काभ्रे: काभ्रेमा खोलाले बगाउँदा २ जनाको मृत्यु भएको छ । खोला तर्ने क्रममा बगाउँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । काभ्रेको स्थानीय भ्याकुरे खोला तर्ने क्रममा एक वृद्धा र एक बालिकालाई खोलाले बगाएको थियो । रोशी गाउँपालिका ११ स्थित भ्याकुरे खोला तर्ने क्रममा बगाएर सोही स्थान बस्ने ६५ वर्षीया जालमाया रुजालमगर र उनकी भदैनी ५ वर्षीया सेतीमाया रुजालमगरको मृत्यु भएको प्रहरीले जनाएको छ । साँझ ७ बजेको समयमा खोला तर्ने क्रममा उनीहरुलाई बगाएर ९०० मिटर तल पुर्याएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।
स्याङ्जा: स्याङ्जाको बिरुवा गाउँपालिका ६ लामाखेतमा आज दिउँसो पहिरोमा पुरिएर तीनजनाको मृत्यु भएको छ । पहिराले पुरिएर बिरुवा गाउँपालिका–६ माझकोट का ६७ वर्षीया हरिमाया शर्मा, सोही स्थानका ७१ वर्षीय माधव शर्मा र ६५ वर्षीया गुह्येश्वरी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले बताउनुभयो । पहिराको जोखिममा रहेका आफ्ना घरबाट सुरक्षित स्थानमा जानुभएका उहाँहरूको पुरिएर ज्यान गएको हो । उहाँहरूको घर नजिक आज बिहान पहिरो खसेको थियो । बिरुवा गाउँपालिका ६ का वडाध्यक्ष कृष्णबहादुर क्षेत्रीका अनुसार पहिराको जोखिम नभएको ठानेर सुरक्षित भनेर राखिएको ठाउँमा दिउसो अचानक पहिरो खसेर घर पुरिँदा उहाँहरूको मृत्यु भएको हो । उक्त पहिरामा परी पाँचजना घाइते भएका छन् । उनीहरूको स्थानीयवासी र बिरुवा प्रहरी चौकीको टोलीले उद्धार गरेको थियो ।
पोखरा: गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले मृगौला पीडितका लागि निशुल्क डायलसिस सेवा उपलब्ध गराइएको बताउनुभयो । शनिबार कर्माचार्य समाज कास्की र कर्माचार्य महिला समाज कास्कीले आयोजना गरेको स्वर्गीय लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतिमा सहयोग हस्तान्तरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । “गण्डकी सरकारले मृगौला पीडितका लागि निशुल्क डायलसिस सेवा उपलब्ध गराएको छ । महङ्गो पैसा तिरेर डायलसिस गर्नुपर्ने अवस्था अब छैन ।”, उहाँले भन्नुभयो । प्रदेशमा डायलसिस सेवाको वेटिङ संख्या हाल १ सय ४९ रहेको र अब छिट्टै नै शुन्यमा झार्ने प्रयास भइरहेको तथ्याङ्क उहाँले उल्लेख गर्नुभयो । मन्त्री थापाले निशुल्क डायलसिस सेवा प्रवाहले पैसाको अभावमा उपचार नपाएर वञ्चित भएका नागरिक लाभन्वित भएको बताउनुभयो । उहाँले स्वास्थ्यको क्षेत्रमा प्रदेश सरकार संवेदनशील भएको बताउनुभयो । नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै आवश्यक बजेट विनियोजन समेत गरिएको भनाई उहाँको छ । प्रदेश सरकारले सुत्केरी महिलाहरुको लागि एयरलिफ्टिङ सेवाको व्यवस्था समेत निशुल्क गरिदिएको उहाँले बताउनुभयो । जसले गर्दा ग्रामीण भेगका दुरदराजमा रहेका महिलाहरुलाई तत्काल सेवा प्रवाह गर्न सहज भएको छ । स्वास्थ्य बीमामा सोचेजस्तो प्रगति हुन नसकेता पनि यसको व्यवस्थापनमा