काठमाडौँ:  मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार दिउँसो १ बजेका लागि आकस्मिक बैठक बोलाइएको हो ।   आकस्मिक रुपमा राखि...

पोखरा:  नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले नेपाल आदिवासी जनजाति समुदाय कांग्रेसको मेरुदण्ड भएको बताएका छन् ।  नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति गण्डकी प्रदेश समितिको पदस्थापन तथा सम्मान कार्यक्रममा बोल्दै शर्माले यस्तो बताएका हुन् । ‘कांग्रेस र जनजाति कुनै पृथक चिज होइन्, अलग होइनन्, कांग्रेस जनजाति हो, जनजाति भनेको कांग्रेस हो, कांग्रेस र जनजातिको सम्बन्ध नङ र मासुको जस्तै छ’, सभापति शर्माले भने, ‘ २००७ सालको आन्दोलन सुरु गर्दा धेरै जनजातिहरु इन्डियन,बिट्रिस आर्मीमा भर्ना भएका थिए उनीहरुलाई जोडेर मुक्ति सेना निर्माण गरेर उनीहरुलाई अगाडि सारेर २००७ सालको आन्दोलनको प्रारम्भ भएको हो, त्यसैले आदिवासी जनजाति कांग्रेसको मेरुदण्ड हो ।’ प्रदेश सभापति शर्माले कांग्रेस लोकतन्त्र, प्रजातान्त्रिक पार्टी भएकाले गलत गर्ने नेताको खुलेर विरोध गरेपनि पार्टीको निर्देशनमा चल्दै आएको दावी समेत गरे । गण्डकी प्रदेशका अर्थमन्त्री एवम् नेपाली काग्रेस लमजुङका सभापति डा. टकराज गुरुङले नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले अन्य भातृसंगठनले महाधिवेशन गर्न नसक्दा समयमा नै महाधिवेशन गरेर पार्टीलाई सन्देश दिएको बताए ।   ‘संगठन निर्माण र विस्तारमा हामीले धेरै चुनौतीको सामना गर्दै आएका छौं, यो अवस्थामा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले तोकेकै समयमा महाधिवेशन गरेर पार्टीलाई सन्देश समेत दिएको छ, गुरुङले भने, ‘यस महासंघले नेपाली कांग्रेसको अन्य भातृसंगठनलाई समेत समयमा नै महाधिवेशन गरेर पार्टीलाई थप बलियो बनाउन समेत सन्देश दिएको छ ।’ कार्यक्रममा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष ओमबहादुर घर्ति मगरले आदिवासी जनजातिका लागि पार्टीमा १७ बुँदे माग समेत राखेको बताए ।  ‘ नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति केन्द्रिय महासंघले काठमाडौंमा दुई दिन प्रशिक्षण कार्यक्रम राखेको थियो,  त्यस कार्यक्रमबाट हामीले आदिवासी जनजाति समुदायको लागि१७ बुँदे माग पार्टीमा राखेका छौं’, घर्तिले भने, ‘हामीले राखेको १७ बुँदे मागमा पार्टी सभापति देखि महामन्त्रीद्धयसँग समेत छलफल गरेका छौं, हामीले द्धन्द्ध पनि मेटिने र पहिचान भेटिने गरी पार्टीमा माग राखेको छौं ।’ कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघमा केन्द्रिय समिति र जिल्ला समितिलाई सम्मान र नवनिर्वाचित गण्डकी प्रदेश समितिलाई पदस्थापन समेत गरिएको थियो ।  कार्यक्रम नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष जीबहादुर गुरुङको अध्यक्षता र सचिव बुद्धिबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।     

