लमजुङ:  लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा आज रातिदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मङ्गलबार जिल्ला सुरक्षा समिति लमजुङको बैठकले बर्खायाममा यात्रा जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्द...

पोखरा:      गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले हरेक मानिसले श्रममा विश्वास गर्नुपर्ने बताउनुभएको छ । १३५ औं श्रमिक दिवसको अवसरमा पोखरामा आयोजना भएको श्रमिक सभामा बोल्दै मुख्यमन्त्री अधिकारीले यस्तो बताउनुभएको हो ।  श्रमको सम्मान नगर्नेहरू असभ्य नागरिक भएको उहाँको भनाई छ । ‘श्रम हामीहरूको लागि अत्यन्त मूल्यवान् विषय हो, श्रमबाट नै राष्ट्रिय पुँजी निर्माण हुन्छ, रगत र पसिनाको गन्ध जुन माटोमा बग्छ, त्यो माटो सुगन्धित हुन्छ, त्यहीं माटोको सम्मान गर्न मे दिवसले प्रेरणा दिनेछ’ उहाँले भन्नुभयो । उहाँले नेपालमा अधिकार प्राप्तिको आन्दोलन सकिएर श्रमिक वर्गको हक, हितको लागि ऐन कानुन निर्माण भएपनि पूर्ण कार्यान्वयन भइनसकेको बताउनुभयो । यसको कार्यान्वयनको  लागि रोजगारदाता र श्रमिक दुवैले आफ्नो कर्तव्य र  दायित्व बुझ्न सक्नुपर्नेमा उहाँको जोड छ । सामाजिक विकास मन्त्रालयमा निष्कृय जस्तो देखिएको समन्वय केन्द्रलाई सक्रिय बनाउँदै श्रमिकको हितको लागि कार्यगर्ने प्रतिवद्धता मुख्यमन्त्री अधिकारीले जनाउनुभयो । ‘तपाईँहरूसँग निरन्तर सहकार्य गरेर रोजगारदाता, सरकार र श्रमिककोबीचमा आपसमा समन्वय गरेर अत्यन्त श्रममैत्री र उद्योग मैत्री वातावरण बनाएर मे दिवसमा खुशी साट्नेगरी अगाडि बढ्न मेरोतर्फबाट हुने सम्पूर्ण प्रयत्नहरू केन्द्रित गर्नेछु’ उहाँले भन्नुभयो । गण्डकी प्रदेश सरकार समृद्ध प्रदेश खुशी प्रदेशवासी बनाउने प्रष्ट धारणाका साथ अगाडि बढिरहेको उहाँले खुलाउनुभयो । उद्योग फस्टाए रोजगारी प्राप्त हुने र स्वाधीन अर्थतन्त्रमा टेवा पुग्ने उहाँको भनाई छ ।  ‘जबसम्म उद्योग फस्टाउन सक्दैन तबसम्म रोजगारी प्राप्त हुन सक्दैन । देशको स्वाधीन अर्थतन्त्र निर्माण हुन सक्दैन’ उहाँले थप्नुभयो । श्रम क्षेत्रबाट प्राप्त भएका महत्वपूर्ण सुझाबहरूलाई व्यवस्थित ढंगले सुत्रबद्ध गर्दै काम गर्ने उहाँको प्रतिवद्धता थियो । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र गण्डकी प्रदेश पोखराले आयोजना गरेको सभामा नेपाली कांग्रेस गण्डकी प्रदेश अध्यक्ष शुक्रराज शर्मा, नेकपा एमाले गण्डकी प्रदेश सचिव धनञ्जय दवाडी, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, नेपाल ट्रेड युनियन कांग्रेस उपाध्यक्ष राधिका कुइँकेल, अखिल नेपाल ट्रेड युनियन महासंघ उपाध्यक्ष सोमबहादुर थापा, नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी अध्यक्ष मुरारी शर्मा, जिफन्ट गण्डकी अध्यक्ष रुद्र खत्री र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र गण्डकीका सदस्य रुद्र गौतम लगायतले ट्रेड युनियन अधिकार र श्रमिक दिवसको महत्वबारे बोल्नुभएका थियो । श्रमिक सभा अगाडि गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी समेतको सहभागीतामा पोखराको लखन चोक (पृथ्वीचोक)देखि साइमन पार्टी प्यालेस सिर्जनाचोकसम्म श्रमिक ¥यालीको आयोजना गरिएको थियो ।