लागिरहेको उहाँले बताउनुभयो । योगा, ध्यानमा बजेट विनियोजन गरि सकेसम्म रोग लाग्नै नदिने वातावरण सिर्जनामा प्रदेश सरकार प्रतिबद्ध रहेको भनाई उहाँको छ । नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले स्वास्थ्यमा जनचेतनाको आवश्यकता रहेको बताउनुभयो । नेपाल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले नागरिकको स्वास्थ्यको उपचारको बारेमा सरकारले सोच्नुपर्ने बेला आएको बताउनुभयो । सर्ने रोग सँगसँगै नसर्ने रोगको नियन्त्रणमा समेत लगानी गर्नुपर्ने आवश्यकतालाई उहाँले औंल्याउनुभयो । डा।अभिषेक मास्केले सुगर र उच्च रक्तचापका कारण मृगौलामा समस्या पर्ने उल्लेख गर्नुभयो । प्रत्येक ६ महिना वा वर्षदिनमा मृगौलाको जाँच गर्नुपर्ने भनाई उहाँको छ । आदी भन्दा बढी बिरामी मृगौला बिग्रेपछि मात्रै उपचारका लागि आउने गरेको उहाँले उल्लेख गर्नुभयो । मोटोपना, रक्सी, चुरोट र सुर्तीजन्य पदार्थको सेवन गर्नाले मृगौला रोग लाग्ने भनाई उहाँको छ । मृगौला रोग लाग्न नदिन जनचेतना फैलाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । कार्यक्रममा पोखरा १४ परिवर्तन टोल सुकुम्बासी बस्ती बस्ने वर्ष ३२ की मृगौला पीडित लक्ष्मी विश्वकर्मालाई एक लाख रुपैयाँ नगद सहयोग गरिएको छ । चन्द्र कृष्ण कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कर्माचार्य समाजका केन्द्रीय अध्यक्ष चन्द्रेश्वर कर्माचार्य, भीरकोट नगरपालिका स्याङजाका प्रमुख गोविन्द कुमार बसन्त कर्माचार्य, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय गण्डकी प्रदेशकी प्रमुख सचिव लक्ष्मी कुमारी बस्नेत, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, पोखरा ११ का अध्यक्ष प्रेम कर्माचार्य लगायतले बोल्नुभएको थियो भने स्वागत मन्तव्य पुरस्कार दाता दिवंगत लक्ष्मीसुन्दरी कर्माचार्यका छोरा माइकल कर्माचार्यले गर्नुभएको थियो ।
काठमाडौँ: काठमाडौँको नागार्जुन नगरपालिका–३ मा खसेको पहिरामा पुरिएर एक जनाको मृत्यु भएको छ । नागार्जुन–३ स्थित ट्रपिकल रेष्टुरेण्टको भान्साघर पुरिँदा गोरखा लखन थापा गाउँपालिका–६ घर भई हाल सोही रेष्टुरेण्टमा काम गर्ने मनोज विकको मृत्यु भएको हो । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले पहिरामा परेर गम्भीर घाइते भएका विकको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको जानकारी दिनुभयो । पहिरो भने बिहान ११ बजेतिर खसेको थियो । काठमाडौँ महानगरपालिका–२९ घट्टेकुलोस्थित भित्रि बाटोमा रोडको छेउमा वर्षाका कारण करिब एक मिटर जति भासिएकाले सचेत हुन प्रहरीले अनुरोध गरेको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–३ जितपुरफेदीस्थित श्रीमणी जमकटेलको पर्खालमा पहिरो जाँदा लोकनाथ जम्कट्टेलको जस्ताले बनेको एक तले घरमा क्षति भएको छ । मानवीय क्षति भने भएको छैन । उपत्यका प्रहरीका अनुसार अविरल वर्षाको कारण काठमाडौँ उपत्यकाभित्र रहेका