काठमाडौं: बिदा स्वीकृत नगराइ कार्यालयमा हाजिर नभएका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालय नक्सालले आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयले सूचना निकालेर गैरहाजिरी हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन भनेको हो । गैरहाजिरी रहेका एक जना हवल्दार, पाँच जना सहायक हवल्दार र १६ जना जवानलाई स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको हो । निर्देशन अटेर गरेमा सेवाबाट हटाइने सूचनामा उल्लेख छ ।
पाेखरा: अविरल वर्षात्पछि आएको बाढी–पहिरोका कारण तीनवटा राजमार्ज पूर्णरूपमा अवरूद्ध बनेका छन्। सडक विभागकाअनुसा चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक जोड्ने तमोर करिडोर अन्तर्गतको सडक माझिटार, हेवाखोलामा अवरूद्ध छ, त्यस्तै भालुवाङ लिवाङ रोल्पा माडीचौर दारबोट जोड्ने सडक प्युठानको खहरे खोलामा र गर्जेनीमा अवरूद्ध रहेको छ। यस्तै, बेलहिया-भैरहवा-बुटवल-बर्तुङ-राम्दी-स्याङ्जा-पोखरा जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गतको सडक पाल्पाको ६ स्थानमा अवरूद्ध भएको सडक विभागले जानकारी दिएको छ। यसवर्ष मनसुन सुरू भएयता ११४ स्थानमा सडक अवरूद्ध भएको विभागले जानकारी दिएको छ। त्यसमध्ये ३ राजमार्ग ८ ठाउँमा अवरूद्धको अवस्थामा छन् भने १९ स्थानमा एकतर्फी सञ्चालनमा छन्। ८७ स्थानमा दुवैतर्फ चालु रहेको विभागको भनाइ छ। मौसमजन्य विपदका कारण राजमार्गमा २४ करोड ९८ लाख ३० हजार बराबर क्षति पुगेको विभागको अनुमान छ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युरोपमा रहेका नेपालीहरूको समस्या समाधान गर्न आफू लागिपर्ने बताउनुभएको छ । सोमबार रोममा नेपाली जनप्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्यान्डका प्रतिनिधिहरूसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्रीको निजी सचिवालयले अनुसार भेटमा प्रधानमन्त्रीले युरोपमा रहेका नेपालीहरूको समस्या समाधान गर्न आफू लागिपर्ने र देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा सरकार अघि बढेको जानकारी दिनुभयो । साथै प्रधानमन्त्री प्रचण्डले ठूलाठूला भ्रष्टाचार र तस्करीलाई कारबाही गर्न सरकारले अठोट लिएकाले राष्ट्र निर्माणमा तपाईँहरूको साथ आवश्यक रहेको बताउनुभयो । यसैगरी, सो अवसरमा नेपाल सरकारले गरेका कामले विदेशमा भएका नेपालीहरूमा देश बन्ने भो भन्ने आत्मविश्वास बढेको र त्यसका लागि प्रधानमन्त्रीलाई बधाई दिनुका साथै आफूहरू साथमा रहने प्रतिबद्धता प्रतिनिधिहरूले जनाउनुभयो । कार्यक्रमको सुरुमा प्रधानमन्त्रीकी जीवनसङ्गिनी स्व। सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
ढोरपाटन: ढोरपाटनमा बर्खामा हरियाली वातावरणसँग रमाउने र हिउँदमा हिउँ खेल्नेको भीड नै लाग्ने गर्छ । बुर्तिबाङ बजारदेखि ढोरपाटन पुग्ने सडकको अवस्था त बिजोग नै छ । यद्यपि आन्तरिक पर्यटक जसोतसो ढोरपाटन पुग्ने गरेका छन् । यो याम ढोरपाटन घुम्नका लागि निकै उपयुक्त मानिन्छ । उच्च पहाडी क्षेत्र भएको हुँदा शान्त वातावरण र स्वच्छ हावापानी यहाँ पाइन्छ । बजारको गर्मीले आजित बनेकाहरू शीतलताका लागि बर्खायाममा ढोरपाटन