पोखरा:  पोखराका पत्रकार रुद्र श्रीस मगरलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ अर्पण गरिने भएको छ ।  नेपाल मगर पत्रकार संघका केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय मौलिक कौराहा ...

पोखरा:    नेपाल राष्ट्र बैंकद्धारा आर्थिक वर्ष २०८१/०८२ लागि जारी हुने मौद्रिक नीतिका लागि नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले ७ बुँदे सुझाव दिएको छ ।  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष किसान सुनारले आज (बुधबार) प्रेस विज्ञप्ती जारी गर्दै आर्थिक वर्ष ०८१/०८२ का लागि जारी हुने मौद्रिक नीतिका लागि ७ बुँदे सुझाव दिएका हुन् ।   महासंघका अध्यक्ष सुनारले हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ, ‘सुनको माग र आपूर्ति बीच अत्यन्तै असामञ्जस्यपूर्ण असंतुलन रहेको, गैह्र कानूनी पैठारीमा प्रभावकारी नियन्त्रण हुन नसकेको, बैंकबाट सुनको खरीदको लागि सिफारिश गर्न पाउने अधिकार विभिन्न संस्थाहरुलाई प्रदान गरिएकोले एउटै फर्मले विभिन्न संघहरुको सदस्यता लिने प्रवृत्ति रहेको, १६औं दिन देखि सिफारिश विना नै सम्बन्धित बैंकले सिधै सुन विक्री गर्न सक्ने प्रावधान रहेकोले त्यस दफाको गलत उपयोग गर्दै अपारदर्शी ढंगले सुन विक्री वितरण भइरहेको, वहुल निकास विन्दु (Plural Outlet)को परिपाटीले गर्दा विचलन र विसंगतिको संभावना अधिक रहेको र त्यसको वास्तविक दोषी को हो भन्ने पनि किटान गर्न कठिनाई हुने अवस्था रहेको, एउटा फर्मले बैंकबाट किनेको सुन अर्को सुन व्यवसायी फर्मलाई जस्ताको तस्तै (ढिक्का सुन) विक्री गर्न पाउने प्रावधानले बजारमा नकारात्मक असर पर्ने गएकोले यस दफाको अन्यथा प्रयोग गरी ढिक्का सुनको अन्तर–व्यवसाय कारोवार वढ्न गएको प्रति महासंघले ध्यानाकर्षण गराएको छ । सुनको आयातलाई ओ.जि.एल अन्तर्गत राखिनुपर्ने जोड दिँदै ओ.जि.एल.मा नराखि हालकै व्यवस्था कायम गरिएको अवस्थामा सुनको आपूर्ति तथा बिक्री वितरणलाई न्यायोचित तुल्याउन महासंघले सुझाव दिएको अध्यक्ष सुनारले बताए ।  यस्ता छन् ७ बुँदे सुझाव: १. “सुन आयात तथा विक्री वितरण सम्बन्धि व्यवस्था”को लागि नेपाल राष्ट्र बैंकद्वारा जारी भएको “एकिकृत इ.प्रा. परिपत्र: ३.२०७९”मा “सुन आयात तथा विक्री वितरण सम्बन्धि कार्यविधि– २०६८” को दफा १०.ख.३ मा “अर्को व्यवस्था नभएसम्म साविक वागमती अञ्चलका आठ जिल्ला बाहेकका अन्य सबै जिल्लाहरुको लागि छुट्टाइएको ५० प्रतिशतको हकमा सो परिमाणलाई शतप्रतिशत मानी नेपाल सुनचाँदी व्यवसायी संघले ६५ प्रतिशत, नेपाल रत्न तथा आभुषण संघले २० प्रतिशत, नेपाल सुनचाँदी कला व्यवसायी संघले ७.५ प्रतिशत तथा नेपाल हस्तकला महासंघले २.५ प्रतिशतको सीमाभित्र रही सिफारिश गर्नु पर्नेछ” भनि उल्लेख गरिएको छ ।        