कैलाली:     कैलालीको कैलारी गाउँपालिका–३ का ३१ वर्षीय रुवि चौधरीको गाउँमा सानो कच्ची घर छ । आर्थिक अवस्था दयनीय भएकै कारण पक्की घरमा बस्ने सपना पूरा नभएको बताउने रुविले निम्न माध्यमिक तहको अध्ययन पूरा गर्न सक्नुभएन । घरको अवस्थाकै कारण २० वर्षे तन्नेरी अवस्थामा घर बनाउने काममा मजदुरी सुरु गरेका उहाँले दशकपछि मिस्त्री काम गरेर घर बनाउन जान्नुभयो । तर आफ्नो कच्ची घर अझै पक्कीमा परिणत गर्न सक्नुभएको छैन । अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँरदा रुवि दिवसको प्रवाह नगरी महेन्द्रनगरस्थित एयरपोर्ट रोडमा घर बनाउने काममा खटिनुभएको छ । एक दशकदेखि घर बनाउने काममा लागेका उहाँले धनगढी र महेन्द्रनगरमा गरेर ३५ देखि ४० ठूला र साना गरी पक्की घर बनाएको सुनाउनुभयो । “ज्याला मजदुरीका क्रममा अरुका पाँचतले महलसम्म बनाए तर समयसापेक्ष हाम्रो ज्याला दर बढ्न सकेन”, उहाँले भन्नुभयो, “मजदुरीको पैसा जम्मा गरेर सानो भए पनि पक्की घर बनाउँला, परिवार राखाँैला सोचेको अझै पूरा हुने छाँट छैन ।” रुविसँगै उहाँका भाइ पनि कैलालीमा घर बनाउने काममै सक्रिय हुनुहुन्छ । दुईजनाको कमाईले घर खर्च मुस्किलले टर्ने गरेको उहाँको भनाइ छ । “मिस्त्रीको दैनिक एक हजारदेखि एक हजार दुई सयसम्म ज्याला छ”, उहाँले भन्नुभयो, “लेबरीमा खटिनेको त झन् पाँच सय ७५ मात्रै छ ।” बुबा÷आमाको जेठो छोरा रुविले घर बनाउने मिस्त्री काममा लागेपछि मन लगाएर खटिरहेको बताउनुभयो । “ज्याला मजदुरी गर्न विदेश जान पनि त पैसा लाग्छ”, उहाँले भन्नुभयो, “तीन महिनाको तालिम गरेर मिस्त्री काम थालेको वर्षौ भइसक्यो ।” कञ्चनपुरको महेन्द्रनगरमा एक वर्षअघि मात्रै मिस्त्री कामका लागि आएका उहाँले यहाँ कामको भने अभाव नरहेको बताउनुभयो । “यहाँ बास बस्ने डेरा पनि लिएको छैनौँ”, उहाँले भन्नुभयो, “जहाँ घर बनाउन सुरु गर्यौँ, त्यही त्रिपाल टाँगेर रात काट्छौँ ।” त्यसैगरी, कैलारी(७ भुइँयाफाँटाका २२ वर्षीय दीपक चौधरी पनि महेन्द्रनगरमा घर बनाउने काममा मजदुरी गरिरहेको अवस्थामा आज भेटिनुभयो । “मजदुर दिवस भनेको के हो थाहा नै छैन”, उहाँले भन्नुभयो, “दिवस मनाएर बसे बेलुकी के खाने रु” उहाँले दिवस मनाउनुभन्दा पनि मजदुरहरुको हकहित र सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । “यत्रो महँगीको जमानामा पाँच सय दिनको ज्यालाले के हुन्छ र रु”, एसइईसम्मको अध्ययन गरेका दीपकले भन्नुभयो, “पुस्तौँदेखि कच्ची घरमा बसेका हामी मजदुर कमाएर कहिले पक्की घरमा बस्ने टुङ्गो नै छैन ।” उहाँले समयक्रमअनुसार मजदुरहरुको ज्याला पनि वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । “पाँच सय ज्यालाले खर्च त चल्दैन तर पनि बाध्यताले जेनतेन चलाउनु त परिहाल्यो”, उहाँले भन्नुभयो, “मुलुकको समृद्धिमा मजदुरको भूमिका महत्वपूर्ण भए पनि हामीहरुको अवस्थामा सुधार आउन सकेन ।” त्यसैगरी घर बनाउने कामको ठेक्का लिने ठेकेदारको सम्पर्कमा रहेर महेन्द्रनगरमा विगतदेखि मिस्त्री काम गर्दै आएका कैलारीकै शिवकुमार चौधरीको पनि छाक टार्न नै चर्को काम नभनी काममा सक्रिय हुनुहुन्छ । “घरमा भएको १० कट्ठा जमिनले खानसम्म पुग्छ”, उहाँले