मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा तीन दिन बिदा दिने निर्णय गरेको छ।   प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको निर्णय अनुसार शिक्षा मन्त्रालयले आगामी २८ गतेदेखि ३० गतेसम्म तीन दिन मतदान स्थल तथा मतदान केन्द्रहरू रहेका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो।   यस्तै ३१ गते शनिबार परेको छ। जेठ १ गतेदेखि शनिबार र आइतबार गरी साताको दुईदिन बिदा दिने सरकारी निर्णयअनुसार जेठ १ गते आइतबार पनि विद्यालय बन्द हुनेछ।   जेठ २ गते बुद्धजयन्तीको सार्वजनिक बिदा परेको छ। चिर्वाचनका लागि र सार्वजनिक विदा गरि देशभरका विद्यालय ६ दिन बन्द हुने भएका छन ।

देशका चर्चित कमेडियन सन्दीप क्षेत्रीले नेकपा माओवादीको खुलेर तारिफ गरेका छन् ।   भरतपुरमा आयोजित गठबन्धनको चुनावी सभामा सम्बोधन गर्ने अवसर पाएका सन्दीपले भने ‘प्रचण्डज्यू, तपाइले गज्जबको छोरी पाउनु भएको रहेछ ।’   उनले भने, म रेणु दिदिलाई खुलेर भन्न चाहन्छु, तपाइ यस्तो घेरा बनाउनुस् कि चितवनका हरेकले सुरक्षित महशुस गर्न सकुन् । ‘यस्तो सप्तरंगी टिका र मखमली माला लगाइदिनु्स् कि सबैले भनुन् क्या दिदि पायौं ।’     सम्बोधनकाक्रममा मेयर उम्मेदवार रेणु दाहालको प्रशंसा गर्दै उनले आफु कुनै पार्टीको नभएपनि मेयर र प्रचण्डले गरेको काम अतुलनीय भएको भन्न छुटाएनन् ।   ‘मेरो कूलले आशिष देओस् दिदि तर गलत गरे उनै कूलदेवताले श्राप दिउन् ।’   

काठमाडौं- नेपाल चिकित्सक सङ्घले दुई दिने सार्वजनिक बिदा दिने सरकारको निर्णयको स्वागत गरेको छ ।   सङ्घका महासचिव डा बद्री रिजालले विज्ञप्ति जारी गर्दै बिरामीलाई सेवा दिनुपर्ने चिकित्सक स्वयं आफू पनि मानसिक तथा शारीरिक तनावमा रहनुपर्ने भएकाले सरकारको निर्णय स्वास्थ्य क्षेत्रमा पनि लागू भई चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।   “हप्ताको सातै दिन, दिन रात नभनी बिरामीको सेवामा खटिने चिकित्सक आफ्नो व्यस्त समयका कारण परिवारलाई समय दिन नसक्नु, आफ्नो कार्यमा व्यस्त रहनुले दुई दिनको सार्वजनिक बिदा दिने निर्णयले चिकित्सकलाई राहत मिलेको छ”, विज्ञप्तिमा उल्लेख छ ।-

चितवन: बाघको आक्रमणबाट पूर्वी चितवनमा एक पुरुषको मृत्यु भएको छ ।   मृत्यु हुनेमा खैरहनी नगरपालिका–१३ का ६५ वर्षीय नारायण दाहाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो ।   कार्यालयका सूचना अधिकारी नरहरी अधिकारीका अनुसार आज बिहान घर नजिकै रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनको राप्ती घाँसे मैदानमा घाँस काट्न जाने क्रममा दाहाललाई बाघले आक्रमण गरेको थियो ।   उनका अनुसार दाहाललाई बिहान ८ बजे बाघले आक्रमण गरेको थियो । आक्रमणमा परेका दाहालको घटनास्थलभन्दा एक किलोमिटर पर शव भेटिएको कार्यालयले जनाएको छ । 

