पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

काठमाडौँ :      चालू आर्थिक वर्ष २०७८ ७९ को १० महिनाको अवधिमा नेपालको कूल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३०.५ प्रतिशतले बढेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आवको वैशाखसम्मको अवधिमा नेपालको कूल वैदेशिक व्यापार रु १७ खर्ब ७८ अर्ब पुगेको छ ।        कूल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ९.७ र ९०.३ प्रतिशत छ । समीक्षा अवधिमा नेपालको कूल निकासी ५९.८ प्रतिशतले वृद्धि भई रु एक खर्ब ७३ अर्ब ३५ करोड तथा कूल पैठारी २८ प्रतिशतले वृद्धि भई रु १६ खर्ब चार अर्ब ६५ करोड पुगेको छ ।       अघिल्लो आवको प्रथम १० महिनाको अवधिमा निकासी–पैठारी व्यापारको अनुपात १ः११.६ रहेकामा चालू आवको सोही अवधिमा निकासी–पैठारी व्यापारको अनुपात १ः९.३ रहन आएको छ ।       उक्त अवधिमा नेपालबाट भटमासको तेल, पाम आयल, पोलिष्टर तथा अन्य धागो, ऊनी गलैँचा, जुट तथा जुटका सामान, तयारी पोशाक, जुस, सूर्यमुखी तेल, अलैँची, ऊनी फेल्टका उत्पादन, कपडा, चिया, पश्मिना शल, कुकुर र बिरालोको आहार (डग च्यू), फलाम तथा फलामका उत्पादन, चाउचाउ, नेपाली हाते कागज, रोजिन र रेजिन एसिड तथा जडीबुटी निकासी भएका छन् ।        भटमासको तेलको निर्यातमा २६.८५ प्रतिशतले वृद्धि भएको छ । रु ४५ अर्ब ३५ करोडको भटमासको तेल निर्यात हुँदा समीक्षा अवधिमा रु ३७ अर्ब ९५ करोडको पाम आयल निर्यात भएको केन्द्रले जनाएको छ ।      समीक्षा अवधिमा यार्न (पोलिष्टर, सूर्ती तथा अन्य) को निर्यातमा ५९.१२ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा ऊनी गलैँचा निर्यातमा २८.५६, जुट तथा जुटका उत्पादन निर्यातमा १६.२१ प्रतिशतले वृद्धि भएको छ ।      सोही अवधिमा कुकुर र बिरालोको आहार (डगच्यू)को निर्यातमा ४१.१३ प्रतिशतले वृद्धि भई रु दुई अर्ब ३१ करोड पुगेको केन्द्रले जनाएको छ ।        चालू आवको १० महिनाको अवधिमा प्रशोधित खाद्य तेल (भटमासको तेल, पाम आयल, सूर्यमुखी तेल) को निर्यात कूल निर्यातमा ५०.५३ प्रतिशतको हिस्सा ओगट्दै प्रमुख निर्यातजन्य वस्तुका रुपमा देखापरेको छ । यस अवधिमा प्रशोधित खाद्य तेलको कूल निर्यात रु ८७ अर्ब ६० करोड पुगेको छ । प्रशोधित खाद्य तेलको निर्यातमध्ये भटमासको तेल, पाम आयल तथा सूर्यमुखी तेलको निर्यातको हिस्सा नेपालको कुल निर्यातमा क्रमशः २६.१६, २१.८९ र २.४८ प्रतिशत छ ।        कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको अलैँची र चियाको निर्यातमा भने ह्रास आएको छ । समीक्षा अवधिमा अलैँचीको निर्यातमा २९.५३ प्रतिशतले ह्रास आई रु चार अर्ब २२ करोड र चियाको  निर्यातमा १८.२३ प्रतिशतले ह्रास आई रु दुई अर्ब ७६ करोडमा सीमित भएको छ ।      नेपालको निकासी व्यापारमा प्रमुख स्थान ओगट्ने भारततर्फको निर्यातमा ७२.९ प्रतिशतले वृद्धि भई रु एक खर्ब ३७ अर्ब १८ करोड पुगेको छ । नेपालको कूल निकासीमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ७३.१२ प्रतिशत रहेकामा चालू आर्थिक वर्षमा सो हिस्सा बढेर ७९.१३ प्रतिशत पुगेको छ ।       नेपालको निर्यातमा ५०.