मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

पोखराः भिजन गण्डकी नेटवर्क प्रालिले सुनगाभा न्यूज डटकम सञ्चालनमा ल्याएको छ ।   ‘लेख्छ देशको खबर’ नारा सहित आज देखि आधिकारिक रुपमा न्यूज पोर्टल साइट सुनगाभा न्यूज डटकम सञ्चालनमा ल्याएको हो ।   नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष  तथा वरिष्ठ पत्रकार नारायण कार्कीले पोखरा महानगरपालिका ९ पृथ्वीचोकस्थित पोखरामलमा रहेको कार्यालय सँयुक्तरुपमा उद्घाटन गरे । सो अवसरमा बोल्दै प्रमुख अतिथि समेत रहेकी भण्डारीले सफलताको शुभकामना व्यक्त गरिन् ।    उनले पछिल्लो समय पीत पत्रकारिता मौलाइरहेको उल्लेख गर्दै गुणस्तरीय र मर्यादित पत्रकारिता गर्न आग्रह गरिन् ।  अध्यक्ष भण्डारीले पोखराको पत्रकारीताको मात्रै नभइ केन्द्रको पत्रकारिताको समेत उदाहरण बन्नुपर्नेमा जोड दिएकी थिईन् ।   यसैगरी वरिष्ठ पत्रकार नारायण कार्कीले पत्रकारिताको क्षेत्र फराकिलो रहेको बताउदै समाजलाई निष्पक्ष सुचना प्रवाह गर्न सुझाव दिए । उनले पत्रकारिताको निश्चित क्षेत्र नरहेको  बताउदै खोज पत्रकारिताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए । पत्रकार कार्कीले पत्रकारिताको मर्म र धर्मलाई आत्मसाथ गर्दै लक्षित समुहलाई तथ्य, सत्य र निष्पक्ष सूचना संप्रेषण गर्नुपर्ने धारणा राखेका थिए ।    भिजन गण्डकी नेटवर्क प्रालिका अध्यक्ष किसान सुनारले मल्टिमिडियाको अवधारणा अनुसार पहिलो चरणमा न्यूज पोर्टल साइट ‘सुनगाभा न्यूज’ सञ्चालनमा ल्याईएको जानकारी दिए ।  उनले परिवर्तित समयलाई मध्यनजर गर्दै आगामी दिनमा अनलाईन टिभी तथा मल्टिमिडियासँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा समेत लगानी गर्ने बताए ।     नव  वर्ष २०७९ को आगमनसँगै सञ्चालनमा आएको सुनगाभाले स्कुपसँगै आवाजविहीनको आवाजलाई उनीहरुकै प्रश्न सम्बन्धित व्यक्ति वा निकायलाई सिधै राख्न मिल्नेगरी ‘प्रश्नै–प्रश्न’ कार्यक्रम समावेश गरेको छ । यसैगरी समाज, कला, खेलकुद, बजार, राजनीति, विचार र कुराकानीलाई स्थान दिएको छ । सुनगाभा न्यूजकाे सम्पादकमा दीपक के श्रेष्ठ रहेका छन् ।    

काठमाडौं- आज १६औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गर्नुभयो । विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।   विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो ।   राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गर्नुभयो । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिनुभएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी)बीच १२ बुँदे समझदारी भयो ।   विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । २०६२ फागुनदेखि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो ।   नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत हुनुभयो । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनस्र्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गर्नुभयो । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रुपमा स्थापित बन्यो ।   विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्‍यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ ।   यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्‍यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो ।   विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो ।   जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् । यो परिवर्तनको प्रवेशद्वार भएकाले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ ।-

  कास्की, वैशाख ९ गते । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीमा जुटेको गण्डकी प्रदेश सरकारले प्रदेशमा क्रियाशील मुख्य राजनीतिक दलका प्रमुख र प्रतिनिधिसँग छलफल गरेको छ ।  सीमित स्रोतसाधनका बीच पनि नागरिकका अपेक्षा पूरा गर्नुपर्ने अवस्थामा दलहरूको रायअनुसार नै अगाडि बढ्ने उद्देश्यले छलफल थालिएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताउनुभयो ।   प्रदेश अर्थ मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा मुख्यमन्त्री पोखरेलले आगामी बजेटलाई, व्यावहारिक, सन्देशमूलक र लोकप्रिय बनाउने प्रयास भइरहेको बताउनुभयो । सीमित बजेटका बीच नागरिकका आवश्यकतालाई पूरा गर्नेगरी प्रदेश सरकार जान चाहेको भन्दै उहाँले रोजगारी र आम्दानी वृद्धि हुनेगरी बजेट बनाउन थप सुझावको अपेक्षा गरिएको बताउनुभयो ।    अर्थमन्त्री रामजीप्रसाद बरालले अनिवार्य दायित्व बढ्दो अवस्थामा रहेको चर्चा गर्दै भन्नुभयो, ‘‘बजेटको सीमा त्यही हो, केही नयाँ योजना पनि दिनुपर्ने र चुनावको मुखको बजेट भएकाले बडो समस्याबाट गुज्रिएको छ सरकार ।’’ साधारण खर्च दिनप्रतिदिन बढ्दै गएको भन्दै उहाँले केन्द्रमा रहेका नेताहरुको एकात्मक सोचका कारण स्रोत र अधिकारका लागि सङ्घसँग जुध्नुपर्ने अवस्था आएको बताउनुभयो ।    ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यले विगतमा दिनमा पर्यटनमा गरेको लगानीले कति प्रतिफल दियो भनेर समीक्षा गर्नुपर्ने बताउनुभयो । प्रदेशको समृद्धि कृषि उत्पादनमै निर्भर रहेकाले सबैभन्दा पहिला सिँचाइको प्रबन्ध गरिनुपर्ने सुझाव उहाँले दिनुभयो । उहाँले भन्नुभयो, ‘‘गण्डकीमा तीन लाख ७० हजार हेक्टर जमिनमा खेती हुन्छ । त्यसमा सिँचाइ जम्मा ३६ प्रतिशतमा मात्र पुगेको छ । त्योमध्ये पनि ६१ हजार ८३३ हेक्टरमा मात्रै बाह्रै महिना सिँचाइ उपलब्ध छ, यो दुःखद पक्ष हो ।”   नेकपा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले विगतका बजेटको समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटनलाई प्राथमिकता तोकिएको छ, अब यसमा पर्याप्त बजेट छुट्याउनुप¥यो । प्रदेश गौरवका योजना ल्याएर मात्र भएन, ती योजनालाई अगाडि बढाउन हामीले गम्भीर भएर लाग्नुपर्नेछ ।”    नेपाली काँग्रेस गण्डकीका महामन्त्री विष्णुप्रसाद लामिछानेले किसानले आत्मसम्मान पाउने गरी योजना बनाउन सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “निजी क्षेत्रलाई आकर्षित गर्ने खालको नीति निर्माण गर्नुपर्छ, विद्युत्को उपभोग बढाउने गरी कार्यक्रम अगाडि सार्नुपर्छ ।”    नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले कृषिको अनुदान साना किसानले पाउनै कठिन रहेको बताउनुभयो । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले क्षेत्रगत रूपमा निरन्तर छलफल चलाइरहेको जानकारी गराउनुभयो । सङ्घबाट प्राप्त हुने अनुदान बिस्तारै बढोत्तरी हुँदै जाने, प्रदेशको आम्दानी बढाउने, राजस्व सङ्कलनमा जोड दिएको भएर आगामी आर्थिक वर्षमा प्रदेशको आर्थिक अवस्था सुधार हुँदै जाने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

तौलिहवा, बैशाख ८ गते । आफैलाई गोली हानेकी कपिलवस्तु शमशेरदल गणमा कार्यरत सिपाही कोपिला राजवंशीको उपचारको क्रममा मृत्यु भएको छ ।   जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरिक्षक जेसी शाहका अनुसार भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा आज (विहीबार) बिहान उहाँको मृत्यु भएको हो ।   ‘आज बिहान साढे ६ बजेतिर हामीलाई खबर आयो उहाँको निधन भयो,’ प्रहरी नायब उपरिक्षक शाहले भन्नुभयो । उहाँका अनुसार उपचारका लागि राति नै काठमाडौं लैजाने तयारी गरिए पनि हेलिकप्टर नआएकाले भैरहवामै उपचार गरिएको थियो ।   कपिलवस्तुको शमशेरदल गणमा कार्यरत सिपाही राजवंशीले बुधबार आफ्नै पेटमा गोली हानेकी थिइन् । ड्युटीमा रहेको बेला आफैले बोकेको एम १६ राइफलले गोली हानेको प्रहरी नायब उपरिक्षक शाहले जानकारी दिनुभयो ।

काठमाडौं, वैशाख ७ गते । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी काममा फर्किनुभएको छ ।    मङ्गलबार सर्वोच्च अदालतले काम गर्नबाट नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएसँगै अधिकारी बुधबारदेखि काममा फर्किनुभएको हो । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले निलम्बित गभर्नर अधिकारीको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।     त्यस्तै, न्यायाधीश फुयालले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै कारण देखाउ आदेश पनि जारी गर्नुभएको थियो । साथै छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश पनि न्यायाधीश फुयालले दिनुभएको छ । गत चैत २४ गत बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरविरुद्ध छानबिनका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको अध्यक्षतामा जाँचबुझ समिति गठन गरेसँगै अधिकारी स्वतः निलम्बनमा पर्नुभएको थियो ।   अधिकारीले सोमबार सर्वोच्चमा दर्ता गर्नुभएको रिटमा निलम्बन फुकुवा गरी पूर्ववत् अवस्थामै कामकाज गर्न दिन अन्तरिम आदेशको माग गर्नुभएको थियो ।   उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतलाई विपक्षी बनाई रिट दर्ता गर्नुभएको थियो ।

