काठमाण्डौँ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले घटेर रु ९६ हजार ५०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार १०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार ६०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २४५ कायम रहेको महासङ्घले जनाएको छ ।
वागलुङ् : माछा मार्ने क्रममा करेन्ट लागेर बडिगाड गाउँपालिका–२ का छबिलाल बलामीको मृत्यु भएको छ । स्थानीय बडिगाड खोलामा गए राति करेन्ट लगाएर माछा मार्न खोज्दा ३२ वर्षीय बलामीको मृत्यु भएको बडिगाड–२ का वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिनुभयो । बलामीको शवलाई अहिले परीक्षणका लागि बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको वडाध्यक्ष शेरचनले बताउनुभयो । विद्युतीय शक्ति (करेन्ट) लगाएर माछा मार्न नपाइने भए पनि बेलाबेलामा यस्ता गतिविधि हुने गरेका छन् । यसरी माछा मार्ने क्रममा करेन्ट लागेर धेरैले ज्यान गुमाएका छन् ।
म्याग्दी : म्याग्दीका ४४ बस्ती पहिरो र कटानको जोखिममा छन् । बेनीस्थित भू–तथा जलाधार संरक्षण सम्पर्क कार्यालयले ३१ बस्ती पहिरो र १३ ठाउँमा नदी कटानका कारण करिब एक हजार घरधुरी जोखिममा रहेका जनाएको छ । कार्यालयका सहायक भूसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले म्याग्दीको ३५७।९ हेक्टर जमिन भू–क्षयबाट प्रभावित भएको जानकारी दिनुभयो । “म्याग्दीबाट वार्षिक दुई हजार ५१९ दशमलव ७६ मेट्रिक टन माटो भू–क्षयका कारण बगेर जाने गरेको छ”, उहाँले भन्नुभयो, “माथिल्लो क्षेत्रमा पहिरो र भूक्षय हुँदा नदीमा बाढीको आयातन बढेर कटान हुने गरेको छ ।” धवलागिरिको लमसुङ, खोरिया, दर, ताकम, मालिकाको देवीस्थान, बिम, जुकेपानी, छाप, रातोढुङ्गा, रुम, घोर्सी, दिच्याम गोगनपानी, दरवाङ, मङ्गलाको खर्सुपानी, हाँडेभिर, बेनी नगरपालिकाको सिङ्गा तातोपानी, भकिम्ली, पुलाचौर, भसभसे, घतान, पात्लेखेत, रघुगङ्गाको पाखापानी, दग्नाम, राहुघाट, कटुवालटोल, भगवती, रानीपौवा, पिप्ले, अन्नपूर्णको दोवा, घोस्केखोर, शिख तल्लोगाउँ र फगाममा पहिराको जोखिम रहेको कार्यालयले जनाएको छ । यसैगरी म्याग्दी, राहुघाट र कालीगण्डकी नदीको तटीय क्षेत्रमा रहेको दरवाङ, दुखुबेँसी, सहश्रधारा, शेरफाँट, हाँडेभिर, पिपलचौतारी, पानावगर, काशेगर, ताराखेत, सिङ्गा तातोपानी, भसभसे, गलेश्वर र भुरुङ तातोपानीमा कटानको जोखिम भएको मिश्रले बताउनुभयो । जोखिमयुक्त ठाउँबाट ४५ स्थानमा पहिरो नियन्त्रण, २५ स्थानबाट खोला किनार सरक्षण र ३२ स्थानबाट गल्छी संरक्षण तथा व्यक्तिगत घर, खेतबारी संरक्षणका लागि ७५ जनाको माग निवेदन आएको छ । कालीगण्डकी, राहुघाट र म्याग्दी नदीमा सहायक खोलाबाट आउने बाढीले नदीको धार परिवर्तन गराउनु, सडक निर्माण गर्ने क्रममा भिरालो जमिन कटान गर्दा सडकभन्दा माथिको माटो तल फाल्नु र सोको व्यवस्थापन नगरिनु, सडकले गर्दा परापूर्वकालदेखि बग्दै आएको भलबाढी अनियन्त्रित हुनु र नदीमा बाढीको आयातन बढेर तटीय क्षेत्रमा कटान गर्ने समस्या रहेको मिश्रले बताउनुभयो । यसैबीच म्याग्दीमा मनसुनजन्य विपद् प्रतिकार्य योजना लागू