तनहुँः पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भासिदा दुईतर्फी सवारी आवगमनमा अवरुद्ध भएको छ । सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला परेको छ । मृतक दुवैको सनाखत हुन नसकेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिनुभयो । पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजीकार्य गरिरहेको छ । उहाँले भन्नुभयो, “नदीमा मोटरसाइकल र कारको पाटपुर्जा भेटिएकाले मानवीय क्षति बढ्न सक्ने सङ्केत देखिएको छ ।” गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको तलको भाग कटान गर्दा सडक भाँसिएर जोखिम र राजमार्ग अवरुद्ध बनेको छ । सडकको तलाको भाग भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
तनहुँः पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा भासिएको सडकबाट एउटा कार र मोटरसाइकल खसेको छ । निरन्तर परेको वर्षाका कारण आज बिहान भासिएको सडकबाट कार र मोटरसाइकल खसेको हो । मोटरसाइकल खसे पनि मोटरसाइकल चालक भने सकुसल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । कार भने नदीमा पुगेको छ । “कार पहिराले पुरिएको छ, माथिबाट हेर्दा अलि अलि मात्रै देखिएको छ”, उहाँले भन्नुभयो, “कारमा कति मान्छे थिए भन्ने खुलेको छैन ।” उद्धार टोली घटनास्थलमा पुग्ने क्रममा रहेको खड्काले बताउनुभयो । घटनास्थलमा नेपाली सेनाको टोली जाँदैछ ।
काठमाडौँ : काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको सम्बन्धमा सहमति जुटेको छ । गए राति अबेरसम्म भएको वार्तामा आन्दोलनरत स्थानीय, जनप्रतिनिधि र काठमाडौँ महानगरबीच सिसडोल, बञ्चरेडाँडा कुँडुले ल्याण्डफिल्ड साइडमा फोहोर व्यवस्थापनको समस्या समाधान गर्न १८ बुँदे सहमति जुटेको हो । सहमतिअनुसार रातिको समयमा मात्रै काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्नुपर्ने छ । त्यसैगरी फोहोर व्यवस्थापन गर्दै आएको क्षेत्रको वैज्ञानिक अध्ययन गरी प्रभावित क्षेत्र छुट्याउने, सिसडोल, बञ्चरेडाँडा ल्याण्डफिल्ड क्षेत्रको फोहोरको दुर्गन्ध हटाउनुपर्ने, फोहोर बोक्ने गाडीबाट लिच्चड नचुहिने व्यवस्था एक महिनाभित्र गरिसक्नुपर्नेजस्ता विषयमा सहमति भएको छ । प्रभावित क्षेत्रका तर्फबाट भएको सहमतिपत्रमा नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ र २ का अध्यक्ष तथा धादिङको धुनिबेँसी नगरपालिका वडा नम्बर १ र ३ का अध्यक्षले हस्ताक्षर गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाको तर्फबाट प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर गर्नुभएको छ । गत सोमबार साँझ पनि सहरी विकासमन्त्री, काठमाडौँ महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेँसी नगरपालिकाका प्रतिनिधिबीच मङ्गलबारदेखि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्न ११ बुँदे सहमति गरे पनि सिसडोलका स्थानीयले पुनः अवरोध गरेपछि फोहोर व्यवस्थापन हुन सकेको थिएन । यसअघि भएको सहमतिको व्यवास्ता गर्दै बोकेर बञ्चरेडाँडा पुगेको गाडीलाई स्थानीयले ढुङ्गामुडा गरेपछि प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो । स्थानीयको निरन्तर अवरोधका कारण विगत १३ दिनदेखि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुन सकेको थिएन ।