आउँदो शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा हिमाल पारीको जिल्ला मनाङबाट ४३ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । परीक्षामा २१ छात्रा र २२ छात्र गरी जिल्लाभरबाट ४३ परीक्षार्थी सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय मनाङका एकाइ प्रमुख मतिलाल चपाईले बताउनुभयो । उहाँका अनुसार लोकप्रिय माध्यमिक विद्यालय चामेबाट १४, प्रकाशज्योति मावि थोचेबाट १४, अन्नपूर्ण मावि मनाङबाट चार, भानु मावि तालबाट सात र लोकप्रिय मावि खुलाबाट चार जना परीक्षामा सहभागी हुनेछन् । जिल्लाको लोकप्रिय माविमा एउटा परीक्षा केन्द्र रहनेछ । जिल्लामा परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको उहाँले बताउनुभयो । परीक्षा सुरक्षित र मर्यादितरुपमा सम्पन्न गर्न केन्द्रमा सुरक्षाकर्मी र निरीक्षक राखिएको बताइएको छ । शैक्षिकसत्र २०७७ र २०७६ मा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो । प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा एसइई सञ्चालन गर्न लागिएको हो ।

स्याङ्जाको वालिङ–१२ डाँडाँखर्क फिरफिरेमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका–१२ डाँडाँखर्कबाट बायटारी आउँदै गरेको ग१ज ७३९९ नम्बरको जीप आज फिरफिरेमा दुर्घटना भएको हो । जीप दुर्घटनामा परी वालिङ–१२ डाँडाँखर्क बस्ने ६५ वर्षीय वीरबहादुर डाला, सोही ठाउँकी ४५ वर्षीया हीरा डाला, २५ वर्षीया शर्मिला सारु, शर्मिला सारुका छ महिनाका छोरा र वालिङ–१४ बस्ने ६१ वर्षीय कूलकुमारी कनौजेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पदमराज थापाले जानकारी दिनुभयो । जीपमा सवार रहेका ११ जनामध्ये अन्य छ जना घाइते भएका छन् । घाइते हुनेमा वालिङ–१२ डाँडाँखर्कका ५० वर्षीय अङ्गबहादुर डाला, सोही ठाउँकी ५५ वर्षीया मायाकुमारी सारु, ३५ वर्षीया योगेन्द्र थापा, १८ वर्षीया नवीना सारु, १९ वर्षीया लक्ष्मी डाला र जीप चालक ६० वर्षीय दलबहादुर थापा रहेका छन् । घाइतेको वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको छ । जीप सडकबाट झण्डै २०० मिटर तल खसेको हो । मृत्यु भएका र घाइते भएका सबै एउटै गाउँका भएकाले अहिले गाउँ शोकमा डुबेको छ ।

रामपुर, ४ वैशाख (रासस):  कालीपारे दाइ कति राम्रो ढाका टोपी काँधमा गलबन्दी(किरण खरेल, तारादेवी) पाल्पाको पूर्वखोला गाउँपालिकाकी तिलीमाया नेपालीको दिनचर्या तानबाट ढाका बुन्ने काममा बित्ने गरेको छ । पूर्वखोला –१ तामाखानी स्थायी घर भएकी नेपालीमा दिनानुदिन तानबाट ढाका बुन्ने कला र सीपमा निखारता आउँदा यतिखेर आफ्नो काममा जोस र जाँगर थपिएको छ नै, स्वरोजगार बनेकामा आत्मसम्मानको महसुस पनि भएको छ । उहाँ तानसेन बजारको सिल्खानटोलमा रहेको सरस्वती ढाका कपडा उद्योगमा ढाका कपडा बुन्ने गर्नुहुन्छ । छ वर्षदेखि नै सो काममा संलग्न उहाँले दुई छोराछोरीसहित कोठा भाडा लिएर कारखानामा ढाका बुन्दै आउनुभएको छ । “श्रीमान् भारतमा मजदुरी गर्नुहुन्छ, एक जनाको कमाइले परिवारको पालनपोषण, छोराछोरीको पढाइ खर्च धान्न सकस हुन्छ, अर्कातर्फ दिनभर खाली समय काममा सदुपयोग भएको छ, काम गरेपछि हातमा दाम परिहाल्छ”, उहाँले भन्नुभयो । छोराछोरी पढ्न गएपछि घरायसी काम सकाएर ढाका बुन्ने उहाँले साथीहरूसँगै काम गर्दा दिन बितेको पत्तो नै नहुने अनुभव सुनाउनुभयो । फुर्सदका समय बिहान ७ बजेदेखि साँझसम्म पनि उहाँ निरन्तर ढाका बुन्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “काम जति धेरै गर्न सक्यो, उति नै धेरै कमाउन