पुग्छन् । ढोरपाटनसम्म साना खहरे खोला पार गर्दै पुगे पनि उत्तरगङ्गा नदी तर्न गाह्रो पर्छ । हरेक वर्षातको समयमा उत्तरगङ्गा नदीमा पानीको बहाव बढ्ने हुँदा ढोरपाटन बराह मन्दिर क्षेत्रबाट पारीपट्टीका सेलपाखे, सिकार आरक्ष कार्यालय क्षेत्रलगायतका ठाउँमा पुग्न पैदल यात्रा नै गर्नुपर्ने बाध्यता छ । विशेषगरी सेलपाखे र सिकार आरक्ष क्षेत्र घुम्न अतिउपयुक्त मानिन्छ । पुल नबन्दा ढोरपाटन पुग्ने धेरै जसो पर्यटक यी ठाउँमा पुग्नबाट वञ्चित हुने गरेका छन् । बुर्तिबाङदेखि ढोरपाटन सडकले जोडिएको दशक बढी हुन थाल्यो, तर उत्तरगङ्गामा पुल निर्माण गर्नेतर्फ कसैको ध्यान जान सकेको छैन । उत्तरगङ्गा नदी हिउँदमा वारपार गर्न सकिने हुँदा स्थानीयले पशुचौपाया पनि खोला तार्ने गर्छन् भने गाडी पनि सहजरुपमा वारपार गर्न सक्छन् । केही दिनदेखिको वर्षाले उत्तरगङ्गा बढेर सतह पार गरेको छ । मान्छे वारपार गर्न नवी र मोराङ दोगाडी घाटमा झोलुङ्गे पुल बने पनि मोटरेवल पुल भने अहिलेसम्म बन्न सकेको छैन । सेलपाखे मैदानमा यतिबेला वनफूलसँगै विभिन्न प्रकारका फूलले भरिएको र पारी पुग्ने पुल नहुँदा टाढैबाट पर्यटक लोभिने गरेका छन् । उत्तरगङ्गा नदीमा पुलको माग गरेको बर्षौँ भए पनि अहिलेसम्म बन्नका लागि कुनै प्रक्रिया अगाडि नबढेको स्थानीय कुलबहादुर सुनारले बताउनुभयो । उहाँले नदिमाथि पुल बने ढोर बराह मन्दिरमा आउने सबै पर्यटक सिकार आरक्ष कार्यालय क्षेत्र तथा ठुलो समरथर मैदानमा पुग्नसक्ने बताउनुभयो । सुनारले भन्नुभयो, “ढोरपाटन मोटरबाटले जोडिएदेखि हामी यहाँका गाउँलेले सरकारलाई धेरैपटक पुल बनाउनका लागि माग ग¥यौँ, तर अहिलेसम्म कुनै पनि निकायबाट सुनुवाइ हुन सकेको छैन, मान्छे तर्ने झोलुङ्गे पुल पनि दुई ठाउँमा मात्रै छ, बीच भागमा मोटर गुड्न पुल बने धेरै सजिलो हुने थियो, घुम्न आउने पनि गाडीमै ढोरपाटन उपत्यका घुम्न पाउँथे, अहिले त बराह मन्दिर नजिक गाडी पार्किङ गरेर पारी पुग्नुपर्ने अवस्था छ ।” ढोरपाटन नगरपालिकाका नगर उपप्रमुख धनबहादुर कायतले उत्तरगङ्गा नदीमा एउटा पनि मोटरेवल पुल निर्माण नहुँदा स्थानीय र पर्यटकलाई वारपारमा समस्या भएको बताउनुभयो । हिउँदको समयमा कुनै समस्या नपर्ने र बर्खामा नदीमा बाढी आउँदा यात्रा गर्न नसकिने उहाँको भनाइ छ । उहाँले नगरपालिकाले आर्थिक वर्ष २०७९र८० मा नवी गाउँ नजिकै पुल निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० तयार गरेको बताउनुभयो । डिपिआर तयार गर्दा नगरपालिकाले रु १० लाख खर्च गरेको उपप्रमुख कायतको भनाइ छ । “ढोरपाटन प्राकृतिक सौन्दर्यले गर्दा विश्वमा चर्चित बन्यो, तर यहाँ अहिलेसम्म ठूलाठूला विकास निर्माणका काम हुन सकेका छैनन्, हामी निर्वाचित भएर आएपछि केही कामको थालनी गरेका छौँ, अहिले तत्कालका लागि उत्तरगङ्गामा पुल आवश्यक छ, नगरपालिकाको बजेटले भ्याउँदैन, केन्द्र र प्रदेश सरकारसँग सहकार्य गरेर बनाउने योजना छ”, उहाँले भन्नुभयो, “पुल नबन्दा ढोरपाटन पुगेका हजारौँ पर्यटक वास्तविक ढोरपाटन देख्न र घुम्नबाट वञ्चित भएका छन्, अहिले त नदी बढेर माथिमाथि आएको छ, केही दिन अगाडि म ढोरपाटन पुगेको थिए, खोला तर्न सकिएन, अब हिउँद नलागेसम्म