मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताले प्राप्त गरेको अधिकारको रक्षा र थप विकासका लागि आफ्नो पार्टीले निरन्तर अभियान चलाउने बताउनुभएको छ ।      माओवादी केन्द्रको वाग्मती प्रदेश समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले आफ्नो पार्टी जनअधिकार संरक्षण गर्न लागिपरेको र थप अधिकार प्रदान गर्न उद्यत रहेको उल्लेख गर्नुभयो ।  उहाँले पूर्ववर्ती सरकारले विद्युत् व्यापार सम्झौता गरेको, आर्थिक विकास एवं सुशासनका पक्षमा प्रतिबद्ध भएर अभियान सञ्चालन गरेको तथा चीन र भारतसँग सुदृढ सम्बन्धको विकास गरी मुलुकको हितमा काम गरेको स्मरण गर्नुभयो । पूर्वप्रधानमन्त्री दाहालले कुशासन र अनियमितताका विरुद्धमा निर्मम भएर प्रस्तुत हुन सरकारलाई आग्रह गर्नुभयो । आगामी निर्वाचनमा माओवादी एक्लै जाने स्पष्ट पार्दै उहाँले पहिलो पार्टी भएर देखाउने दाबी गर्नुभयो । विभिन्न समूहमा विभक्त माओवादी धारका पार्टीबीच पनि चाँडै एकता हुने उहाँले बताउनुभयो ।   उत्पादन अभियानलाई निरन्तर रुपमा अगाडि बढाउने र युवालाई रोजगारी प्रदान गर्ने बताउँदै अध्यक्ष दाहालले निर्वाचन प्रणालीका कारण अनियमितता बढेको हो भन्नुभयो ।  उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै मुलुकका लागि ग्राह्य भएको बताउनुभयो । सहकारी र लघुवित्त पीडितले न्याय पाउनुपर्ने र दोषीमाथि कारवाही हुनुपर्नेमा उहाँको जोड थियो ।          पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनको महान् अभियान पूरा भएकाले आर्थिक विकासको अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।  उहाँले मजदुर र किसान वर्गको हितका खातिर नयाँ विशेषतासहितको समाजवादको आधार तयार पार्न पार्टीले विशेष प्रयास थालेको बताउनुभयो । आफ्नो पार्टी नेतृत्वको पूर्ववर्ती सरकारले देश र जनताका पक्षमा दूरगामी महत्वका काम गरेको विवरण पनि उहाँले सार्वजनिक गर्नुभयो ।      केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, नेता हितमान शाक्य, यशोदा सुवेदी, दलित मुक्ति मोर्चाका अध्यक्ष दलजीत सिर्पाली, पूर्वमन्त्री रामेश्वर राययादव, परशुराम तामाङलगायत वक्ताले माओवादी केन्द्र सशक्त रुपमा अगाडि बढ्ने बताउनुभयो ।          आमसभामा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका कलाकारले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यसअघि राजधानीको विभिन्न स्थानबाट निस्केको जुलुस प्रदर्शनीमार्गमा पुगेर सभामा परिणत भएको थियो । 

तनहुँ:    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले पर्यटनबाट समृद्धि सम्भव रहेको बताउनुभएको छ ।       तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित पर्यटकीयस्थल ऐनापहराको आज भ्रमणपछि महासचिव गुरुङले पर्यटनलाई रोजगारीसँग जोडेर अगाडि लैजानुपर्नेमा जोड दिनुभयो ।  नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण रहेको जनाउँदै महासचिव गुरुङले पर्यटन क्षेत्रको विकासमा स्थानीय तहले गरेको कार्य प्रशंसनीय रहेको बताउनुभयो । गाउँपालिकाले ऐनापहरामा पर्यटन पूर्वाधार निर्माण गरी पर्यटक आकर्षित गर्ने खालका गतिविधि बढाएकामा उहाँले खुसी व्यक्त गर्नुभयो ।       गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पूर्वाधार निर्माण गरिएको जानकारी गराउनुभयो । चुमानले ऐनापहरालाई गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यस्थल बनाउने अभियानमा लागिएको बताउनुभयो ।  उहाँका अनुसार गाउँपालिकाले यहाँ रहेका ढुङ्गामा आकृति खोपेपछि यस ठाउँमा घुम्न आउनेको सङ्ख्या बढेको छ । यहाँ दैनिक तीन सयभन्दा बढी पर्यटकले भ्रमण गर्ने गरेको चुमानको भनाइ छ ।      उहाँले भन्नुभयो, “यसै रहेका ढुङ्गालाई कलात्मक बनाएर पर्यटकलाई थप आकर्षित बनाउन यो कामलाई अगाडि बढाइएको हो ।” झरना झरेको ठाउँको ढुङ्गामा गणेशको आकृति बनाइएको छभने झरना नजिकैको ढुङ्गामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ ।       ऐनापहरामा उद्यान निर्माणका लागि गत आर्थिक वर्षमा रु एक करोड ४० लाख बजेट विनियोजन गरिएको थियो । गाउँपालिकाले यस ठाउँमा स्काई साइक्लिङ र सिसाको पुल बनाउने योजना अगाडि सारेको छ । सर्वसाधारणको सुविधाका लागि शौचालय गत वर्ष नै निर्माण भइसकेको छ । 

ललितपुर:   उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।       राष्ट्र निर्माणका लागि समाजलाई रुपान्तरण गर्न खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्छ भन्ने बताउनुभएको छ ।      गणेशमान सिंह प्रतिष्ठानद्वारा आज यहाँ आयोजित वीर गणेशमान चौथो राष्ट्रिय टेनिस प्रतियोगिताको समापन समारोहमा उहाँले खेलकुदको माध्यमबाट सामाजिक रुपान्तरणमा योगदान पुग्नाका साथै अनुशासित जनशक्ति विकासमा पनि सहयोग पुग्ने बताउनुभयो ।  उहाँले विद्यालय तहदेखि नै टेनिसलगायत खेलकुदलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न राष्ट्रिय खेलकुद परिषद्लाई सुझाव दिनुभयो ।       प्रतिष्ठानका कार्यसमिति सदस्य भाष्करमान सिंहले प्रतियोगिताका निम्ति सहयोग गरेका सबै सङ्घसंस्थाप्रति आभार व्यक्त गर्नुभयो ।       नेपाल टेनिस सङ्घका सचिव मालिका राणाले प्रतियोगिताका माध्यमबाट खेलाडी उत्पादनका साथै प्रतिभा प्रस्फुटनमा सहयोग पुगेको बताउनुभयो । 

काठमाडौं:     प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी महिना अजरबैजानको बाकुमा हुने जलवायुसम्बन्धी विश्व सम्मेलन (कोप–२९) हिमालदेखि समुद्रसम्मका विषयलाई सशक्त रुपमा उठाइने बताउनुभएको छ ।      वन तथा वातावरण मन्त्रालयले शुक्रबार आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनमा उहाँले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा आफूले राखेका जलवायु न्यायसम्बन्धी विषयलाई कोप–२९ सम्मेलनमा सशक्त रुपमा आवाज उठाउने बताउनुभयो ।      वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को तेस्रो बैठकले जलवायु परिवर्तनमा नेपालको अडान र दृष्टिकोणलाई कोप–२९ मा प्रस्तुत गर्ने निर्णय गरेको छ । कोप–२९ मा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम छ ।       प्रधानमन्त्री ओलीले मुलुकका हिमालहरुले विश्व तापमानलाई सन्तुलित बनाउन योगदान गरिरहेको सन्दर्भमा विश्वमा भएको कार्बन उत्सर्जनका कारणबाट हिमालहरु जोगाउनु र  देशले कार्बन उत्सर्जन गर्ने मुलुकबाट उचित क्षतिपूर्ति पाउनु विश्वको हितमा हुने बताउनुभयो ।