सकिने रहेछ, धेरै समय खटिएर काम गर्नेले राम्रै कमाउन सक्छ, दिउँसो चार÷पाँच घण्टाको समय काम गरियो भने महिनामा १२÷१५ हजार रुपियाँ त सजिलै कमाउन सकिने रहेछ, महिलाहरूलाई आयआर्जन गर्न यो व्यवसाय धेरै राम्रो छ ।” साँझ बिहानको घरायसी काममा मात्रै सीमित रहने र दुई÷चार पैसाका लागि अरूका भरमा बसेका महिलालाई सीप सिकेर आफैँ स्वरोजगार बन्न उहाँ सुझाव दिनुहुन्छ । आफ्नो हातमा कमाइ भएपछि अरूको अपहेलना खेप्नु नपरेको र आफूलाई आत्मनिर्भर बन्ने बाटो मिलेको नेपाली बताउनुहुन्छ । रिब्दिकोट गाउँपालिका–८ फेक बस्ने सीमा बगालेलाई आजभन्दा पन्ध्र वर्षअघि पढेलेखेको छैन, जागिर पाउने आसै भएन, आयआर्जन कसरी गर्ने भन्ने समस्याले निकै पिरोल्थ्यो । रोजगारीका खोजीमा तानसेन बजारमा आउनुभएका बगाले यहाँको कारखानामा ढाका बुन्ने अवसर पाएपछि भने अहिले स्वावलम्बी बन्दै जानुभएको छ । तानमा बसेर ढाका बुन्न थालेको डेढ दशक भयो । काम गर्ने क्रममा सीप विकास हुँदै गर्दा अहिले उहाँलाई आफ्नो खर्चका निम्ति अरूका भरमा बस्नुपर्ने अवस्था छैन । “पढ्न नसक्दा जागिर पाउने आसै थिएन, कारखानामा काम पाउँदा धेरै खुसी लागेको छ, ढाका बुनेर आफ्नो खर्च चलेकै छ, काम नपाएर खाली बस्नु पनि परेन, अरूसँग दुईचार पैसाका निम्ति हात थाप्नु परेको छैन”, बगालेले भन्नुभयो । मिटरको हिसाबले ज्याला पाउने हुँदा यसैमा मात्रै ध्यान दिएर काम गर्नेले राम्रो कमाइ गरिरहेको व्यवसायमा संलग्न महिला बताउँछन् । पाल्पाली ढाका बुनाइ नेपाली र बगाले जस्तै यहाँका धेरै महिलाको आयआर्जन गर्ने बलियो माध्यम बनेको छ । श्रीमान्का भरमा मात्र बस्दा जीविका चलाउन धौधौ भएपछि धेरै महिलाले व्यावसायिक रूपमा तानमा बसेर ढाका बुनी दैनिक जीविकोपार्जन गरिरहेका छन् । ढाका उद्योग महिलाका निम्ति रोजगारको बलियो स्रोतका रूपमा स्थापित बनेको छ । ढाका उद्योगबाट धेरैलाई रोजगारी दिन पाउँदा आफूलाई आत्मसन्तुष्टि मिलेको सरस्वती ढाका कपडा उद्योगका सञ्चालक हरि रायमाझी बताउनुहुन्छ, । उहाँको उद्योगमा अहिले दैनिक बिहानदेखि साँझसम्म ३० कामदार ढाका बुन्ने कार्यमा संलग्न छन् । यहाँ छोराछोरीलाई स्कुल, क्याम्पस पठाएर फुर्सदको समय ढाका बुनेर आफ्नो जीविका चलाउने गरेको पाइन्छ । “एउटा उद्योगबाट दैनिक ३० जनाले रोजगार पाएका छन्, धेरैजसो छोराछोरी पढाउन कोठा भाडामा बस्ने महिलाहरू हुनुहुन्छ, स्कुल पठाएपछि यहाँ आएर तानमा बसी ढाका बुन्ने गर्नुहुन्छ, यो देख्दा पनि आनन्द लाग्छ”, उहाँले भन्नुभयो । तानसेन बजारमा फेन्सी पसल चलाउनुभएका रायमाझीले विसं २०४८ देखि ढाका कपडाको व्यापार सुरु गर्नुभएको हो । विस्तारै उद्योगका रूपमा विकास गर्दै गएपछि अहिले उहाँ धेरैलाई यसैबाट रोजगार दिने एक सफल उद्योगीका रुपमा स्थापित हुनुभएको छ । द्वन्द्वकाल र कोभिड –१९ को प्रभावले व्यवसायलाई असर पु¥याए पनि ढाका सम्मानजनक व्यापार भएकाले उद्योगीलाई राम्रो पहिचान दिएको उहाँको अनुभव छ । उहाँ एक वर्षमा सरदरमा रु २० देखि २५ लाखसम्मको ढाका कपडाको कारोबार गर्नुहुन्छ । ब्राण्डमा गएपछि ठगिने क्रम हटेको र उद्योग थप हुँदै गएकाले ढाका