काभ्रेपलाञ्चोक: नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री बिपी कोइरालाको पूर्णकदको सालिक निर्माण भएको छ । बिपी राजमार्गको प्रस्थान विन्दुका रूपमा रहेको धुलिखेल नगरपालिका–६ स्थित जरणडाँडामा नेता कोइरालाको सालिक निर्माण भएको हो ।   प्रतिमा निर्माण मूल समितिका संयोजक नेपाली कांग्रेसका जिल्ला सदस्य जितकृष्ण श्रेष्ठका अनुसार रु १५ लाखको लागतमा ढलौटको सालिक बनेको हो । पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकबाट चन्दा सङ्कलन गरी सालिक निर्माण भएको संयोजक श्रेष्ठले बताउनुभयो ।    आगामी असोज ५ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सालिक अनावरण गर्ने कार्यक्रम निर्धारण भएको नेपाली कांग्रेस काभ्रेपलाञ्चोक शाखाले जनाएको छ । बनेपा–सिन्धुली–बर्दिबास एक सय ६० किलोमिटर सडक पनि नेता कोइरालाका नाममा राखिएको छ ।  यो बाटोलाई बिपी राजमार्ग भनिन्छ । जापान सरकारको अनुदानमा बिपी राजमार्ग निर्माण भएको हो ।

पोखरामा सम्पन्न इन्टर रिकभरिङ फुटसल प्रतियोगितामा पोखरा फेलिसिप च्याम्पियन बनेको छ ।   पोखरा ४ गणेशटोलस्थित स्पोर्टस् क्यासलमा आज (मंगलबार) भएको फाइनल खेलमा लमजुङ फेलोसिपलाई ३–० गोल अन्तरले पराजित गर्दै पोखरा फेलोसिप च्याम्पियन बनेको हो ।   पोखराको जीतमा कुशल परियारले २ गोल गरे भने राजेश खाँडले १ गोलको योगदान दिए ।   उपाधिसँगै पोखराले नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।    यस्तै उपविजेता बनेको लमजुङ फेलोसिपले नगद रु २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।   काठमाडौं, बुटबल, लमजुङ, बागलुङ लगायतका जिल्ला गरी कुल १५ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट पोखरा फेलोसिपका राजेश खाँड सर्वाेत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए ।     यस्तै उत्कृष्ट गोलरक्षकका रुपमा सोही टिमकै संजोग क्षेत्री घोषित भए भने, सर्वाधिक गोलकर्ताका रुपमा लमजुङ फेलोसिपका सरोज गुरुङ पुरस्कृत भए ।   प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका कफि डि हिमालयका सञ्चालक शंकर गुरुङ, रिकभरिङ नेपालका निवर्तमान अध्यक्ष शिव न्यौपाने, युवा नेता आशिक गुरुङ, समाजसेवी विजया गुरुङ तथा सहयोगीदाताहरुले पुरस्कार वितरण गरेका थिए ।   लागुऔषध सेवनपछि रिकभरि चरणमा रहेका युवाहरुलाई सकरात्मक सन्देश दिने उद्देश्यसहित कुशल परियार र आविष्कार गुरुङले उक्त प्रतियोगिता आयोजना गरेका थिए ।    