५३ प्रतिशत योगदान राख्ने भटमास, पाम आयल र सूर्यमुखी तेलको निर्यात भारतमा नै भइरहेकाले नेपालको कूल निकासीमा भारततर्फको हिस्सामा यस्तो बढोत्तरी देखिएको हो । संयुक्तराज्य अमेरिका, जर्मनी, टर्की, युके, फ्रान्स, अष्ट्रेलिया, क्यानडा, इटाली, जापान, चीन, नेदरलेण्डस्, डेनमार्क, बङ्गलादेशलगायत मुलुकमा नेपाली उत्पादन निर्यात हुँदै आएका छन् ।        चालू आवको प्रथम १० महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयातमा ८१.१ प्रतिशतले वृद्धि भएको छ ।      सो अवधिमा रु दुई खर्ब ५२ अर्ब ९४ करोडको पेट्रोलियम पदार्थ आयात भएको छ । समीक्षा अवधिमा फलाम तथा स्टिल र तिनका उत्पादनको आयातमा १३.८, मेशिनरी तथा पार्टस्को आयातमा २२.१, यातायातका साधन र तिनका पार्टपुर्जाको आयातमा ५.३, कच्चा भटमास तेलको आयातमा २५.२ प्रतिशतले वृद्धि भएको छ ।            समीक्षा अवधिमा औषधीको आयातमा १३४.९ प्रतिशतले वृद्धि भएको छ । खोपको आयात भारीमात्रामा हुन गई औषधिको आयातमा यस्तो वृद्धि देखिएको हो । भारत, चीन, इण्डोनेशिया, संयुक्तराज्य अमेरिका, युएई, अर्जेन्टिना,  अष्ट्रेलिया, युक्रेन, मलेशिया, ब्राजिल, बङ्गलादेश, थाइल्याण्ड, क्यानडा तथा  टर्कीबाट प्रमुख रुपमा वस्तु आयात हुने गरेको छ ।        चालू आवको समीक्षा अवधिमा समग्र निकासीमा उल्लेख्य रुपमा सुधार भए पनि पैठारीमा देखिएको वृद्धिका कारण व्यापार घाटामा २४.९ प्रतिशतले वृद्धि भई कूल व्यापार घाटा रु १४ खर्ब ३१ अर्ब ३० करोड पुगेको छ ।

पोखराः    पोखरा महानगरपालिकाको पहिलो कार्यापालिका बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । कार्यपालिका बैठकले ल्याण्डफिलसाइट  पोखरा ३३ मा सार्ने र त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्दै पूर्वाधार तयार पार्ने निर्णय गरेको छ ।    पोखरामा एक वर्षभित्रमा विभिन्न स्थानमा सार्वजनिक सौचालय निर्माण गर्ने र यसरी सौचालय निर्माण गर्ने अवधिसम्मका लागि बैंक, होटल, विभिन्न संघ सस्था र रेष्टुरेष्टका सौचालय सर्वसाधारण नागरिकका लागि प्रयोग गर्न दुइपक्षीय संझौता गर्ने निर्णय भएको छ ।    यसैगरी पोखरा महानगरपालिकाले तत्काल आपत्कालिन सेवा सञ्चानमा ल्याउने भएको छ । सडकमा रहेका खाल्डाखुल्डी पुर्ने, आगलागी तथा विभिन्न घटनामा तत्काल जनशक्ति परिचालन गर्नेगरी पूर्वाधार महाशाखाको क्षमता विकास गर्ने र कर्मचारीसमेत भर्ना गरेर सेवामा प्रभावकारीता ल्याउने कार्यपालिका बैठकले निर्णय गरेको पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले जानकारी दिए । उनले यसको थालनी समेत भइसकेको दाबी गरेका छन् ।    पूर्वाधार तयार पार्ने र कामलाई अगाडि बढाउने काम सुरु गरिएको उनले बताए । छाडा चौपाया सडकबाट हटाउने र ढल तथा नाला सफाई अभियान चलाएर व्यवहारिक रुपमा आपत्कालिन सेवा, जो महानगरको दायित्वभित्र पर्छ त्यो तत्काल गर्ने निर्णय भएको उनले बताएका छन् । मेयर धनराज आचार्यको योजना अनुरुप अरु यस्ता नागरिकले महसुस गर्ने खालका कार्यक्रम अगाडि बढ्ने पनि उनले बताए । पोखराका खाल्डाखुल्डी पुर्न समेत तत्काल जनशक्ति परिचालन गरिने भएको छ ।   