वीरगञ्ज: विद्युत सर्ट भएर वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बहुअरीमा रहेको वीरगञ्ज हेल्थकेयर हस्पिटलमा शुक्रबार राति ९ बजे आगलागी हुँदा करोडौंको क्षति भएको छ ।   शुक्रबार राति ९ बजे हावाहुरीसँगै पानी परिरहेको बेला चट्याङ परिरहेको अवस्थामा चट्याङका कारण अस्पतालको डायलोसिस शाखामा विद्युत सर्ट भएर आगलागी भएको अस्पतालका सञ्चालक डा. अबुल हैयश अन्सारीले जानकारी दिनुभयो ।   उहाँका अनुसार आगलागीबाट डायलोसिस शाखामा रहेका डायलोसिस मेसिन छ वटा, भेन्टिलेटर दुई वटा, कार्डियेक मोनिटर छ वटा र छ बेड वटा जलेर नष्ट भएको र आगलागीबाट करिब दुई करोड रुपैयाँ बराबरको क्षति भएको छ ।    अस्पतालको तेश्रो तलामा रहेको डायलोसिस शाखामा विद्युत सर्ट भएर भएको आगलागीलाई वीरगञ्ज महानगरपालिकाको बारुणयन्त्रको मद्दतले सशस्त्र प्रहरी, नेपाल प्रहरी र अग्नि नियन्त्रकको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो । उहाँका अनुसार आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । 

काठमाडौं: काठमाडौँ उपत्यकामा ट्राफिक जरिवना क्युआर कोर्डमार्फत तिर्न सकिने भएको छ ।   उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उलङ्घन गर्ने चालकको सहजताका लागि ‘क्युआर स्क्यान पे फाइन एण्ड विथड डकुमेन्ट’ सुविधाको थालनी गरेको हो ।   कुमारी बैंक लिमिटेडको सहकार्यमा बिहीबारदेखि सुरु गरिएको उक्त सेवाको कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र बैंकका डिजिटल प्रमुख अनिश ताम्राकारले संयुक्तरुपमा शुभारम्भ गर्नुभयो ।   उक्त सेवा प्रारम्भ भएसँगै जरिवाना रकम तिर्न बैंक खोज्न भौतारिनुपर्ने वा नगद पैसा बोकेर बैंकमा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य हुने कार्यालय प्रमुख जोशीले बताउनुभयो । उहाँले ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनमा नयाँनयाँ प्रविधिको उच्चतम प्रयोगलाई बढाउँदै लगेकाले आम सडक प्रयोगकर्तालाई थप सहज, सरल, छिटो र भरपर्दो भएको उल्लेख गर्नुभयो ।   कुमारी बैंकका डिजिटल बैंकिङ प्रमुख ताम्राकारले उक्त व्यवस्थाबाट नागरिकलाई थप सुविधा भएको र आगामी दिनमा अझ सुलभ तथा उत्कृष्ट सेवाका लागि ट्राफिक प्रहरीसँग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