कास्की:   नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा त्रिदिप गुरुङ निर्वाचित भएका छन् ।  यही भदौ २३ गतेदेखि पोखरामा सुरु भएको दोस्रो प्रदेश सम्मेलनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको आज बिहान सार्वजनिक मतपरिणामअनुसार गुरुङ एक सय ३७ मतसहित विजयी भएका हुन् ।  उनका प्रत्याशी रामकृष्ण भट्टले ७१ मत ल्याए । खुला उपाध्यक्षमा बसन्त भट्टचन (कास्की), सरोजवल्लभ भट्टराई (गोरखा), अशोक मरहठ्ठा (गोरखा) विजयी भए । यसैगरी समावेशी उपाध्यक्षमा कुलबहादुर बुढा (बागलुङ) र महिला उपाध्यक्षमा सीता बराल(तनहुँ) निर्विरोध भए ।  प्रमुख सचिवमा सुजन बाँस्तोला (कास्की) तथा सचिवमा खुलातर्फ प्रदीप ढकाल (गोरखा), विशद उपाध्याय(नवलपुर) र सन्दिप महतो(नवलपुर) निर्वाचित भए।  महिला सचिवमा जुना गुरुङ (लमजुङ), समावेशीमा दुर्गा विक (लमजुङ) र कोषाध्यक्षमा अनिल सुनार(बागलुङ) निर्विरोध भएको निर्वाचन समितिका संयोजक अधिवक्ता निर्मला क्रान्तिले जानकारी दिईन् । क्रान्तिकारीको प्रदेश समिति ७५ सदस्सीय रहेको छ ।   सम्मेलनले ६५ सदस्य निर्वाचित गरेको र बाँकी १० जना मनोनित गरिने निर्वतमान अध्यक्ष सुदिन पौडेलले जानकारी दिए । निर्वाचन समिति सदस्यमा विपीन आचार्य र अमरदिप पराजुली रहेका थिए । 

तनहुँ (दमौली):​ वनमा रहेका वन्यजन्तुलाई पानी पिउन सजिलो होस् भन्ने उद्देश्यसहित डिभिजन वन कार्यालय तनहुँले विभिन्न सामुदायिक वनमा पोखरी निर्माण गरेको छ । वनजङ्गमा हुने वन्यजन्तुका लागि लक्षित गरी कार्यालयले १० ठाउँमा पोखरी निर्माण गरेको हो ।    आर्थिक वर्ष २०८०/८१ मा रु दश लाखको लागतमा दश ठाउँमा पोखरी निर्माण गरिएको सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिनुभयो ।   मानव वन्यजन्तु व्यवस्थापनका लागि वनमा पोखरी निर्माण गरिएको पण्डितको भनाइ छ । वनमा पानीको स्रोत मासिँदै गएपछि घर छेउ पानी खोज्दै आउने वन्यजन्तुले मानिसलाई आक्रमण गर्न थालेपछि वन कार्यालयले पोखरी संरक्षण अभियान थालेको हो ।    पण्डितले भन्नुभयो, “तनहुँमा केही वर्षयता चितुवाको बढी आतङ्क छ, जङ्गलमा पानीको स्रोत मासिँदै गयो, चितुवा पानी खोज्दै बस्ती पस्न थाल्यो ।”    वन कार्यालयले थालेको यो अभियानलाई कतिपय स्थानीय तहले पनि अग्रसरता लिएर आफैले पोखरी निर्माण गर्न थालेका छन् । प्रत्येक सामुदायिक वनभित्र पोखरी भइदिए वन्यजन्तु जङ्गलमै बस्ने र बस्तीसम्म आउने सम्भावना कम हुने पण्डितको भनाइ छ .  यसैबीच कार्यालयले बन्दीपुर गाउँपालिका–५ थुम्कास्थित याम्पा सामुदायिक वनमा भएको अतिक्रमण हटाएको छ । वन क्षेत्र अतिक्रमण गरी छाप्रो बनाएको र आवादी गरेको ठाउँमा वन कार्यालयले सामुदायिक वन, वडाध्यक्ष र स्थानीयको सहयोगमा अतिक्रमित क्षेत्रको टहरा भत्काएको जनाएको छ ।    १५ वन्यजन्तुको उद्धार   यस्तै कार्यालयले गत आर्थिक वर्षमा १५ वन्यजन्तुको उद्धार गरेको छ । कार्यालयले रतुवा मृग, कोभ्राको बच्चा, अजिङ्गर, गिद्ध, कालो बाज, निरबिरालोको उद्धार गरेको डिभिजन वन कार्यालयका प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिनुभयो ।उद्धार गरिएका वन्यजन्तुलाई सुरक्षित बासस्थानमा छाडिएको उहाँले बताउनुभयो ।  उहाँका अनुसार विसं २०८० भदौ १९ गते व्यास नगरपालिका–३ दमौली अस्पताल नजिकबाट रतुवा मृग, विसं २०८० भदौ २६ गते व्यास–१ गल्वुबँेसीबाट कोभ्राको बच्चा, विसं २०८० असोज ५ गते ऋषिङ गाउँपालिका–१ झापुटारबाट रतृवा मृग, विसं २०८० मङ्सिर १० गते व्यास–१४ रुम्सीबाट अजिङ्गर, विसं २०८० पुस २० गते व्यास–५ मादीसेती दोभानबाट डङ्गर गिद्ध, विसं २०८० फागुन ९ गते म्याग्दे गाउँपालिका–७ बाट रतुवा मृगको उद्धार गरिएको छ ।    त्यसैगरी विसं २०८० चैत १९ गते व्यास–१३ बाट अजिङ्गर, विसं २०८१ वैशाख १५ गते व्यास–१३ बाट कालो बाज, विसं २०८१ वैशाख २८ गते शुक्लागण्डकी नगरपालिका–८ बाट रतुवा मृग र विसं २०८१ जेठ १ गते शुक्लागण्डकी नगरपालिका–७ बाट निरबिरालोको उद्धार गरिएको श्रेष्ठले बताउनुभयो ।    चितुवाको आक्रमणबाट १५ को मृत्यु तनहुँमा विगत सात वर्षको अवधिमा १५ बालबलिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७४/७५ देखि चालु आर्थिक वर्ष २०८१/८२ को बीचमा चितुवाको आक्रमणबाट १५ जनाको मृत्यु भएको हो ।   सोही अवधिमा २१ जना घाइते भएका छन् । आर्थिक वर्ष २०७४/७५ मा चितुवाको आक्रमणबाट एक, आर्थिक वर्ष २०७५/७६ मा तीनको मृत्यु र तीन घाइते, २०७६/७७ मा पाँचको मृत्यु र छ घाइते, २०७७/७८ मा एकको मृत्यु र चार घाइते, २०७८/७९ मा दुईको मृत्यु र दुई घाइते, २०७९/८० मा दुईको मृत्यु र दुई घाइते, २०८०/८१ मा चार घाइते र २०८१/८२ मा एक जनाको मृत्यु भएको छ ।   

काठमाडौं:  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अलि अन्सारीले शिष्टाचार भेट गर्नुभएको छ ।   उद्योग मन्त्रालयमा आज भएको भेटमा कतार सरकारले एसियनको अपरेशन डाइलग(एसिडी)को तेस्रो शिखर सम्मेलन आयोजना गर्न लागेकामा मन्त्री भण्डारीले बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।    नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रता, सद्भाव, समझदारी र सहयोगको सुमधुर द्विपक्षीय सम्बन्ध रहिआएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नेपाली कामदारका लागि कतार एक प्रमुख गन्तव्य हो, ठूलो सङ्ख्यामा नेपालीका लागि रोजगारीका अवसर उपलब्ध गराएकामा कतार सरकारप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु ।”   हाल कतारमा करिब तीन लाख ६७ हजार नेपाली विभिन्न पेशा व्यवसायमा कार्यरत रहेका जनाउँदै मन्त्री भण्डारीले सन् २०२१ मा नेपाली व्यवसायी सङ्घ कतारको स्थापनाले दुई देशबीचको आर्थिक सम्बन्धलाई थप सुदृढ बनाएको बताउनुभयो ।   उहाँले कतारमा रहेका नेपालीबीच आर्थिक संलग्नता र उद्यमशीलता प्रवद्र्धन गर्ने अपेक्षा गरिएको बताउनुभयो ।   