भन्नुभयो, “त्यो बाहेकको सबै खर्च मजदुरीबाटै चलाएको छु ।” धनगढी हुँदै कामको शिलशिलामा महेन्द्रनगर पुगेका उहाँले पनि यहाँ दर्जनौँ घर निर्माण गरिसक्नुभएको छ । “हामी त अरुका पक्की घर बनाउँदै जिन्दगीको महत्वपूर्ण समय बिताउने भयौँ”, उहाँले भन्नुभयो, “कमाएर परिवारसहित पक्की घरमा कहिले बस्न पाइने हो, त्यो सपना जस्तै छ ।” मजदुरीबाट घर बनाउने काममा लागेका शिवकुमारले पनि दातृ निकायबाट तीनमहिने तालिम लिएर मिस्त्री काममा लागेको बताउनुभयो । त्यसैगरी, बर्दिया राजापुरका रामबहादुर चौधरीले महेन्द्रनगरमा काम गर्न थालेको नौ वर्ष भयो । सुरुआतमा घर बनाउने काममा मजदुरीबाट सुरु गरेका चौधरीले मिस्त्री, सटरिङको काम हुँदै अहिले घर बनाउने ठेक्का लिन थाल्नुभएको छ । “मजदुरीबाट सुरु गरेको अहिले अघि बढ्दै जाँदा १२ जना काम गर्ने मसितै छन्”, उहाँले भन्नुभयो, “मिस्त्री काम गर्दा बिहान साँझ अटो चलाउने र दिउँसो घर बनाउने काम पनि गरेँ ।” उहाँले हाल सो कामबाट मासिक ४० देखि ४५ हजार कमाउने गरेको बताउनुभयो । “यही कमाईबाट भीमदत्त नगरपालिका(२ महुलियामा १५ धुर जग्गा किनेर घर पनि बनाएँ”, उहाँले भन्नुभयो, “गाउँ बर्दिया राजापुरमा भने अझै कच्ची घरमै छौँ ।” उहाँले मिस्त्री हुँदादेखि घर बनाउने ठेक्का लिने अवस्थासम्म आइपुग्दा यहाँ ४०÷५० को हाराहारीमा पक्की घर बनाएको बताउनुभयो ।

पोखरा:      गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले नागरिकलाई सुसूचित गराउन स्वतन्त्र प्रेसको अहम् भूमिका रहेको बताउनुभएको छ । उहाँले नीर्भिकताका साथ आफ्नो स्वतन्त्रताको उपयोग गर्दै समाजलाई सुसूचित गर्न, सरकारलाई पहरेदारी गर्न नेपाली प्रेस जगतलाई थप प्रेरणा र हौसला मिलोस् भन्ने कामना पनि गर्नुभयो ।   नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको चौथो वार्षिक साधारणसभालाई पोखरामा सम्बोधन गर्दै उहाँले लोकतन्त्र, गणतन्त्र स्थापना एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि अग्रज पत्रकार तथा पत्रकारिता जगतले खेलेको भूमिका अविस्मरणीय रहेको उल्लेख गर्नुभयो । ‘नेपाली पत्रकारले दबाब र अभावसँग सम्झौता नगरी आफ्नो कर्मप्रति देखाएको सेवाभाव अनुकरणीय छ ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो – ‘सामाजिक उत्तरदायित्व बहन गर्दै सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गर्ने जिम्मेवारीलाई आत्मसाथ गरी सत्य, निष्पक्ष, सन्तुलित र मर्यादित रुपमा सूचना प्रवाह गर्नु पत्रकारिताको धर्म र जिम्मेवारी पनि हो ।’ उहाँले प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा अवसर र चुनौती दुवै सिर्जना भएको उल्लेख गर्दै डिजिटल मिडियाको अत्यधिक सदुपयोग गर्दै पत्रकारिताको विश्वसनियता अभिवृद्धि गर्ने दिशामा पत्रकार स्वयं क्रियाशील हुनेमा विश्वस्त रहेको बताउनुभयो । पत्रकारिताका नयाँ आयाम र प्रविधिको प्रयोगबारे पत्रकारलाई दक्ष बनाउनका लागि राज्यको महत्वपूर्ण भूमिका रहने बताउँदै प्रदेश प्रमुख भट्टले सत्य तथ्य, विश्वसनीय र भरपर्दो सूचना पाउने नागरिकको नैसर्गिक अधिकारलाई हामी सबैले सम्मान गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । विश्वव्यापी आर्थिक संकटको