मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

तनहुँ:   पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा गत शुक्रबार भएको बस दुर्घटनामा बेपत्ता एकजना पाँच दिनसम्म फेला पर्न सकेका छैनन् । पोखराबाट काठमाडौँतर्फ गइरहेको भारतीय नम्बर प्लेट युपी५३एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दीमा खस्दा बेपत्ता भएका २२ वर्षीय गोकर्णी सन्दीप सरोदे मङ्गलबारसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो ।  दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । बेपत्ता भएको सरोदेको खोजी भइरहे पनि फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।  सोमबार नदीमा खसेको बस निकाल्ने क्रममा बसले च्यापिएको अवस्थामा छ कि भन्ने आशङ्का रहे पनि उनी फेला नपरेको प्रहरीको भनाइ छ । बेपत्ता भएका सरोदेका बुबाआमाको सोही दुर्घटनामा परी मृत्यु भएको छ ।  प्रनाउ रायले भन्नुभयो, “घाइतेहरूले दिएको विवरणका आधारमा उनी फेला परेका छैनन् । सम्भावित ठाउँमा खोजी भइरहेको छ ।” प्रहरीले गत सोमबार आठ घण्टाको प्रयासमा नदीबाट बस निकालेर सडक नजिकको भागसम्म ल्याएको थियो । 

लमजुङ:     पहिरोले अवरुद्ध  पोखरा–सिङ्दी–पसगाउँ सडक सञ्चालनमा आएको छ । कास्कीको मादी गाउँपालिका–८ उगीकुनासहित लमजुङको विभिन्न स्थानमा रुदी खोलाले कटान गर्दा  एवं पहिरो खस्दा गत साउन १२ गतेदेखि सो सडक अवरुद्ध भएको थियो ।   सडक सञ्चालन हुन नसक्दा लमजुङ क्व्होलासोथर गाउँपालिका–५ सिङ्दी र वडा नं ६ पसगाउँ क्षेत्रका स्थानीयलाई समस्या हुँदै आएको क्व्होलासोथर–५ का वडाध्यक्ष गितबहादुर गुरुङले बताउनुभयो । डोजरको सहयाताले करिब एक हप्तामा सडक मर्मत गरेर सडक सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।   पोखरा र रामबजार हुँदै बेँसीसहर जानका लागि पनि यही बाटो प्रयोग हुने गरेको छ । यहाँका अधिकांश स्थानीय पोखरा आवतजावत गर्ने गर्दछन् ।  त्यहाँका स्थानीयलाई बेँसीसहर आउनुभन्दा पोखरा जानलाई सहज र छोटो हुने भएकाले नागरिकता बनाउन, मालमोतलगायत मुख्य कामबाहेकका लागि यही सडकबाट पोखरा जाने गर्दछन् । सडक सञ्चालनसँगै स्थानीय हर्षित बनेका छन् । 

रामेछाप:    दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कमा गएको पहिरोमा परी मृत्यु हुनेहरूको सङ्ख्या आठ पुगेको छ । यही भदौ ९ गते (आइतबार) बिहान गएको पहिरोमा परी चार घर बगाउँदा हराइरहेका १० मध्ये मङ्गलबारसम्म आठजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रदीपकुमार सिंहले बताउनुभयो ।   उहाँले मङ्गलबार एक महिलाको बायाँ गोडाको पैतालाको भागमात्र भेटिएपछि हराइरहेका आफन्तसँग अनुसन्धान गर्दा नङ पालिस लगाएको बाङ्गो औलाका आधारमा आफ्नी हराइरहेकी श्रीमती बिन्दा पहरीको भएको उनका श्रीमान् कुमार पहरीले स्वीकार गरेपछि सनाखत गरी परिवारको जिम्मा लगाइएको बताउनुभयो । गत शनिबार राति परेको अविरल वर्षाका कारण सो गाउँपालिकाको वडा नं ३ लेखर्कमा पहिरोमा परेर ११ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये एकजनालाई जीवितै उद्धार गरिएको थियो भने छजनाको शव सोही दिन नै निकालिएको थियो । त्यसपछि एकको शव र हिजो एकजनाको पैतालाको भाग फेला परेपछि मृत्यु हुनेको सङ्ख्या आठ पुगेको हो ।   उक्त पहिरोमा परी हराइरहेका सोहि वडाका ५५ वर्षीय काले पहरी र ५० वर्षीय झ्याइपुरी पहरी अझै बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  पहिरोमा परी सो वडाकी ३० वर्षीया चण्डिका श्रेष्ठ, निजका १८ महिनाका छोरा आयुष श्रेष्ठ, सोही वडाका ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरी शव आइतबार नै फेला पारी परीक्षणपश्चात् परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिनुभयो । 