इलाम:    जिल्लामा उत्पादित तयारी चियाको माग अन्तर्राष्ट्रिय बजारमा बढी भए पनि यस वर्ष उत्पादनमा कमी आएको छ । भारत, चीन, फ्रान्सलगायत देशबाट तयारी चियाको माग आउने गरेको चिया व्यवसायी बताउँछन् ।       इलाम नगरपालिका–५ बिब्ल्याँटेका चिया व्यवसायी शरद् सुब्बालले यसवर्ष विदेशी व्यापारीले दुई हजार किलो ‘स्पेसल टी’ माग गरेकामा उत्पादनमा कमी आएकाले एक हजार पाँच सय किलो चिया मात्र उपलब्ध गराउने सकिने बताउनुभयो ।      “सुइरोबाट बनाइने तयारी चियाको माग विदेशी बजारमा बढी छ”, उहाँले भन्नुभयो, “उहाँहरुले पहिला नै रकम पठाएर आवश्यकताअनुसार ‘बुकिङ’ गर्नुहुन्छ । उत्पादनमा कमी आएकाले मागअनुसार निर्यात गर्न सकिरहेका छैनौँ ।”      कोरोना महामारीका बेलादेखि निर्यात रोकिएको चियाको अन्तर्राष्ट्रिय बजार विस्तारै चलायमान बन्दै गएको सुब्बाले बताउनुभयो । यस वर्ष तेस्रो मुलुकबाट तयारी चियाको माग बढी आएको उहाँले जानकारी दिनुभयो ।       यहाँको तीनजुरे चिया कारखानाले यस वर्ष ‘गोल्डेन ब्याल्क’, ‘ग्रीन टी’लगायत फरक स्वाद र गुणस्तरका २० क्विन्टल तयारी चिया फ्रान्स पठाएको कारखानाका व्यवस्थापक दिनेश श्रेष्ठले जानकारी दिनुभयो । गत वर्ष एक हजार तीन सय किलो तयारी चिया उत्पादन भएको थियो ।       गत वर्ष चीनमा आयोजित अन्तर्राष्ट्रिय टी एक्पोमा तीनजुरे ‘ग्रान्ड गोल्ड’ विधिमा पुरस्कार पाउन सफल भएको उल्लेख गर्दै व्यवस्थापक श्रेष्ठले यस वर्ष अन्तर्राष्ट्रिय बजारको माग पनि बढेको बताउनुभयो ।       यस वर्ष ग्रीनहिल चिया उद्योगले आठ हजार तयारी किलो चिया भारतसहित तेस्रो मुलुकमा निर्यात गरेको उद्योगका सञ्चालक टङ्क दाहालले जानकारी दिनुभयो । “मागअनुसारको गुणस्तरीय चियाको परिमाण दिन सकिएको छैन”, उहाँले भन्नुभयो, “यो वर्ष हरियोपत्ती गत वर्षभन्दा कम उत्पादन भएकाले आवश्यकता र मागअनुसार तयारी चिया निर्यात गर्न सकिएको छैन ।”      ग्रिनहिलमा गत वर्ष ५५ हजार किलो तयारी चिया उत्पादन भएको जनाउँदै यस वर्ष ४० देखि ४२ हजार किलोमात्र उत्पादन हुने अनुमान गरिएको सञ्चालक दाहालले बताउनुभयो ।       झापास्थित मेची भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा रु तीन अर्ब १६ करोड ३८ लाखको तयारी चिया यहाँबाट निकासी भएको थियो । एक करोड ३४ लाख ३३ हजार आठ सय ५८ किलो चिया निकासी भएको कार्यालयले जनाएको छ ।      नेपालमा उत्पादन हुने चियामध्ये १० प्रतिशत मुलुकभित्रै खपत हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । करिब २० प्रतिशत तेस्रो मुलुक र बाँकी भारत जाने गरेको बोर्डका कृषि विकास अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । मौसममा आएको परिवर्तनले गत वर्षको तुलनामा यस वर्ष हरियो चिया उत्पादनमा कमी आएको उहाँले बताउनुभयो ।       