संवेदनशील घडीमा सञ्चारजगत र पत्रकारिता पेशालाई पारेको असरबारे आफू जानकार रहेको र आर्थिक सङ्कटले सञ्चारसंस्थाहरूको दिगोपनामा समस्या पार्ने खतरा देखापरिसकेको तथा नेपाली पत्रकारको पेसागत असुरक्षा र न्यूनतम पारिश्रमिक कार्यान्वयनमा समस्या रहेको बताउनुभयो । नेपाली सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरोकार पक्षसँग व्यापक सहकार्य गर्ने वातावरण बनोस् भन्ने शुभेच्छा राख्नुभयो । उहाँले भन्नुभयो – ‘पत्रकारिता क्षेत्रमा म आफै संलग्न रही नजिकबाट चिनेको छु। २०३८ सालमा सुदूर पश्चिमको पहिलो पत्रिका भीम सन्देश त्रैमासिकको संस्थापक सम्पादक भएर पत्रकारिताको अनुभव बटुलेको छु।’ गण्डकी प्रदेशको प्रदेश प्रमुख नियुक्तिपछि पहिलो विधेयक प्रमाणिकरण पत्रकार सम्बन्धित आमसञ्चार ऐन २०८० रहेको स्मरण गर्दै उहाँले यो ऐन पत्रकारहरुकै प्रत्यक्ष सहभागिता र आवश्यकताका आधारमा निर्माण भएको उल्लेख गर्नुभयो।   प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चार र सूचनाको हकलाई नेपालको संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएको बताउँदै भट्टले संवैधानिक रूपमै व्यवस्थित गरिएका ती हकहरूको पूर्णरूपमा संरक्षण र कार्यान्वयन गर्दै जिम्मेवार र मर्यादित पत्रकारिताको विकासका लागि प्रतिबद्ध रहेको जनाउनुभयो । श्रमजीवी पत्रकारको पेशागत अधिकार स्थापित गर्दै सञ्चार संस्था तथा पत्रकारहरुको सबिलकरणको दिशामा काम अघि बढोस् भन्ने कामना पनि गर्नुभयो ।  

काठमाडौं:      राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादन र उत्पादकत्व बढाइनुपर्ने बताउनुभएको छ । विश्व मजदुर दिवस, २०२४ को शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति पौडेलले मुलुकको आर्थिक समृद्धि र आत्मनिर्भरउन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत हुनुपर्ने बताउनुभएको हो । शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक हुन्छ । उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिक दुवैको योगदान उत्तिकै महत्वपूर्ण हुने भएकोले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ ।” विश्व मजदुर दिवसले स्वदेशी उत्पादनको प्रयोगमा जोड दिँदै श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायतका श्रमिक अधिकारलाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुन प्रेरणा मिल्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाइन्छ । यस वर्ष ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराकासाथ एक सय ३५ औँ विश्व मजदुर दिवस मनाइँदैछ । यस दिवसले श्रमिकको हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ विश्वभरिका सम्पूर्ण श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गर्नुभएको छ । नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक एवं श्रमको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई प्रत्याभूत गरेको छ । त्यस्तै, समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव नगरिने व्यवस्था समानताको हकमा छ । राष्ट्रपति पौडेलद्वरा जारी शुभकामना सन्देशमा मुलकमा लोकतन्त्रमा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्तरूप लिँदै जाने सन्दर्भमा श्रमिक वर्ग पनि लाभान्वित हुने उल्लेख छ ।

