पोखरा: गण्डकी सरकारका मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले भौतिक पूर्वाधार विकास मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालयको जिम्मा दिएपछि असन्तुष्ट बन्दै राजीनामा दिएका हु्न् । मुख्यमन्त्री सुरेन्द्राज पाण्डेले सोमबार मन्त्रिपरिषदमा हेरफेर र विस्तार गरेका थिए । त्यस क्रममा मनाङेले सम्हाल्दै आएको भौतिक पूर्वाधार मन्त्रालय एमालेको भागमा र मनाङेलाई वन तथा वातावरण मन्त्रालय परेको थियो । पाण्डेले एमालेलाई पनि सरकारमा सामेल गर्दै मन्त्रिपरिषद हेरफेर गरेका हुन् । तर मनाङेले भने असन्तुष्टि जनाउँदै सोमबारै मुख्यमन्त्रीलाई राजीनामा बुझाए । उनको राजीनामा मुख्यमन्त्री पाण्डेले स्वीकृत गरेका छन् ।
काठमाडौं: तारा एयरले पोखरा–जोमसोम गन्तव्यमा भोलि मङ्गलबारदेखि पुन:उडान सुरु गर्ने भएको छ । प्रतिकूल मौसमका कारण उडान बन्द भएको उक्त गन्तव्यमा नियमित उडान गर्न लागिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । पर्यटकीय ‘सिजन’ सुरु हुन लागेको र मौसम पनि खुल्ने समय भएकाले उडान नियमित हुन लागेको तारा एयरका प्रमुख हवाई सुरक्षा अधिकृत सुदर्शन बर्तौलाले बताउनुभयो । उहाँका अनुसार जोमसोमको नियमित उडानका लागि तारा एअरले एउटा विमान पोखरामै रात्रि विसान गर्नेछ । कम्पनीका अनुसार हालका लागि मौसम अनुकूल भए दैनिक पाँच वटा उडान गर्नेगरी तालिका मिलाइएको छ । तारा एयरको उडान पोखराको पुरानो विमानस्थलबाटै सञ्चालन हुनेछ । मुस्ताङ जिल्लामा अवस्थित जोमसोम बिमानस्थल समुन्द्री सतहबाट दुई हजार सात सय ३६ मिटर उचाइमा रहेको छ भने यस एअरपोर्टको लम्बाई सात सय ३९ मिटर रहेको छ । असोज ४ देखि रामेछाप–दुक्ला उडान यसैगरी पर्यटक सिजनका लागि तारा एअरले रामेछाप–लुक्ला– रामेछापका लागि असोज ४ अर्थात् सेप्टेम्बर २० देखि नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको छ । सगरमाथा क्षेत्रमा जाने पर्यटकका लागि विभिन्न वायुसेवा कम्पनीले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लासम्म पर्यटक सिजनमा उडान गर्दै आएका छन् । यस्तै यो सिजनका लागि तारा एअरको दुई वटा ट्वीनअटर विमानले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि दैनिक १० देखि १५ उडान गर्ने तालिका बनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधिक हवाई ट्राफिक बढेसँगै पछिल्लो समय एयरलाइन्सहरुले रामेछापको मन्थलीलाई आधार बनाई लुक्लाका लागि उडान भर्दै आएका हुन् । रामेछाप विमानस्थलमा ताराका दुईवटै विमानले रात्रि बिसान गरी डिसेम्बर १५ सम्म नियमित उडान गर्ने तालिका रहेको जानकारी तारा एयरले जानकारी दिएको छ । ताराले रामेछापदेखि लुक्लाको साथै काठमाडौँदेखि लुक्ला, फाप्लु, पोखराबाट जोमसोम तथा नेपालञ्जबाट रारा, हुम्ला, बाजुरा, जुम्ला, डोल्पालगायतका दुर्गम क्षेत्रमा उडान सेवा दिँदै आएको छ । विमानस्थलमा धावनमार्ग विस्तार, एकैपटि उडान चाप भइरहेको व्यवस्थापनमा सहज हुने सुरक्षा अधिकृत बर्तौलाको भनाइ छ । उहाँले रामेछाप विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रुको सुविधाका लागि राम्रो प्रबन्ध गरेकाले एयरलाइन्सको उडानमा सहज हुने बताउनुभयो । उक्त विमानस्थलमा आठ वटा पाकिङ्ग, एक्सरे मेसिन पनि जडान भएकाले यात्रुलाई सजिलो भएको छ । यस्तै लुक्लामा एक्सरे मेसिन सञ्चालनमा आएकाले यात्रु व्यवस्थापनमा सहज हुने कम्पनीले जनाएको छ ।
