कैलाली : कैलालीको टीकापुर नगरपालिका वडा नं. २ को जनशक्ति सामुदायिक वन क्षेत्र भित्रको मूलपानी आन्तरिक पर्यटकहरुको आकर्षणको केन्द्र बन्न थालेको छ । कर्णाली नदी किनारमा नदीजन्य पदार्थ उत्खनन् गर्दा भएको खाल्डोमा जमिनबाट पानी आउन थालेपछि त्यसलाई स्थानीयवासीले गर्मी याममा नुहाउने स्थान बनाएका थिए । विस्तारै त्यस स्थानको प्रचारप्रसार हुन थालेपछि मूलपानीका नामले परिचित बनेको स्थल अहिले आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको हो । यतिबेला गर्मीबाट शितलताको अनुभूति गर्न मूलपानीमा नुहाउन जानेको भिड लाग्ने गरेको छ । गर्मी यामका लागि मूलपानी उपयुक्त स्थान बनेकाले दैनिक पाँच सयदेखि एक हजारसम्म आन्तरिक पर्यटकहरु नुहाउनकै लागि पुग्ने गरेका छन् । टीकापुर नगरपालिकाका विकास चौधरीले मूलपानी क्षेत्रको संरक्षण र प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि राम्रो गन्तव्य बन्न सक्ने बताउनुभयो । नजिकैको कर्णाली नदीको पानी उपयोग गर्न सके मूलपानी क्षेत्रको महत्व बढ्ने उल्लेख गर्दै उहाँले पर्यटकीय क्षेत्रको प्रचारप्रसार र संरक्षणमा स्थानीय सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयोे । “मूलपानीमा नुहाउनका लागि मात्रै नभइ पिकनिक स्थलको रुपमा पनि प्रयोग गर्न सकिने भएकाले सामुदायिक वनसँग समन्वय गरेर स्थानीय सरकारले त्यस स्थानको संरक्षण र संवर्धन गर्न सक्नुपर्छ,” स्थानीवासीचौधरीले भन्नुभयो, “एकाएक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको मूलपानी भविष्यको राम्रो गन्तव्य बन्न सक्छ ।” टीकापुर नगरपालिकाका भूपेन्द्र साउदले मूलपानी गर्मी यामका लागि निकै उपयुक्त पर्यटकीय गन्तव्य भएको बताउनुभयो । उहाँले गर्मी छल्न आउने पर्यटकहरुको मूलपानीमा भिड नै लाग्ने गरेको बताउँदै संरक्षणको अभावले बन्न लागेको पर्यटकीय गन्तव्य ओझेलमा पर्न दिननहुनेमा जोड दिनुभयो । “यसक्षेत्रमा राज्यको लगानी हुन जरुरी छ । नजिकैको टीकापुर पार्क र कर्णाली चिसापानीका कारण पनि मूलपानीको प्रचारप्रसार भए पर्यटकका लागि नयाँ गन्तव्य स्थापित हुनसक्छ ।” साउदले भन्नुभयो, मूलपानीलाई समेत जोडेर पर्यटकीय प्याकेज बनाउन सकेको खण्डमा पर्यटकहरुलाई झन आकर्षित गर्न मद्दत मिल्नेछ ।” मूलपानीमा अहिले दुईवटा तलाउ बनेका छन् । एकातिर महिलाहरू र अर्कोतिर पुरुषहरुले नुहाउने व्यवस्था छ । तलाउको वरिपरि तारबार लगाएर सुरक्षित बनाइएको छ । सामुदायिक वनले मूलपानी क्षेत्रमा भ्यू टावर निर्माण गरेको छ । कर्णाली नदीको अवलोकनका लागि निर्माण गरिएको भ्यू टावर पूर्ण भने हुन सकेको छैन । बजेटको अभावका कारण निर्माणका लागि सुरु गरिएका संरचना पूरा गर्न नसकिएको सामुदायिक वनका अध्यक्ष दीर्घबहादुर तिरुवाले बताउनुभयो । नजिकै पार्क निर्माणको सुरुवात गरिएको छ । पार्कमा केही खेलौनाहरु समेत राखिएका छन् । “मूलपानीलाई व्यवस्थित गर्न सके बाह्य पर्यटकलाई समेत भित्र्याउन सकिन्छ । त्यसका लागि नगरपालिका क्षेत्र भित्रका सबै पर्यटकीय गन्तव्यहरुलाई समेटेर एउटै प्याकेज बनाउनु पर्छ ।