काठमाडौं: बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरुलाई दूतावाससँग समन्वय नगरी देश नछाड्न ढाकास्थित नेपाली राजदूतावासले आग्रह गरेको छ । नेपाल फर्किन चाहने विद्यार्थी र सम्पूर्ण नेपालीहरुले राजदूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्न दूतावास आग्रह गरेको हो । बङ्गलादेशमा चिकित्साशास्त्रको अध्ययनका लागि पुगेका नेपाली विद्यार्थीमध्ये करिब चार सय विद्यार्थीसहित सम्पूर्ण नेपाली सुरक्षित रहेको दूतावासले जनाएको छ । साथै बङ्गलबादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थी नेपाल फर्किसकेको पनि जनाएको छ । ‘‘बङ्गलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थीहरु नेपाल फर्किसकेको र हाल बाँकी रहेका करिब चार सय विद्यार्थीसहित सम्पूर्ण नेपालीहरु सुरक्षित रहनुभएको र उहाँहरुसँग राजदूतावास निरन्तर सम्पर्कमा रहेको छ ।’’ राजदूतावासले भनेको छ । राजधानी ढाकासहित बङ्गलादेशका अधिकांश ठाउँमा आइतबार साँझदेखि अनिश्चितकालीन कर्फ्यु जारी रहेका कारण दूतावासले आफ्नै तरिकाले बङ्गलादेशबाट बाहिरिने प्रयास नगर्न नेपालीहरूलाई आग्रह गरेको छ । बङ्ग्लादेशमा रहेका नेपालीहरू सुरक्षित रहेको पनि दूतावासले जनाएको छ । दूतावासले नेपाल फर्किने व्यवस्थाको समन्वयका लागि दुई वटा टेलिफोन नम्बर समेत सार्वजनिक गरेको छ । दूतावासका अनुसार नेपालीहरूले +८८०१८८०६९१०१३ वा +८८०१७४५४०७९५८ नम्बरमा सम्पर्क गरेर आवश्यक सहयोग लिन सक्छन् ।
काठमाडौं: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै जाने जनाएको छ । महाशाखाका अनुसार भोलि र पर्सि मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । आज मनसुन विशेष तीन दिने मौसम बुलेटिन सार्वजनिक गर्दै विभागले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही तथा कर्णाली र मधेस प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको हो । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ । विभागले बुलेटिन जारी गरी देशभर समान्यदेखि पूर्णतया बदली रही अधिकांश स्थानमा वर्षा हुने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । जिल्लागत मनसुनी वर्षाको उच्च जोखिममा कोशी प्रदेशको ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम देखिन्छ भने बागमती प्रदेशमा रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवकोट र दोलखा रहेका छन् । वर्षाको उच्च जोखिममा गण्डकी प्रदेशको म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ, गोरखा छन् भने लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची रहेका छन् । सुदुरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी वर्षाको उच्च जोखिममा रहेका महाशाखाले जनाएको छ । रातिको समयमा मनसुन बढी सक्रिय भई पानी पर्ने सम्भावना बढी हुने भएकाले यी दुईदिन सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी, नाला र खोलामा पानीको सतह बढ्न सक्ने, यातायातका साधन प्रभावित हुने भएकाले आवश्यक सर्तकता तथा पूर्वतयारी अपनाउन सबैलाई मौसम विभागले अुनरोध गरेको छ ।
धादिङ: पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ जरेमा गुडिरहेको माइक्रो बसमाथि रूख ढल्दा नौ यात्रु घाइते भएका छन् । धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती १–००६च ६२१२ नम्बरको माइक्रो बसमाथि जरेपुलनजिक रूख ढल्दा उक्त दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार घाइते यात्रुको गजुरीका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । “घाइते सबै खतरामुक्त रहेका छन्”, प्रहरी नायव उपरीक्षक मिश्रले भन्नुभयो । रूख ढल्दा पृथ्वी राजमार्ग केहीबेर दुइतर्फी अवरूद्ध बनेको थियो । अहिले दुईतफीरुपमा यातायात सेवा सञ्चालन भएको प्रहरीले जनाएको छ ।
