तनहुँ: पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आठ घण्टापछि सञ्चालनमा आएको छ । गत शुक्रबार आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा दुर्घटनाग्रस्त युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रु चढेको बस निकाल्न बन्द गरिएको सडक आठ घण्टापछि सञ्चालनमा आएको हो । जिल्ला प्रशासन कार्यालय तनहुँले आज बिहानदेखि क्रेनको सहायतामा दुर्घटनाग्रस्त बस निकाल्न सडक बन्द गरेको थियो । क्रेनको हुक भाँचिएपछि सडक ढिला सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बस निकाल्न प्रयोग गरिएको क्रेनको बुम भाँचिएकोले सडक खुलाउन ढिला भएको हो । क्रेनको बुम जडान गरिएपछि यातायात सेवा पुनः सञ्चालनमा आएको छ ।” तनहुँको आबुखैरेनी–२ ऐनापहरामा शुक्रबार दुर्घटनामा परेको पोखराबाट काठमाडौँ जाँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस मस्र्याङ्दी नदीबाट निकाल्न ठूला मेसिनरी उपकरण प्रयोग गर्नुपर्ने भएकाले उक्त मार्ग भई चल्ने सवारी साधान पूर्णरुपमा बन्द गरिएको हो । ऐनापहरामा भारतीय पर्यटक चढेको बस मस्र्याङ्दीमा खस्दा २७ जनाको मृत्यु हुनुका साथै १६ जना सख्त घाइते भएका थिए ।
काठमाडौं: गृहमन्त्री रमेश लेखकले जनताको मुद्दालाई प्राथमिकता राख्न नेपाल प्रहरीलाई निर्देशन गर्नुभएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरुको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले जनताको मुद्दालाई प्राथमिकतामा राख्दा प्रहरीको मुद्दा पनि सँगै समावेश हुने बताउनुभयो । “प्रहरी साथीहरुलाई आत्मविश्वास काम गर्न आग्रह गर्दछु । जनताको मुद्दालाई प्राथमिकता दिनुप¥यो । जनताको मुद्दालाई प्राथमिकता दिँदा आफ्नो मुद्दा पनि आइहाल्छ,” उहाँले भन्नुभयो । सरकार बनेको सय दिनमा १० वटा काम गर्ने योजनासहित काम गरिरहेको गृहमन्त्री लेखकले जानकारी दिनुभयो । नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जोडिएको छ र जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवनबाट जनताले उचित सेवा पाउनेमा विश्वस्त रहेको उहाँले उल्लेख गर्नुभयो । “यो भवनले नेपाल प्रहरीले गर्ने सेवामा ठूलो सहयोग गर्नेछ । जनताले उचित सेवा पाउन सकून् । सरकारले प्रदान गर्ने सेवा मध्ये प्रहरीले प्रदान गर्ने महत्वपूर्ण सेवा हो,” गृहमन्त्री लेखक भन्नुभयो । उहाँले कांग्रेस र एमाले मिलेर सरकार बन्नुको उद्देश्य प्रस्ट पार्नुभयो । “दुई ठूला दल मिलेर सरकार बनेको छ । अहिलेको सरकार हामी केही मान्छे मन्त्री बनिहालौँ भनेर बनेको होइन । विसं २०७९ को चुनावपछिको समय सरकार बनाउने र भत्काउनेमै गयो । आर्थिक, राजनीतिक र विकास निर्माणका लागि हामी दुई ठूला दल मिल्यौँ,” उहाँले भन्नुभयो, “यो सरकारको उद्देश्य भनेको सरकारको स्थायित्व, आर्थिक विकास, दिगो शान्ति, सुशासन र समावेशी चरित्रको राज्य व्यवस्था स्थापित गराउने हो ।” कांग्रेस र एमाले मिल्दा आत्मविश्वास वृद्धि भएको गृहमन्त्री लेखकले जिकिर गर्नुभयो । “यसको उदाहरण १८ वर्षसम्म अल्झिएको सङ्क्रमणकालीन न्यायको विषय निष्कर्षमा पुगेको छ । हामी नेता उहीँ हौँ । छलफल हामीबीच भएको थियो । तर दुई दल मिल्दा बढेको आत्मविश्वासले हामी सहमतिमा पुग्न सक्यौँ । ऊर्जाशील प्रधानमन्त्री हुनुहुन्छ । उहाँको नेतृत्वमा हामी केही गरी छाड्नेछौँ,” उहाँले भन्नुभयो । गृह सचिव एकनारायण अर्यालले नेपाल प्रहरीलाई समानुकल, गतिशील, व्यावसायिक, सबल र सक्षम बनाउने नेपाल सरकारको नीति अनुरुप नै नयाँ भवनलाई महत्वपूर्ण उपलब्धीका रुपमा लिन सकिने बताउनुभयो । यसबाट नेपाल प्रहरीको मनोबल बढ्नुका साथै सेवाग्राहीलाई समेत सहज हुने उहाँको भनाइ थियो । कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले भविष्यमा प्रहरीका अन्य भौतिक संरचना पनि विस्तारै व्यवस्थित गर्दै लैजाने बताउनुभयो । व्यवस्थित संरचनाका कारण प्रहरीले आमसेवाग्राहीलाई सहज र व्यवस्थित रुपमा सेवा दिन मद्दत पुग्ने उहाँले उल्लेख गर्नुभयो ।