नदीका करिडोरस्थित सडकखण्डमा प्रहरीद्वारा गस्ती गरी नदीको सतहसम्बन्धी निगरानी गरिरहेको छ । हालसम्म खतरामुक्त नै रहेको जनाइएको छ । विपद् कार्यमा खोज तथा उद्धार कार्यका लागि प्रहरी जनशक्तिलाई तयारी अवस्थामा राखिएको छ । कार्यालयले नदीस्थित करिडोरमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । सुकुम्वासी बस्ती डुबानमा अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रहरु डुबानमा परेका छन् । वर्षाका कारण काठमाडौँका विभिन्न नदी र खोलहरुमा जलस्तर बढेसँगै बल्खुको सुकुम्वासी बस्ती, त्यहाँको तरकारी बजारमा बाढी पसेको जिल्ला प्रहरी परिसरका सहायक प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपेश बस्यालले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बागमती, विष्णुमती, धोबिखोला, मनोहरा खोला तथा हनुमन्ते खोलामा जलसतह बढ्दा किनारमा केही रहेका टहरा डुबानमा परेका खबर आएका छन्, हाम्रो प्रहरी टोली उद्धारका लागि खटिएको छ ।” यसैगरी बागमतीमा आएको बाढीका कारण करिडोर सडक जलमग्न भएको प्रहरीले जनाएको छ ।
काठमाडौं: उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लगातारको वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । गृहमन्त्रालयमा भएको आपत्कालीन बैठकमा उहाँले विपद्का घटनालाई तुरुन्त सम्बोधन गर्न र सतर्कताका राज्यको जिम्मेवारी पूरा गर्न सम्बन्धित उच्चाधिकारी र सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभयो । बैठकमा सुरक्षा निकायले हालसम्मको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए । उपप्रधानमन्त्री लामिछानेले ‘कमाण्ड पोष्ट’ र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई विपद्बाट जनधनको क्षति हुन नदिन र खाद्यान्न, लत्ताकपडालगायत सामग्रीको अभाव हुन नदिन आग्रह गर्नुभयो । “हामीले सिंहदरबारमा बसेर क्षतिको विवरणबारे आमनागरिकलाई सूचना दिएर हाम्रो दायित्व पूरा हुँदैन । क्षति कम गर्न र उद्धारलगायत काममा हामीले कसरी काम गरेका छौँ भन्ने विषय महत्वपूर्ण हुन्छ”, गृहमन्त्री लामिछानेले भन्नुभयो, “हामीले बनाएका विपद् पूर्वतयारी योजना, निर्देशिका र कार्यविधिका कागजलाई व्यवहारमा उतार्ने समय आएको छ । हामीले हरेक व्यक्तिको ज्यान जाँदाको राज्यको एक सदस्य गुमाउनुपरेको अनुभूति लिएर काम गर्नुपर्ने हुन्छ ।” उहाँले पूर्वतयारीको योजनालाई कार्यान्वयनमा सघाउन राजनीतिक दल, सम्बन्धित निकाय र पक्षलाई आग्रह गरिसकेको जानकारी दिनुभयो ।
