महोत्तरी : विगतमा माओवादीको सशस्त्र द्वन्द्वका बेला सुधीर नामले चिनिने महोत्तरीको भङ्गाहा–४ का ४० वर्षीय नारायण दाहालको परिचय अब पौरखी किसानमा फेरिएको छ । सशस्त्र द्वन्द्व प्रारम्भमै कमान्डरको भूमिका निर्वाह गर्नुभएका उहाँ अहिले आफ्नो गाउँबस्तीका समवयस्क साथी र पछिल्लो पुस्ताका लागि पौरखी किसानको उदाहरण बन्नुभएको हो । घर वरपर नै रहेको आठ कट्ठा जग्गाभित्र लटरम्म फलेका बोडी, परबल र लौकासहित तरकारी बालीमा दाहालको मेहनत फष्टाएको छ । बिहान ४ बजे ओछ्यान छोडेदेखि नै गाईबाख्राको हेरचाह सकेर बारी पसेपछि आवश्यक स्याहार सुसार गर्ने, तरकारी टिप्ने र घरमै आइपुगेका तरकारी व्यापारीलाई आफ्नो उत्पादन तौलेर दिन भ्याइनभ्याइ हुने गरेको उहाँ बताउनुहुन्छ । विसं २०६५ को अन्त्यतिर माओवादी लडाकुको काम छाडेर गृहस्थीमा फर्कनुभएका दाहालले २०६८ यता भने खेतीमै आफ्नो भविष्य देख्न थाल्नुभएको छ । माओवादी लडाकुको जीवन त्यागेर फर्कंदा राज्यबाट जम्मा रु छ लाख २० हजार पाउनुभएका उहाँले त्यतिखेर त्यो रकमले छ कट्ठा जग्गा, एउटा साइकल र घरमा एउटा टिभी जोडेर सानो गाईगोठ बनाएको सुनाउनहुन्छ । “के के न गरौँला भनेर सशस्त्र द्वन्द्वमा होमिए,” दाहाल घरमै पुगेका सञ्चारकर्र्मीसँग भन्नुहुन्छ, “फर्केर आउने ठाउँ त गाउँ घर नै रहेछ ।” अहिले सशस्त्र द्वन्द्वमा होमिएको आफ्नो विगतप्रति दाहाललाई गुनासो छैन । “मैले नजिकबाट मृत्युलाई चिन्न सकेजस्तो लाग्छ, युद्धमा छँदा कैयौँ पटक संयोगले मात्र बाँचेको हुँ,” उहाँ भन्नुहुन्छ, “फेरि त्यो युद्धको प्रतिफल मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना त भयो नि, अब जनताको जीवनस्तर उकास्ने बाटोमा नेता लागिदिए हुन्थ्यो ।” जनताको अवस्थामा परिवर्तन नआउँदा भने भने मन कटक्क खाने गरेको दाहालको भनाइ छ । खेतीमा लागेयता आफ्नो मिहिनेत खेर गएको कहिल्यै महसुस गर्न नपरेको उहाँ सुनाउनुहुन्छ । “यसपालि वैशाखे तरकारी खेतीबाटै अहिलेसम्म रु एक लाख बराबरको तरकारी बेचिएछ,” आफ्नो पुगनपुग तीन महिना (चैत, वैशाख र जेठ) को कमाईबारे बताउँदै दाहाल अगाडि भन्नुहुन्छ, “यसपालि नयाँ वर्ष प्रारम्भसँगै कैयौँ पटक आएको चोटिलो वर्षासँगैको हावाहुरीले लहरे तरकारी र लहलहाउँदा रायोको बिरुवा लतार्यो, त्यसको उत्पादन लिन सकेको भए आम्दानी अझै बढ्थ्यो ।” दैनिक घरखर्चमा लगाइएको रकमको हिसाबमा राख्न नसकेको उहाँको भनाइ छ । त्यस्तै प्रत्येक वर्ष दसैँ, तिहार र अन्य चाडपर्वमा गरिने खर्चको पनि हिसाब राख्ने गरिएको छैन । “किसानी पेसाको घरगृहस्थीमा सबै हिसावकिताव राख्न नसकिने रहेछ,” दाहाल भन्नुहुन्छ, “तर चाडबाडको रमझम खेतीपातीले नै चलाएको छ भन्न त पाइयो नि ।”