प्रमुख प्रशासकीय अधिकृत रिज्यालका अनुसार पोखरा महानगरमा विभिन्न समिति गठन भएका छन् । त्यसैगरी महानगरले तालचोक–बेगनास सडकको निर्माणको ठेक्का बोलपत्र स्विकृत गरेको छ । झण्डै तीन किलोमिटर दूरीको चार लेनको सडक निर्माणका लागि विश्व बैंकले सहयोग गर्ने भएको छ ।    पोखरा महानगरको प्रशासकीय भवन निर्माणका लागि जग्गा छनोट गर्न तीन सदस्यीय समिति गठन गरिएको छ । वडा अध्यक्षहरु दिवशमान प्रधानंग, राधिका शाही, र पूर्वाधार महाशाखा प्रमुख पूर्णबहादुर गुरुङको रहेको समितिले अर्को कार्यपालिका बैठकमा अध्ययन गरेर प्रशासनिक भवन निर्माणका लागि स्थान सिफारिस गर्ने उनले जानकारी दिए ।   

पोखरा:       पोखराका सडकलाई छाडा चौपाया मुक्त गर्नका लागि सडकमा रहेका छाडा चौपाया संकलन कार्य सुरु भएको छ । पोखरा महानगरका वरिष्ट कानून अधिकृत नारायण प्रसाद शर्माले मेयर धनराज आचार्यको निर्देशन अनुसार बिहीबार देखि सडकमा देखिएका छाडा चौपाया हटाउने अभियान सुरु भएको जानकारी दिएका हुन् ।    उनले बिहीबार सेतीवारीका सडकमा रहेका छाडा चौपाया संकलन गरिएको जानकारी दिए । बिहीबार ३७ वटा छाडा चौपाया संकलन गरेर कान्जी हाउसमा राखिएको छ । शुक्रबारपनि यो अभियान जारी रहने वरिष्ट कानुन अधिकृत शर्माले जानकारी दिए । ‘मेयरसावको निर्देशन अनुरुप पोखराका सडकलाई छाडा चौपाया मुक्त गर्ने प्रयास स्वरुप हामीले बिहीबार ३७ वटा छाडा चौपाया संकलन गरे कान्जी हाउसमा राखेका छौं । शुक्रबार पनि यो अभियान जारी रहन्छ । यो अभियानमा नगरप्रहरी विहान चार बजेबाट नै खटिएको छ’ उनले भने ।    यसरी संकलन गरिएका छाडा चौपाया पोखरा १४ स्थित बाच्छे बुढुवामा रहेको गौशालामा लगिनेछ । ल्याण्डफिल साईडसंगै रहेको गौशालामा हाल १५० को हाराहारीमा छाडा चौपाया छन् । करिव ३५ रोपनी क्षेत्रफलमा चौपायाको चरन क्षेत्र र १० रोपनी क्षेत्रमा तारबार लगाएर छानाको व्यवस्थापन गरिएको छ । वरिष्ट कानुन अधिकृत शर्माले सडकमा छाडा चौपाया देखिए वडा हुँदै महानगरमा खबर गर्न समेत नगरवासीलाई आग्रह गरेका छन् ।    यसैबीच पोखरामा शुक्रबार बाट ढल र नाला सफाई अभियान सुरु हुने भएको छ । महानगरका मेयर धनराज आचार्यको सक्रियतामा सडक विभाग र पोखरा महानगरपालिकाले संयुक्तरूपमा ढलहरू सफा गर्ने अभियान शुक्रबार सुरु हुने भएको हो । तीन दिनसम्म चल्ने उक्त अभियानमा साथ दिन संघ संस्थाहरु र नगरवासीलाई मेयर आचार्यले आह्वान गरेका छन् ।    पोलिथिनजन्य पदार्थबाट भएको फोहोरको कारणले अत्याधिक वर्षाका बेला ढल बूझिनुका साथै बाटोमा पानीको बहाव बढी भई दुर्घटना समेत हुनेगरेको भन्दै ढल तथा नालाको सरसफाईमा जुट्न नगरवासीलाई उनले आह्वान गरेका हुन् । अभियान शुक्रबार बिहान ७ बजे पोखराको पृथ्वीचोक स्थित ट्राफिक प्रहरी कार्यालयबाट आरम्भ हुनेछ । अभियानमा कास्कीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय प्रमुख लगायतको सहभागिता रहनेछ ।   