यस्तै हो ।” ढोरपाटन पुग्न छैन सहज बुर्तिबाङ बजारदेखि बोबाङ गाउँसम्म सडक सहज भए पनि दुनेपँधेरा, फल्लेघर हुँदै ढोरपाटन पुग्न भने निकै अप्ठ्यारो छ । साँघुरो सडक खाल्डाखुल्डी र हिलाम्य हुँदा पर्यटकका सवारी साधन ढोरपाटन पुग्न सक्दैनन् । यसबेला अधिकांश पर्यटक मोटरसाइकल र जीपमा यात्रा गर्ने गर्दछन् । पर्यटकले प्रयोग गर्ने सवारी साधन बीचबाटोमै बिग्रने हुँदा उनीहरुसमेत अलपत्र पर्ने गरेको स्थानीय बुद्धिमान पुनले बताउनुभयो । वर्षाले सडकमा लेदोसहितको हिलो र ढुङ्गा थुपारेको हुँदा यात्रा गर्न निकै कठिन हुने पुन बताउनुहुन्छ । यो सडक राष्ट्रिय प्राथमिकताको योजनाअन्तर्गतको सालझन्डी–ढोरपाटन आयोजनाअन्तरगत पर्छ । सडकले रुपन्देहीको सालझन्डीदेखि अर्घाखाँची हुँदै ढोरपाटन जोडेको छ । सडकको दुरावस्था हुँदा पर्यटकसँगै ढोरपाटनका स्थानीयसमेत सहजरुपमा यात्रा गर्न पाएका छैनन् । सडक निकै साँघुरो र हिलाम्मे हुँदा बस्तुभाउ तथा मान्छेलाई लेकबेँसी गर्न सकस पर्ने पुनको भनाइ छ ।
काठमाडौं: त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तीन जना कर्मचारी निलम्बनमा परेका छन्। निलम्बनमा पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिददार कुमार ढकाल र सरोज श्रेष्ठ रहेका छन् । हङकङबाट क्याथे एयरवेजको जहाजबाट आएको ब्रेकशुमा लुकाएर ल्याएको ठूलो परिमाणको अन्दाजी ८० देखि १०० किलो सुन भन्सार जाँच पास भएर निस्किएको देखिएपछि तीन जनालाई निलम्बन गरिएको हो। कर्मचारीको कमजोरी देखिएकाले निलम्बन गरिएको भन्सार विभाग स्रोतले जानकारी दियो। ब्रेक शु आउँदा भन्सार कार्यालयका कर्मचारी सरोज श्रेष्ठको ड्युटी एक्सरे मेसिनमा हेर्ने थियो। तर उनको लापरवाहीले उक्त सुन भित्रिएको स्रोतले बतायो। ‘त्यो दिन एक्सरे हेर्ने सरोज थिए। उनले जिम्मेवारीपूर्वक काम गरेको देखिएन,’ स्रोतले भन्यो, ‘उनलाई नोटिस भएको थियो। रेड च्यानल चेक गर भनेर छाड्न पाउन्न। उनले होल्ड गरेर चेकजाँच गर्नुपर्थ्यो। त्यो गरेको देखिएन।’ शंकास्पद सामान आएको थाहा पाएर पनि उनले थप प्रक्रिया नपुर्याएको स्रोत बताउँछ। रेडी प्रालीले आठ वटा ब्रेक शुका बक्स ल्याएको थियो। जसमध्ये पाँच वटा बक्सलाई हेर्न भनेर लेखेको पाइएको थियो।
पर्वत: पर्वतका दुई छुट्टाछुट्टै स्थानमा गएराति परेको चट्याङमा पाँच जना घाइते हुनाका साथै एक घरमा क्षति पुगेको छ । जिल्लाको फलेवास नगरपालिका–३ शङ्कर पोखरीस्थित टारीका दयाराम पङ्गालीको घरम चट्याङ पर्दा तीन जना घाइते भएका थिए । गए राति करिब १२ बजेको समयमा भीषण वर्षासँगैको चट्याङ परेर ३० वर्षीया शर्मिला रिजाल, २५ वर्षीय होमनाथ रिजाल र २७ वर्षीय नवीनप्रसाद रिजाल घाइते हुनुभएको थियो । उहाँहरुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी निरीक्षक प्रकाश रावतले जानकारी दिनुभयो । घाइतेहरूको अवस्था सामान्य रहेको छ । चट्याङले पङ्गालीको दुई तले घरको दुईवटा कोठामा पूर्ण क्षति पु¥याएको छ भने टिभी, मिटरबक्सलगायत विद्युतीय सामग्रीसमेत नष्ट भएका छन् । त्यसैगरी महाशिला गाउँपालिका–६ फलामखानीमा पनि चट्याङमा परी दुई जना घाइते भएका छन् । बिहीबार राति करिब १२ बजेको समयमा परेको चट्याङले