काठमाडौं:   सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीहरूबीच वार्तापछि ६ बुँदे सहमति भएको छ। बिहीबार अर्थ मन्त्रालयमा सम्पन्न छलफलमा सहमति जुटेसँगै व्यवसायीहरूले जारी आन्दोलन स्थगित गरेका छन्। सुनचाँदी व्यवस...

कञ्चनपुर:    जिल्लाको बेलौरी नगरपालिका–७ वर्का सिङ्पुरका स्थानीयको उखुबारीबाट ब्रुमाइज पाइथान (अजिङ्गर)को उद्धार गरिएको छ ।       मध्य ब्रुमाइज पाइथन (अजिङ्गर) प्रजातिको अजिङ्गरको आज साँझ उखुबारीबाट उद्धार गरी स्थानीयले सिंहपाल सामुदायिक वन क्षेत्रमा लगेर छाडिएको सामुदायिक वनका अध्यक्ष पविराम थारुले जानकारी दिनुभयो ।  बेलौरी–३ का वडा सदस्य कमानसिंह चौधरीका अनुसार उद्धार गरिएको अजिङ्गरको तौल ३५ किलो र लम्बाइ १३ फिट रहेको छ ।       अजिङ्गर आहाराको खोजीमा बस्ती नजिकको उखुबारीमा आएको हुनसक्ने सामुदायिक वनका अध्यक्ष थारुले बताउनुभयो । वन क्षेत्रमा रहेका तालतलैया र सीमसार क्षेत्र संरक्षण गरिएपछि अजिङ्गरलगायत सरिसृपको सङ्ख्या बढ्दै गएको उहाँले जानकारी दिनुभयो । 

काठमाडौं:    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छभने बागमती प्रदेशका केही  स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।  कोशी, मधेस, बाग्मती, गण्डकी र कर्णाली  प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका केही तथा बागमती, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक ÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, लुम्बिनी र बाग्मती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।  कोशी प्रदेशका थोरै तथा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउ विभागले अनुरोध गरेको छ ।

काठमाडौं:   सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो ।  यसअघि यही भदौ १५ गते मनाङको थोचे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । 

पोखरा:  संरक्षण, सम्वद्र्धन र विकासका माध्येमबाट विश्वसामु परिचित हुन सफल सामुदायिक वनलाई समृद्धिसंग जोडन मौजुदा नीति बाधक बनेको आज यहाँ आयोजित एक कार्यक्रमका सहभागिले बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल टिएफ परियोजना लागु भएका गण्डकी र लुम्विनी प्रदेशका पालिका प्रमुखहरुका लागि पोखरामा आयोजित प्राकृतिक श्रोत उपयोग सम्वन्धि स्थानीय सरकारसंग नीतिगत छलफल कार्यक्रमका सहभागिहरुले प्राकृतिक श्रोत उपयोगमा सर्वसुलभ नीतिको खाँचो औल्याएका हुन ।  सामुदायिक वन व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकारलाई दिनुपर्नेमा संघ र प्रदेश सरकारसंग सामुहिक माग गर्दै सहभागिहरुले उपयुक्त नीतिको अभावका कारण प्राकृतिक श्रोतलाई उद्यम र रोजगारीसंग जोडन अप्ठेरो परेको धारणा राखेका थिए । संविधानिक व्यवस्था अनुसार जमिन प्रदेश र रुख संघ सरकारको जिम्मामा भएको हुँदा जनताको आवश्यकताको लागि सामुदायिक वन भित्र बाटो होस वा कुनै भौतिक संरचना निर्माणमा अवरोध हुने गरेको सहभागि विभिन्न २० जना गाउँ र नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरुको सामुहिक धारणा रहेको थियो । वन पैदावारमा आधारित उद्यम निर्माण,वन कार्यायोजना नविकरण, सामुदायिक वन समुहको सम्पूर्ण डाटा संकलन गर्दै प्राकृतिक श्रोतको पहिचान र उपयोगमा सहयोग पु¥याउनु  परियोजना लक्ष्य रहेको सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीले जानकारी दिनुभयो । मुलुकका १२७ पालिकाका कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, सामुदायिक वन समुहमा सुशासन कायम गर्दै सम्भाव्यता अध्ययनका आधारमा वनमा आधारित उद्यम सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ । २०५२ साल जेठ १८ गते स्थापना भएको महासंघमा २३ हजार २६ सामुदायिक वन उपभोक्ता समुहका ३१ लाख ९५ हजार ३२३ घरधुरीले  २४ लाख २५ हजार ३९२ हेक्टर क्षेत्रफल वन व्यवस्थापन गर्दै आएका छन् ।  कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीले प्रदेश सरकारहरुले वन पैदावार बिक्रीमा जथाभावि कर लगाएको कारण जनतामा संरक्षणप्रति चासो घटेको बताउनुभयो । फेकोफन, ग्रिन फाउण्डेशन र आदिवासी जनजाति महासंघद्धारा संयुक्तरुपमा आयोजना गरिएको कार्यक्रममा गण्डकी प्रदेशका  १४ र लुम्विनी प्रदेशका छ वटा गरि कूल २० वटा पालिका प्रमुखहरुको सहभागिता रहेको थियो । टिएफ परियोजनाका सुजन खनालले परियोजना सञ्चालान भएका सामुदायिक वनको डाटा पोर्टल शुरु गरिएको जानकारी दिनु भएको थियो ।    

