काठमाडौं: काडमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको रु ९८ लाख रकमसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रुपन्देही सियारी गाउँपालिका–७ बस्ने २८ वर्षीय समिर सुनार तथा सोही ठाउँका २९ वर्र्षीय मिलन बिक रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दरबारमार्गस्थित जय नेपाल हल नजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा बिहीबार उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेकाहरु हुन्डी एवं सुन कारोबारमा पनि संलग्न रहेको हाम्रो प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।” प्रहरीले उनीहरुको साथबाट नगद रु ९८ लाख तथा बा १३ च ४८५८ नम्बरको फोर्ड कम्पनीको इको स्पोर्ट गाडी समेत बरामद गरेको जानकारी दिइयो । पक्राउ परेका २९ वर्षीय मिलन बिक यसअघि २०८० असोज १० गतेमा दोलखामा साढे ११ केजी अबैध सुन पैठारी तथा संलग्नमा पक्राउ पुर्जी जारी भई फरार भएको र निजको सम्पत्ति शुद्धीकरणमा समेत मुद्धा अनुसन्धानमा रहेको खुल्न आएको प्रमुख भट्टराईले बताउनुभयो । पक्राउ परेकाहरु विगत दुई वर्षयता आपराधिक गतिविधिमा संलग्न रहँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरुलाई हुण्डिसम्बन्धी कारोबार गर्न नहुने कसुरमा थप अनुसन्धानका लागि आजै जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइने जनाइएको छ ।
बागलुङः कालीगण्डकी करिडोरको वैकल्पिक सडकअन्तर्गत बागलुङ बजारदेखि म्याग्दीको बेनी जोड्ने सडक आगामी जेठ ४ गतेसम्मका लागि बन्द गरिएको छ । सडक विस्तारका लागि उक्त सडक दिनभर बन्द रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जेठ ४ गतेसम्मका लागि बागलुङ–बेनी सडकखण्ड बिहान १० देखि बेलुका ४ बजेसम्म बन्द हुने जिल्ला प्रशासनले जनाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालद्वारा जारी सूचनामा उक्त सडकखण्ड अन्तर्गत पर्ने पाङग्रेखोलामा सडक विस्तार तथा मर्मत कार्य भइरहेकाले सडक बन्द हुने उल्लेख छ । बन्द अवधिभर मालढुङ्गा–बेनी वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ । बागलुङ–बेनी सडक १४ किलोमिटर लामो छ । रत्न चौरबाट बेनीसम्मको सडक विस्तार भइसके पनि बागलुङबाट रत्नेचौरसम्मको सडक विस्तार हुन सकेको थिएन । बागलुङ बेनी सडक बन्द भएको समयमा कालीगण्डकी करिडोरअन्तर्गत हाल विस्तार भइसकेको मालढुङ्गा–बेनी सडक प्रयोग गर्न सकिने छ ।
काठमाडौं: वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइँदैछ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको शुरुआत भएको मानिन्छ । यस दिन बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ । अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौँ अवतारका रुपमा परशुरामको जन्म जमदग्नि र रेणुकाको सुपुत्रका रुपमा भएको थियो । त्यसैले आजको दिनलाई परशुराम जयन्ती भनी मनाउने चलन पनि छ । जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवं सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने विश्वास छ । आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । यसो गरेमा भगवान् विष्णु खुशी हुने धार्मिक विश्वास छ । यस अवसरमा निराहार ब्रत बसी विष्णुलाई अक्षताले पूजा गरेमा राजसूय यज्ञको फल प्राप्त हुने विश्वास गरिन्छ । भविष्य पुराणमा पनि आजका दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ । वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो । गर्मीमा पसिना धेरै आएर शरीर शिथिल हुने भएकाले शरीरमा चिनीको मात्रा सन्तुलन राख्न सक्खर र चिनीमा बनाइएको शीतल सर्बत र पुष्टिवर्धक अन्न जौको सातुको प्रयोगमा अक्षय तृतीया पर्वले जोड दिएको छ ।
