सर्लाही: सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित राम जानकी मठको पोखरीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । ब्रह्मपुरी–२ का ६ वर्षीय अङ्कित साहको पोखरीमा डुबेर मृत्यु भएको हो । घर नजिकैको पोखरीमा नुहाउन पसेका साह डुबेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । उनलाई स्थानीयले तत्कालै पोखरीबाट बाहिर निकाले पनि बचाउन भने नसकिएको उहाँले बताउनुभयो ।
काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुनचाँदी व्यवसायीका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ । नेपाल सुनचाँदी कला व्यवसायी सङ्घको वार्षिक साधारण सभा तथा रजत जयन्ती समारोहको उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले सुनचाँदी व्यवसायीको कोटा वृद्धिलगायत जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभयो । “सुनचाँदी व्यवसायीका समस्या के छन् ? छलफलमा आउनुहोस्, जायज माग सम्बोधन गर्न म सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्छु”, उहाँले भन्नुभयो । राष्ट्र बैंकबाट सुनचाँदी खरिद गरेर उपभोक्तासम्म पुग्दा पाँचवटा माध्यम बीचमा रहेको मन्त्री भण्डारीले बताउनुभयो । राष्ट्र बैंकबाट सिधै व्यवसायीले खरिद गरेर उपभोक्ता माझ पुग्नुपर्ने उहाँको धारणा थियो । उहाँले भन्नुभयो, “उपभोक्तासम्म पुग्दा पाँच माध्यमका कारण झण्डै रु सात हजार महङ्गो पर्छ, यस्तो किन ?, सरकारले पहिला उपभोक्ता हर्ने हो त्यसपछि व्यवसायीलाई हेनुपर्छ ।” सुनचाँदी व्यवसायीका मागका बारेमा सरकारका तर्फबाट आफुले विभिन्न चरणमा छलफल गरेको उल्लेख गर्दै मन्त्री भण्डारीले छिट्टै व्यवसायीसँग छलफल गरेर सरकारले गर्नुपर्ने आवश्यक पहलकदमी आफ्नो मन्त्रालयबाट गर्ने प्रतिबद्धता जनाउनुभयो । चोरी पैठारीका कारण नेपालका सुनचाँदी व्यवसायी मर्कामा परेका उल्लेख गर्दै उहाँले भन्नुभयो, “चोरी पैठारी रोक्नसके सुनचाँदी व्यवसायीले व्यवसायमा मर्का बेहोर्नु पर्दैन, सुनचाँदी व्यवसायीको उचित व्यवस्थापन जरुरी छ ।” नेपालको सुनचाँदी व्यवसायमा कार्यरत झण्डै ६० प्रतिशत कालीगढ विदेशी रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले स्वदेशी कामदार बढाउन आवश्यक पहल गर्न व्यवसायीसँग आग्रह गर्नुभयो ।
चितवन: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिन समितिलाई बुझाएको बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले गोरखा मिडियासँग आफू संलग्नका बारेमा लागेको आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको बताउनुभयो । “आरोपका आधार तथ्य प्रमाणको छानबिनका लागि संसदीय समिति बनेको हो”, उहाँले भन्नुभयो, “त्यसलाई मैले आफूमाथि लागेको आरोपको स्पष्टिकरण दिने अवसरका रुपमा हेरेको छु ।” सभापति लामिछानेले शुक्रबार छानबिन समितिलाई १० घण्टा लामो बयान दिनुभएको थियो । उहाँले जिबी राईको विषयमा बेलैमा राम्ररी थाहा पाउन नसक्नु आफ्नो कमजोरी रहेको बताउनुभयो । ग्यालेक्सी टिभीका अध्यक्ष राईको सम्पत्तिको स्रोतको विषयमा हेर्ने काम राज्यका निकायको रहेको उहाँको भनाइ थियो । “मैले त्यहाँ हेरेर, जानेर र बुझेरै काम गरेको थिएँ । छोडेर गएको डेढ वर्षपछि विभिन्न अनुसन्धानबाट जानकारी आएपछि मात्र थाहा भएको कुरा हो । त्यतिखेर थाहा भएको कुरा होइन । त्यतिखेरै आएको भए त्यतिखेरै थाहा हुन्थ्यो । कतिपय कुरा जतिखेर उजागर हुन्छ त्यतिखेरै हेरिन्छ”, सभापति लामिछानेले भन्नुभयो, ‘उजागर नहुँदा त्यसबारेमा थाहा नहुनु स्वभाविक हो ।” सभापति लामिछानेले पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले लगाएको आरोपबारे समयले बताउँदै जाने उल्लेख गर्नुभयो ।
सङ्खुवासभा: सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुरलाई खोलाले बगाउँदा बेपत्ता भएका छन् । अरुण तेस्रोको विद्युत् गृहस्थल चिचिला गाउँपालिका–३ पुखुवामा कार्यरत मजदुर खाँदबारी नगरपालिका–४ सेकाहाका अन्दाजी ४५ वर्षीय गङ्गाबहादुर गुरुङ बेपत्ता भएका छन् । शनिबार बिहान साढे ७ बजे गुरुङलाई कागुवा खोला तर्ने क्रममा बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिशेककुमार श्रेष्ठले जानकारी दिनुभयो । अरुण तेस्रोको विद्युत् गृहस्थल पुखुवादेखि बिदामा घर फर्किदै गरेका गुरुङ खोला तर्ने क्रममा कागुवा बगाउँदा बेपत्ता भएका हुन् । बेपत्ता भएका गुरुङको नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । अरुण तेस्रो विद्युत् आयोजनामा नेपाली र भारतियसहित तीन हजार बढी मजदुर कार्यरत छन् । अरुण तेस्रो विद्युत् आयोजनाको काम भारतीय कम्पनी सतलज एसजेभिएनले गरिरहेको छ । आयोजनाबाट नेपालले २१ दशमलव नौ प्रतिशत अर्थात् एक सय ९७ मेगावाट बिजुली निःशुल्क पाउनुका साथै रोयल्टी र अन्य कर गरी अर्बौं रुपैयाँ पाउनेछ । आयोजना बनाउन रु एक खर्ब १५ अर्ब लाग्ने अनुमान गरिएको छ ।