“ अध्यक्ष तिरुवाले भन्नुभयो, “ती स्थललाई त्यसैअनुसार प्रचारप्रसार गर्न सक्नुपर्छ । बजेटको उचित व्यवस्था गरिनुपर्छ । सम्भावित क्षेत्रको पहिचान गरी संरक्षणमा समेत ध्यान पुर्याउनुपर्छ । अहिले मूलपानी क्षेत्र पर्यटकहरुको आकषर्णको केन्द्र बन्दा सामुदायिक वनको आम्दानीको स्रोत पनि बढेको छ । वनले मूलपानी प्रवेश गरेको १० रुपैयाँ लिन्छ । त्यही आम्दानी भएको रकमले थप पूर्वाधारहरु निर्माणमा सहयोग पुगेको वनका अध्यक्ष तिरुवाले बताउनुभयो । टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौंराले नगरपालिका क्षेत्र भित्रका पर्यटकीय गन्तव्यको पहिचान गरी सबै क्षेत्रको संरक्षण सम्बर्धन र प्रचारप्रसारका लागि नगरपालिकाले पहल गर्ने बताउनुभयो । उहाँले टीकापुर पार्कलाई मात्रै नभई डल्फिन क्षेत्र, पदमप्रकाश्वर मन्दिर, मूलपानी क्षेत्रलगायत सबै सम्भावित क्षेत्रलाई समेटेर टीकापुरलाई पर्यटकको हबको रुपमा विकास गर्न सकिने जानकारी दिँदै त्यसका लागि सबै क्षेत्रको समन्वय र सहकार्य आवश्यक भएको उल्लेख गर्नुभयो ।
तनहुँ: पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी ४ स्थित ड्याम नजिक सडक भासिदा फेला परेको एउटा शवकाे सनाखत भएको छ । भने एक जनाको पहिचान अझै खुल्न सकेको छैन । तनहुँ प्रहरीका अनुसार सनाखत हुनेमा गोरखाको छोप्राकका ३५ वर्षीय केशव घिमिरे रहेका छन् । सडक भासिदा बा १० च ४६७९ नम्बरको कार पुरिएको थियो । खोजतालासको क्रममा दुइवटा शव प्रहरी टोलीले फेला परेको थियो । मोटरसाईकल पनि खसेपनि मोटरसाइकल चालकको भने जिवितै उद्धार गरिएको थियो ।
चितवनः नारायणगढ–मुग्लिन सडकखण्डमा पहिराले अवरुद्ध सडक नियमित भएको छ । इच्छाकामना गाउँपालिका वडा नं ६ तोपे खोलामा बिहान ८: ४५ बजे खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालन भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ११ः १५ बजेबाट सडक दुईतर्फी सञ्चालनमा आएको छ । बुधबार रातिदेखि पहिराका कारण सो सडक पटकपटक अवरुद्ध हुँदै आएको छ । सवारीको लामो लाइन भएका कारण सडकखण्ड पार गर्न घण्टौँ समय लाग्ने गरेको छ ।
काठमाण्डौँः प्रतिनिधिसभाको बैठकले दुई विधेयकलाई स्वीकृत गरेको छ । आज बसेको बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक–२०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक–२०७९’ लाई सर्वसम्मतले स्वीकृत गर्दै दफाबार छलफलका लागि समितिमा पठाइएको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्माले प्रतिनिधिसभामा ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक–२०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक–२०७९’ दफाबार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मत स्वीकृत गरी पारित गर्दै स्वीकृत गरिएको हो । अब ती दुई विधेयकमाथि सम्बन्धित समितिमा दफाबार छलफल हुनेछ ।