पर्सा: देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट मोटरसाइकल अयातामा उलेख्य वृद्धि भएको छ । सो नाका प्रयोग गरी जिप र कारको आयातमा भने कमी आएको छ । गत आर्थिक वर्ष २०८०/८१ को साउनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा जिप र कारको आयातमा ४० प्रतिशतले कमी आएको छ । सो अवधिमा मोटरसाइकलको आयात शत् प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको साउन महिनामा वीरगञ्ज नाकाबाट रु ४६ करोड ७७ लाखका तीन हजार पाँच सय ७१ थान मोटरसाइकल आयात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी राघुलाल कर्णले जानकारी दिनुभयो । चालु आवको साउनमा भने रु ९४ करोड ४८ लाखका सात हजार एक सय ५० थान मोटरसाइकल आयात भएका थिए । वीरगञ्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको साउन महिनामा रु २० करोड ६० लाखका एक सय २७ थान जिप र कार आयात भएका थिए भने चालु आवको सोही अवधिमा रु १४ करोड ४४ लाखको ७६ थान मात्र जिप र कार आयात गरिएको छ । भारत तथा तेस्रो मुलुकबाट पाटपुर्जा भित्र्याइए नेपालमै पेट्रोलबाट चल्ने मोटरसाइकल एसेम्वल्ड गर्ने आयातकर्तालाई सरकारले राजस्वमा ५० प्रतिशत छुट दिएका कारण आयात वृद्धि भएको सूचना अधिकारी कर्णले बताउनुभयो । गत आर्थिक वर्षको साउन महिनामा मोटरसाइकल आयातबाट रु ४४ करोड २१ लाख राजस्व सङ्कलन भएको थियो । चालु आवको सोही अवधिमा भने रु ८८ करोड ६४ लाख राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडिसी) का शिक्षार्थीहरुको प्रतिनिधिमण्डलले आज भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले उक्त कलेजले रक्षा मामिलामा गर्दै आएको प्राज्ञिक योगदानको प्रशंसा गर्दै दक्षिण एसियाली राष्ट्रहरुको शान्ति र समृद्धिका लागि साझा प्रयास हुनुपर्नेमा जोड दिनुभयो । उहाँले गौतम बुद्ध र महात्मा गान्धीजस्ता व्यक्तित्वको जन्म भएको यस क्षेत्रमा हिंसा तथा विवाद उत्पन्न हुनु यहाँको संस्कृति र सभ्यता विपरीतका विषय हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपाल र भारतबीचको समान संस्कृति, रहनसहन र सभ्यताको चर्चा गर्दै दुई देशबीचको मित्रता अभिवृद्धि हुँदै गएको उल्लेख गर्नुभयो । भेटका अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, कलेजका प्रतिनिधि सन्दीप एस सन्दुलगायत सहभागी हुनुहुन्थ्यो ।
काठमाडौं: चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले आज पदभार ग्रहण गर्नुभएको छ । आज बोर्डको कार्यालयमा पुगेर ज्ञानशास्त्र चलचित्रको निर्माण इजाजतपत्रको टिप्पणीमा सदर गरेर विधिवत् पदभार ग्रहण गर्नुभएको बोर्ड सदस्य एवं प्रवक्ता खेतुलाल विसीले जानकारी दिनुभयो । गत बिहीबारको मन्त्रिपरिषद् बैठकले उहाँलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । अध्यक्ष डिसी टेलिभिजन तथा रेडियो कार्यक्रमका निर्माताका रुपमा पनि चिनिनुहुन्छ । निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त रहेको थियो ।
कैलाली: कैलालीमा सर्पले डस्दा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– ९ वनदेवी टोल बस्ने माया विकको ५ वर्षीय छोरा अरुण रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बालक विकलाई गएराति निजकै घरमा सुतिरहेको अवस्थामासर्पले डसेर घाइते भएको र उपचारको क्रममा राति १ः ५० बजे सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । त्यसैगरी गएराति नै सर्पले डसेर कैलालीको गोदावरी नगपालिका– ६ लालपुरका अन्दाजी ३३ वर्षीय सागर विष्ट घाइते भएका छन् । विष्टलाई निजकै किराना पसलको घर आगनमा दाँहिने खुट्टामा सर्पले डसेर घाइते भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । उनलाई कुन सर्पले टोकेको हो भन्ने जानकारी नएको र घाइते विष्टको अवस्था मध्यम रहेको जनाइएको छ ।
