पोखरा:  पोखराका पत्रकार रुद्र श्रीस मगरलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ अर्पण गरिने भएको छ ।  नेपाल मगर पत्रकार संघका केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय मौलिक कौराहा ...

काठमाडौं:    मौसम पूर्वानुमान महाशाखाले असार २९ गते बिहानसम्म मुलुकका अधिकांश क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कताका लागि आग्रह गरेको छ । महाशाखाका अनुसार हाल मनसुन न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग–सिमाना आसपास) रहेको छ ।  उक्त रेखा अझ नेपालतिर सर्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ । साथै आजदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित हुने सम्भावना देखिएको छ । यी दुवै प्रणालीको प्रभावले २९ गते बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना देखिएको छ । महाशाखाले बुधबार मनसुन विशेष मौसम बुलेटिन प्रकाशित गरी सतर्कताका लागि अनुरोध गरेको हो । असार २९ गतेको बिहानसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका अधिकांश स्थानमा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको छ । त्यस अवधिमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कताका लागि अनुरोध गरिएको छ ।

बागलुङ:    अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा बागलुङमा एकजनाको मृत्यु भएको छ ।  बागलुङ नगरपालिका–७ तितौरेमा गएराति पहिरोमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो । शर्मा घरमा एक्लै बस्दै आएको बागलुङ–७ का वडाध्यक्ष मेघनाथ गैरेले जानकारी दिए । आज बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए ।

काठमाडौं:     दोस्रो बिमस्टेक विदेशमन्त्रीहरूको रिट्रिटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव सेवा लम्साल आज नयाँ दिल्ली जाँदै छन् । भारतको नयाँ दिल्लीमा यही जुलाई १११२ मा आयोजना हुने दोस्रो बिमस्टेक विदेश मन्त्रीहरूको रिट्रिटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव सुश्री सेवा लम्साल आज नयाँ दिल्ली जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । रिट्रिटका क्रममा बिमस्टेक ढाँचाभित्रका पारस्परिक हित र पूरकताका सहमति भएका क्षेत्रमा क्षेत्रीय सहयोग र साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने परराष्ट्रले जनाएको छ । सो अवसरमा बिमस्टेक सदस्य राष्ट्रका विदेशमन्त्री तथा प्रतिनिधिमण्डलका प्रमुखहरूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्र सचिवको साथमा मन्त्रालयका एक वरिष्ठ अधिकारी पनि भारत जाने र १३ जुलाई २०२४ मा काठमाडौँ फर्कने तालिका रहेको परराष्ट्रले जानकारी दिएको छ ।

लमजुङ:  पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक खुलेको छ । मंगलबार साँझदेखिको वर्षाले गएराति यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका- १ अँधेरिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले पहिरो पन्छाएर आज बिहान ११ बजेपछि सडक सञ्चालन भएको बताए । सडक अवरुद्ध हुँदा बेँसीसहरबाट काठमाडौं, पोखरा र चितवन र ती स्थानबाट बेँसीसहरका साथै मनाङ जाने यात्री प्रभावित भएका थिए ।

तनहुँ:     बाढीले बगाएर ल्याएको दाउरा सेती नदीबाट झिक्ने क्रममा आज बिहान  एकजना बेपत्ता भएका छन् ।  जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास नगरपालिका–१ भादगाउँका ५५ वर्षका तालबहादुर थापा छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा नदीमा बेपत्ता भएका हुन् ।   कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले थापाको खोजी जारी रहेको जानकारी दिए । बाढीले बगाएर ल्याएको दाउरा निकाल्न नदी किनार आसपासका मानिसको भीड लाग्ने गग्छ । 

काठमाडौं:    अर्क्स ग्रुप प्रालिले चीनको विश्वविख्यात मोटर निर्माता कम्पनी गोल्डेन ड्र्यागनको १४ सिट क्षमताको विद्युतीय भ्यान नेपाली बजारमा ल्याएको छ । भ्यानमा विश्वको उत्कृष्ट ईभी ब्याट्री उत्पादक सीएटीएलले उत्पादन गरेको ५३ किलोवाट आवर ब्याट्री प्याक रहेको छ । जसले एक पटकको फुल चार्जमा ३०० किलोमिटर गुड्ने कम्पनीको दाबी छ । भ्यानमा ८० किलोवाट पिक पावरको मोटर जडित छ ।   गोल्डेन ड्र्यागनका भ्यानहरू विश्वका १२० भन्दा बढी देशमा निर्यात भइरहेको छ । नेपालमा अर्क्स ग्रुपले उच्च गुणस्तर र भरपर्दो सेवाको प्रतिबद्धतासहित भ्यान उपलब्ध गराउने जनाएको छ । अर्क्स ग्रुपले यस भ्यानको ५७ लाख रुपैयाँ तोकेको छ ।   यसैबीच, अर्क्स ग्रुपले गोल्डेन ड्र्यागनले उत्पादन गरेको १६ सिट क्षमताको विद्युतीय माइक्रोबस पनि नेपाल ल्याउने तयारी गरेको छ । गोल्डेन ड्र्यागनको विद्युतीय माइक्रोबस केही महिनाभित्र नेपाल आइपुग्ने अर्क्स ग्रुपले जनाएको छ । भ्यान र माइक्रोबस लामो दुरी र छोटो दुरीका विभिन्न यातायात सञ्चालक, एजेन्सी, ट्रेकिङ, अस्पताल, स्कुल, होटेल, कर्पोरेट कार्यालयलगायतका विभिन्न क्षेत्रका लागि अत्यन्तै उपयोगी र व्यवहारिक हुने विश्वास गरिएको छ ।

