काठमाडौं:   सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीहरूबीच वार्तापछि ६ बुँदे सहमति भएको छ। बिहीबार अर्थ मन्त्रालयमा सम्पन्न छलफलमा सहमति जुटेसँगै व्यवसायीहरूले जारी आन्दोलन स्थगित गरेका छन्। सुनचाँदी व्यवस...

नवलपुर:    नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट घाइते भएकी महिलाको पनि मृत्यु भएको छ ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका–१० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसले शुक्रबार राति सात वर्षीय बालक विशाल श्रेष्ठ र बालककी हजुरआमा श्रीमाया मानन्धरलाई ठक्कर दिएको थियो ।       बसको ठक्करबाट गैँडाकोट–११ का सात वर्षीय विशाल श्रेष्ठको घटनास्थलमा मृत्यु भएको थियो । बालककी मामाघरकी हजुरआमा स्याङ्जाकी ५५ वर्षीय श्रीमाया मानन्धर गम्भीर घाइते हुनुभएको थियो ।       घाइते श्रीमायाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो । प्रहरीका अनुसार ठक्कर दिने सवारीसाधन र चालक प्रहरी नियन्त्रण छन् ।

काठमाडौं:    काठमाडौं उपत्यकाबाट एउटै नम्बर प्लेट भएका पाँच वटा मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।       काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले शङ्कास्पद अवस्थामा से ७ प ८५६२ नम्बरको ३५० सिसीको बुलेट मोटरसाइकल चलाइरहेका अछाम घर भई कोटेश्वर बस्ने वर्ष २८ का हिमाल खत्रीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उक्त तथ्य खुलेको हो ।      खत्रीसँग बरामद भएको बुलेट मोटरसाइकल नेपालमा दर्ता नभएको जानकारी पश्चात थप अनुसन्धान गर्दै जाँदा सोही नम्बरको अर्को मोटरसाइकल छ भन्ने पत्ता लागेको हो ।       मोटरसाइकलको खोजतलासमा निस्केको टोलीले मध्यवानेश्वरमा बस्दै आएका अछाम चौरपाटी गाउँपालिका–२ घर भएका २५ वर्षीय प्रमोद कुँवरलाई समेत से ७ प ८५६२ नम्बरको ३५० सिसीको बुलेट मोटरसाइकलसहित नियन्त्रणमा लिइएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वकराज खड्काले जानकारी दिनुभयो । कार्यालयले आज घटना विवरणसहित आरोपीलाई सार्वजनिक गरेको छ ।      उक्त मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश ०२–०४७ प १९७५ रहेको र काठमाडौँस्थित रानीबारीबाट गत साउन २८ गते हराएको थियो ।   रानीबारी बस्ने रुपन्देहीका अनुज पाण्डेले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए । सोधपुछका क्रममा से ७ प ८५६२ नम्बर भएको अर्को मोटरसाइकलसमेत रहेको चोरीमा सङ्लग्न कुँवरबाट खुलेपछि उक्त मोटरसाइकल पनि छाउनीबाट नियन्त्रणमा लिइएको हो ।       अनुसन्धानका क्रममा वास्तविक नम्बर बागमती प्रदेश ०२–०३८ प ९२५३ रहेको उक्त मोटरसाइकल काडाँघारी बस्ने ओखलढुङ्गाका उत्तमकुमार पराजुलीको रहेको खुल्न आएको हो । उक्त मोटरसाइकल ललितपुरको बालकुमारी क्षेत्रबाट गत वर्ष असोजमा हराएको थियो ।      