स्थानीय ५० वर्षीया उमादेवी सुनार र उहाँकी छोरी ३० वर्षीया रेखा सुनार घाइते हुनुभएको वडाध्यक्ष गोविन्द विकले जानकारी दिनुभयो । उहाँहरुको खुट्टा र कानमा चोट लागेको र स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको उहाँको भनाइ थियो । चट्याङ लागेर फलामखानीको पात्ला र ढडेनका सात घरमा विद्यतको मिटर बक्स जल्नाका साथै एक बाख्रोसमेत मरेको छ । क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको वडाध्यक्ष विकले बताउनुभयो ।
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिणामको सुन ट्याक्सीबाट जफत भएपछि भन्सार विभागले छानबिन समिति बनाएको छ। विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समित गठन भएको विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए। उक्त समितिले विमानस्थलको भन्सार जाँचपासमा क(कसको संलग्नता भएको भन्नेबारे छानबिन गर्ने सूचना अधिकारी खड्काले बताए। समितिले भन्सार अधिकृतलगायत अन्य कर्मचारीहरूको संलग्नताबारे पनि छानबिन गर्न लागेको हो। विमानस्थलमा रहेका सिसिटिभी फुटेजमा पनि हेर्नेछ। त्यस्तै अहिलेलाई भन्सार जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने तयारीसमेत गरेको छ। अन्यको पनि संलग्नता खुले त्यसअनुसार कारबाही अघि बढाइने सूचना अधिकारी खड्काले जानकारी दिए। राजश्व अनुसन्धान विभागले भन्सार जाँच पास भएर निस्केको ८० देखि १०० किलो अनुमानित सुन मंगलबार बरामद गरेको थियो। यसको यकिन विवरण खुलिसकेको छैन। हङकङको क्याथे प्यासिफिक एयरलाइन्सबाट आएको स्कुटरको ब्रेक शुमा राखेर उक्त सुन ल्याइएको हो। विभागले अहिलेसम्म यसमा संलग्न ६ जनालाई पक्राउ गरिसकेको छ। जसमा एक जना एजेन्टसमेत छन्। विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरीसकेपछि बरामद भएको सुन जोख्न राष्ट्र बैंक पठाइएको छ ।
काठमाडौं: लामो समयको प्रतीक्षापछि सरकारले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्नुहुने भएको छ । आयोजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाई रहेको गोरखाको सिउरेनीटारमा आयोजनाको फिल्ड कार्यालय भोलि (बुधबार) उद्घाटन गर्ने तयारी गरिएको प्रमुख कार्यकारी अधिकृत जगत् श्रेष्ठले जानकारी दिनुभयो । त्यसका लागि आवश्यक तयारी पूरा भएको उहाँको भनाइ छ । भोलि हुने कार्यक्रममा धादिङ र गोरखाका स्थानीय जनप्रतिनिधि तथा सरोकारवालालाई निमन्त्रणा गरिएको छ । कूल एक हजार दुई सय मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि सरकारले बूढीगण्डकी जलविद्युत कम्पनी स्थापना गरिसकेको छ । काठमाडौंस्थित कम्पनीको प्रधान कार्यालय गत असार ३१ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरिसक्नुभएको छ । “राष्ट्रिय गौरवको आयोजना सुरु भयो भनेर सन्देश दिन लागिएको हो”, प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भन्नुभयो, “यसले आम रूपमा पनि एउटा सकारात्मक सन्देश प्रवाह गर्दछ र विश्वासको वातावरण पैदा हुन्छ ।” सरकारले आयोजना प्रभावितलाई हालसम्म रु ३४ अर्ब ३० करोड बराबरको मुआब्जा वितरण गरिसकेको छ । यस्तै, घर गोठ, बोटबिरुवातर्फ रु छ अर्ब ७० करोड बराबरको मुआब्जा