नवलपरासी: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बालबालिकाहरूको समग्र विकास र संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुलीमा आज आयोजित ‘बालिका अधिकार संरक्षणमा सरोकारवालाको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री भट्टराईले अधिकार स्थापित गर्न गुणस्तरीय शिक्षा आवश्यक पर्ने भएकाले राज्यका तर्फबाट निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयनका लागि गृहकार्य सुरु गरिएको बताउनुभयो । “विद्यालयमा खुवाउने गरेको दिवाखाजाको गुणस्तरीयता र पोषणका लागि स्थानीय सरकार, विद्यालय र समुदायसँग मिलेर काम गरिने छ”, उहाँले भन्नुभयो, “परम्परागत र स्थानीय खाद्य सामग्रीको प्रयोग हुनेगरी दिवाखाजालाई व्यवस्थित, गुणस्तरीय बनाउनुका साथै स्थानीयस्तरको समग्र कृषि प्रणालीलाई सहयोग पुग्नेछ ।” “प्याड अभावका कारण विद्यालय शिक्षाबाट वञ्चित हुनबाट रोक्न सरकारले काम गर्ने छ”, मन्त्री भट्टराईले भन्नुभयो । अन्तक्र्रिया कार्यक्रममा देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारी, जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेल, गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा बढी स्थानीय तहका महिला जनप्रतिनिधि, नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र कार्यपालिका सदस्य एवं अन्य सरोकारवालाको उपस्थिति थियो ।
सिन्धुली: शनिबार साँझ सुनकोसी नदीमा खसेर बेपत्ता भएको गाडी आइतबार बिहान २ बजे भेटिएको छ । खोटाङको हलेसीबाट भक्तपुर जाने क्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेस्थित मध्यपहाडी लोकमार्गबाट नदीमा खसेको प्रदेश ३–०१–०२३ च ६३६६ नंको हाइलक्स गाडी भेटिएको हो । सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीको धमिलो बहावमा डुबेको गाडी जेसिभीको सहायतामा झिकेर नदी किनारमा राखेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । आज बिहान घटनास्थलमा पुग्नुभएका प्रहरी उपरीक्षक काफ्लेका अनुसार गाडी घटनास्थलबाट ५० मिटर तलबाट झिके पनि गाडीमा सवार चालकसहित तीनजना अझै बेपत्ता छन् । बेपत्ता हुनेहरूमा भक्तपुरको जगातीका ३२ वर्षीय अबिन बके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा छन् । उनीहरूको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली र स्थानीय नागरिकहरु खटिएका छन् । गाडीमा चारजना सवार थिए । हाम्फालेर बाँच्न सफल घाइते भक्तपुरको जगातीका २७ वर्षीय सुशान्त कक्षपतीको सुनकोसी सामुदायिक अस्पताल, खुर्कोटमा उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।
काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका सबै भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र मधेस प्रदेशका एक दुई स्थानमा भारी वर्षाको वर्षाको सम्भावना छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।