दुई देशबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने राम्रो सम्भावना रहेको भन्दै राजदूत अन्सारीसँग उहाँले कतार सरकार र कतार फन्ड फर डेभेलपमेन्टबाट नेपालले  लगानीको अपेक्षा गरेको बताउनुभयो ।   “हामीले कतार सरकार र नेपाल सरकार बीचको पारस्परिक प्रवद्र्धन र लगानीको संरक्षणसम्बन्धी प्रस्तावित सम्झौताको मस्यौदा सम्बन्धमा छलफल जारी रहेको कुरा जानकारी गराउन चाहन्छौँ”, मन्त्री भण्डारीले भन्नुभयो, “कतारसँग विद्यमान नेपालको व्यापार घाटा कम गर्न दुई देशबीच सहयोग अभिवृद्धि आवश्यक छ, साथै नेपाली उत्पादनका लागि कतारमा बजारको खोजी गर्न आवश्यकता छ, कतारको बजारमा हाम्रा नेपाली कृषि उत्पादन र अन्य नेपाली उत्पादनमा पहुँच प्रदान गर्न अनुरोध गर्न चाहन्छु ।”   मन्त्री भण्डारीले दुई देशबीचको सिधा हवाई सम्पर्कले मानिसको आवतजावतलाई सहज बनाएको र यसलाई पर्यटन तथा द्विपक्षीय व्यापारको प्रवद्र्धनमा थप उपयोग गर्न आवश्यक रहेको बताउनुभयो ।   साथै उहाँले नेपाल र कतारले पारस्परिक हित तथा चासोका विषयमा संयुक्त राष्ट्रसङ्घलगायत बहुपक्षीय र क्षेत्रीय मञ्चमा नजिकबाट काम गर्दै आएकामा खुशी व्यक्त गर्नुभयो ।   राजदूत अन्सारीले मन्त्री भण्डारीले व्यक्त गरेका कुरामा सकारात्मक प्रतिक्रिया दिँदै आगामी असोज १६ गते कतार भ्रमणका लागि औपचारिक निमन्त्रणा गर्नुभयो । राजदूत अन्सारीले दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बन्ने उल्लेख गर्दै सहयोग आदानप्रदान बढाउनुपर्नेमा जोड दिनुभयो ।   

काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मधेस प्रदेशको परामर्श बैठक महोत्तरीको बर्दिबासमा सुरु भएको छ । दुई दिनसम्म जारी रहने बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै मधेस प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरु सहभागी हुनुहुन्छ । बैठकको प्रारम्भमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको बताउनुभयो । उहाँले रुपान्तरण सम्भव भएको र त्यसको विकल्प नभएको बताउनुभयो ।  “माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दा उल्टिन्छ्न, संविधानमाथि हमला हुन्छ”– उहाँले भन्नुभयो– “परिवर्तनलाई जोगाउन पनि हामी सुदृढ एकतासहित अघि बढ्नुको विकल्प छैन ।” उहाँले अब सम्पूर्णरुपमा पार्टी पुनर्गठन र जनपरिचालनका कार्यक्रमसहित अघि बढ्ने बताउनुभयो । माओवादी केन्द्रले बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न गरिसकेको छ ।

