काठमाडौँ:  मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार दिउँसो १ बजेका लागि आकस्मिक बैठक बोलाइएको हो ।   आकस्मिक रुपमा राखि...

स्थानिय तहहरुले आफूखुशी पर्यटन शुल्क तोक्न थालेकोप्रति ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीले आपत्ति जनाएको छ । केहिअघि कास्कीको माछापुच्छ«े गाउँपालिकाले पर्यटन शुल्क तोकेको थियो । गाउँपालिका प्रवेशका लागि विदेशी पर्यटकलाई ५ सय र स्वदेशी पर्यटकलाई १ सय रुपैयाँ तोकेपनि विरोध भएपछि फिर्ता भएको थियो ।   तर फेरी गोरखाको चुमनुब्री गाउँपालिकाले पर्यटन शुल्क तोकेपछि टान गण्डकीले आपत्ति जनाएको हो । चुमनुब्री गाउँपालिकाले गाउँपालिका प्रवेशका लागि विदेशी पर्यटकलाई १ हजार र स्वदेशी पर्यटकलाई २ सय रुपैयाँ तोकेको छ ।   स्थानिय तहले आफूखुशी पर्यटन शुल्क तोक्दै जाने हो भने यहाँको पर्यटक अन्तै डाईभर्ट हुने खतरा रहेको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । पदयात्रा पर्यटन हुने १३ वटा पालिकाहरु छन्,उनले भने,‘यसरी एकपछि अर्को पालिकाले पर्यटन शुल्क लिने हो भने यहाँ पर्यटकहरु आउँदैनन् ।   यहाँ आउने पर्यटकहरु अन्तै डाईभर्ट हुने खतरा हुन्छ ।’ १३ वटा गाउँपालिकाले १÷१ हजार तथा टिम्सवापत ५ हजार गरेर कुल १८ हजार थप तिरेर पर्यटक नआउने टान गण्डकीको बुझाई रहेको उनले बताए ।   पर्यटनको सिजनको मुखमा पर्यटन शुल्क तोक्दा यसले समग्र पर्यटनमा असर पार्ने टान गण्डकीका निवर्तमान अध्यक्ष धर्मराज पन्थीले बताए ।   यसले गर्दा आउने मुड बनाएका पर्यटकपनि नआउने उनको भनाई छ । उनले कोभिडपछि थलिएको पर्यटनलाई उकास्न हातेमालो गर्नुपर्नेमा उल्टै पर्यटन शुल्क तोकेर व्यवसायीलाई निराश पार्ने काम गरेको टिप्पणी गरे ।   टान गण्डकीले पर्यटन शुल्क तोक्ने निर्णय फिर्ता लिन माग गरेको छ ।   टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले भने,‘निर्णय सच्चिनु पर्छ । यदि सच्चिएन भने यसले पर्यटनमा नराम्रो धक्का दिन्छ ।’ पर्यटनको राजधानी भन्ने अनि पर्यटक आउने वातावरण बनाउनुको सट्टा झन् खर्चिलो र बोझिलो बनाउने हो भने त्यसको असर पर्यटनमा पर्ने भन्दै उनले निर्णय तत्काल सच्याउन आग्रह गरे ।   यसैबीच, टान गण्डकीले पर्यटन शुल्क तोक्ने निर्णय खारेजीका लागि पहल गरिदिनि गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।   टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यसहितको टोलीले सोमबार गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याललाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो ।   ध्यानाकर्षण पत्रमा पर्यटन शुल्क खारेज गर्न, पर्यटन गतिविधि बढाउने कार्यक्रम गर्न, प्रवद्र्धनमा जोड दिन आग्रह गरिएको छ ।   ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री बस्यालले कोभिडपछि थलिएको पर्यटनलाई उकास्ने समय भएकाले अहिले हतारिएर पर्यटन शुल्क तोक्न नहुने बताए । उनले सम्बन्धित गाउँपालिकामा बुझेर सो शुल्क फिर्ताका लागि पहल गर्ने आस्वासन दिए ।   कोभिडका कारण व्यवसाय खत्तम अवस्थामा छ,उनले भने,‘यस्तो बेला पर्यटनमा सपोर्ट गर्ने कार्यक्रम ल्याउनुको सट्टा झन् समस्या पर्ने निर्णय गर्नु ठीक होईन । अहिले पर्यटन शुल्क भनेर लिने बेला नै होईन । यसमा मेरो ध्यानाकर्षण भयो । म बुझेर सच्याउन पहल गर्छु ।’