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको जग बसाल्न सरकार गम्भीरताका साथ लागिरहेको बताउनुभएको छ । विश्व श्रमिक दिवस, २०२४ का अवसरमा आज शुभकामना दिनुहुँदै उहाँले श्रमिकको हितरक्षालाई केन्द्रमा राखेर विदेशमा रहेका नेपाली, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील श्रमिकका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । नेपालको संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री दाहालले श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफ्नो हितरक्षाका निमित्त ट्रेड युनियन खोल्ने, सङ्गठित हुने र सामूहिक सौदाबाजी गर्ने हकलाई प्रत्याभूत गरिएको बताउनुभयो । श्रमजीवी वर्ग राज्यको बहुआयामिक विकासका आधारसमेत रहेको उल्लेख गर्दै उहाँले श्रमजीवी वर्गको हकहित र अधिकारको सुनिश्चितता नभएसम्म समानता, स्वाभिमान, सामाजिक न्याय र समृद्धि सम्भव नहुने स्पष्ट पार्नुभयो । “यही यथार्थलाई आत्मसात् गरेर नयाँ संविधानमा श्रमिकको हितलाई प्रत्याभूति गरिएको छ । उक्त संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु नै वर्तमानको हाम्रो महत्वपूर्ण कार्यभार हो”, प्रधानमन्त्रीले भन्नुभयो, “श्रमसम्बन्धी हक र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको विधान तथा नेपालले अनुमोदन गरेका अभिसन्धिहरूप्रति समेत सरकार प्रतिबद्ध छ ।” उहाँले युवा एवं बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारीको पर्याप्त अवसर उपलब्ध गराई उनीहरूको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन सरकार निरन्तर क्रियाशील रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले स्वदेशमा रोजगारीको पर्याप्त अवसर नभएसम्म रोजगारीको महत्वपूर्ण माध्यम वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाली श्रमिक र तिनका प्रतिनिधि संस्थाका रूपमा क्रियाशील ट्रेड युनियन श्रमिकको हकहित संरक्षणका निम्ति सङ्गठित, सक्षम, पेसामुखी र व्यावसायिक मर्यादातर्फ अग्रसर हुँदै आएकामा खुसी व्यक्त गर्नुहुँदै उहाँले नेपाल तथा विश्वभरिका मजदुर तथा श्रमजीवीमा शुभकामना व्यक्त गर्नुभएको हो । मजदुर तथा श्रमजीवी वर्गको एकता, सङ्घर्ष र बलिदानबाट आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनलगायतका हक अधिकार प्राप्त गरेको ऐतिहासिक दिनको स्मरणमा श्रमिक दिवस मनाइँदै आइएको छ । प्रधानमन्त्री दाहालले मई दिवसले मजदुरको हकहित र अधिकार स्थापित गर्न थप उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

काठमाडौं:    आज १ मे, मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाइन्छ । यस वर्ष ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराकासाथ विश्व मजदुर दिवस मनाइँदैछ । श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । मजदुर आन्दोलन चर्कदै गर्दा सन् १८८६ मा अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत् मजदुरमाथि व्यापक दमन गर्‍यो । प्रहरीको गोली लागि सात मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गरेको