थप अनुसन्धान एवं कारबाहीका लागि चोरीमा संलग्न कुँवरलाई बरामद भएका मोटरसाइकलसहित प्रहरी वृत्त लैनचौरमा र नेपालमा दर्ता नगरी भन्सार छलेको आशङ्कामा बुलेट मोटरसाइकलसहित खत्रीलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरण पठाइएको प्रवक्ता खड्काले जानकारी दिनुभयो ।      थप अनुसन्धान गर्दै जाँदा करिब एक महिना अगाडि से ७ प ८५६२ नम्बर प्लेट भएको मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारिएको थियो ।  वास्तविक नम्बर बा प्र ०२–०२२ प ५०७८ भएको उक्त मोटरसाइकल बागबजार बस्ने हितेश तण्डुकारले सिफल एरियाबाट हराएको भनी ट्राफिक प्रहरीमा निवेदन दिएका थिए ।       थप सूचनाका आधारमा नियन्त्रणमा लिइएको वास्तविक नम्बर से ७ प ८५६२ भएको भन्सार पठाइएकोमा उक्त मोटरसाइकल आरोपी खत्रीको रहेको तथ्य खुलेको छ । उनले उक्त मोटरसाइकलको वास्तविक कागजात प्रयोग गरी अन्य मोटरसाइकलसमेत त्यही नम्बर राखेर प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । 

काठमाडौं:  सरकारले सामाजिक सञ्जाल टिकटकको प्रयोगरपहुँचमा लगाएको प्रतिबन्ध हटाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आज सूचना जारी गरी सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकलाई उक्त प्रतिबन्ध हटाउन निर्देशन दिइएको जनाएको छ ।       प्राधिकरणको निर्देशनसँगै प्रयोगकर्ताका मोबाइलमा टिकटक सञ्चालन हुन थालेका छन् । सरकारले यही भदौ ६ गते सामाजिक सञ्जालका रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको थियो ।  सरकारले सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा थप नकारात्मक असर नपुगोस् भन्ने हेतुले थप व्यवस्थित र मर्यादित तुल्याउने गत कात्तिक २७ गतेदेखि नेपालभित्र टिकटकको प्रयोगमा रोक लगाएको थियो । 

पोखरा:    पोखरा महानगरपालिका वडा नं. १३ ले घुम्ती सेवा प्रवाह गरेको छ ।  अशक्त जेष्ठ नागरिक तथा फरक क्षमता भएका सामाजिक सुरक्षा भत्ता लाभग्राही नागरिकलाई घरमै पुगेर सेवा दिइएको वडाध्यक्ष किरण बरालले जानकारी गराए ।  घरमै वडाको सेवा पाउँदा नागरिक पनि खुशी छन् । सामाजिक सुरक्षा भत्ताकै लागि वडा धाउनुपर्ने समस्याबाट उनीहरुलाई मुक्ति मिलेको छ । वडा सचिव, वडा सदस्य लगायतका कर्मचारीहरु स्थानीयकै घरमा गएर सेवा दिएका छन् ।  पोखरा १३ को गतिविधिले त्यस ठाउँको स्थानीयलाई सरकार घरमा नै आएको आभाष भएको छ ।  संघीयताको मर्मअनुसार सेवा प्रवाह गर्न पाउँदा वडाध्यक्ष बराल पनि खुशी छन् । नागरिकलाई सरल र सहज सेवामा उनको दैनिकी बित्न थालेको छ ।  भौतिक विकास सँगै शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा समेत काम गर्दै आएको वडाले नागरिकमैत्री वातावरण बनाउँदै समस्याको समाधान गर्ने काम गर्दै आएको छ ।  “हामी नागरिकको सेवामा तल्लिन छौं । नागरिकलाई कसरी हुन्छ ? सरल र सहज रुपमा सेवा प्रवाह गर्ने सोच हाम्रो हो । आशा छ हामीले सुरु गरेको घुम्ती सेवा प्रभावकारी बन्नेछ ।”, वडाध्यक्ष बरालले भने ।  वडाले घुम्ती सेवालाई निरन्तरता दिने प्रतिबद्धता समेत उनको छ । नमुना वडाको रुपमा रहेको वडा १३ ले सामाजिक, सांस्कृतिक, धार्मिक पक्षलाई पनि सुदृढ बनाउँदै लगेको छ ।   

काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीले विपन्न विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रवृत्ति अनुदान रकम विद्यार्थीले पाए नपाएकाबारे सरकारले अनुगमन गर्ने बताउनुभएको छ । आज सामाजिक सञ्जाल फेसकुकमार्फत उहाँले सबै स्थानीय तहमा यस विषयमा अनुगमन गरिने जानकारी दिनुभएको हो । प्रधानमन्त्री ओलीले सामुदायिक विद्यालयमा कक्षा (६–१०) का विपन्न विद्यार्थीका लागि वार्षिक रु १८ र विज्ञान विषय अध्ययन गर्न वार्षिक रु २४ हजार रुपैयाँ अनुदान दिन सरकारले रु ६० करोड बजेट अनुदान दिइरहेको बताउनुभयो ।  “दुर्गम तथा अन्य क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत २२ वटा सूचीकृत जाति र सीमान्तकृत वर्गका गैरआवासीय विद्यार्थीका लागि प्रतिविद्यार्थी वार्षिक रु एक हजारदेखि रु तीन हजार पाँच सयसम्म छात्रवृत्तिका लागि रकम प्रदान गरिएको छ ।  गैरआवासीय छात्रवृत्तिअन्तर्गत देशभरका १५ लाख ५० हजार विद्यार्थीले छात्रवृत्ति पाउनेछन् । यसका लागि रु ५० करोड रकम विनियोजन भएको छ”, प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ ।  यसैगरी उहाँले शैक्षिक दृष्टिले पछि परेका समुदाय, अतिविकट हिमाली जिल्लाका विद्यार्थीलगायत सातवटा लक्षित समूूहका ११ हजार चार सय विद्यार्थीका लागि मासिक रु पाँच हजारका दरले आवासीय छात्रवृत्ति प्रदान गरिएको समेत बताउनुभएको छ ।  “उल्लेखित छात्रवृत्ति रकम प्रत्येक स्थानीय तहका प्रतिविद्यार्थी लागत हिसाब गरी सशर्त अनुदानमा वित्तीय हस्तान्तरण गरिएको छ । यससम्बन्धी कार्यविधि शिक्षा मन्त्रालयको वेबसाइटमा राखिएको छ”, प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।  

झापा:    आकर्षक रोजगारीको प्रलोभनमा पारेर पूर्वीनाका काँकडभिट्टाबाट नेटवर्किङ व्यापार, घरेलु कामदार र पसल श्रमिकको बहानामा नेपाली किशोरीलाई  भारतको विभिन्न सहरमा पु¥याउने गरिएको पाइएको छ ।      कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न पहाडी जिल्लाबाट जागिरको प्रलोभन देखाएर ल्याइएका किशोरीलाई माइती नेपालका सीमा निगरानीकर्ताले जाँच गरेर सुरक्षित रुपमा घर फर्काइरहेको माइती नेपालका कोशी प्रदेश संयोजक गोविन्द घिमिरेले बताउनुभयो ।      “विगत सात महिनामा हामीले काँकडभिट्टा बोर्डरमा निगरानी गर्दा १८ वर्षमुनिका एक सय १९ जना नाबालिगलाई उद्धार गरेका छौँ”, उहाँले भन्नुभयो, “उद्धार गरिएका ती अधिकांश किशोरी छन् । उनीहरुलाई मानव बेचबिखनमा संलग्न गिरोहले रोजगारीको बहानामा फकाएर भारत लैजाँदै थियो ।”      