बोर्डले अर्गानिक चिया उत्पादन बढाउन किसानलाई तालिमसहित प्राविधिक सहयोग गर्दै प्रोत्साहन वृद्धि गर्ने कार्याक्रम ल्याउने योजना बनाइरहेको अधिकारीले जानकारी दिनुभयो । “गत वर्ष एक हजार तीन सय किसानका गोठ सुधार गरेका छौँ । गोठ सुधारसँगै गोबरबाट बनेको मलको उचित व्यवस्थापनमा किसानलाई सहयोग गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “चिया निर्यातमा अनुदानका कार्यक्रम सञ्चालन भइरहेका छन् ।”      पहिले अन्तर्राष्ट्रिय बजारमा चियाको माग कम हुने गरेकामा अहिले प्रचारप्रसारका कारण माग बढ्दै गएको कृषि विकास अधिकृत अधिकारीले जानकारी दिनुभयो । तोस्रो मुलुकका व्यापारीले चियाको उचित मूल्य दिएसँगै यहाँका व्यापारी तथा किसान पनि प्रोत्साहित भएकाले आगामी दिनमा उत्पादन वृद्धि हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।      इलाममा आठ हजार आठ सय ७६ किसान चियाखेतीमा आश्रित छन् । जिल्लाको सात हजार दुई सय ३६ हेक्टर जमिनमा चियाखेती हुँदै आएको छ ।

काठमाडौं:    अफगानिस्तानका महिला तथा बालिकाको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै महिला विभेद उन्मुलनसम्बन्धी राष्ट्रसङ्घीय समिति (सिइडिएडब्ल्यू)ले उनीहरुको शिक्षा, रोजगारी, आवागमन, सार्वजनिकस्थलमा उपस्थितिलगायत आधारभूत मानव अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिएको छ ।      सिइडिएडब्ल्यूका सदस्य एवं अफगानिस्तान मामिला प्रमुख बन्दना राणाले शुक्रबार जेनेभास्थित राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को प्रधान कार्यालयमा भएको बैठकमा महिला हकअधिकारका सम्बन्धमा सिइडिएडब्ल्यू निर्धारण गरेका मान्यताको पालना गर्न अफगान सरकार तथा नागरिक समाजलाई निर्देशन दिनुभएको छ ।      लैङ्गिक अधिकार सुनिश्चित गर्ने हिंसा एवं त्रासरहित वातावरणमा महिला तथा बालबालिकाको पठनपाठन एवं रोजगारीको अधिकार प्रत्याभूत गर्न र विगतमा व्यक्त प्रतिबद्धता पालना गर्न समितिले निर्देशन दिएको हो ।  समितिले अफगानिस्तानसम्बन्धी चौथो आवधिक प्रतिवेदन तयारी थालेको र त्यसबाट महिला तथा बालिकाहरुको वास्तविक स्थितिबारे जानकारी हासिल गर्न मद्दत पुग्ने विश्वास समितिले व्यक्त गरेको छ ।

म्याग्दी:   अन्नपूर्ण गाउँपालिकाको पर्यटकीयस्थल मोहरेडाँडामा पाँचकिलोभन्दा कम तौलका दैनिक उपभोग्य हलुका सामान ढुवानी गर्न ड्रोन प्रयोग भएको छ ।           ड्रोन प्रयोग गरेर अन्नपूर्ण गाउँपालिका–८ नागीबाट सोही वडाको पर्यटकीयस्थल मोहरेडाँडामा सामान ढुवानी गरिएको सो गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । राष्ट्रिय आविष्कार केन्द्रले बनाएको ड्रोन प्रयोग गरिएको हो ।       “केन्द्रका प्राविधिक टोलीले शुक्रबार र शनिबार नागीबाट मोहरेडाँडामा ड्रोनमा झुण्ड्याएर सामान पठाएर परीक्षण गर्नुभएको थियो”, उहाँले भन्नुभयो, “पहाडी र विपद् प्रभावित क्षेत्रमा औषधि र उपभोग्य अत्यावश्यक सामान ढुवानी गर्न ड्रोन उपयोगी देखिए ।”  मोहरेडाँडालगायत पर्यटकीयस्थलमा सामान ढुवानीका लागि ड्रोनको प्रयोगलाई निरन्तरता दिन आविष्कार केन्द्रका अध्यक्ष डा महावीर पुनसँग समन्वय भएको अध्यक्ष पुनले बताउनुभयो । 