विश्व इतिहास छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महीनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालियो । विश्वका मजदुरले सो दिवसलाई विशेष पर्वका रुपमा लिँदै गुणस्तरीय जीवन बिताउन आफ्ना सुविधाको समयानुकूल बढोत्तरी तथा आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् । नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक एवं श्रमको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई प्रत्याभूत गरेको छ । नेपालमा मजदूर संगठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने तयारी गरेका छन् । नेपालमा विराटनगरमा विसं २००७ मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो ।

दाङ:   २०८१ वैशाख १६ गते बिहान करिब १० बजेतिर घरदेखि पश्चिमतिरको जङ्गलमा आगो लागेको थियो । सोही आगो निभाउन भनेर राजपुर गाउँपालिका–७ हाडबासका  खिमलाल  खत्री जानुभएको थियो । गाउँले सबै त्यहीँ गएको समयमा छिमेकीको एक घरमा आगोले भेट्यो । त्यही आगोले खत्रीको घर पनि भेट्यो । घरभित्र रहेको सबै अन्नपात जलेर छिनभरमै खरानी भयो । छोराले गाडीको हेबी लाइसेन्स बनाउन भनेको थियो त्यो बुझाउनका लागि एक लाख ऋण गरेर ल्याएको पैसा र घरमा भएको २० हजार पैसा थियो त्यो पनि जल्यो । घरमा भएको अन्नपातदेखि सबै सामग्री खरानी भयो ।    यस्तो होला भनेर हामीले सोचेका थिएनौँ अहिले खुल्ला आकाशमा बस्नु परेको छ खत्रीले भन्नुभयो । पाँच बोरा तोरी, मसुरो, चार क्विन्टल आलु थियो, सबै खरानी भयो । घरमा भएको अन्नपात लत्ताकपडा, भाँडाकुँडा केही पनि झिक्न नपाएको उहाँले सुनाउनुभयो । शरीरका कपडाबाहेक केही बचेको छैन । कुखुराको खोर, गाई गोठ र बस्ने घर सबै जलेर आँखै अगाडि खरानी भयो । त्यही खरानीको थुप्रो हेरेर दिनरात कटाउँदै छौँ उहाँले भन्नुभयो ।    सोही ठाउँकी लक्ष्मी भण्डारीको घर, गोठ, बाख्राको खोर र कुखुराको खोर जलेर खरानी भएको छ ।  एक्कासि आगो घरमा आयो चारैतिरबाट घेरा हालेको आगोको रापले घरभित्र बस्न सकेनौँ बाहिर निस्कँदा घरभित्रको सामान सबै जल्यो सुत्ने खाट, दराज, टेबल सबै जलेर खरानी भयो भण्डारीले भन्नुभयो, “छवटा बाख्रा र पाँच सय कुखुरा पनि जलेर खरानी भए ।” आगलागीले सबै जलेपछि केही सामग्री आएको छ, तर पकाउनका लागि भाँडा छैन । उहाँका लगाउने चप्पल पनि जलेर खाली खुट्टा हिँड्नु भएको थियो ।    सोही गाउँकी मिनीकुमारी बोहराको पाँच जनाको परिवार पनि खुल्ला आकाशमुनि बसेको छ । घरको अन्नपात, गोठ बाख्राको खोर सबै जल्यो । मान्छे कसरी सुरक्षित हुने भन्ने मात्रै सोच आयो सबै घरबाहिर रुवावासी गर्न थाल्यौँ । घर नजिकमा पानी पनि छैन केही पर बग्ने राप्तीमा तल झर्ने बाटो छैन त्यहाँबाट पानी ल्याउन सम्भव भएन । गाउँले सबैको घर छिनभरमै खरानी भयो । घर छेउमा रहेका रूख बिरुवा पनि जलेका छन् ।    वडा नं ७ का अध्यक्ष पुस्कर वली घटनास्थलमै हुनुहुन्थ्यो । घटनाका बारेमा जानकारी प्राप्त हुने बित्तिकै आफू त्यहाँ पुगेको उहाँले बताउनुभयो । स्थानीयवासीको उद्धारका लागि उहाँ लागिपर्नुभएको छ । प्रहरीसँगको सहकार्यमा क्षतिको विवरण सङ्कलन गर्न लाग्नुभएको छ । गाउँसम्म पुग्ने बाटो नहुँदा आगो निभाउन दमकल पुग्न नसकेको उहाँले बताउनुभयो ।   