काठमाडौं: परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहनुभएका नेपाली विद्यार्थी बिपीन जोशीको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताउनुभएको छ । जोशीका बुबा महानन्द जोशी र उहाँको परिवारका सदस्यहरुलाई मन्त्री डा राणाले सो जानकारी दिनुभएको हो । बिपीन जोशीका बुबासहित परिवारका सदस्यहरुले आज परराष्ट्रमन्त्री डा राणालाई उहाँको कार्यकक्षमा भेटेर बिपीनको रिहाइका लागि पहल गरिदिन अपिल गर्नुभएको थियो । उक्त भेटमा मन्त्री डा राणाले जोशी हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको जानकारी आफूले पाएको बताउनुभयो । इजरायलमा भएको आक्रमणपछि बिपीन जोशीसहित नियन्त्रणमा लिइएका सबैलाई हमास समूहले सुरक्षित राखेको जानकारी प्राप्त गरेको र उहाँको सकुशल रिहाइका लागि परराष्ट्र मन्त्रालयले सक्दो प्रयास गरिरहेको जानकारी मन्त्री डा राणाले दिनुभयो । मन्त्री डा राणाले भन्नुभयो, “उहाँको अवस्थाका बारेमा हालै नेपालका लागि इजरायली राजदूतसँग पनि मैले जानकारी लिएँ । उहाँले सो आक्रमणपछि नियन्त्रणमा लिइएकाहरु हमासको समूहमा सुरक्षित रहेको जानकारी पाएको मलाई बताउनुभएको छ । जोशीको रिहाइका लागि इजरायली राजदूत पनि लागि पर्नुभएको छ । हामीले उहाँको रिहाइमा कुनै कसर बाँकी नराखी काम गरिरहेका छौँ । आशा छ, उहाँ नियन्त्रणबाट सकुशल मुक्त हुनुहुनेछ ।” आफू परराष्ट्रमन्त्री भएदेखि बिपीनको रिहाइका लागि के गर्न सकिन्छ भनेर लागिपरेको तथा आफूसँग भेट्न आउने प्रायः सबै विदेशी राजदूतहरुलाई बिपीनको रिहाइका लागि आफ्ना ठाउँबाट आवश्यक सहयोग र पहल गरिदिन आग्रह गरेको जानकारी उहाँले दिनुभयो । यसअघि कतारका राष्ट्रपति नेपाल भ्रमणका क्रममा आउनुभएको बेला उहाँसँग नेपाल सरकारले बिपीनको रिहाइका लागि पहलको आग्रह गरेको स्मरण गर्दै मन्त्री डा राणाले आवश्यक सहयोग र पहलका लागि कतार सरकारसँग आग्रह गर्ने जानकारी दिनुभयो । इजरायलमा गत अक्टोबरमा हमास समूहद्धारा भएको आक्रमणपश्चात उनीहरुकै नियन्त्रणमा रहनुभएका बिपीन जोशी हालसम्म सम्पर्कविहीन हुनुहुन्छ ।
इलाम: इलामको सुकिलुम्बा विमानस्थल दुई महिनादेखि बन्द रहेको छ । खराब मौसमका कारण यहाँ हवाईउडान बन्द भएको हो । यसअघि गत जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले उडान भरेको थियो । जेठ १७ गते काठमाडौँबाट इलामका लागि उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकेर पुनः काठमाडौँ नै फर्केको थियो । त्यसयता उडान हुन नसकेको सुकिलुम्बा विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले जानकारी दिनुभयो । मौसममा सुधार नआउन्जेलसम्म हवाई उडान नहुने उहाँको भनाइ छ । नेपाल एयरलाइन्सले २०७९ माघ १ गतेदेखि इलाम–काठमाडौँ उडान भर्दैआएको थियो । नेपाल एयरलाइन्सले सातामा आइतबार र बिहीबार गरी दुई दिन उडान भर्दै आएको थियो । नेपाल एयरलाइन्सको विमानले उडान सुरु गर्नु अघि सीता एयरलाइन्सको विमानले उडान भर्दै आएको इन्चार्ज सुन्दासले बताउनुभयो । सुकिलुम्बा विमानस्थल इलाम नगरपालिका–९ मा पर्छ । मौसम खुलेपछि नियमित उडान हुने उहाँले बताउनुभयो । हवाई उडान बन्द भएपछि यहाँका यात्रुलाई समस्या भएको छ । हाल उनीहरु झापाको भद्रपुर विमानस्थलबाट हवाई यात्रा गर्दै आएका छन् ।