काठमाडौं: पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहान ४ः०० बजेदेखि नै मन्दिरका चारै ढोका खुला गरेर सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ, आज त बोलबमवालाहरूको पनि ठूलो सङ्ख्यामा घुइँचो लागेको छ । मन्दिरका चारै ढोका खुला गरेर भक्तजनलाई सहज रूपमा दर्शन गर्ने व्यवस्था मिलाएका छौँ ।” पशुपतिनाथ दर्शनका लागि आज बोलबम यात्रामा निस्केकाहरू दर्शनार्थी सहभागी रहेका प्रवक्ता अधिकारीले बताउनुभयो । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन गरिएको विकास कोषले जनाएको छ । साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा पशुपतिनाथ मन्दिरमा धेरै भक्तजनको घुइँचो लाग्ने गरेको कोषका सदस्यसचिव डा मिलनकुमार थापाले बताउनुभयो । “साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्दछ”, उहाँले भन्नुभयो, “बोलबम यात्रा गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने चलन छ ।” यसैगरी आज काठमाडौँ उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन् ।
नवलपरासी: नवलपरासी (बर्दघाट सुस्तापूर्व)को त्रिवेणीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । विनयी त्रिवेणी गाउँपालिका–६ साहुमारास्थित भित्री सडकखण्डमा आज बिहान त्रिवेणीधामबाट भारततर्फ जाँदै गरेको ५६ए९२१२ नम्बरको मोटरसाइकल अम्चुरखोलामा खस्दा भारतको महाराजगञ्ज निचलौल टोल ओडवलियाका ४० वर्षीय प्रकाश भारतीको घटनास्थलमा नै मृत्यु भएको हो भने अर्का सोही स्थानका २८ वर्षीय अशोक राजभार गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले घाइतेको पृथ्वीचन्द्र जिल्ला सरकारी अस्पताल ९बर्दघाट सुस्तापश्चिम०मा उपचार जानकारी दिनुभयो ।
कास्की: कास्कीमा गत एक वर्षका अवधिमा छ सय ४९ नयाँ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालय कास्कीमा दर्ता भएका उद्योगमध्ये लुघउद्योग १३ र साना छ सय ३६ वटा छन् । नयाँ उद्योगमा रु एक अर्ब ९१ करोड ८४ लाख ५२ हजार पुँजी लगानी भएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख महराज ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरामा बढी मात्रामा पर्यटन क्षेत्रलगायतको सेवामूलक व्यवसाय बढी भएकाले थपिएका उद्योगमा समेत सेवामूलक उद्योग सबैभन्दा बढी छन् । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ सेवामूलक उद्योग दुई सय ४१, कृषि तथा वन पैदावारमा आधारित उद्योग एक सय ६२, पर्यटन उद्योग एक सय ६०, उत्पादनमूलक उद्योग ८३ र सूचना प्रविधिमा आधारित उद्योग तीनवटा दर्ता भएका छन् । सो वर्षमा ऊर्जा तथा खनिजमूलक कुनै पनि उद्योग दर्ता भएनन् । एक वर्षमा दर्ता भएका उद्योगमा महिला नौ सय ३९ र पुरुष एक हजार एक सय १८ गरी दुई हजार ५७ जनालाई रोजगारी सिर्जना भएको छ । यसैगरी गत वर्ष तीन सय ६५ उद्योग खारेज भएका छन् । खारेज हुने उद्योगको सङ्ख्या बर्सेनि वृद्धि हुँदै गएको कार्यालय प्रमुख ढकालले बताउनुभयो । उहाँका अनुसार थपिएका उद्योगको ५० प्रतिशत सङ्ख्या खारेज भएका छन् । “नयाँ उद्योग दर्तासँगसँगै खारेज हुने उद्योगको सङ्ख्यासमेत धेरै छ । आर्थिक गतिविधिमा शिथिलता, विदेश जाने प्रवृत्ति र धेरै ठाउँमा कर तिर्नुपर्ने बाध्यतालगायत कारणले उद्योग खारेजीका लागि आउने गरेका छन्”, कार्यालय प्रमुख ढकालले भन्नुभयो । कार्यालयका अनुसार जिल्लामा वैदेशिक रोजगारीबाट फर्केर आएका युवा तथा स्वरोजगारका लागि कृषि तथा पशुपक्षी उद्योग व्यवसायमा लगानी बढ्दै गएको छ । जिल्लामा हालसम्म २४ हजार दुई सय ७८ उद्योग दर्ता भएकामा गत आवसम्ममा पाँच हजार आठ सय ३२ वटा खारेज भई १८ हजार चार सय ४६ सञ्चालमा रहेका छन् । यसैगरी, वाणिज्य फर्महरूको सङ्ख्या ३० हजार एक सय ७० रहेको छ । गत आवमा एक हजार एक सय ९३ वाणिज्य फर्म दर्ता भएकामा चार सय २१ वटा खारेज भएका थिए । पोखरा देशको पर्यटकीय राजधानी हो । यहाँ हालसम्म चार सय ६२ ट्राभल्स, दुई सय ३८ ट्रेकिङ, चार सय ७० होटल, आठ जलयात्रा व्यवसाय र ३६ वटा घरबास सञ्चालनमा रहेको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ ।