म्याग्दी:     चीन र भारत जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुबारी क्षेत्रको पहिरोले दुर्घटनाको जोखिम बढेको छ ।  कालीगण्डकी किनारको पाखोमा निर्माण भएको सडकमा खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम बढेको हो । स्तरोन्नतिका क्रममा रहेको बेनी–जोमसोम–सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले गत वर्षदेखि सृजना भएको सिरुबारीको पहिरोले दुःख दिइरहेको बताउनुभयो ।  “करिब एक किलोमिटरमाथिको पाखो बगेको छ”, उहाँले भन्नुभयो “खसेको पहिरो पन्छाउदै सावधानी अपनाएर यातायात सञ्चालन गरिएको छ ।” आकाशबाट पानी पर्नेबित्तिकै पाखोबाट ढुङ्गा, लेदो र गेगरसहितको पहिरो खसेर सडकमा थुप्रिन्छ । हिलोमा सवारीसाधन फस्ने, गुुडिरहेका सवारीमाथि ढुङ्गा खस्ने, यात्रीलाई चोटपटक लाग्ने जोखिम छ । यही भदौ ४ गते पोखराबाट बेनी हुँदै जोमसोमतर्फ जाँदै गरेको ग१ख ७७१७ नम्बरको बस सिरुबारीको पहिरोमा गुडिरहेको अवस्थामा ठूलो ढुङ्गा खसेर च्यापिदा दुईजना यात्रा घाइते भएका थिए । पहिरोले सयौँ रोपनी खेतीयोग्य जमिन र जङ्गल नष्ट भएको छ ।   सवारी चालक तम परियारले त्रासैत्रासमा गाडीलाई पहिरो पार गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । सिरुबारी क्षेत्रमा करिब पाँच सय मिटर सडक पहिरोले छियाछिया बनाएको छ ।  मुस्ताङ जिल्ला, म्याग्दीको अन्नपूूर्ण गाउँपालिकाका बासिन्दाका साथै पर्यटक र तिर्थयात्रीलाई पहिरोका कारण जोखिम र सास्ती भएको छ ।  सिरुबारी, महभिर, बैसरी, गुइँठेभिरलगायत ठाउँमा पहिरोको उच्च जोखिम भएकाले रातको समयमा यात्रा नगर्न र सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय, रघुगङ्गा, अन्नपूूर्ण गाउँपालिका र बेनी–जोमसोम–कोरला सडक आयोजनाले अपिल गरेका छन् ।  ती ठाउँमा खस्ने पहिरो पन्छाएर यातायात सञ्चालन गर्न सडक विभागको डोजर, लोडर, ब्याकुहोलोडर तयारी अवस्थामा राखिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख धु्रवकुमार झाले बताउनुभयो । पहिरो, कटान र बाढीको जोखिम भएको ठाउँमा दीर्घकालीन समाधानका लागि अध्ययन गरेर भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा योजना माग गरिएको उहाँले बताउनुभयो । योजना र बजेटको अभावमा पहिरो रोकथामका लागि दीर्घकालीन काम गर्न नसकेको झाले बताउनुभयो ।

म्याग्दी:     धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट आज साँझ पुन:हिउँपहिरो खसेको छ ।       मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा यही असोज ७ गते अपराह्न पनि हिउँ पहिरो खसेको थियो । थासाङ गाउँपालिका–२ का वडाध्यक्ष समेत रहेका थासाङ गाउँकार्यपालिकाका प्रवत्ता गौतम शेरचनले हिउँपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएको बताउनुभयो ।       “यसअघिको पहिरो मूलखर्क क्षेत्रमा थुप्रिएको थियो, आजको हिउँपहिरो बोक्सीखोलाको नजिकै धेरै तलसम्म आएको छ”, उहाँले भन्नुभयो, “हिउँपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएकाले सतर्कता अपनाइएको छ ।”      बोक्सीखोला कालीगण्डकीको सहायक नदी हो । आज साँझ ५ः४५ मा हिउँपहिरो खसेको थियो । आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सीखोलामा पर्दछ ।  यसअघि विसं २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिरोले एक सय ५० भन्दाबढी चौँरीगाई मरेका थिए । 