जानकी (बाँके):  नेपालगञ्ज उपमहानगरपालिकाले सडकको बीचभागमा रोपिएका बिरुवा संरक्षणका लागि तारजाली लगाउन सुरु गरेको छ ।  रत्न राजमार्गको नेपालगञ्ज उमहानगरपालिका क्षेत्रभित्रका सडकका बीचभागमा रोपिएका विभिन्न प्रजातिका बिरुवा र फूलका बोटलाई संरक्षण गर्न तारजाली लगाउने काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन रायले फूलका बोटलाई छाडा पशुचौपायाबाट जोगाउन तथा मानिसले जथाभावी रूपमा भाँचिदिने र बिरुवा उखेलेर लगिदिने भएको हुनाले तारजाली लगाउन सुरु गरिएको हो ।  “सडकको सौन्दर्य बढाउन हामीले यहाँ विभिन्न प्रजातिका बिरुवा र फूलका बोट रोपेका छौँ”, उहाँले भन्नुभयो, “छाडा पशुचौपायाले बोट भाँचिदिने र मानिसले फूल टिप्ने क्रममा हाँगा नै भाँचिदिएर सडकको सौन्दर्यतालाई अझै बिगारेकाले तारजाली लगाउन सुरु गरेका हौँ ।”   सडक दुर्घटना रोक्न पनि तारजाली लगाउन आवश्यक भएको उपप्रमुख रायले जानकारी दिनुभयो ।    “तारजालीले छाडा पशुचौपायालाई मात्र नभई जथाभावी बाटो काटेर हिँड्ने यात्रीलाई पनि जेब्राक्रसबाट बाटो काट्न सिकाउने छ ।” बिपी चोकबाट लगाउन सुरू गरिएको उक्त तारजाली (ग्रीन बेल्ट) धम्बोझी चोकसम्म लगाइने उपप्रमुख रायले बताउनुभयो l    गत आर्थिक वर्ष २०८०÷८१ को बजेटअनुसार उक्त तारजाली रु २५ लाख लागतमा नेपालगञ्ज उपमहानगरपालिकाले लगाउन सुरू गरेको हो । गत वर्षको योजना गरेको तारजाली लगाउने कार्यक्रमलाई भने यस आर्थिक वर्षबाट लगाउन सुरु गरिएको छ । एक हप्ता पहिलेदेखि नै छजना कामदारले तारजाली लगाउन सुरु गरेका छन् ।  

सुन्तला रङको बाक्लो ज्याकेटमाथि मुस्किलले पानी छेक्ने पहेँलो प्लास्टिक ओढेका छन् ।   हातमा कहिल्यै नछुट्ने लठ्ठी र छेवैमा भोटे कुकुर छ । उनीभन्दा अलिक पल्तिर झण्डै पाँच सय च्याङ्ग्रा तथा भेडाको बथान नजिकै चरिरहेका छन् ।   धादिङका ६२ वर्षीय मेल्चा तामाङ च्याङ्गा र भेडाका बथान लिएर हिमालतिर उक्लेको गत जेठ अन्तिमतिर हो । भेडा र च्याङ्ग्रा चराउँदै तिब्बत नजिकै पुगेर घर फर्कँदै गर्दा उहाँ केही दिनअघि मुस्ताङको दामोदरकुण्ड नजिकै भेटिनुभयो ।   “१८ वर्ष भयो यसैगरी गोठालो भई हिँडेको, दौतरीहरु कति विदेश त कति सहरतिर लागे”, उहाँले भन्नुभयो, “मलाई त यही भिरपाखामै रमाइलो छ ।”   तामाङको दिनचर्या बिहानैदेखि राति अबेरसम्म भेडा र च्याङ्ग्रा स्याहार्दै बित्छ । लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ यारा र घारा गाउँका किसानका भेडाच्याङ्ग्रा चराउँदै छ हजार मिटरसम्मको उचाइमा पुगेर फर्किंदै गर्दा उहाँले सुनाउनुभयो ।   “काम खोज्दै दौतरीहरु विदेश र सहर पसे । म मुस्ताङमै रमाएँ, नपढेकाले जहाँ गए पनि गर्ने दुःखै रहेछ, मलाई यही ठीक छ”, तामाङले भन्नुभयो, “मलाई विदेशको मरुभूमिभन्दा मुस्ताङकै भिरपाखा रमाइलो लागिरहेको छ ।” तामाङले गोठालो गरिएदिएबापत खाना र कपडाबाहेक वार्षिक रु एक लाख ५० हजार तलब पाउनुहुन्छ ।   