काठमाडौं: आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्यका दिन आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाका बुबा) को श्राद्ध भने बिहीबार गरिन्छ । पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भन्ने गरिएको हो । पितृपक्षको अन्तिम दिन आज आमावास्य अर्थात् औँसी तिथिको श्राद्ध गरिन्छ । कुनै कारणले यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । कुनै कारणले रोकिएर आज पनि श्राद्ध गर्न नसकेमा आपत् धर्म अनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म मिल्ने शास्त्रीय वचन रहेको उहाँले जानकारी दिनुभयो । यो समयमा पनि सोह्रश्राद्ध गर्न नसकिएमा कात्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कात्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् गौतमले बताउनुभयो । आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएका सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले बताउनुभयो । त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ, नसक्नेले ब्राह्मणमार्फत् वैदिक मन्त्रले दैनिक एक सय आठ जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उहाँले जानकारी दिनुभयो । “विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ । चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धाभक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ”, प्रा डा भट्टराईले भन्नुभयो । पितृपक्षका बेलामा पितृलोकबाट दिवङ्गत पितृहरु पिण्ड, पानीको आशले मत्र्यलोकमा झर्छन् भनी धर्मशास्त्रका हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको छ । यस अवसरमा शास्त्रीय रुपमा दिइएका विकल्प अनुसारका कर्म नगरे पितृ सुस्केरा निकाली सन्तानलाई श्राप दिई फर्कन्छन् भन्ने वाक्य ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद्हरुको भनाइ छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृ ऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् गौतमले बताउनुभयो । उहाँका अनुसार वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्रश्राद्धमा गर्ने पार्वण श्राद्ध, औँसी तिथि, सोह्रश्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्म कपालीलगायत श्राद्धहरु प्रचलित छन् । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् गौतमले बताउनुभयो । सोह्रश्राद्ध अपराह्नकालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उहाँले जानकारी दिनुभयो । यस अवसरमा उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट, त्रिवेणीलगायत तीर्थस्थलमा पितृप्रति श्रद्धाका साथ श्राद्ध गर्नेको घुइँचो लाग्ने गर्दछ । पितृपक्षको समाप्तिसँगै दुर्गापक्ष अर्थात् वडादसैँ सुरु हुन्छ । असोज १७ गते घटस्थापना गरेसँगै दुर्गापक्ष सुरु हुन्छ ।
ताप्लेजुङ: विगत ११ महिनादेखि हङकङमा बस्दै आएका सिरिजङ्घा गाउँपालिका–३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले पदबाट राजीनामा दिएका छन् । वडाध्यक्ष बोखिमले गाउँपालिकाको अध्यक्षमार्फत ताप्लेजुङ जिल्ला निर्वाचन कार्यालयलाई सम्बोधन गर्दै उनले यही असोज १८ गतेदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् । विसं २०८० कात्तिक २४ गतेदेखि वडामा अनुपस्थित उनले जनताको सेवा गर्न नसकेकामा दुःख व्यक्त गर्दै आफ्नो जिम्मेवारी कार्यवाहक वडाध्यक्षलाई सुम्पिएको राजीनामामा उल्लेख गरेको जिल्ला निर्वाचन आयोगले जनाएको छ । हालै स्थानीयले वडाध्यक्ष बोखिमको अनुपस्थितिका कारण विकास र प्रशासनिक काममा बाधा उत्पन्न भएको भन्दै निजमाथि कारबाहीको माग गर्दै गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानलाई ज्ञापनपत्र बुझाएका थिए ।