पोखरा:   गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले प्रदेश मातहतका सबै यातायात व्यवस्था कार्यालयमा सेवाग्राही सहायता कक्ष स्थापना गर्ने निर्णय गरेका छन् ।  मन्त्रीको शपथ लिएपछि सोमबार पदभार ग्रहण गर्दै उनले मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालयहरुमा सेवाग्राही सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्न परिपत्र गर्ने निर्णय गरेका हुन् ।  गण्डकी प्रदेश सरकार मातहत कास्कीमा दुई, नवलपुर, बागलुङ र तनहुँमा एक÷एक गरेर पाँच वटा यातायात व्यवस्था कार्यालय छन् ।  यातायात कार्यालयमा सेवाग्राहीको चाप बढी हुने तर सेवा लिन जाँदा हुने अन्योलको स्थिति अन्त्य गर्न यो निर्णय गरेको मन्त्री केसीले बताए ।   अत्यावश्यक बाहेक भेला, समारोह, गोष्ठीजस्ता काममा धेरै नलाग्ने योजना मन्त्री केसीले बनाएका छन् । उनले मन्त्रालयको समयमा मन्त्रालयको नियमित काम छोडेर अत्यावश्यक बाहेकका कार्यक्रममा नजाने निर्णय पनि गरेका छन् ।  उनले आफू मातहतका कार्यरत कर्मचारी संयन्त्रलाई समयमै आयोजना सक्ने गरेर काम गर्न निर्देशन दिएका छन् ।  ‘भौतिक पुर्वाधार प्रदेशको विकासको मेरुदण्ड हो । राम्रा सडक, पुल, बाटोघाटो नभई प्रदेशको समृद्धि हुँदैन भन्ने मेरो विश्वास छ,’ मन्त्रालयका कर्मचारीलाई उनले भने, ‘अतः समयलाई खेर नफाली आफूलाई सुम्पिएको कार्यलगायत प्रभावकारी रुपमा निर्धारित समय नकट्ने गरी कार्यसम्पादन गर्न म निर्देशन दिन्छु ।’ प्रदेशलाई नेपालको नमुना प्रदेश बनाउन प्राविधिक, निर्माण व्यवसायी सहित सबैको साथ आवश्यक रहेको मन्त्री केसीको भनाइ थियो । काम गर्दा एक पक्षले अर्को पक्षलाई दोषारोपण नगरी समन्वय गर्न मन्त्री केसीले आग्रह गरे ।  