नजिकै राप्ती नदी छ तर त्यहाँबाट पानी ल्याउन भाँडा नभएका कारण आगो नियन्त्रण हुन नसकेको अध्यक्ष वलीले बताउनुभयो । आगलागीबाट २३ घर र एक सय १० जना प्रभावित भएका छन् । आगलागी स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीहरू परिचालन भए पनि पर्याप्त पानीको स्रोत नहुँदा र भौगोलिक कठिनाइका कारण आगो नियन्त्रणमा ल्याउन कठिनाइ भएको उहाँले बताउनुभयो । गाउँको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । रूखहरू जलेर धुवाँ उडिरहेको छ ।    पानी र बत्तीको समस्या गर्मी मौसम सुरु भएपछि जङ्गलमा आगो लाग्यो खानेपानीको पाइप सबै जल्यो । त्यसपछि हाडबासका स्थानीयलाई पानीको समस्या भयो । एक घण्टाको दूरीमा रहेको हाट बास खोलामा बालुवा खोस्रेर बनाइएको जरुवाबाट पानी ल्याएर जीविका चलाएको स्थानीय लक्ष्मी भण्डारीले बताउनुभयो । एक घण्टाको उकाली ओराली गरेर ल्याएको पानीले जीविका चलेको छ भण्डारीले भन्नुभयो, “आगलागी भएपछि गाउँमा बिजुली बत्ती छैन । तीन दिन भयो, बत्ती नभएकाले मोबाइल फोन चार्ज गर्न पनि सकेका छैनौँ । सञ्चारविहीन भएका छौँ ।”    आगलागीपीडितलाई स्वास्थ्य परामर्शमा ध्यान दिन अपिल  दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँवासीले आगलागीबाट ठूलो भौतिक क्षति व्यहोर्नु परेको घटनाप्रति नागरिक समाज दाङले दुःख व्यक्त गरेको छ । वैशाख १६ गते नजिकैको सामुदायिक वनबाट बस्तीमा पसेको आगोले हाडबास गाउँका २३ घरगोठ जल्दा दर्जनौँ चौपाया, पक्षी मर्नाका साथै अन्नपात, लत्ताकपडा, भाँडा वर्तन जलेर गाउँ नै खरानी भएको घटनाप्रति दुःख व्यक्त गर्दै पीडित गाउँलेको उद्धारपछिको उचित राहत व्यवस्थापनमा ध्यान दिन सबैमा हार्दिक अपिल गरेको छ ।   नागरिक समाज दाङका संयोजक नीमबहादुर थापा र सचिव नारायणप्रसाद श्रेष्ठद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ । पीडादायी घटनाप्रति मानवीय समवेदना आत्मसात् गरेर उदार मनले सहयोग कार्यमा जुट्न स्थानीय सरकार, सरकारी, गैरसरकारी कार्यालय, सङ्घसंस्था, व्यापार सङ्घ, रेडक्रस, उद्योगी, व्यवसायी एवम् सबै मनकारीमा नागरिक समाज दाङले अनुरोध गरेको छ ।   आगलागीका कारण गाउँवासीको बसाइ व्यवस्थापनसँगै खानपानमा ध्यान दिन तथा खानेपानीको पाइप जलेको हुँदा अर्को व्यवस्था नभएसम्मका लागि सुरक्षित खानेपानीको सहज रुपमा उपलब्ध गराउन आग्रह गरेको छ । आगलागीका कारण गाउँवासीमा विभिन्न प्रकारका स्वास्थ्य समस्या आउने सम्भावना भएको हुँदा स्वास्थ्य उपचारसँगै स्वास्थ्य परामर्शमा ध्यान दिन पनि समाजले अपिल गरेको छ । विपन्न परिवार बसोबास गर्ने घरको खरको छाना विस्थापन गरी टिन लगाउने अभियान अहिले अलपत्र परेको हुँदा यस प्रकारका विपद्बाट क्षति भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अविलम्ब खरको छानो विस्थापन अभियान कार्यान्वयन गर्न पनि राज्यका तीन तहका सरकारलाई सचेत गराइएको छ ।   बढ्दो गर्मी अनि हावाहुरीले जताततै आगलागीको जोखिम कायमै रहेको हुँदा जोखिम बस्तीमा सचेतना अभियान व्यापक बनाउन पनि सरोकार सबैमा नागरिक समाज दाङले ध्यानाकर्षण गराएको समाजका सचिव श्रेष्ठले बताउनुभयो । साथै, नागरिक समाजले आगलागीको घटनालगत्तै उद्धारमा अहोरात्र खटिएर सुरक्षा दिनुभएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय सरकार, जनप्रतिनिधि, अमिलिया वासी, स्थानीय, पत्रकारलगायत सबैमा आभार प्रकट गरेको छ ।   