काठमाडौं: काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका१५ बङ्गलादेशका नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । उक्त कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार विभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानुनी ढङ्गले बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाका आधारमा काठमाडौँ महानगरपालिका–२६ ठमेल तथा सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरिएको हो । उनीहरूलाई अध्यागमन विभाग पठाइएको छ ।
काठमाडौं: गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएकाले सोहीअनुसार सतर्क रहन सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । गृहमन्त्री लेखकले जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको बुलेटिनलाई दृष्टिगत गरी तीन वटै सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, प्रदेशका सबै सुरक्षा संयन्त्र र स्थानीय तहहरूलाई आज निर्देशन दिनुभएको हो । महाशाखाले कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमबाट बच्न आमनागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ । सोही सन्दर्भमा उहाँले भन्नुभयो, “वर्षाको पूर्वानुमान गरिएअनुसार मैले कोशी र बागमती प्रदेशका प्रमुख जिल्ला अधिकारी, प्रदेश र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई सतर्क रहन निर्देशन दिएको छु ।” थप समन्यव र सोसम्बन्धी आवश्यक काम कारबाहीका लागि गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुख र विपद् प्राधिकरणलाई तयारी अवस्थामा रहन निर्देशन दिएको गृहमन्त्री लेखकले बताउनुभयो । मन्त्री लेखकले यसअघिको बाढी र पहिरोले मुलुकका प्रमुख राजमार्गहरु अवरुद्ध रहनुका साथै पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउनसमेत आग्रह गर्नुभएको छ ।
काठमाडौं: काठमाडौँबाट छुटेको सवारीसाधन उज्यालोमै नारायणगढ पुग्ने गरी यातायात व्यवस्थापन गरिने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको अध्यक्षतामा मङ्गलबार बसेको सरोकारवाला प्रतिनिधिहरुबीचको छलफलले सवारीसाधन छुटेपछि परिस्थिति हेरी उज्यालो समयमै आफ्नो सवारी साधन नारायणगढ पुग्ने गरी समय व्यवस्थापन गर्न यातायात व्यवसायीलाई अनुरोध गर्ने र सुरक्षा निकायले सोही अनुरुप यातायात व्यवस्थापनमा सहजीकरण गर्नेसहितका १० बुँदे निर्णय गरेको हो । उक्त छलफलमा प्रहरी, यातायात मजदुर तथा यातायत व्यवसायीको सहभागिता थियो । बैठकले मध्यम तथा लामो दुरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनले आफ्नो सवारीमा अत्यावश्यकीय प्राथामिक स्वास्थ्य उपचारका सामग्री, पिउने पानी तथा अत्यावश्यक अवस्थामा खान मिल्ने खाने कुरा राखेर मात्र सवारी सञ्चालन गर्न यातायात व्यवसायीलाई अनुरोध गर्ने निर्णय पनि गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो । बैठकपछि जारी विज्ञप्तिमा बाढीपहिरोबाट ज्यान गुमाउने यात्रु तथा यातायात मजदुरप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यस विपद्बाट ज्यान गुमाउने यातायात मजदुरको विवरण तथा