काठमाडौं: नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८२ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ४५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ १४ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९० रुपैयाँ ३४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ २७ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ९७ पैसा र बिक्रीदर नौ रुपैयाँ एक पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ०५ पैसा र बिक्रीदर चार रुपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७९ पैसा र बिक्रीदर नौ रुपैयाँ ८४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७७ पैसा र बिक्रीदर १२ रुपैयाँ ८३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९ रुपैयाँ ६४ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३४ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ३३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
काठमाडौँ: काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही गरेको भन्दै रु एक लाख जरिवाना गरेको छ । उक्त अस्पतालमा २०८० फागुन ११ गते पहिलोपटक अनुगमन गरिएको थियो । त्यस दिन नर्सिङ स्टेशनमा मेडिसिन ट्रली नभएको, भित्री कक्षमा फोहर हाल्ने बाल्टिन नभएको देखिएपछि अनुगमन टोलीले रङ सङ्केतसहितको बाल्टिन फोहर उत्पादन हुने ठाउँमा राख्न अनुरोध गरेको थियो । अनुगमनबाट फर्किएपछि हानिकारक फोहर निर्मलीकरण गर्ने प्रणाली स्थापना गर्न पत्राचार गरिएको थियो । पटकपटक दिएको आग्रहलाई अटेरी गरेपछि चौथोपटक गरिएको अनुगमनका क्रममा रु एक लाख जरिवाना गराइएको कामपाले जनाएको छ । अनुगमनका क्रममा गत भदौ २२ गते अस्पतालमा तेस्रोपटक अनुगमन भयो । यसबेला सबै फोहर एकै ठाउँमा जम्मा गरिएको थियो । फोहर निर्मलीकरण र व्यवस्थापन गर्ने योजनाका विषयमा अस्पताल प्रशासनले योजना दिन सकेन, त्यसो भएपछि अनुगमन टोलीले हानिकारक फोहर निर्मलीकरण गरेर सामान्य बनाउन सुधारको मौका दियो र फर्कियो । तेस्रो मौकालाई अस्पतालले कसरी उपयोग गरेको छ भनी हेर्नका लागि अनुगमन टोली बिहीबार अस्पताल पुगेको थियो । अस्पताल पुग्दा जम्मा गरेको फोहर खाली थियो । फोहर थुपारिएको कोठामा वाफ बाहिर उडिरहेको थियो । निर्मलीकरणका लागि राखिएका वस्तुमा ताजा अवस्था रङमा भन्दा कुनै परिवर्तन थिएन । कामपाले पटकपटक गरेको अनुगमनका क्रममा दिइएको आग्रहलाई बेवास्ता गरेपछि जरिवाना गराएको जनाएको छ । यसभन्दा अघि पनि उक्त अस्पताललाई कामपाले रु १५ हजार जरिवाना गरेको थियो ।
काठमाडौं: हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न थालेको छ । काठमाडौँ उपत्यकाको अहिलेको तापक्रम १६ डिग्री सेल्सियस मापन गरिएको छ । आज यहाँको अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रहेको र बाँकी भागमा मौसम सफा रहेको छ । विभागले आज बिहान ६ः०० बजे जारी गरेको मौसम बुलेटिन अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
