमी लामो सुरुङ ब्रेक थ्रु गर्नुभएको हो । निजगढ–कामाठाडौँतर्फको एक दशमलव छ सय ५३ किमी धेद्र्रे सुरुङ भने गत जेठ ११ गते नै ‘ब्रेक थ्रु’ भइसकेको छ । धेद्रे सुरुङ छिचोलिएसँगै प्याकेज नं दुईअन्तर्गतका सबै सुरङ खोल्ने काम सम्पन्न भएको छ । कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले आयोजनाको हालसम्मको निर्माण प्रगति र चुनौतीबारे प्रधानमन्त्री ओलीलाई अवगत गराउँदै आयोजनाको भौतिक प्रगति ३५ दशमलव ९८ प्रतिशत रहेको जानकारी दिनुभयो । लेनडाँडामा रहेको निजगढ–काठमाडौँतर्फको एक दशमलव ६ सय १२ किमी र काठमाडौँ–निजगढतर्फको एक दशमलव ६ सय ३३ किमी सुरुङ यसअघि नै खनिसकिएको छ । तीन दशमलव तीन सय २२ किमीको निजगढ–काठमाडौँतर्फको महादेवटार सुरुङ¬ हालसम्म दुई दशमलव २९ किमी तथा तीन दशमलव तीन सय ८६ किमीको काठमाडौँ–निजगढतर्फको दुई दशमलव दुई सय ८८ किमी सुरुङ खनिसकिएको छ । सो सुरुङ यसैवर्ष सम्पन्न गर्नेगरी काम भइरहेको नेपाली सेनाले जनाएको छ । द्रूतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनालाई १३ प्योकजमा विभाजन गरी निर्माण गरिएको छ । आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण हुने ८९ मध्ये ८५ पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनका चरणमा छन् । बाँकी चार पुल खोकना क्षेत्रमा रहेका छन् । सो क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण निर्माणमा ढिलाइ भइरहेको छ । प्रस्थान बिन्दु ललितपुरको खोकना र अन्तिम बिन्दु बाराको निजगढ रहेको सो सडकको लम्बाइ ७० दशमवल नौ सय ७७ किलोमिटर छ । द्रूत मार्ग पहाडी भू–भागमा २५ मिटर र तराई भूभागमा २७ मिटर फराकिलो हुनेछ । द्रूतमार्गमा १० दशमवल तीन सय नौ ९ किमी लम्बाइका ६ वटा सुरुङ बन्ने छन् । आयोजनाअन्तर्गत देवीचौरमा एक किमी, सिसौटारमा शून्य दशमलव ३९ किमी, चन्द्राम भीरमा दुई दशमलव २५ किमी, महादेवडाँडामा तीन दशमलव तीन सय ५५ किमी, धेद्रेमा एक दशमलव ६ सय ९१ र लेनडाँडामा एक दशमलव ६ सय २३ किमी लामो सुरुङ निर्माण हुनेछ । सो सडकमा विभिन्न स्थानमा १२ दशमलव आठ सय ८५ किमी लम्बाइका ८९ पुल निर्माण हुनेछन् । बुदुनेमा दुई विश्रामस्थल तथा खोकना, बुदुने र निजगढमा एक÷एक इन्टरचेन्ज र टोल प्लाजा निर्माण गरिनेछन् । मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयानुसार सो आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिइएको हो । सो आयोजनाको २०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको निजगढमा शिलान्यास गर्नुभएको थियो । सरकारले २०७४ साउन २७ गते सडक विभागबाट सेनालाई आयोजना हस्तान्तरण गरेको थियो । सो अवरसमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही तथा नेपालका लागि चीन र दक्षिण कोरियाका राजदूत उपस्थिति हुनुहुन्थ्यो ।