वितरण भइसकेको छ । हाल मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको छ । आयोजना प्रभावितले अधिकार सम्पन्न प्राधिकरण बनाउन माग गर्दै आएका छन् । यस्तै, मुआब्जा वितरणको काम शीघ्र सम्पन्न गर्न तथा अन्य व्यवस्थापकीय कामलाई गति दिनसमेत उनीहरूको माग छ । स्थानीयवासीले उठाएका जायज मागलाई सरकारले सम्बोधन गर्ने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाइ छ । आयोजनाको दिगोपनका लागि पनि स्थानीयवासीको माग सम्बोधन हुने तथा आवश्यक निर्णय गरिने उहाँले स्पष्ट पार्नुभयो । आयोजना अगाडि बढाउनका लागि प्रधानमन्त्री प्रचण्डले चासो राख्दै आउनुभएको थियो । चालु आर्थिक वर्षको बजेटमा समेत सो आयोजनाको निर्माण सुरु गर्ने उल्लेख छ । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको बैठक र अन्य सार्वजनिक कार्यक्रममा समेत सो आयोजनाको निर्माण शीघ्र सुरु हुने बताउँदै आउनुभएको छ । धादिङ र गोरखाका जनप्रतिनिधि र स्थानीयवासीले समेत शीघ्र आयोजनाको काम सुरु गर्न माग गर्दै आएका छन् । सरकारले आन्तरिक स्रोतको परिचालन गरेरै सो आयोजनाको निर्माण सुरु गर्ने बताउँदै आएको छ । आयोजनाका लागि भनेर पेट्रोलियम पदार्थमा भन्सार विन्दुमै कर उठाउँदै आइएको छ । केही दिन पहिले राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले पूर्वाधार करमार्फत उठेको रकम मुआब्जा वितरण लगायतका काममा खर्च भएको जानकारी गराउनुभएको थियो । सरकारले चालु आवको बजेटमार्फत वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाईलाई नै कम्पनीमा रूपान्तरण गरेको हो । गत असार २८ गते कम्पनीको प्रमुख कार्यकारी प्रमुखमा इकाई कै प्रमुख श्रेष्ठलाई नियुक्त गरेको थियो । इकाईको कार्यालय रहेको गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनीटारमा कम्पनीको कार्यालय स्थापना हुनेछ । आयोजनाबाट धादिङ र गोरखाका करिब ५० हजार मानिस प्रभावित हुनेछन् । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० सन् २०१४ मा नै फ्रान्सेली कम्पनी ट्याक्टबेलले तयार पारिसकेको छ । लामो प्रतीक्षापछि आयोजना निर्माण हुने विश्वास बढेर गएको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले स्थानीयवासीले समेत सकारात्मक रूपमा सहयोग गर्ने बताउनुभयो । आयोजनामा कूल दुई सय ६३ मिटर अग्लो बाँध निर्माण हुनेछ । त्यसबाट कूल ४५ मिटर लम्बाइको ताल बन्नेछ । धादिङको बेनीघाटबाट दुई किलोमिटर उत्तरमा बाँध निर्माण हुनेछ । बढी बिजुली माग हुने काठमाडौं, पोखरा, नारायणगढलगायतका ‘लोड सेन्टर’ नजिकको सो आयोजना आफैँमा महत्त्वपूर्ण मानिएको छ । सरकारले २०७९ साल असारमा आयोजना निर्माणका लागि कम्पनी स्थापना गर्ने निर्णय गरेको थियो । लामो समयसम्म स्वदेशी वा विदेशी लगानी भन्नेमा आवश्यक निर्णय लिन ढिलाइ हुँदा प्रक्रिया अगाडि बढ्न सकेको थिएन । नेपालको ऊर्जा सुरक्षाका लागि महत्त्वपूर्ण मानिएको सो आयोजना निर्माणका लागि सरकारले रु ६० अर्ब अधिकृत पुँजी रहने गरी कम्पनी स्थापना गरेको थियो । प्रधानमन्त्री प्रचण्डको निर्देशनमा केही दिन पहिले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको टोलीले आयोजना