काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिप्रक्रिया थालनी भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु शान्तिका पक्षधरहरुका लागि खुसीको विषय भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समसामयिक विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहमतिका साथ कानुन पारित हुने चरणमा पुगेकाले पारित भएका कानुनलाई कार्यान्वयन गर्न सरकारले यथेष्ट सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “हाम्रो देशमा द्वन्द्व थियो । हामीले शान्तिप्रक्रिया अगाडि बढायौँ । यो प्रक्रिया हाम्रो आफ्नै हिसाबको मौलिक (होम ग्रोन) हो । कहिले धिमा गति र कहिले समाधान हुँदै यो प्रक्रिया अगाडि बढेको छ । हामीले दुनियाँका लागि एक नमूनाका रुपमा शान्तिप्रक्रिया अगाडि बढाएका छौँ । द्वन्द्वलाई मूल प्रवाहका साथै द्वन्द्वबाट अलगअलग भएका पक्षहरुलाई उत्थान गर्ने गरी हामी अघि बढेका छौँ,” प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपालमा शान्ति प्रक्रियाको अन्तिम किस्ताका रुपमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिनसम्बन्धी कानुनलाई लिएका छौँ । राजनीतिक कार्यदल र संसद्को सम्बन्धित समितिबाट पीडितकेन्द्रित हुनेगरी सर्वसम्मत पारित भइसकेको छ । यस अर्थमा म खुुसी व्यक्त गर्दछुु । यो हाम्रो सफलता दुनियाँका लागि उपयोगी हुन सक्नेछन् ।”
काठमाडौं: विद्युतीय राहदानी (इ–पासपोर्ट) बनाउन पोर्चुगलबाट तीन हजार आठ सय २९ नेपालीको जैविक विवरणसहितको आवेदन सङ्कलन गरिएको छ । राहदानी विभाग र पेरिसस्थित नेपाली दूतावासको संयुक्त टोलीले लिस्बनमा सञ्चालन गरेको राहदानीसम्बन्धी घुम्ती शिविरबाट रु सात करोड २० लाख ११ हजार पाँच सय ५४ राजस्व सङ्कलन भएको छ । विभागका निर्देशक मोतिबहादुर श्रीसका अनुसार शिविरबाट राहदानी सेवासहित यात्रा अनुमतिपत्र, मञ्जुरीनामालगायत कन्सुलरसम्बन्धी सेवा प्रदान गरिएको, थियो । पोर्चुगलमा नेपाली दूतावास नभएकाले शिविर सञ्चालन गरिएको हो ।
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, टिकोटमा सामान लोड गर्दै गरेको बोलेरो दुर्घटना हुँदा एक जना भएका छन् । आज विहान टिकोटबाट बेनीतर्फ आउन लागेको ग १ ज ७९४५ नम्बरको बोलेरो भिरालो सडकबाट पछाडी गुडेपछि भिरबाट खसेको थियो । दुर्घटनामा परेर स्थानीय भिमबहादुर पाइजा घाइते भएका हुन् । बोलेरोसंगै खसेका पाइजाको गाउँमै प्राथमिक उपचार गरेर थप उपचारको लागि पोखरा पठाइएको वडा सदस्य उर्मिला पुन मगरले जानकारी दिए । टिकोट गाउँको खेलमैदान नजिक बोलेरोमा चालक केशब पुन र स्थानीय कुमार पुनले सामान राख्दै गरेको समयमा भिरालो सडकमा गाडी पछाडी गुडेपछि दुर्घटना भएको थियो ।
मुगु: पहिरोले सडक बगाएपछि गमगढी–तारापानी–सोरुकोट सडक दुई सातादेखि अवरुद्ध छ । सोरु गाउँपालिका–८ स्थित आशिधारा खोला भन्ने स्थानमा सडक माथिबाट झरेको पहिरोले सडक बगाएपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सोरु गाउँपालिकाका सर्वसाधारणलाई जिल्ला सदरमुकाम जान आउन समस्या भएको छ । पहिरोले १० मिटर सडक बगाएको थियो । हाल सर्वसाधारण गमगढी बजारबाट जिपमा पहिरो गएको ठाउँसम्म जाने र त्यहाँबाट पहिरो छल्दै हिँडेर पार गरी सोरुकोट तारापानीबाट आएका जीप चढेर हिँड्ने गर्छन् । जोखिमपूर्ण यात्रामा विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अशक्त, बिरामीलाई कठिनाइ भएको छ । सो स्थानमा ज्यानै जाने जोखिमपूर्ण यात्रा गर्नुपरेको स्थानीय सर्जनबहादुर शाहिले जानकारी दिनुभयो । शाहीका अनुसार पालिकाले सोरु र छायानाथ रारा नगरपालिका सिमाना पातिहाल्नादेखि पहिरो गएको स्थानसम्म स्काभेटर लगाएर सानातिना पहिरो हटाए पनि आशिधारा खोलाको पहिरो पन्छाएर सडक बनाउन नसकेपछि स्काभेटर फर्काइएको थियो । गमगढी – तारापानी – सोरुकोट र तारापानी– धैन–दोमुख सडक कर्णाली प्रदेश सरकार अन्तर्गतको सडक हो । गतवर्ष पनि यहाँ पहिरो जाँदा अन्य विकासका योजना कटौति गरी सडकको अवरोध हटाइएको थियो । यो पटक पहिरो पन्छ्याउने, सडक बनाउने विषयमा कर्णाली प्रदेश सरकार मौन रहेको सोरु गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले बताउनुभयो । सडक अवरुद्ध हुँदा सोरु गाउँपालिकामा दैनिक उपभोग्य सामग्री तथा निर्माण सामग्रीमा मूल्यवृद्धि भएको छ । गमगढी–तारापानी २३ किमि सडक बेलायती सहयोग नियोग ‘डिफिड’को आर्थिक सहयोगमा ग्रामीण पहुँच कार्यक्रम ९¥याप थिरी० ले बनाएर प्रदेश सरकारलाई हस्तान्तरण गरेको सडक हो ।