आफ्नो खेती प्राङ्गारिक भएकाले उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेको उहाँ बताउनुहुन्छ । तरकारीमा लाग्ने किरा नियन्त्रणका लागि दाहाल आफैँ कीटनाशक औषधि बनाउनुहुन्छ । “यो नारायणास्त्र, यो ब्रह्मास्त्र र यो आग्नेयास्त्र” तरकारी बालीमा लाग्ने किरा नियन्त्रणका लागि आफैँले घरमा बनाएका कीटनाशक औषधि देखाउँदै उहाँ भन्नुहुन्छ, “गाईको गहुँत सङ्कलन गरेर नीमका पात र अन्य कीटनाशक वनस्पति मिलाएर बनाइएको औषधि हो, तरकारी बालीमा लाग्ने किराको सङ्ख्या र क्षतिको प्रकृति आङ्कलन गरेर मात्रा बनाएर छरिन्छ ।” रामायण, महाभारतलगायत पौराणिक ग्रन्थमा प्रयोग गरेपछि खेर नजाने गरी वर्णन गरिएका शस्त्रअस्त्रको महत्व थाहा पाएर किरा नियन्त्रणका लागि बनाइएका औषधिको नाउँ त्यस्तै मिलाएर राखिएको दाहालको भनाइ छ । “इ यो हेर्नुहोस् , यो आग्नेयास्त्र हो” एउटा सिसीमा राखिएको झोल औषधि देखाउँदै उहाँ भन्नुहुन्छ, “भगवान् रामको वाण खेर जाँदैनथ्यो रे हो, यो त्यही ‘रामबाण’ हो, जस्को छिर्का पर्यो कि किरा खत्तम ।” अहिले जताततै खेतीपातीमा कडा विषादीको प्रयोग बढेसँगै कडा प्रकृतिका रोग बढेकाले सबैलाई प्राङ्गारिक खेतीमा आकर्षित गराउनुपर्ने दाहालको सुझाव छ । “अमृत हुने वस्तु हाम्रै कारण विष बनाइएका छन्,” उहाँ भन्नुहुन्छ, “अब विषादी नियन्त्रणका लागि सरकारले अभियान नै चलाउनुपर्छ ।” साझा प्रयत्नबाट यो सम्भव हुने दाहालको विश्वास छ । बीउबिजन, मल र खेती प्रणाली पनि पुरानै रैथानेलाई नै फर्काउन पर्ने दाहालको सुझाव छ । उहाँको सङ्गतले गाउँका युवा पनि तरकारी खेतीबाट राम्रो उत्पादन लिन थालेका छन् । “विषादी नछरी किरा नियन्त्रण गर्न सकिने दाहालले अपनाउनुभएको तरिकाले हामीलाई लोभ्याएको छ,” दाहालको मिहेनत र खेती प्रणालीलाई अनुुसरण गर्न थालेका छिमेकी छेदीलाल महतो भन्नुहुन्छ, “आफ्नै वरपर पाइने विभिन्न वनस्पति र गहुँतबाट बनाइने औषधिबाट किरा नियन्त्रण गरिँदा स्वास्थ्य सुरक्षा र कीटनाशक विषादीमा हुने खर्चबाट बचिएको छ ।” मुलुककै समृद्धि र जनताको मुक्तिका लागि भन्दै विगतमा बन्दुक बोकेकोमा पश्चाताप नभए पनि समृद्धिको बाटो चैं अहिलेको बाटो नै उपयुक्त रहेको दाहालको निष्कर्ष छ । “कतिले बाटो फेरेछ भन्लान्, तर