रामेछाप: दोरम्बा शैलुङ गाउँपालिका–३ मा गएराति पहिरोले तीन घर पुरिँदा दुई जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त पालिकाको वडा नं ३ मा खसेको पहिरोमा परी ३० वर्षीया चण्डीका श्रेष्ठ र निजका १८ महिनाका छोरा आयुषको मृत्यु भएको हो । एघार वर्षीया अञ्जना श्रेष्ठ घाइते भएकी छन् । उनको कम्मरभन्दा मुनिको भाग चलेको छैन । सो गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगरले दिनुभएको जानकारीअनुसार गएराति पहिरो खसेको हो । घटनाबारे जानकारी पाउनासाथ स्थानीय, प्रहरी र नेपाली सेनाका जवान उद्धार र खोजीमा जुटेका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिनुभयो । पहिरोले वडा नं २ र ३ को सिमाना भएर बग्ने अँधेरी खोलको पक्की पुल पनि बगाएको छ । यसैबीच, पुष्पलाल राजमार्गअन्तर्गत चरीकोट–मन्थली सडक बाढीका कारण अवरुद्ध भएको छ ।
चितवन: नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो । घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
म्याग्दी: बेनी नगरपालिका–९ तोरीपानीका फूलमाया र चन्द्रबहादुर परियारका आँखा ओभानो नभएको करिब आठ महिना भयो । विसं २०८० पुस १६ गते राति घरबाट बेपत्ता कान्छी छोरी मीना जिउँदो नभएको निष्कर्ष निकालेका परियार दम्पती न्यायको प्रतिक्षामा छन् । घर नजिकैको जङ्गलमा गत साउन २७ गते भेटिएको शव र सँगैका गहना तथा कपडा मीनाको भएको सनाखत गरेका उनीहरू न्यायका लागि हारगुहार गरिरहेका छन् । “छोरीको खोजबिन र न्यायका लागि भौतारिन थालेको करिब आठ महिना भयो”, फूलमाया भन्नुहुन्छ, “साउन २७ गते गाउँ नजिकैको आँखखेत कालीमुलको जङ्गलमा गाडेको, सडेगलेको अवस्थामा भेटिएको शव, सिक्री, स्वीटर, चप्पललगायत सामग्री मीनाकै भए पनि सबै दोषीलाई पक्राउ र अनुसन्धानमा भएको ढिलाइले कतै न्याय नपाइने त होइन भन्ने शङ्कामा छौँ ।” चन्द्रबहादुर र फूलमायाका तीन छोरी र एक छोरामध्ये कान्छी मीना तोरीपानीको गलेश्वर मावि कक्षा १२ मा पढ्थिन् । गङ्गटो खोज्न गएका स्थानीयले देखेको बेनी नगरपालिका–९ र १० नम्बर वडाको सिमानामा पर्ने उत्तिसको जङ्गलमा भेट्टाएको शव र सामग्रीलाई सङ्कलन गरेर प्रहरीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरेको छ । मीनाको ज्यान लिने कार्यमा संलग्नलाई कारबाहीको सुनिश्चित नभएसम्म शव दाहसंस्कार नगरी बेनी अस्पतालका शवगृहमा राखेको मीनाकी भाउजु कमला बर्देवा परियारले बताउनुभयो । “अहिलेसम्म हत्याराहरू सार्वजनिक गरिएको छैन, एउटा मान्छले मात्र यसरी घटना घटाएको होइन, न्यायका लागि धाउँदाधाउँदै थाकिसकेका छौँ”, कमलाले भन्नुभयो, “छिमेकी राम खत्रीको प्रेममा रहेकी मीना करिब छ महिनाको गर्भवती भएको उनीहरू दुईजनाबीच बेपत्ता हुँदाको राति भएको म्यासेन्जर कुराकानीबाट प्रमाणित भएको छ”, २५ वर्षीय राम विवाहित हुन् । अनुसन्धानको उपलब्धि परिवार, आफन्त र नातागोता सबैको क्षमताले भ्याएसम्म खोजतलास गर्दा मीनाको अवस्थाबारे पत्ता लाग्न नसकेपछि २०८० साल पुस २२ गते जिल्ला प्रहरी कार्यालयमा हुलियासहित खोजतलासका लागि निवेदन दिएका थिए । अनुसन्धानकै क्रममा मीना र रामको ‘म्यासेन्जर’ कुराकानी भेटिएपछि माघ २१ गते मीनाका बुबा चन्द्रबहादुरले रामले छोरीलाई बेपत्ता बनाएको किटानी जाहेरी दिनुभयो । जाहेरी परेको दुई दिनपछि माघ २३ गते मुद्दा दर्ता गरेको प्रहरीले सोही दिन आरोपी रामलाई पक्राउ गरेको थियो । व्यक्ति बेपत्ता पार्ने कसुरमा जिल्ला अदालतको २०८० फागुन १७ गतेको थुनछेक आदेशबाट राम पुर्पक्षका लागि कारागार चलान भएका थिए । शव भेटिएपछि घटनाले