पोखरा :     गण्डकी प्रज्ञा प्रतिष्ठानले ‘प्रज्ञा उत्सव’ कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम असार १० गतेबाट १२ गतेसम्म प्रतिष्ठानकै हलमा आयोजना हुने सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।    जस अनुसार पहिलो दिन असार १० गते आर्ट कार्यशाला गरिनेछ । दोस्रो दिन असार ११ गते कविता, गजल, मुक्तक, लघुकथा वाचन कार्यक्रम हुनेछ । सोही दिनमा नाटक धनीरामको गोरु समेत मञ्चन गरिनेछ  ।  यसैगरी असार १२ गते विभिन्न साँस्कृतीक प्रस्तुती, एकेडेमीको वार्षिक कार्यक्रम श्रव्य दृश्य मार्फत जानकारी, विभिन्न जातीको झाँकी प्रदर्शन हुनेछ । सोही दिन कला, साहित्य, संगीत र संस्कृतीको क्षेत्रमा योगदान पु¥याउने एक–एक जना व्यक्तिलाई सम्मान समेत गर्ने प्रतिष्ठानले तयारी गरेको छ ।     यसैगरी पुस्तक प्रदर्शन, लोपोन्मुख बाजा प्रदर्शन, पृथ्वीनारायण क्याम्पस विज्ञान संकायका विद्यार्थीद्धारा तयार गरिएका सामाग्रीको प्रर्दशन समेत प्रज्ञा उत्सवको आर्कषणको रुपमा रहनेछ ।   कार्यक्रम गर्नुको मुख्य उद्धेश्य नयाँ पुस्ताहरूलाई मौलिक संस्कृतिको बारेमा जानकारी दिन तथा उनीहरुमा अभिरुचि प्रदान गर्न भएको सदस्य सचिव श्रेष्ठले बताउनुभयो । निरन्तर यसै क्षेत्रमा लागेकाहरूलाई सम्मान मार्फÞत हौसला बढाउन मात्र नभएर श्रस्टाहरूलाई एकेडेमीसँग साक्षात्कार गराउँने कार्यक्रमको लक्ष्य रहेको उहाँले खुलाउनुभयो । यस्ता कार्यक्रमले लुकेका प्रतिभा बाहिर ल्याउन सहयोगी बन्ने गण्डकी प्रज्ञा प्रतिष्ठानको विश्वास छ ।   गण्डकी प्रज्ञा प्रतिष्ठानले साहित्यका सबै विधालाई महत्वका साथ स्थान दिँदै यिनको संरक्षण तथा प्रवद्र्धन गन क्रियाशिल बन्ने उपकुलपति गोरे गुरुङले बताउनुभयो । ‘प्रज्ञा उत्सव’ कार्यक्रममका सहभागी भई रौनकता प्रदान गरिदिन सबैमा उहाँको आग्रह छ । आगामी वर्षदेखि वार्षिक उत्सवको अवसरमा यो कार्यक्रमलाई निरन्तरता दिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको स्थापना २०७८ बैशाख १५ गते भएको थियो । स्थापना भएको छोटो समयमा नै प्रतिष्ठानले विभिन्न महत्वपूर्ण कार्यक्रम आयोजना गरिसकेको छ ।    

म्याग्दी:  म्याग्दीको मालिका गाउँपालिका–३ खटेनमा वायरिङ गरेको दुई वर्षसम्म पनि केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छैन ।   बिजुली बल्ने आशामा वायरिङ गरेका खटेनवासी निरास भएका छन् ।  विद्युतीकरणका लागि गाउँमा लगिएका सामग्री अलपत्र परेका छन् ।   मालिका गाउँपालिका–३ का अध्यक्ष मोतिप्रसाद बुढाले विद्युतीकरणमा भएको ढिलाइ र सामग्री अलपत्र परेको विषयमा नेपाल विद्युत् प्राधिकरणको बेनीस्थित कार्यालयमा पुगेर ध्यानाकर्षण गराएको बताउनुभयो । “दुई वर्षदेखि अधुरो विद्युतीकरण योजनालाई पूर्णता दिन प्राधिकरणको कार्यालयको ध्यानाकर्षण गराएका छौँ”, उहाँले भन्नुभयो, “ पोल गाडेको, तार तानेको र वायरिङ गरेको दुई वर्षसम्म पनि बिजुली नबल्दा स्थानीय निरास बन्नुका साथै विद्युतीकरणका सामग्री बेवारिसे भएका छन् ।” खटेनका १५० घरधुरीमा विद्युतीकरणका लागि तयारी छन् ।   वडाध्यक्ष बुढाका अनुसार मिटरबक्स जडान र लाइन जडान गरेमा ती घरधुरीमा बिजुली बल्छ । खटेनवासीले च्युरीबोटमा रहेको दाजुङखोला लघुजलविद्युत् परियोजनाको विद्युत् प्रयोग गर्दै आएका छन् । खटेनसँगै रहेको इग्रेमा भने दुई वर्षअघि नै बिजुली बालिएको थियो ।   