धादिङ: भारतको दार्जलिङ घर भई हाल धादिङको गल्छी गाउँपालिका–६ मा बस्दै आएका ४९ वर्षीय प्रकाश मगरले गर्भवती श्रीमतीको हत्या गरेका छन् । श्रीमतीको पेटमा भएको बच्चा आफ्नो नभएको आरोप लगाउँदै निर्घात कुटपिट गरी श्रीमती अर्घाखाँचीकी ३२ वर्षीया निशा क्षेत्री मगरको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गल्छी गाउँपालिका–६ महेशदोभानमा बस्दै आएकी निशालाई उहाँकै श्रीमान्ले पेटमा निर्घात कुटपिट गर्दा बच्चा नै बाहिर निस्केको र उहाँको मृत्यु भएको हो । निशा र प्रकाश गल्छी गाउँपालिका–६ खैरेनी महेशदोभान क्षेत्रमा मजदुरी गरी अस्थायी बसोबास गर्दै आएका थिए । साउन १८ गते राति हत्या गरिएको अवस्थामा निशाको शव फेला परेपछि अनुसन्धानको क्रममा उहाँकै श्रीमान् प्रकाश मगरलाई प्रहरीले साउन २० गते पक्राउ गरी अनुसन्धान गरेको थियो । निशाको हत्या प्रकाशले नै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । साउन २२ गते कर्तव्य ज्यान मुद्दा दर्ता भएको धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मिश्रले जानकारी दिनुभयो । पटकपटक कुटपिट गर्ने र यसलाई मार्छु भन्ने गरेको आरोपितले केही समय ढुङ्गानाटारमा मजदुरी गरेर बस्दै आएको र घटना भएको राति महेश दोभानमा आएर श्रीमतीको हत्या गरेको छिमेकीहरूले आशङ्का गरेका छन् । निशाको शव परीक्षणका लागि शिक्षण अस्पताल काठमाडौँ पठाएको छ ।
काठमाडौं: एयर डाइनेस्टीको कलसाइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटना भएपछि उद्धार सुरु भएको छ । आज दिउँसो १ः५४ बजे भक्तपुरको नलिनचोकबाट रसुवाको स्याँफ्रुबेसीका लागि उडान भरेको उक्त हेलिकप्टर तीन मिनेटपछि सम्पर्कबिहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिनुभयो । दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको जानकारी प्राप्त हुनासाथ खोज तथा उद्धारका लागि सुरक्षाकर्मीसहितको टोली परिचालन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । हेलिकप्टरमा पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिक सवार रहेको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले जानकारी दिनुभयो । सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सशस्त्रको सुरक्षा बेस बालाजुबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा १० जना तथा १९ नम्बर गणबाट सशस्त्र प्रहरी उपरीक्षकको नेतृत्वमा ४५ जनाको टोली घटनास्थलतर्फ पठाइएको छ । साथै ककनीस्थित यूएन तालिम केन्द्रबाट समेत सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा थप ११ जनाको टोली पनि खटाइएको उहाँले जानकारी दिनुभयो । खोज तथा उद्धारका लागि काठमाडौँबाट प्रभु कम्पनीको ९ एन–एएनएल हेलिकप्टर दुर्घटनास्थलतर्फ पठाइएको क्यानले जनाएको छ ।
गुल्मी: गुल्मीमा पहिरोले पुरिएर मृत्यु भएकाहरुको सामूहिक दाहसंस्कार गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका‐१ बिसौनामा मङ्गलबार बिहान पहिरोमा परि मृत्यु भएका दुई घरपरिवारका चार जनाको आज स्थानीय बढीगाढ खोलामा सामूहिक दाहसंस्कर गरिएको हो । मङ्गलबार बिहान ९ बजे बिसौनाका विष्णु विकको घर पहिरोले पुरिँदा उनकी ६६ वर्षीया आमा मसुरी विक, दुई वर्षीया छोरी रियन्सी विक, ६७ वर्षीय हुकुम विक र ४६ वर्षीय गोरे विकको मृत्यु भएको थियो । जिल्ला प्रशासन कार्यालय गुल्मीले सदरमुकाम तम्घासबाट चिकित्सक पठाएर घटनास्लथलमै शव परीक्षण गरी आफन्तको जिम्मा लगाइएको थियो । उक्त शवलाई आज बिहान हिन्दू परम्परा अनुसार दाहसंस्कार गरिएको हो । उक्त घटनामा परि विष्णु विक र उहाँकी श्रीमती मुना विक गम्भीर घाइते हुनुभएको थियो । उहाँहरुको अहिले मेडिकल कलेज प्रवास पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । यसअघि गत आसार १४ गते गुल्मीको मालिका गाउँपालिका‐६ अर्जेमा पहिरोले घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको थियो ।
काठमाडौं: नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार शिवपुरी गाउँपालिका–७ शिवपुरी जङ्गलको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको हो । यो पनि पढ्नुहोस नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना “घटनास्थलमा केही सुरक्षाकर्मी र स्थानीयवासी पुगेका छन् । उनीहरुले हेलिकप्टरमा लागेको आगो निभाइरहेका छन््”, उहाँले भन्नुभयो । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको उहाँको भनाइ छ ।