गरिएको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले मनसुनजन्य विपद्को जोखियुक्त स्थान पहिचान, सतर्कता, विपद्को अवस्थामा उद्धार, राहत र व्यवस्थापनका लागि विगतको अभ्यास र सरोकारवालाको सुझावका आधारमा प्रतिकार्य योजना बनाएर कार्यान्वयन थालिएको बताउनुभयो । उच्च जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित ठाउँमा सार्ने र जिल्लाका ६ वटै स्थानीय तहले कालीगण्डकी, म्याग्दी र रघुगङ्गा नदीको तटीय क्षेत्रमा बाढीको पूर्वसूचनाका लागि सम्पर्क व्यक्ति खटाउने प्रक्रिया थालेका छन् ।
काठमाण्डौँ : मेलम्चीमा बाढी आएको एक वर्ष पुगेको छ । गत वर्ष असार १ गतेको बाढीले २६ जनाको ज्यान गएको थियो धेरै भौतिक सम्पत्ति क्षति भयो । सिन्धुपाल्चोकलाई सरकारले गत वर्ष सङ्कटग्रस्त जिल्लासमेत घोषणा गरेको थियो । बस्ती संरक्षण, स्थानान्तरण र पुनःनिर्माणका कुरा उठे पनि अहिलेसम्म काम भने हुन सकेको छैन । गत वर्ष असार १ र साउन १६ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो । नदी तटीय क्षेत्रको खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो । सयौँ स्थानीयवासी विस्थापित भए । उनीहरु हालसम्म अस्थायी टहरामै बस्दैआएका छन् । उनीहरु सुरक्षित वासस्थानको पर्खाइमा छन् । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले घरबारबिहीनलाई रु पाँच लाखका दरले रकम उपलब्ध गराउने घोषणा गरेको थियो । उक्त निर्णय हालसम्म पनि कार्यान्वयन नहुँदा बाढी प्रभावितको बिचल्ली भएको छ । बाढीले घरखेत बगाएपछि बेसहारा बन्नुभएका हेलम्बु–२ गणेशेबगरका गोरी तामाङका आँखा अझै ओभाएका छैनन् । बाढीले उहाँको घर बगायो भने खेत बगरमा परिणत भयो । उहाँ हाल सुुकुम्बासी बन्नुभएको छ । “सरकारले घर बनाइदिने आश्वासन दिएको थियो, अझै त्यो हुन सकेको छैन”, उहाँले पीडा सुनाउनुभयो । हेलम्बु, मेलम्ची र पाँचपोखरीमा गरी बाढीले ५५१ घर बगाएको थियोे । पाँच हजार ४०० रोपनी खेतीयोग्य जमिन बगर बन्यो । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सात झोलुङ्गे पुल, नौ पक्की पुल र ३३ सार्वजनिक संरचना ध्वस्त भए । हालसम्म अस्थायी टहरामुनि बस्दै आएका बाढी पीडित सरकारको बाटो हेरेर बसिरहेका छन् । हेलम्बु गाउँपालिकाका लीलाबहादुर ज्योति बासको उचित व्यवस्था नहुँदा रोजगारीका लागि कतै निक्सिन सक्नुभएको छैन । बाढी घर बगाएपछि मेलम्चीका हरिशरण श्रेष्ठ सुरक्षित बासस्थानकै खोजीमा भौँतारीरहनुभएको छ । “सुरक्षित ठाउँमा घर कहिले बन्ला भन्ने चिन्ताले सधँै सताउँछ”, उहाँले भन्नुभयो । प्राकृतिक विपद्का हिसाबले सिन्धुपाल्चोक देशकै उच्च जोखिममा रहेको जिल्ला हो । गत वर्ष केही तयारी गरे पनि पर्याप्त नभएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा बताउनुहुन्छ । “निजी आवास निर्माणको प्रक्रिया अगाडि बढेको छ, केही समस्याका कारण यसमा ढिलाइ भएको छ”, उहाँले भन्नुुभयो । यस्तै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ बाढी प्रभावितका लागि छिट्टै काम गर्ने बताउनुहुन्छ । खोलाको अतिक्रमण गरी घरलगायत संरचना निर्माण गर्दा पनि अत्यधिक क्षति भएको हो । मेलम्ची, इन्द्रावती र पाँचपोखरी जानका लागि ह्युमपाइप हालेर बनाइएको अस्थायी पुल पनि केही दिन अघि आएको बाढीले बगाएपछि झन समस्या भएको छ । हेलम्बु–७ चनौटेमा नेपाली सेनाको सहयोगमा बेलीब्रिज निर्माणबाट आवतजावतमा सहज भएको स्थानीयवासी बताउँछन् ।
