मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकटाइ रु ६५ लाख राशिको पुरस्कार दिने घोषणा गर्नुभएको छ ।      प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा कर नलगाई रु ६५ लाख नै दिने स्पष्ट गर्नुभयो ।  पेरिस पारालिम्पिक २०२४ अन्तर्गत यही भदौ १४ गते सम्पन्न  के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् । उनी पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी हुन् ।      प्रधानमन्त्री ओलीले नेपालबाट कुनै पनि खेलाडीको टोली विश्वस्तरको प्रतिस्पर्धामा जाँदा खेलाडीले केही दिन्छन् कि, केही लिएर आउँछन् कि भनेर आँखा त्यतातिर लगाएर र कान थापेर बस्ने गरेको बताउनुुभयो ।  “नेपालीले मौका पाएपछि गर्छ भनेर मैले भन्दै आएको छु । यसपटक हामीले पारा ओलम्पिकमा उपस्थिति मात्र होइन, हस्तक्षेप र दख्खल दिएका छौँ । पलेशाको जीत नेपालीको जित हो । यसले औधी खुसी तुल्याएको छ । नेपालको इज्जत बढाएको छ”, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “यो कीर्तिमान इतिहासमा लेखिनेछ । हामीले पुुराना कीर्तिमान तोड्दै जानुपर्छ । एउटै रेकर्डमा चित्त बुुझाएर बस्नुु हुँदैन । हाम्रो कीर्तिमानको यात्रा सुरु भएको छ ।”      सो अवसरमा उक्त खेलका प्रशिक्षक, व्यवस्थापक र सहभागी खेलाडीलाई पनि प्रधानमन्त्री ओलीले सम्मान गर्नुभएको थियो ।

पर्वत:     पर्वतको कुश्मा नगरपालिका–४ घुम्तीस्थित मध्यपहाडी लोकमार्गको कुश्मा–बागलुङ खण्डमा यात्रुवाहक बस र एम्बुलेन्स ठोक्किदा तीन जना घाइते भएका छन् ।       नारायणगढबाट आज बागलुङतर्फ जाँदै गरेको बा प्र ०६–००१ ख ०३०० नम्बरको बस र म्याग्दीबाट पोखरा जाँदै गरेको जलजला गाउँपालिका पर्वतको ग १ झ ६९५ नम्बरको एम्बुलेन्स ठोक्किएका हुन् ।  घाइते हुनेमा एम्बुलेन्समा सवार कुश्मा नगरपालिका–१ की ४५ वर्षीया भगवती क्षेत्री, ४९ वर्षीया केशरी अधिकारी र ५२ वर्षीया गीताकुमारी क्षेत्री रहेको प्रहरीले जनाएको छ ।  घाइतेमध्ये भगवती क्षेत्रीको अवस्था गम्भीर रहेको छ । उहाँलाई थप उपचारका लागि पोखरा पठाइएको र अन्य दुईको पर्वत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  पर्वतको जलजला गाउँपालिका–७ की ५५ वर्षीया महिला बिरामी भई पोखरा लैजाने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुसालले जानकारी दिनुभयो । दुईवटै सवारीसाधन र सवारी चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गर्नुभएको छ ।      शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । साथै उहाँका प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिनुभयो ।       सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै यसबाट देशको शीर उँचो पार्ने काम भएको र अर्को पटक राष्ट्रले स्वर्ण पदकको अपेक्षा गरेको बताउनुभयो । सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मङ्गलधुन बजाएर स्वागत गरेको थियो ।       कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबु आमा र खेल संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो । पलेसाले पेरिस पारा ओलम्पिकमा तेक्वान्दोको ‘के–४४’ विधाअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कास्य पदक जित्नुभएको थियो ।

