काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । यसैगरी, आज राति देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
काठमाडौं: खानेपानीमन्त्री प्रदीप यादवले नेपाली जनतालाई शुद्ध एवं सफा खानेपानी वितरण गर्नु मन्त्रालय र सम्बद्ध पक्षको प्रमुख दायित्व भएको बताउनुभएको छ । खानेपानी मन्त्रालयले आज मन्त्रालयमा आयोजना गरेको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०८०र०८१को वार्षिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले जनतालाई शुद्ध खानेपानी वितरण गर्ने पहिलो प्राथमिकतासहित आफूले काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पानी जीवनका लागि नभइ नहुने चिज हो, पर्याप्त बजेट नभएका कारण त्यही पानी पनि जनतालाई खुवाउन सकिएको छैन । त्यसैले हाम्रो पहिलो उद्देश्य जनतालाई शुद्ध खानेपानी वितरण गर्नु हो भनेर सबैले मिलेर काम गर्नुपर्छ ।” मन्त्री यादवले जनताका जायज मागलाई मन्त्रालयले आवश्यकताका आधारमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसैगरी उहाँले चुरे दोहोन तथा जलवायु परिवर्तनका कारण खानेपानीका स्रोत सुक्दै जाँदा अनेकन समस्या आउनथालेको बताउनुभयो । उहाँले भन्नुभयो, “मधेसमा चुरेको दोहनका कारण चापाकलमा पानी आउँदैन । पानीका स्रोत सुकेर देखिएका समस्या समाधानका लागि देशभरि नै जलस्रोतकोे अध्ययन गरेर आवश्यक काम गर्न आवश्यक छ ।” खानेपानी मन्त्रालयको बजेट बर्सेनी घट्दै जानथालेको प्रति मन्त्री यादवले दुःखसमेत व्यक्त गर्नुभयो । “अर्थ मन्त्रालयले हामीले पठाएका फाइल नै खोल्दैन, गर्न नसकिने कामका फाइल यो कारणले नसकिने भनेर लेखेर फिर्ता पठाइ दिए पनि हुन्थ्यो नी १ यो विषयमा अब प्रधानमन्त्रीसँग कुरा राख्छु ।” कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा जयबहादुर टण्डन, मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यलगायत कर्मचारीको सहभागिता रहेको थियो ।
काठमाडौं: सभामुख देवराज घिमिरेले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रमाणित गर्नुभएको छ । सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार उहाँले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ प्रमाणित गर्नुभएको हो । सो विधेयक सङ्घीय संसद्का दुवै सदनबट पारित भइसकेको छ । गत साउन ३० मा प्रतिनिधिसभाबाट पारित भएको विधेयक यही भदौ ६ गते राष्ट्रियसभाले पारित गरेको थियो । सभामुखले प्रमाणित गर्नुभएको यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ । राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएपछि विधेयकले कानुनको मान्यता पाउने व्यवस्था छ ।
तनहुँ: पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा गत शुक्रबार भएको बस दुर्घटनामा बेपत्ता एकजना पाँच दिनसम्म फेला पर्न सकेका छैनन् । पोखराबाट काठमाडौँतर्फ गइरहेको भारतीय नम्बर प्लेट युपी५३एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दीमा खस्दा बेपत्ता भएका २२ वर्षीय गोकर्णी सन्दीप सरोदे मङ्गलबारसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो । दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । बेपत्ता भएको सरोदेको खोजी भइरहे पनि फेला पर्न नसकेको प्रहरीले जनाएको छ । सोमबार नदीमा खसेको बस निकाल्ने क्रममा बसले च्यापिएको अवस्थामा छ कि भन्ने आशङ्का रहे पनि उनी फेला नपरेको प्रहरीको भनाइ छ । बेपत्ता भएका सरोदेका बुबाआमाको सोही दुर्घटनामा परी मृत्यु भएको छ । प्रनाउ रायले भन्नुभयो, “घाइतेहरूले दिएको विवरणका आधारमा उनी फेला परेका छैनन् । सम्भावित ठाउँमा खोजी भइरहेको छ ।” प्रहरीले गत सोमबार आठ घण्टाको प्रयासमा नदीबाट बस निकालेर सडक नजिकको भागसम्म ल्याएको थियो ।