पोखरा:    कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गास्थित भुरुङ्दी खोलामा एक विदेशी नागरिक मृत फेला परेका छन् । खोलामा मृत फेला परेका नागरिक स्पेनका इरिक कासानोभास (पुरुष) रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  आइतबार स्पेनबाट नेपाल आएका इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला)  तिखेढुङ्गाबाट उल्लेरी हुँदै घोरेपानी जाने क्रममा सम्पर्कबिहीन भएको खुल्न आएको प्रहरीले जनाएको छ ।   जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख मोहन कुमार थापाले आइतबार तिखेढुङ्गास्थित मौजाखोला नजिकै गोरेटो बाटोमा २ वटा वेवारिसे झोला भेटिएको सूचनापछि खटिएको प्रहरीको टोलीसहित जनप्रतिनिधि र एक्यापका प्रतिनिधिको रोहबरको झोला हेर्दा स्पेनका नागरिकको भएको खुल्न आएको बताए ।  ‘आइतबार हामीलाई कास्कीको अन्नपूर्ण गाउँपालिका–९ स्थित तिखेढुङ्गास्थित मौजाखोला नजिकै गोरेटो बाटोमा २ वटा वेवारिसे झोला भेटिएको सूचना आएको थियो’, कास्की प्रहरी प्रमुख थापाले भने, ‘वेवारिसे अवस्थामा भेटिएको झोला, प्रहरी, जनप्रनिधि र एक्यापको प्रतिनिधिको रोहबरमा झोला खोली हेर्दा स्पेनका नागरिकको २ वटा पासपोर्टसहित सामान मात्र भेटिएपनि उनीहरु सम्पर्कमा थिएन ।’     यो पनि पढ्नुहोस   घोरेपानी हिँडेका स्पेनिस पर्यटक बेपत्ता उनका अनुुसार वेवारिसे अवस्थामा झोला मात्र भेटिएपछि वरिपरि खोजतलाज गर्ने क्रममा नजिकै रहेको खोला र झरणामा टोपी, टिसर्ट, स्टिक, जिपिएस मात्र फेला परेको बताए ।  आज (मंगलबार) अन्नपूर्ण गाउँपालिका–९ भुरुङ्दी खोलामा कास्की प्रहरी र सशस्त्र प्रहरी बल मालेपाटनबाट खटिएको प्रहरीको टोलीले खोजतलाज गर्ने क्रममा इरिक कासानोभास (पुरुष) मृत फेला परेको उनले बताए ।  सोही स्थानमा बेपत्ता भएका मोलास जुन्का मेसी (महिला) को भने खोजतलाज जारी रहेको प्रहरीले जनाएको छ ।   

पाल्पा:    राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पा सदरमुकाम तानसेनस्थित ऐतिहासिक रणउजिरेश्वरी भगवती मन्दिरमा आज पूजाअर्चना गर्नुभएको छ । साथै उहाँ  रणउजिरेश्वरी भगवती रथ यात्रामा समेत सहभागी हुनुभएको छ । सो अवसरमा प्रथम महिला सविता पौडेलले समेत मन्दिरमा पूजाअर्चना गर्नुभयो ।       रथ यात्राका क्रममा रक्षामन्त्री मानवीर राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख तुलाराम घर्ती, मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरु, उच्चपदस्थ अधिकारीलगायतको सहभागिता रहेको थियो ।      नेपाल अङ्ग्रेज युद्धमा गोर्खाली फौजले जितगढी किल्लाबाट अङ्ग्रेज फौजलाई पराजित गरेको अवसरमा भाद्र कृष्ण अष्टमीको भोलिपल्ट सिन्दूर यात्राका रुपमा रथयात्रा निकालिने परम्परा छ । विसं १८७७ देखि मनाउँदै आएको रथ यात्रा दुई सय पाँचौँ पटक मनाइँदैछ ।      तानसेन नगरपालिका–३ को भगवती टोलमा रहेको भगवतीको मन्दिरबाट रथ यात्रा निकालिने परम्परा रहेको भगवती मन्दिर व्यवस्थापन समिति अध्यक्ष अशोक महर्जनले जानकारी दिनुभयो । कृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट यहाँ हरेक वर्ष रथ यात्रा निकालिँदै आइएको छ ।      नेपालले अङ्ग्रेज सेनालाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा पाल्पामा विजयउत्सव स्वरुप यहाँ हरेक वर्ष रथयात्रा निकालिँदै आइएको छ ।  नेपाली सेनाले सलामी दिएर तीनपटक मन्दिर परिक्रमा गराएपछि भगवती रथ यात्रा निकालिने परम्परा छ । यसलाई भगवती जात्रा, रथ यात्रा अर्थात् सिन्दूर जात्राका नामले पनि चिनिन्छ ।  भगवतीको मन्दिरबाट शुभ साइतमा निकालिएको भगवती जात्रा (रथ यात्रा) लाई शीतल पार्टीको मूल ढोकाबाहिर निकालेपछि सरकारका तर्फबाट प्रमुख जिल्ला अधिकारीबाट पूजा गरी बलि दिइने चलन छ ।  पाल्पाली प्रशासकका रुपमा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपालले १८७१ पुसदेखि १८७२ जेठसम्म भएको अङ्ग्रेजसँगको युद्धमा बुटवलको जितगढी लगायतका क्षेत्रमा विजय हासिल गरेको सम्झनामा १८७७ सालदेखि निरन्तर रुपमा विजयोत्सव भगवती जात्रा मनाइँदै आइएको छ ।  विद्यालय एवं विभिन्न सङ्घसंस्थाको उपस्थितिमा निकालिने भगवती जात्रा (रथ यात्रा)लाई भजनकीर्तन, पञ्चेबाचा, लाखेनाच, विभिन्न सांस्कृतिक झाँकीसहित तानसेन नगर परिक्रमा गराएर पुनः भगवतीको मन्दिरमा लगी विसर्जन गरिने बताइएको छ । 

