काठमाडौं:   सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीहरूबीच वार्तापछि ६ बुँदे सहमति भएको छ। बिहीबार अर्थ मन्त्रालयमा सम्पन्न छलफलमा सहमति जुटेसँगै व्यवसायीहरूले जारी आन्दोलन स्थगित गरेका छन्। सुनचाँदी व्यवस...

काठमाडौं:   प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ । दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान  ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो ।  मन्दिरका चार ढोका बेलुकी भक्तजन लाममा रहुन्जेल खुला गरिने जनाइएको छ । रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा भीड देखिन्छ । बिहान केही समय वर्षाले दर्शनार्थी प्रभावित भए पनि अहिले सहज रूपमा दर्शन एवं पूजा आराधना गरिरहेको उहाँले बताउनुभयो । पानी रोकिएसँगै पशुपति क्षेत्रमा हजारौँ भक्तजनको घुइँचो लागेको छ । पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि चारवटा मार्गको व्यवस्था गरिएको कोषले जनाएको छ । कोषले यस वर्षको हरितालिका ९तीज० पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने बर्तालु भक्तजनका लागि सहज बनाउने गरी सबै व्यवस्था गरेको जनाएको छ । बर्तालुको भीडलाई ध्यान दिँदै कोषले आज विशेष पूजाका लागि रसिद काटेको छैन । कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरेको कोष संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख ईश्वरमान भण्डारीले जानकारी दिनुभयो । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ताचप्पल आर्यघाट जाने वाग्मती नदीमाथिका दुई पुल पार गरेपछिको मध्य क्षेत्रमा राख्नेगरी व्यवस्था मिलाइएको छ । बर्तालु जुन ढोकाबाट भित्र प्रवेश गर्छन् त्यसै ढोकाबाट बाहिर निस्कने गरेका छन् । तीजमा दर्शन गर्ने भक्तजनका लागि योसहित चारवटा लामको व्यवस्था गरिएको छ । दोस्रो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ताचप्पल शङ्कराचार्य मठअघिको क्षेत्रमा राख्ने व्यवस्था गरिएको छ । तेस्रो लाम गौशाला–पिङ्गलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ताचप्पल बज्रघरअघिको भागमा राखिएको छ । चौथो लाम गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ताचप्पल गुरु मन्दिरअघिको खुला भागमा राखिएको छ । दर्शनार्थीका सवारी पार्किङ गर्नका लागि तिलगङ्गा आँखा अस्पतालतर्फको खुला क्षेत्र, सिफल चौर, गुह्येश्वरीपारिको खाली भाग, महानगरीय प्रहरी वृत्त गौशाला परिसरको खाली भाग छुट्याइएको छ । पर्वसँग सम्बन्धित सरकारी निकायका कर्मचारीको सवारी भने कोषको कार्यालय र अमालकोट कचहरीको कार्यालय परिसरमा राख्ने व्यवस्था गरिएको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र कोषका सुरक्षाकर्मी सहितको एकीकृत सुरक्षा योजना लागू गरिएकाले पशुपति क्षेत्रको सुरक्षा कडा बनाइएको छ । दर्शनार्थीको भीड भएको क्षेत्रमा सवारी निषेध गरिएको छ । पशुपति क्षेत्रमा नेपाली सेनालगायतले स्वास्थ्य शिविरको सेवा दिएका छन् । हरितालिका (तीज) पर्वका अवसरमा आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वरलगायत देशभरका शिव मन्दिरमा पनि भक्तजनको घुइँचो छ । देशभरका शिवालयमा बर्तालु महिला, पुरुषको भीड लागेको छ ।