काठमाण्डौँ : हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेकोे पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश नं १, मधेस र बागमतीमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आङ्शिक बदली रहेको छ । प्रदेश नं १, मधेस र बागमती प्रदेशमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने महाशाखाले जनाएको छ । राजधानी काठमाडौँमा बिहानैदेखि बदली रहनुका साथै केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज काठमाडौँको अधिकतम तापक्रम २९ दशमलव सात र न्यूनतम तापक्रम १९ दशमलव पाँच डिग्रि सेल्सियस रहेको छ ।
धादिङ : धादिङको ईजारा र सिस्नेखोलामा आज भएको छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । धादिङको निलकण्ठ नगरपालिका–३ ईजारामा बा१८च २८२० नम्बरको बोलेरो जिप दुर्घटना भएको हो । धादिङवेसीबाट जुरेथुमतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा निलकण्ठ नगरपालिका–१ जुरेथुमका ३२ वर्षीय प्रेमबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो । दुर्घटनामा १७ जना घाइते भएका छन् । उनीहरुको धादिङ अस्पतालमा उपचार भइरहेको डा मधुकर दाहालले जानकारी दिनुभयो । उकालो बाटोमा क्षमताभन्दा धेरै यात्रु र सामान बोकेका कारण जिप दुर्घटना भएको बताइएको छ । यस्तै त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनीवेशी नगरपालिका– ९ सिस्नेखोला सुरुङ मार्गमा ट्रक दुर्घटनामा एकजनाको मृत्यु भएको छ । नौबिसेबाट काठमाडौँतर्फ जाँदै गरेको ना५ख ७३८६ नम्बरको मालबाहक ट्रक सोही दिशातर्फ जाँदै गरेको बा३क ३४०४ नम्बरको मिनि ट्रक र बा८२प ५६४५ नम्बरको मोटर साइकलसँग ठोक्किँदा एक युवाको ज्यान गएको प्रहरीले जनाएको छ । धादिङको निलकण्ठ नगरपालिका–१२ का ४४ वर्षीय यमबहादुर मगरको मृत्यु भएको हो । दुर्घटनामा घाइते निलकण्ठ नगरपालिका–८ का गणेश श्रेष्ठको काठमाडौँमा उपचार भइरहेको छ ।
मोरङ : विपद् व्यवस्थापनमा जोखिम उठाएर भए पनि प्रतिकार्य गर्न मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्देशन दिनुभएको छ । जिल्लामा आज विपद् व्यवस्थापनसम्बन्धी छफलमा उहाँले सो निर्देशन दिनुभएको हो । विगतको अभ्यासबाट पाठ सिकेर अब सुरु हुने मनसुन र त्यसबाट हुन सक्ने जोखिमलाई नियन्त्रण एवं न्यूनीकरण गर्न सम्बन्धित कार्यालयले समयमै काम गर्नुपर्ने कुरामा जोड दिँदै प्रजिअ दाहालले अहिले सुक्खा मौसममा काम नगर्ने र बाढी आएपछि अनेक बहाना देखाउने काम नगर्न स्पष्ट पार्नुभयो । आफ्नो जिम्मेवारीको काम नगरेर जनतालाई दुःख दिने काम राष्ट्रसेवक कर्मचारीबाट सुहाउँदो नहुने धारणा राख्दै प्रजिअ दाहालले जिल्लामा तत्काल देखिएका समस्यामा गम्भीर हुन सम्बन्धित निकायलाई सचते गर्नुभयो । सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिमिल्सिनाले जिल्ला विपद् कोषबाट चालु आर्थिक वर्षमा