मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

काठमाडौं:    विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आउनुभएका नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपामला प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्व समुदायलाई आग्रह गर्नुभएको छ ।  बुधबार यहाँ विभिन्न फोरममा सहभागी हुनुका साथै पदाधिकारीहरुसँगको भेटघाटका क्रममा उहाँले नेपालमा हाल लगानीमैत्री वातावरण रहेको तथा वैदेशिक लगानीका लागि आवश्यक पर्ने कानुनहरुमा पनि संशोधन भएकाले लगानीका लागि सो आग्रह गर्नुभएको हो ।  अध्यक्ष ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका लागि नेपाल उद्योग वाणिज्य महासङ्घले आवश्यक समन्वय गर्ने पनि उनीहरुलाई आस्वस्त पार्नुभयो ।  अन्तर्राष्ट्रिय वित्त निगम आइएफसीका दक्षिण एसिया निर्देशक इमाद फाकुरीसँग उहाँले बुधबार गर्नुभएको भेटवार्तामा अध्यक्ष ढकालले निगमले नेपालको निजी क्षेत्रलाई कसरी सबलीकरण गर्ने भन्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।  सो भेटका क्रममा विश्वमा कोरोना महामारी र रुस युक्रेन युद्धपछि देखिएको आर्थिक मन्दीको अवस्था तथा यसले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव एवं नेपालको अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा पनि कुराकानी भएको बताउनुभयो ।  सो भेटपछि राष्ट्रिय समाचार समितिसँग कुरा गर्दै अध्यक्ष ढकालले भेटको अवसरमा निगमका कार्यकारी निर्देशकसँग नेपालको जलविद्युत्, पर्यटन पूर्वाधार तथा सूचना प्रविधिलगायतका क्षेत्रमा निजी क्षेत्रसँगको सहकार्यका विषयमा पनि छलफल भएको जानकारी दिनुभयो ।  नेपालका यी क्षेत्रमा लगानीका लागि आफूले विश्व समुदायलाई आग्रह गरेको उहाँको भनाइ थियो ।  सो भेटमा आइएफसीका अधिकारी र महासङ्घका प्रतिनिधिको पनि सहभागिता रहेको थियो । त्यसैगरी अध्यक्ष ढकालले बुधबार नै ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्टका कार्यकारी निर्देशक समिर अभयङकर र इन्भेस्टमेन्ट निर्देशकसँग पनि भेटवार्ता गर्नुभएको थियो ।  सो भेटका क्रममा पनि उहाँले नेपालको पर्यटन जलविद्युत् तथा पूर्वाधार निर्माणमा कसरी लगानी अभिवृद्धि गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको बताउनुभयो । अध्यक्ष ढकालले उहाँसँग नेपालमा लगानीका प्रसस्त सम्भावना रहेकाले पर्यटन, जलविद्युत्, सूचना प्रविधि एवं ‘हस्पिटालिटी’ का विविध क्षेत्रमा लगानी गर्न आग्रह पनि गर्नुभएको थियो ।  उहाँले नेपालमा लगानी सम्मेलन सम्पन्न भएपछि नयाँ नयाँ क्षेत्रमा लगानीका लागि वैदेशिक लगानीकर्ता आकर्षित भएका पनि सो अवसरमा जानकारी दिनुभएको थियो ।