बागलुङ (ढोरपाटन):   बागलुङको बान्द्रे खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका बागलुङ नगरपालिका –४ बान्द्रे अढाइथरका २० वर्षीय कमल सापकोटाको शव फेला परेको छ । सापकोटाको शव फेला परेसँगै मृतकको संख्या तीन पुगेको छ ।       घटनास्थलभन्दा पाँच सय मिटर तल सापकोटाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो ।  बिहीबार राती १२ बजे आएको बाढीले सोही वडाको कुँडुलेदेखि मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटर बगाएको थियो ।       मोटरसाइकल र स्कुटर बगाउँदा मुत्यु भएका बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अविशेक रेग्मीको शव रातिनै घटनास्थलदेखि दुई सय मिटर तलबाट उद्दार गरी धौलागिरि अस्पतालमा लगिएको प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो ।   यो पनि पढ्नुहोस   बागलुङमा बाढीले बगाउँदा दुईको मृत्यु, एक जना बेपत्ता      आज बिहान फेला परेका सापकोटाको शव पनि पोस्टमार्टमका लागि धौलागिरि अस्पताल ल्याइएको उहाँले जानकारी दिनुभयो ।

काठमाडौं:   हिन्दू नारीको महान् पर्व हरितालिका तीजलाई परम्परागत रूपमा महिलाको दुःख, पीडा साट्ने दिनका रूपमा सीमित बनाए पनि पछिल्लो समयमा आएर महिला स्वतन्त्रता, समानता र सशक्तीकरणका रूपमा हेरिँदै आएको छ । पित्तृसत्तात्मक समाजमा महिलाका दबाइएका आवाज, एउटा चेलीले घरमा भोग्नुपरेको दुःख, पीडाबाट छुटकारा लिएर माइतीघरमा आमा, दिदीबहिनी, साथीभाइसँग भेटघाट गरी गीतमार्फत आफ्ना वेदना पोख्ने तिजलाई महिला सशक्तीकरणको रूपमा हेर्न थालिएको हो । नेपाल बार एशोसिएसनका पूर्वउपाध्यक्ष रक्षा बस्याललाई महिला स्वतन्त्रताका दिनका रूपमा आवाज उठाउँदै आएको पर्वलाई आपसी प्रेस र सद्भावका रूपमा मनाउनुपर्छ भन्ने लाग्छ ।  “आफ्नो स्वास्थ्यलाई ख्याल गर्नुपर्छ, श्रीमान्का लागि व्रत बस्नेभन्दा पनि यो पर्वले परिवारमा आपसी सद्भाव कायम गर्छ”, उहाँले भन्नुभयो, “व्रत बस्नु स्वास्थ्यका लागि राम्रो हो, बस्नैपर्छ भन्ने पनि छैन, पारिवारिक भेटघाट, रमाइलो मोहल तयार हुन्छ, त्यो राम्रो हो ।”, उहाँलाई तिज महिलाले मात्रै मनाउनुपर्छ भन्दा पनि राष्ट्रिय पर्वका रूपमा मनाउनुपर्ने भन्ने लाग्छ । अखिल नेपाल महिला सङ्घका अध्यक्ष टुकाभद्र हमालको बुझाइमा महिलाको स्वतन्त्रताका दिनका रूपमा हिन्दू महिलाले मनाउँदै आएको राष्ट्रिय पर्व तीज हो ।  “पहिला अहिलेजस्तो सडक सुविधा थिएन, टाढा विवाह गरेर पठाउने चलन थियो, एक दिन तिजमा बोलाएर खुवाउनुपर्छ भन्ने थियौ”, उहाँले भन्नुभयो, “घरमा भोगेका पीडा माइतीघरमा आएर सासू, देउर, जेठानी, नन्द, आमाजुले दिएको दुःख गीतमार्फत गाउँथे, अहिले महिला सशक्तीकरणको राम्रो दिन बनेको छ ।” यो पर्व मनाउँदै गर्दा महिला सचेत भएर निरंकुशताविरुद्ध, समाजमा भएका महिलामाथि हुने हिंसाविरुद्ध, सामाजिक रुपान्तरण र चेतनाका गीत गाउन थालेको उहाँको अनुभव छ ।  “समाज परिर्वतशील छ, महिलाका साझा सवालका विषयमा तिजलाई मनाउनुपर्छ, महिला एकजुट हुनुपर्छ”, नेतृ हमालले भन्नुभयो, “महिलाले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप उपलब्धि हासिल गर्ने विषयमा गीत गाउनुपर्छ ।” महिलाले खाएर नाचेरमात्र पर्वको सार्थकता नहुने र महिलाको हकअधिकारको आवाज उठाउने, क्षमता अभिवृद्धि गर्ने र आयआर्जन गर्ने खालका काम गर्नुपर्छ भन्ने उहाँको ठम्याइ छ । सञ्चारकर्मी तथा महिला अधिकारकर्मी बन्दना राणाले तीज पर्वलाई समानता, सशक्तीकरण र सहअस्तित्वको उत्सवका रूपमा नौ वर्षदेखि ‘तिज उत्सव’ मनाउँदै आउनुभएको छ । यस वर्ष उहाँले सुदूरपश्चिमको कञ्चनपुरमा तिज संवाद गर्नुभएको छ । “तिज पर्वलाई महिला सशक्तीकरण, समानता, सद्भावको उत्सवका रूपमा मनाउनुपर्छ”, संयुक्त राष्ट्रसङ्घको महिलामाथि हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (सीड) कमिटीका सदस्य राणाले भन्नुभयो, “नेपाली संस्कृतिको कुरीतिहरूलाई हटाउँदै संस्कृति र प्रथाको गर्व गर्दै राम्रो पक्षलाई अगाडि लैजानुपर्छ भनेर तिज संवाद मनाउन लागिएको हो ।” उहाँलाई तीज पर्व महिला स्वतन्त्रताको दिनका रूपमा मनाउने तरिका राम्रो लाग्ने उल्लेख गर्दै थप्नुभयो, “पृत्तिसतात्मक सोचका कारण महिलालले स्वतन्त्रता एकदम कम हुन्छ, सहरी महिलालाई मात्र हेरेर हुँदैन, गाउँगाउँमा महिलाको अवस्था अहिले पनि उस्तै छ, महिला पनि एक दिन माइत आउँन, आफ्ना आमा, दिदीबहिनी, साथीभाइसँग भेट्न पाउनु राम्रो हो ।” महिला सशक्तीकरण र सद्भावका लागि पर्व असाध्यै राम्रो रहेको र गाउँगाउँमा धेरै महिला माइत जान पाउनु, दिदीबहिनी रमाउन पाउनु असाध्यै खुसीको कुरा भएको राणाको भनाइ छ ।  “एउटा वर्गले श्रीमान्का लागि व्रत बस्ने भन्ने पनि छ, हुन त व्रत बस्दा स्वास्थय पनि राम्रो हुन्छ, तर लहैलहैमा व्रत बस्न जरुरी छैन, करकापमा व्रत बस्न भएन”, उहाँले थप्नुभयो, “महिला सशक्तीकरण, समानता र सदभावका दृष्टिकोणले पर्व असाध्यै राम्रो हो ।” संस्कृतिविद् डा शोभा ढुङ्गानाका अनुसार पहिला हिन्दू नारीले मात्र तिज मनाउने भए तापनि अहिले सबै धर्म, समुदायका महिलाले मनाउने गरेको र मुलतः महिलाको पुनःमिलनको पर्व हो ।  उहाँले भन्नुभयो, “महिलाबीच वर्षमा एक दिन भए पनि एकापासमा भेटघाट हुने अवसर मिलेको छ, संस्कृतिको प्रसार भएको छ, महिलाले खुसी साट्न पाएका छन् । केही विकृति पनि छ, त्यसलाई कम गरेर संस्कृति, स्वतन्त्रता दिवस र महिलाको पुनःमिलनको पर्वका रूपमा मनाउनुपर्छ ।” डा. ढुङ्गानाका अनुसार परम्पराअनुसार श्रीमान्को दीर्घायुको कामना गरी व्रत बस्ने, माइतमा आमा, दिदीबहिनीसँग भेटघाट गर्ने, दुःखसुखका भावना आपसमा बाँड्ने रूपमा मनाउँदै आए पनि स्वस्थानी व्रत कथाको सुरु भएपछि हरितालिका तिजको महत्व अझ बढ्दै आएको पाइन्छ ।  तीज पर्व महिलाको पर्व भएकाले आपसमा सौहार्दपूर्ण तरिकाले, तडभडक नगरी, महिलाको स्वतन्त्रता, सशक्तीकरण र समग्र महिलाको हितको विषयसँग पर्वलाई जोड्न जरुरी छ ।

बागलुङ (ढोरपाटन):     बागलुङ नगरपालिका– ४ बान्द्रे खोलामा गएराति आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको हो ।      मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ –४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र सोही ठाउँका २२ वर्षीय अवेशिक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो ।  बाढीमा परी सोही गाउँका २० वर्षीय कमल सापकोटा बेपत्ता भएको प्रहरी निरीक्षक पौडेलको भनाइ छ । सापकोटा र रेग्मीको शव करिब दुई सय मिटर तल फेलापरेको थियो ।   ती शव परीक्षणका लागि धौलागिरि अस्पताल बागलुङमा लगिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो । बेपत्ता कमलको खोजी भइरहेको छ । अहिले पनि वर्षा भइरहेको हुँदा खोजीमा समस्या भएको जनाइएको छ ।