बागमती:   बकैया खोलाले बगाएर विगत चार दिनदेखि बेपत्ता भएका एकजनाको शव आज बिहान फेलापरेको छ ।   रौतहट चन्द्रपुर नगरपालिका–२ जुडिबेलाका ४२ वर्षीय अकले कुस्वार माझीको शव बाराको कोल्बी नगरपालिका–२ बकैया खोलाको बगरमा फेलापरेको प्रहरीले जनाएको छ ।   इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको टोलीले प्रादेशिक अस्पताल कलैया बारा पठाइएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।   मकवानपुरको बकैया गाउँपालिका–६ स्थित जसपालमा निर्माण भइरहेको द्रुत मार्गमा काम गर्दै आउनुभएका माझी बकैया–६ जुनाइस्थित खोला तर्ने क्रममा यही भदौ २१ गते अचानक खोलाको बाढीले बगाउँदा बेपत्ता भएका थिए ।   इलाका प्रहरी कार्यालय निजगढ बाराको समन्वयमा बेपत्ता माझीको खोजतलास गर्ने क्रममा आज खोला किनारमा शव फेलापरेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो ।

कास्की:   रुपा गाउँपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षणदर वृद्धि गर्न स्वास्थ्य संस्थामा परीक्षणमा आउनेलाई प्रत्येकपटक एक क्रेट कुखुराको अण्डा वितरण कार्यक्रम सुरुआत गरेको छ ।   ‘मापदण्डअनुसार गर्भजाँच गरौँ, आमा र नवजात शिशुको स्वास्थ्य संरक्षण गरौँ’ भन्ने अभियानका साथ महिलामा पोषणको कमी हुन नदिन सो कार्यक्रम थालिएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताउनुभयो ।   उहाँले भन्नुभयो, “गर्भवतीले आठपटक स्वास्थ्य परीक्षण गराउनुपर्छ । गाउँपालिकाका स्वास्थ्य संस्थामा परीक्षण गराउन आउने गर्भवतीलाई प्रत्येकपटक परीक्षण गर्न आउँदा एक क्रेट अण्डा दिने कामको सुरु गरेका छौँ । यसबाट मातृ शिशु मृत्युदर घटाउन र पोषणको सुनिश्चितताका लागि सहयोग पुग्नेछ ।”   अध्यक्ष ओझाले महिलामा पोषणको काम पनि नहुने र मापदण्डअनुसारको नियमित परीक्षण कार्यक्रमसमेत प्रभावकारी हुने भएकाले अण्डा वितरण अभियान नै थालिएको बताउनुभयो ।   “स्वास्थ्य संस्थामा जान हिचकिचाउने गरेको अझै देखिन्छ । नियमित स्वास्थ्य संस्थामा गएर गर्भ परीक्षण गराउने बानी बसाल्न अण्डा उपहार कार्यक्रम ल्याएका हौँ । पालिकाका सबै गर्भवतीले तोकिएअनुसारको गर्भजाँच नगराउने गरेकाले यसप्रति महिलाको आकर्षण बढाउन अभियान सहयोगी हुने विश्वास लिएका छौँ”, अध्यक्ष ओझाले भन्नुभयो ।   गाउँपालिकामा एक वर्षमा दुई सय ३१ जना सुत्केरी हुने गरेको गाउँपालिकाको तथ्याङ्क छ ।   कार्यक्रमका लागि वर्षमा रु पाँच लाख बजेट खर्च हुने अनुमान गरिएको छ ।   गाउँपालिकाले यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले बताउनुभयो । उहाँले भन्नुभयो, “यो कार्यक्रम अत्यन्त महत्त्वपूर्ण छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार पालिकाभर गर्भवतीको परीक्षण कार्यक्रम प्रभावकारी बनाउने छौँ । आवश्यक बजेट सबै स्वास्थ्य संस्थामा पालिकाले पठाउने छ ।”   नौ वडा रहेको रुपामा एक आधारभूत अस्पताल, चारवटा स्वास्थ्यचौकी र चारवटा आधारभूत स्वास्थ्य केन्द्र गरी नौवटा स्वास्थ्य संस्था छन् ।   सबै स्वास्थ्य संस्थामा सामान्य सुत्केरी गराउन सकिने गरी पूर्वाधार रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र ओझाले बताउनुभयो ।