पोखरा:     विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने तेस्रो परियोजना दोविल्ला–बाधमारा–तिक्लाङ्–बडहरकोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो पुँडीटार–झिगटे (जनजागृती मा वि) तगारेगौडा–तल्लो गगनगौडाँ सडक अन्तरगत कालिकास्थान–पुँडीटार–लामेआहाल सडकको शिलान्यास गरिएको छ ।  सडकको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल र विकास साझेदार विश्व बैंकका एनइयुजिआइपी परियोजना हेर्ने टास्क टिम लिडर आवेवाओले सयुँक्त रूपमा शिलान्यास गर्नुभएको हो ।  सडकको शिलान्यास गर्दै नगरप्रमुख आचार्यले स्थानीय अवरोधका कारण बाटो नबन्ने अवस्थाको सृजना हुन नदिने प्रतिबद्धता जाहेर गर्नुभयो । “बाटो स्थानीय उपभोक्ताका लागि त हो नै, यो बाटो पोखरा जोड्ने अर्को लाइफ लाइन पनि भएकाले यसको निर्माणका क्रममा आउन सक्ने कुनै पनि प्रकारका स्थानीय अवरोधहरू तत्काल समाधान गरिनेछन्, आचार्यले भन्नुभयो, यसको समय पनि छोटो छ, स्थानीयहरूले यसका आवश्यक सहजिकरण गरिदिनुहुनेछ ।” उक्त क्षेत्रको सहरी पूर्वाधार निर्माण गर्दै जनजीवनलाई विकाससँग जोड्ने कुरामा महानगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।  सहरी विकास मन्त्रालयका सचिव गेलालले सडक निर्माण कार्य तोकिए कै समयमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । यो पोखरा महानगरपालिकाको परियोजना भएकाले दायित्व पनि महानगर कै हुने र आवश्यक परेका बखत मन्त्रालयले आवश्यक सहजिकरण गरिदिने उहाँले बताउनुभयो । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले सडकको गुणस्तरीय निर्माणमा जोड दिनुभयो ।  विश्व बैंकका टास्क टिम लिडर आवेवाओले समय छोटो समय भएकाले तीव्र गतिमा काम अघि बढाउन अनुरोध गर्नुभयो । पोखरा महानगरपालिका वडा नं.३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले वडामा निर्माण हुन लागेको सडक निर्माण कार्यको निरन्तर निगरानी गरी आवश्यक सहजिकरण गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।  सडकको निर्माण कम्पनी आसिस निर्माण सेवा प्रा।ली भरतपुरसँग सम्झौता भएको छ । ३९० दिनमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको हो । विश्व बैङ्कको ७७ करोड ६८ लाख ९२ हजार ८३७ रुपैयाँ लागत सहयोगमा निर्माण हुने सडकको सेक्सन एक र दुई गरी दुई वटा खण्डमा काम हुनेछ । सडकको पहिलो सेक्सनमा वडा नं.३३ को कार्यालय देखी उपल्लो पुँडीटारसम्म ९.६२७ कि.मी र दोस्रो सेक्सनमा पहिलो सेक्सनको जक्सनदेखी तल्लो गगनगौडाँ (पृथ्वीराज मार्ग) सम्म २.८१३ कि.मी सडक निर्माण हुनेछ ।  परियोजना अन्तरगत करिब १२.४४ कि.मी सुविधा सम्पन्न सडक निर्माण हुनेछ । ७ मिटर चौडाइको सडक अस्फाल्ट पिच हुनेछ । सडकको दायाँबायाँ ड्रेन सहितको २÷२ मिटरको फुट ट्र्याक हुनेछ । सम्झौता पश्चात् परियोजनाको जोइन्ट सर्वेको काम सुरु भइसकेको छ । रु.३ अरब आर्थिक सहायता मध्ये तालचोक बेगनास सडकको लगानीबाट बचेको रकम परिचालनका सम्बन्धमा विश्व बैङ्कले परियोजना प्रस्ताव गर्न आग्रह गरे बमोजिम नगर प्रमुख आचार्यले उक्त सडक स्तरोन्नतिलाई प्राथमिकतामा राख्नु भएको थियो । विश्व बैङ्क कै सहयोगमा शिशुवा–शिशाघाट सडकको समेत काम थालिएको छ ।  

काठमाडौं:     तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको  तापेथोक केन्द्रविन्दु भएर गए राति १ः४६ बजे चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो ।  यसअघि गत असार १४ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।