काठमाडौं:    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।       विभागद्वारा आज विहान जारी मौसम पूर्वानुमान बुलेटिनका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।       दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बुलेटिनमा उल्लेख छ  । देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  कोशी, बागमती, गण्डकी र कर्णाली  प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशको एक÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।      सबै प्रदेशको केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको र कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न विभागले अनुरोध समेत गरेको छ ।        साथै यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । 

बागलुङ (ढोरपाटन):   अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत निसीखोला गाउँपालिकाको खाडुखोला, जिरीखोला, कालापैराखोला, बडिगाड गाउँपालिकाको ठूलाखेतलगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।      लोकमार्गको बागलुङको बुर्तिबाङ–पूर्वी रुकुम खण्ड र बागलुङ–बुर्तिबाङ खण्डक पूर्ण रुपमा अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेको निसीखोला–४ का वडाध्यक्ष टीकानिधी पौडेलले जानकारी दिनुभयो ।  लोकमार्ग अवरुद्ध हुँदा निसीखोला, पूर्वी रुकुम, जाजरकोट, रोल्पादेखि पोखरा, काठमाडौँलगायत स्थानमा जाने यात्रु अलपत्र परेका छन्  भने काठमाडौँ, पोखरा, चितवन, बुटवललगायत ठाउँबाट तीज मनाउन गाउँ फर्किएका पनि सडक अवरुद्ध हुँदा समस्यामा छन् ।       पूर्वी रुकुम र जाजरकोटका लागि काठमाडौँबाट आएका रात्रि बस बुर्तिबाङमै रोकिएको उहाँको भनाइ छ । अहिले पनि निरन्तर भारी वर्षा भइरहेको हुँदा सडक खुलाउन समय लाग्ने वडाध्यक्ष पौडेल बताउनुहुन्छ ।      उहाँले भन्नुभयो, “रातिदेखि ठूलो वर्षा भइरहेको छ, धेरै ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएका छन्, अहिले सवारी पूर्ण रुपमा ठप्प भएको अवस्था छ, वर्षा रोकिएपछि खुलाउने प्रयास गर्छौं, साना ठाडोखोलामा ठूलो बाढी आउँदा लोकमार्गको धेरै ठाउँ अवरुद्ध छन् ।”

काठमाडौं:   संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबीच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान भर्ने विषयमा छलफल भएको छ ।      चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिले आज मन्त्री पाण्डेसमक्ष सिंहदरबारमा भेट गरी पोखरा र भैरहवामा उडान भर्न आफूहरु उत्साहित रहेको बताएको पर्यटन मन्त्रालयले जनाएको छ । ४० वटाभन्दा बढी मुलुकमा सेवा दिँदै आएको चीनको प्रमुख एयरलाइन्समध्येको चाइना साउदर्न  एयरलाइन्सले नेपालमा समेत आफ्नो सेवा सञ्चालन गरिरहेको छ ।       चीनको ग्वाङजाओबाट हाल काठमाडौँमा नियमित रूपमा उडान भर्दै आएको उक्त एयरलाइन्सले पोखरा र भैरहवा उडानका लागि मन्त्री पाण्डेले नीतिगत रूपमा गर्नुभएको सुधारको प्रशंसा गरेको थियो ।      