काठमाडौं: नेकपा (एमाले)को सचिवालय बैठक आगामी बिहीबार बस्ने भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका उक्त बैठकले केन्द्रीय नेताहरुको कार्यविभाजन गर्ने छ । उक्त बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने तय भएको छ । गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो । सोही निर्णयानुसार कार्यविभाजन सम्बन्धि मापदण्ड बनाएर आगामी सचिवालय बैठकमा केन्द्रीय नेताको कार्यविभाजन गर्न लागिएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो ।
चितवन: सिमलताल दुर्घटनामा बेपत्ता बसको खोजी गर्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक (म्याग्नेट) फेलापरेको छ । बस खोजी गर्ने क्रममा गत शनिबार १९ किलोको चुम्बक र लाइफ ब्वाइ ट्युब त्रिशूली नदीले बगाएर हराएको थियो । उक्त चुम्बक आज बिहान काभ्रेघाटस्थित नारायणी नदीमा फेलापरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । चुम्बकसँगै लाइफ ब्वाइ ट्युब पनि फेला परेको उहाँले बताउनुभयो । गत असार २८ गते वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा बेपत्ता भएको थियो । बसमा सवार ६५ जनामध्ये तीनजना हामफालेर बाँच्न सफल भएका थिए भने ६२ जना बेपत्ता भएका थिए । हालसम्म २४ जनाको शव भेटिएको छ । तीमध्ये १८ जनाको पहिचान खुलेर परिवारलाई बुझाइसकिएको छ । अन्य छ शवको पहिचान खुल्न सकेको छैन । अझै ३८ यात्रु र बस भेटिएका छैनन् । हराइरहेको बस खोज्न भारतीय टोली चितवन आएका थिए । उक्त टोलीले बस खोज्नका लागि १९ र १४ किलोका दुईवटा चुम्बक (म्याग्नेट) ल्याएका थिए । जसमध्ये शनिबार बस खोज्ने क्रममा १९ किलोको चुम्बक हराएको थियो । बस खोजी गर्नका लागि नेपाल आएको भारतीय टोली भने आइतबार नै फर्किसकेका छन् ।
बर्दिया: बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५को हाराहारीमा पुगेको छ । यो निकुञ्ज पाटेबाघका लागि दोस्रो ठूलो बासस्थान मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ पाटेबाघ रहेको बताइएको छ । जैविक विविधता संरक्षणमा समुदायसँगको सहकार्यमा सफलता पाएसँगै सन् २०१० मा १८ पाटेबाघ रहेको बर्दियामा सन् २०२२ सम्म तीन गुणा बढेको निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो । उहाँका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा विगत दुई वर्षदेखि बाघ आक्रमणको घटना भने न्यून छ । ‘अबचाहिँ बाघ संरक्षणका लागि कदम चाल्ने समय आयो’ भन्ने नारासहित आज बाघ दिवस विविध कार्यक्रम आयोजन गरी मनाइँदै छ । अधिकृत वाग्लेले बाघलगायत वन्यजन्तु बृद्धिसँगै यिनीहरूको बासस्थान व्यवस्थापन, समुदायमा सचेतना, मानव वन्यजन्तुबीच द्वन्द्व रोक्न विद्युतीय तारबार, कङ्क्रिट पर्खाललगायत पूर्वाधारसँगसँगै व्यवस्थापनमा जोड दिइराखेको बताउनुभयो । वनजङ्गलको संरक्षण भएपछि बर्दियामा उल्लेख्य मात्रामा बाघको सङ्ख्या बढेसँगै खाता जैविकमार्ग एवं वन क्षेत्रमा बाघको विचरण पनि बढेको छ । गत वर्ष वनक्षेत्रमा बाघ र चितुवाको आक्रमणमा परी पाँचजनाको मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ अधिकृत टङ्क गुरुङले बताउनुभयो । बाघबाट वनक्षेत्रमा मानवीय क्षतिको परिमाण बढ्दै गएको छ । उहाँले भन्नुभयो, “ वन्यजन्तु भएका क्षेत्रमा मानवीय गतिविधि रोक्न वन कार्यालयले विभिन्न क्याम्प गर्दै आएकाले चालु वर्षमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न विभिन्न तयारी गरेको छ ।”
गोरखा: उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा आइतबार पहिरोमा परी बेपत्ता भएकाहरूको आज बिहानैदेखि खोजी सुरु गरिएको छ । भीषण पहिरोमा परेर बेपत्ता भएका पाँचजनाको आइतबार दिनभर खोजी गरिए पनि फेला पार्न नसकिएपछि आज बिहानैदेखि खोजी गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । बेपत्ता भएकाको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयवासी जुटेको उहाँले बताउनुभयो । “पहिरोले घर तथा कृषि फार्म धेरै पुरिएकाले बेपत्ता भएकाको अवस्था पत्ता लगाउन कठिन भइरहेको छ”, उहाँले भन्नुभयो, “हिजो दिनभर खोजी गर्दा केही पत्ता लागेन, आज फेरि बिहानैबाट खोजीकार्य थालेका छौँ ।” बेपत्ताको खोजीका लागि ‘जेसिवी मेसिन’को प्रयोग गरिएको उहाँले बताउनुभयो । आइतबार राति डाँडाबाट खसेको लेदोसहितको पहिरोले स्थानीय जीतबहादुर गुरुङको कृषि फार्म र एक घर बगाउँदा उहाँसहित ३५ वर्षीया कान्छी गुरुङ, ६० वर्षीय सुलाल कान्छा गुरुङ, ३३ वर्षीय रमेश गुरुङ र २४ वर्षीय रमेश परियार बेपत्ता भएका थिए । डाँडाबाट खसेको पहिरो बुढीगण्डकी नदीसम्म पुगेकाले बेपत्ता भएकाहरूलाई नदीको बगाएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले आजदेखि बुढीगण्डकी नदी किनार आसपासका क्षेत्रमा पनि बेपत्ताको खोजी थालेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो ।
पर्सा: वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने तीन उद्योगलाई कारबाहीस्वरुप ती उद्योगको मुख्यद्वारमा फोहरमैला थुपारिदिएको छ । नगर प्रहरीसहित सरसफाइको टोलीले ट्रयाक्टरमा फोहरमैला राखेर परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग, श्रीसिद्धि टेक्सटाइल्स र मोरियम लेदर इण्डस्ट्रिज प्रालीको मुख्यद्वार प्राङ्गणमा फोहोर थुपारिदिएको हो । वीरगञ्ज महानगरका नगरप्रहरी प्रमुख हरि भुसालले ती उद्योगको परिसरमा प्रतिकात्मक कारबाहीस्वरुप आज फोहरमैला खसाली दिएको बताउनुभयो । “उद्योगबाट निस्कने फोहरमैला सिर्सिया नदीमा नमिसाउन बारम्बार अनुरोध गरेका थियौँ । तर उहाँहरूले मान्नुभएन, त्यसैले निर्देशनानुसार फोहरमैला थुपारिदिएको हो”, उहाँले भन्नुभयो । महानगरले यसअघि सिर्सिया नदीमा फोहरमैला नफ्याँक्न बारम्बार अनुरोध गर्दै आइरहे पनि उद्योगी व्यवसायीले आलटाल गर्दै आएका थिए । महानगरले गत वैशाख ९ गते नदीमा फोहरमैला गर्ने उद्योगलाई १५ दिनभित्रै फोहरमैला व्यवस्थित नगरे कारबाही गर्ने चेतावनी समेत दिएको थियो । तर उद्योगले फोहरमैला व्यवस्थित गर्न आलटाल गर्दै आएका थिए । नगर प्रहरी प्रमुख भुसालले भोलि पनि नदी फोहरमैला गर्ने उद्योगमा फोहर फ्याँक्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