पोखरा:    हुलाक निर्देशनालय पोखराको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। निर्देशनालय पोखरा मातहतका १६ जिल्ला हुलाक कार्यालय र इलाका कार्यालयका कार्यालय प्रमुख तथा कर्मचारीको सहभागीतामा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा आफ्नो मातहतका कार्यालयहरूको प्रगति, समिक्षा तथा हुलाक कार्यदिशा विषयक समीक्षा गोष्ठी कार्यक्रम सम्पन्न गरेको हो। आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रगति समीक्षा र हुलाक विषयक गोष्ठी कार्यक्रम गरेको निर्देशनालयका निर्देशक कीर्तनराज पौडेलले जानकारी दिए। कार्यक्रममा निर्देशनालय मातहतका १५ जिल्ला र एक निर्देशनालयको प्रगति विवरण प्रस्तुत गरिएको उनले जानकारी दिए।  यस्तै हुलाक सेवाको विषयमा समेत छलफल भएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे थिए भने विशिष्ट अथिति हुलाक सेवा विभागका निर्देशक ध्रुवराज आचार्य थिए । कार्यक्रममा वार्षिक प्रगति समिक्षाका साथै सामूहिक प्रश्नोत्तर पनि गरिएको हुलाक निर्देशक पौडेलले जानकारी दिए । कार्यक्रममा सहभागीले हुलाक सेवालाई प्रभावकारी बनाउन सरकारले चासो नदेखाएको आरोप लगाएका थिए। यस्तै तत्कालीन समयमा हुलाकले सूचना र खबर आदनप्रदानमा पुर्‍याएको योगदानको पनि कार्यक्रममा चर्चा गरिएको थियो।

प्युठान:    प्युठानमा मानव कङ्काल भेटिएको छ । माण्डवी गाउँपालिका–२ अधेरीको पुरानो घरमा मानव कङ्काल फेला परेको हो ।       स्थानीय दलबहादुर खत्रीको घरमा मानव कङ्काल भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले जानकारी दिनुभयो ।  स्थानीय आइतबार बाँदर धपाउन गएको समयमा पानी परेपछि ओतका लागि उक्त घरमा गएका थिए । ओत लागेको समयमा मानव कङ्काल देखिएको स्थानीय बताएका छन् । कपडाले छोपी, प्लास्टिकले बेरेर ढोकामाथि राखेको अवस्थामा कङ्काल भेटिएको प्रहरीले जनाएको छ ।       मानव कङ्काल भेटिएको घर विगत सात वर्षदेखि खाली रहेको थियो । घटनाको छानबिन तथा अनुसन्धानका लागि प्रहरी परिचालन भइसकेको छ ।  सूचना अधिकारी केसीका अनुसार जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वर थापाको नेतृत्वमा प्रहरी टोली आज घटनास्थलमा पुगेको हो ।  प्रहरीले कङ्काललाई प्यूठान अस्पताल लिई डिएनए प्रोफाइल जाँच तथा शव परीक्षण गरिने जनाएको छ । त्यसपछि रिपोर्टका आधारमा अनुसन्धान सुरु हुने प्रवक्ता केसीको भनाइ छ । 