मुलुक समृद्ध र जनता सुखी बन्ने÷बनाउने चैं उद्यमले नै हो ।” आफ्नो अहिलेको काम ‘उद्यम’ रहेको बताउनुहुने दाहाल गाउँ छिमेक वरपर ‘रोलमोडल’ किसान बन्नुभएको छ । “घरमा भेट्न आउने आफन्त होउन् कि अन्य छिमेकी यिनी (दाहाल) खेतीकै कुरा गर्छन्,” दाहालकै छिमेकी ८० वर्षीय रामनन्दन महतो भन्नुहुन्छ, “यिनले त बरालिएर हिँड्ने कति केटालाई आफ्नो सङ्गतमा ल्याएर मेहनती किसान बनाएका छन् ।” त्यही बस्तीमा तरकारी बाली फस्टाउन रसायनिक मल र किरा नियन्त्रण गर्न विषादी प्रयोग गर्दै आएका दाहालका समवयस्क किसानले अब आफैँले तयार पारेको कम्पोष्ट मल र घरायसी कीटनाशक औषधि प्रयोग गर्न थालेका छन् । आफुले मेहनत र लगन लगाए पनि सरकारी निकायबाट कुनै सहयोग र भरथेग नपाइएको दाहाल लगायतका सो बस्तीका युवा किसानको गुनासो छ । “खेतीपातीमा किसानलाई सहयोग गरिन्छ भन्न रेडियो र छापाहरुमा भन्ने, लेख्ने गर्छन रे ” दाहालकै समवयस्क सो बस्तीका किसान चन्देश्वर राय दनुवार भन्नुहुन्छ, “तर, हामीसम्म त्यो कहिल्यै आइपुग्ने भएन ।” किसानका लागि छुट्याइएका रकम पनि भनसुन र ठूलाबडाकै प्रयोगमा जाने गरेका बस्तीका सोझा किसानको आम गुनासो छ । “न भरपर्दो सिँचाइ छ, न समयमा बीउबिजन पाइन्छ, मेहनत त हामी गर्छौं, बाँकी सबै ईश्वरकै भर छ,” बस्तीका सबैजसो किसानको समान गुनासो छ । खेतीपातीसँगै दाहालले अहिले बाख्रापालन सुरु गर्नुभएको छ । खोरमा पाँच÷सातवटा बाख्रा जम्मा पार्नुभएका दाहाल त्यसको तयारीका लागि दुई वर्षपहिले नै डालेघाँसका बिरुवा रोपेर हुर्काएको बताउनुहुन्छ । बारीमा इपिलिपिल, बकाइनो र पट्मिरोसहितका पौष्टिक मानिने डाले घाँसका ५० रूख हुर्किसकेका र यसपालि फेरि १०० वटा जति रोपिएको छ । यो वर्षको अन्त्यसम्म २५ वटा बाख्रा पु¥याउने दाहालको लक्ष्य छ । “गर्दा नहुने भन्ने केही रहेनछ” दाहाल भन्नुहुन्छ, “सय पचासको गर्जो टार्न गाउँ पस्नुपर्ने म अहिले आफ्नो मेहनतले नै गाउँघरको सानोतिनो अड्कोपड्को टार्न सक्ने भएको छु ।”कृषिसँग सम्बन्धित सरकारी निकायहरु किसानसम्म नपुगेका दाहालको गुनासो छ । अहिले सुने जतिकै सरकारले बनाएको कृषि कार्यक्रम किसानसम्म पुग्ने हो भने पनि कृषि क्रान्ति नै हुने दाहाल बताउनुहुन्छ तर ती सरकारी कार्यक्रम किसानसम्म नपुगेको कुरा अनुगमन हुनुपर्ने दाहाल सहितका किसानको माग छ ।