नयाँ मोड लियो साउन २७ गते मीनाको शव भेटिएपछि यो घटनाले नयाँ मोड लिएको छ । थुनामा रहेका रामसहित उनका परिवारका सदस्य र आफन्तसहित पाँचजनालाई प्रतिवादी बनाएर मीनाका परिवारले साउन ३० गते दर्ता गरेको किटानी जाहेरीका आधारमा थप तीनजनालाई फरक–फरक मितिमा पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको निरीक्षक राजन रायमाझीले बताउनुभयो । “पहिले व्यक्ति बेपत्ता बनाएको कसुरमा मुद्दा चलाए पनि भेटिएको शवको सनाखत गरेर परिवारले किटानी जाहेरी दिएपछि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो, “मीनासँगको प्रेम सम्बन्ध स्वीकार गरेका आरोपी रामले प्रहरी, सरकारी वकिल कार्यालय र अदालतमा भने बेपत्ता बनाएको र हत्या गरेको घटनामा इन्कारी वयान दिएका छन्”, फरार एकजनाको खोजी भइरहेको छ । चिकित्सकको शव परीक्षण, विधि विज्ञान प्रयोगशालाको प्रतिवेदन, शवसँगै भेटिएका सामग्री, म्यासेन्जर कुराकानीलगायत तथ्य, प्रमाणलाई आधार मानेर अनुसन्धान अघि बढाइएको रायमाझीले बताउनुभयो । उहाँका अनुसार भेटिएको शव महिलाको भएको, धारिलो हतियार प्रयोग गरेर हत्या भएको र पेटमा भ्रुणसमेत रहेको पुष्टि भएको छ । घटनाको थप अनुसन्धान गर्नका लागि डिएनए परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाउने तयारी गरिएको रायमाझीले बताउनुभयो । ‘न्यायका लागि हारगुहार’ मीना हराएदेखि नै यस घटनामा प्रहरी प्रशासनले गम्भीरताका साथ अनुसन्धान र खोजतलास नगरेका कारण अवस्था पत्ता लगाउन र न्यायमा ढिलाइ भएको भन्दै पीडित पक्षले तत्कालीन गृह तथा उपप्रधानमन्त्री रवि लामिछाने, विभिन्न राजनीतिक दलका नेता, सांसद र अधिकारकर्मीलाई भेटेर दबाब दिएका थिए । पक्राउ परेका आरोपीलाई सार्वजनिक, थप आरोपी पक्राउ, सत्यतथ्य अनुसन्धान, कारबाही र पीडितलाई न्यायका लागि दबाब दिन बेनीमा पछिल्लो एक हप्तायता दैनिकजसो धर्ना र प्रदर्शन भइरहेको छ । अन्तरजातीय प्रेम सम्बन्ध हुँदै गर्भवती बनाएपछि नियोजित रूपमा हत्या गरेको प्रमाण भेटिए पनि प्रहरीले गहिरो गरी अनुसन्धान नगरेका कारण न्यायका लागि हारगुहार गर्नुपरेको संयुक्त दलित राजनीतिक सङ्घर्ष समितिका सल्लाहकार लालु किसानले बताउनुभयो । “दलित भएकै कारण किटानी लिएर जाँदा यो र त्यो मिलेन भन्दै पन्छाउने काम भयो, सांसद र मन्त्रीलाई गुहार मागेपछि प्रहरीले मुद्दा दर्ता गरेको हो”, उहाँले भन्नुभयो, “न्याय पाइन्छ भनेर आश्वस्त हुनसक्ने अवस्था नभएकाले दबाब र खबरदारी गरिरहेका छौँ ।” संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले शुक्रबार बेनीमा राजनीतिक दल र जनप्रतिनिधिसँग मीना हत्या प्रकरणमा दोषीमाथि हदैसम्मको कारबाही हुने सुनिश्चिताको प्रतिबद्धताका लागि छलफल तथा अन्तक्र्रिया गरेको थियो । दोषीमाथि कडा कारबाही गर्न र पीडितलाई न्याय दिन आ–आफ्नो क्षेत्रबाट सम्बन्धित निकायमा ध्यानकर्षण गराउने छलफलमा सहभागी राजनीतिक दल र जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । सङ्घर्ष समितिका अध्यक्ष पदम किसानले मीनाको हत्या घटनामा संलग्नलाई कारबाहीको सुनिश्चितता नभएसम्म विभिन्न दबाबमूलक कार्यक्रमलाई जारी राख्ने र आवश्यक परे चरणबद्ध आन्दोलन गरिने बताउनुभयो । संविधान र कानुनले जातीय विभेद तथा छुवाछूतलाई अपराध माने पनि अन्तरजातीय प्रेम र विवाहका कारण व्यक्तिको हत्या, आत्महत्या, विस्थापित हुने अवस्था आउनुले पीडा र समाजमा अझै चेतनाको स्तर उकास्नुपर्ने आवश्यकता महसुस भएको दलित अगुवा टेकबहादुर विश्वकर्माले बताउनुभयो ।