चितवन: चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती गोविन्देमा रेडियोकलर जडान गरेको छ । गोविन्देले निकुञ्जका कर्मचारीलाई आक्रमण गरी मारेपछि रेडियोकलर जडान गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गोविन्देलाई खोरसोर क्षेत्रमा नियन्त्रणमा लिएर रेडियोकलर जडान गरिएको हो । हात्तीले आक्रमण गर्न थालेपछि त्यसको दाह्रा समेत काटिएको उहाँले बताउनुभयो । गोविन्देले गत असोज १७ गते हात्तीसारका एक कर्मचारीलाई आक्रमण गरी मारेको थियो । “पछिल्लो समय गोविन्देले दुःख दिन थालेपछि त्यसमा रेडियो कलर जडान तथा दाह्रा काट्ने काम गरिएको हो”, सूचना अधिकारी तिवारीले भन्नुभयो । यहाँ जङ्गली हात्ती ध्रुर्वे, गोविन्दे, मकुनालगायतले बर्सेनि निकुञ्ज र त्यस आसपासका क्षेत्रमा दुःख दिँदै आएका छन् । समूहबाट एक्लिएका यी भाले हात्तीहरु उनीहरुलाई अधिक यौन चाहना भएको समयमा बढी आक्रामक बन्ने गरेका निकुञ्जले जनाएको छ ।
काठमाडौं: विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन कार्यकारी समितिको २७औँ बैठकले गत असोज १० गतेदेखि असोज १३ सम्म भारी वर्षापछिको बाढीपहिरो तथा डुबान प्रभावित स्थानीय तहलई राहत रकम उपलब्ध गराइने भएको छ । क्षतिको आधारमा अति प्रभावित, प्रभावित र सामान्य प्रभावित स्थानीय तहलाई वर्गीकरण गरी तत्काल राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ । सिंहदरबारस्थित विपद् प्राधिकरणको कार्यालयमा आज गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् व्यवस्थापन कार्यकारी समितिको २७औँ बैठकले विपद्बाट प्रभावित मुलुकका ७१ स्थानीय तहलाई राहत रकम दिने निर्णय गरेको छ । प्रभावित स्थानीय तहलाई तीन भागका वर्गीकरण गरी राहत रकमस्वरुप प्रत्येक स्थानीय तहलाई रु ५० लाखदेखि रु एक करोडसम्म उपलब्ध गराउने निर्णय गरिएको प्राधिकरणका सहसचिव वसन्त अधिकारीले जानकारी दिनुभयो । त्यसका साथै जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्काल राहतस्वरुप प्रभावित पालिकालाई रकम उपलब्ध गराउन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्मा सिफारिस गर्ने समेत निर्णय गरिएको उहाँले बताउनुभयो । दीर्घकालसम्मका लागि पुनःनिर्माण र पुनःस्थापना गर्न उल्लेखित विपद्का कारण भएको विस्तृत क्षति आँकलन यथाशीघ्र गर्ने र सो प्रतिवेदनका आधारमा पुनःनिर्माण र पुनःस्थापनाको कार्य अघि बढाउन सम्बन्धित क्षेत्रगत निकायले आवश्यक व्यवस्था मिलाउने तथा सो कार्यका लागि आवश्यक बजेट व्यवस्थापन गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको सहसचिव अधिकारीले बताउनुभयो । त्यसैगरी गत वर्ष जाजरकोट, बझाङ र डोटीमा गएको भूकम्प पश्चातको क्षति आँकलन तत्काल अघि बढाएर स्थायी निजी आवास पुनःनिर्माण प्रक्रियाको विस्तृत कार्ययोजना तयार गर्न प्राधिकरणलाई निर्देश गर्ने निर्णय गरिएको छ । त्यसैगरी मनसुन अवधिभर (२०८१ जेठ २८ गतेदखि असोज २६ गतेसम्म) भएका विभिन्न विपद्जन्य घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको प्रबन्ध स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने र निःशुल्क स्वास्थ्य बीमाको प्रबन्ध गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने समेत निर्णय गरिएको छ । विपद्को घटना पश्चात खोज तथा उद्धार कार्यमा संलग्न विभिन्न निजी क्षेत्रका संघसंस्था एवं गैरसरकारी संस्थाको सहयोग एवं संलग्नताको कदर गर्दै धन्यवाद दिने तथा आवश्यकता अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी गराउने निर्णय गरिएको छ । बैठकमा स्वाथ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको समेत सहभागी हुनुहुन्थ्यो ।
काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३० गतेसम्म रु एक अर्ब ७४ करोड ४७ लाख २७ हजार सहयोग प्राप्त भएको छ । गत असोज २३ गतेसम्म रु एक अर्ब ७३ करोड ६ लाख ३२ हजार सहयोग प्राप्त भएको थियो । प्रधानमन्त्रीको सचिवालयका अनुसार गत असोज ३० गते साल्ट टे«डिङ कर्पोरेशनबाट रु ६० लाख, नन रेसिडेन्ट नेपाली एशोसिएशनबाट रु १० लाख, नेपाल प्रहरी श्रीमती सङ्घबाट रु पाँच लाख ५५ हजार ५५, विद्युत उत्पादन कम्पनीबाट रु नौ लाख ९६ हजार सात सय ४५ तथा राष्ट्रिय समाचार समिति (रासस) बाट रु तीन लाख २६ हजार ३८ सहयोग प्राप्त भएको थियो । त्यस्तै, सोही दिन स्वर्ग पवित्रा सत्य सुन्दर समाजबाट रु तीन लाख, सिमोनबाट रु एक लाख ९३ हजार, सोनापुर टोल विकास संस्थाबाट रु १३ हजार तीन सय १५ सहयोग प्राप्त भएको सचिवालयले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली समक्ष एउटै डिजिटल ‘पे–वाल’ मार्फत अन्तर्राष्ट्रिय ख्याति प्राप्त सञ्चार संस्थाका प्रिमियम समाचार सामग्री पढ्न र हेर्न पाइने गरी नेपाल रिपब्लिक मिडिया र संयुक्त राज्य अमेरिकाको न्युयोर्क टाइम्सबीचको सहकार्यबारे अवगत गराइएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको उक्त भेटमा प्रधानमन्त्री ओलीलाई न्युयोर्क टाइम्सका अन्तर्राष्ट्रिय अध्यक्ष स्टेफन डन्बर जोन्सन, नेपाल रिपब्लिक मिडियाका अध्यक्ष विनोदराज ज्ञवालीलगायतले भेटेर नेपालको डिजिटल मिडिया क्षेत्रमा गरिएको पहिलो प्रयासबारे जानकारी गराउनुभएको हो । उक्त सहकार्यको बुधबारदेखि औपचारिक थालनी भएको थियो । सो अवसरमा जलवायुु परिर्वतन, शैक्षिक सुधार र आर्थिक विकासमा सञ्चार क्षेत्रको भूमिकाबारे छलफलसमेत भएको थियो । प्रधानमन्त्री ओलीले गत महिना भएको संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका मञ्चमा आफूूले गरेका सम्बोधनमा नेपालले कार्बन उत्सर्जनमा योगदान नगरे पनि जलवायुु परिवर्तनको असर खेपिरहेकाले जलवायु न्यायका लागि क्षतिपूर्ति पाउनुपर्ने र नेपालका हिमालको सुरक्षामा ध्यान दिन नसकिए समुद्रको तापक्रम वृद्धि हुने विषयमा गम्भीर ध्यानाकर्षण गराएको स्मरण गराउनुभयो । “हामी पृथ्वी र मानिसको सुरक्षाका लागि आवाज मात्रै उठाइरहेका छैनौँ । व्यवहारतः काम पनि गरिरहेका छौँ । यो काम नेपालका लागि मात्रै होइन विश्वकै वातावरणीय सुरक्षामा योगदानका लागि हो’’, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीले हाइड्रोपावर र हाइड्रो इनर्जीका लागि पनि काम गरेका छौँ । सञ्चार जगत्ले यस प्रयासबारे जनतालाई सूसुचित गर्न मद्दत गर्न सक्छ ।’’ प्रधानमन्त्री ओलीले नेपालको लोकतान्त्रिक संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उच्च सम्मान गरेको तथा राज्यका सबै तहमा महिलाको ३३ प्रतिशत अनिवार्य सहभागिता सुनिश्चितता गरेको उल्लेख गर्दै लोकप्रिय सञ्चारमाध्यमले सही सूचना लिएर त्यसलाई सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । हाइड्रो कार्बनसम्बन्धी अन्तर्राष्ट्रिय संस्था फोसिल फ्युुलका निर्देशक हरजीत सिंहले जलवायु न्यायबारे प्रधानमन्त्री ओलीको सुस्पष्ट बुुझाइ रहेको र यस मामिलामा प्रधानमन्त्री ओली दक्षिण एसियाकै नेता भएको अनुभूति व्यक्त गर्नुभयो । भेटका अवसरमा नेपाल रिपब्लिक मिडियाका सञ्चालक शोभा ज्ञवाली, प्रमुख कार्यकारी अधिकृत समृद्धि ज्ञवाली र न्युयोर्क टाइम्सका हेलेना फ्वुवा पनि सहभागी हुनुहुन्थ्यो ।