कास्की: स्थानीय निर्वाचनमा दास्रोपटक गाउँपालिका प्रमुखमा बाजी मार्ने जनप्रतिनिधिमध्ये कास्कीको रुपा गाउँपालिकाका प्रमुख नवराज ओझा पनि एक हुन् । दोस्रोपटक गाउँपालिका प्रमुखकारुपमा अत्यधिक मतले विजयी हाँसिल गरेपछि पहिलो कार्यकालबाट त्रूटिरहित कार्यसम्पादन गरेछन् भन्ने सन्देश मिलेकाे छ । गाउँपालिका प्रमुखकारुपमा दोहोरिएका ओझासँग सुनगाभा न्यूजले ५ वर्ष पहिले र अहिलेको सेराेफेराेमा कुराकानी गरेको छ । प्रस्तुत छ सम्पादित अंशः १. दोस्रो पटक पनि जित्नुभयो, दोहोरिएपछिको यहाँको अनुभव कस्तो छ ? पहिलोपटक निर्वाचित हुदाँखेरी धेरै कामहरु तल्लो तहबाटै गर्न बाँकी थिए अहिले धेरै कामहरु पुरा गरेका छौं । बाँकी रहेका केही काम र नयाँ काम गर्नका निमित्त आउँदा बढी जिम्मेवारी थपिएको र जनताप्रति बढी उत्तरदायी हुनुपर्ने छ । जितसँगै उत्साह पनि थपिएको छ साथै जिम्मेवारी पनि थपिएको छ । २. तपाई दोहोरिनु पछाडी कारण के थियो त्यस्तो, जस्ले यहाँलाई फेरि जित दिलायो? मैले पहिला भन्दा डबल मतले जिते, अरु गाउँपालिकाको हकमा उहाँरुको काम गर्ने शैली, जनतासँग जोडिने कुरा, सुशासनका कुरा, विकास निर्माणका कुरा त्यो बारे मैले सबै विश्लेषण चाँही गरेको छैन । तर मेरो र गाउँपालिकाको हकमा चाँही जनताको सुख र दुखमा साथ दिने काम गरेका छौं पहिला भन्दा धेरै परिवर्तन गर्न सकेका छौं । जनतासँग टच भएका छौं यसैगरि हाम्रो सबैभन्दा बलियो पाटो भनेको सुशासनको पाटो र पारदर्शिता हो जसले गर्दा जनताले हामीलाई विश्वास गर्नुभो र अत्याधिक मतकासाथ जिताउनुभो । ३. रुपा बासीका लागि सम्झनालायक काम के के गर्नु भयो ? हामी निर्वाचित हुदाँ १ घर १ धारा जम्मा १ सय २ घरमा मात्रै थियो । त्यसपछि ९५ प्रतिशत घरमा १ घर १ धारा पुर्यायौं । अब ५ प्रतिशत मात्रै बाँकी छ । त्यो के कारणले हो भन्नुहुन्छ भने प्रदेश र संघको त्यहाँ १६ वटा योजना थिए । त्यसमध्ये हामीले १२ वटा योजना गरिदियौं ४ वटा योजना तपाइहरु पुरा गर्नुसनत भनेका थियौं । अह भएन । हामीले संघ र प्रदेशको योजना पनि गरिदियौं र बाँकी रहेको अन्य ५६ वटा योजनापनि गाउँपालिकाले पुरा गर्याै । तर ४ वटा योजना पुरा गर्न ८ वर्ष भयौ अझैसम्म पुरा भएको छैन । हामी आउनभन्दा ३ वर्ष पहिले सुरु भएको योजना थियो । त्यसैले संघ र प्रदेशको कार्यान्वयनको पाटो कस्तो रहेछ भन्ने त यहीबाटै प्रष्ट हुन्छनी । स्थानीय तहले गर्याे भने सकिन्छ । किनभने जनताको नजिकको सरकार हो । यसले जनताको समस्या बुझेको छनी त । यसैगरि गाउँपालिका भित्रका मुख्य सडकहरु पिच गर्न सकेका छौं । वडा कार्यालयहरुलाई जोडनेगरि पिच भएका