खटेन र इग्रेका लागि विद्युतीकरणका लागि जडान गरिएको ट्रान्सफर्मर चार्ज भइसकेको छ । नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रका इञ्जीनियर शिवराज पौडेलले मालिका गाउँपालिकामा विद्युतीकरणका लागि चालु आर्थिक वर्षमा प्राप्त भएको रु एक करोड ५० लाख बजेटको ठेक्का सम्झौताको तयारी भएको बताउनुभयो । “सामग्री खरिद भइसकेको छ”, उहाँले भन्नुभयो, “मजदुरको काम गर्न आह्वान गरिएको ठेक्का मूल्याङ्कन गरेर सम्झौताको तयारीमा छौँ ।” मालिका गाउँपालिकाको वडा नं ३ मा खटेनसहित पात्ले, लुक्सीपार, औल भिरवाङ, स्याकलुङमा विद्युतीकरण बाँकी छ । इग्रे, लामखोरे, सराग्दी र किटिनीमा विद्युतीकरण गरेर केन्द्रीय लाइन विस्तार गरिसकिएको छ ।   चिमखोलामा बहुआयामिक नमूना ग्राम कार्यक्रम लागू म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा बहुआयामिक नमूना ग्राम कार्यक्रम लागू भएको छ ।   विपन्न, सीमान्तकृत समुदायलाई समेटेर लैङ्गिक समानताउन्मुख नमूना गाउँ स्थापना गर्ने उद्देश्यले दलित र मगर समुदायको बसोबास भएको चिमखोलामा नमूना ग्राम कार्यक्रम सञ्चालन गरिएको हो । सडक, खानेपानी, विद्युत्, सञ्चार, पैदलमार्ग, भवनलगायत भौतिक पूर्वाधार निर्माण, नेतृत्व र क्षमता विकासमार्फत लैङ्गिक, जातीय समानता कायम गरी सामाजिक तथा सीपको विकास, रोजगारी सिर्जना र आयआर्जन वृद्धि गरी आर्थिक रुपान्तरण गर्ने उद्देश्य रहेको छ ।   रघुगङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले स्वीकृत गरेको नमूना ग्राम कार्यक्रमको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार कार्यक्रम कार्यान्वयन थालिएको बताउनुभयो ।   “गत माघमा रु ९६ करोडको डिपिआर स्वीकृत गरेर पहिलो चरणमा गाउँपालिकालाई पठाएको रु ११ लाख बजेटबाट सीपमूलक तालिम सञ्चालन गरेका छौँ”, उहाँले भन्नुभयो, “मन्त्रालय आफँैले पनि तालिम सञ्चालनका लागि थप रु छ लाख विनियोजन गरेको छ ।” सातवटा प्रदेशको एक–एकवटा पालिकामा लागू गरिएको कार्यक्रमका लागि गण्डकी प्रदेशको चिमखोलालाई छनोट भएको हो । प्रतिनिधिसभा सदस्य तथा पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाका अनुसार आर्थिक, सामाजिक र भौतिकरूपमा नमूना गाउँ बनाउन कार्यक्रम सञ्चालन गरिएको हो ।   भौतिक पूर्वाधारलाई बालबालिका, ज्येष्ठ नागरिक र महिलामैत्री बनाउने, लैङ्गिक समानता र विभेदरहित समाज निर्माण र नागरिकको आर्थिकस्तर सुधारमा सघाउ पुग्ने योजना तथा कार्यक्रमलाई समेटेर डिपिआर बनाइएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । सङ्घ, प्रदेश र स्थानीय तहको समन्वय र साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने अवधारण छ । मन्त्रालयबाट स्वीकृत भइसकेको कार्यक्रमलाई मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत र राष्ट्रपतिबाट घोषणा गराई विषयगत मन्त्रालयमार्फत डिपिआरमा उल्लेखित कार्यक्रम र योजनामा बजेट विनियोजन गर्ने व्यवस्था मिलाइएको छ ।