काठमाण्डौँः पर्वतारोही र पर्वतारोहण व्यवसायमा आवद्ध व्यवसायीहरूको छाता सङ्गठन नेपाल पर्वतारोहण सङ्घको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा मतदान जारी छ । सङ्घको अध्यक्ष पदका लागि पर्यटन व्यवसायी निमानुरु शेर्पा र राजेन्द्रमान श्रेष्ठले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । शेर्पाले प्यानलसहित उम्मेदवारी दिनुभएको छ भने श्रेष्ठको अध्यक्षमा मात्रै उम्मेदवारी परेको छ । सङ्घको निर्वाचनमा दुई समूहले प्यानलसहित उम्मेदवारी दिएको छ । अध्यक्षसहित पदाधिकारी र सदस्य पदका लागि शेर्पा समूहले उम्मेदवारी मनोनयन गराएको छ । यस्तै पर्वतारोही माया शेर्पा समूहले पनि छुट्टै मनोनयन दर्ता गराएको छ । यद्यपि माया शेर्पाले अध्यक्षमा निमानुरु शेर्पालाई समर्थन गर्नुहुने भएको छ । शेर्पा नेतृत्वको समूहमा वरिष्ठ उपाध्यक्षमा ठाकुरराज पाण्डे, प्रथम उपाध्यक्षमा दावा शेर्पा, द्वितीय उपाध्यक्षमा दावा याङजुङ शेर्पा, महासचिवमा मोहन लम्साल, सचिवमा धनबहादुर गुरुङ र कोषाध्यक्षमा मुक्ति पाण्डे उम्मेदवार हुनुहुन्छ । त्यस्तै सदस्यमा सिङ्गी लामा, राजेन्द्रबहादुर लामा, रामचन्द्र धमला, नामग्याल जाङ्बु शेर्पा, नोर्बुछिरिङ शेर्पा (लामा), पासाङदावा शेर्पा, दिनेश तामाङ, उर्गादेवी श्रेष्ठ, डोमा शेर्पा, पिताम्बर गुरुङ र ङिमा डोमा शेर्पा छन् । मार्या शेर्पा समूहबाट वरिष्ठ उपाध्यक्षमा माया शेर्पा (पर्वतारोही), प्रथम उपाध्यक्षमा नुरू जाङबु शेर्पा, द्वितीय उपाध्यक्षमा साकी तामाङ, महासचिवमा आङपेम्वा शेर्पा, सचिवमा शिवबहादुर सापकोटा, कोषाध्याक्षमा फुरीगेल्जेन शेर्पा हुनुहुन्छ । त्यसैगरी सदस्यमा पेम्बा शेर्पा, कान्छानुर्बु शेर्पा, पासाङ शेर्पा, दावाटसी शेर्पा, ल्हाक्पादेण्डी शेर्पा, दाबुटी शेर्पा, आङदावा शेर्पा, चेङाछिरिङ शेर्पा, फुरदिकी शेर्पा, लक्मी तामाङ र किसान गुरुङ छन् । प्रज्ञा भवनमा विहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ । सङ्घको दुई हजार ४९ सदस्यमध्ये नवीकरण भएका कूल एक हजार २१५ मतदाता रहेका छन् । अध्यक्षसहित पदाधिकारी र सदस्य गरी २७ सदस्यीय कार्यसमितिका लागि निर्वाचन हुनलागेको सङ्घका महासचिव कुलबहादुर गुरुङले जानकारी दिनुभयो ।
पोखरा: पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले कोरोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत दोस्रो डोज लगाइसकेकालाई बुस्टर डोजका लागि सुचना सार्वजनिक छ । दोस्रो डोज लगाइसकेकालाई बुस्टर डोजका लागि सुचना सार्वजनिक गर्दै जानकारी दिएको छ । पोखरा महानगरको स्वास्थ्य महाशाखाले जारी गरेको सुचना अनुसार जेठ २७ गते (आज) महानगरको ५ वटा स्थानमा खोपको व्यवस्था गरेको हो । पोखरा महानगरपालिका २ विन्ध्यबासिनीस्थित शहरी स्वास्थ्य केन्द्र, पोखरा महानगरपालिका १९ स्थित लक्ष्मी नारायण मन्दिर, पोखरा महानगरपालिका ५ मालेपाटनस्थित शहरी स्वास्थ्य केन्द्र, पोखरा महानगरपालिका ७ रत्नचोकस्थित शहरी स्वास्थ्य केन्द्र र पोखरा महानगरपालिका १० रामबजारस्थित शहरी स्वास्थ्य केन्द्र गरि कुल ५ स्थानमा बुस्टर डोज लगाउन पाइनेछ । कोभिशिल्ड, भेरोसेलको दोस्रो मात्रा लगाइसकेको ३ महिना पुरा भएको खोपकार्ड अनिवार्य रुपमा साथमा लिएर जानुपर्नेछ । त्यसैगरि जोनसेन र फाइजरको बुस्टर खोपको पनि व्यवस्था रहेको बताइएको छ ।