रु ३९ लाख ७५ हजार खर्च भए पनि अहिले रु एक करोड २२ लाख ९६ हजार मौज्दात रहेको जानकारी दिनुभयो । गत वर्ष आएको बाढीले रु ५६ करोड ८७ लाख बराबरको किसानको बालीमा क्षति पुगेको उहाँले उल्लेख गर्नुभयो । मोरङको पहाडी क्षेत्रमा पहिरो तथा तराईमा डुबान एवं कटानको समस्या रहेको अवस्थामा जनधनको क्षति हुन नदिन तथा त्यस्तो भएमा राहत सङ्कलन र वितरणमा ध्यान दिन स्थानीय तहका प्रमुखलाई बैठकमा आग्रह गरिएको छ । कार्यक्रममा जिल्लाका १७ वटै पालिकाका प्रमुख, उपप्रमुख, प्रहरी प्रमुख, सरोकारवाला कार्यालयका प्रमुखलगायत सहभागी थिए ।
महोत्तरी : विगतमा माओवादीको सशस्त्र द्वन्द्वका बेला सुधीर नामले चिनिने महोत्तरीको भङ्गाहा–४ का ४० वर्षीय नारायण दाहालको परिचय अब पौरखी किसानमा फेरिएको छ । सशस्त्र द्वन्द्व प्रारम्भमै कमान्डरको भूमिका निर्वाह गर्नुभएका उहाँ अहिले आफ्नो गाउँबस्तीका समवयस्क साथी र पछिल्लो पुस्ताका लागि पौरखी किसानको उदाहरण बन्नुभएको हो । घर वरपर नै रहेको आठ कट्ठा जग्गाभित्र लटरम्म फलेका बोडी, परबल र लौकासहित तरकारी बालीमा दाहालको मेहनत फष्टाएको छ । बिहान ४ बजे ओछ्यान छोडेदेखि नै गाईबाख्राको हेरचाह सकेर बारी पसेपछि आवश्यक स्याहार सुसार गर्ने, तरकारी टिप्ने र घरमै आइपुगेका तरकारी व्यापारीलाई आफ्नो उत्पादन तौलेर दिन भ्याइनभ्याइ हुने गरेको उहाँ बताउनुहुन्छ । विसं २०६५ को अन्त्यतिर माओवादी लडाकुको काम छाडेर गृहस्थीमा फर्कनुभएका दाहालले २०६८ यता भने खेतीमै आफ्नो भविष्य देख्न थाल्नुभएको छ । माओवादी लडाकुको जीवन त्यागेर फर्कंदा राज्यबाट जम्मा रु छ लाख २० हजार पाउनुभएका उहाँले त्यतिखेर त्यो रकमले छ कट्ठा जग्गा, एउटा साइकल र घरमा एउटा टिभी जोडेर सानो गाईगोठ बनाएको सुनाउनहुन्छ । “के के न गरौँला भनेर सशस्त्र द्वन्द्वमा होमिए,” दाहाल घरमै पुगेका सञ्चारकर्र्मीसँग भन्नुहुन्छ, “फर्केर आउने ठाउँ त गाउँ घर नै रहेछ ।” अहिले सशस्त्र द्वन्द्वमा होमिएको आफ्नो विगतप्रति दाहाललाई गुनासो छैन । “मैले नजिकबाट मृत्युलाई चिन्न सकेजस्तो लाग्छ, युद्धमा छँदा कैयौँ पटक संयोगले मात्र बाँचेको हुँ,” उहाँ भन्नुहुन्छ, “फेरि त्यो युद्धको प्रतिफल मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना त भयो नि, अब जनताको जीवनस्तर उकास्ने बाटोमा नेता लागिदिए हुन्थ्यो ।” जनताको अवस्थामा परिवर्तन नआउँदा भने भने मन कटक्क खाने गरेको दाहालको भनाइ छ । खेतीमा लागेयता आफ्नो मिहिनेत खेर गएको कहिल्यै महसुस गर्न नपरेको उहाँ सुनाउनुहुन्छ । “यसपालि वैशाखे तरकारी खेतीबाटै अहिलेसम्म रु एक लाख बराबरको तरकारी बेचिएछ,” आफ्नो पुगनपुग तीन महिना (चैत, वैशाख र जेठ) को कमाईबारे बताउँदै दाहाल अगाडि भन्नुहुन्छ, “यसपालि नयाँ वर्ष प्रारम्भसँगै कैयौँ पटक आएको चोटिलो वर्षासँगैको हावाहुरीले लहरे तरकारी र लहलहाउँदा रायोको बिरुवा लतार्यो, त्यसको उत्पादन लिन सकेको भए आम्दानी अझै बढ्थ्यो ।” दैनिक घरखर्चमा लगाइएको रकमको हिसाबमा राख्न नसकेको उहाँको भनाइ छ । त्यस्तै प्रत्येक वर्ष दसैँ, तिहार र अन्य चाडपर्वमा गरिने खर्चको पनि हिसाब राख्ने गरिएको छैन । “किसानी पेसाको घरगृहस्थीमा सबै हिसावकिताव राख्न नसकिने रहेछ,” दाहाल भन्नुहुन्छ, “तर चाडबाडको रमझम खेतीपातीले नै चलाएको छ भन्न त पाइयो नि ।”