काठमाण्डौँ : आजको मौसम प्रणालीमा नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र पश्चिमी तथा मध्य भूभागमा स्थानीय वायुको प्रभावका साथै भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले प्रदेश १, मधेस प्रदेश र बाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही, प्रदेश १, मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको छ । राजधानी काठमाडौँ उपत्यकामा बिहान पारिलो घाम लागेको छ । उपत्यकाको आकाशमा सामान्य तुवालो लागेको देखिन्छ । दिउँसो प्रदेश १, मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा मधेस प्रदेशसहित अन्य प्रदेशका पहाडी भेगका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको अधिकतम २६ दशमलव ५ र न्यूनतम तापक्रम १९ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।
काठमाडौं: देशभर पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ७५३ को नमूना परीक्षण गरिएको थियो । एक हजार ६५५ ले पिसीआर र एक हजार ९८ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा नौ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार १७१ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक लाख १७ हजार ११७ ले कोभिडविरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ११२ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । होमआइसोलेसनमा ११२ जना सङ्क्रमित रहेका छन् । हाल देशभरमा २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला कुनै पनि छैनन् । शून्य सङ्क्रमित रहेका जिल्लामा ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, भोजपुर, इलाम, तेह्रथुम, ताप्लेजुङ, पर्सा, सप्तरी, बारा, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, मकवानपुर, चितवन, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, रुकुमपूर्व, कपिलवस्तु, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुम पश्चिम, कालीकोट, मुगु, सुर्खेत, कालीकोट, बाजुरा, दार्चुला, बझाङ, डडेल्धुरा र कञ्चनपुर रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा ३२, ललितपुर चार र भक्तपुरमा पाँच सक्रीय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । कूल सङ्क्रमण दर १७ दशमलव एक प्रतिशत छ ।
काठमाण्डौँ : कुनै पनि सरकारी निकायका कर्मचारी नियुक्त गर्दा त्यसको कामका आधारमा छनोट गरिन्छ । सोही आधारमा शैक्षिक योग्यताको क्रम निर्धारण गरिन्छ । काम र शैक्षिक योग्यतालाई ध्यान दिएर निश्चित प्रक्रिया पूरा गरेर मात्रै कर्मचारी चयन गरिन्छ । संवैधानिक निकायको रुपमा रहेको लोकसेवा आयोगले परीक्षालगायतका कार्यक्रम सञ्चालन गर्दछ तर, एउटा सरकारी निकायले भने शैक्षिक योग्यता नमिल्ने व्यक्तिलाई नियुक्ति गरेर गैरकानुनी काम गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको मुद्दाअनुसार राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कृषि प्राविधिक र लेखापाल पदमा कर्मचारी नियुक्त गर्दा शैक्षिक योग्यता नमिल्ने कर्मचारी नियुक्त गरेको पाइएको हो । आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार २०७२ असोज २ गते गोरखापत्रमा प्रकाशित सूचनाअनुसार विभिन्न पदमा पदपूर्तिका लागि विज्ञापन गरेको थियो । बोर्डका कार्यकारी निर्देशकले पदपूर्ति समितिको संयोजक रही कृषि प्राविधिक र लेखापाल पदमा योग्यता नमिल्ने व्यक्तिलाई नियुक्ति गरेका थिए । शैक्षिक योग्यता हेर्ने परीक्षण गर्न सावधानी अपनाउनुपर्नेमा तोकिएको न्यूनतम शैक्षिक योग्यता नमिल्ने व्यक्तिको दरखास्त फारम स्वीकृत गर्ने र गर्न आदेश