दुर्घटनाग्रस्त सवारीको क्षतिको विवरण सङ्कलन गरी आवश्यक क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय भएको जनाइएको छ । सडकमा पहिरो आई वा बाढीले सडक बगाउँदा बीच बाटोमै अलपत्र परेका यातायात मजदुर तथा व्यवसायीलाई यथाशीघ्र उद्धार तथा राहत उपलब्ध गराउन गृह मन्त्रालयमा अनुरोध गर्ने, विषम परिस्थितिका कारण उत्पन्न हुन सक्ने दुर्घटना एवं जोखिम न्यूनीकरण गर्न अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा गर्नै परे सावधानी एवं सतर्कता अपनाउन अनुरोध गरिएको छ । देशभरिका विपद्सम्बन्धी एवं बाटोको अवस्था बारेमा आवश्यक सूचना नेपाल प्रहरी प्रधान कार्यालयले नियमित रुपमा आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गर्ने, यातायातको अग्रिम टिकट लिइसकेकालाई प्राथमिकता दिई गन्तव्य स्थलसम्म पु¥याउने सुनिश्चितता गर्ने तथा थप अग्रिम टिकट बुकिङ गर्ने सन्दर्भमा गृह मन्त्रालयको विपद्सम्बन्धी सूचनालाई आधार मानी बाटोको सुनिश्चिता हेरेर मात्र सम्बन्धित रुटको अग्रिम टिकट काट्न यातायात व्यवसायीमा अनुरोध गरिएको छ । वैकल्पिक मार्गहरुको पहिचान गरी ठूला सवारीसाधन चल्ने र साना सवारी साधन चल्ने प्राथमिकताका बाटो छनोट गरी सवारी सञ्चालन गर्ने तथा वैकल्पिक मार्गको जानकारीको सूचना यातायात व्यवस्था विभागको वेवसाइटमार्फत जानकारी गराउने निर्णय पनि भएको वरिष्ठ उपाध्यक्ष सिटौलाले जानकारी दिनुभयो । यस्तै अत्यधिक वर्षाका कारणले ‘रेड जोन’मा परेका सडकखण्ड तथा सडकमा हेभी इक्युपमेन्ट तैनाथ राख्न सडक विभागलाई अनुरोध गर्ने तथा वर्षातको कारणले अवरुद्ध सडक खुलाउने सम्बन्धमा स्थानीय तहले पनि आफूसँग भएका हेभी इक्युपमेन्ट प्रयोग गरी बाटो खुलाउन तथा आवश्यक उद्धारमा सहयोग गर्न अनुरोध गर्ने निर्णय पनि भएको छ ।
काठमाडौं: हालैको बाढीपहिरामा परी दुई सय २८ जनाको मृत्यु भएको छभने २५ जना बेपत्ता छन् । अन्य एक सय ५८ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ । प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ । सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताउनुभयो ।
पोखरा: गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले स्वास्थ्य क्षेत्रको समस्यालाई भुईं तहबाट नै समाधान गर्ने उद्देश्यसहित त्रयकालीन योजना सार्वजनिक गरेका छन् । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अल्पकालीन, मध्यकालीन र दीर्गकालीन योजना सार्वजनिक गरेका हुन् । छ पृष्ठमा समेटिएको तीन कालीन योनजामा नीतिगत तथा कानुन सुधार, सुशासन, आपूर्ति, मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण, संस्थागत क्षमता विकास, सेवा प्रवाह र गुणस्तरको सुनिश्चितता, आपतकालीन तयारी तथा प्रतिकार्य, सर्ने तथा नसर्ने रोगहरुको व्यवस्थापन, भौतिक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन लगायतका योजनालाई समेटिएको छ । दीर्घकालीन योजना अन्तर्गत एयर एम्बुलेन्स व्यवस्थापन, स्वास्थ्यमा हुने व्यक्तिगत खर्चको भार क्रमशः घटाउँदै लगिने, प्रदेशका मुटु, क्यान्सर र मृगौला रोगको उपचारको लागि विशिष्टिकृत अस्पताल र मातृशिशु, महिला तथा बाल अस्पताल निर्माण कार्यलाई प्राथमिकतामा राखिएको उनले बताए । पाठकले स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार निर्माणको लागि जग्गा प्राप्ति गर्न संघ र स्थानीय तहसँग समन्वय गर्ने, लमजुङ, स्याङ्जा र दमौली अस्पतालको भवन निर्मार्ण