काठमाडौं: भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा शुक्रबार यात्रुवाहक बस दुर्घटनाका घाइते आफ्ना नागरिकको स्वस्थ्यवस्थाबारे बुझ्न काठमाडौं आइपुग्नुभएको छ । उहाँ महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइेतको स्वास्थ्यवस्थाबारे जानकारी लिइरहनुभएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । पोखराबाट काठमाडौँतर्फ आइरहको युपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल मस्र्याङ्दी नदीमा खस्दा घाइते भएका १६ जनाको त्यहाँ उपचार भइरहेको छ । सो दुर्घटनामा २७ जनाको मुत्यु भएको थियो । घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट शुक्रबार नै काठमाडौँ ल्याइएको थियो । प्रहरीका अनुसार सो बसमा ४३ यात्रा गरिरहेका थिए । यसैबीच, चितवनको भरतपुर अस्पतालमा दुर्घटनामा ज्यान गुमाएकाहरुको शव परीक्षण भइरहेको छ । शव परीक्षणपछि भारत पठाइने चिवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।
चितवन: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण नहुने स्पष्ट पार्नुभएको छ । आज बिहान भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री भट्टराईले विश्वविद्यालयमा हुने यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयमा भएको गुण्डागर्दी नियन्त्रणका लागि नै गृहमन्त्रीसँग सुरक्षा मागेको उल्लेख गर्नुभयो । “विश्वविद्यालयमा राजनीति नभइ गुण्डागर्दी भएको हो”, उहाँले भन्नुभयो, “हरेक क्षेत्रमा गृहमन्त्रालयले सुरक्षा दिने भएका कारण गृहमन्त्रीसँग सुरक्षा मागिएको हो ।” विश्वविद्यालयमा गुण्डागर्दी र अपराधिकरण स्वीकार्य नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “गुण्डागर्दी र अपराधिकरण चरित्र हो । त्यस्ता प्रवृत्तिविरुद्ध सुरक्षा माग गरिएको हो । यस्ता गतिविधिमा राजनीतिक संरक्षण हुनु हुँदैन ।” मन्त्री भट्टराई नवलपुरमा हुने कार्यक्रममा सहभागी हुन यहाँ आउनुभएको हो ।
सर्लाही: मोटरसाइकल दुर्घटनामा सर्लाहीको कविलासी नगरपालिका–४, हेमपुरका पूर्ववडाध्यक्ष ४३ वर्षीय अरविन्दकुमार यादवको निधन भएको छ । बरहथवा नगरपालिका–१०, सीतापुरस्थित किसनपुर चोकमा शुक्रबार राति भएको दुर्घटनामा पूर्ववडाध्यक्ष यादवको निधन भएको प्रहरीले जनाएको छ । कविलासी नगरपालिकाको पिपरीयाबाट बरहथवातर्फ गइरहेको प्रदेश २–०३–०२० प ३२४५ नम्बरको मोटरसाइकल गएराति ९ः३० बजे एक साइकलमा ठोक्किएर दुर्घटना भएको र उहाँको घटनास्थलमै निधन भएको सर्लाही प्रहरीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । पूर्ववडाध्यक्ष यादवले चलाएको मोटरसाइकले एउटा साइकल ठक्कर दिएको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो । “साइकल, चप्पल र मोबाइलको खोल घटनास्थलमै रहेको तर साइकल चालक फरार छ”, उहाँले भन्नुभयो, “पूर्ववडाध्यक्षको घटनास्थलममै मृत्यु भएपछि साइकल चालक डराएर फरार भएको हुनसक्छ ।” साइकल चालकको खोजी तथा दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो । यादवको टाउकाको पछाडि भागमा गम्भीर चोट लागेको छ । नेकपा (एमाले) जिल्ला कमिटीका सदस्य रहनुभएका यादव २०७४ को निर्वाचनमा एमालेबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । यादवको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।
चितवन: पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण सुरु गरिएको छ । आज बिहानैदेखि भरतपुर अस्पतालमा शवको परीक्षण सुरु गरिएको हो । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको भरतपुरमा मृत्यु भएको हो । आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति नै चितवन ल्याइएको र अहिले शव परीक्षण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । शव परीक्षणपश्चात् भैरहवा हुँदै भारत पठाइने उहाँले जानकारी दिनुभयो । सो दुर्घटनामा १६ जना घाइते भएको र उनीहरुलाई शुक्रबार नै हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो ।
तनहुँ: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति चितवन पठाइएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो । दुर्घटनामा १६ जना घाइते भएको र उनीहरुलाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको थियो । उनीहरुको त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको प्रनाउ रायले बताउनुभयो । मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका रहेको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक शिव थापाको नेतृत्वमा दश जना र जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी उपरिक्षक वीरेन्द्रबहादुर शाहीको नेतृत्वमा ५१ जना, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन गण कुरिनटारबाट प्रहरी नायब उपरीक्षक विजय हमालको नेतृत्वमा ३५, नेपाली सेनाको कालीभञ्जन गण ९इ० बाट सेनाको टोली उद्धारमा जुटेको थियो ।