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकता दिँदै विश्वव्यापी साझेदारीसँग सहकार्य गर्न नेपाल तयार रहेको स्पष्ट गर्नुभएको छ ।      संयुक्त राष्ट्रसङ्घ दिवसका अवसरमा आज नेपाली सैनिक मुख्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले सोका लागि नेपालले सकारात्मक भूमिका खेल्न प्रतिबद्ध रहेको दोहोर्‍याउनुभयो ।       “जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न संयुक्त राष्ट्रसङ्घको नेतृत्वले हामीलाई साझा समाधानका लागि अगाडि बढ्न निरन्तर मार्गनिर्देशन गर्नेमा हामी विश्वस्त छौँ । नेपालजस्ता मुलुकका लागि राष्ट्रसङ्घको मार्गनिर्देशनले राष्ट्रका अस्तित्व जोगाउन सहयोग पुर्‍याउने छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “विश्वभरको अस्थिर र अस्पष्ट अवस्थामा नेपाल राष्ट्रसङ्घका सिद्धान्त र प्रतिबद्धताप्रति अडिग छ । शान्ति, सुरक्षा, दिगो विकास र वातावरण संरक्षण तथा प्रवर्द्धन गर्न विश्वव्यापी प्रयासलाई समर्थन गर्न जारी राख्नेछौँ ।”      नेपालको परराष्ट्र नीतिको एक अङ्गका रूपमा रहेको शान्तिपूर्ण सहअस्तित्व, सार्वभौमसत्ताका लागि पारस्परिक सम्मान र अहस्तक्षेपका सिद्धान्त पालना भइरहेको अवगत गराउँदै उहाँले दुई ठूला छिमेकीबीचमा रहेको नेपालले ‘सबैसँग मित्रता र कसैसँग पनि शत्रुता नराख्ने’को नीति कायम राखेको उल्लेख गर्नुभयो । 

म्याग्दी:     सङ्घर्ष, माया र ममताको प्रतिमुर्ति आमा शब्द सबैलाई प्रिय लाग्छ । प्राणी जगत्मा आमाको स्थान सबैभन्दा माथि छ । आमा शब्द भावनासँग जोडिएको छ । आमाको बारेमा धेरै साहित्य लेखिएका छन् ।  मुस्ताङमा यस्तो अनौठो ठाउँ छ जहाँ ढुङ्गामा आमाको सम्मान र स्मृतिमा शब्द खर्चन, भावना व्यक्त गर्न पाइन्छ । त्यो स्थान हो, मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित ‘मातृचक्र’ पर्खाल ।  “म कसरी हार मानौँ, मेरो अगाडि दुःखको पहाड भएता पनि मेरो सफलता कुरेर बसेकी छिन्, मेरी प्यारी आमा”, आमाको सम्मानमा मातृचक्र पर्खालको एउटा ढुङ्गामा म्याग्दीकी स्मृति मगरले लेख्नुभएको छ ।   सेतो रङ्ग लगाइएको गोलो चक्र आकारको पर्खालका ढुङ्गामा रातो अक्षरमा आमाप्रति सर्मपित भएर लेखिएका यी र यस्तै भावका शब्दावली देखिन्छन् । यस स्थललाई घरपझोङ गाउँपालिकाले पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न काम थालेको छ ।  घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले ‘मातृचक्र’को अवधारणा नेपालमै नयाँ र अनौँठो भएकाले पर्यटकलाई आकर्षित गर्न सकिने बताउनुभयो ।  “जीवनका विभिन्न कालखण्ड र आमाका सङ्घर्षको कल्पना गर्दै पर्खालभित्र फन्को लगाइने भएकाले यसलाई मातृचक्र नामाकरण गरिएको हो”, उहाँले भन्नुभयो,“आमाको गर्भभित्र हुँदाको कल्पना गरेर पर्खाल वरपर फन्को लगाउन सकिन्छ ।” यस्तो छ मातृचक्र   कोशी प्रदेशको धरानमा बाँसको रूखमा प्रेमका शब्द लेख्ने चलन छ । आमाको सम्मान र सम्झना गर्ने ठाउँ जोमसोमबाहेक कतै नभएको अध्यक्ष लालचनले बताउनुभयो ।  आठ वटा ढुङ्गे पर्खालको चक्र भएको यस ठाउँमा फन्को लगाउन करिब २० मिनेट लाग्छ । टाढाबाट हेर्दा मातृचक्रको पर्खाल विश्वमा कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम जस्तो पनि देखिन्छ ।  बीच भागमा हिड्न मिल्ने बाटो छाडेर बनाइएको मातृचक्र गोलो आकारको छ । नकुदेका ढुङ्गा चिनेर पर्खाल बनाइएको छ । पर्खालभित्र छिर्ने र निस्कने एउटै प्रवेशद्वार छ ।  एकठाउँबाट छिरेपछि सबै भाग घुमेर सोही ठाउँमा आई बाहिर निस्कन सकिन्छ । फन्को लगाउने क्रममा आमालाई दिएका दुःखको क्षमा माग्न, आमालाई धन्यवाद दिन र पुकार गर्न पाइन्छ । फन्को लगाएपछि फर्कने बेलामा ढुङ्गामा शब्द लेख्न पाईन्छ ।  “आमाप्रति सधैँ कृतज्ञ छु”, सचिन नाम गरेका झापाका व्यक्तिले ढुङ्गामा लेख्नुभएको छ । म्याग्दीका बिष्णु शर्माले अनौठो र आश्चार्य लागेर आमाको सम्मान र सम्झनाका लागि मातृचक्रमा पुगेको बताउनुभयो ।  करिब २० वर्षअघि एक जर्मन नागरिकले बनाएको गोलो आकारको पर्खाल यसअघि उपयोग र संरक्षण भएको थिएन । गाउँपालिकाले हालै पर्खालको भित्री भागमा रातो र बाहिरी भागमा सेतो रङ लगाएको छ । रङ्गरोगन गरेपछि मातृचक्र आकर्षक देखिएको छ ।  घरपझोङ गाउँपालिकाको कार्यालयदेखि पाँच मिनेट पैदलयात्रापछि जोमसोम बजारको छेउमा रहेको मातृचत्र पुगिन्छ । बेनी–जोमसोम–कोरला सडकबाट पनि मातृचक्र देखिन्छ ।  कृषि पर्यटनका लागि उद्यान  घरपझोङ गाउँपालिकाको नाममा रहेको जग्गामा अवस्थित मातृचक्र र वरपरको क्षेत्रमा पूर्वाधार निर्माण तथा पर्यटन प्रवर्द्धनको कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु ५० लाख विनियोजन भएको छ । मातृचक्र नजिकै मुस्ताङमा पाइने सबै प्रजातिका स्याउको बगैँचा स्थापनाको तयारी भइरहेको अध्यक्ष लालचनले बताउनुभयो ।  कृषि पर्यटनको अवधारणाअनुसार घरपझोङले स्याउ खेतीलाई पर्यटनसँग जोड्ने प्रयासमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।  ‘मिनी मुस्ताङ’को अवधारणाअनुसार उद्यान बनाउने उद्देश्यले अघिल्लो कार्यकालमा सो ठाउँमा पर्खाल लगाएर घेराबार गरिएको थियो । पछिल्लो कार्यकालका जनप्रतिनिधिले मिनि मुस्ताङको योजना सफल नभएकाले त्यस ठाउँमा स्याउ उद्यान बनाउने तयारी गरिएको जनाएका छन् ।

काठमाडौं:     आलोकनगरस्थित एक घरको चौथोतलाबाट लडेर नुवाकोटको बेलकोटगढी नगरपालिका–५का स्थायी बासिन्दा ४२ वर्षीय दिलबहादुर भुजेलको मृत्यु भएको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका–३१ आलोकनगरस्थित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी कार्यालय नजिक रहेको भिटु श्रेष्ठको निर्माणाधीन घरमा काम गरिरहेका बेला लडेर निजको मृत्यु भएको हो ।  गम्भीर घाइते भएका उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा मृत्यु भएको हो । 

खोटाङ:    अमेरिका जानुभएका साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नौँ महिनासम्म पनि कार्यालय नफर्केपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।  वडाध्यक्ष कटवाल नफर्केपछि मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वपक्षीय समितिले तत्काल समस्या समाधान गर्न माग गर्दै तालाबन्दी गरेको हो ।  गत साउन २१ गते पूर्ववडाध्यक्ष भट्टराईको संयोजकत्वमा गठन भएको समितिले वडाध्यक्ष कटवाललाई १५ दिनभित्र उपस्थित हुन अन्तिमेत्थम दिएको थियो ।  उहाँ नफर्केपछि बाध्य भएर तालाबन्दी गरिएको  पूर्ववडाध्यक्ष भट्टराईले बताउनुभयो । यस सम्बन्धमा जिल्ला निर्वाचन आयोगको कार्यालय, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितिलाई जानकारी गराइएको उहाँले बताउनुभयो ।   वडाध्यक्ष कटवाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित हुनुहुन्छ ।