तनहुँ: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनामा बेपत्ता एकजनाको खोजी कार्य जारी छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बरप्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खस्दा बेपत्ता भएका २२ वर्षीय गोकर्णी सन्दीप सरोदेको खोजी जारी रहेको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो । दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । घाइतेको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रनाउ रायले बताउनुभयो । बेपत्ता भएका सरोदेका बुबाआमाको सोही दुर्घटनामा परी मृत्यु भएको छ । प्रनाउ रायले भन्नुभयो, “घाइतेहरूले दिएको विवरणका आधारमा उनी फेला परेका छैनन् । उनको आज पनि बस खसेको ठाउँ आसपास खोजी गरिए पनि फेला पर्न सकेनन् ।”
सिन्धुली: मध्यपहाडी लोकमार्गमा गुडिरहेको गाडी सुनकोशी नदीमा खसेर बेपत्ता भएको छ । आज साँझ खोटाङबाट भक्तपुर गइरहेको हाइलेक्स सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुडुलेमा अनियन्त्रित भएर नदीमा खस्दा तीनजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार सवारी नम्बर नखुलेको हाइलेक्स गाडी चालक सूर्यविनायक नगरपालिकाका ३२ वर्षीय अबिन बके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता भएका हुन् । गाडीमा चारजना सवार थिए । अर्का सोही ठाउँ बस्ने घाइते २७ वर्षीय सुशान्त कक्षपतिको स्थानीय शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । नदीमा खसेर बेपत्ता भएको गाडीसहित सवार यात्रीको खोजीकार्यका लागि घटनास्थलमा हाल ४० जना प्रहरीको टोली खटिएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।
काठमाडौं: स्वदेशी उत्पादनको प्रवर्द्धन तथा बजारीकरणमा सहयोग पु¥याउने ध्येयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वनस्थली चमतीस्थित पार्टी केन्द्रीय कार्यालयमा स्वदेशी उत्पादनको प्रदर्शनी आयोजना गरेको छ । ‘आत्मनिर्भर नेपाल अभियान’ अन्तर्गत आयोजित प्रदर्शनीमा विभिन्न ३० प्रदर्शनी कक्ष छन् । यसमा कृषि सामग्री, खेतीबाली, स्वदेशी खाद्यान्न, प्राङ्गारिक मल, हस्तकलाका सामग्री, जडिबुटी तथा वनस्पति, अल्लो र गाँजाका कपडालगायत सामग्री छन् । सो अवसरमा रास्वपाका उद्योग विभाग प्रमुख एवं सांसद गणेश पराजुलीले उद्यमीले गरिरहेका प्रयासलाई प्रवर्द्धन तथा बजारीकरणमा सहयोग पु¥याउन प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “ उत्पादन बृद्धि गरेर आत्मनिर्भरमात्र होइन सम्भावना भएसम्म निर्यात पनि गरौँ भनेका हौँ ।” स्वदेशमा सम्भावना र उत्पादन भएका वस्तुलाई प्रवर्द्धन गर्न, उत्पादन गरेका वस्तुको बजार खोज्न, उत्पादन गर्ने प्रविधि विकास गर्न र प्रविधि तथा बजार हुँदाहुँदै पनि नीतिगत समस्या छ भएमा पनि पहल गर्न यो प्रयास गरिएको सांसद पराजुलीले बताउनुभयो । प्रदर्शनीले स्वदेशी उत्पादनको बजारीकरणमा एवं उद्यमीलाई प्रोत्साहन समेत हुने अपेक्षा लिइएको छ ।