सुर्खेतः जिल्ला समन्वय समिति (जिसस) सुर्खेतको नेतृत्व चयनका लागि मतदान जारीे छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानस्थल सुर्खेत सभाहलमा बिहान १० देखि सुरुभएको मतदान दिउँसो १ बजेसम्म निर्वाचन जारी रहने छ । जिससका लागि सुर्खेतमा कुनै पनि दलसँग स्पष्ट बहुमत छैन । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले तालमेल गरी उम्मेदवारी दिएका छन् भने नेपाली कांगे्रसले प्रमुख र केही सदस्य पदमा मात्र उम्मेदवारी दिएको छ । कांगे्रस जिल्ला सचिव देवकुमार सुवेदीले जिससका नौमध्ये पाँच पदमा मात्र उम्मेदवारी दिएको जानकारी दिनुभयो । कांगे्रसबाट प्रमुखमा दिलीपकुमार वाग्ले, सदस्यहरूमा उजिरसिंह कामी, रत्नादेवी ढुङ्गाना, लीलाजङ्ग शाह र गौरी दमाईको उम्मेदवारी छ । सत्ता गठबन्धनको केन्द्रीय निर्देशनानुसार साझेदार दल माओवादी केन्द्रका लागि बाँकी पद छाडेको र मतदानको बेलासम्म माओवादी केन्द्र सहमतिमा आउने सम्भावना रहेको सचिव सुवेदीको भनाइ छ । एमाले–माओवादी केन्द्रका तर्फबाट प्रमुखमा एमालेका गङ्गाराम सुनार, उपप्रमुखमा माओवादी केन्द्रका सचिनकुमार बडुवालको उम्मेदवारी छ । सदस्यहरूमा एमालेबाट डिल्लीप्रसाद पाण्डे, पृथ्वीबहादुर बुढाक्षेत्री, चन्द्राकुमारी धामी, मीना मल्ल, सावित्रा टमटा तथा माओवादी केन्द्रबाट शान्ति तारामी र तुलबहादुर नेपाली उम्मेदवार हुनुहुन्छ । जिससमा स्थानीय तहका प्रमुख–उपप्रमुखले मात्र मतदान गर्न पाउने व्यवस्था छ । सुर्खेतमा नौ स्थानीय तहका १८ मतदाता छन् । तीमध्ये एमालेका नौ, कांगे्रसका आठ र माओवादी केन्द्रका एक छन् ।
काठमाण्डौँः वैदिक सनातन धर्मावलम्बीले आ –आफ्नो घरको मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महीनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महीनालाई चतुर्मास पनि भनिन्छ । चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । निर्जला एकादशी समेत भनिने भएकाले यस दिन पानी समेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उहाँले जानकारी दिनुभयो । आयुर्वेदिक रुपमा पनि लाभकारी औषधी मानिने तुलसी विभिन्न रोगको उपचारमा समेत प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ ।
काठमाण्डौँः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई अधिक स्थानमा विजयी गराउने जिकिर गर्नुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले एमाले सङ्घीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहनाका साथै संविधान निर्माणमा महत्वपूर्ण भूमिका निभाएका कारण जनताले संसदीय निर्वाचनमा पहिलो पार्टी बनाउने धारणा राख्नुभयो । अध्यक्ष ओलीले आगामी संसदीय निर्वाचनमा अन्य कुनै वामपन्थी पार्टीसँग गठबन्धन नहुने बताउनुभएको छ । उहाँले मुलुकमा एमाले मात्र वामपन्थी पार्टी रहेको जिकिर गर्दै अन्य पार्टीहरु वामपन्थी नभएको आरोप लगाउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले नेकपा एकीकृत (समाजवादी)का कार्यकर्तालाई एमालेमा आए समाहित गरिने बताउनुभयो । उहाँले आफुले अन्य पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने सम्बन्धमा कुनै आश्वासन नदिएको बताउनुभयो । उहाँले स्थानीय पालिकाको निर्वाचनले सबै निर्वाचनको स्थिति तय नगर्ने भन्दै सिट सङ्ख्याका हिसाबले केही कम आएर दोस्रो भए पनि लोकप्रिय मतका हिसाबले पार्टी पहिलो भएको जिकिर गर्नुभयो ।