काभ्रेपलाञ्चोक:      मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमूना एकीकृत बस्ती निर्माण बजेट अभावका कारण दुई वर्षदेखि रोकिएको छ ।    बस्ती निर्माणको काम २०७४ सालमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा तीन वर्षमा सक्नेगरी काम थालिएको थियो । ‘कोरोना–प्रभाव’लगायत कारण ढिलासुस्ती हुँदै आएको उक्त बस्ती निर्माण  बजेट अभावले दुई वर्षदेखि रोकिएको हो ।  योजनाअन्तर्गत छ वटा घर बन्न बाँकी छन्भने बनेका घरहरुको ‘फिनिसिङ’ गर्न बाँकी छ । नमूना बस्ती निर्माण योजनाअन्तर्गत ३० घर र एक सामुदायिक भवन निर्माण गर्नुपर्ने हो ।  बजेट अभावमा दुई वर्षदेखि निर्माण रोकिएको निर्माण समितिले जनाएको छ । उक्त बस्ती निर्माण सम्पन्न हुनुअघिनै प्राधिकरणको म्याद सकिएपछि त्यहाँ घर निर्माणसँगै फिनिसिङको कामसमेत अलपत्र भएको हो ।  बाँकी काम पूरा गर्न नगर कार्यालयले रु ४० लाख सहयोग दिने जनाए पनि अघिल्लो आर्थिक वर्षदेखिनै रकम निकासा नहुँदा बस्ती निर्माणको रोकिएको हो । बस्तीका परिकल्पनाकार एवं स्थानीय अगुवा रामबहादुर लामाका अनुसार नगरको सहयोगबाट बस्तीको बाँकी काम सक्ने योजना बनाइए पनि रकम निकासा नहुँदा अलपत्र भएको हो ।  सरकारको योजनअनुसारनै तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘होम–स्टे’सहितको नमूना तामाङ बस्तीको निर्माण थालिएको थियो ।  नगरप्रमुख टोकबहादुर वाइबाले अघिल्लो चरणमा लगेको पेश्की फछ्र्योट भएपछि मात्रै बस्तीको लागि निर्णय गरिएको रकम निकासा गर्न सकिने बताउँदै आउनुभएको छ ।  यसअघि नगरले रु १० लाख सहयोग गरेको थियो । उक्त सहयोगबाट जस्तापातालगायत निर्माण सामग्री खरीदका कागजपत्र नगरमा पेस गरिएको समितिले जनाएको छ ।  प्राधिकरणबाट पनि समयमा रकम निकासा नहुँदा बस्ती निर्माण समितिले ऋण गरेर निर्माणलाई निरन्तरता दिएको निर्माण समितिका अध्यक्ष आइतमान तामाङले बताउनुभयो ।  केही वर्षअघिसम्म स्थानीयस्तरमै पटकपटक रु ५४ लाख ऋण लिएर र जनश्रमदानले बस्ती निर्माणको कामलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो । प्राधिकरणबाट  रु दुई करोड ८० लाख रकम निकासा भएको उहाँले जानकारी दिनुभयो ।  उहाँका अनुसार उक्त रकमबाट एकीकृत बस्तीमा पहूँच सडक तथा अन्य सांस्कृतिक संरचना बनाउन खर्च भएको छ ।  काभ्रेपलाञ्चोकको मण्डनदेउपुरस्थित तीनधारामा तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले होम–स्टेसहितको नमूना तामाङ बस्ती निर्माण सुरु गरिएको थियो ।  तीनकोठे एकतले एकै डिजाइनका एक घर निर्माण गर्न जनश्रमदान बाहेक रु १३ लाख लाग्ने अनुमान गरिएको थियो । बस्ती निर्माणार्थ जनश्रमदानमा पनि स्थानीय निकै महिना खटेका थिए ।  स्थानीय युवा विरेश तामाङले सुन्दर बस्ती बनाउने योजनामा सबैले जनश्रमदानमार्फत साथ दिएका बताउनुभयो । स्थानीय पञ्चकुमारी तामाङ एकीकृत बस्ती निर्माण सुरु भएपछि डेढसय दिन खट्नुभएको थियो ।  “गाउँमा एकै ठाउँमा चिटिक्कका घर बनाएर बस्ने र पर्यटक ल्याउने भनेपछि हामी सबै गाउँले काम गर्न जान्थ्यौँ, पैसा छैन भनेर काम रोकिएको  दुई वर्ष भैसक्यो”, पञ्चकुमारीले भन्नुभयो ।  