काठमाडौँ- निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनका लागि कुनै दलले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवारलाई मात्र मनोनयन गरेको पाइएमा दुवै पदको उम्मेदवारी खारेज गराउन निर्देशन दिएको छ ।   स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ को उपदफा (४) दुवैपदमा उम्मेवारी दिने दलले प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षमा एक पदमा पुरुष र अर्का पदमा महिला उम्मेदवारी दिनुपर्ने व्यवस्था छ ।   विभिन्न स्थानीय तहमा ऐनको सो व्यवस्थाविपरीत पनि उम्मेदवारी रहेको भनी मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयबाट जानकारी आएकाले आयोगले सोबारे आज स्पष्ट गरी पत्रचार गरेको छ ।   यही वैशाख ११ र १२ गते प्राप्त उम्मेदवारको मनोनयनपत्र दर्ता सम्बन्धमा विभिन्न स्थानीय तहमा रहेका निकासाका लागि प्राप्त भएका विषयलाई आयोगले सम्बोधन गरी पठाइएको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । उम्मेदवारीमाथि भएको जाँचबुझपछि यही वैशाख १७ गते अन्तिम नामावली प्रकाशन गरिँदैछ ।   आयोगले एक जना उम्मेदवार एकभन्दा बढी राजनीतिक दलको तर्फबाट उम्मेदवार हुन नसक्ने भएकाले दुवै मनोनयनपत्र खारेज गर्ने, मनोनयनका क्रममा दलको तर्फबाट आधिकारिकता विवाद आएमा दलको केन्द्रीय कार्यकारिणी समितिको प्रमुख पदाधिकारीले उम्मेदवार यकीन गरी निर्वाचन अधिकृतलाई दिएको पत्रलाई आधार मान्ने, यसरी दलको उम्मेदवारको आधिकारिकता सुनिश्चित हुने पत्र प्राप्त हुन नसकेमा पहिले दर्ता भएको मनोनयन पत्रलाई कायम गरी अन्य मनोनयन पत्र खारेज गर्ने निर्णय भएको छ ।   एकै उम्मेदवारले अलगअलग प्रस्तावक र समर्थक राखेर दुई वटा मनोनयन पत्र दर्ता गराएकामा कुनै एक मनोनयन पत्रमा रहेका प्रस्तावक र समर्थक उम्मेदवार भएमा सो मनोनयन पत्र बदर गरी अर्को मनोनयन पत्रका आधारमा उम्मेदवारी कायम गर्ने र सोबाहेक अन्य अवस्थामा प्रस्तावक वा समर्थक भएको व्यक्तिले समेत उम्मेदवारी दिएको भए स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ को दफा ३९ को खण्ड (ग) का आधारमा निजको मनोनयनपत्र बदर गर्ने निर्णय पनि आयोगले गरेको छ ।   कालोसूचीमा रहेका व्यक्तिले मनोनयनपत्र जाँचबुझ गर्न तोकिएको समयभित्र कालोसूचीबाट नाम हटेको प्रमाण पेश गरेमा र निर्वाचन अधिकृतलाई मनासिब लागेमा त्यस्तो उम्मेदवारको मनोनयन पत्र सदर गर्नसक्ने, उम्मेदवारको नाममा किटानीसाथ असुलउपर गर्नुपर्ने भनी महालेखा परीक्षकको कार्यालयबाट बेरुजु औँल्याइएको अवस्थामा बाहेक अन्यमा कानूनबमोजिम मनोनयन पत्र सदर गर्ने । असुलउपर गर्न किटानीसाथ औँल्याइएको बेरुजुको हकमा मनोनयनपत्र जाँचबुझ गर्ने अन्तिम समयसम्म फछ्र्याैट वा दाखिला गरेको प्रमाण पेश गरेमा र निर्वाचन अधिकृतलाई मनासिब लागेमा त्यस्तो मनोनयन पत्र सदर गर्न सक्ने निर्णयमा जनाइएको छ ।   महिला स्वास्थ्य स्वयंसेविकाको पदमा बहाल रहेको विभिन्न सरकारी सुविधा पाउने तर सरकारी तवरबाट नियुक्त हुने पद नभएकाले मनोनयनपत्र जाँच हुने अन्तिम समयसम्ममा राजीनामा गरेको वा जिम्मेवारीबाट हटेको प्रमाण पेश गरेमा निर्वाचन अधिकृतले मनोनयन पत्र सदर गर्नसक्ने र सरकारी वा सरकारी स्वामित्वको संस्था वा निकायको स्रोतसाधनको उपयोग गर्न सक्ने भएकाले मनोनयन पत्र जाँच हुने अन्तिम समयसम्ममा राजीनामा गरेको वा जिम्मेवारीबाट हटेको प्रमाण पेश गरेमा निर्वाचन अधिकृतले मनोनयन पत्र सदर गर्नसक्ने आयोगले स्पष्ट पारेको छ ।   अतिरिक्त हुलाक सरकारी कार्यालय भएकाले सो कार्यालयबाट सुविधा पाउने कर्मचारीले मनोनयन पत्र जाँच हुने अन्तिम समयसम्ममा राजीनामा गरेको प्रमाण पेश गरेमा मनोनयन पत्र सदर गर्ने, विभिन्न सरकारी योजना कार्यान्वयनसम्बन्धी उपभोक्ता समितिको पदाधिकारी रहेको सरकारी कामसँग सम्बन्धित उपभोक्ता समितिको निर्णय प्रक्रिया र सेवासुविधामा संलग्न हुनसक्ने तर सरकारी तवरमा नियुक्ति हुने पद नभएकाले मनोनयन पत्र जाँच हुने अन्तिम समयसम्ममा राजीनामा गरेको वा जिम्मेवारीबाट हटेको प्रमाण पेश गरेमा निर्वाचन अधिकृतले मनोनयन पत्र सदर गर्नसक्ने जनाइएको छ ।   उम्मेदवार मनोनयनका लागि तोकिएको अन्तिम समय भन्दाअगावै कुनै दलले बन्दसूचीमा रहेको उम्मेदवारको नाम हटाउनका लागि लेखी आएका आधारमा आयोगले त्यस्तो बन्दसूचीबाट नाम हटाउने निर्णय गरी आईईआईएमआईएस प्रणालीमा नाम प्रविष्ट गर्न खुला गरिएको अवस्थामा कुनै प्राविधिक कारणबस तत्काल सो प्रणालीमा उम्मेदवारको विवरण प्रविष्ट हुन नसकेको भएमा त्यस्तो प्राविधिक समस्या समाधान भएपश्चात् यथाशीघ्र उम्मेदवारको विवरण आईईआईएमआईएस मा प्रविष्ट गर्नसक्ने उल्लेख छ ।   उम्मेदवारको नागरिकता र मतदाता नामावलीमा रहेको सामान्य विवरण फरक परेको भएमा मतदाता नामावलीको क्रमसङ्ख्या कायमै राखी अन्य विवरण नागरिकताको आधारमा प्रविष्ट गर्ने भनिएको छ ।   यस्तै मतदाता नामावलीमा रहेको उम्मेदवारको विवरणमा सामान्य त्रुटि भएमा उम्मेदवारको विवरण नागरिकतालगायतका अन्य आधिकारिक कागजका आधारमा निर्वाचन अधिकृतकै कार्यालयबाट प्रणालीमा संशोधन गर्न सकिने व्यवस्था भएकाले सोअनुसार गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्दा प्रणाली आईईआईएमआईएसमा रहेको विवरण र निर्वाचन अधिकृतको कार्यालयले तयार गरेको विवरण भिडेमा प्रणालीबाटै प्रिन्ट गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने । विवरण फरक परेमा निर्वाचन अधिकृतको कार्यालयले तयार गरेको विवरणअनुसार नै उम्मेदवारको नामावली प्रकाशन गरी फरक परेको विवरण खोली आयोगमा जानकारी गराउन भनिएको छ ।   दलित महिला वडा सदस्यको हकमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को अनुसूची –७१ मा उल्लिखित सूचीको हकमा सोहीबमोजिम कायम गरी अन्यको हकमा मनोनयनपत्र जाँच गर्ने समयभित्र सम्बन्धित स्थानीय तह वा आधिकारिक निकायबाट निज दलित भएको प्रमाणित हुने कागजात÷निस्सा पेश गरेमा निर्वाचन अधिकृतले उम्मेदवार कायम गर्नसक्ने पनि निर्णयमा जनाइएको छ ।