चीन–भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकमा जोखिम बनाएको म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोलामा नयाँ प्रविधिको प्रयोग गरेर पहिरो रोकथाम गरिएको छ ।   म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरीको सडकमा पहिरो खस्न नदिनका लागि ‘रक एङ्करिङ’ र ‘नेलिङ’ गरिएको हो ।   बेनी–जोमसोम–कोरला सडक योजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले सडक माथिको पहाडमा ड्रिलिङ गरेर रड राखी, कङ्क्रिट गरेर बेस बनाई पर्खाल निर्माणका साथै जमिन बग्न नदिन जाली राख्ने र वृक्षारोपण गरिएको जानकारी दिनुभयो ।   “पहिरो रोकथामका लागि हामीले नयाँ प्रविधिको प्रयोग गरिएको छ”, उहाँले भन्नुभयो, “गत साउनको पहिलो हप्तादेखि थालिएको रक एङ्करिङ र नेलिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ ।” अँधेरीखोलाको पाखो बगेर सडकमा ढुङ्गा, गेगर खस्दा सवारीसाधन पुरिने, यात्रीको ज्यान जाने, घाइते हुने र सडक अवरुद्ध हुने समस्या थियो ।   गत वर्ष एकजनाको ज्यान गएको र एउटा सवारीसाधन पहिरोले पुरिएको थियो । गत असारमा गुडिरहेको इकोभ्यानमाथि पहिरो खसेर पुरिएको थियो ।   खोल्साको पानीले पहिरो बगाएर भेटिएको पहाडमाथि पर्खाल बनाएर खस्ने पहिरो रोक्ने संरचना बनाइएको सबइन्जिनियर कार्कीले बताउनुभयो ।   पहाडको डिलमा ८५ देखि एक दशमलव दुई मिटर गहिरो प्वाल बनाएर रड राखी दुई ठाउँमा ७७ दशमलव पाँच मिटर लामो एकदेखि एक दशमलव पाँच मिटर अग्लो कङ्क्रिट ढलान गरेको पर्खाल निर्माण गरिएको छ ।   पर्खालभन्दा माथिको पाखोमा बग्ने किसिमका ठूला ढुङ्गा पन्छाएर माटो, जाली बिछ्याएर खिर्रो, सजिवन, बाबियो र खरका बिरुवा रोपिएको निर्माण कम्पनी युवराज कन्ट्रक्सनकी सञ्चालक गौमती बुढामगरले बताउनुभयो ।   “ भिरमा ड्रिल गरेर प्याल पारी रड राख्ने र ढलान गरिएको हो”, उहाँले भन्नुभयो, “पिठ्युमा निर्माण सामग्री ओसारेर पहिरोको जोखिमयुक्त भिरमा दैनिक ३० जना मजदुरले करिब दुई महिना लगाएर एङ्करिङ र नेलिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ ।”   भूमिगत पानीका कारण सिर्जना भएको पहिरो रोकथामका लागि आयोजनाले गत वर्ष खोल्साको पानीले बगाएपछि केही समय रोकिएको पहिरो यसपालिको बर्खाको सुरु भएसँगै पुनः खस्न थालेको थियो ।   पहिरोको जोखिम रहेको अन्नपूर्ण गाउँपालिकाको लाटोखोला, बादरजुङ र काभ्रेभिर क्षेत्रमा पनि रक एङ्करिङ र नेलिङ प्रविधिको प्रयोग गरेर सडक विस्तार गरिएको आयोजनाका इन्जिनियर विष्णु चापागाईँले बताउनुभयो ।   वि सं २०६३ मा नेपाली सेनाले मार्ग खोलेको बेनी–जोमसोम सडकको म्याग्दी खण्ड स्तरोन्नतिको क्रममा छ ।