चाइना साउदर्न एयरलाइन्सले पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने कुराको स्वागत गर्दै मन्त्री पाण्डेले भन्नुभयो, “तपाईंहरू पर्यटकीय राजधानी पोखरा र भगवान् गौतम बुद्धको जन्मस्थल भैरहवा उडान भर्नेमा स्वागत गर्न चाहन्छु । यसले द्विपक्षीय हित आपसी सम्बन्ध विस्तारमा समेत फाइदा पुग्नेछ ।”      मन्त्री पाण्डेले चाइना साउदर्नको नियमित उडानले नेपाल र चीन दुवै मुलुकलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री पाण्डेले नेपाल एयरलाइन्सले चाइना साउथ एयरलाइन्सबाट हवाई सुरक्षाबारे लाभ लिनेसमेत प्रस्ट पार्नुभयो ।      साथै मन्त्री पाण्डेले हवाई उडानका क्रममा नेपाली पक्षबाट केही कमजोरी भएको भए पनि सो बारेमा आफूलाई जानकारी गराउन अनुरोध गर्नुभएको थियो । त्यसैगरी, द्विपक्षीय हित र आपसी सम्बन्ध थप सुदृढ पार्न हवाई क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्नेसमेत बताउनुभएको छ ।

काठमाडौं:    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारणलाइन विस्तारमा देखिएका समस्या समाधान गर्न निर्देशन दिनुभएको छ ।        अरुण तेस्रो जलविद्युत् आयोजना, लगानी बोर्ड र पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको ‘भर्चुअल बैठक’ मा मन्त्री खड्काले समस्या समाधानमा केन्द्रित हुन सबैलाई निर्देशन दिनुभयो ।  “विद्युत् उत्पादन गर्ने समय एकदिन मात्र ढिला हुँदा पनि राज्यले करोडौँको घाटा बेहोर्नुपर्छ, आयोजना र सिङ्गो मुलुकमा यसको प्रभाव पर्ने भएकाले समयमै सम्पन्न हुनेगरी स–साना समस्यालाई समाधान गर्दै लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।      ऊर्जामन्त्री खड्काले सन् २०३५ सम्म नेपालमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले लिएकाले उक्त लक्ष्य पूरा गर्न आयोजना, प्रमुख जिल्ला अधिकारी र लगानी बोर्डको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले स्थानीय जनप्रतिनिधि, निर्माण कम्पनीसँग सहकार्य गरेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।       “आयोजनालाई अगाडि बढाउन काहाँकाहाँ अवरोध छन्, त्यससँग सम्बन्धित व्यक्ति कोको हुन्, त्यसको पहिचान गरेर प्रमुख जिल्ला अधिकारीले समाधान गर्न लाग्नुहुनेछ भन्ने विश्वास लिएको छु”, मन्त्री खड्काले भन्नुभयो । स्थानीयस्तरमा देखिएका समस्या समाधान गर्न स्थानीय सरकारले समेत सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।      ऊर्जामन्त्री खड्काले अरुण तेस्रो जलविद्युत् आयोजनालाई अगाडि बढाउने कुरामा प्रधानमन्त्रीको समेत चासो र चिन्ता रहेकाले यसलाई समयमा सम्पन्न गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले ऊर्जा क्षेत्रको समग्र विकासका लागि निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।      ऊर्जा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले आयोजना निर्माणका क्रममा देखिएका समस्या समाधान गर्न मन्त्रालयले आवश्यक समन्वय र सहयोग गर्ने बताउनुभयो ।  