तनहुँ: पृथ्वीराजमार्गअन्तर्गत जिल्लाको शुक्लागण्डकी–७ शेराटारमा रहेको अस्थायी कल्भर्ड बाढीले बगाएपछि सवारी आवतजावत पूर्ण रुपमा बन्द भएको छ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले कल्भर्ड बगाउँदा राजमार्ग भएर गुड्ने सयौँ सवारीसाधान ठप्प भएका छन् । सूचनाको जानकारी पाएलगत्तै घटनास्थलतर्फ प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताउनुभयो । उहाँले भन्नुभयो, “कल्भर्ड बगाएपछि राजमार्गमा सवारीसाधान सञ्चालन गर्न समय लाग्ने देखिएको छ ।” म्याग्दे गाउँपालिका–६ मौरी ओढारमा आज पहिरो खस्दा सडक अवरुद्ध भएको छ । वर्षासँगै पहिरो खसिरहेकाले पानी नरोकिएसम्म पहिरो पन्छाउन कठिनाइ देखिएको उपरीक्षक रायले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सडक माथिबाट निरन्तर पहिरो खसिरहेकाले पन्छाउन समस्या भइरहेको छ । पानी पर्न रोकिएपछि पहिरो पन्छाउने छौँ ।” पृथ्वीराजमार्गको अन्य क्षेत्रमा पहिरो खस्दा अवरोध भएका सडक पहिरो पन्छाएर सञ्चालन गरिएको प्रहरीले जनाएको छ । शुक्रबार रातिदेखि अविरल वर्षा भइरहेकाले राजमार्ग हुँदै यात्रा गर्ने सवारीचालक र सर्वसाधारणलाई सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।
सिन्धुली: लगातारको बर्षाले सिन्धुलीस्थित दुई ठुला राजमार्ग अबरुद्द भएको छ । बिपी राजमार्गको सुनकोसी गाउपालिका–२ कमिरेफाँटमा माथिबाट लेदो झरेर सडक अवरुद्द भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार मध्यपहाडी राजमार्गमा पनि पहिरो झरेर अवरुद्द भएको छ । मध्यपहाडी राजमार्गको गोलान्जर गा।पा।६ स्थित अक्करेभिर र फिकल गा।पा।२ स्थित सुनाम वेसिमामा पहिरो गएपछि राजमार्ग अबरुद्ध भएको प्रहरीले जनाएको छ । गएरातीदेखि परेको निरन्तर बर्षाका कारण राजमार्ग अबरुद्ध भएपछि पूर्वी पहाड तथा तराइका विभिन्न जिल्लाबाट काठमाडौं आवातजावत गर्ने सयौं सवारी बाटोमै अलपत्र परेका छन् । राजमार्गमा झरेको पहिरो पन्छाउने काम भैरहेको प्रहरी प्रमुख काफ्लेले जानकारी दिनुभयो ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् । त्यसका लागि शुक्रबार संसद सचिवालयलाई पत्र पठाइएको छ। प्रचण्डले सङ्घीय संसदका महासचिवलाई सम्बोधन गरेर पठाएको पत्रमा सरकारमा सहभागी दलहरूमध्ये एक दल (एमाले)ले आफ्नो समर्थन फिर्ता लिएकाले विश्वासको मत लिनका लागि असार २८ गतेको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्था मिलाइदिन अनुरोध गरेका छन् । ‘मेरो नेतृत्वमा संवत् २०७९ साल पुस ११ गते गठित सरकारमा सहभागी दलहरूमध्ये एक दलले आफ्नो समर्थन फिर्ता लिएको हुँदा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राखु पर्ने प्रावधान भएअनुरूप उक्त विषय संवत् २०८१ साल असार २८ गतेको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध छ’, प्रधानमन्त्रीको पत्रमा भनिएको छ । असार १७ गते राति एमाले र कांग्रेसबीच नयाँ समीकरण बनाउने सहमति भएको थियो । लगत्तै एमालेले आफ्नो मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । कांग्रेस र एमालेले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेपनि उनले संसदमार्फत विश्वासको मत लिने बताउँदै सोहीअनुसार पत्राचार गरेका हुन् ।