उहाँले आफुलाई भूकम्पपीडितबापत आवास निर्माणका लागि सहयोग संस्थाबाट आएको पहिलो किस्ताको रु ५० हजार पनि प्राधिकरणको सहमतिअनुसारनै पाँच वर्ष अघिनै बस्ती निर्माणका निम्ति प्रदान गर्नुभएको थियो ।  त्यसपछि सरकारसँग सम्झौता गरी तीनधाराका ३० भूकम्पपीडित परिवारलाई पहिलो किस्ताको आवास निर्माण अनुदान दिने कारितास् नामक संस्थाले बाँकी किस्ता उपलब्ध नगराएपछि ऋण लिएर स्थानीयले बस्ती निर्माणलाई निरन्तरता दिँदै आएका थिए ।  विसं २०७७ चैतमा सरकारी निकायबाट विभिन्न शीर्षकमा रु एक करोड ४० लाख निकासा हुँदा  ऋणले पिरोलिएका तीनधाराका बासिन्दाले कामलाई तीव्र पारेका थिए ।  बस्ती निर्माणका लागि स्थानीय ३० भूकम्पपीडितको आवास निर्माणका लागि आएको पहिलो किस्ताको रु ५० हजार पनि खर्चिइएको हो । बस्ती निर्माण कार्ययोजनाअनुसार ३० घरले अनिवार्य होम–स्टेका लागि एउटा कोठा व्यवस्था गर्नुपर्ने सम्झौता भएको थियो ।  नमूना बस्तीमा रु ४० लाखमा एक सामुदायिक भवन निर्माण भएको छ । उक्त सामुदायिक भवनमा विवाह, व्रतबन्ध, घेवा, तामाङ रीतिरिवाज, संस्कृति झल्काउने तामाङले पुज्ने देवीदेवता, जाँतो, ढिकी, डम्फु, ढ्याङग्रोलगायतका सामाग्री सङ्ग्रह गरिने तथा तिनका बारेमा जानकारी दिने योजना थियो ।  छ घरको एक ‘ब्लक’ बनाएर छुट्टाछुट्टै पाँच ब्लकमा ३० वटा घर बनाउने योजनाले पूर्णता नपाउँदा तीनधाराका बासिन्दा खिन्न भएका छन् । 

काठमाडौं:   विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलामा यहाँ रहनुभएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बुधबार उक्त बैंकका–दक्षिण एसिया मामिला हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँग भेटवार्ता गर्नुभएको छ ।  वार्ता नेपालमा रोजगारी सृजना गर्ने विषयमा केन्द्रित रहेको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ ।  नेपालमा व्यावसायिक वातावरणको सुधार, मुख्य पूर्वाधार आयोजनाहरूको कार्यान्वयन तथा विप्रेषण आप्रवाहका माध्यमबाट पनि रोजगारी सृजना गर्ने बारेमा छलफल भएको थियो ।  यसैबीच, विश्व बैंकले नेपाललाई प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका निम्ति सहयोग गर्ने भएको छ । सहायतासम्बन्धी सम्झौतामा नेपाल सरकार र विश्व बैंकबीच हस्ताक्षर भएको छ । सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे र नेपालका लागि विश्व बैंकका प्रतिनिधि डेविड सिसलेनले हस्ताक्षर गर्नुभएको छ ।  सम्झौताअनुसार विश्व बैंकले १५ करोड डलर उपलब्ध गराउने छ। उपप्रधान तथा अर्थमन्त्री पौडेल र विश्व बैंक (दक्षिण एसिया मामिला) का उपाध्यक्ष मार्टिन रेजर उपस्थितिमा भएको हस्ताक्षर कार्यक्रममा नेपालको प्राकृतिक र जलवायु परिवर्तनका कारण आइपर्ने स्वास्थ्य जटिलताको लागि स्रोत परिचालन गरिने जनाइएको छ ।