काठमाडौं: संसदको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशनका लागि गर्नुपर्ने आन्तरिक व्यवस्थापन र तयारीका सबै काम पूरा भएको संसद् सचिवालयले जनाएपनि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने कि नबनाउने भन्ने विषयलाई लिएर सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच बढेको टकरावले भने अन्यौल अझैं कायमै छ । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षीको माग र समिति आवश्यक नभएको सत्तापक्षको अडानका बीच आजदेखि संघीय संसदको वर्षे अधिवेशन सुरु हुन लागेको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय समिति गठनको माग गर्दै लामो समयसम्म संसद् अवरोध गरेपछि संसद्को हिउँदे अधिवेशन अन्त्य भएको थियो । संसदीय समिति बनाउनुपर्ने अडानमा कांग्रेस अहिलेसम्म कायमै छ । कांग्रेस संसदीय दलको बैठक आज बिहान बस्दैछ । सत्ता पक्षले भने छानबिन समिति आवश्यक नभएको बताउँदै आएको छ । कांग्रेसको अवरोधले हिउँदे अधिवेशनको कारवाही प्रभावित भएपछि सभामुख देवराज घिमिरेले आगामी अधिवेशन सुरु हुनु अघि नै संसद्मा प्रतिनिधित्व गर्ने पाँच राजनीतिक दलका शीर्ष नेतासँग एकसरो छलफल गरिसक्नुभएको छ । आजदेखि प्रारम्भ हुने वर्षे अधिवेशनलाई बजेट अधिवेशनको रुपमा लिइन्छ । अधिवेशनका लागि गर्नुपर्ने आन्तरिक व्यवस्थापन र तयारीका सबै काम पूरा भएको संसद् सचिवालयले जनाएपनि दलहरुबीच ठोस सहमति नजुट्दा अन्यौल भने अझैं कायमै छ । अधिवेशनमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनुका साथै आर्थिक, विनियोजन र राष्ट्र ऋण उठाउने विधेयकहरु प्रस्तुत हुने छन् । सरकारले प्रत्येक वर्ष जेठ १५ गते वार्षिक आयव्ययको अनुमानित विवरण प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यसपटक ‘प्रि–बजेट’ छलफल भने हिउँदे अधिवेशनमा नै भइसकेको छ । संसद् सचिवालयले सदन सञ्चालनका लागि बनाएको ‘क्यालेण्डर’ अनुरूप संसदीय गतिविधिमा सबै राजनीतिक दलहरुले सहयोग गर्ने सभामुखको विश्वास छ । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा लिने भएपनि संसद्ले दुई वटाभन्दा बढी विधेयक पारित गर्न सकेको थिएन । जबकी गएको हिउँदे अधिवेशनमा करिब ४६ वटा विधेयक अघि बढाउने सरकारको लक्ष्य थियो । तर त्यस्तो अवस्था अब नदोहोरिने सभामुख घिमिरेले बताउनुभयो ।
गोरखा: उत्तरी गोरखाको मनास्लु क्षेत्रअन्तर्गत माथिल्लो मनास्लु पदमार्गका विभिन्न ठाउँमा राखिएका ‘मार्किङ पोल’ ढलेपछि पर्यटक र पथप्रदर्शकलाई हिँडडुल गर्न समस्या भएको छ । बाटो देखाउन पदमार्गमा राखिएका ‘मार्किङ पोल’ कतै ढलेका र कतै भाँचिएका कारण लार्के बजारदेखि माथि हिमपात परेका बेला गन्तव्यमा पुग्न पर्यटक र पथप्रदर्शकलाई कठिन हुने गरेको हो । “हिमपातका बेला पदमार्ग पत्ता लगाउन पथप्रदर्शकले ‘मार्किङ पोल’को सहायता लिनुपर्छ”, ‘‘लामो समयदेखि मनास्लु क्षेत्रमा पथप्रदर्शकका रुपमा काम गर्दै आउनुभएका सूर्य खनालले भन्नुभयो, “तर लार्के बजारमाथि राखिएका मार्किङ पोल ढलेको, भाँचिएको र अक्षर मेटिएको अवस्था छ ।” हिमपात नपरेका बेला बाटो देख्न सकिने भएकाले आवतजावत गर्न गाह्रो नहुने भए पनि हिमपातले बाटो पुरिएका बेला ‘मार्किङ पोल’ बिनाअनुमानका भरमा जोखिम मोलेर पर्यटकलाई पथप्रदर्शकले हिँडाउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । धर्मशाला, लार्केपासदेखि भिम्ताङसम्मका पदमार्गमा मार्किङ पोल अस्तव्यस्त रहेको उहाँले बताउनुभयो । पछिल्लो समय विदेशी पर्यटकको अत्यधिक रोजाइमा पर्दै आएको मनास्लु पदमार्गमा दैनिक सयौँ विदेशी पर्यटकले पदयात्रा गर्ने गर्दछन् । “मनास्लु पदमार्ग आफैँमा पनि जोखिमयुक्त पदमार्ग नै हो”, उहाँले भन्नुभयो, “जोखिमपूर्ण यात्रा गर्नुपर्ने पदमार्गमा झनै ‘मार्किङ पोल’ नहुँदाको कठिनाइ पथप्रदर्शकलाई थपिएको छ ।” पदमार्गमा राखिएका मार्किङ पोलबिचको दूरीसमेत निक्कै टाढाटाढा रहेको छ । “पथप्रदर्शकलाई हिमपातका बेला बाटो पहिल्याउने साहारा भनेकै ‘मार्किङ पोल’ हो”, पथप्रदर्शक खनालले भन्नुभयो, “जसको सहायताले बाटो खोज्दै हिँड्नुपर्छ त्यहीँ नभएपछि समस्या हुने नै भयो ।” पोल ढलेको विषयमा पटक पटक कार्यालयलाई जानकारी गराइएको भए पनि बेवास्ता गरेको उहाँको भनाइ छ । “बजेट अभाव भएको भए पनि ढलेका पोललाई यथास्थानमा गाड्ने तथा अक्षर मेटिएको बोर्डमा लेख्ने काम मात्र