पछिल्लो समय मानव बेचबिखनको शैली फेरिएको जनाउँदै उहाँले नेपाली युवतीलाई भारतीय भूमि पु¥याएर भिजिट राहदानीमार्फत घरेलु कामदारका लागि हङ्कङ र खाडी मुलुक लैजाने प्रवृत्तिसमेत बढेको बताउनुभयो । माइती नेपालले मानव बेचबिखनका लागि भइरहेका आपराधिक गतिविधि रोक्न सीमामा निगरानी बढाएको समेत जनाएको छ ।      “एक दशक पहिलेको कुरा गर्ने हो भने नाकाबाट लुकीछिपी नेपाली किशोरीहरुलाई भारत पु¥याएर सिधै यौन शोषण हुने कोठीमा बन्धक बनाइन्थ्यो”, उहाँले भन्नुभयो, “ श्रम शोषण गर्ने शैली बदलिएको छ । सामाजिक सञ्जालबाट अपत्यारिलो तलब पाइने जागिरको लोभ देखाउने र भारत लगेर जबर्जस्ती श्रम शोषण गर्ने गिरोहको चलखेल अचेल बढेको पाइएको छ ।”      सन् २०२४ को जनवरीदेखि जुलाईसम्मको सात महिनामा माइती नेपालले पूर्वीनाका काँकडभिट्टामा भारत जाँदै गरेका छ हजार सात सय ९१ जनालाई सीमामा रोकेर जाँच गरेको जनाएको छ । यसमध्ये आठ सय एक जनालाई परामर्शपछि सुरक्षित रुपमा फर्काइएको छ ।      सीमामा रोकेर जाँच गरेर फर्काइएका आठ सय एक जनामध्ये १८ वर्ष मुनिका एक सय १९ जना नाबालिग थिए । माइती नेपालको तथ्याङ्कअनुसार सोही अवधिमा काँकडभिट्टा नाकाबाट उद्धार गरेर सुरक्षित रुपमा २२ जना नाबालिगलाई घर पु¥याइएको छ ।            उक्त अवधिमा भारतको विभिन्न सहरमा जोखिमपूर्ण श्रम शोषणमा परेका चार जना नाबालिगलाई उद्धार गरेर नेपाल ल्याइएको घिमिरेले जानकारी दिनुभयो । माइती नेपालले काँकडभिट्टालगायत विभिन्न नाकामा निगरानीका लागि कर्मचारी परिचालन गर्दै आएको छ । उनीहरुले भारत जान लागेका बालबालिका र शङ्कास्पद व्यक्तिहरुलाई तत्कालै सोधपुछ र जाँच गर्दै आएका छन् ।      भारतको दार्जिलिङ, सिलिगुढी घुम्न जाने र नातेदारको घरमा पाहुना खान जाने भन्ने बहाना बनाएर गिरोहले नेपाली किशोरीहरुलाई नाका कटाउने गरेको माइती नेपालको सीमा निगरानीकर्ता गङ्गा मगरले बताउनुभयो ।       “ कहाँ जाने बहिनी भनेर सोध्यो भने कोहीले दार्जिलिङ घुम्न जान हिँडेको भन्छन् भने कोहीले आन्टीको घरमा पाहुना लाग्न गएको भनेर हामीलाई झुक्याउन खोज्छन्”, सीमा निगरानीकर्ता मगरले भन्नुभयो, “उनीहरुको हाउभाउ र बोलाइबाटै हामीलाई उनीहरुलाई कसैले प्रलोभनमा पारेर भारत लैजाँदैछ भन्ने थाहा भइहाल्छ । घर ठेगाना, जाने ठाउँको नाम र कामको प्रकृति सोधीखोजी गरेपछि उनीहरुको अवस्था खुलिहाल्छ । भारत लैजाने गिरोहले नै उनीहरुलाई बोर्डरमा ढाँट्न सिकाएको हुन्छ । अठार वर्षमुनिका किशोरीलाई हामी कडा निगरानीमा राख्छौँ ।”      केही वर्षयता काँकडभिट्टा नाकाबाट लुकीछिपी भारतको सिलिगुढी आसपास पु¥याएर नेटवर्किङ धन्धामा नेपाली किशोरीलाई फसाउने प्रवृत्ति बढेको माइती नेपाल काँकडभिट्टाका संयोजक घिमिरेले बताउनुभयो ।      