छन् । त्यो बेला १ किलोमिटरपनि पिच थिएन अहिले ८५ किलोमिटर पिच छ । मोटरेवल पुलका सन्दर्भमा ६ वटा हामीले सम्पनन गयौं । कृषिमा सुरुमा जम्मा ८ वटा फर्म दर्ता थिए अहिले ६ सय ५० भन्दा माथी छन् । कोभिडको बेलापनि देशभरिमै नमुनायोग्य कामहरु गर्याैं । गाउँपालिकामै क्वारेन्टाइन राख्नेदेखि हरेक घरमा स्वास्थ्यकर्मी पठाउने काम गर्याैं । अहिलेपनि १५ शैयाको ४ वटा डाक्टरसहित अस्पतालमा सेवा दिइराछौं । त्यही कारणले गर्दा अहिलेपनि जनताले खुला दिलकासाथ अत्याधिक बहुमतले जिताउनुभो । ४. अघिल्लो कार्यकालमा बाँकी भएका काम, जो यसपटक गर्दै हुनुहुन्छ ति के के हुन् ? यतिबेला जनतालाई ठुलो कुरा दिनेभन्दापनि बाँकी रहेका कामहरु दिएर जनतालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने हो । जस्तै तालवेशीदेखि ठुलोवेशीको बाटो बाँकी छ । अहिले टेण्डर भएको छ त्यसलाई व्यवस्थित गर्ने काम, थुम्की शिवचण्डी बाटो त्यसपछि देउराली हुदैं चिसापानी जाने बाटोहरुलाई व्यवस्थित गर्दै जाने, त्यसैगरि खाल्टेखोला लगायतमा पुल बनाउँनुपर्नेछ । यसैगरि बाँकी रहेको ५ प्रतिशत खानेपानीको व्यवस्थापन गर्नु छ । अब हामीले जनता गाउँमै अडिने वातावरण बनाउँनुपर्छ । हामीले गाउँपालिका भित्रका बिरामीलाई निशुल्क एम्बुलेन्स सेवा दिने भनेर पहिलो निर्णय गरेका छौं । पहिला जनताको स्वास्थ्यको ख्याल गर्नपर्याे म गाउँमा बस्दापनि सुरक्षित छु भन्ने त बनाउँनुपर्याे नि । त्यसपछि शिक्षाको हकमा प्राविधिक शिक्षा सुरु गरेका छौं । अब त्यँही पढाउने र शैक्षिक गुणस्तर राम्रो बनाउने भनेर बौद्धिक व्यक्तित्वहरु लागिरहनुभएको छ । यसले युवाहरुलाई गाउँमै केही गर्न सहयोग पुग्नेछ । ५. रुपा गाउँपालिका आफैमा भ्यूपोइन्ट हो, भ्यूटावर बनाउने नाममा अनावश्यक खर्च गर्याे भन्ने आरोप छनी ? हाम्रो गाउँपालिकाले पूर्ण लगानी गरेर एउटापनि भ्यूटावर बनाएको छैन । हाम्रोमा ३२ वटा डाँडाहरु छन् । त्यसमध्ये पहिल्यै एउटा थियो । अरु दुईवटा चाँही उहाँहरुसँग साझेदारी गरेर ५०÷५० प्रतिशत लागतमा गरेका छौं । त्यो ३२ वटा डाँडामध्ये कुनैमा संग्राहलय हुन्छ । कुनैमा पार्क हुन्छ । कुनैमा क्याम्पेनिङ स्पट हुन्छ । त्यसैगरि गुरुङ, मगर, नेवार, ठकुरी, ब्राहमण तथा दलित समुदायको संस्कार झल्कने गरि पार्क निर्माण गर्छाै । त्यसैगरि कुनैमा गुम्बा कुनैमा मन्दिर र कुनैमा मस्जिद बनाउन सकिन्छ । धार्मिक रुपमा पनि हबका (विश्वशान्ती उद्यम) रुपमा विकास गर्ने जस्लाई