कपडाको व्यापार फस्टाउँदै जाने आशा उहाँ व्यक्त गर्नुहुन्छ । पाल्पाली ढाका कपडा सङ्घका अध्यक्ष पूर्णमाया महर्जन आफूले चलाएको कारखानामा हाल १६ महिलालाई दैनिक रोजगारी दिएको बताउनुहुन्छ । पाल्पाको पहिलो ढाका व्यवसायी महर्जन आठ दशक पार गरे पनि अझै बिहानै उठेर कारखानामा खटिएका कामदारसँंगै काम गर्नुुहुन्छ । महर्जनका श्रीमान् गणेशमानले विसं २०१५ मा पाल्पामा पहिलो ढाका उद्योग स्थापना गरी यहाँका विपन्न, गरिब र महिलालाई रोजगारीको सिर्जना गर्नुभएको थियो । “उद्योग स्थापनाका तत्कालीन समयमा सडकमा मजदुरी गर्ने, गिट्टी कुट्ने, ढुङ्गा, माटो, बालुवा बोक्ने र भारी बोक्ने महिलालाई डो¥याएर उद्योगमा ल्याई ढाका बुन्न लगाइयो, उहाँहरू पनि धेरै मेहनत गरेर ढाका बुन्नुहुन्थ्यो”, उहाँले थप्नुभयो,“मेरो उद्योगमा ढाका बुन्ने महिलाहरू अहिले सीप विकास गरी आफैँ उद्यमी बनेर व्यवसाय चलाएको देख्न पाउँदा सन्तुष्ट छु ।” महर्जनले हालसम्म एक हजारभन्दा बढी महिलालाई आफ्ना कारखानाबाट आयआर्जनको अवसर दिनुभएको छ । बुढ्यौली लागे पनि उहाँ विशेषगरी एकल महिला, गरिब, विपन्न, दलित, जनजाति, घरपरिवार– समुदायबाट अपहेलित महिलालाई प्राथमिकता दिँदै ढाका बुन्ने कार्यमा सीप तथा हौसला दिने गर्नुहुन्छ । पहिला मासिक रूपमा तलब दिएर कामदार खटाउने महर्जनले अहिले भने मिटरको हिसाबले पारिश्रमिक दिने गरेको बताउनुहुन्छ । महर्जन भन्नुहुन्छ, “मिटरको हिसाबले पारिश्रमिक दिन थालेपछि कामदारले राम्रै कमाइ गर्नुभएको छ, नयाँ नयाँ डिजाइन, बुट्टा भर्नेलाई थप सुविधा उपलब्ध छ, निरन्तर काममा खटिएर काम गर्नेले महिनामा रु पन्धदेखि रु बीस हजारसम्म त सजिलै कमाइ गर्नुहुन्छ” । काठमाडौँ, गोरखपुरलगायत विभिन्न स्थानमा उत्पादित ढाका आयात गरी केही व्यापारीले पाल्पाली ढाकाको नाम बेचेर नक्कली ढाका बेच्ने गर्दा व्यवसाय धराप अवस्थामा पनि पुग्यो । सङ्घले बाहिरबाट भित्रिएका ढाका पाल्पाली ढाकाको नाम राखेर बिक्री नगर्न निर्देशन दिए पनि केही व्यापारीको अटेरका कारण पाल्पाली ढाका उद्योग सङ्कटमा प¥यो । पाल्पाली ढाकाबाट उपभोक्ता नठगिन ब्राण्डका रूपमा ढाका कपडा बजारमा ल्याउन थालेको अध्यक्ष महर्जनको भनाइ छ । महर्जनका श्रीमान् गणेशमानले भारतमा ढाका बुन्ने सीप सिकेर आएपछि विसं २०१५ मा पाल्पामा ढाका कपडाको व्यवसाय थालनी गर्नुभएको हो । अहिले यो देश तथा विदेशमा राम्रो पहिचान बनाउन सफल भएको छ । त्यतिबेला गणेशमानले पाल्पा कारागारमा रहेका थुनुवाबाट कपडा बुन्ने काम गराउँदा तिनलाई आम्दानीको राम्रो माध्यम बनेको थियो । गणेशमानले सुरु गरेको व्यवसाय अहिले पनि निरन्तर चलिरहेको छ । उहाँकी श्रीमती पूर्णमाया हालसम्म सात हजार महिलालाई ढाका कपडाको तालिम दिइसकेको बताउनुहुन्छ । उमेरले ८४ वर्ष पुगे पनि उहाँले व्यवसायमा धेरै महिला उद्यमी उत्पादन गरेर रोजगारीको ढोका खोलिदिनुभएको छ । पूर्वदेखि पश्चिम सम्मका तथा विभिन्न मुलुकबाट पनि सामान खरिद गर्न आउने गरेको उहाँको भनाइ छ । साडी, कुर्ता, टोपी, पछ्यौरा, पर्स, झोलालगायत गरी करिब ९० थरिका सामान उहाँ उत्पादन गर्नुहुन्छ । सुरुमा परिवारले मात्रै धानेको व्यवसायलाई बढाउँदै जाँदा विसं २०२० देखि कामदार राखेर अहिलेसम्म पनि उहाँले निरन्तरता दिनुभएको छ । पाल्पामा हाल १५ ढाका कारखाना सञ्चालित छन् । पाल्पाली ढाकाका नाममा छल गरेर बाहिर उत्पादन भएका ढाका यहाँ भित्रन थालेपछि दुई ढाका कारखाना बन्द हुन पुग्यो । अहिले पुनः बन्द रहेका कारखानालाई सञ्चालनमा ल्याइएको छ । सात मात्रै कारखाना सञ्चालनमा रहेकामा यसै आर्थिक वर्षदेखि बन्द रहेका दुई कारखानासहित आठ कारखाना थपिएको पाल्पाली ढाका सङ्घका व्यवस्थापक अनुशेष रायमाझीले बताउनुभयो । “सङ्घले ढाका कपडासम्बन्धी सीप विकास तालिम, नयाँ कारखाना स्थापना गर्ने व्यवसायीलाई विभिन्न बैंकसँग समन्वय गरी ऋण सहयो र सहज रूपमा धागो उपलब्ध गराएको छ, कोभिड –१९ को अवस्था सहज बन्दै जाँदा कारखाना विस्तार हँुदै गएको छ”, उहाँले भन्नुभयो । सङ्घले ढाकाको सामग्री बिक्री नभएमा व्यवसायीबाट खरिद गरी तानसेनमा रहेको कोसेली घरबाट बिक्री गर्ने व्यवस्था मिलाएको छ । लुम्बिनी प्रदेश सरकारको ‘एक पालिका एक कोसेली’ कार्यक्रमअन्तर्गत तानसेन नगरपालिकाका समन्वयमा ढाका कपडा बिक्रीका लागि कोसेली घरको व्यवस्था गरिएको हो । गत असोज १ गते तानसेनमा कोसेली घर स्थापना गरी ढाका कपडाको व्यापार भइरहेको छ । गत फागुन १९ गते पाल्पाली ढाकालाई ‘ब्राण्ड’ घोषणा र चैत १२ गते पाल्पालाई ‘ढाका कपडाको राजधानी’ घोषणा गरियो । हरेक वर्ष चैत १२ का दिन ढाका महोत्सव मनाउने सङ्घको योजना छ । बजारमा ढाकाको माग बढ्दो रहेकाले सङ्घले अबको दुई वर्षभित्र एक हजार ५०० जनालाई सीप विकास तालिम दिने भएको छ । हाल यहाँका कारखानाबाट ५०० भन्दा बढीलाई प्रत्यक्ष रोजगार गर्ने अवसर मिलेको छ । उद्योगमा काम गर्ने कामदारमध्ये ९८ प्रतिशत महिला छन् । यहाँ सञ्चालित उद्योगबाट महिलाले राम्रो रोजगार गर्ने अवसर पाएका छन् । न्यूनतम तीनदेखि बढीमा एक सयभन्दा बढी तान राखेर कारखाना सञ्चालन गरिएको छ । एक सयभन्दा बढी तान भएका चार कारखाना छन् । रु पाँच÷सात लाखका लगानीमा व्यवसाय चलाउन सकिने हुँदा ढाका उद्योगबाटै राम्रै लाभ लिन सकिनेछ । पाल्पाली ढाकाको माग अहिले बजारमा बढ्दो छ । पहिला ढाका भन्नेबित्तिकै चोली, टोपी र भोटोमा मात्रै सीमित भएकामा हिजोआज ग्राहकको रोजाइअनुसार कमिज, साडी, ब्लाउज, झोला, कुर्ता, पछ्यौरा, आस्कोट, पर्दालगायत विभिन्न सामग्री तयार पारिन्छ । अहिले कोभिडको अवस्था सामान्य हँुदै जाँदा यहाँ सञ्चालित उद्योगबाट वार्षिक रु दुई करोडसम्मको कारोबार हुने लक्ष्य लिइएको छ । पाल्पाली ढाका सङ्घले ढाका उत्पादन बढाउन जिल्लाका दशवटै पालिकाका समन्वयमा ढाका कपडाको तालिम चलाइने जनाएको छ । बाहिरबाट भित्रिएका यन्त्रबाट उत्पादित ढाका कपडाले गर्दा पाल्पाका केही उद्योग बन्द पनि नभएका होइनन् । अहिले ब्राण्डमा लगिएपछि भने पुनः उद्योगीमा उत्साह थपिएको छ । उद्योग, व्यापार फस्टाउने अवस्थामा छन् भने थपिने क्रम पनि जारी छ । जिल्ला सदरमुकाम तानसेनसँगै ग्रामीण भेग कसेनी, मदनपोखरा, कुुसुमखोला, चिर्तुङ्धारा, बन्दीपोखरा र अर्गलीमा ढाका कपडा बुनिँदै आएको छ ।