यही आम्दानीले धादिङ झर्लाङमा रहेका श्रीमती र दुई सन्तान चलाउनुपर्छ । गोठालो जाँदा बास कहाँ बस्ने टुङ्गो हुन्न । कहिलेकाँही समयमै खाना खाने मेसो पनि पर्दैन । कहिले गोठ त कहिले ढुङ्गामुनी ओत लागेर रात काट्नुपर्ने बाध्यता छ । यसरी बर्खामा हिमालतिर उकालो लाग्ने गोठाला उहाँ एक्लो भने होइन ।   लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका ५८ वर्षीय नवाङ गुरुङ पनि तीन वर्षयता गोठालो गरिरहेका छन् । सात वर्ष साउदी अरबमा काम गरेपछि उनी गोठालै भई काम गरिरहेका छन् ।   “बालबच्चाको लालनपालन र घरव्यवहार चलाउन बाध्यताले भेडा, च्याङ्ग्रा गोठाला बन्नुपरेको हो”, उहाँले भन्नुभयो, “गरिबलाई दुःख नगरी जहाँ गए पनि हातमुख जोर्नकै लागि सङ्घर्ष गर्नुपर्ने रहेछ ।”   गर्मी बढेपछि हिमाली क्षेत्रको चिसो हावापानीमा पलाएको पोसिलो घाँस खुवाउन लेकमा लगिएका भेडा, च्याङ्ग्रा, गाईभैँसी र चौँरी विस्तारै तल झार्नेक्रम सुरु भइसकेको छ । जेठको अन्तिम साता लेक उल्किएका गोठालाहरु घुम्ती गोठ सार्दै जनावरहरुलाई बेंसीतर्फ लागेका छन् ।   दामोदरकुण्डमा भेटिएका मेल्चा र नवाङ जस्तै मुस्ताङका च्याङ्ग्रा गोठमा म्याग्दी, बागलुङ, धादिङ, रुकुम, रोल्पाका धेरै जना काम खोज्दै गोठाला बस्न पुग्छन् । दुःख र जोखिम धेरै हुने भएकाले किसान आफँै गोठमा बस्दैनन् । चार÷पाँच वटा घर मिलेर एउटालाई तलब दिनेगरी गोठाला राखेर भेडाच्याङ्ग्रा पाल्ने गरिएको याराका टासी गुरुङले बताउनुभयो ।   “च्याङ्ग्रापालनबाट दसैँ, तिहारजस्ता चाडपर्वमा सहर बजारमा पोसिलो र स्वादिलो मासु आपूर्ति गर्न सहयोग पुगेको छ”, उहाँले भन्नुभयो, “च्याङ्ग्रा गोठालाका रुपमा कतिपयले रोजगारी पनि पाएका छन् ।”   चरनका लागि भिरपाखा चहार्दै दौडिने भेडाच्याङ्ग्राको पछिपछि दौडिनुपर्ने गोठाला पेसा सजिलो भने छैन । बर्खामा गोठ लिएर लेकमा जाँदा तीन महिनासम्म परिवार र आफन्तसँग सम्पर्कविहीन भएर बस्नुपर्छ ।   भकारीले छाएको र बारेको गोठभित्र झरी र चिसो नभनी पाठापाठीसँगै रात कटाउनुपर्छ । त्यसमाथि जङ्गली जनावरको डर उस्तै । छुट्टी र बिदा हुने कुरै भएन ।   मोबाइल, रेडियोमा गीत सुन्दै डाँडापाखा डुल्ने गोठालाका सुरक्षाका लागि भोटे कुकुर भने साथैमा हुन्छन् । बारागुङ मुक्तिक्षेत्र, लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका बासिन्दाको आम्दानीको मुख्य स्रोत भेडाच्याङ्ग्रापालन हो ।   हिउँदमा गाउँबस्ती नजिकै ल्याउने भेडाच्याङ्ग्राका लागि उपल्लो मुस्ताङका कृषक हिजोआज घाँसको जोहो गर्ने व्यस्त छन् ।   हिउँ परेको अवस्थामा चरनमा जान नसक्ने भएकाले च्याङ्ग्रालाई सुकाएको र साइलेज बनाएर राखेको घाँस खुवाउने गर्छन् । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार जिल्लाभर रहेका ६५ वटा ठूला फार्ममा ४८ हजार च्याङ्ग्रा पालिएका छन् ।   दसैँ तिहारका लागि गत वर्ष रु २३ करोड मूल्य बराबरको करिब छ हजार च्याङ्ग्रा निकासी भएका केन्द्रको तथ्याङ्क छ ।