काठमाडौं: प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्णमन्दिरमा बिहानदेखि भक्तजनको भीड लागेको छ । यस अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिर, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा रहेको नवतनधाममा पनि भक्तजनको भीड लागेको छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन) को कार्यालय परिसरमा रहेको कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ । राजधानीका मुख्य तीर्थस्थल पशुपति क्षेत्रमा रहेका कृष्णमन्दिरमा बिहानदेखि भक्तजनको भीड लागेको छ । वसन्तपुर दरबार क्षेत्रमा रहेको कृष्णमन्दिरमा पनि भक्तजनको भीड लागेको छ । काठमाडौँ उपत्यकाका चोक, गल्ली एवं कुना कुनामा रहेका कृष्णमन्दिर, नारायण मन्दिर र लक्ष्मीनारायण मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्छन् । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको मान्यता छ । अन्याय, अत्याचार बढेपछि मानव अवतारका रुपमा पृथ्वीमा आएर साधुको संरक्षण र दुष्टको नाश गर्ने श्रीकृष्णले श्रीमद्भगवतगीतामा अर्जुनका माध्यमबाट आम मानिसलाई शिक्षा दिनुभएको ग्रन्थहरुमा उल्लेख छ । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । बाल्यकालदेखि आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । रथयात्रा भने अष्टमीको भोलिपल्ट निकालिन्छ । अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म हुने भएकाले खुसियालीमा भाद्रकृष्ण नवमीका दिन रथयात्रा गर्ने गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शान्तिसुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आपराधिक घटनाको पूर्वअनुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिनेतर्फ सदैव सचेत भएर काम गर्न निर्देशन दिनुभएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको काठमाडौँ महानगरपालिका–११ भद्रकालीस्थित नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अस्थिरता र अराजकता मच्चाउन खोज्ने प्रयासप्रति हरदम सचेत भएर जनतालाई शान्ति सुरक्षा दिने मामिलामा दृढताका साथ काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “वर्तमान सरकारले कुनै पनि अपराधीलाई नसमाउ भन्दैन, निर्दोषलाई फसाउ भन्दैन र दोषीलाई छाड्दैन ।” वर्तमान सरकार देश र जनताको पक्षमा केही गरौँ भन्ने भावनाका साथ गठन भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संविधान र काननुबमोजिम कर्तव्य निर्वाह गर्न उन्नत ज्ञानको प्रयोग गरी जनतालाई गुणस्तरीय सेवा दिन निर्देशन दिनुभयो । “यो सरकार केवल अर्को सरकार होइन, यसले केही गरौँ भन्ने भावनाका साथ अस्थिरताका ठाउँमा स्थिरताको प्रवृत्ति बोकेको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रहरीमा बढुवा र सरुवाका लागि कुनै दौडधुप गर्न नपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “झोला थैला बोकेर कसैकामा कुद्नु पर्दैन, अहिलेको सरकार भात–रोटी खान्छ, घूस खाँदैन, तपाईंहरु कर्तव्यपालनामा पूर्ण स्वतन्त्र भएर ढुक्कले लाग्नूस्, अवाञ्छित र अनुचित प्रभावमा नलाग्नूस् ।” प्रहरीले साबिकको नेपाल खाद्य संस्थानसँग रु एक अर्ब १० करोडमा १५ रोपनी जग्गा खरिद गरेर रु एक अर्ब २६ करोडको लागतमा अत्याधुनिक भवन निर्माण गरेको हो । जिल्ला परिसर काठमाडौँ २०१२ सालमा हुनमानढोकाबाट सञ्चालन भएको थियो ।
कञ्चनपुर: महिलाको मौलिक पहिरन गुन्यु चोली जगेर्ना गर्ने सन्देश बोकेर मेची–महाकाली यात्रामा निस्कनुभएकी ५५ वर्षीया सुशीला उप्रेती तिवारीले यात्रा समापन गर्नुभएको छ । भदौ ५ गते मेचीको बुद्धशान्ति गाउँपालिकाबाट मोटरसाइकल यात्रा सुरू गर्नुभएकी तिवारीले पाँचौँ दिन आज पश्चिमी सीमा नाका कञ्चनपुरको गड्डाचौकी पुगेर यात्रा समापन गर्नुभएको हो । परापूर्वकालदेखि महिलाले पहिरिँदै आएको गुन्यु चोली लगाउने चलन विस्तारै हराउँदै जान थालेकाले जगेर्ना गर्नुपर्ने सन्देश बोकेर मेची महाकाली यात्रामा निस्कनुपरेको उहाँले बताउनुभयो । “संस्कृति र पहिचान पोसाकबाट पनि झल्की छ, त्यो नै हरायो भने पहिचान गुम्छ । त्यसैले गुन्यु चोली लगाएर यात्रा गरेको हुँ”, उहाँले भन्नुभयो । झापाको बुद्धशान्ति–३ बस्ने तिवारीलाई कालिका लाइन्स क्लब महेन्द्रनगरकी अध्यक्ष तथा समाजसेवी हेलन श्रेष्ठले स्वागत गर्नुभएको थियो ।