प्रत्येक जिल्लामा गहना व्यवसायीहरुका प्रतिनिधिमूलक संघहरु कार्यरत रहेको र मुलुकभरका संपूर्ण जिल्लाहरु र गहना व्यवसायीहरुको प्रतिनिधित्व गर्दै संघीय तहमा महासंघहरु एवं अन्य संघ संस्थाहरु समेत कार्यरत रहेको वर्तमान अवस्थामा यस्तो जिम्मेवारी केही संस्थाहरुलाई मात्रै दिइनु न्यायोचित देखिदैंन । राज्यले दिएको सुविधा सबै संघ संस्थाहरुले समान रुपमा उपभोग गर्न पाउनु पर्दछ ।  समानस्तरका संघ संस्था मध्ये कसैले पाउने र कसैले नपाउने अवस्था हुनुहुदैंन । तसर्थ उक्त जिम्मेवारी सम्बन्धित लाभग्राहीले नै प्रत्यक्ष र समानुपातिक रुपमा सीधै उपभोग गर्न सक्ने गरी महासंघलाई वा महासंघमा आवद्ध सबै संघ संस्थाहरुलाई समान रुपमा दिइनु पर्दछ । त्यसैले एकद्वार प्रणाली नै सबै भन्दा पारदर्शी, व्यावहारिक र बैज्ञानिक हुने हुँदा उक्त प्रणाली लागू हुनु पर्दछ । २. गहना उत्पादनकर्ता व्यवसायीले मात्रै बैंकबाट सुन खरीद गर्न पाउनुपर्दछ । ३. वाणिज्य बैंकहरुले प्रदान गर्ने पुनर्कजा आदिमा आभुषण व्यवसायलाई पनि समावेश गरिनु पर्छ । ४. गहना व्यवसायीले वाणिज्य बैंकबाट सुन खरीद गर्न प्रत्येक बैंकमा खाता खोल्नुपर्ने र यो व्यवसायलाई नै उच्च जोखिममा राखिएकोले खाता खोल्न झन्झटिलो प्रक्रिया पुरा गर्नुपर्ने भएकोले उक्त प्रावधानलाई सरलिकरण गरिनुपर्ने ।   ५. १६औं दिन पछिको सुन पनि गहना उत्पादनकर्ता व्यवसायीले मात्रै खरीद गर्न पाउनु पर्दछ । साथै त्यस्तो सुन विक्री गर्दा नेपाल राष्ट्र बैंकले तोके वमोजिम दैनिक विक्रीको सीमा उल्लंघन गर्न नपाउने र क–कसले सुन खरीद गरेको हो, सोको पूर्ण विवरण सार्वजनिक गर्नुपर्ने । ६. आधिकारिक मूल्य निधार्रण सम्बन्धमा: क. सुनको मूल्य निर्धारणको लागि कानूनी व्यवस्था गर्ने हुनुपर्ने । ख. बैंकले लिन पाउने मूल्य, दैनिक मूल्यमा एक रुपता हुनुपर्ने । ग. बैंकहरुले लिने गरेको होल्डिङ्ग चार्ज खारेज हुनुपर्ने । विक्रीको लागि राखिएको वस्तुमा होल्डिङ्ग चार्ज थप्दै जाने कार्य न्यायोचित छैन । यस्तो कार्य अन्य वस्तुका विक्रेताले पनि गर्न पाउने छुट दिने हो भने संपूर्ण बजार व्यवस्था नै अराजक हुनेछ । घ. एउटै मितिमा बैंकबाट फरक भाउमा खरीद भएको सुनबाट बनेका गहनाहरुको मूल्यमा एक रुपता कायम हुन सक्तैन । तसर्थ दैनिक मूल्य निर्धारणमा नियामक निकायको हस्तक्षेप अपरिहार्य देखिन्छ । ७. आपूर्ति सहज बनाउने अन्य उपायहरु:      विदेशी मुद्रा माथि पर्ने प्रतिकूल चापलाई कम गर्न निम्न उपायहरु अवलम्बन गरिएमा सुनको आपूर्ति क्रमिक रुपमा सहज हुन सक्ने देखिन्छ क. झिटी–गुण्टा अन्तरगतको आयातलाई फराकिलो बनाउने । त्यस्तो आयातमा भंसार आदि शुल्क लगाई मूल्य समायोजन गर्ने । उक्त प्रावधान अन्तर्गत पैठारी भएको सुन सहज रुपमा खरीद विक्रीमा ल्याइनु पर्ने । ख. Buy Back  मार्फत बजारमा आउने सुनको खरीद प्रक्रियालाई सरल बनाउने उपभोक्ताले बेच्न ल्याउने सुन खरीद गर्दा "KYC" को आधारमा कारोवार गर्न सकिने र उक्त बस्तुको स्वामित्व प्रमाणित गर्ने दायित्व विक्रेता–उपभोक्ताको हुने स्पष्ट कानूनी व्यवस्था हुनुपर्ने ।   