काभ्रेपलाञ्चोक:    सडक डिभिजन कार्यालय भक्तपुरले बिपी राजमार्गमा आजदेखि पूर्णरूपमा सञ्चालन गर्न अनुमति दिएको छ । कार्यालयले जोखिमका कारण गत असोज ३० गतेदेखि रातको समयमा (दश घण्टा) यातायात सञ्चालनमा रोक लगाएको थियो ।       असोज दोस्रो साता परेको अविरल वर्षापछिको बाढीपहिरो कारण क्षति भएको बिपी राजमार्गअन्तर्गको धुलिखेल–भकुण्डेबँेसी–बर्खेखोला सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म १० घण्टा यातायात सञ्चालनमा रोक लगाएको थियो ।  कार्यालयले सुक्खा पहिरो खस्न सक्ने तथा काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित १ नम्बरपुल–चौकीडाँडा–बर्खेखोला खण्डको करिब आठ किलोमिटर सडक ट्रयाक मर्मत–सुधार गरी यात्रा सुरक्षित बनाउनुपर्ने जनाउँदै उक्त सडकखण्ड रातको समयमा बन्द गरेको हो ।       बाढीपहिरोका कारण काभ्रेतर्फ भकुण्डेबेँसी–चौकीडाँडा–बर्खेखोला खण्डका विभिन्न स्थानमा पूर्णरूपमा बगाएको ८ किलोमिटरभन्दा बढी लम्बाइको सडकमा वैकल्पिक ट्रयाक निर्माण गरेर सो रुटमा परमिट भएका यात्रुवाहक बस र साना सवारीसाधन सञ्चालनमा ल्याइएको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधान आउजाउ गर्छन् ।           राजमार्गको कूल एक सय ६० किमीमध्ये तेस्रोखण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि भ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको कार्यालयले जनाएको छ । 

काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेलसँग सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षसहितका दलका नेताहरूले भेट गर्नुभएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा आज प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रतिपक्षमा रहेका दलका नेताहरूले भेट गर्नुभएको हो ।  प्रतिपक्ष दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको सन्दर्भमा सरकारबाट भएका कमीकमजोरीबारे राष्ट्रपतिलाई जानकारी दिनका लागि शीतल निवासमा आएको जानकारी दिनुभएको थियो ।   राष्ट्रपति पौडेलसँग प्रतिपक्ष दलका नेताहरूले वर्तमान परिस्थितिबारे जानकारी दिनका लागि आफूहरू आएको बताउँदै उहाँहरूले लोकतन्त्र र संविधानको संरक्षकको भूमिका निर्वाह गर्न आग्रह गरेको राष्ट्रिपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।  नेताहरूले संविधानको मर्म विपरित र बहुलवादमा आधारित मर्म विपरितका कतिपय क्रियाकलाप हुन लागेको जिकिर गर्दै यसमा संविधानको संरक्षक र देशको अभिभावकका हैसियतमा भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको थियो ।  सो असरमा राष्ट्रपति पौडेलले आफू संविधान, राष्ट्र र राष्ट्रिय एकताको प्रवर्द्धनप्रति प्रतिबद्ध रहेको बताउँदै संविधानले आफूलाई दिएको कर्तव्य र सीमाअनुसार अगाडि बढ्ने कुरामा विश्वस्त हुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “संविधान मर्म र लोकतन्त्रको मर्मलाई हेरेर संविधानले निर्धारित राष्ट्रपतिको कर्तव्य र सीमालाई हेरेर मैले काम गर्ने कुरामा तपाईहरूलाई विश्वास दिलाउन चाहन्छु ।” संसद्मा प्रतिपक्षमा नेकपा (माओवादी केन्द्र) सहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र आमजनता पार्टी छन् ।  राष्ट्रपति पौडेलसँगको भेटमा नेकपा (माओवादी केन्द्र) का  अध्यक्ष दाहाल, शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेता बुद्धिमान तामाङ र हेमजङ्ग गुरुङ, नेकपा (एकीकृत समाजवादी) बाट अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र आमजनता पार्टीबाट नेता तिलक थापामगर सहभागी हुनुहुन्थ्यो ।