आफ्नो खेती प्राङ्गारिक भएकाले उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेको उहाँ बताउनुहुन्छ । तरकारीमा लाग्ने किरा नियन्त्रणका लागि दाहाल आफैँ कीटनाशक औषधि बनाउनुहुन्छ । “यो नारायणास्त्र, यो ब्रह्मास्त्र र यो आग्नेयास्त्र” तरकारी बालीमा लाग्ने किरा नियन्त्रणका लागि आफैँले घरमा बनाएका कीटनाशक औषधि देखाउँदै उहाँ भन्नुहुन्छ, “गाईको गहुँत सङ्कलन गरेर नीमका पात र अन्य कीटनाशक वनस्पति मिलाएर बनाइएको औषधि हो, तरकारी बालीमा लाग्ने किराको सङ्ख्या र क्षतिको प्रकृति आङ्कलन गरेर मात्रा बनाएर छरिन्छ ।” रामायण, महाभारतलगायत पौराणिक ग्रन्थमा प्रयोग गरेपछि खेर नजाने गरी वर्णन गरिएका शस्त्रअस्त्रको महत्व थाहा पाएर किरा नियन्त्रणका लागि बनाइएका औषधिको नाउँ त्यस्तै मिलाएर राखिएको दाहालको भनाइ छ । “इ यो हेर्नुहोस् , यो आग्नेयास्त्र हो” एउटा सिसीमा राखिएको झोल औषधि देखाउँदै उहाँ भन्नुहुन्छ, “भगवान् रामको वाण खेर जाँदैनथ्यो रे हो, यो त्यही ‘रामबाण’ हो, जस्को छिर्का पर्यो कि किरा खत्तम ।” अहिले जताततै खेतीपातीमा कडा विषादीको प्रयोग बढेसँगै कडा प्रकृतिका रोग बढेकाले सबैलाई प्राङ्गारिक खेतीमा आकर्षित गराउनुपर्ने दाहालको सुझाव छ । “अमृत हुने वस्तु हाम्रै कारण विष बनाइएका छन्,” उहाँ भन्नुहुन्छ, “अब विषादी नियन्त्रणका लागि सरकारले अभियान नै चलाउनुपर्छ ।” साझा प्रयत्नबाट यो सम्भव हुने दाहालको विश्वास छ । बीउबिजन, मल र खेती प्रणाली पनि पुरानै रैथानेलाई नै फर्काउन पर्ने दाहालको सुझाव छ । उहाँको सङ्गतले गाउँका युवा पनि तरकारी खेतीबाट राम्रो उत्पादन लिन थालेका छन् । “विषादी नछरी किरा नियन्त्रण गर्न सकिने दाहालले अपनाउनुभएको तरिकाले हामीलाई लोभ्याएको छ,” दाहालको मिहेनत र खेती प्रणालीलाई अनुुसरण गर्न थालेका छिमेकी छेदीलाल महतो भन्नुहुन्छ, “आफ्नै वरपर पाइने विभिन्न वनस्पति र गहुँतबाट बनाइने औषधिबाट किरा नियन्त्रण गरिँदा स्वास्थ्य सुरक्षा र कीटनाशक विषादीमा हुने खर्चबाट बचिएको छ ।” मुलुककै समृद्धि र जनताको मुक्तिका लागि भन्दै विगतमा बन्दुक बोकेकोमा पश्चाताप नभए पनि समृद्धिको बाटो चैं अहिलेको बाटो नै उपयुक्त रहेको दाहालको निष्कर्ष छ । “कतिले बाटो फेरेछ भन्लान्, तर मुलुक समृद्ध र जनता सुखी बन्ने÷बनाउने चैं उद्यमले नै हो ।” आफ्नो अहिलेको काम ‘उद्यम’ रहेको बताउनुहुने दाहाल गाउँ छिमेक वरपर ‘रोलमोडल’ किसान बन्नुभएको छ । “घरमा भेट्न आउने आफन्त होउन् कि अन्य छिमेकी यिनी (दाहाल) खेतीकै कुरा गर्छन्,” दाहालकै छिमेकी ८० वर्षीय रामनन्दन महतो भन्नुहुन्छ, “यिनले त बरालिएर हिँड्ने कति केटालाई आफ्नो सङ्गतमा ल्याएर मेहनती किसान बनाएका छन् ।” त्यही बस्तीमा तरकारी बाली फस्टाउन रसायनिक मल र किरा नियन्त्रण गर्न विषादी प्रयोग गर्दै आएका दाहालका समवयस्क किसानले अब आफैँले तयार पारेको कम्पोष्ट मल र घरायसी कीटनाशक औषधि प्रयोग गर्न थालेका छन् । आफुले मेहनत र लगन लगाए पनि सरकारी