चितवन:      चितवनमा रेलमार्ग सर्भे गर्न पुगेका प्राविधिकहरू सम्मिलित टोलीको गाडी स्‍थानीयबासीले जलाइदिएका  छन्। बुधबार दिउँसो भरतपुर महानगरपालिका–७ मा पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्‍थानीयले नियन्त्रणमा लिएर प्रहरीकै अगाडि जलाइदिएका हुन् । गाडीमा लागेको आगो भरतपुर महानगरपालिकाको दमकलले निभाएको छ । रेल मार्ग पीडित संघर्ष समितिका सचिव दिव्य नेपालले गुगल म्याप सर्भे गर्न आएको टोलीलाई आफूहरूले रोक्न खोजेको बताए । सचिव नेपालका अनुसार टोलीले मंगलबार भरतपुर महानगरपालिका ८ मा सर्भे गरेको थियो । बुधबार  वडा नं. ७ मा सर्भे गर्दागर्दै भेला भएका करिब २ सय स्थानीयले प्राविधिकहरूलाई नियन्त्रणमा लिएका थिए । पूर्व(पश्चिम रेलमार्ग भरतपुरका घना बस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको स्थानीयको आरोप छ । त्यसपछि उनीहरू चरणबद्ध आन्दोलमा छन् । बस्तीलाई उजाड बनाएर रेल मार्ग लैजान नदिने बताउँदै उनीहरूले अहिलेको सर्भे नै परिवर्तन गर्नुपर्ने माग गरेका छन् । चितवनमा रेलमार्गको प्रस्तावित रुट भरतपुर महानगरपालिका- ४, ७ र ८ हुँदै नवलपरासीतर्फ लाने योजना छ ।  यसअघि भरतपुर महानगरपालिकाको पहलमा संघर्ष समिति र रेल विभाग तथा सरकारी निकायबीच छलफल भएको थियो । छलफलमा रेलमार्गको सर्भे रुट परिवर्तन गरेर बस्तीलाई कम क्षति गराउने विकल्पमा जाने सहमति भएको थियो । तर, पुरानै क्षेत्रमा सर्भे थालिएपछि स्थानीय आक्रोशित छन् ।

तनहुँ:   तनहुँको व्यास नगरपालिका–१ स्थित भादगाउँमा खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिरोले बगाएपछि एक सातादेखि खानेपानी आपूर्ति बन्द भएको छ ।  खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले चौध किलोमिटर दूरीमा रहेको व्यास–१३ खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिराले बगाएपछि पानी आपूर्ति बन्द भएको हो ।  असारको अन्तिम सातादेखिको अविरल वर्षाका कारण गएको बाढीपहिरोले खानेपानीको पाइपमा क्षति पुर्‍याएपछि नियमित पानी वितरण रोकिएको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले बताउनुभयो ।  उहाँका अनुसार खानेपानीको मुहानसम्म जाने बाटो पहिरोले बगाएपछि मर्मत गर्न ढिलाइ भएको हो । “संस्थाका चार र बाहिरबाट नौ जना मिलेर पाइन मर्मतसम्भारको काम गर्दै आइरहेका छन् । कतिपय स्थानमा पाइप बाढीपहिराले पूरै पुरिएका छन्”, व्यवस्थापक श्रेष्ठले भन्नुभयो, “सम्भव भएसम्म पुरिएका पाइप खोजी पुनः प्रयोग गर्ने र क्षति भएका पाइपमा नयाँ जडान गर्ने काम भइरहेको छ ।”  डाँडा माथिबाट खसेको पहिरोले कतिपय पाइप सेतीनदी किनारसम्म बगाएको बताउँदै श्रेष्ठले जिआई र एचडिपी गरी करिब ५० मिटर पाइपमा क्षति पुगेको जानकारी दिनुभयो ।  नियमित पानी आपूर्ति गर्न मर्मत गर्नाका साथै कतिपय स्थानमा नयाँ पाइप जडान भइरहेको उहाँले बताउनुभयो । लामो दूरी, भौगोलिक विकटता, जनशक्ति अभाव, प्रतिकूल मौसमलगायत कारणले काम गर्न कठिनाइ हुँदा केही समय लागेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले जनाएको छ ।  