भारतको सिलिगुढी, चेन्नाइलगायत सहरमा पु¥याएर ३० हजार भारु मासिक तलब दिने लोभ देखाएर नेपाली चेलीलाई फसाउने गरिएको र लगिसकेपछि होटल, रेस्टुराँ र घरेलु कामदारका रुपमा बन्धक जस्तो बनाएर काममा लगाउने गरिएको धेरै गुनासो आउने गरेको उहाँले जानकारी दिनुभयो ।       पश्चिम नेपालको जुम्ला, बाजुरा, दाङलगायत जिल्लाबाट ऋण काढेर रोजगारी खोज्दै आएका किशोरी इम्पोरियम, ग्लोबल, नेस्क्ट ग्रिप, आर्ज ट्रेडलगायत विभिन्न नेटवर्किङ धन्धामा आफ्नो भएभरको सबै रकम डुबाएर विचल्लीमा पर्ने गरेको माइती नेपालको सम्पर्कमा उद्धार भएकाहरुले बताउने गरेका छन् ।

गोरखा:     गोरखा नगरपालिका–१० स्थित बिरिन्चोक नजिकैको खोल्सीमा घाइते अवस्थामा देखिएको चितुवा मृत फेलापरेको छ । बजार क्षेत्र नजिकै खोल्सीको झाडीमा घाइते अवस्थामा भेटिएको चितुवाको उद्धारमा ढिलाइ हुँदा मृतावस्थामा फेलापरेको हो ।  मृत भेटिएको चितुवा वयस्क अवस्थाको पोथी चिुतवा रहेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनमोहन शालिण्यले जानकारी दिनुभयो ।  “स्थानीयवासीले चितुवा भेटिएको जानकारी गराएपछि डिभिजन वन कार्यालय गोरखाबाट कर्मचारी परिचालन गरी बुधबार दिनभरि उद्धारको प्रयास गरिएको भए पनि सकिएको थिएन”, उहाँले भन्नुभयो, “बिहीबार उद्धारका लागि सोही स्थानमा पुगेर खोजी गर्दा बिरिन्चोक बजार नजिकै पानी ट्याङ्कीमा चितुवा मृतावस्थामा फेला प¥यो ।” चितुवाको शरीरमा कुनै चोटपटक नदेखिएको उहाँको भनाइ छ । “शरीरमा घाउचोट केही छैन”, उहाँले भन्नुभयो, “चितुवालाई कसैले विष खुवाएको वा आफैँ अस्वस्थ भएर मरेको हुनसक्छ ।” वन डिभिजन कार्यालय गोरखासँग चितुवा उद्धारका लागि डार्ट गर्ने जनशक्ति नहुँदा उद्धारमा ढिलाइ भएको प्रमुख शालिण्यको भनाइ छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा मृत चितुवाको परीक्षण गरी डिभिजन वन कार्यालय परिसरमा गाडिएको उहाँले जानकारी दिनुभयो ।

उदयपुर:   यहाँको कटारी नगरपालिका–१० स्थित  सोरुङ छविसेमा आमा–छोरा हत्या घटनाको अनुसन्धानमा प्रहरी खटिएको छ ।  घटना घटेको २४ घण्टा बितिसक्दा पनि परिवारको तर्फबाट प्रहरीमा  जोहरी दरखास्त दर्ता भएको छैन ।         बिहीबार बिहान ४० वर्षीय निर्मला थापा र उनकी छ वर्षीय छोरा आरुस थापा हत्या गरी मृत्यु भएको अवस्थामा फेलापरेका थिए । घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कटारीको टोली घटनास्थल पुगेका थिए ।  मृतकहरूको शव सर्जमिन मुचुल्का गरी शव परीक्षणका लागि कटारी अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय कटारीका निमित्त प्रमुख प्रहरी निरीक्षक उमेश महतोले जानकारी दिनुभयो ।        