निकायबाट कुनै सहयोग र भरथेग नपाइएको दाहाल लगायतका सो बस्तीका युवा किसानको गुनासो छ । “खेतीपातीमा किसानलाई सहयोग गरिन्छ भन्न रेडियो र छापाहरुमा भन्ने, लेख्ने गर्छन रे ” दाहालकै समवयस्क सो बस्तीका किसान चन्देश्वर राय दनुवार भन्नुहुन्छ, “तर, हामीसम्म त्यो कहिल्यै आइपुग्ने भएन ।” किसानका लागि छुट्याइएका रकम पनि भनसुन र ठूलाबडाकै प्रयोगमा जाने गरेका बस्तीका सोझा किसानको आम गुनासो छ । “न भरपर्दो सिँचाइ छ, न समयमा बीउबिजन पाइन्छ, मेहनत त हामी गर्छौं, बाँकी सबै ईश्वरकै भर छ,” बस्तीका सबैजसो किसानको समान गुनासो छ । खेतीपातीसँगै दाहालले अहिले बाख्रापालन सुरु गर्नुभएको छ । खोरमा पाँच÷सातवटा बाख्रा जम्मा पार्नुभएका दाहाल त्यसको तयारीका लागि दुई वर्षपहिले नै डालेघाँसका बिरुवा रोपेर हुर्काएको बताउनुहुन्छ । बारीमा इपिलिपिल, बकाइनो र पट्मिरोसहितका पौष्टिक मानिने डाले घाँसका ५० रूख हुर्किसकेका र यसपालि फेरि १०० वटा जति रोपिएको छ । यो वर्षको अन्त्यसम्म २५ वटा बाख्रा पु¥याउने दाहालको लक्ष्य छ । “गर्दा नहुने भन्ने केही रहेनछ” दाहाल भन्नुहुन्छ, “सय पचासको गर्जो टार्न गाउँ पस्नुपर्ने म अहिले आफ्नो मेहनतले नै गाउँघरको सानोतिनो अड्कोपड्को टार्न सक्ने भएको छु ।”कृषिसँग सम्बन्धित सरकारी निकायहरु किसानसम्म नपुगेका दाहालको गुनासो छ । अहिले सुने जतिकै सरकारले बनाएको कृषि कार्यक्रम किसानसम्म पुग्ने हो भने पनि कृषि क्रान्ति नै हुने दाहाल बताउनुहुन्छ तर ती सरकारी कार्यक्रम किसानसम्म नपुगेको कुरा अनुगमन हुनुपर्ने दाहाल सहितका किसानको माग छ ।
कास्की: स्थानीय निर्वाचनमा दास्रोपटक गाउँपालिका प्रमुखमा बाजी मार्ने जनप्रतिनिधिमध्ये कास्कीको रुपा गाउँपालिकाका प्रमुख नवराज ओझा पनि एक हुन् । दोस्रोपटक गाउँपालिका प्रमुखकारुपमा अत्यधिक मतले विजयी हाँसिल गरेपछि पहिलो कार्यकालबाट त्रूटिरहित कार्यसम्पादन गरेछन् भन्ने सन्देश मिलेकाे छ । गाउँपालिका प्रमुखकारुपमा दोहोरिएका ओझासँग सुनगाभा न्यूजले ५ वर्ष पहिले र अहिलेको सेराेफेराेमा कुराकानी गरेको छ । प्रस्तुत छ सम्पादित अंशः १. दोस्रो पटक पनि जित्नुभयो, दोहोरिएपछिको यहाँको अनुभव कस्तो छ ? पहिलोपटक निर्वाचित हुदाँखेरी धेरै कामहरु तल्लो तहबाटै गर्न बाँकी थिए अहिले धेरै कामहरु पुरा गरेका छौं । बाँकी रहेका केही काम र नयाँ काम गर्नका निमित्त आउँदा बढी जिम्मेवारी थपिएको र जनताप्रति बढी उत्तरदायी हुनुपर्ने छ । जितसँगै उत्साह पनि थपिएको छ साथै जिम्मेवारी पनि थपिएको छ । २. तपाई दोहोरिनु पछाडी कारण के थियो त्यस्तो, जस्ले यहाँलाई फेरि जित दिलायो? मैले पहिला भन्दा डबल मतले जिते, अरु गाउँपालिकाको हकमा उहाँरुको काम गर्ने शैली, जनतासँग जोडिने कुरा, सुशासनका कुरा, विकास निर्माणका कुरा त्यो बारे मैले सबै विश्लेषण चाँही गरेको छैन । तर मेरो र गाउँपालिकाको हकमा चाँही जनताको सुख र दुखमा साथ दिने काम गरेका छौं पहिला भन्दा धेरै परिवर्तन गर्न सकेका छौं । जनतासँग टच भएका छौं यसैगरि हाम्रो सबैभन्दा बलियो पाटो भनेको सुशासनको पाटो र पारदर्शिता हो जसले गर्दा जनताले हामीलाई विश्वास गर्नुभो र