एजेन्सीः इलोन मस्कले समाजिक संजाल ट्‍वीटर ४४ अर्ब डलरमा किन्ने भएका छन् । अपेक्षा गरिएभन्दा बढी रकममा ट्‍वीटर किन्न इलोन मस्क सहमत भएको रोयटर्सले जनाएको छ ।   ट्‍वीटरको सञ्चालक समितिले इलोन मस्कको प्रस्तावलाई अनुमोदन गरेको समाचार माध्यमहरुले उल्लेख गरेको छ । ट्‍वीटरमा व्यापक सम्भावना रहेको र त्यो सम्भावनालाई उजागर गर्न कम्पनी र प्रयोगकर्ताको समुदायसँग काम गर्न आफू तत्पर रहेको इलोन मस्कले बताएका छन् ।   फोर्ब्स पत्रिकाका अनुसार मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । उनको अनुमानित सम्पत्ति २ सय ७३.६ अर्ब डलर रहेको छ । उनी विद्युतीय सवारी साधन निर्माता टेस्ला कम्पनीको मुख्य सेयरधनी हुन् भने अन्तरिक्षसम्बन्धी कम्पनी स्पेस एक्सको पनि प्रमुख हुन् ।

काठमाडौं- झण्डै ९ हजारको मृत्यु हुने गरी २०७२ साल बैशाख १२ गते बिनाशकारी भूकम्प गएको आज ६ बर्ष पुरा भएको छ ।   मध्यान्ह ११ बजेर ५६ मिनेटको समयमा गोर्खाको बारपाकलाइ केन्द्रविन्दु बनाएर ७ दशमलव ६ रेक्टर स्केलको भुकम्प गएको थियो ।   गोर्खा भुकम्प र त्यसपछिका परकम्पबाट ८,७९० जनाको मृत्यु भएको थियो भने २२ हजार ३०० घाइते भएका थिए ।   भूकम्पका कारण ठूलो संख्यामा सास्कृतिक सम्पदा, विध्यालय तथा सरकारी भवन र निजि घरहरुमा क्षति पुग्यो । हजारौं नागरिक घरवार विहिन बन्न पुगे ।   सरकारले विनासकारी भूकम्पबाट भत्किएका घर तथा भौतिक संरचनाहरुको पुनर्निर्माण र विस्थापित भएका व्यक्ति तथा परिवारलाई पुनर्स्थापना गर्न २०७२ साल पुस १० गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गर्‍यो ।   प्रधिकारणका अनुसार हालसम्म अधिकांश निजी आवास निर्माण भएको छ । यस्तै धेरै विद्यालय भवन पुनर्निर्माण भैसकेका छन् भने ऐतिहासिक सम्पदाहरुको पुनर्निर्माण पनि भैरहेको छ ।