काठमाडौँ:  भारत सरकारले अनुमति दिएकै परिमाणमा विद्युत् निर्यात हुन थालेको छ । अघिल्ला वर्षमा वर्षाको समयमा जडित क्षमताअनुसार नै बिजुली उत्पादन हुँदा खेर जाने गरेको थियो ।   गत मनसुनमा मात्रै ५०० मेगावाट बराबरको बिजुली खेर गएको थियो । त्यसको बजार मूल्यमा हिसाब गर्दा रु पाँच अर्ब बराबर थियो । यस वर्ष भने प्राधिकरणले त्यो समस्या भोग्नुपरेको छैन । सरकारको सार्थक प्रयासका कारण यस वर्ष प्राधिकरणले बिजुली जगेडामा राख्नुपरेको छैन ।   आफ्ना विद्युत् उत्पादनगृह बन्द गरेर निजी क्षेत्रको बिजुली खरिद गर्नुपर्ने बाध्यतासमेत हटेको छ ।   गत वर्ष प्राधिकरणले अर्धजलाशय प्रकृतिका आयोजनाको उत्पादन बन्द गरेर निजी क्षेत्रका आयोजनाबाट बिजुली खरिद गर्नैपर्ने बाध्यताका कारण समस्या भोग्नुपरेको थियो । यसपटक प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको नियमित पहल र प्राधिकरणको प्राविधिक तथा अन्य तयारीका कारण सार्थक सफलता प्राप्त भएको छ ।   निर्यातका लागि प्राधिकरणले स्वीकृति पाएजति नै अर्थात ३६४ मेगावाट बराबरको बिजुली आजदेखि भारत निर्यात सुरु भएको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् यही जेठ १९ गतेदेखि भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरु गरेको हो ।   भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले ६ वटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी ३६४ मेगावाट विद्युत् आइएक्स मार्केटमा बिक्री गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको थियो । गत चैतमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोण पत्र जारी भएको थियो ।   त्यसलगत्तै प्राधिकरणले थप चार जलविद्युत्गृहबाट उत्पादित विद्युत् भारतमा निर्यातका लागि स्वीकृति पाएको थियो । आजदेखि निजी क्षेत्रको ग्रिन भेन्चर्सकोे लिखु–४ बाट उत्पादित विद्युत् निर्यात भएसँगै स्वीकृति पाएजति विद्युत् भारतीय बजारमा बिक्री सुरु भएको हो ।   प्राधिकरणको स्वामित्वका त्रिशूली तथा देवीघाटको ३७.७ मेगावाट, कालीगण्डकी ‘ए’को १४० मेगावाट, मध्यमस्र्याङ्दीको ६८ मेगावाट, मस्र्याङ्दीको ६७ मेगावाट र निजी क्षेत्रको लिखु–४ बाट उत्पादित ५१ मेगावाट विद्युत् दैनिकरूपमा भारतीय बजारमा निर्यात भइरहेको छ ।   पानी परेसँगै नदीनालामा पानीको बहाव बढेर विद्युत्गृह पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिकरूपमा खपत गरी अतिरिक्त भएको विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत दैनिकरूपमा भारतीय बजारमा निर्यात भइरहेको छ ।   प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्यातका लागि स्वीकृति पाएका सबै आयोजनाको विद्युत् भारतीय बजारमा बिक्री हुन थाल्नु दुई मुलुकबीचको विद्युत् व्यापारका लागि कोशेढुङ्गा भएको जानकारी दिनुभयो । “स्वीकृत क्षमताअनुसारकै विद्युत् निर्यात सुरु भएसँगै दुई मुलुकका प्रधानमन्त्रीले संयुक्तरूपमा जारी गरेको ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोण पत्र कार्यान्वयनको नयाँ चरणमा प्रवेश गरेको छ, यो दुई मुलुकबीचको विद्युत् व्यापारका लागि एउटा कोशेढुङ्गा हो, यसले दुई मुलुकबीचको व्यापार घाटालाई समेत कम गर्ने छ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । आन्तरिकरूपमा खपत गरी अतिरिक्त भएको सबै विद्युत् निर्यात गरिरहेको उहाँले बताउनुभयो ।   यसबाट मुलुकभित्र उत्पादित विद्युत् बिक्री गर्न नसकी खेर फाल्नुपर्ने अवस्था तत्कालका लागि अन्त्य भएको छ ।   