तनहुँ: निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पश्चिम खण्डको म्याद थप गरिएको छ । तनहुँको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डको म्याद यही भदौ १२ गतेसम्म रहेकामा काम पूरा नभएपछि एक सय एक दिन म्याद थप गरिएको हो । यसअघिको म्याद अवधिसम्म जम्मा २८ प्रतिशत प्रगति हासिल भएको मुग्लिन-पोखरा सडक योजना पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले जानकारी दिनुभयो । पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । पश्चिम खण्डमा २० किलोमिटर दूरीमा दुई लेन सडक कालोपत्र सकिएको छ । सो खण्डअन्तर्गत म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र पोखरा महानगरपालिका पर्दछन् । पौडेलका अनुसार सोही अवधिमा शून्य दशमलव पाँच किलोमिटर सडक चौडा गर्ने काम भएको छ भने ९५ प्रतिशत ‘ब्याक कटिङ’ सम्पन्न भएको छ । पौडेलका अनुसार त्यस अवधिमा १३ पल निर्माण गर्ने लक्ष्य रहेकामा पाँच वटाको काम सकिएको छ । आठ वटा पुलको संरचना निर्माण सम्पन्न भइसकेको छ । आर्थिक वर्ष २०८०/८१ मा योजना कार्यालयको पहलमा निर्माण कम्पनी, सरोकारवाला निकायहरुको साथ र सहयोगले सडक स्तरोन्नतिको भौतिक प्रगति नौ प्रतिशतबाट २८ प्रतिशत पुगेको पौडेलको भनाइ छ । उहाँले भन्नुभयो, “नेपालकै अधिक वर्षा हुने क्षेत्रमा अवस्थित यस राजमार्गको स्तरोन्नतिमा सुरुआतदेखि नै केही समस्या देखिएको थियो । काम सुरु भएपछि पोखरामा निर्माण भएको नयाँ अन्तर्राष्ट्रिय विमानस्थललाई मध्यनजर गरी जामुनुदेखि सेती पुल खण्डको डिजाइन परिवर्तन गरिएको थियो ।” सडकको स्तरोन्नति हुने क्षेत्रभित्र रहेका २४ वटा खानेपानी संस्थासँग सम्बन्धित पाइप लाइन तथा संरचनाहरु स्थानान्तरणका लागि सम्झौता भइ सम्बन्धित उपभोक्ताबाट स्थानान्तरण भइरहेको पौडेलको भनाइ छ । त्यस्तै योजना कार्यालयले लागत बेहोर्ने गरी नेपाल विद्युत् प्राधिकरणका निकायमार्फत दुई हजार ३१ पोलमध्ये एक हजार दुई सय ३६ विद्युत् पोल स्थानान्तरण भइसकेको छ । विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।
बाँके: पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगञ्ज एकीकृत जाँचचौकी (आइसिपी)लाई थप प्रभावकारी बनाउन आवश्यक पहल गर्ने बताउनुभएको छ । माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय आन्तरिक प्रशिक्षणका क्रममा नेपालगञ्जमा रहनुभएका उहाँले आज बिहान नेपालगञ्ज आइसिपीको स्थलगत अवलोकन गर्दै भन्नुभयो, “गौरव गर्न लायक संरचना निर्माण भएको छ, यसलाई प्रभावकारी बनाउन हामी सबै लाग्नु पर्दछ ।” आइसिपी मुलुकका सबै नाकामा बनाउने सरकारी नीति रहेको उल्लेख गर्दै उहाँले पहिला बनेका आइसिपीले केही समस्या झेल्नुपर्ने हुनसक्ने बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा भारत भ्रमणमा रहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै नयाँ दिल्लीबाट नेपालगञ्ज आइसिपीको संयुक्त रूपमा स्वीच अन गरी भर्चुअल माध्यमबाट शुभारम्भ गरेको सम्झना गर्दै उहाँले यसको प्रभावकारी सञ्चालनका लागि सदैव तत्पर रहेको उल्लेख गर्नुभयो । अवलोकनका क्रममा नेपालगञ्ज भन्सार कार्यालयका निमित्त प्रमुख भन्सार अधिकृत पूर्णप्रसाद लम्सालले नेपालगञ्ज आइसिपीका बारेमा जानकारी गराउनुभएको थियो । आइसिपीमा भन्सार जाँचपासका लागि आवश्यक पर्ने भन्सार कार्यालय, बैंक, पशु क्वारेन्टिन, प्लान्ट क्वारेन्टिन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यारेकलगायत कर्मचारीको आवासगृह निर्माण गरिएको छ । भारत सरकारको एक अर्ब ४७ करोड भारु लागतमा ८८ बिघा क्षेत्रफलमा नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा आइसिपी निर्माण भई सञ्चालनमा आएको छ । सो अवसरमा पूर्वअर्थमन्त्री एवं पार्टी उपमहासचिव वर्षमान पुनलगायत नेताहरूको सहभागिता रहेको थियो ।
