लमजुङः जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मर्स्याङ्दी जलविद्युत आयोजनाको ड्यामका कारण १४ घरधुरी उच्च जोखिममा परेका छन् । उनान्सत्तरी मेगावाट विद्युत् उत्पादन क्षमता रहेको उक्त आयोजनाको ड्यामले बस्ती डुबान र कटान गर्दै जाँदा त्यस क्षेत्रका बासिन्दाको उठिबास हुने अवस्था सिर्जना भएको हो । ड्यामले ऐलानी जग्गा मिच्दै आएर अहिले व्यक्तिका जग्गासमेत कटान गर्दा मानवबस्ती जोखिममा रहेको मर्स्याङ्दी जल उत्पन्न प्रकोप सङ्घर्ष समितिका अध्यक्ष विष्णु पराजुलीले बताउनुभयो ।मानवीय क्षति हुने खतरा देखिएकाले जतिसक्दो चाँडो आयोजनाले आफूहरुलाई मुआब्जा दिएर सुरक्षित स्थानमा स्थान्तरण गर्न स्थानीयवासीले माग गरेका छन् । ड्यामका कारण आँबुखैरेनी–१को ३६ रोपनी जमिन कटान गरेको उनीहरुको गुनासो थियो । पर्खाल लगाइदिएर बस्ती सुरक्षित गरिदिन पटक–पटक आग्रह गरिए पनि आयोजनाले बेवास्ता गर्दै आएको समितिका अध्यक्ष पराजुलीले जानकारी दिनुभयो । “वर्षायामको समयमा आएर ग्याबिन जाली भरेर झारा टार्ने काम भएको छ, उहाँले भन्नुभयो, “समयमै उचित व्यवस्थापन नगरिए ठूलो मानवीय क्षति हुने सम्भावना देखिएको छ ।” विसं २०७८ असार १ गते आएको अविरल वर्षाका कारण मर्स्याङ्दी ड्याम आसपास क्षेत्रका बस्तीमा क्षति पुर्याउँदा जोखिम बढ्दै गएको स्थानीय पीडित सुन्दरबहादुर बानियाँले बताउनुभयो । बाढीले क्षति बनाएको थाहा पाएपछि गत वर्ष असार १५ गते आयोजनालाई जमिन संरक्षणका लागि जानकारी गराइए पनि हालसम्म कुनै सुनुवाइ नभएपछि चरणबद्ध आन्दोलनको घोषणा गरिएको उहाँको भनाइ थियो । हाम्रा पीडामा सुनुवाइ नभए ड्याम खोल्न लगाएर विद्युत् उत्पादन बन्द गराउने, कर्मचारीलाई कार्यालय प्रवेशमा रोक, सडक आन्दोलनगायत कार्यक्रम गरिने छ । उहाँले भन्नुभयो, “ड्याममा यसअघि दुई बालकसहित पाँच जनाले अकालमा ज्यान गुमाएको र अझै पनि त्यस्तो घटना हुनसक्ने वातावरण छ ।” स्थानीय तारा मगरले करिब रु डेढ करोडको लगानीमा जग्गा र घर निर्माण गरेर होटल व्यवसाय सञ्चालन गर्दै आए पनि घर भत्किन थालेपछि व्यवसाय गर्न नसक्दा बैंकको ऋणसमेत तिर्न नसकेको गुनासो गर्नुभयो । घर कतिखेर ड्याममा मिसिन्छ भन्ने डर छ । उहाँले भन्नुभयो, “अन्यत्र गएर बसौँ भने पनि आफ्नो भएको सम्पत्ति नै यही हो ।” बस्ती नै उच्च जोखिमा रहेकाले आयोजनाले जग्गा अधिग्रहण गरी मुआब्जाका लागि प्रक्रिया अघि बढाउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो । पृथ्वीराजमार्गसँग जोडिने गरी जग्गा अधिग्रहण गरेर स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थान्तरणका लागि सम्बन्धित निकायमा परिपत्र गरिएको
काठमाण्डौँः जिल्ला समन्वय समितिको निर्वाचन यही जेठ ३१ गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार एक सूचना जारी गर्दै कार्यतालिका सार्वजनिक गरेको हो । जिल्लाका सात पालिकाको कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएपछि जिल्ला समन्वय समितिको निर्वाचनका लागि सार्वजनिक गरिएको कार्यतालिकाअनुसार जेठ २८ गते मतदाता नामावली प्रकाशन, मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्ने, संशोधित मतदाता नामावली प्रकाशन गर्ने, मतदाताको विरोधमा उजुरी दिने रहेको छ । यस्तै २९ गते मतदाताको विरोधमा दिएको उजुरीउपर जाँचबुझ गर्ने, अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने उल्लेख छ । जेठ ३० गते उम्मेदवारको सूची प्रकाशन, उम्मेदवारको विरोधमा उजुरी, मनोनयनपत्र जाँच र उजुरीउपर निर्णय, उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गर्ने रहेको छ ।सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ । जेठ ३१ गते बिहान १० बजेदेखि १२ बजेसम्म मतदानको कार्यक्रम रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त समितिको निर्वाचनको सबै काम मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट हुने कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार समितिको प्रमुख र उपप्रमुखसहित नौ पदका लागि निर्वाचन हुन लागेको हो । सात पालिकाबाट १४ प्रमुख र उपप्रमुखले मतदान गर्ने छन् । तीमध्ये सात जना पाँचदलीय गठवन्धनका र सात जना एमालेबाट निर्वाचित भएका हुन् ।
काठमाण्डौँः नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको विश्वास जितेर इमान्दारितापूर्वक काम गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । कांग्रेस काठमाडौँ क्षेत्र नं ९ ले आज आयोजना गरेको ‘नवनिर्वाचित जनप्रतिनिधीलाई बधाई तथा मतदातालाई धन्यवाद’ कार्यक्रममा उहाँले जनताले दिएको जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्न आग्रह गर्नुभएको हो । “जनताले तपाईँहरूलाई विश्वास गरेर मत दिएका छन्, जनताको अझ बढी विश्वास जितेर काम गर्नुस्, आफ्नो जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्नुहोस्”, नेता सिंहले भन्नुभयो । पार्टीका पूर्वमहामन्त्री सिंहले कांग्रेसले काठमाडौँ महानगरपालिकामा प्रमुख पद नजिते पनि अधिकाशं वडामा विजय हासिल गरेको उल्लेख गर्दै आगामी निर्वाचनमा पनि पार्टीका उम्मेदवारलाई विजयी गराउने गरी काम गर्नुपर्ने बताउनुभयो । पार्टी र सङ्गठनलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उहाँको भनाइ थियो । नेता सिंहले पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशम्शेर जवरालगायतले गरेको त्याग र योगदानलाई सम्झेर जनताको काम गर्न नवनिर्वाचित जनप्रतिनिधीलाई निर्देशन दिनुभयो ।
तेह्रथुमः तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । म्याङलुङ नगरपालिका–१ को भित्री सडकखण्डमा म्याङलुङबाट तमोर नदीतर्फ जाँदै गरेको प्रदेश१–०२–००३त ४९८ नंको ट्याक्टर गए राति आफैँ अनियन्त्रित भई सडकबाट करिब १०० मीटर तल झरी दुर्घटना भएको थियो । दुर्घटनामा ट्याक्टर चालक फेदाप गाउँपालिका–५ इसिबुका २६ वर्षीय रविन खापुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