अत्याधिक मतकासाथ जिताउनुभो । ३. रुपा बासीका लागि सम्झनालायक काम के के गर्नु भयो ? हामी निर्वाचित हुदाँ १ घर १ धारा जम्मा १ सय २ घरमा मात्रै थियो । त्यसपछि ९५ प्रतिशत घरमा १ घर १ धारा पुर्यायौं । अब ५ प्रतिशत मात्रै बाँकी छ । त्यो के कारणले हो भन्नुहुन्छ भने प्रदेश र संघको त्यहाँ १६ वटा योजना थिए । त्यसमध्ये हामीले १२ वटा योजना गरिदियौं ४ वटा योजना तपाइहरु पुरा गर्नुसनत भनेका थियौं । अह भएन । हामीले संघ र प्रदेशको योजना पनि गरिदियौं र बाँकी रहेको अन्य ५६ वटा योजनापनि गाउँपालिकाले पुरा गर्याै । तर ४ वटा योजना पुरा गर्न ८ वर्ष भयौ अझैसम्म पुरा भएको छैन । हामी आउनभन्दा ३ वर्ष पहिले सुरु भएको योजना थियो । त्यसैले संघ र प्रदेशको कार्यान्वयनको पाटो कस्तो रहेछ भन्ने त यहीबाटै प्रष्ट हुन्छनी । स्थानीय तहले गर्याे भने सकिन्छ । किनभने जनताको नजिकको सरकार हो । यसले जनताको समस्या बुझेको छनी त । यसैगरि गाउँपालिका भित्रका मुख्य सडकहरु पिच गर्न सकेका छौं । वडा कार्यालयहरुलाई जोडनेगरि पिच भएका छन् । त्यो बेला १ किलोमिटरपनि पिच थिएन अहिले ८५ किलोमिटर पिच छ । मोटरेवल पुलका सन्दर्भमा ६ वटा हामीले सम्पनन गयौं । कृषिमा सुरुमा जम्मा ८ वटा फर्म दर्ता थिए अहिले ६ सय ५० भन्दा माथी छन् । कोभिडको बेलापनि देशभरिमै नमुनायोग्य कामहरु गर्याैं । गाउँपालिकामै क्वारेन्टाइन राख्नेदेखि हरेक घरमा स्वास्थ्यकर्मी पठाउने काम गर्याैं । अहिलेपनि १५ शैयाको ४ वटा डाक्टरसहित अस्पतालमा सेवा दिइराछौं । त्यही कारणले गर्दा अहिलेपनि जनताले खुला दिलकासाथ अत्याधिक बहुमतले जिताउनुभो । ४. अघिल्लो कार्यकालमा बाँकी भएका काम, जो यसपटक गर्दै हुनुहुन्छ ति के के हुन् ? यतिबेला जनतालाई ठुलो कुरा दिनेभन्दापनि बाँकी रहेका कामहरु दिएर जनतालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने हो । जस्तै तालवेशीदेखि ठुलोवेशीको बाटो बाँकी छ । अहिले टेण्डर भएको छ त्यसलाई व्यवस्थित गर्ने काम, थुम्की शिवचण्डी बाटो त्यसपछि देउराली हुदैं चिसापानी जाने बाटोहरुलाई व्यवस्थित गर्दै जाने, त्यसैगरि खाल्टेखोला लगायतमा पुल बनाउँनुपर्नेछ । यसैगरि बाँकी रहेको ५ प्रतिशत खानेपानीको व्यवस्थापन गर्नु छ । अब हामीले जनता गाउँमै अडिने वातावरण बनाउँनुपर्छ । हामीले गाउँपालिका भित्रका बिरामीलाई निशुल्क एम्बुलेन्स सेवा दिने भनेर पहिलो निर्णय गरेका छौं । पहिला जनताको स्वास्थ्यको ख्याल गर्नपर्याे म गाउँमा बस्दापनि सुरक्षित छु भन्ने त बनाउँनुपर्याे नि । त्यसपछि शिक्षाको हकमा प्राविधिक शिक्षा सुरु गरेका छौं । अब त्यँही पढाउने र शैक्षिक गुणस्तर राम्रो बनाउने भनेर बौद्धिक व्यक्तित्वहरु लागिरहनुभएको छ । यसले युवाहरुलाई गाउँमै केही गर्न सहयोग पुग्नेछ । ५. रुपा गाउँपालिका आफैमा भ्यूपोइन्ट हो, भ्यूटावर बनाउने नाममा अनावश्यक खर्च गर्याे भन्ने आरोप छनी ? हाम्रो गाउँपालिकाले पूर्ण लगानी गरेर एउटापनि भ्यूटावर बनाएको छैन । हाम्रोमा ३२ वटा डाँडाहरु छन् । त्यसमध्ये पहिल्यै एउटा थियो । अरु दुईवटा चाँही उहाँहरुसँग साझेदारी गरेर ५०÷५० प्रतिशत लागतमा गरेका छौं । त्यो ३२ वटा डाँडामध्ये कुनैमा संग्राहलय हुन्छ । कुनैमा पार्क हुन्छ । कुनैमा क्याम्पेनिङ स्पट हुन्छ । त्यसैगरि गुरुङ, मगर, नेवार, ठकुरी, ब्राहमण तथा दलित समुदायको संस्कार झल्कने गरि पार्क निर्माण गर्छाै । त्यसैगरि कुनैमा गुम्बा कुनैमा मन्दिर र कुनैमा मस्जिद बनाउन सकिन्छ । धार्मिक रुपमा पनि हबका (विश्वशान्ती उद्यम) रुपमा विकास गर्ने जस्लाई फुटट्रयाकमार्फत जोड्ने हाम्रो लक्ष्य रहेको छ । ६. अनि सडक विस्तारले मात्रै विकासको परिभाषा पुरा गर्ला त प्रमुख ज्यू ? पूर्वाधार भएन भने गाउँमा विकास लान सकिन्न । किसानहरुले तरकारी र टमटर तथा दुध उत्पादन गर्ने अनि त्यहाँ एक हप्तासम्म गाडी गएन भने स्थिति के हुन्छ ? त्यसैले विकासको सुरु भनेकै सडक सञ्जाल नै हो । बाटोमात्रै होईन आधारभूत आवश्यकतामा पर्ने खानेपानी, बिजुली, शिक्षा तथा स्वास्थ्यसँग जोडिएका विषयहरुको पहुँच हुनुपर्छ । मलाई एउटा मात्रै देश देखाईदिनुस जहाँ पिच बाटो विना विकास भएको छ । त्यसैले सडक विकासको पुरक विषय हो । ७. तपाई अब जनताका प्रतिनिधी हुनुभयो तर कसैलाई काखा र कसैलाई पाखाको व्यवहार हुन्छ भन्ने आरोप छनी, के भन्नुहुन्छ अध्यक्ष ज्यू ? यो सोच्नेले कुन कोणबाट सोच्यो भन्ने हो । सोच्नुपर्ने के हो भने, मैले कसैलाई काखा कसैलाई पाखा गरे भने त्यो ठाउँको विकास समान ढंगले हुनसक्छ? मैले त्यस्तो गरेको भए डबल कसरी आउथ्यो । मेरा मान्छेले एमालेका मान्छेले मात्रै मत दिएर डबल मत आयो होला ? रिजल्टले देखाउछनि हजुर । एकादले टिका टिप्पणी गर्ने कुरा राजनैतिक प्रतिसोध साँध्ने कुरा अलग कुरा होनी तर यो विषयमा म बोल्नै पर्दैननि मत परिणामले देखाईसक्यो नि । ८. अन्तिममा, चुनावी रौनकको समयमा एउटा अडियो सार्वजनिक भयो, जहाँ यहाँको नाम पनि उच्चारण गरिन्छ, सो विषयमा के भन्नुहुन्छ ? मान्छेलाई जे मन लाग्यो त्यही बोल्दिने हुन्छ । हाम्रोमा अख्तियारले नहेर्या होर । मुद्धा परेका सबै क्लियर छन । यो मिडिया मार्फत क्लियर भन्न चाहान्छु । १ रुपैयां दुरुपयोग गरेका छैनौं । गर्दापनि गर्दैनौं कसैलाई शंका लाग्छ भने अहिले हैन सात पुस्तासम्म हेरे हुन्छ । त्यो कुरामा हामी क्लियर छौं । किनभने हामीले प्रत्येक तीन महिनामा सार्वजनिक सुनुवाई गर्छाैं । प्रत्येक कार्यपालिकाको बैठकमा बजेट सार्वजनिक गर्छाैं । कुनै पनि योजना सार्वजनिक सुनुवाई नगरिकन पास गर्दैनौं । प्रत्येक जनतालाई थाहा दिएर मात्रै काम गर्छाैं । एउटा मान्छेलाई के लाग्यो कसैसँग गुट उपगुटका कारण जोडेर गरेको व्यवहार एकदमै घटिया पारा हो यो । एकदम तुच्छ विचार हो । हामी त खुलमखुल्ला छौं । हामी खुला किताब हो । जहाँ हेरेपनि हुन्छ । मेरो लगाई खवाई बसाई त्यसकारण आफ्नो सम्पत्ति बेचेर राजनीति गर्या मान्छे हो हामी । अहिलेसम्म होइन पुस्तौ पुस्तासम्म हेर्न पाइन्छ । यो कुरा एकदम धुक्ककासाथ भन्छु । हामीले राजनीति गर्दा अरुलाई आक्षेप लगाएर होइन आफुसँग क्षमता के छ त्यसको प्रदर्शन गर्न सक्नुपर्छ । इमान्दारिता हुनुपर्याे । ‘अर्कालाई हिलो छ्यापेर म सफा हुन्छु भन्ने भ्रम हो त्यो नपालौं ।’ हामी जहिल्यै इमान्दारिताको पक्षमा उभिएर काम गर्छाैं ।’