काठमाडौँ:    नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।   केन्द्रीय बैंकका अनुसार सोमबारको तुलनामा मङ्गलबार जापानिज येनको भाउ घटेको छ । सोमबार जापानिज येन १० को खरिददर ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा रहेकामा आजका लागि खरिददर ९ रुपैयाँ ३२ र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा रहेको छ ।   आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६४ पैसा, युरोपियन यूरो एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६२ पैसा र युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा कायम छ ।   स्वीस फ्रयाङ्क एकको खरिददर १५७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १५८ रुपैयाँ ५८ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २२ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६२ पैसा निर्धारण गरिएको छ ।   क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९९ रुपैयाँ २९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ५४ र बिक्रीदर १०३ रुपैयाँ ०० पैसा कायम भएको छ ।   चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा कायम छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा कायम भएको छ ।   थाई भाट एकको खरिददर ३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३ रुपैयाँ ९६ पैसा कायम छ ।   साथै युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको छ ।   मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३० रुपैयाँ ८० पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९ रुपैयाँ ९९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२ रुपैयाँ ९८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १९ रुपैयाँ ९२ पैसा छ ।   हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ७३ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ६९ पैसा छ भने बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ६१ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ २० पैसा कायम भएको छ ।   राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाइएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

काठमाडौं:   काठमाडौं–मुग्लिङ सडक खण्डमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । काठमाडौं–मुग्लिङ सडक खण्डअन्तर्गत सुरुङमार्ग आसपासमा पहिरो खस्दा सडक अवरुद्ध भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सडकमा पहिरो खस्दा दुईतर्फी आवतजावत अवरुद्ध भएको छ, पहिरो पन्छाउने काम जारी भएकाले सवारी सञ्चालन हुन केही घण्टा लाग्न सक्छ ।” सडक अवरुद्ध हुँदा यात्रुहरु बीचबाटोमै रोकिएको  प्रहरीले जनाएको छ ।

काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय  बैठक यही  भदौ २८ गते बस्ने भएको छ ।  एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक विषयमा छलफल हुने गरी बैठक बस्न लागेको जानकारी दिनुभयो । बैठक ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा १२ः३० बजे बस्ने छ । यही भदौ १८ र १९ गते बसेको पार्टी पोलिटब्युरो बैठक आएका सुझावका आधारमा सचिवालयले वार्षिक कार्ययोजनालाई अन्तिम टुङ्गो लगाउने सहमति भएको थियो । 