काठमाडौं: पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको ऑबुखैरेनी–मुग्लिन सडकखण्ड चार घण्टा अवरुद्ध हुने भएको छ । ऑबुखैरेनी(२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको भारतीय बस दुर्घटना भएकामा उक्त बस निकाल्नका लागि सोमबार बिहान ६ः३० देखि चार घण्टा उक्त सडक अवरुद्ध हुन लागेको हो । राजमार्गमा सवारीको चाप हुने भएकाले सडक बन्द गरी उक्त बस निकाल्न लागिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो । शनिबार क्रेनको सहायताबाट बस निकाल्ने प्रयास गरिएपनि दश मिटरमात्रै तानिएको उहॉको भनाइ छ । उहॉले भन्नुभयो, “सडक बन्द नगर्दा काम गर्न अप्ठ्यारो हुने भएकाले चार घण्टा सवारी आवागमन रोकिनेछ ।“ पोखराबाट काठमाडौतर्फ जॉदै गरेको बस नदीमा खस्दा २७ जनाको मृत्Þयु भएको थियो । दुर्घटनामा घाइते १६ जनाको काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बेपत्ता एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् भगवान् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ । यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर परिसरमा रहेको श्रीकृष्ण मन्दिरमा पनि आज श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा झुलनोत्सव कार्यक्रम आयोजना गरिएको छ । यसैगरी राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । शोभायात्रा आज मध्यरातमा श्रीकृष्णको जन्म भएपछि मङ्गलबार निकाल्ने गरिन्छ । यस पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा सामुदायिक एवं संस्थागत विद्यालयले बालबालिकालाई श्रीकृष्ण एवं राधाका रुपमा शृङ्गार गरेर विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन् । यसबाट बालबालिकामा यस पर्वको महत्व बुझ्न सहयोग पुग्ने गरेको छ ।
काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानमा दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जनाइएको छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज जारी मौसम बुलेटिनका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सातै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोे बुलेटिनमा उल्लेख छ । सबै प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि जनाइएको छ । कोशी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम वा क्षतिबाट बच्न विभागले आग्रह गरेको छ । साथै यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध छ ।
काठमाडौं: सेयर बजारविज्ञ तथा विश्लेषक एवं लेखक रवीन्द्र भट्टराईको नयाँ पुस्तक ‘सेयर सुत्र’ सार्वजनिक गरिएको छ । बुकहिलले प्रकाशन गृहले आज काठमाडौँमा सार्वजनिक गरेको उक्त पुस्तकबारे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले भिडियो सन्देशमार्फत सेयर बजारको परिपक्व विकासका निम्ति ‘सेयर सुत्र’ पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने आफूले विश्वास लिएको बताउनुभयो । “सेयर बजारका समस्यालाई नीतिगत र व्यावहारिक रूपमा समाधान गर्दै परिपक्व ढङ्गले अगाडि बढाउनका निम्ति सरकारले सार्थक प्रयास गरिरहेको छ । सेयर बजारविज्ञ लेखक भट्टराईको पुस्तकले सेयरबारे अझै चेतना अभिवृद्धि गर्नेछ”, उहाँले भन्नुभयो । सट्टेबाजी नगरी सेयरबाट पैसा कमाउने वेञ्जामिन ग्राहमका एक सय वर्ष अघिका सुत्रलाई आधार बनाउँदै सेयरबाट धनसम्पत्ति बढाउने सुत्र र रणनीति यस पुस्तकमा प्रस्तुत भएका बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिनुभयो । उहाँले बजारमा लगानी गर्न चाहने तथा गरिरहेका सबैका लागि यी सुत्र उपयोगी हुन सक्ने बताउनुभयो । “आफ्नो जोखिम लिने क्षमता मूल्याङ्कन गरी सेयर बजारमा तनाबमुक्त तरिकाबाट कसरी पैसा कमाउन सकिन्छ भन्ने विभिन्न आधार सुत्रात्मक तबरले समेटिएको पुस्तक हो, सेयर सुत्र”, उहाँले भन्नुयो । सेयर बजारबारे आधा दर्जन पुस्तक प्रकाशन गरिसकेका लेखक भट्टराईको यस पुस्तकको बजार मूल्य रु चार सय ९९ तोकिएको छ ।