काठमाडौं: नुवाकोटमा एयर डाइनेस्टीको हेलिकटर दुर्घटना भएको छ । शिवपुरी गाँउपालिका–७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएर दुर्घटना भएको नुवाकोटका एसपी शान्तिराज कोइरालाले जानकारी दिनुभयो । स्थानीय र प्रहरी घटनास्थलमा पुगिसकेका छन् । घटनास्थलमा प्रहरीहरु पुगि सकेकाले अहिले आगो निभाउने र उद्धार कार्य जारी रहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिनु भयो । उक्त हेलिकप्टरमा चार जना यात्रु र चालक दलका सदस्य सवार रहेको प्रारम्भिक विवरण आफुहरुलाई प्राप्त भएको प्रजिअ अधिकारीले बताउनु भयो । घटनाको थप विवरण आउन बाँकी छ ।
काठमाडौं: संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुंगो लगाउन गठित कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीसिहत शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको छ । कार्यदलले एक साताअघि नै दलहरुसँगको समन्वयमा विवादित विषयमा सहमति जुटाइसकेको थियो । उक्त सहमतिको प्रतिवेदन आज सिंहदरबारमा दलका शीर्ष नेतालाई बुझाएको हो । गत बिहीबार तीन दलका तीन नेता, कानुन समितिका सभापति र कानुनमन्त्रीबीच भएको छलफलमा विवादित सबै विषयमा सहमति जुटेको थियो । लामो समयदेखि विवादित रहेको द्वन्द्वकालमा भएको हत्यालाई कसरी परिभाषित गर्ने भन्ने विषय टुंगिएपछि सहमति भएको हो । मनसायपूर्वक अथवा स्वेच्छाचारीपूर्वक गरिएको हत्यालाई मानवअधिकारको गम्भीर उल्लंघनमा राख्ने सहमति दलहरुले गरेका छन् । मानवअधिकारको उल्लंघनका घटनामा सहमतिका लागि पीडितको सहमति अनिवार्य गरिएको छ । पीडितको सहमति नभएमा के गर्ने भन्ने विवाद थियो ।
चितवन: पहिरोका कारण मुग्लिन–मलेखु सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरो पञ्छाएर सुचारु रुपमा सडक सञ्चालन गर्ने प्रयास जारी रहेको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो । सडकमा ठूलो पहिरो खसेकाले त्यसलाई पन्छाउन केही समय लाग्ने उहाँले बताउनुभयो ।
काठमाडौं: केही दिनदेखि बेलायतका विभिन्न सहरमा प्रदर्शन/हुलदङ्गा चलिरहेकाले यहाँ रहेका एवं बेलायत भ्रमण गर्न लागेका सम्पूर्ण नागरिकलाई हुलदङ्गा भएको स्थानमा भ्रमण नगर्न र प्रदर्शनमा सहभागी नहुन अनुरोध गरिएको छ । लन्डनस्थित नेपाली राजदूतावासले आज एक सूचना जारीगरी बेलायतको वर्तमान अवस्थालाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै सम्पूर्ण नेपाली नागरिकलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन एवं स्थानीय सञ्चारमाध्यम तथा सुरक्षा निकायले जारी गरेका सूचनाहरू ध्यानपूर्वक पालना गर्न आग्रह गरेको छ । साथै, बेलायतस्थित नेपाली सङ्घ/सङ्गठनहरूलाई आफ्नो संस्था/समुदायमार्फत नेपाली नागरिकहरूलाई सुरक्षा सतर्कता अपनाउने सम्बन्धमा जानकारी गराउन र त्यसका लागि समन्वय गर्न पनि दूतावासले अनुरोध गरेको छ । आपतकालीन अवस्थामा लन्डनस्थित नेपाली राजदूतावासको फोन नं +44(0) 2072291594, +447404939274 र Email: [email protected], [email protected] मा सम्पर्क गर्न अनुरोध गरेको छ ।
काठमाडौं: इलिनोइ राज्यमा बसोबास गर्दै आएका नेपालीलाई राहदानीलगायत सेवा प्रवाह गर्ने लक्ष्यका साथ हालै शिकागो नगरमा सञ्चालित घुम्ती शिविरबाट चार सय ११ जना लाभान्वित भएका छन् । यहाँस्थित राजदूतावासले नेपाली संलग्न स्थानीय सङ्घसंस्थासँगको समन्वयमा सञ्चालन गरेको तीनदिने शिविरमा राहदानी सेवा प्रवाह गरिएको थियो । सरकारको निर्देशनअनुसार समय–समयमा दूतावासले विभिन्न राज्यमा यस्ता शिविर सञ्चालन गर्दै आएको छ । सोही राज्यको कार्वोण्डेल विश्वविद्यालयमा स्नातकोत्तर गरिरहनुभएकी बालकोट भक्तपुरकी राजती दाहालले शिकागो शिविरबाट सहज रूपमा सेवा प्राप्त भएकामा प्रशन्नता प्रकट गर्नुभयो । यसबाट धेरै नेपालीलाई घण्टौँको हवाई यात्रा गरेर वासिङ्टन पुग्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको बताउँदै उहाँले नेपाल सरकारप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।