पोखरा:   पोखरा उद्योग वाणिज्य संघको ३५ र्आं महाधिवनशनमा अध्यक्ष पदका उम्मेदवारी दिएका गोकर्ण कार्कीले आर्थिक चुनौतिले व्यवसायिहरु मारमा परिरहेको बताएका छन् ।    संघको अधिवेशन नजिकिदै गर्दा यतिबेला बजारमा चुनावी माहोल बढिरहेको छ । अस्वस्थका कारण घरदैलो अभियानमा हिड्न नसकेका कार्कीले आर्थिक चुनौतिको सामना गर्दै व्यवसाय प्रर्वद्धनका लागि एक अर्कासँग हातेमालो गर्न अत्यावश्यक रहेको बताएका हुन् ।  आफुले यी सबै पिर मर्का बुझेको र सुत्केरी हुँदाको व्यथा जसरी सुत्केरी हुनेलाई मात्र थाहा हुने बताउँदै बाँकीले बिचरा भन्ने बाहेक अन्य व्यथा थाहा नहुने उनले सुनाए । अहिले संघमा समेत आफु उद्योगी, व्यवसायी भएकाले सबै व्यथा थाहा भएको उनले बताए ।  ‘आर्थिक चुनौतिहरुको सामना गरिरहेको बेलामा नयाँ–नयाँ अवसरहरुको खोजी गर्दै व्यवसायी सदस्यहरुको मनोभाव बुझेर तालिम, सेमिनार, प्रशिक्षण, व्यावसायिक प्रवद्र्धन र नेटवर्किङको फ्रेममा रहने वातावतरण बनाउने छु’ कार्कीले भने, ‘एउटा सुत्केरीको व्यथा सुत्केरी भएका महिलालाई मात्रै थाहा हुन्छ ।  अरुलाई त्यो बारेमा थाहा हुँदैन । अहिले संघमा पनि त्यस्तै भएको छ । उद्योगी, व्यवसायी, व्यापारीको कुरा बुझ्ने भनेकै हामी उद्योगी, व्यापारी र व्यवसायीले नै हो । हिजो जसरी मलाई यो स्थानसम्म पु¥याउनुभयो अब एक पटक अवसर दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।’  हालका वरिष्ठ उपाध्यक्ष समेत रहेका कार्कीले पोउवा संघ उद्योग व्यावसायीहरुको छाता संगठन भएकाले नेतृत्व तहमा बसेर काम गर्ने चाहानाका साथै हालको आर्थिक चुनौतिका लागि के कस्ता रणनीति अपनाउनुपर्छ भन्ने बारेमा भिजन तयार गरि गरेको बताए ।  देशमा कोरोना कहरपश्चात आर्थिक समस्या धेरै आएको र आफु पनि एक उद्यमी भएकाले यसबारेमा सबै कुरा थाहा भएकाले त्यसको समाधान गर्नका लागि अध्यक्षमा उम्मेदवारी दिएको बताए । कोरोनापश्चात देशको अर्थतन्त्र उकासिन सकिरहेको छैन ।  युवाहरु विदेशीने र देशमा लगानी गर्ने वातावरण नहुँदा देश उधोँ गतिमा गइरहेको बताउँदै कार्कीले यसको समाधानका लागि समग्र उद्योग, व्यापारी, व्यवसायि, पर्यटन, कृषिको क्षेत्रमा काम गर्न आवश्यक रहेको सुनाए ।   

पोखरा:   गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले समयमा नै रिजल्ट आउने गरि काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।  सोमबार पर्वत जिल्लाको कुश्मामा मन्त्रालयले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले मन्त्रालय मातहतका कार्यालयहरुलाई समयमा नै सम्झौता गर्ने र समयमा नै काम सम्पन्न गर्ने गरी अगाडि बढ्न निर्देशन दिएका हुन् । उनले प्रदेशले प्राप्त गरेको स्रोत साधनलाई उपयोग गरि नागरिकलाई सहज र सरल रुपमा सेवा प्रवाह गर्न समेत भनेका छन् । आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यन्वयन गर्न सहज होस भन्ने उद्देश्यले आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमले मन्त्रालयको कामकाजमा गति बढाउने विश्वास मन्त्री थापाको छ । तीनै तहको सरकार मिलेर नै विकास सम्भव भएकाले एक्लै गन्तव्यमा पुग्न गाह्रो पर्ने उनले उल्लेख गरे ।  मन्त्रालयले यसपटक शिक्षा, सामाजिक विकास, युवा तथा खेलकुदको क्षेत्रमा महत्वपूर्ण काम गर्ने गरि आफ्ना क्रियाकलाप तय गरेको भनाई उनको छ । व्यवहारिक शिक्षा विद्यार्थीका लागि आवश्यक भएको बताउँदै मन्त्री थापाले अभिभावक, शिक्षक र विद्यार्थीका लागि छुट्टाछुट्टै कार्यक्रम तय भएको बताए । मन्त्रालयका सचिव प्रकाश पौडेलले विद्यार्थीको रुची अनुसारको पाठ्यक्रम पढाउन आवश्यक रहेको बताए । शिक्षाको जग स्थानीय तह नै भएकाले समन्वय र सहकार्यका आधारमा अगाडि बढ्न आवश्यक रहेको भनाई उनको छ ।  एक्लाएक्लै हिँडेर संघीयताको मर्मानुसार काम नहुने उनले उल्लेख गरे । नागरिकको घरदैलोमा नै सरकार आएको आभाष दिलाउने गरि काम गर्न उनको निर्देशन छ । तीन दिन सम्म चल्ने कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई, कास्की, पर्वत, स्याङजा, म्याग्दी, बाग्लुङ र मुस्ताङको सामाजिक विकास कार्यालय र स्थानीय तहको सहभागिता छ ।