उहाँले आयोजनागत रुपमा ऐलानी जग्गा प्राप्तिसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिएको बताउँदै अरुण तेस्रोको लगानी बोर्डमार्फत आयोजना विकास सम्झौता भएकाले बोर्डमार्फत नै मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्नुपर्ने उल्लेख गर्नुभयो ।      बैठकमा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारी, सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी धुब्रबहादुर खड्का, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, खोटाङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, भोजपुरका प्रमुख जिल्ला अधिकारी नरबहादुर थापा, उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, अरुण तेस्रो आयोजनाका प्रमुख कार्यकारी अधिकृतलगायतले प्रसारणलाइन विस्तारका क्रममा देखिएका समस्याकाबारेमा मन्त्रीलाई जानकारी गराउनुभएको थियो । 

चितवन:   चोध वर्षीया नमिता चेपाङले पहिलो पटक लट्टेको स्वाद लिँदै गर्दा उहाँलाई यो परिकार नौलो लाग्यो । जिल्लाको पहाडी क्षेत्र सिद्धिबाट रत्ननगर नगरपालिका–११ मा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रमा बसेर कक्षा ४ मा पढ्दै गर्नुभएकी नमिताले यस अघिका पर्वमा मासु र भातमात्रै खाएको सुनाउनुभयो ।        अनदिको चामलबाट बनेको चाम्रो, गुलियो भात खाँदै गर्दा नमितालाई नौलो लाग्यो । केन्द्रमा रहेका एक सय ५० चेपाङ बालबालिकालाई तीजको अवसरमा नेपाल प्रेस युनियनले आज लट्टे खुवाएको हो । नमिताले भन्नुभयो, “तीज मैले पहिलो पटक सुनेकी हुँ, हामीले त न्वागी पर्व मनाउथ्यौं ।”        सोही केन्द्रमा रहनु भएकी १६ वर्षिया जुना चेपाङले पनि पहिलो पटक लट्टेको स्वाद लिनुभयो । खाँदै गर्दा उहाँले भन्नुभयो “मलाई त नौलो परिकार मिठो लाग्यो ।” कक्षा नौ मा अध्ययनरत जुनाले आफूहरुले खासै गुलियो नखाने गरेको भन्दै भातमा चिनी हाल्दा मिठो लागेको सुनाउनुभयो ।        उहाँ जस्तै केन्द्रमा रहेका ४८ छात्रा र एक सय दुई छात्रले लस्करै लाइन लागेर दर खाएका थिए । केन्द्रमा शिशु कक्षादेखि स्नातक पढ्नेसम्म रहेका छन् । उनीहरुमध्ये शहीद स्मृति क्याम्पसमा तीन, नेपाल माविमा पाँच, केन्द्रसँगै रहेको पञ्चतेजज्योति आधारभूत विद्यालयमा ८२ र बाँकी पञ्चकन्या मावि जयमङ्गलामा अध्ययनरत छन् ।        केन्द्रका संस्थापक अध्यक्ष केपी किरण शर्माका अनुसार अधिकांश बालबालिकाले पहिलो पटक लट्टे खाएर तीज पर्व मनाएका हुन् । त्यहाँ चितवनको भरतपुर महानगरपालिका वडा नं २९, इच्छाकामना गाउँपालिका, कालिका र राप्ती नगरपालिकाका पहाडी क्षेत्रमा बसोबास गर्ने बालबालिका रहेका छन् । त्यस्तै गोरखाको गण्डकी गाउँपालिका, धादिङको बेनिघाट रोराङ गाउँपालिकाका बालबालिका पनि रहेका छन् ।        उनीहरुलाई  तीजमा दर खुवाएर नचाउन रत्ननगरका नगर प्रमुख प्रलाद सापकोटा, उपप्रमुख यादव पाठक, नगरपालिकाका प्रवक्ता कुलप्रसाद सापकोटा पुग्नुभएको थियो ।  सँगै नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सिर्जना अर्याल, जिल्ला अध्यक्ष नारायणप्रसाद अधिकारी, प्रेस सेन्टरका केन्द्रीय सचिव शान्ता अधिकारी, प्रेस चौतारीका केन्द्रीय सदस्य प्रतिमा सिलवालसँगै प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल सहित जिल्लाका पत्रकार उपस्थित हुनुभएको थियो ।