आगामी दिनमा थप विद्युत् निर्यातका लागि स्वीकृतिका लागि भारतीय पक्षसँग निरन्तर छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । यसको नतिजा छिट्टै देखिनेमा आशावादी रहेको उहाँको भनाइ छ । उहाँले दुई मुलुकबीचको विद्युत् व्यापारलाई यो चरणसम्म ल्याउन पहल तथा सहयोग गर्ने सम्बद्ध सबै व्यक्ति र निकायलाई धन्यवाद दिनुभयो । आइएक्समा २४ घण्टालाई १५–१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ ।   त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणले शुक्रबारका लागि विद्युत्को अधिकतम र न्यूनतम मूल्य प्रतियुनिट क्रमश: १९.२ रुपैयाँ (१२ भारु) र ३.९९८४ रुपैयाँ (२.४९९ भारु) पाएको छ । औसत मूल्य प्रतियुनिट ११.४२ रुपैयाँ (७.१४ भारु) रहेको छ । भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट)मा विद्युत् बिक्री गरिन्छ । प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युत्को परिमाणसहित बिडमा प्रतिस्पर्धा छ ।   विद्युत् प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युत्को प्रतियुनिट बिक्रीदर तय हुन्छ । प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात् २४ घण्टा विद्युत् निर्यात गरिन्छ ।   प्राधिकरणकातर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभीएन)ले गर्छ । एनभिभीएनले हरेक दिनको कारोबारसम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउँछ । मुलुकको प्रणालीमा कूल दुई हजार ३०० मेगावाट बराबरको जडित क्षमता पुगेको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङका अनुसार हाल कूल आन्तरिक माग एक हजार ६३३ मेगावाट बराबर छ । प्रणालीमा लगातार बिजुली थप भइरहेको छ ।   चालु आवमा कूल ६२१ मेगावाट बिजुली थप भएको छ । केही आयोजनाबाट बिजुली थपिने क्रममा नै छ । आगामी आवमा कूल ७०० मेगावाट बढी बिजुली थप हुने सरकारले प्रक्षेपण गरिएको छ । हाल प्रणालीमा प्राधिकरणको १० हजार ६७७ मेगावाट घण्टा, प्राधिकरणका सहायक कम्पनीबाट ११ हजार २५१ मेगावाट घण्टा, निजी क्षेत्रका आयोजनाबाट १४ हजार ९२२ मेगावाट घण्टा बिजुली उपलब्ध छ । भारततर्फ बिजुली निर्यातको मात्रा बढेपछि टनकपुर बिन्दुबाट भने दुई हजार ८६ मेगावाट घण्टा बराबरको बिजुली आयात भइरहेको छ । पूर्वको बिजुली पश्चिम पठाउने प्रसारण लाइनको क्षमता नभएका कारणले गर्दा टनकपुरबाट बिजुली आयात गर्नु परिरहेको छ ।   पश्चिम क्षेत्रमा ठूला जलविद्युत् आयोजना नभएकाले त्यहाँको आन्तरिक माग धान्नका लागि पनि बिजुली आयात गर्नु परिरहेको छ । प्राधिकरणले कूल ८७ मेगावाट बिजुली आयात गरिरहेको छ । त्यसलाई वर्षाको समयमा रोक्नका लागि पनि पूर्वको बिजुली पश्चिम पठाउने प्रसारण लाइन निर्माणमा भइरहेको अवरोध हट्नु पर्छ ।   नवलपरासीको दुम्कीबासमा दुईवटा टावर निर्माणमा स्थानीयवासीले अवरोध गरेका कारण विगत १२ वर्षदेखि निर्माण सम्पन्न हुनसकेको छैन । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले लगातार प्रयास गरे पनि सर्वाेच्च अदालतले आवश्यक फैसला नगरिदिँदा प्रसारण लाइन निर्माण हुन नसक्दा नेपालले बिजुली निर्यात गरेको खबर सुनेका पश्चिम नेपालका नागरिक भने खुसी हुनसकेका छैनन् ।

