काठमाडौं: नेपाल सरकारले मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिव रहनुभएका अर्याललाई भदौ १६ गतेदेखि लागू हुने गरी मुख्यसचिवमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
पाँचथर: फालेलुङ गाउँपालिका–५ डाँडागाउँमा बिहीबार विस्फोटक वस्तु विस्फोट हुँदा घाइते भएका दुई बालबालिकाको मृत्यु भएको छ । विस्फोटमा घाइते भएका फालेलुङ–५ डाँडागाउँका दिलीप साँवाका ११ वर्षीय छोरा दीपसन साँवा र दुई वर्षीया छोरी प्रिन्साको उपचारका लागि झापा लैजाने क्रममा गए राति मृत्यु भएको हो । शरीरका विभिन्न भागमा चोट लागेका उनीहरूको जिल्ला अस्पताल फिदिममा उपचार सम्भव नभएपछि चिकित्सकले झापाको विर्तामोड ‘रेफर’ गरेका थिए । बहिनीको बिहीबार बेलुकी इलाम पुर्याउँदै गर्दा तथा दाजु दीपसनको आज बिहान विर्तामोडको बिएण्डसी अस्पतालमा मृत्यु भएको पाँचथर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विस्फोटमा घाइते स्थानीय ज्ञानबहादुर राईका छोरा ११ वर्षीय पवन राईको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते स्थानीय दीपक राईका सात वर्षीय छोरा पवन स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि घर फर्केका छन् । घटनास्थलमा अर्को पनि शङ्कास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान गर्न तथा विस्फोटक वस्तु निस्तेज पार्न रणशेर गण फिदिमबाट नेपाली सेनाको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ । शङ्कास्पद वस्तु फालेलुङ–५ डाँडागाउँका आइतराज केरुङको घरमा विस्फोट भएको जनाइएको छ । यद्यपि अहिले उक्त घरमा ज्ञानबहादुर राईको परिवार बस्दै आएको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो ती बालबालिका खेल्ने क्रममा विस्फोट भएको थियो । प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोलीले घटनास्थलमा अनुसन्धान जारी राखेको प्रमुख क्षेत्रीले जानकारी दिनुभयो ।
काठमाडौं: पर्यटक बस व्यवसायीहरूको छाता संस्था टुरिष्ट बस एशोसिएसन अफ नेपाल (टिवान)को अध्यक्ष पदमा भीष्मप्रसाद न्यौपाने निर्वाचित हुनुभएको छ । टिवानको बिहीबार सम्पन्न १३औँ वार्षिक साधारणसभा एवं सातौँ अधिवेशनबाट न्यौपानेको नेतृत्वमा सात सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । नवनिर्वाचित अध्यक्ष न्यौपाने चितवन सफारीका प्रबन्ध निर्देशक हुनुहुन्छ । यस्तै, टिवानको प्रथम उपाध्यक्षमा दीपक भट्टराई, द्वितीय उपाध्यक्षमा अशोक अर्याल र महासचिवमा प्रकाशचन्द्र अधिकारी निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक श्रीकान्त आचार्यले जानकारी दिनुभयो । कोषाध्यक्षमा चिरञ्जीवी गिरी, सदस्यहरूमा रमेश पौडेल, सुजन दाहाल र छविलाल घिमिरे हुनुभएको निर्वाचन संयोजक आचार्यले बताउनुभयो । पर्यटक बसमार्फत मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको टिवानले हाल मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट पोखरा, चितवन, लुम्बिनी, जनकपुरलगायत स्थानमा सेवा प्रदान गर्दै आएको छ । नवनिर्वाचित अध्यक्ष न्यौपानेले आफ्नो कार्यकालमा मुलुकको सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बसपार्क निर्माणका लागि पहल गर्ने बताउनुभयो । यस्तै पर्यटक बस सञ्चालनका क्रममा देखिएका समस्या समाधानमा आफू लाग्ने विश्वास व्यक्त गर्नुभयो ।
नवलपरासी: बर्दघाट सुस्तापूर्वको कावासोतीमा रु ६८ लाख लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल (भ्यूटावर) बेवारिसे बनेको छ । कावासोती नगरपालिका–१ बालुवाडाँडामा रु ६८ लाख लगानीमा ६० फिट अग्लो टावर निर्माण गरिएको थियो । तीन वर्षअघि निर्माण सम्पन्न भएको टावरको प्रयोग रेखदेख एवं सञ्चालन गर्ने निकायका अभावमा अहिले बेवारिसे अवस्थामा पुगेको हो । टावरको अहिले स्टिलका बार चोरी हुन थालेका छन् भने भ्यूटावर मद्यपान र धुमपान गर्नेको रोजाइको केन्द्र बन्न थालेको स्थानीय जितुमाया रानाले गुनासो गर्नुभयो । “अहिले त भ्यूटावरमा लगाइएको स्टिलको बार काटेर लगिएको छ । भित्ताका प्लास्टर उप्किएको छ, लेउ लागेको छ, यत्रतत्र फोहर फालिएको छ, जमिन पनि धाँजा भएर फाट्न थालेको छ”, उहाँले भन्नुभयो । टावर बनेपछि पर्यटकीय गतिविधि बढ्ने र स्थानीयको आयआर्जनमा वृद्धि हुने आशाले रानालगायत भ्यूटावर नजिकै घर