बाँकेः बाँकेको राप्ती नदीमा दाहसंस्कारका लागि गएका दुई युवाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । हुम्ला सिमिकोट–८ घर भई हाल नेपालगञ्ज–१ धम्बोझीमा भाडामा बस्दै आएका १८ वर्षीय त्रिबल शाही र लेकराज छन्तेल आज बिहान राप्ती नदीमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार घरबेटीको दाहसंस्कारमा गएका उनीहरू घर नफर्केपछि साँझ ६ बजे खोजतलास गर्दा नदीको छेउमा दुई जोर कपडा र एक थान मोबाइल फेला परेको थियो । पौडी खेल्ने क्रममा नदीमा बेपत्ता भएको आशङ्का गरिएको छ । बिहीबार बिहानै खोजतलासमा खटिएको प्रहरी टोलीले डुडुवा गाउँपालिका–४ स्थित सिधनियाघाट राप्ती नदीमा उनीहरूको शव फेला पारेको हो । हुम्लाबाट अध्ययनका लागि नेपालगञ्ज आएका उनीहरूले यसै वर्ष यहाँस्थित धम्बोझी माविबाट कक्षा १२ को परीक्षा दिएका थिए ।
लमजुङ: जिल्लामा सञ्चालित दर्जनौँ घरवास (होमस्टे) लामो समयदेखि सुनसान अवस्थामा छन् । विगतमा दैनिक सयदेखि दुई सयको हाराहारीमा पर्यटक आउने गरेकामा केही समयदेखि उक्त सङ्ख्यामा कमी आएको छ । नमूना घलेगाउँ, काउलेपानी, सिउरुङ, राइनास, भलामचौर, भुस्मे, नरुवाललगायत घरवासमा गत चैत १५ गतेयता मुस्किलले १०/१५ जना आउने गरेका छन् । स्थानीय तह निर्वाचनको चुनाव र बर्खा लाग्दा पर्यटक आगमन ह्वात्तै घटेको सञ्चालक बताउँछन् । क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँ घरवासमा चुनाव अघिसम्म दैनिक डेढ सयदेखि २०० पर्यटक आउने गरेका थिए । त्यसयता ३०/४० जना मात्र आउने गरेको सञ्चालक दिर्घ घलेले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाले थला परेको पर्यटन क्षेत्र विस्तारै उठ्दै गर्दा फेरी पर्यटक आउन छाडेका छन् । पर्यटक नआउँदा आम्दानी रोकिएको छ ।” वर्खा लागेकाले घरवास सञ्चालक चिन्तित बनेका छन् । “भदौयता पर्यटक आउने सम्भावना कमै छ, आम्दानी हुन छाड्यो, घर खर्च चलाउन समस्या भयो”, घरवास सञ्चालक काशी गुरुङले भन्नुभयो । विसं २०५७ देखि सञ्चालित उक्त क्षेत्रमा यतिबेला ३७ घरवास सञ्चालनमा छन् । पर्यटकका लागि सत्कारसँगसँगै आफ्ना कला, भेषभूषा संस्कार, संस्कृति जोगाइराख्न जुटेका उनीहरुहरुको जातीय पहिचानसहित सांस्कृतिक नृत्यसमेत प्रस्तुत हुने गर्दछ । घलेगाउँ समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा छ । यो आदिवासी जनजाति गुरुङको उद्गमथलो तथा घले राजाले अन्तिम राज्य सञ्चालन गरेको गाउँ पनि हो । यहाँबाट ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल, ७ हजार ८३५ मिटरको ङादीचुली (डा हर्क हिमाल), ७ हजार ९३५ मिटर उचाइको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौथो), ६ हजार ९६३ मिटर उचाइको माछापुच्छे« हिमाल, ७ हजार ८९३ मिटर उचाइको हिमालचुली, ६ हजार ९८६ मिटर उचाइको लमजुङ हिमाल र ६ हजार ६७२ मिटर अग्लो बुद्व हिमालको अवलोकन गर्न सकिन्छ । यहाँ घलेराजामध्ये अन्तिम ज्याल्बु रुजा क्लेको शालिकसमेत देख्न सकिन्छ । यहाँ आउँने पर्यटकलाई घरवास सञ्चालकले गाउँघरमै उब्जाइएका अर्गानिक धान, मकै, कोदो, भटमास, सायोको साग, सिस्नोको खोले, लोकल कुखुरा, खसीबोका, भेडाको मासुलगायत परिकार खुवाउने गर्दछन् । पर्यटकलाई सत्कारसँगसँगै आफ्ना कला संस्कृति जोगाइ राख्न जुटेका गुरुङसेनीको जातिय पहिचानसहितको कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झाँक्री, सेर्गालगायत सांस्कृतिक नृत्य प्रस्तुत हुने गर्दछ । समुन्द्री सतहदेखि एक हजार ६०० मिटर उचाइमा रहेको बेँसीशहर नगरपालिका–३ लमजुङ दरबार नजिकै रहेको काउलेपानी घरवासमा पनि वैशाखयता पर्यटक नआउँदा सुनसान छ । काउलेपानी पर्यटन विकास समितिका अध्यक्ष देवबहादुर गुरुङले भन्नुभयो, “लामो समयदेखि पर्यटक आएका छैनन्, झन् अब बर्खा लाग्न थाल्यो, घरवाससम्म आउनका लागि बाटो पनि राम्रो छैन, केही महिना सुनसान नै हुने देखिन्छ ।” विगतमा यहाँ दैनिक ४०० देखि ५०० पर्यटक आउने गरेका थिए । सन् २०११ बाट सञ्चालनमा आएको यस क्षेत्रका १५ घरमा घरवासको व्यवस्था गरिएको छ । यहाँ नेवार, गुरुङ र भुजेल समुदायको बसोबास छ । काउलेपानीबाट बौद्ध हिमाल, माछापुच्छे, अन्नपूर्ण दोस्रोदेखि चौथो, मनाश्लु दक्षिण, मनाश्लु, अन्नपूर्ण साउथ, च्ये, डाक्टर हर्कपिकलगायत हिमश्रृङ्खला देख्न सकिन्छ । शाहवंशीय राजाको उद्गमथलो मानिने लमजुङ दरबार र सूर्योदयको मनमोहक दृश्य देख्न सकिन्छ । काउलेपानी मन्दिरको अवलोकन तथा दर्शन गर्न सकिन्छ । यहाँ प्रतिपर्यटकले एक रातको रु एक हजार ५० तिर्नु पर्छ । गाउँमै उब्जाएको मकै, भटमास, कोदोको सेलरोटी, गुन्द्रुकको अचारको खाजा खुवाउने बेग्लै खालको परम्परा छ । स्थानीयले बेलुकी खाना खानुअघि स्थानीय परम्परागत गीत, नाच प्रस्तुत गरी पर्यटकलाई सँगसँगै नचाउने गर्छन् । बेँसीशहर बजारदेखि दक्षिण पश्चिमतर्फ सात किलोमिटर टाढा रहेको काउलेपानी पुग्न सवारीसाधनमा ४५ मिनेट र पैदल दुई घण्टा लाग्छ । पैदल यात्रुका लागि सिँढी निर्माण गरिएका छन् । यहाँ पुग्ने सडकको स्तरोन्नति गरिएको छ ।
बागलुङः नौमती बाजाका लागि चर्चित बागलुङका थुप्रै गाउँ मध्ये सिगानाको लामिचौर पनि एक हो । माग बढ्दै आएसँगै सिगानाको लामिचौरका युवाहरु आम्दानीको स्रोतको रुपमा नौमती बाजा बजाउनेतर्फ अग्रसर भएका छन् । संस्कृति र परम्परासँग जोडिएको नौमती बाजाप्रति युवा पुस्ताको चासो नहुँदा मौलिक नौमती बाजा हराउने अवस्थामा पुगेको अवस्थामा बागलुङ नगरपालिका–८ सिगाना लामिचौरको नौमती बाजा समूह भने ब्राण्ड नै बनेको छ । पाँच वर्षअघि बागलुङको चैते दसैँ मेलामा आयोजना गरिएको प्रतियोगितामा अब्बल सावित भएपछि सिगानाको नौमती बाजा धेरैले रुचाउन थालेका हुन् । माग बढ्दै गएपछि यहाँका युवा आम्दानीको स्रोत बनाउन नौमती बाजा बजाउनेतर्फ अग्रसर भएका छन् । सिगाना लामिचौरका २१ वर्षीय लक्ष्मण नेपालीको अहिले मुख्य आम्दानीको स्रोत नौमती बाजा बनेको छ । बाजामा उहाँले नयाँ तथा पुराना गीत दुरुस्तै मिलाउनुहुन्छ । उहाँ पुर्खाले आर्जेको पेशालाई निरन्तरता दिँदै घर खर्च चलाउन सानै उमेरबाट बाजा बजाउन थालेको बताउनुहुन्छ । नौमतीका सबै बाजा बजाउन जान्नुभएका उहाँले अधिकांश सहनाइ बजाउनुहुन्छ । नेपाली नयाँ तथा पुराना लोक गीतको भाकामा दुरुस्तै सहनाइ बजाउन जान्नुभएका नेपालीलाई धेरैले रुचाउन थालेका छन् । उहाँले बजाएको सहनाइबाट प्रभावित बनेकाले उहाँलाई थोरधेरै रकम सहयोग गर्ने गरेको बताउनुहुन्छ । “कुनै प्रशिक्षण लिएको हैन, बाबु बाजे, छर छिमकमा बजाएको सुनेर बजाउन सिकेको हुँ, नयाँ गीत आएपछि नाच्न आउनेले त्यही गीत बजाउ भन्नुहुन्छ, त्यसैले नयाँ गीत आउँदासाथ सिक्नु पर्छ”, उहाँले