स्थलको निरीक्षण गर्नुभएको थियो । कम्पनीमा प्राधिकरणको नै शेयर हिस्सा बढी रहनेछ । त्यसका लागि अध्ययन समितिले काम गरिरहेको र आवश्यक निर्णय लिइने बूढीगण्डकी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाइ छ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जीवनसङ्गिनी सीताको निधनको शोकको घडीमा सबैको साथ, संवेदना र सद्भावले आफूहरुलाई पीडाबाट निस्कन मद्दत गरेको बताउनुभएको छ । पत्नी सीताको निधन भएको सातौँ दिनको सन्दर्भ पारेर प्रधानमन्त्री निवास बालुवाटारमा आज (मङ्गलबार) आयोजित श्रद्धाञ्जली कार्यक्रममा उहाँले सबै पक्षको सहानुभूतिबाट देश र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरिरहेको आफूलाई महसुस गरेको बताउनभयो । प्रधानमन्त्री प्रचण्डले छोरा र छोरी गुमाउँदाको पीडामा पनि शरीरले साथ दिएसम्म पत्नी सीता दृढतापूर्वक उभिएको स्मरण गर्नुभयो । उहाँले राज्यबाट कुनै सुविधा नलिई उपलब्ध र लाभदायी हुनसक्ने सबै खाले पद्धतिबाट उपचारको प्रयास गरिएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले न्नुभयो, “सीता थला परेपछि अन्तिम अवस्था दुःखदायी हुन्छ कि भन्ने हामीलाई चिन्ता थियो, अन्तिम अवस्थामा आइसियू वा भेन्टिलेटरमा पीडादायी मृत्युवरण देख्नुपर्छ कि डर पनि थियो, तर बाँच्दासम्म अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजिन् ।” उहाँले अस्पतालदेखि पार्टी कार्यालयसम्म, आर्यघाटदेखि बालुवाटारसम्म सीताले पाएको सम्मान र श्रद्धाञ्जली त्याग तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान हो भन्ने आफूले ठानेको बताउनुभयो । सीताको निधनमा प्रकट भएका जनअभिव्यक्ति र जनउभारले आफू र आफ्नो परिवारलाई देश र जनताप्रति अझ ठूलो जिम्मेवारी बोध गराएको उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले नेपाली समाजमा व्याप्त आर्थिक, सामाजिक र सांस्कृतिक असमानताको अन्त्य गर्न आफूलाई बाँकी जीवनमा झनै सक्रिय भएर सशक्त भूमिका निर्वाह गर्नुपर्छ भन्ने प्रेरणा मिलेको बताउनुभयो । “शोकको यो घडीमा मित्रराष्ट्र र संसारभरका सबै राष्ट्रप्रमुख र सरकार प्रमुखबाट हामीले अत्यन्त आत्मीय सहानुभूति र ऐक्यबद्धता पायौँ”, उहाँले भन्नुभयो, “कूटनीतिकजगत्, राजनीतिक दल र नेतृत्व वर्ग, सञ्चारजगत्, कर्मचारीतन्त्र, सुरक्षा निकाय, बुद्धिजीवी, साहित्यकार, कलाकार, सङ्गीतकर्मी, व्यवसायी र समाजका सबै तप्काको समवेदना र सहानुभूतिले हाम्रो पीडामा ठूलो मलहम लगाउने काम गरेको छ ।” उहाँले सबै पक्षको सहानुभूतिका लागि आफू, सरकार, पार्टी र परिवारका तर्फबाट धन्यवादज्ञापन गर्नुभयो । श्रद्धाञ्जली सभामा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीगण, सांसद, कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता लगायतको उपस्थिति थियो । सो अवसरमा प्रधानमन्त्री पत्नी सीताको व्यक्तिगत तथा राजनीतिक योगदान समेटिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो । श्रद्धाञ्जली कार्यक्रमपछि प्रधानमन्त्री निवासमा जलपान कार्यक्रमको आयोजनासमेत गरिएको थियो । प्रधानमन्त्री पत्नी सीताको गत असार २७ गते ६९ वर्षीय उमेरमा निधन भएको थियो ।