दाङ:     रोल्पाको कोइलाबाट तुलसीपुरतर्फ आइरहेको रा १ ज ८२२ नम्बरको जिप तुलसीपुर–३ साततलेमा आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  मृत्युहुनेमा दङ्गीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय हीरामणि बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका–६ का १९ वर्षीय सुरेश खड्का रहेका  छन् ।  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापका अनुसार दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो  ।  उहाँका अनुसार जिप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो ।  जिपमा पाँच जना सवार थिए । जिपमा सवार अन्य तीन जना  गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।

सोलुखुम्बु:     विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झन्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् ।  गत असोजमा आठ हजार नौ सय दुईजना पर्यटक भ्रमणका लागि खुम्बु पुगेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।       जसबाट निकुञ्जले रु दुई करोड तीन लाख ४८ हजार पाँच सय ५३ राजस्व सङ्कलन गरेको निकुञ्जका कर्मचारी विवेक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार निकुञ्जले प्रतिपर्यटक नेपाली रु एक सय, सार्क मुलुक रु एक हजार पाँच सय र अन्य मुलुक रु तीन हजार प्रवेश शुल्क लिने गरेको छ ।      चालु आर्थिक वर्ष २०८१र८२ को साउनमा एक सय २५ तथा भदौमा एक हजार तीन सय ३१ पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । सो महिनामा रु तीन लाख ४५ हजार नौ सय ७५ र भदौमा रु ३२ लाख ३६ हजार छ सय ९६ राजस्व सङ्कलन भएको कर्मचारी श्रेष्ठले बताउनुभयो ।       “यतिबेला यहाँ पर्यटक ‘सिजन’ चलिरहेकाले पर्यटकको सङ्ख्या धेरै छ, सगरमाथासहित धेरै हिमाल निकुञ्ज क्षेत्रमै पर्छ । पर्यटक आवगमन बढेपछि उनीहरूसँग शुल्क र अभिलेख सङ्कलनमा हामी व्यस्त छौँ”, श्रेष्ठले भन्नुभयो ।       सगरमाथा क्षेत्र भ्रमणका लागि पर्यटक काठमाडौँ र रामेछापको मन्थलीबाट जहाज तथा हेलिकप्टरमार्फत लुक्ला पुग्ने गर्छन्भने कतिपय काठमाडौँबाट सडकमार्गमार्फत सल्लेरी हुँदै लुक्ला पुग्ने गर्छन् । फागुन १५ देखि जेठ १५ गतेसम्म र असोज, कात्तिक, मङ्सिर महिनालाई मुख्य पर्यटकीय सिजन मानिन्छ भने त्यसबाहेकका समयलाई ‘अफसिजन’ मानिन्छ ।       सिजनमा दैनिक एक हजार जनाभन्दा बढी पर्यटक प्रवेश हुने सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । सगरमाथा क्षेत्र विशेषगरी हिमाल आरोहण, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनका लागि धेरैको रोजाइमा पर्ने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताउनुभयो । विसं २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ ।       पू्र्वी नेपालको  सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरासमेत छन् । यस निकुञ्जभित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको थियो ।       सन् १९७९ देखि यस निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो । यो निकुञ्ज एक हजार आठ सय मिटरदेखि आठ हजार आठ सय ४८ मिटरसम्मको उचाइमा छ । यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग आदि पक्षी पाइन्छन् ।