काठमाडौं:    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि एशियाली विकास बैङ्क ९एडिबी० का देशीय निर्देशक अर्नाउड काउकोइसबीच भेटवार्ता भएको छ ।            सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको उक्त भेटमा ऊर्जा क्षेत्रमा एडिबीको सहयोगमा सञ्चालित आयोजनाको प्रगति र आगामी दिनमा गर्ने सहकार्यबारे छलफल भएको थियो ।  भेटमा मन्त्री खड्काले नेपालको ऊर्जा विकासमा एडिबीले गरेको सहयोगप्रति धन्यवाद दिनुभयो । उहाँले आगामी दिनमासमेत सरकारलाई एडिबीको सहयोग निरन्तर हुने विश्वास व्यक्त गर्नुभयो ।      मन्त्री खड्काले एडिबीको लगानीमा निर्माण भएका आयोजनालाई यथाशीघ्र सम्पन्न गर्न सरकार लागिपरेको उल्लेख गर्दै निर्माणका क्रममा देखिएका चुनौतीलाई सरकारले चाँडो सम्बोधन गर्ने बताउनुभएको ऊर्जा सचिव गोपालप्रसाद सिग्देलले जानकारी दिनुभयो ।       दुई ठूला राजनीतिक दल मिलेर  दरिलो सरकार गठन भएकाले ढुक्क भएर लगानी गर्न मन्त्री खड्काले एडिबीलाई आग्रह गर्नुभयो । उहाँले नेपाल मध्यम आय भएको देशमा रुपान्तरण हुने बाटोमा अगाडि बढेकाले एडिबीको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।        भेटमा एडिबीका प्रतिनिधि  काउकोइसले एडिबीको सहयोगमा सञ्चालित आयोजनाको प्रगति र आयोजना निर्माणमा देखिएका समस्याबारे मन्त्री खड्कालाई जानकारी गराउनुभएको थियो । उहाँले एडिबीले नेपालको विकासको क्षेत्रमा लामो समयदेखि साथ र सहयोग दिँदै आएको बताउनुभयो ।            भेटमा मन्त्रालयका सचिव  सिग्देल, ऊर्जा विज्ञ प्रवल अधिकारीलगायतले ऊर्जा क्षेत्रको विकासका लागि एडिबीले गरेको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो । 

काठमाडौं:    काठमाडौँ महानगरपालिकाले पेरिस पारालिम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई रु पाँच लाख नगदसहित सम्मान गरेको छ ।      महानगरपालिका कार्यालय काठमाडौँ प्लाजामा आज आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन०ले सम्मानपत्र तथा उपप्रमुख सुनिता डङ्गोलले पलेशालाई रु पाँच लाखको चेक हस्तान्तरण गर्नुभयो ।      सम्मान कार्यक्रममा महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार केसी, तेक्वान्दो एशोसिएशनका अध्यक्ष प्रकाश शमशेर राणा, ओलम्पियन सङ्गीना वैद्य, पलेशाका मातापिता पनिता र प्रदीप गोवर्धनसहित खेल क्षेत्रका पदाधिकारी तथा खेलाडी सहभागी हुनुहुन्थ्यो ।        पलेशाले गत शुक्रबार फ्रान्सको पेरिसमा भएको पारालिम्पिक्समा के–४४ विधा अन्तर्गत महिला ५७ किलो मुनिको तौल समूहमा कास्य पदक प्राप्त गरेकी थिइन् । उनले उक्त प्रतिस्पर्धामा सर्वियाकी मरिजा मिकेभलाई १५–८ अङ्कले पराजित गरेकी थिइन । ओलम्पिकमा नेपाली खेलाडीले प्राप्त गरेको यो नै पहिलो पदक हो ।    

तनहुँ:  तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा आज दिउँसो अजिङ्गर भेटिएको छ ।  आयोजनाको चरण–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणस्थलमा अजिङ्गर भेटिएको हो ।       उक्त अजिङ्गरलाई आयोजनाको वन्यजस्तु संरक्षण व्यवस्थापन योजनाबमोजिम जिल्लास्थित डिभिजन वन कार्यालयसँगको समन्वयमा उद्धार गरिएको जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो ।  उद्धार गरिएको अजिङ्गरलाई डिभिजन वन कार्यालयले सुरक्षित स्थानमा लगेर छोड्ने उहाँले बताउनुभयो ।        दुई दिनअघि पनि व्यास नगरपालिका–२ अमरापुरीस्थित एउटा रूखमा अजिङ्गर भेटिएको थियो । उक्त अजिङ्गरलाई पनि वन कार्यालयले उद्धार गरेको थियो । 