बागलुङ: अपाङ्गता, असहाय र विपन्नका छोराछोरीलाई पठनपाठन गराउँदै आएको यहाँको रामरेखा आधारभूत विद्यालयले यातायात सेवा सुरू गरेपछि विद्यार्थीलाई सहज भएको छ । बागलुङ नगरपालिका–१ स्थित रामरेखा आधारभूत विद्यालयले एक सय ३९ विद्यार्थीमध्ये १२ जना अपाङ्गता विद्यार्थीले आवासीय सुविधासहित अध्ययन गर्दै आएका छन् तर अन्य विद्यार्थीले टाढाबाट आउनुपर्दा निकै समस्या भोग्नुपरेको थियो । यस्ता विद्यार्थीलाई निःशुल्क यातयात सेवा दिन थालिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र केसीले बागलुङ र पर्वतको विभिन्न स्थानबाट विद्यार्थी ल्याउन भ्यान सेवा सुरू गरिएको जानकारी दिनुभयो । केसीले धौलागिरि एकीकृत ग्रामीण विकास केन्द्र (डिआइआरडिसी)को पहलमा विद्यालयको पहुँचभन्दा बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउनका लागि भ्यान सेवा दिन थालिएको बताउनुभयो । भ्यान सुविधापछि बालबालिकालाई विद्यालय आउजाउ गर्न धेरै सहज भएको उहाँले बताउनुभयो । “मालढुङ्गा, खनियाघाट र दमुवाखोलाका विद्यार्थीहरू भाडा तिरेर बसमा समेत आउ–जाउ गर्दै आएका थिए, विद्यार्थीलाई सहजताका लागि भ्यानको व्यवस्था मिलाएका छौँ, भ्यान सञ्चालनका लागि अभिभावक र स्थानीय तहबीच सहकार्य गर्न बाँकी नै छ,” केसीले भन्नुभयो, “गत वर्ष एक सय १० जना विद्यार्थी भएको विद्यालयमा अहिले एक सय ३९ जना पु¥याउन सफल भएका छौँ, विद्यालयको शैक्षिक गतिविधि बढाउन थालेपछि विद्यार्थी बढेका छन्, खासगरी मजदुर र विपन्नका छोराछोरीलाई भ्यान सुविधाले राहत दिनेछ ।” सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि काम गर्दै आएको डिआइआरडिसीले विद्यालयलाई भ्यान प्रदान गरेको अध्यक्ष केवी राना मगरले जानकारी दिनुभयो । करिब रु ५० लाख पर्ने भ्यानलाई राजस्व छुट गरेर रु २० लाख भित्र्याइएको उहाँले बताउनुभयो । बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्तकुमार श्रेष्ठले अपाङ्गता भएका विद्यार्थी र अधिकांश मजदुरका छोराछोरी पढ्ने विद्यालयले यातयातको सेवा दिन थालेपछि बालमैत्री नगर घोषणामा थप सहयोग पुगेको बताउनुभयो ।
चितवन: नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघ नियन्त्रणमा लिइएको छ । दिनभर नियन्त्रणमा लिने प्रयास गरिएको भएपनि आइतबार साँझ अबेर मात्रै बाघलाई डार्ट गरेर नियन्त्रणमा लिइएको हो । नारायणगढस्थित मानव बस्ती नजिक नारायणी किनारमा रहेको अन्दाजी पाँच वर्षको भाले बाघलाई नियन्त्रणमा लिइएको चितवन राष्ट्रिय निकुञ्जका बरिष्ठ भेटेनरी चिकित्सक डा विजयकुमार श्रेष्ठले जानकारी दिनुभयो । निकुञ्जका तीनवटा हात्तीको सहयोगमा बाघलाई घेरा हालेर नियन्त्रणमा लिइएको हो । आज दिउँसो दुईवटा हात्ती त्रसियर भागेपछि थप हात्ती ल्याएर बाघ नियन्त्रणमा लिइएको हो । डार्ट गरिएको बाघलाई सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको खोरमा लगेर राखिने उहाँले जानकारी दिनुभयो । नारायणी नदी किनारमा नदीमा मिसिनु अघि ढललाई प्रशोधन गर्न बनाइएको ट्याङ्क रहेको क्षेत्रको नर्कटको झाडीबाट निकुञ्जका कर्मचारी, प्रहरी प्रशासनको सक्रियतामा बाघलाई नियन्त्रणमा लिईएको हो । उक्त बाघले हिजो बिहान भरतपुर महानगरपालिका वडा नम्बर २ बेलटाँडीका ६० वर्षिय पशुपति श्रेष्ठलाई आक्रमण गरेको थियो । बाघको आक्रमणबाट घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ ।
दाङ: दाङमा अटोरिक्सा बगाउँदा बेपत्ता भएकी एक बालिकाको शव फेला परेको छ । शुक्रबार राति तुलसीपुर–४ स्थित बेचनी खोलाले बगाउँदा बेपत्ता भएकी सुर्खेत घर भई तुलसीपुर–४ खाद्रै बस्दै आएकी १६ वर्षीया मञ्जु खड्काको शव आज फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । बबई गाउँपालिका–५ खयरभट्टीस्थित बबई नदीको किनार पानीमा तैरिएको अवस्थामा शव भेटिएको हो । शुक्रबार राति सवा ८ बजेतिर तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा ह ६४०५५ नंको अटोरिक्सालाई बगाउँदा उनीसहित दुईजना बेपत्ता भएका थिए । बेपत्तामध्ये तुलसीपुर–४ निवासी ५५ वर्षीया सीता आलेको शनिबार ग्वारखोलामा शव भेटिएको थियो । मञ्जु सीताकी नातिनी हुन् । अटोमा पाँचजना सवार थिए । चालक तुलसीपुर–४ खाद्रे निवासी ४५ वर्षीय हरिकिसन विक, ३३ वर्षीया सुनिता थापा र सात वर्षीया सुशान्त आले भने सकुशल छन् ।