बागलुङ (ढोरपाटन):    यहाँको भूजीखोलामा विसं २०७७ भदौ १७ गतेको बाढीले धेरैलाई घरबारविहीन बनाएको थियो । उक्त बाढीले २२ जनाको ज्यान लिएको थियो । बाढीमा परेका १५ जना अझै फेला परेका छैनन् । पहिरो पीडित परिवार ठूलो वर्षा हुँदा अहिले पनि आनन्दले निदाउन सक्दैनन् ।  ढोरपाटन नगरपालिका–६, ७, ८ र ९ मा पर्ने भूजीखोलाको बाढी पीडितले अझै उचित राहत पाउन नसकेको गुनासो गर्दै आएका छन् । बाढीले भूजीखोला किनारका एक सय ३१ घर बगाएको थियो ।  ११ लघु जलविद्युत आयोजना, एउटा स्वास्थ्य इकाई, ११ झोलुङ्गे पुल, १० काठे पुल, पाँच ढलान पुल, दुई विद्यालय र २० किलोमिटर सडक बगाएको थियो । बाढीले क्षति पु(याएको ११ लघु जलविद्युत आयोजना सबै सञ्चालनमा आएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिनुभयो ।  बाढीले ढोरपाटन नगरपालिका–९ सुप्राङ स्थित जनचेतना आधारभूत विद्यालय र सरस्वती आधारभूत विद्यालय बगाएको थियो । सालझण्डी–ढोरपाटन सडक खण्डको २० किलोमिटर सडक बगाएको थियो ।  सङ्घीय सरकारले १८ जना बाढी पीडितलाई घर बनाउन सबै किस्ता रकम उपलब्ध गराए पनि अझै धेरैले एक किस्ता मात्रै प्राप्त गरेको उपप्रमुख कायतले बताउनुभयो । ढोरपाटन नगरपालिका–९ का बाढी पीडित कुलबहादुर विक ठूलो पानी पर्दा रातभर जाग्राम बस्नुहुन्छ । विकले ऋण गरेर घर बनाएपनि ऋण तिर्न नसक्दा अप्ठ्यारो स्थितीमा पुगेको बताउनुभयो ।  बाढीले आफन्तसहित सबै सम्पत्ति बगाउँदा बिहान बेलुकाको हात मुख जोड्नसमेत मुस्किल भएको उहाँको गुनासो छ । बाढीले उहाँको घर जग्गासहित २२ वर्षका जेठो छोरो, २१ वर्षकी बुहारी, १८ वर्षकी छोरी र चार वर्षकी नातिनी बगाएको थियो । बाढीले भए भएभरको सम्पत्ति बगाइए दिएपछि लामो समय आफन्तकहाँ बस्नुभएका उहाँ भर्खरै घर बनाएर सर्नुभएको छ ।  उहाँले भन्नुभयो, “बर्खाको समय ढोरपाटन बस्छौँ, हिउँद लाग्यो भने तल भूजीखोला झर्ने हो, ठूलो पानी पर्दा निन्द्रा लाग्दैन, पहिलाको जस्तै बगाउँछ कि भन्ने डर लाग्छ, बाढी पीडितलाई सरकारले साथ दिएन ।” अर्का बाढी पीडित निम प्रकाश विकले आफन्तसहित भएभरको सम्पत्ति बगाएपछि काकालाई एउटा घडेरी मागेर घर बनाएको सुनाउनुभयो । घर बनाएको ऋण तिर्न नसक्दा समस्यामा परेको उहाँको गुनासो छ ।  बाढीले उहाँको २५ वर्षीया श्रीमति, नौ वर्षीय जेठो छोरो, दुई वर्षीय माइलो छोरो र २२ दिनको कान्छो छोरोसहित परिवारका सबै सदस्य बगाएको थियो । सरकारले चार लाख रुपैयाँ दिन्छ भनेर घर बनाए पनि अहिले उक्त रकम नपाएको उहाँले सुनाउनुभयो ।  “अहिले म ठूलो ‘टेन्सन’मा छु, बाढीले परिवारनै बगायो, सम्पत्ति बगायो, त्यसमाथि सरकारले पैसा दिन्छु घर बनाउ भनेर भन्यो, ऋण खोजेर घर बनाएँ, न सरकारले पैसा दियो, न कतैबाट सहयोग आयो,” उहाँले भन्नुभयो, “अहिले ऋणमा  डुबियो, के गरेर तिर्ने रु” 