दिने काम गरेको पाइएको आयोगको ठहर छ । गैरकानुनीरुपमा दरखास्त स्वीकृत गर्ने कर्मचारीले प्रचलित कर्मचारी सेवा शर्त विनियमावली अनुसारको शैक्षिक योग्यताको तथ्यलाई लुकाएको पाइएको छ । आयोगले बोर्डका तत्कालीन कार्यकारी निर्देशक शेषकान्त गौतम, दरखास्त स्वीकृत गर्ने कर्मचारी तत्कालीन प्रशासन प्रमुख रघुपति चौधरी, कृषि विकास अधिकृत गौरव लुइँटेल र लेखा अधिकृत टङ्कप्रसाद ओलीविरुद्ध मुद्दा दायर गरिएको छ । आयोगले आरोपी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को सोही दफाबमोजि सजायको मागदाबी गरिएको सहायक प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।
काठमाडौं: नेपाली लेखक संघले सवारी साधनका इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा लेखिनुपर्ने माग गरेका छन्। संघका अध्यक्ष तीर्थ श्रेष्ठले बुधबार विज्ञप्ति निकालेर अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट लेखिनु खेदजनक रहेको उल्लेख गरेका छन्। अंग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णयले नेपाली भाषाको अवमूल्यन गरेको लेखक संघको भनाइ छ।सरकारी कामकाजको भाषा नेपाली हुनुपर्ने संविधानले स्वीकार गरेको पनि उनीहरूले बताएका छन्।
पोखरा: भूमिअधिकारबाट वञ्चितहरुको हक अधिकार सुनिश्चित गर्नका लागि वकालत गर्दै आएको भूमिअधिकार मञ्च काक्कीका प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यलाई भेटी ३ बुदें माग पत्र पेश गरेका छन् । मञ्चका कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङको नेतृत्वमा प्रदेश सदस्यहरु रामबहादुर लामिछाने र टेकबहादुर पुन, कास्की जिल्ला सदस्य हरिकुमारी गुरुङ र पोखरा महानगर अध्यक्ष लेखमाया थापाको टोलीले आज मागपत्र पेश गरेका हुन् । मेयर आचार्यले मागपत्र ग्रहण गर्दै भूमिहिनको पक्षमा काम गर्ने बताए । उनले आगामी २÷३ वर्ष भित्रमा समस्या समाधानको लागि पहल गर्ने उल्लेख गरे । सो पत्रमा पोखरा महानगरपालिका र ३३ वटै वडाहरुमा राष्ट्रिय भूमि आयोजको सहजीकरण समितिमा मञ्चको तर्फबाट १ महिला र १ पुरुषलाई मनोनित गर्नुपर्ने उल्लेख गरिएको छ । त्यसैगरी पत्रमा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थीत बासिन्दालाई भोगाधिकारको आधारमा सोही स्थानमा जग्गाको नाप नक्सा गरी निस्सा उपलब्ध गराई पूर्जा सहितको व्यवस्था गर्न माग गरिएको छ । विगत २०६८ सालमा नेपाल सरकारले गठन गरेको सुकुम्बासी समस्या समाधान आयोगले भूमिहिन सुकुम्बासीहरुलाई छानविन गरी उक्त बस्तीहरुमा जग्गा नाप नक्सा समेत तयार गरी सुकुम्बासी परिचयपत्र वितरण गरेको हुनाले उक्त प्रमाणलाई आधारमानी निजहरुलाई सोही स्थानमा श्रेस्ता कायम गरी पूर्जा वितरण गरियोस् भन्ने पत्रमा उल्लेख गरिएको मञ्चका कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङले जानकारी दिए ।
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संयुक्त राष्ट्र संघका सहायक महासचिव कान्नी विंगाराजा नेतृत्वकोे टोलीबीच मुख्मन्त्री कार्यालयमा बिहीबार औपचारिक भेट भएको छ । उक्त अवसरमा नेपालका लागि फ्रान्सका राजदूत गिल्स बौरबाओ, नेपालका लागि संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका नेपाल प्रतिनिधि आइसाने मेडागान्गोडा लाबे, इसिमोडका महासचिव एवं कोइकाका नेपाल प्रतिनिधि लगायत सहभागी थिए । गण्डकी प्रदेशका तर्फबाट पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेल, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्ले, प्रमुख सचिव रविलाल पन्थ, सचिव ज्ञानेन्द्र पौडल, मुख्यमन्त्रीका राजनीतिक सल्लाहका खड्गबहादुर कमाल भेटमा सहभागी थिए । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को एसिया प्यासिफिक रिजनल ब्युरो डाइरेक्टर समेत रहेकी कान्नीसँगको भेटमा मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश देशको पर्यटकीय राजधानी भएकाले पर्यटन क्षेत्रको समग्र विकासमा सहकार्य गर्नेे इच्छा व्यक्त गरे । उनले भने, ‘संघीयताको सुदृढीकरण, सेवा प्रवाहको प्रभावकारिता, जनप्रतिनिधि तथा कर्मचारीको क्षमता अभिवृद्धि, तथ्यांक तथा अभिलेख व्यवस्थापन र अनुभवहरुको आदान प्रदानमा यहाँहरुको सहयोगको अपेक्षा मैले गरेको छु ।’ गण्डकी प्रदेश सरकारले युएनडिपी सँगको सहकार्यमा ‘दिगो पर्यटन पुनरुत्थान परियोजना’ सञ्चालन गर्न नेपाल सरकारले स्वीकृति दिएको जानकारी उनले गराए । युएनडिपीको कार्यालय पोखरामा खोल्न पनि उनले आग्रह गरे । सहायक महासचिव कान्नी विंगाराजाले दिगो पर्यटन विकासका लागि नेपालसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताइन् । ‘दिगो पर्यटन पुनरुत्थान परियोजना’ सञ्चालनका लागि नेपाल सरकारले अनुमति दिएकोमा उनले खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘साझा समस्या समस्या समाधान गर्न साझा प्रयत्न जरुरी छ । गरिबी, भोकमरी अन्त्यका लागि दिगो विकासका लक्ष्य हासिल गर्न सबैले सँगै यात्रा गर्नुपर्छ ।’ मुख्यमन्त्री पोखरेलले सुशासनको प्रत्याभूति, संघीयताको सुदृढीकरण र विकासका कार्यमा प्रदेश सरकारको ध्यान केन्द्रित भएको छ । ‘हामी अहिले कोभिडले थला पारेको सामाजिक तथा आर्थिक अवस्थालाई पुनरुत्थान गर्न अग्रसर छौं । विषम परिस्थिति पार गर्दै गर्दा स्वास्थ्य, शिक्षा र समग्र विकास प्रणालीलाई फरक ढंगबाट सम्बोधन गर्नका लागि आवश्यक तयारी थालिसकेका छाैं,’ उनले भने । पर्यटन, उद्योग, कृषि आदिको पुनरुत्थानका लागि गण्डकी सरकारले काम आरम्भ गरिसकेको उनले बताए । दिगो विकास लक्ष्यलाई आन्तरिकीकरण गरी कार्यान्वयनमा लैजानुका साथै दिगो विकास लक्ष्य हासिल गर्न नसकिने हुँदा यसको स्थानीयकरणको कार्य थालेको उनले बताए । मुख्यमन्त्री पोखरेलले मित्रराष्ट्र फ्रान्सले दशकौंदेखि नेपालको विकासमा पुर्याउँदैं आएको सहयोगका लागि राजदूतमार्फत् फ्रान्स सरकार र फ्रान्सेली जनताप्रति हार्दिक आभार व्यक्त गरे । यसैगरी नेपालले विकासका विविध आयाम र प्रविधिमा दक्षिण कोरियाबाट सहयोग पाउनुका अतिरिक्त नेपाली श्रमिकहरुले त्यहाँ सेवा गर्ने अवसर पाएको मुख्यमन्त्रीले बताए । गण्डकी विश्व विद्यालय र गण्डकी प्रदेश प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानले कोइका समक्ष राखेको प्रस्तावबारे उनले स्मरण गराए । इसिमोडले गरेका अनुसन्धान नेपालका लागि उपयोगी हुँदै आएको भन्दै मुख्यमन्त्री पोखरेलले पर्वतमालाको संरक्षण र वातावरण संरक्षणमा इसिमोडले खेलेको भूमिको प्रशंसा गरे । मुख्यमन्त्री पोखरेल, सहायक महासचिव कान्नीसहितको टोलीले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय परिसरमा वृक्षरोपण गरेको छ । सांकेतिक रुपमा गमलामा रोपिएका बिरुवा उपयुक्त ठाउँमा सारेर चौतारी निर्माण गरिने पर्यटन मन्त्री कँडेलले जानकारी गराए । सहायक मन्त्रीसहितको टोलीले बिहीबार पोखराको सराङकोट, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय लगायत स्थानको अवलोकन गरेको छ ।