सानाठुला गरी चार आयोजनाबाट पानी सङ्कलन गरी व्यास(१ र १२ का दुई हजार छ सय ८० घरमा खानेपानी आपूर्ति गर्दै आइरहेको थियो । खरखाँदी मुहानको पानीको क्षमता प्रतिसेकेन्ड नौ लिटर रहेकामा पहिरोले अवरुद्ध भएपछि पानी वितरणमा समस्या भइरहेको समितिका अध्यक्ष चिजबहादुर दरैले जानकारी दिनुभयो । “छाब्दी मुहान, छाब्दी खोलाका दुई बोरिङ र धुपखोला मुहानका पानी प्रयोग गर्दा प्रतिसेकेन्ड १५ लिटर सङ्कलन हुँदै आएको थियो । अहिले पानी सङ्कलनमा समस्या भएपछि वितरण बन्द भएको हो”, उहाँले भन्नुभयो ।  यसअघि बिहान र बेलुका दुई(दुई घण्टा पानी वितरण हुँदै आएकोमा पानीको स्रोत घटेकाले समय पनि घटाइएको अध्यक्ष दरैले बताउनुभयो । “खिरखाँदी मुहानको पानी नियमित सङ्कलन नहुँदासम्म आपूर्तिमा सहज हुने देखिएको छैन”, उहाँले भन्नुभयो ।  उक्त मुहानको पानी पूर्णरुपमा सञ्चालनमा ल्याउन केही समय लाग्ने देखिएकाले फारो गरेर पानी प्रयोग गर्न खानेपानी उपभोक्ता समितिले सबैलाई अनुरोध गरेको छ ।

काठमाडौं:     ढाकास्थित नेपाली राजदूतावासले बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरुलाई सुरक्षित रहन, अत्यावश्यक काममा बाहेक छात्रावास वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ–आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरेको छ । बङ्गलादेशमा जारी ‘कोटा’विरोधी प्रदर्शनहरुमा भएका झडपका कारण बङ्गलादेश सरकारको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा निजी विश्वविद्यालय र शैक्षिक संस्थाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने भनी गरेको निर्णयको सन्दर्भमा उक्त दूतावासले त्यस्तो अनुरोध गरेको हो । कुनै कारणवश कलेज प्रशासनले छात्रावासबाट अन्य सुरक्षित स्थानमा जान निर्देशन दिएमा वा आफू बसेको स्थानमा सुरक्षा अवस्था प्रतिकूल भएमा दूतावासका द्वितीय सचिव योजना बम्जन र रिया क्षेत्रीलाई क्रमशः+ 880180691013 र + 8801745407958 मा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ । दूतावासले आज सूचना जारी गर्दै बङ्गलादेशमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको र सम्पूर्ण नेपाली विद्यार्थीको शान्ति, सुरक्षा सनिश्चित गर्न बङ्गलादेश सरकारका निकाय एवं सम्बन्धित कलेज प्रशासनसँग निरन्तर सम्पर्क एवं समन्वय गरिरहेको बताएको छ ।

काठमाडौं:     गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका घटनाको अध्ययन गर्न गृहमन्त्रालयद्वारा गठित कार्यदलले आफ्नो काम थालेको छ । गृहमन्त्री रमेश लेखकले पद बहालीका क्रममा उक्त घटना अध्ययन गरी प्रतिवेदन दिन मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गर्नुभएको थियो । दश दिनको कार्यादेश दिइएको कार्यदलले आज घटनास्थल पुगेर अध्ययन थालेको कार्यदलका सदस्य नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले घटनास्थलको अध्ययन भइरहेको छ । रिजाल संयोजक रहेको कार्यदलमा प्रहरी वरिष्ठ उपरीक्षक खत्रीसहित सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक शङ्कर खनाल, विपद् प्राधिकरणबाट सन्ध्या सिग्देल, यातायात व्यवसायी सरोज सिटौला र भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधिका रूपमा प्रकाश भण्डारी रहनुभएको छ । आवश्यक घटनास्थल अध्ययन, प्रत्यक्षदर्शी, बाँचेका व्यक्ति, उद्धार टोली, स्थानीय प्रशासनलगायतसँग छलफल गरेर प्रतिवेदन तयार पार्ने कार्यदलले जनाएको छ । बसमा सवार ६५ जनामध्ये तीनजना बाँच्न सफल भएका थिए भने अरु सबै बेपत्ता भएका थिए । अहिलेसम्म १७ जनाको शव फेला परेको छ । अन्य यात्रुको अवस्था अज्ञात छ ।

काठमाडौं:     प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बधाई तथा शुभकामना दिन चाहनेलाई डिजिटल माध्यमबाट दिन अनुरोध गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जाल फेसबुकमार्फत समयको बचतका लागि त्यसो गर्न अनुरोध गर्नुभएको हो ।   प्रधानमन्त्री ओलीले भेटमा बधाई तथा शुभकामना दिन चाहनेलाई पनि खादा प्रयोग नगर्न अनुरोध गर्नुभएको छ । उहाँले आफ्ना शुभेच्छुकलाई सकेसम्म म्यासेञ्जरबाट सन्देश पठाउन अनुरोध गर्नुभएको छ ।  “विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्, प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ, शुभेच्छुक सबैलाई सकेसम्म  म्यासेञ्जरबाट सन्देश पठाउन र भेटमा पनि खादामाला प्रयोग नगर्न अनुरोध गर्छु”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत उल्लेख  गर्नुभएको छ । गत असार ३० गते उहाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको होे ।

काठमाडौं:    प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चर्तुमासा पनि भनिन्छ । एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुमासका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चारनारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ । वैज्ञानिक रुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ भने तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य वैज्ञानिक रूपमा पुष्टि भएको छ । चार महिनासम्म विधिपूर्वक पूजाआराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चर्तुमासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ । कोरोनाबाट बच्न मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न पनि तुलसीलगायत जडीबुटीले काम गर्ने जनाइएको छ । दुई वर्षअघिदेखि सिंहदरबार वैद्यखाना विकास समितिले बनाएको तुलसी चियाको माग बजार बढेको छ । यी तथ्यले तुलसीको महत्व स्पष्ट पार्छ ।

काठमाडौं:     मुगु जिल्लाको दार्मा आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको दार्मा आसपास केन्द्रविन्दू भएर आज बिहान ४ बजेर ४० मिनेटमा तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत असार २६ गते नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको तापेथोक केन्द्रविन्दू भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ ।