उद्योगमन्त्रीसँग कतारी राजदूतको शिष्टाचार भेट
काठमाडाैं | भदौ २५, २०८१
काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अलि अन्सारीले शिष्टाचार भेट गर्नुभएको छ ।
उद्योग मन्त्रालयमा आज भएको भेटमा कतार सरकारले एसियनको अपरेशन डाइलग(एसिडी)को तेस्रो शिखर सम्मेलन आयोजना गर्न लागेकामा मन्त्री भण्डारीले बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रता, सद्भाव, समझदारी र सहयोगको सुमधुर द्विपक्षीय सम्बन्ध रहिआएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नेपाली कामदारका लागि कतार एक प्रमुख गन्तव्य हो, ठूलो सङ्ख्यामा नेपालीका लागि रोजगारीका अवसर उपलब्ध गराएकामा कतार सरकारप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु ।”
हाल कतारमा करिब तीन लाख ६७ हजार नेपाली विभिन्न पेशा व्यवसायमा कार्यरत रहेका जनाउँदै मन्त्री भण्डारीले सन् २०२१ मा नेपाली व्यवसायी सङ्घ कतारको स्थापनाले दुई देशबीचको आर्थिक सम्बन्धलाई थप सुदृढ बनाएको बताउनुभयो ।
उहाँले कतारमा रहेका नेपालीबीच आर्थिक संलग्नता र उद्यमशीलता प्रवद्र्धन गर्ने अपेक्षा गरिएको बताउनुभयो ।
दुई देशबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने राम्रो सम्भावना रहेको भन्दै राजदूत अन्सारीसँग उहाँले कतार सरकार र कतार फन्ड फर डेभेलपमेन्टबाट नेपालले लगानीको अपेक्षा गरेको बताउनुभयो ।
“हामीले कतार सरकार र नेपाल सरकार बीचको पारस्परिक प्रवद्र्धन र लगानीको संरक्षणसम्बन्धी प्रस्तावित सम्झौताको मस्यौदा सम्बन्धमा छलफल जारी रहेको कुरा जानकारी गराउन चाहन्छौँ”, मन्त्री भण्डारीले भन्नुभयो, “कतारसँग विद्यमान नेपालको व्यापार घाटा कम गर्न दुई देशबीच सहयोग अभिवृद्धि आवश्यक छ, साथै नेपाली उत्पादनका लागि कतारमा बजारको खोजी गर्न आवश्यकता छ, कतारको बजारमा हाम्रा नेपाली कृषि उत्पादन र अन्य नेपाली उत्पादनमा पहुँच प्रदान गर्न अनुरोध गर्न चाहन्छु ।”
मन्त्री भण्डारीले दुई देशबीचको सिधा हवाई सम्पर्कले मानिसको आवतजावतलाई सहज बनाएको र यसलाई पर्यटन तथा द्विपक्षीय व्यापारको प्रवद्र्धनमा थप उपयोग गर्न आवश्यक रहेको बताउनुभयो ।
साथै उहाँले नेपाल र कतारले पारस्परिक हित तथा चासोका विषयमा संयुक्त राष्ट्रसङ्घलगायत बहुपक्षीय र क्षेत्रीय मञ्चमा नजिकबाट काम गर्दै आएकामा खुशी व्यक्त गर्नुभयो ।
राजदूत अन्सारीले मन्त्री भण्डारीले व्यक्त गरेका कुरामा सकारात्मक प्रतिक्रिया दिँदै आगामी असोज १६ गते कतार भ्रमणका लागि औपचारिक निमन्त्रणा गर्नुभयो ।
राजदूत अन्सारीले दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बन्ने उल्लेख गर्दै सहयोग आदानप्रदान बढाउनुपर्नेमा जोड दिनुभयो ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