काठमाडौं: नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बिदाइ भेट गर्नुभएको छ । खुमटारस्थित अध्यक्ष दाहालको निवासमा भएको भेटमा राजदूत भोल्कले नेपालको सङ्क्रमणकालीन न्यायका साथै शान्ति प्रक्रियाका बाँकी काम सहमतिमा टुङ्ग्याउन लागेकामा बधाई ज्ञापन गर्नुभएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ । यसबाट अन्तर्राष्ट्रिय जगत्मा नेपालको गरिमा बढेको राजदूत भोल्कले बताउनुभयो । पूर्वप्रधानमन्त्री दाहालले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई सुदृढ बनाउन राजदूत भोल्कले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उहाँको कूटनीतिक जीवनको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
बागलुङ (ढोरपाटन): अविरल वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । मुख्य करिडोर एक सातादेखि बन्द थियो । सहायक सडकबाट सवारीसाधन सञ्चालन हुँदै आएकामा मङ्गलबार रातिको पहिरोले सो क्षेत्रको आवागमन अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुमन निउरेले जानकारी दिनुभयो । पहिरोले करिडोरको केही भाग भासिएपछि भारी सवारीसाधन महिना दिनअघिदेखि नै बन्द भएका थिए । करिडोर अवरुद्ध हुँदा दक्षिण बागलुङमा सञ्चालन हुने यायातातका साधन पनि बन्द भएका उहाँले बताउनुभयो । करिडोर अवरुद्धपछि जैमिनी नगरपालिका, बरेङ गाउँपालिकासहित बागलुङ नगरपालिकावासी प्रभावित भएका छन् ।
दाङ: सर्पले डस्दा घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छ भने एकजनाको अवस्था गम्भीर छ । गए राति सर्पले डस्दा ६ वर्षीया इन्दु चौधरीको मृत्यु भएको तथा निजकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले बताउनुभयो । सर्पले डस्नेबित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको उहाँले बताउनुभयो । गम्भीर घाइते २५ वर्षीया आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
चितवन: पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकका विभिन्न ठाउँमा खसेका पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । गए रातिको वर्षाका कारण उक्त सडकका विभिन्न स्थानमा पहिरो खसेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका–३ चुम्लिङटार र मौवाखोलामा खसेको पहिरो हटाएसँगै बाटो खुलेको हो । मौवाखोलामा एकतर्फी र चुम्लिङटारमा दुईतर्फी सडक अवरुद्ध भएको थियोभने कुरिनटारमा विशाल ढुङ्गा खसेको थियो ।
काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर साधारणतया बदली रहेको जनाएको छ । कोशी, मधेस, बागमती, गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। त्यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने बाढीपहिरोको जोखिमबाट जोगिन विभागले सम्बद्ध सबैमा आग्रह गरेको छ । ती स्थानको दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ । यसैबीच, विभागले विगत छ घण्टामा कोशी प्रदेशको मोरङ, धनकुटा आसपास तथा गण्डकी प्रदेशको लमजुङ आसपास मध्यमदेखि भारी वर्षा भएको जनाएको छ । कोशी प्रदेशको सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गालगायत अन्य भू–भाग, मधेुस प्रदेशको सप्तरी आसपासका क्षेत्रहरूमा, बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, नुवाकोट तथा गण्डकी प्रदेशका गोर्खा, कास्कीलगायत क्षेत्रका साथै लुम्बिनी तथा कर्णाली प्रदेशका केही भागमा पानी परेको थियो ।