गर्ने, धौलागिरि अस्पताल बागलुङ, दमौली अस्पताल तनहुँ र मध्यविन्दु अस्पताल नवलपरासीमा ट्रमा सेन्टर स्थापना गरी दुर्घटनामा परेका वा ठूलो चोटपटक लागेका बिरामीहरुलाई तत्काल आवश्यक उपचारको व्यवस्था मिलाउने योजनालाई मध्यकालीन योजनामा राखेका छन् । उनले ६ महिना सम्पन्न गर्ने गरी विभिन्न शीर्षकमा ४० वटा योजनालाई समेटेका छन् भने २ वर्षमा पूरा गर्ने गरी ४९ वटा योजनालाई मध्यकालीनमा समेटेका छन् । करिब ५ वर्षमा पूरा गर्ने लक्ष्य राखिएका दीर्घकालीन योजना १० वटा रहेको पाठकले बताए । पत्रकार सम्मेलनमा पाठकले आफूले बनाएको तीन कालीन योजना अन्य प्रदेशका स्वास्थ्य मन्त्रालयको लागि मार्गदर्शन हुने दाबी समेत गरे । ‘स्वास्थ्य क्षेत्रका समस्या भुईस्तरबाट नै समाधान गर्ने उद्देश्य हो ।’ – उनले भने – ‘उद्देश्य प्राप्तिका लागि तीन कालीन योजना बनाउँदा लक्ष्यमा पुगिन्छ भन्ने विश्वास छ ।’ पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्मा, महानिर्देशक खिमबहादुर खड्का र डा. रेखा पौडेलले मन्त्रालयको बारेमा बोलेका थिए ।
काठमाडौं: सांसदहरूले विपद् प्रतिकार्यमा किन कमजोरी भयो भनी सरकारसँग प्रश्न गर्नुभएको छ । राज्यव्यवस्था समितिको आजको बैठकमा उहाँहरूले विपद्पछिको खोज, उद्धार र राहत वितरणको काम प्रभावकारी हुन नसकेको उल्लेख गर्नुभयो । बाढीपहिराका कारण अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्न नसक्दा अझै पनि नागरिकहरू सडकमा अलपत्र परेका जनाउँदै उहाँहरूले अलपत्र नागरिकलाई यथाशीघ्र उद्धार गरी गन्तव्यमा पु¥याउन सरकारले ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । सांसद रवि लामिछानेले विपद्का समयमा अनवरत खट्नुपर्ने जिम्मेवार पदाधिकारी नै मुलुक बाहिर हुँदा प्रतिकार्यमा कमजोरी भएको सरकारले स्वीकार्नुपर्ने बताउनुभयो । “राष्ट्रिय आपत्कालका बेला जिम्मेवार पदाधिकारी नै गैरजिम्मेवार बने, जुन ढङ्गको तयारी हुनुपर्नेथ्यो, त्यसखालको तदारुकता देखिएन, झारा टार्ने काम भयो”, उहाँले भन्नुभयो, “स्रोत साधन र क्षमता सीमित छ, तर असिमित इच्छाशक्ति भएको भए धेरै क्षति न्यूनीकरण गर्न सकिन्थ्यो ।” सांसद गगनकुमार थापाले राष्ट्रिय विपत्तिका बेला सबै सरकार, राजनीतिक दल र नागरिक एकताबद्ध हुनुपर्ने र जिम्मेवारी तहमा बसेका पदाधिकारीले आआफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिनुभयो । “बैठक धेरै भए, कतिपय निर्णय ‘डुब्लिकेसन’ भएका छन्, अब धेरै बैठक बस्नु पर्दैन, भएका निर्णय कार्यान्वयन गर्ने हो”, उहाँले भन्नुभयो । सांसद चित्रबहादुर केसीले विपद्का समयमा वादविवाद नगरी राष्ट्र र जनताको पीडामा सिङ्गो मुलुक एकजुट हुनुपर्ने बताउनुभयो । “सडकमार्ग अवरुद्ध छ, त्यही मौकामा प्लेनका व्यापारीले अस्वभाविक भाडा बढाएका छन्, सरकार भएको ठाउँमा यस्तो हुन्छ रु”, उहाँले प्रश्न गर्नुभयो, “व्यापारीको तजबिजीमा मात्रै मुलुक चल्ने हो र ?” सांसद रघुजी पन्तले विपद् प्रतिकार्यलाई चुस्त बनाउन सरकारले आफ्नो क्षमता बढाउनुपर्ने धारणा राख्दै बाढीपहिरोले भत्काएका संरचना निर्माण गर्न अन्तर्राष्ट्रिय सहायता लिन ढिलाई गर्न हुने बताउनुभयो । “सडक बन्द भएको अवस्था छ, यही बेला हवाई भाडा वृद्धि भएको छ, आधारभूत संरचना ध्वस्त हुँदा त्यसको मर्मत गर्न अन्तर्राष्ट्रिय सहायता लिनु उचित हुन्छ”, उहाँले भन्नुभयो । सांसद राजेन्द्र पाण्डेले सम्भावित जोखिमलाई मध्यजनर गर्दै सरकारले ‘ट्राभल