बाँके:    अज्ञात रोगका कारण यहाँको नरैनापुरमा एकै परिवारका तीन जना र एक बालकसहित चार जनाको मृत्यु भएको छ । नरैनापुर गाउँपालिका–३ गेग्ली गाउँमा चार जनाको ज्यान गएको नरैनापुर स्वास्थ्य शाखाका प्रमुख नागेन्द्रकुमार शाहले जानकारी दिनुभयो ।       उहाँका अनुसार एकै परिवारका ७५ वर्षीय शान्ति पासी, उहाँकी २६ वर्षीया बुहारी उषा पासी र सोही परिवारकी एक वर्षकी नाबालिकाको यही भदौ १४, १५ र १६ गते मृत्यु भएको हो ।  “सुरुमा उषा पासीलाई सामान्य टाउको दुख्यो, त्यसपछि पेट दुख्यो र दुईदेखि तीन पटकसम्म पखाला लागेको रहेछ”, परिवारको भनाइलाई उद्धृत गर्दै स्वास्थ्य शाखा प्रमुख शाहले भन्नुभयो, “झाडापखाला नै हो भनेर हामीले भन्न सक्दैनौँ । किनकी दुईदेखि तीन पटकसम्म भएको दिसालाई झाडापखाला भन्न मिल्दैन ।” उषाका श्रीमान् छोटेलाल पासीका अनुसार उषालाई केही दिन अघिदेखि टाउको र पेट दुख्नुका साथै ज्वरो आएपछि नजिकै रहेको भारतीय क्लिनिकमा उपचार गरिएको थियो । उपचारको क्रममा उषाको ज्यान गएको श्रीमान् छोटेलालको भनाइ छ ।  “टाउको दुख्यो, पटे दुख्यो भन्दै थिइन् । पछि एक दुई चोटी पातलो दिसा गरिन् । उनको उपचार चलिरहेको थियो । तर उपचार चल्दै गर्दा हामीलाई छाडेर गईन्”, छोटेलालले भन्नुभयो ।  श्रीमती उषाको मृत्यु भएको एकदिन नबित्दै ७५ वर्षीया उहाँकी ठुलीआमा शान्ति पासीको पनि उस्तै दुखाइको कारण मृत्यु भयो ।  “मेरो श्रीमतीको १४ गते मृत्यु भयो । भोलिपल्ट नै हामीसँगै बस्दै आउनुभएकी ७५ वर्षीया ठुलीआमा पनि श्रीमतीको जस्तै दुखाइका कारण मृत्यु भयो”, उहाँले भन्नुभयो, “एकै पटक परिवारका दुई सदस्य गुमाउनुको पीडा त छँदै थियो । भोलि पल्टै मेरो डेढ वर्षीया भतिजी नन्दनी पासीको पनि उस्तै लक्षणले ज्यान गयो ।”       तीन दिनमा एकै परिवारका तीन जनाको ज्यान गएको सोही गाउँमा १६ गते उस्तै लक्षण, दुखाईले १२ वर्षीय बालक सुफियान अलि सेखको पनि ज्यान गएको नरैनापुर स्वास्थ्य शाखा प्रमुख शाहले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु भएका चारै जनाको उपचार भारतीय सीमासँग जोडिएको ‘प्राईभेट क्लिनिक’मा भएको थियो ।  उहाँले भन्नुयो, “यो खबर आजै मात्र हामीले थाहा पायौँ । थाहा पाउनासाथ स्वास्थ्यकर्मीको टोलीले अहिले गाउँमै पुगेर बिरामीको उपचार गरिरहेका छौँ ।” नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्रका अुनसार अहिलेसम्म ४० जनाको स्वास्थ्य जाँच गराइएको छ । जसमा सात जनाको अवस्था गम्भीरबाट विस्तारै सामान्य बन्दै गएको छ ।  नरैनापुरमा भएको उक्त घटनाबारे बुझ्न प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपाल नं ३० गण नेपालगञ्ज बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीसहितको टोली अनुगमनमा पुगेको थियो ।  अनुगमन पश्चात प्रजिअ रिजालले नरैनापुरको स्वास्थ्य चौकीमा औषधि अभाव हुन नदिन स्वास्थ्य कार्यालयलाई निर्देशन दिनुभएको छ ।