गरे पनि निक्कै सहज हुने थियो”, अर्का पथप्रर्दशक किशोर न्यौपानेले भन्नुभयो । मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय ९एमक्याप०का सूचना अधिकारीसमेत रहनुभएका संरक्षण अधिकृत भुवनराज ओझाले ढलेका पोल पुन: गाड्ने तथा भाँचिएका पोलको ठाउँमा नयाँ पोल राख्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले मार्किङ पोलको सहायताले हिउँ परेका बेला पर्यटक र पथप्रदर्शकले बाटो पहिचान गरेर हिँड्नुपर्ने भएकाले मार्किङ पोल अनिवार्य रहेकोसमेत बताउनुभयो । “कार्यालयबाट कर्मचारी खटाएर कुन ठाउँमा कति मार्किङ पोल आवश्यक पर्छ, भनेर डाटा निकाली सकेका छौँ”, उहाँले भन्नुभयो, “भाँचिएको र दूरी टाढा रहेका ठाउँमा नयाँ पोल राख्ने र ढलेका पोल उठाएर साविकै ठाउँमा गाड्ने गरी काम सुरु गर्न लागिएको छ ।” अधिकृत ओझाले आउँदो असार मसान्तसम्म सबै काम सम्पन्न गर्ने बताउनुभयो । भौगोलिक जटितलाका कारण ढलेका पोल उठाउन र भाँचिएको पोलको ठाउँमा नयाँ राख्न ढिलाइ भएको उहाँले दाबी गर्नुभयो । माथिल्लो मनास्लु पदमार्गको जगतदेखि मनास्लु आधार शिविरसम्म ८१ ‘मार्किङ पोल’ छ ।
काठमाडौं: अख्तियार दुरुपयोग अनुसान्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिका नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृत बिरुद्ध भ्रष्ट्राचारको मुद्दा दायर गरेको छ । नगर प्रमुख सुरेश साह सोनार, उप(प्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसमेत १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । पालिकाको वडा नं. १ स्थित हाटबजार क्षेत्रमा भइरहेको ढलानमा गुणस्तरहीन कार्य गरी भ्रष्टाचार गरेको भन्ने उजुरीमा अनुसन्धान गर्दा उनीहरुलाइ दोषी पाइएको हो । पी.पी.सी. ढलान गर्दा गरेको काम भन्दा बढी गरेको भनी नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, उपभोक्ताको भुक्तानी बिल र अनुगमन प्रतिवेदन चेकजाँच नगरी भुक्तानीको लागि टिप्पणी पेश तथा सदर गरी सोही आधारमा ५ लाख ८४ हजार ६ सय ३७ रुपैयाँ बढि भुक्तानी दिएको अख्तियारको दावी छ । झुट्ठा विल भर्पाइ बनाइ सम्पन्न प्रतिवेदन तयार पारेर भुक्तानी दिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) बमोजिमको कसुर भएको हुँदा निजहरुलाई झुठ्ठा विल बरावर बिगो कायम गरी सजाय माग दावी गरिएको आयोगका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिनु भएको छ ।
काठमाडौं: नेपाल प्रहरीले ५१९ प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । त्यसमध्ये केही काजमा रहेका छन् । सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।
काठमाडौं: आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया स्नेहा लामिछाने पशुपति क्षेत्रमा भेटिएकी छिन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले लामिछानेलाई पशुपति मन्दिरको आरतीस्थलमा फेला पारिएको जानकारी दिनुभयो । उनी हराउनुका कारण पत्ता लागि नसकेको र अनुसन्धान जारी रहेको बताउनुभयो । “अहिले उनी विक्षिप्त अवस्थामा छिन्, ‘काउन्सिलिङ’ गरेपछि मात्रै जानकारी लिने काम हुन्छ”, प्रवक्ता अधिकारीले भन्नुभयो । उनको घर चितवनको कालिका नगरपालिका–६ जमुनापुर भए पनि लामो समयदेखि कलङ्कीस्थित मामाघरमा बसेर इञ्जिनियरिङ पढ्दै आएकी थिइन् । उनी यही वैशाख १९ गतेदेखि हराइरहेकी थिइन् । परीक्षा आउन लागेकाले तयारीका लागि पुस्तकालयबाट पुस्तक लिन निस्किएकी उनले पछि फोन गरेर घर आउन लागेको बताएपछि सम्पर्कविहीन भएकी उनका परिवारले बताएको छ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि बुधबार दिउँसो वीर अस्पतालमा पुग्नुभएको छ। बुधबार बिहानदेखि दाँतमा दुखाइको महसुस भएपछि प्रधानमन्त्री दाँतको परीक्षणका लागि वीर अस्पताल पुग्नुभएको हो। अहिले डा. रितु श्रेष्ठ नेतृत्वको टिमले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचारको गरिरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी गराएको छ । उहाँले यसअघिसमेत वीर अस्पतालमै दाँतको उपचार गर्नुभएको थियो ।