आगलागीबाट ८७ लाख ७५ हजार बराबरको क्षति गाउँमा रहेका २८ घरमध्ये २३ घर आगलागीबाट जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो । आगलागीबाट ८७ लाख ७५ हजार बराबरको क्षतिको प्रारम्भिक अनुमान रहेको प्रवक्ता मल्लले जानकारी दिनुभयो । पीडितलाई राहतस्वरुप घोराहीमा रहेको मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र र वडा कार्यालयले खाद्यान्नसहित चाउचाउ र बिस्कुट म्याट र त्रिपाल वितरण गरेको थियो । 

मुस्ताङ:     मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीको घुम्तीमा काठमाडौंबाट विद्यार्थी लिएर गएको गाडी दुर्घटना हुँदा २१ जना घाइते भएका हुन्।  प्रदेश नं.३–०१००६ख ६२२ को गाडी मुक्तिनाथबाट फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। अनामनगरको लिबर्टी कलेजका ३३ जना विद्यार्थी लिएर गएको गाडी दुर्घटनामा परेको प्रहरीको भनाइ छ। बसमा सवार २१ जना सामान्य घाइते भएका छन्। उनीहरूको जोमसोम अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेहरूमा सिराहा लहान १२ का २० वर्षीय आदेश आचार्य, भक्तपुर मध्यपुर ठिमी ३ बस्ने वर्ष २० का अनुज न्यौपाने, सिराहा गोलबजार ६ बस्ने वर्ष २१ कि ज्योति कुमारी साह, गुल्मी रुरु ५ बस्ने वर्ष २१ कि समीक्षा ज्ञवाली, काठमाडौं कीर्तिपुर ८ बस्ने वर्ष २० कि प्रतिक्षा खड्का छन्। यस्तै, ओखलढुंगा घर भई भक्तपुर चाँगुनारायण बस्ने वर्ष २० कि  बिन्दा दाहाल, काठमाडौं ९ एयरपोर्ट बस्ने १९ वर्षकी अनामिका थापा, कैलाली गोदावरी १० बस्ने वर्ष २१ को ध्रुवराज जोसी, भोजपुर ९ बस्ने वर्ष २० का पेसल बस्नेत, महोत्तरी जलेश्वर १ बस्ने वर्ष २२ कि रम्मा कुमारी, पाँचथर कुम्भायोग १ बस्ने वर्ष २३ को आदेश लावती पनि घाइते छन्। सुनसरी हरहरी ८ बस्ने २२ वर्षका निशान रसाइली, बटेश्वर २ बस्ने वर्ष २४ का सुरज कुमार परियार, बर्दिया मधुवन ६ का २० वर्षीय सुवास नेपाल, काभ्रे तेमाल ६ बस्ने २१ वर्षका सौगात त्रिपाठी, सर्लाही कौदेना १ बस्ने वर्ष २० को राहुल साह, काठमाडौँका साईरस तामाङ, सुर्यबिनायककी अनामितका सुवार, जनकपुर ११ का दीपक कुमार निधी, हरिवन ४ का २२ वर्षीय निरञ्जन साह र डोटी शिखर ८ बस्ने २१ वर्षका रोहित बलायर पनि घाइते रहेका मुस्ताङ प्रहरी प्रमुख डीएसपी भोजराज पाण्डेले बताए।

रुकुम पश्चिम:    ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान त्रिवेणीको सिम्रुत बजारमा भएको दुर्घटनामा परी त्रिवेणी गाउँपालिका–७, खाराका ४५ वर्षीय जयबहादुर गिरीको मृत्यु भएको हो । सिम्रुत बजारमा आज बिहान विपरीत दिशाबाट आएको रा १ ख ३२१७ नम्बरको ट्रकले गिरी सवार रा६प ८५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट चालक गिरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । ट्रक चालक छत्रेश्वरी गाउँपालिका–७, सल्यान निवासी २९ वर्षीय लक्ष्मण खड्कालाई नियन्त्रणमा लिएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।