गर्खाकोट:  जुनीचाँदे गाउँपालिका–५ गर्खाकोटमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।   अन्य नौ यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।   घाइतेमध्ये पाँचको अवस्था गम्भीर रहेको छ भने चार जनाको अवस्था समान्य रहेको गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष रामबहादुर नेपालीले जानकारी दिनुभयो ।   सुर्खेतबाट जुनीचाँदे केन्द्रतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१च०३४१ नंको जिप वडा नं ५ को गर्खाकोट (वेलपुइना) भन्ने स्थानमा दुर्घटनामा परेको हो ।   जिपमा ११ जना सवार रहेका थिए । घाइतेहरूको अवस्था गम्भीर रहेकाले हेलिकोप्टरको व्यवस्था गरिदिन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको प्रवक्ता नेपालीले बताउनुभयो ।   प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले उद्धारका लागि गाडी पठाइसकिएको र आधा घण्टापछि हेलिकोप्टरसमेत घटनास्थलमा पुग्ने बताउनुभयो ।

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले त्रिभुवन विश्वविद्यालयमा उच्चस्तरीय छानविन समिति गठन गर्न माग गरेको छ ।   नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले आज एक विज्ञप्ति जारी गरी त्रिविभित्रको भ्रष्टाचार, बेथिति र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको शृङ्खलाबद्ध प्रहारका बारेमा छानविन गर्न १५ दिनभित्र उच्चस्तरीय निष्पक्ष छानविन समिति गठन गर्न माग गर्नुभएको हो ।   अध्यक्ष शेर्पाले त्रिविमा भएको भ्रष्टाचार, बेथिति र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको शृङ्खलाबद्ध प्रहारको विरोधमा नेविसङ्घले विगत पाँच महिनादेखि लगाएको तालासमेत खोल्ने बताउनुभएको छ ।   उहाँले त्रिविभित्र हुने जुनसुकै अराजक गतिविधिलाई नियन्त्रण गर्नुपर्छ भन्ने मान्यता नेविसङ्घले लिएको बताउँदै शैक्षिक वातावरण बिथोल्ने आफ्नो सङ्गठनको कुनै मनसाय नरहेको स्पष्ट पार्नुभयो ।   अध्यक्ष शेर्पाले त्रिविमा नेविसङ्घ समर्थित विद्यार्थीलाई अनेक लाञ्छना लगाउँदै नेविसङ्घको सामाजिक, राजनीतिक र शैक्षिक योगदानमा हिलो छ्याप्ने कार्य भएको भन्दै दुःखसमेत व्यक्त गर्नुभएको छ ।

कास्की:  जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा  जिल्ला स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं.८ बस्ने वर्ष २५ को बिराज हमाल, पुतलीबाजार नगरपालिका ४ बस्ने वर्ष २६ को देवान्स थापा र आँधिखोला गाउँपालिका ३ बस्ने २० वर्षिय मनीष पौडेल रहेका छन् ।   कास्की प्रहरीका अनुसार उनीहरुलाई गत २५ गते करिब साढे ४ बजे लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला पोखरा ९ नागढुंगाबाट लागुऔषधसहित पक्राउ गरिएको हो ।   उनीहरुको साथबाट ७० एम्पुल डाईजापाम,१२० एम्पुल फेनेरागन, ९५ एम्पुल नुर्फिन गरी कुल २८५ एम्पुल लागुऔषध र ४ थान मोबाइल बरामत गरेको कास्कीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक सुन्दर तिवारीले बताए ।    उनका अनुसार पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतबाट लागुऔषध सम्बन्धि कसुरमा ७ दिन म्याद थप गरि अनुसन्धान अगाडी बढाइएकोे छ ।