पोखरा: अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा सरकारले अन्तर्राष्ट्रिय जगत्मा व्यक्त गरेको प्रतिबद्धतालाई प्रमुख आधार मानेर बजेट तर्जुमा गरेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को विनियोजन विधेयकमाथिको छलफलमा राष्ट्रियसभा सांसदका जिज्ञासाको जवाफमा उहाँले नेपालको संविधान, सोह्रौँ योजनाको सोच, गणतन्त्रका डेढ दशकका उपलब्धिको समीक्षा र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा सांसदहरूले रचनात्मक सुझाव दिनुभएको बताउनुभयो । विगतका आर्थिक सुधारका उपलब्धिलाई संस्थागत गर्ने, बदलिँदो विश्व अर्थव्यवस्था र मुलुकको वस्तुगत आवश्यकतालाई दृष्टिगत गरी उत्पादन र रोजगारीका अवसर सृजना गर्दै देशको अर्थतन्त्रलाई सबल र उत्थानशील बनाउने स्पष्ट कार्यदिशा निर्धारण गरी आगामी आवका लागि पाँच उद्देश्य, पाँच प्राथमिकता, पाँच रणनीति र पाँच रूपान्तरणकारी क्षेत्र पहिचानसहित बजेट बनाइएको, त्यसको कार्यान्वयनबाट यसले लिएको लक्ष्य हासिल हुने विश्वास मन्त्री पुनले व्यक्त गर्नुभयो । सांसदहरुले बजेटले संविधान र नीति तथा कार्यक्रमलाई सम्बोधन नगरेको, सङ्घीयताको सवलीकरणमा जोड नदिएको, शिक्षा क्षेत्रमा बजेट न्यून विनियोजन भएको, कृषिमा लगानी दशक घोषणा भएको तर पर्याप्त बजेट विनियोजन नभएको, बजेटलाई उत्पादकत्व बढाउने गरी बजेट नआएको गुनासो गर्नुभयो । सांसदहरुका जिज्ञासा शान्त पार्दै मन्त्री पुनले भन्नुभयो, “मुलुकको चालु आवको कूल गार्हस्थ्य उत्पादनको आकार, सार्वजनिक वित्तको अवस्था र विगतका बजेटको तुलनामा प्रस्तुत बजेट सन्तुलित छ, बजेटको कार्यदिशा अर्थतन्त्रलाई थप गतिशील बनाउन निजी क्षेत्रको मनोबल बढाउने रहेकाले बजेट वितरणमुखी नभई उत्पादनमुखी छ ।” उहाँले आगामी आवका लागि कूल खर्च रु १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन गरिएको र त्यो खर्च अनुमान चालु आवको विनियोजनको तुलनामा ६ दशमलव २ प्रतिशतले मात्र अधिक रहेको बताउनुभयो । चालु आव २०८०र८१ मा चालु खर्च ६५ दशमलव २ प्रतिशत, पुँजीगत १७ दशमलव २५ प्रतिशत र वित्तीय व्यवस्थामा १७ दशमलव ५५ प्रतिशत रहेकामा आगामी आव चालु खर्च ६१ दशमलव ३१ प्रतिशत, पुँजीगततर्फ १८ दशमलव ९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १९ दशमलव ७४ प्रतिशत प्रस्ताव गरिएको अर्थमन्त्रीले जानकारी दिनुभयो । “चालु आव २०८०/८१ को तुलनामा चालु खर्चतर्फ न्यून बजेट विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ बजेट वृद्धि गरिएको छ, त्यसैगरी प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँट र अनुदान गरी रु पाँच खर्ब ६७ अर्बअर्थात् कूल विनियोजनको ३० दशमलव ५ प्रतिशत वित्तीय हस्तान्तरणको सुनिश्चितता गरिएकाले प्रदेश र स्थानीय तहमा जाने रकममा पनि चालु आवभन्दा बढी नै विनियोजन गरिएको छ”, मन्त्री पुनले भन्नुभयो । सो रकमबाट सञ्चालन हुने क्रियाकलाप तथा सङ्घीय सरकारको कार्यक्रमबाट सञ्चालन गरिने क्रियाकलापबाट प्रादेशिक सन्तुलन कायम गर्न योगदान पुग्ने विश्वास मन्त्री पुनले व्यक्त गर्नुभयो ।