बिहीबार बेलुकीसम्म पीडितको तर्फबाट कसैले जाहेरी दरखास्त प्रहरीमा नदिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । हत्या गरिएका निर्मला थापाको श्रीमान् अशोक थापा दुई वर्षअघि दोस्रो विवाह गरी भारततिर गएका थिए । श्रीमान्ले दोस्रो विवाह गरेपछि निर्मला एक छोरासँग गाउँको वडा कार्यालय नजिकै पसल सञ्चालन गर्दै आएकी थिइन् । बिहीबार बिहान आमा–छोरा नै बेडमा घोप्टो अवस्थामा मृत भेटिएको र टाउकामा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको देखेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा अनुसन्धानका लागि विज्ञ प्रहरी टोली खटाइसकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजन चापागाईले बताउनुभयो ।

काठमाडौं:   पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गर्नुभएको छ । खुलमटारमा आज एक कार्यक्रम आयोजना गरी उहाँले नेपालका लागि ओलम्पिकमा पहिलो पदक प्राप्त गर्न सफल प्रलेशालाई सम्मान गर्नुभएको हो । उहाँले पलेशासँगै प्रशिक्षक कविराज नेगी लामा, व्यवस्थापक रामचन्द्र श्रेष्ठ र पलेशाका बुबा प्रदीपलाई पनि सम्मान गर्नुभएको थियो ।   सो क्रममा अध्यक्ष दाहालले पलेशाको जितले संसारभरि रहेका नेपालीले गौरव गर्ने अवसर प्राप्त भएको बताउनुभयो ।  “ओलम्पिकको इतिहासमा पहिलोपटक नेपालले पदक प्राप्त गर्नु सामान्य विषय होइन, यसले विश्वभरि रहेका नेपालीका लागि गौरव गर्ने अवसर प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “खेल क्षेत्रले राष्ट्रिय एकता, आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय कूटनीतिलाई प्रवर्द्धन गर्छ, त्यसैले पलेशाको यो जित अन्तर्राष्ट्रिय इतिहास कायम गर्ने महत्त्वपूर्ण जित हो ।”   खेल क्षेत्रमा राज्यले बढी लगानी गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “अहिले समय फेरिएको छ, खेलले अन्तर्राष्ट्रिय युद्ध रोक्नेदेखि ठूलाठूला समस्याको समाधान पनि दिएको छ । अहिले पलेशाले पदक जितेपछि राष्ट्र एक ढिक्का भएको छ, सबले गर्व गरेका छन्, सब खुुसी भएका छन् ।”   पलेशाको जित राष्ट्रिय एकताको आधार र अन्तर्राष्ट्रिय कूटनीति प्रवर्द्धनमा ऐतिहासिक बन्न पुगेको उल्लेख गर्दै उहाँले आगामी ओलम्पिकमा पनि थप सफलताको शुभकामना दिनुभयो ।  अध्यक्ष दाहालले यस जितका लागि आधार तयार पार्ने प्रशिक्षक, व्यवस्थापक, तेक्वान्दो सङ्घ र घरपरिवारलाई राष्ट्रका लागि योगदान गरेकामा धन्यवाद र बधाई दिनुभयो । सो अवसरमा विजेता पलेशाले पदक प्राप्त गर्दाको अनुभूति सुनाउँदै आगामी ओलम्पिकमा स्वर्ण पदकका लागि तयारी गर्ने बताउनुभयो ।  कार्यक्रममा प्रशिक्षक कविराज नेगी लामा, व्यवस्थापक रामचन्द्र श्रेष्ठ, नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशम्शेर राणा, महासचिव दीपराज गुरुङलगायत पदाधिकारी, राखेपका सदस्यसचिव टङ्कलाल घिसिङ र पलेशाका बुबा प्रदीपले आफ्ना अनुभव सुनाउनुभएको थियो ।