काठमाडौं: दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानदेखि काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा भक्तजनको भीड लागेको छ । भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ता अघिदेखिका पितृहरू तर्दछन् भन्ने धार्मिक विश्वास रहिआएको छ । यही धार्मिक विश्वासका कारण आज बिहानदेखि वैदिक सनातन हिन्दू धर्मावलम्बी र बौद्ध धर्मावलम्बीको समेत गोकर्णेश्वर मन्दिर परिसरमा भीड लागेको हो । गोकर्णमा भक्तजनको भीडका कारण आज बिहानदेखि सुन्दरीजल–जोरपाटी र बागमतीको कोरिडोर भएर गुड्ने सवारी साधन निषेध गरिएको ट्राफिक प्रहरी वृत्त बौद्धले जनाएको छ । गोकर्णेश्वर महादेव मन्दिर प्रवेश गर्ने सुन्दरीजलतर्फको नाकामा चौतारा माइती नेपाल चोक, जोरपाटी प्रवेश गर्ने नाकामा नेपाल मेडिकल कलेज चोक, माकालबारी प्रवेश गर्ने बागमतीको सानोपुल र आरुबारी प्रवेश गर्ने पानी खोल्सामा सवारी रोकिएको मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्षसमेत रहनुभएको गोकर्णेश्वर नगरपालिका–४ का वडाअध्यक्ष जयराम महतले राससलाई जानकारी दिनुभयो । सत्ययुगमा ब्रह्माले नै स्थापना गरेकाले यस ठाउँमा आई पितृलाई तर्पण, सिदादान र पिण्डदान गर्नाले अगति परेका पितृ पनि तर्दछन् भन्ने धार्मिक विश्वासका कारण पनि भाद्र कृष्ण औँसीका दिनमा यहाँ भक्तजनको भीड बढ्ने गरेको मन्दिरका पुजारी जगदीश भट्टले जानकारी दिनुभयो । गोकर्णेश्वरमा आएका भक्तजनले भने धार्मिक रूपमा महत्वपूर्ण भए पनि गोकर्णेश्वरमा व्यवस्थापन राम्रो नहुँदा दुःख पाएकोे बताउँछन् । रसुवाबाट आएका दर्शनार्थी धर्मचन्द्र पौडेल गाडीको असुविधाले यहाँ आउन दुःख पाइएको बताउनुहुन्छ । “मन्दिर आसपासमा साँघुरो बाटो भएकाले गाडी चल्न नसकेको रहस्य मैले मन्दिरमै आएर थाहा पाएँ,” उहाँले भन्नुभयो । मन्दिरक्षेत्रमा सार्वजनिक जग्गामा घर बनाई बाटो साँघुरो भएकाले जोरपाटीदेखि हिँड्नुपर्दा समस्या भएको पनि उहाँले गुनासो गर्नुभयो । शास्त्रीय रूपमा महत्व रहेको पवित्र तीर्थस्थलको सुव्यवस्थापनमा तीन तहका सरकारमध्ये कसैको पनि ध्यान नगएको यहाँ आएपछि थाहापाएको धेरै भक्तजन बताउँछन् । यस क्षेत्रमा वैदिक सनातन हिन्दू धर्मावलम्बी मात्र होइन बिहानदेखि बौद्ध धर्मावलम्बीको पनि भीड लागेको छ । एक वर्षभित्र आफ्ना पिता दिवङ्गत भएका बौद्धमार्गी यहाँ आएर श्राद्ध र पूजाआजा गरी भोज खाने प्रचलन रहेको बौद्धधर्म गुरु पाल्साङ लामाले बताउनुभयो । बौद्धमार्गीले आजको दिनमा गोकर्णमा आई दर्शन गरेमा दिवङ्गत पिताको स्वरुप दर्शन गर्न पाइने विश्वाससमेत रहेको पनि उहाँले जानकारी दिनुभयो । गोकर्णमा मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बाल यन्त्रको पूजाआराधना हुने भएकाले पशुपतिनाथ दर्शन गर्नेले गोकर्णेश्वर महादेवको पनि दर्शन गर्नुपर्ने मान्यता रहिआएको छ । यसै मान्यताका कारण आज कतिपय भक्तजन गोकर्णेश्वरपछि पशुपतिनाथको दर्शनमा जाने गर्छन् । पशुपतिनाथमा बढी भीड लाग्ने हरितालिका (तीज), बाला चतुर्दशी, शिवरात्रि, साउने सोमबारलगायत पर्वमा पनि पशुपतिनाथको दर्शन गरेर गोकर्णेश्वरको दर्शन गर्न आउने भक्तजन उल्लेख्य हुने गरेका छन् । आजैको दिन हिन्दू धर्मावलम्बीले वर्षभरि घरमा धार्मिक कृत्य गर्नका लागि आवश्यक कुश भित्र्याई कुशे औँसी पर्व मनाउँछन् । कुशलाई भगवान् विष्णुको स्वरुप मानिन्छ । त्यसैगरी आफ्ना बाबुलाई मीठो मीठो खान दिई बाबुको मुख हेर्ने पर्व पनि आजै मनाइँदैछ ।