बागलुङ (गलकोट):   अन्टार्क्टिका पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मालाई गृह जिल्ला बागलुङमा सम्मान गरिएको छ । अन्टार्क्टिकामा पहिलो टेक्ने नेपाली विश्वकर्मालाई बागलुङ नगरपालिकाले रु २५ हजारसहित प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।      रु नौ करोड लागतमा निर्माण गरिएको आधुनिक बागलुङ बसपार्क उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्वारा विश्वकर्मालाई सम्मान गरिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो ।       बागलुङ–१४ नारायणस्थानमा जन्मनुभएका विश्वकर्मा सन् १९८६ मा पृथ्वीको दक्षिणी ध्रुव अन्टार्क्टिका महादेशमा पुग्ने पहिलो नेपाली हुनुहुन्छ । उहाँ भारतीय सेनामा कार्यरत हुँदा भारतीय सेनाको अनुसन्धान टोलीका साथ प्राविधिकको रुपमा त्यहाँ पुग्नुभएको थियो ।       प्रसिद्ध प्रबल गोर्खा दक्षिण बाहु दोस्रोबाट सम्मानित र गिनिजबुकमा नाम लेखाउन सफल विश्वकर्माले बागलुङ नगरपालिकाको नाम चिनाउनुभएको नगरपालिकाले जनाएको छ ।  “बागलुङमा जन्मेर अन्टार्क्टिकामा पुग्ने पहिलो नेपालीका रुपमा देशभर परिचय बनाइसक्दा उहाँको गृह नगरपालिकाले सम्मान गर्न आवश्यक थियो”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “बागलुङ जिल्लाको नाम चिनाउन उहाँको महत्वपूर्ण योगदान छ ।”      विश्वकर्मा हाल बुटवल उपमहानगरपालिका–११ मा बस्दै आउनुभएको छ । उहाँका नाममा बुटवल उपहानगरपालिकाले ‘भुुवनसिंह मार्ग’ भनेर सडकको नामाकरण गरेको छ ।  सम्मान ग्रहणपछि विश्वकर्माले प्रबल गोर्खा दक्षिण बाहु दोस्रोबाट सम्मानित हुँदाभन्दा गृह पालिकाले सम्मान गर्दा धेरै उत्साहित भएको बताउनुभयो । उहाँले गृह नगरले सम्झेर गरेको सम्मानप्रति आफू सदैव कृतज्ञ रहने उल्लेख गर्नुभयो ।  “नेपालका विभिन्न जिल्लामा सम्मान भइसक्दा बागलुङले सम्झेन भन्ने लाग्दथ्यो, बागलुङ नगरपालिकाले भव्य कार्यक्रमकाबीच सम्मान गरेको छ, जन्मगाउँमा केही गर्नका लागि बागलुङ नगरपालिकासँग सहकार्य गर्नेछु”, विश्वकर्माले भन्नुभयो ।

चितवन:   चितवनमा थप एक जनाको डेङ्गीको सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ चनौलिका ४१ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।      ज्वरो आएर उपचारका लागि आएका उनको उपचारका क्रममा मृत्यु भएको हो । शुक्रबार अस्पताल भर्ना भएका उनको मङ्गलबार मृत्यु भएको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कल्याण सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामीमा कडा खालको डेङ्गी देखिएको थियो ।       शरिरका विभिन्न भागबाट रक्तश्राव भई अङ्गहरुले काम गर्न छाडेर (मल्टि अर्गान फेलर) उनको मृत्यु भएको हो । उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।  यसअघि शनिबार चितवन मेडिकल कलेजमा भरतपुर–२ का ६३ वर्षीय वृद्धको डेङ्गीको सङ्क्रमणका कारण मृत्यु भएको थियो ।          जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय ८८ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । तीन हजार तीन सय ३१ जनाको परीक्षणका क्रममा उनीहरुमा यो रोगको सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये पाँच सय ८० जना चितवनका र अन्य जिल्ला बाहिरका रहेका छन् ।

कञ्चनपुर:   जिल्लाको भीमदत्त नगरपालिका–८ स्थित चुरेफेदमा रहेको भम्केनी धाम पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यसअघि प्रायः सुनसान रहने भम्केनी धाममा जगतगुरु मोहनशरण देवाचार्यले धार्मिक गतिविधि बढाएपछि दर्शन गर्न आउनेको चहलपहल बढेको हो ।       यहाँ साविकका ७५ वटै जिल्ला चिनाउने गरी ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण सुरु गरिएको छ । “धाममा धार्मिक गतिविधि बढेपछि यहाँ घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ”, स्थानीय पदम बोहराले भन्नुभयो, “अहिले त चतुराधाम पूर्वको झापासम्मका मानिस यहाँ आउने गरेका छन् ।”       द्वापार युगमा पाण्डवले वनवासमा रहँदा यस क्षेत्रमा आइ कुवाबाट पानी निकाल्दा भक्कानिएर पानी आएकाले यसलाई भम्का भनिएको विश्वास छ । “यो सिद्धबैजनाथको भूमि भएकाले यसको विशेष महत्व छ नै त्यसमा पनि पाण्डवले यो क्षेत्रमा बास बसेको किंम्वदन्ती छ ।”      स्थानीय महेश जोशीका अनुसार यहाँ दर्शन गर्न आउनेको सङ्ख्या बढ्दो छ । उहाँका अनुसार धाम परिसरमा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाको पहिचान झल्कने गरी फरक–फरक कुण्ड निर्माण गरिएका छन् ।       जगतगुरु मोहनशरण देवाचार्यले २०७२ वैशाखदेखि २०७४ माघसम्म नेपाललाई दाहिने पारेर परिक्रममा गर्दा करिब २२ टन तामा र पित्तल सङ्कलन भएको थियो । त्यसबाहेक तीन टन धातु स्थानीयले दान गरेका थिए । सङ्कलन भएका धातुबाट नेपाल आमाको मूर्ति निर्माण सुरु भएको हो ।