एडभइजारी’ जारी गरेको भए पनि राजमार्गमा किन निर्वाध यातायातका साधन चल्न दिएको भनी प्रश्न गर्नुभयो । उहाँले राष्ट्रिय विपद्का बेला राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण निकम्मा बनेको आरोप लगाउनुभयो । सांसद प्रकाश अधिकारीले एक साता अघिदेखि नै ठूलो पानी पर्ने पूर्वानुमान गरिए पनि नदी किनारामा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न किन ढिलाई गरेको भन्दै प्रश्न गर्नुभयो । “राजमार्गमा किन निर्वाध रात्रि बस चलाउन दिएको”, उहाँले प्रश्न गर्नुभयो, “विपद्पछि आउनसक्ने जनस्वास्थ्य चुनौती सामना गर्न सरकारको के तयारी छ रु” सांसद दीलेन्द्रप्रसाद बडुले ठूलो मनसुनी वर्षा हुने पूर्वानुमान र पूर्वचेतावनीकाबीच राजमार्गमा यातायात चल्न दिनु कमजोरी भएको बताउनुभयो । “फेरि पानी पर्ने पूर्वानुमान गरिएको छ, अब नागरिकको सुरक्षाका लागि भए पनि राजमार्गमा यातायात बन्द गर्नुपर्छ”, उहाँले भन्नुभयो, “पूर्वतयारी र प्रतिकार्यका लागि स्थानीय तहलाई साधनस्रोत सम्पन्न बनाइनुपर्छ ।” सांसद सरिता प्रसाईंले पछिल्लो विपद्को सन्दर्भमा पूर्वानुमानका बारेमा पर्याप्त सूचना प्रवाह भए पनि पूर्वचेतावनी कार्यान्वयनमा सरकार चुकेको बताउनुभयो । “पुनः बद्ली हुने पूर्वानुमान छ, अझै पनि राजमार्गमा सयौँ नागरिक अलपत्र छन्, अलपत्र यात्रीलाई तत्काल उद्धार गरेर गन्तव्यमा पु¥याऔँ”, उहाँले भन्नुभयो । सांसद बुद्धिमान तामाङले बुधबारदेखि पुनः मौसम बद्ली हुने पूर्वानुमानले नागरिकलाई झन् त्रसित बनाएको जनाउँदै पूर्वतयारीमा कुनै कमजोरी नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद सर्वेन्द्रनाथ शुक्लाले विषमी मौसमी अवस्था आउँछ भनेर पूर्वानुमान गरिएको, सावधानीका लागि पूर्वाचेतावनी पनि जारी गरिएको अवस्थामा सरकारले पूर्वतयारीमा ठूलो कमजोरी गरेको आरोप लगाउनुभयो । बैठकमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले बाढीपहिरोले सडक अवरुद्ध हुँदा सयौँ यातायात मजदूर राजमार्गमा अलपत्र परेको जनाउँदै उनीहरूलाई न्यूनतम आधारभूत सेवा दिनेतर्फ स्थानीय सरकारले प्रभावकारी काम गर्न नसकेको बताउनुभयो । “बिपी राजमार्गमा अझै पनि पाँच सय बस अलपत्र छन्, चित्लाङमा ५० वटा गाडी अड्किएका छन्”, उहाँले भन्नुभयो “यात्रीको उद्धार भयो तर यातायात मजदुर अलपत्र छन् ।”
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षापछि गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूलाई राहत वितरण गर्ने कार्य प्रारम्भ भइसकेको स्पष्ट पार्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलमा उहाँले विपद्मा परेका नागरिकको खोज एवं उद्धार कार्य दुई दिनभित्र गरिसकिने बताउनुभयो । घाइतेहरूको निःशुल्क उपचार र विपद्पछि आउन सक्ने जनस्वास्थ्यका समस्या रोगथाम र नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिएको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो । उहाँले क्षतिग्रस्त खानेपानी, सडक, टेलिफोन, विद्युत्लगायत आधारभूत सेवा सञ्चालनका लागि सरकार सक्रिय रहेको बताउनुभयो । सो अवसरमा विपद्का कारण २२४ को मृत्यु भएको, २४ बेपत्ता रहेको र १५८ घाइते रहेको तथा उच्च जोखिममा रहेका चार हजार तीन सय ३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइसकिएको जानकारी दिइयो । विपाद्बाट काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ जिल्ला बढी प्रभावित भएका छन् ।