सोलुखुम्बु:    सोलुखुम्बुको थामेका बाढीपीडितको उद्धारमा खटिएका १३ जना नेपाल प्रहरीलाई पुरस्कृत गरिएको छ ।  गत साउन ३२ गते थामेमा आएको बाढीमा फसेका नागरिक तथा भौतिक सम्पत्ति उद्धारमा सक्रिय प्रहरी निरीक्षकसहित १३ जनालाई आज जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पुरस्कृत गरेको हो ।  पुरस्कृत हुनेमा प्रहरी निरीक्षक लक्ष्मण गिरी, प्रहरी सहायक निरीक्षक खेमराज खतिवडा, प्रहरी वरिष्ठ हवल्दार दीपककुमार कटुवालसहित रहेका छन् ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरकानुसार पुरस्कृत हुनेमा प्रहरी निरीक्षक एक, प्रहरी सहायक निरीक्षक दुई, प्रहरी वरिष्ठ हबल्दार एक, प्रहरी हवल्दार तीन, प्रहरी सहायक हवल्दार दुई र चारजना प्रहरी जवान रहेका छन् । उच्च हिमाली भेगमा आएको प्राकृतिक विपत्तिमा जनधनको क्षति न्यूनीकरणमा सक्रिय रूपमा निर्वाह गरेकाले नेपाल प्रहरीको अभिलेख रहने गरी पुरस्कृत गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिनुभयो ।  “बाढीपीडितको उद्धार, जोखिम न्यूनीकरण, सूचना आदानप्रदान, तल्लो तटीय क्षेत्रमा सचेतना जगाउनेलगायत कार्यमा अत्यन्त कुशलतापूर्वक काम गरेकाले उहाँहरूलाई पुरस्कृत गरिएको हो”, उहाँले भन्नुभयो ।   पुरस्कारले उच्च मनोबलका साथ राष्ट्रको सेवामा लाग्न थप प्रेरणा मिलेको पुरस्कृतमध्येका प्रहरी निरीक्षक गिरीले बताउनुभयो ।  गत साउन ३२ गते दिउँसो १ः३० बजे सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमपहिरोले गेग्रान र ढुङ्गासहित गएको बाढीले एक विद्यालय, एक स्वास्थ्य चौकी, दुई होटल, १३ वटा घर पूर्ण र १० वटा घरमा आंशिक रूपमा क्षति भएको थियो भने ९५० किलोवाट क्षमताको जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । फुटेको हिमताल थामे बजारबाट करिब नौ किलोमिटर टाढा छ ।

नेपालगञ्ज:     नेपालगञ्ज रहेको एउटा पसलबाट ठूलो मात्रामा सुनचाँदीसहित चार जनालाई नियन्त्रणमा लिइएको छ ।  जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले ३४ तोला सुन, साढे १० किलो चाँदी, एउटा गाडी र चार जनालाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।  उहाँकानुसार बरामद भएको सुनचाँदी पसलका सञ्चालक फरार रहेका छन् । बरामद सामानको मूल्य, गुणस्तर तथा वैधताका विषयमा अनुसन्धान भइरहेकाले पसलको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ ।  बर्दियाका एक जना सुन पसलेले गाडीमा केही सुनचाँदी किनेर लैजाँदै गरेको सूचनाका आधारमा उनलाई बाटोमा केरकार गर्दा सो परिमाणमा सामान भेटिएको प्रहरीले जनाएको छ ।  ती व्यापारीले नेपालगञ्जबाट सामान किनेको बताएको र  बिक्री गर्ने कालीगढकहाँ पुग्दा उनी भागेको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताउन्भयो।