भन्नुभयो, “हामी जस्ता युवाले अन्य स्थानमा कमै मात्रमा नौमती बजाउने गर्दछन्, हामीले नबजाए पछिल्लो पुस्तामा यो लोप हुन्छ त्यसैले यसैबाट घर खर्च चलाउँदै पुर्खाको पेशा धान्दै आएका छौँ ।” नेपाली मात्रै हैन लामिचौर नौमतीबाजा समूहमा अधिकांश युवा नै आबद्ध छन् । लामिचौरमा दुई समूहमा नौमती बाजा बजाउने कलाकार छन् । अब्बल बनेको समूह हो सिगाना लामिचौर नौमतीबाजा समूह । नौमती बाजाको संरक्षण गर्दै पुख्यौली पेशा धान्नका लागि समूह गठन गरिएको छ । अहिले समूहको आफ्नै पोसाक छ भने नौमती समूहको जिल्लाको विभिन्न स्थान, म्याग्दी, पर्वत हुँदै पोखरासम्म माग भएको समूहका अध्यक्ष बाबुराम परियारले बताउनुभयो । उहाँले नौमती बाजा बजाउन आफूहरुले युवालाई प्रेरित गर्दै आएको बताउनुभयो । “नौमती बाजा संरक्षण गर्नुछ भने यसैलाई आफ्नो मुख्य आम्दानीको थलो बनाउनुछ”, उहाँले भन्नुभयो, “हामीलाई बाजामा नरसिङ्गाको अत्यन्तै आवश्यकता छ, बाजा बनाउन अलि महँगो छ, त्यसैले बाजाविहीन भएकै कारण कतिले यो पेशा छोडेका छन्, स्थानीय सरकारले सहयोग गरे अझै सहज हुन्थ्यो ।” परियारले बाजा बजाउन पोखरासम्म पुगेको र उक्त समूहले एक दिनको रु २० हजाररदेखि रु ३० हजारसम्म पारिश्रमिक लिने गरेको छ । नौमती बाजाको लामिचौरमा मात्रै पुर्खाहरुले ३६ प्रकारको सुर तालको बाजा बजाएको इतिहास छ । अहिले यहाँका दलित समुदायले १७ प्रकारको सुर तालको बजा बजाउने गरेका छन् । पछिल्लो समय बागलुङमा सिगानाको बाजा भनेपछि धेरैको ध्यानाकर्षण हुनेगरेको छ । नौमती नौ बाजाको सामूहिक बाजा हो । यो पञ्चेबाजाको ठूलो रूप हो । यसअन्तर्गत दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाइ, कर्नाल, नरसिङ्गा बाजा हुन्छन् जसमा सहनाइ र दमाहाका दुई-दुई वटा हुन्छन् । सनही र नरसिङ्गा फुकेर, ठूलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एक आपसमा जुधाएर बजाइन्छ । नौ वाद्यवादक लोककलाकारले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यसलाई नौमती बाजा भनिएको हो ।
कञ्चनपुरः जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नेपाली कांग्रेसका दुर्गादत्त बोहरा निर्विरोध चयन हुनुभएको छ । जिसस प्रमुखमा कांग्रेसको मात्र उम्मेदवारी परेको थियो । जिसस उपप्रमुखमा कांग्रेसकै रामकुमारी राना निर्विरोध चयन हुनुभएको छ । जिसस सदस्यहरुमा मोहन महता, रामसिंह भण्डारी, जयसिंह विष्ट, लिला चौधरी, चन्द्रावती थापा, विमलाकुमारी सार्की र अन्जुदेवी राना निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिससमा अन्य दलले उम्मेदवारी दिएका थिएनन् ।
बागलुङः दुई दिनदेखिको वर्षासँगै खसेको पहिराका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत घोडाबाँधे–हटिया सडक गए रातिदेखि अवरूद्ध भएको छ । सडक अवरुद्ध हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन बाटोमै थन्किएका छन् । यात्रुले सास्ती व्यहोरिरहेका छन् । ठाउँठाउँमा खसेका पहिराले लोकमार्ग क्षतविक्षत बनेको छ । गलकोट नगरपालिकाका प्रवक्ता हेमन्त भण्डारीका अनुसार अहिले डोजरले पहिरा पन्छाएर अवरुद्ध सडक खुलाउने काम भइरहेको छ ।