लमजुङ: पहिरोले अवरुद्ध पोखरा–सिङ्दी–पसगाउँ सडक सञ्चालनमा आएको छ । कास्कीको मादी गाउँपालिका–८ उगीकुनासहित लमजुङको विभिन्न स्थानमा रुदी खोलाले कटान गर्दा एवं पहिरो खस्दा गत साउन १२ गतेदेखि सो सडक अवरुद्ध भएको थियो । सडक सञ्चालन हुन नसक्दा लमजुङ क्व्होलासोथर गाउँपालिका–५ सिङ्दी र वडा नं ६ पसगाउँ क्षेत्रका स्थानीयलाई समस्या हुँदै आएको क्व्होलासोथर–५ का वडाध्यक्ष गितबहादुर गुरुङले बताउनुभयो । डोजरको सहयाताले करिब एक हप्तामा सडक मर्मत गरेर सडक सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । पोखरा र रामबजार हुँदै बेँसीसहर जानका लागि पनि यही बाटो प्रयोग हुने गरेको छ । यहाँका अधिकांश स्थानीय पोखरा आवतजावत गर्ने गर्दछन् । त्यहाँका स्थानीयलाई बेँसीसहर आउनुभन्दा पोखरा जानलाई सहज र छोटो हुने भएकाले नागरिकता बनाउन, मालमोतलगायत मुख्य कामबाहेकका लागि यही सडकबाट पोखरा जाने गर्दछन् । सडक सञ्चालनसँगै स्थानीय हर्षित बनेका छन् ।
रामेछाप: दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कमा गएको पहिरोमा परी मृत्यु हुनेहरूको सङ्ख्या आठ पुगेको छ । यही भदौ ९ गते (आइतबार) बिहान गएको पहिरोमा परी चार घर बगाउँदा हराइरहेका १० मध्ये मङ्गलबारसम्म आठजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रदीपकुमार सिंहले बताउनुभयो । उहाँले मङ्गलबार एक महिलाको बायाँ गोडाको पैतालाको भागमात्र भेटिएपछि हराइरहेका आफन्तसँग अनुसन्धान गर्दा नङ पालिस लगाएको बाङ्गो औलाका आधारमा आफ्नी हराइरहेकी श्रीमती बिन्दा पहरीको भएको उनका श्रीमान् कुमार पहरीले स्वीकार गरेपछि सनाखत गरी परिवारको जिम्मा लगाइएको बताउनुभयो । गत शनिबार राति परेको अविरल वर्षाका कारण सो गाउँपालिकाको वडा नं ३ लेखर्कमा पहिरोमा परेर ११ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये एकजनालाई जीवितै उद्धार गरिएको थियो भने छजनाको शव सोही दिन नै निकालिएको थियो । त्यसपछि एकको शव र हिजो एकजनाको पैतालाको भाग फेला परेपछि मृत्यु हुनेको सङ्ख्या आठ पुगेको हो । उक्त पहिरोमा परी हराइरहेका सोहि वडाका ५५ वर्षीय काले पहरी र ५० वर्षीय झ्याइपुरी पहरी अझै बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । पहिरोमा परी सो वडाकी ३० वर्षीया चण्डिका श्रेष्ठ, निजका १८ महिनाका छोरा आयुष श्रेष्ठ, सोही वडाका ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरी शव आइतबार नै फेला पारी परीक्षणपश्चात् परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिनुभयो ।
म्याग्दी: चीन र भारत जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुबारी क्षेत्रको पहिरोले दुर्घटनाको जोखिम बढेको छ । कालीगण्डकी किनारको पाखोमा निर्माण भएको सडकमा खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम बढेको हो । स्तरोन्नतिका क्रममा रहेको बेनी–जोमसोम–सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले गत वर्षदेखि सृजना भएको सिरुबारीको पहिरोले दुःख दिइरहेको बताउनुभयो । “करिब एक किलोमिटरमाथिको पाखो बगेको छ”, उहाँले भन्नुभयो “खसेको पहिरो पन्छाउदै सावधानी अपनाएर यातायात सञ्चालन गरिएको छ ।” आकाशबाट पानी पर्नेबित्तिकै पाखोबाट ढुङ्गा, लेदो र गेगरसहितको पहिरो खसेर सडकमा थुप्रिन्छ । हिलोमा सवारीसाधन फस्ने, गुुडिरहेका सवारीमाथि ढुङ्गा खस्ने, यात्रीलाई चोटपटक लाग्ने जोखिम छ । यही भदौ ४ गते पोखराबाट बेनी हुँदै जोमसोमतर्फ जाँदै गरेको ग१ख ७७१७ नम्बरको बस सिरुबारीको पहिरोमा गुडिरहेको अवस्थामा ठूलो ढुङ्गा खसेर च्यापिदा दुईजना यात्रा घाइते भएका थिए । पहिरोले सयौँ रोपनी खेतीयोग्य जमिन र जङ्गल नष्ट भएको छ । सवारी चालक तम परियारले त्रासैत्रासमा गाडीलाई पहिरो पार गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । सिरुबारी क्षेत्रमा करिब पाँच सय मिटर सडक पहिरोले छियाछिया बनाएको छ । मुस्ताङ जिल्ला, म्याग्दीको अन्नपूूर्ण गाउँपालिकाका बासिन्दाका साथै पर्यटक र तिर्थयात्रीलाई पहिरोका कारण जोखिम र सास्ती भएको छ । सिरुबारी, महभिर, बैसरी, गुइँठेभिरलगायत ठाउँमा पहिरोको उच्च जोखिम भएकाले रातको समयमा यात्रा नगर्न र सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय, रघुगङ्गा, अन्नपूूर्ण गाउँपालिका र बेनी–जोमसोम–कोरला सडक आयोजनाले अपिल गरेका छन् । ती ठाउँमा खस्ने पहिरो पन्छाएर यातायात सञ्चालन गर्न सडक विभागको डोजर, लोडर, ब्याकुहोलोडर तयारी अवस्थामा राखिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख धु्रवकुमार झाले बताउनुभयो । पहिरो, कटान र बाढीको जोखिम भएको ठाउँमा दीर्घकालीन समाधानका लागि अध्ययन गरेर भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा योजना माग गरिएको उहाँले बताउनुभयो । योजना र बजेटको अभावमा पहिरो रोकथामका लागि दीर्घकालीन काम गर्न नसकेको झाले बताउनुभयो ।
म्याग्दी: धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट आज साँझ पुन:हिउँपहिरो खसेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा यही असोज ७ गते अपराह्न पनि हिउँ पहिरो खसेको थियो । थासाङ गाउँपालिका–२ का वडाध्यक्ष समेत रहेका थासाङ गाउँकार्यपालिकाका प्रवत्ता गौतम शेरचनले हिउँपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएको बताउनुभयो । “यसअघिको पहिरो मूलखर्क क्षेत्रमा थुप्रिएको थियो, आजको हिउँपहिरो बोक्सीखोलाको नजिकै धेरै तलसम्म आएको छ”, उहाँले भन्नुभयो, “हिउँपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएकाले सतर्कता अपनाइएको छ ।” बोक्सीखोला कालीगण्डकीको सहायक नदी हो । आज साँझ ५ः४५ मा हिउँपहिरो खसेको थियो । आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सीखोलामा पर्दछ । यसअघि विसं २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिरोले एक सय ५० भन्दाबढी चौँरीगाई मरेका थिए ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गास्थित भुरुङ्दी खोलामा एक विदेशी नागरिक मृत फेला परेका छन् । खोलामा मृत फेला परेका नागरिक स्पेनका इरिक कासानोभास (पुरुष) रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । आइतबार स्पेनबाट नेपाल आएका इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) तिखेढुङ्गाबाट उल्लेरी हुँदै घोरेपानी जाने क्रममा सम्पर्कबिहीन भएको खुल्न आएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख मोहन कुमार थापाले आइतबार तिखेढुङ्गास्थित मौजाखोला नजिकै गोरेटो बाटोमा २ वटा वेवारिसे झोला भेटिएको सूचनापछि खटिएको प्रहरीको टोलीसहित जनप्रतिनिधि र एक्यापका प्रतिनिधिको रोहबरको झोला हेर्दा स्पेनका नागरिकको भएको खुल्न आएको बताए । ‘आइतबार हामीलाई कास्कीको अन्नपूर्ण गाउँपालिका–९ स्थित तिखेढुङ्गास्थित मौजाखोला नजिकै गोरेटो बाटोमा २ वटा वेवारिसे झोला भेटिएको सूचना आएको थियो’, कास्की प्रहरी प्रमुख थापाले भने, ‘वेवारिसे अवस्थामा भेटिएको झोला, प्रहरी, जनप्रनिधि र एक्यापको प्रतिनिधिको रोहबरमा झोला खोली हेर्दा स्पेनका नागरिकको २ वटा पासपोर्टसहित सामान मात्र भेटिएपनि उनीहरु सम्पर्कमा थिएन ।’ यो पनि पढ्नुहोस घोरेपानी हिँडेका स्पेनिस पर्यटक बेपत्ता उनका अनुुसार वेवारिसे अवस्थामा झोला मात्र भेटिएपछि वरिपरि खोजतलाज गर्ने क्रममा नजिकै रहेको खोला र झरणामा टोपी, टिसर्ट, स्टिक, जिपिएस मात्र फेला परेको बताए । आज (मंगलबार) अन्नपूर्ण गाउँपालिका–९ भुरुङ्दी खोलामा कास्की प्रहरी र सशस्त्र प्रहरी बल मालेपाटनबाट खटिएको प्रहरीको टोलीले खोजतलाज गर्ने क्रममा इरिक कासानोभास (पुरुष) मृत फेला परेको उनले बताए । सोही स्थानमा बेपत्ता भएका मोलास जुन्का मेसी (महिला) को भने खोजतलाज जारी रहेको प्रहरीले जनाएको छ ।