म्याग्दीः गण्डकी प्रदेश सरकारले पछिल्लो एक वर्षमा दुई सय ३३ किलोमिटर पक्की सडक निर्माण गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न भएका क्रमागत बहुवर्षीय र सालबसाली आयोजनामार्फत सडक कालोपत्र र ढलान भएको जनाएको छ । मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रामकुमार श्रेष्ठले गण्डकी प्रदेशका ११ जिल्लामा गत आवमा सञ्चालन भएका आयोजनामार्फत दुई सय ३३ किलोमिटर सडक कालोपत्र र ९७ किलोमिटर सडक ग्राभेल भएको जानकारी दिनुभयो । उहाँका अनुसार ५५ किलोमिटर कच्ची सडक निर्माण, एक सय ४६ दशमलव ६३ किलोमिटर सडक फराकिलो बनाउने, दुई सय २७ दशमलव १३ किलोमिटर नाली, एक सय ७८ वटा कजवे र कल्भर्ट निर्माण भएका छन् । सडकको सुरक्षाका लागि प्रदेशभर दुई लाख १९ हजार एक सय ४९ दशमलव ५४ घनमिटर टेवा पर्खाल, ४७ किलोमिटर सडकको नियमित मर्मत भएको छ । गत आवमा गण्डकी प्रदेश सरकारले २१ मोटरेबल पुल, १९ झोलुङ्गे पुल र २५ भवन निर्माण गरेको सिनियर डिभिजनल इन्जिनियर श्रेष्ठले बताउनुभयो । रु १२ अर्ब १८ करोड २३ लाख पाँच हजार पुँजीगत बजेट रहेको मन्त्रालयले ७१ दशमलव ७४ प्रतिशत अथवा रु आठ अर्ब ७३ करोड ९५ लाख २९ हजार खर्च गरेको छ । आव २०७९/८० मा ५७ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले सो अवधिमा एक सय ७४ किलोमिटर सडक कालोपत्र, १५ सडक पुल, १२ झोलुङ्गे र चारवटा भवन निर्माण गरेको थियो । गत आवमा रु ३० लाखभन्दा कम बजेटका टुक्रे योजना कटौती गरेर ठूला र रणनीतिक महत्वका आयोजनालाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको, कार्ययोजनाअनुसार अघि बढेकाले बजेट तथा योजना कार्यान्वयनमा सुधार भएका मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डितले बताउनुभयो । प्रदेश सरकार स्थापना भएको सात वर्षको अवधिमा नौ सय एक किलोमिटर कालोपत्र, छ सय ९६ किलोमिटर ग्राभेल, एक सय छवटा मोटरेबल पुल र ८४ वटा झोलुङ्गे पुल निर्माण भएको मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका निमित्त निर्देशक डा महेन्द्र बानियाँले ग्रामीण क्षेत्रमा आवतजावत सहज बनाउन, यात्रा अवधि छोट्याउन, कृषि उपजको निकासी, खाद्यान्न, दैनिक उपभोग्य वस्तुु र निर्माण सामग्रीको भाडादर घटाउन, दुुर्घटना कम गर्न, प्रत्यक्ष रोजगारी सिर्जना, बसाइँसराइ घटाउँदै सहरबाट गाउँ फर्काउन, आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनका लागि सडक आयोजना प्रभावकारी बनेका बताउनुभयो । उहाँका अनुसार गत आवमा एक सय २७ प्रादेशिक सडक, पाँचवटा सङ्घीय समपूरक सडक, ३० पक्की पुल र चार झोलुङ्गे पुल आयोजना बहुुवर्षीय ठेक्कामार्फत कार्यान्वयनमा लगिएको छ । बहुवर्षीयका लागि छनोट भएका सडक, मोटरेबल र झोलुुङ्गे पुल योजनाका लागि रु १२ अर्ब ७३ करोड ९८ लाख बजेटको स्रोत सुनिश्चित भएको छ । अधिकांश तीन वर्ष र केही योजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । राष्ट्रिय राजमार्गका वैकल्पिक सडकको मार्ग खोल्ने र स्तरोन्नति गर्ने योजनालाई प्राथमिकता दिएको भौतिक मन्त्रालयमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’, स्थानीय तहको केन्द्र जोड्ने, अन्तरजिल्ला, अन्तरपालिका जोड्ने रणनीतिक महत्वका सडक गौरवका आयोजनाका रूपमा कार्यान्वयनमा छन् ।
काठमाडौँ: ताप्लेजुङ केन्द्रबिन्दु भएर शनिबार राति भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु जिल्लाको खेन्जिम भन्ने स्थानमा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो । राति १० बजेर १३ मिनेटमा गएको भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ । यसअघि साउन २ गते रसुवा केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।