भएका स्थानीयवासी खुसी भएका थिए । तर भ्यूटावर बनेको तीन वर्ष हुँदासम्म पनि सञ्चालनमा नआउँदा खुसीभन्दा पनि अहिले असुरक्षा बढेको रानाले बताउनुभयो । “भ्यूटावर सञ्चालन गर्ने निकाय नहुँदा विकृति बढ्दै गएको र बाटोमा हिँड्न पनि डरलाग्दो भएको छ”, उहाँले भन्नुभयो, “अबेर रातिसम्म मदिरा सेवन गर्नेको समूह धेरै आउन थालेको छ, कहिलेकाहीँ त दिउँसै पनि लट्ठिएर हिँड्दा स्थानीय बालबालिकालाई पनि डर हुने अवस्था सृजना भएको छ ।” कावासोती –१ का वडाध्यक्ष तबारक अहमद मियाँले भ्यूटावर सञ्चालनमा नआए पनि दैनिक सयभन्दा धेरै आन्तरिक पर्यटक भ्यूटावर क्षेत्र घुम्न आउने गरेको बताउनुभयो । “तत्काल भ्यूटावर व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी नगरपालिकामा पहल गरिरहेको छु”, उहाँले भन्नुभयो, “व्यवस्थित रूपमा भ्यूटावर सञ्चालन नहुँदा दैनिक आम्दानीको स्रोत गुमिरहेको छभने रेखदेख नहुँदा त्यस क्षेत्रमा फोहरको थुप्रो लागेको छ ।” भ्यूटावरको वरिपरि पहिरो जान थालेपछि आर्थिक वर्ष २०७९÷८० मा रु १० लाख बजेट विनियोजन गरी नगरपालिकाले ‘कम्पाउण्ड वाल’ लगाउन सुरु गरेको थियो । चालु आवमा पनि कम्पाउन्ड वाल निर्माणका लागि रु १० लाख रकम विनियोजन गरिएको छ । भ्यूटावर व्यवस्थापन र नियमित सञ्चालनका लागि नगरपालिकाले प्राथमिकतामा राखेको कावासोतीका नगरप्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो । “यसै आवदेखि वडा कार्यालय र स्थानीयको रेखदेखमा सञ्चालन गर्न दिनेबारे मोटामोटी छलफल भइरहेको छ”, उहाँले भन्नुभयो, “अहिले देखिएका केही समस्यालाई छिटोभन्दा छिटो सम्बोधन गर्नेछौँ ।” समुद्री सतहबाट झण्डै आठ सय मिटर उचाइमा रहेको भ्यूटावर पूर्वपश्चिम राजमार्गको फलफूलचोकबाट ११ किलोमिटरको दूरीमा रहेको छ । यस क्षेत्रबाट जिल्लाका अधिकांश भूभागसँगै चितवनसहित भारतीय क्षेत्रसमेत देख्न सकिन्छ ।
काठमाडौं: सरकारले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा इलामका दिनेस डिसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । फिल्म निर्देशक, अभिनेता तथा सञ्चारकर्मी डीसी सत्तारुढ दल नेकपा९एमाले० निकट जनपक्षीय चलचित्रकर्मी सङ्घको अध्यक्ष एवं चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष समेत हुनुहुन्छ ।
काभ्रेपलाञ्चोक: अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित ५६ किलो भन्ने स्थानमा यात्रुवाहक बसले बिहीबार साँझ ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौँबाट बाह्रबिसेतर्फ गइरहेको बा२ख ९०६४ नम्बरको बसले सडकमा हिँडिरहेकी महिलालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । सडक–बाटोमा मागी हिँड्ने ती महिलाको धुलिखेल अस्पतालमा उपचारका क्रममा चिकित्सकले गए राति मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नाम, वतन नखुलेकी ती महिलालाई ठक्कर दिने बसचालक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ का ५१ वर्षीय रामबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै नमोबुद्ध नगरपालिका–६ की १३ वर्षीया बालिका खुसी न्यौपाने मृतावस्थामा फेलापरेकी छन् । बिहीबार अपराह्न घरबाट हराएको खबर पाएलगत्तै खोजीमा निस्किएको प्रहरीले दाप्चा खोलाको दहमा खुसीको शव फेला पारेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
काठमाडौं: बिहीबारको तुलनामा आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोको घटेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५० पैसा रहेको छ । बिहीबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ तीन पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६३ पैसा रहेको थियो । हिजोको तुलनामा आज नेपाली बजारमा युरोको भाउ पनि घटेको छ । बिहीबार एक युरोको खरिददर एक सय ४९ रुपैयाँ १२ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ७८ पैसा रहेको थियो भने आज एक युरोको खरिददर एक सय ४८ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ २५ पैसा कामय भएको छ । आजको विदेशी मुद्रा विनिमयदरअनुसार पाउण्ड स्टर्लिङ भाउ पनि घटेको छ । एकको खरिददर एक सय ७६ रुपैयाँ ६६ पैसा कायम भएको छ भने बिक्रीदर एक सय ७७ रुपैयाँ ४५ पैसा कायम भएको छ । बिहीबार यस मुद्राको एकको खरिददर एक सय ७७ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ९२ पैसा रहेको थियो । त्यस्तै, आज स्वीस फ्याङ्क एकको खरिददर एक रुपैयाँ ५८ रुपैयाँ ६८ पैसा र बिक्रीदर एक सय ५९ रुपैयाँ ३९ पैसा कायम भएको छ । त्यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७३ पैसा रहेको छ । यसैगरी, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ४० पैसा कायम भएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा कायम भएको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८४ पैसा तोकिएको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा रहेको छ । आजको विनिमयदरअनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९५ पैसा र बिक्रीदर तीन रुपैयाँ ९७ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा रहेको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको छ । साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ सात पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा कायम भएको छ । स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १२ पैसा र बिक्रीदर १३ रुपैयाँ १८ पैसा रहेको छ । त्यस्तै डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९२ पैसा र बिक्रीदर २० रुपैयाँ एक पैसा रहेको छ । आज हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १८ पैसा र बिक्रीदर १७ रुपैयाँ २६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ र बिक्रीदर चार सय ४० रुपैयाँ ५६ पैसा रहेको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ २४ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ८३ पैसा रहेको छ । राष्ट्र बैंकले तय गरेको विदेशी विनियमदर खुला बजारमा भने फरक पर्नसक्नेछ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति पौडेलले आज नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको हो । सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष सो विधेयक पेस भएको थियो ।
काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अरू मुलुकको तुलनामा नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खुला र उदारवादी रहेको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)सँग आज गरिएको कुराकानीमा मन्त्री गुरुङले अन्तर्राष्ट्रिय समाचार माध्यमको अवस्था दर्शाउँदै बहुलवादी खुला समाज अङ्गीकार गरेको नेपालमा प्रेस स्वतन्त्रता बलियो रहेको धारणा राख्नुभयो । “सार्क क्षेत्रमै हेर्ने हो भने हाम्रो देशको प्रेस निकै लोकतान्त्रिक र खुला छ”, उहाँले भन्नुभयो, “प्रेसको यो गरिमा जोगाई राख्न मर्यादित र व्यवस्थित नीति ल्याउन आवश्यक छ ।” सिङ्गारपुर र मलेसिया जस्ता विकसित मुलुकमा समेत सीमित सञ्चारमाध्यम सञ्चालित रहेको उल्लेख गर्दै मन्त्री गुरुङले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मर्यादित र व्यवस्थित बनाउन सरकारले गृहकार्य सुरु गरेको जानकारी दिनुभयो । यसै अनुरुप यही भदौ ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिबन्धित ‘टिकटक प्लेटफर्म’ सञ्चालन गर्ने निर्णय गरेको उहाँको भनाइ थियो । सामाजिक सञ्जाल पछिल्लो समय युवाको रोजगारको केन्द्र बनेकाले प्रतिबन्ध लगाउनु उचित नरहेको मन्त्री गुरुङले बताउनुभयो । यद्यपि आवश्यक नियमन भने जरुरी रहेकाले निश्चित सर्त पूरा गरेर मात्रै ‘टिकटक’ सञ्चालन गर्न पाउने निर्णय गरिएको उहाँको भनाइ थियो । सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० को दफा ३ मा उल्लेख गरिएको टिकटक प्रयोगकर्ता वा कम्पनीले दर्ता गर्नुपर्ने, दफा ६ अनुुसार प्रयोगकर्ताको प्वाइन्ट अफ कन्ट्याक (सम्पर्क केन्द्र) तोक्नुपर्नेलगायत सर्त पालना गर्नुपर्छ । मन्त्री गुरुङले टिकटक प्रतिनिधिलाई ‘पर्यटन प्रवद्र्धन’, ‘डिजिटल सेक्युरिट’, ‘डिजिटल लिट्रेसी’, ‘पब्लिक एजुकेसन’का लागि सहयोग गर्नुपर्ने प्रस्तावमा सहमति भएको बताउनुभयो । “सामाजिक दूरभावना फैल्याउने अश्लील, अमर्यादित खालका विषयभित्र रहेका शब्द, वाक्यको अङ्ग्रेजी, नेपाली, नेपाल राष्ट्र भाषाहरुमा समेत ‘फिल्टरेसन’ र ‘मोडरेसन’ गर्नुपर्छ भनेका छौँ”, उहाँले भन्नुभयो, “यसले झन्डै दुई÷तीन सय युवाले रोजगार पाउँछन् भने व्यवस्थित समाजिक सञ्जाल बन्न सघाउँछ ।”