काभ्रे: खानेपानीमन्त्री प्रदीप यादवले काभ्रेको रोशीलगायतका खोलानालाले बिगारेको संरचनाको काम फाष्ट ट्रयाकमा निर्माण गरिने बताउनुभएको छ । गत असोज १२ गतेको अविरल वर्षासँगै आएको बाढी पहिरोबाट क्षतिग्रस्त काभ्रेको बनेपास्थित शशीपानी क्षेत्रको मुहान, धुलिखेलको राणेखोला मुहान र पनौती नगरपालिकाअन्तर्गत २ र १२ नं. वडाको खानेपानी मुहानलगायतका संरचनाको आज स्थलगत निरीक्षणका क्रममा मन्त्री यादवले सो कुरा बताउनुभएको हो । खानेपानीमन्त्री यादवले भन्नुभयो, “पनौतीसहित आसपासका क्षेत्रमा खानेपानी मन्त्रालयअन्तर्गत विभागका संरचनामा पनि बाढीले ठूलो क्षति पु¥याएको छ । बिग्रेभत्केका ती संरचनाको काम द्रुत प्रक्रियामार्फत सुरु गरी बाढी प्रभावित जनतालाई यथासक्य छिटो खानेपानीको व्यवस्था गछौँ ।” उहाँले भन्नुभयो, “मन्त्रालय, विभाग, खानेपानी संस्थानसहितको टिमले बाढीपहिरोका कारण भएाकोे क्षतिको यथार्थ विवरण तयार गरी तीन दिनभित्र सूचना प्रकाशित गरी काम अघि बढाइने छ, ढुक्क हुनुहोस् यथासक्य छिटो खानेपानी समस्या हल गर्न सरकार तयार छ ।” मन्त्री यादवले खानेपानी उपयोग तथा व्यवस्थापनका सन्दर्भमा मुहान क्षेत्रका स्थानीयवासीसँग आवश्यक समन्वय गरी दीर्घकालीन रूपमा समस्या समाधान गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । मन्त्री यादवलाई पनौतीका स्थानीयवासीले छिटोभन्दा छिटो खानेपानीको व्यवस्था गरिदिन र बाढीका कारण क्षतिग्रस्त संरचना निर्माणका साथै प्रभावित क्षेत्रका वस्तीसमेत स्थानान्तरण गरी प्रभावित जनताको जीउधनको सुरक्षाका लागि अनुरोध गर्नभयो । अनुगमन टोलीमा बागमती प्रदेशका सांसद कञ्चनचन्द्र बादे, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, जिल्लास्थित राजनीतिक दलका नेता तथा कार्यकर्ता, स्थानीयवासी, खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रमुख, खानेपानी संस्थानका महाप्रबन्धकलगायतका प्रतिनिधि तथा पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।
काठमाडौं: निर्वाचन आयोगले गैर–आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको उक्त नागरिकता प्राप्त गर्नु पूर्वको नेपाली नागरिकता त्याग गरिएको विवरण गृह मन्त्रालयमार्फत माग गरेको छ । आयोगको आजको बैठकले स्थानीय तह उपनिर्वाचनको मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि गैर–आवासीय नेपाली नागरिकता लिएका व्यक्तिको साबिकको नागरिकता त्यागको विवरण माग गरेको हो । ऐनबमोजिम नागरिकता त्याग गरेको विवरण जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो । गैरआवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था छ । आयोगले उक्त व्यवस्थाअनुरुप गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नुपूर्वको सम्बन्धित व्यक्तिको नेपाली नागरिकता त्यागको विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जिल्ला निर्वाचन कार्यालयमा यही कातिक ५ गतेभित्र उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो । जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा मतदाता नामावलीमा रहेको विवरणसँग भिडाई त्यस्तो नागरिकता त्याग गर्नेको नाम मतदाता नामावलीबाट हटाई नामावली अद्यावधिक गरिने आयोगले जनाएको छ ।