फुटट्रयाकमार्फत जोड्ने हाम्रो लक्ष्य रहेको छ । ६. अनि सडक विस्तारले मात्रै विकासको परिभाषा पुरा गर्ला त प्रमुख ज्यू ? पूर्वाधार भएन भने गाउँमा विकास लान सकिन्न । किसानहरुले तरकारी र टमटर तथा दुध उत्पादन गर्ने अनि त्यहाँ एक हप्तासम्म गाडी गएन भने स्थिति के हुन्छ ? त्यसैले विकासको सुरु भनेकै सडक सञ्जाल नै हो । बाटोमात्रै होईन आधारभूत आवश्यकतामा पर्ने खानेपानी, बिजुली, शिक्षा तथा स्वास्थ्यसँग जोडिएका विषयहरुको पहुँच हुनुपर्छ । मलाई एउटा मात्रै देश देखाईदिनुस जहाँ पिच बाटो विना विकास भएको छ । त्यसैले सडक विकासको पुरक विषय हो । ७. तपाई अब जनताका प्रतिनिधी हुनुभयो तर कसैलाई काखा र कसैलाई पाखाको व्यवहार हुन्छ भन्ने आरोप छनी, के भन्नुहुन्छ अध्यक्ष ज्यू ? यो सोच्नेले कुन कोणबाट सोच्यो भन्ने हो । सोच्नुपर्ने के हो भने, मैले कसैलाई काखा कसैलाई पाखा गरे भने त्यो ठाउँको विकास समान ढंगले हुनसक्छ? मैले त्यस्तो गरेको भए डबल कसरी आउथ्यो । मेरा मान्छेले एमालेका मान्छेले मात्रै मत दिएर डबल मत आयो होला ? रिजल्टले देखाउछनि हजुर । एकादले टिका टिप्पणी गर्ने कुरा राजनैतिक प्रतिसोध साँध्ने कुरा अलग कुरा होनी तर यो विषयमा म बोल्नै पर्दैननि मत परिणामले देखाईसक्यो नि । ८. अन्तिममा, चुनावी रौनकको समयमा एउटा अडियो सार्वजनिक भयो, जहाँ यहाँको नाम पनि उच्चारण गरिन्छ, सो विषयमा के भन्नुहुन्छ ? मान्छेलाई जे मन लाग्यो त्यही बोल्दिने हुन्छ । हाम्रोमा अख्तियारले नहेर्या होर । मुद्धा परेका सबै क्लियर छन । यो मिडिया मार्फत क्लियर भन्न चाहान्छु । १ रुपैयां दुरुपयोग गरेका छैनौं । गर्दापनि गर्दैनौं कसैलाई शंका लाग्छ भने अहिले हैन सात पुस्तासम्म हेरे हुन्छ । त्यो कुरामा हामी क्लियर छौं । किनभने हामीले प्रत्येक तीन महिनामा सार्वजनिक सुनुवाई गर्छाैं । प्रत्येक कार्यपालिकाको बैठकमा बजेट सार्वजनिक गर्छाैं । कुनै पनि योजना सार्वजनिक सुनुवाई नगरिकन पास गर्दैनौं । प्रत्येक जनतालाई थाहा दिएर मात्रै काम गर्छाैं । एउटा मान्छेलाई के लाग्यो कसैसँग गुट उपगुटका कारण जोडेर गरेको व्यवहार एकदमै घटिया पारा हो यो । एकदम तुच्छ विचार हो । हामी त खुलमखुल्ला छौं । हामी खुला किताब हो । जहाँ हेरेपनि हुन्छ । मेरो लगाई खवाई बसाई त्यसकारण आफ्नो सम्पत्ति बेचेर राजनीति गर्या मान्छे हो हामी । अहिलेसम्म होइन पुस्तौ पुस्तासम्म हेर्न पाइन्छ । यो कुरा एकदम धुक्ककासाथ भन्छु । हामीले राजनीति गर्दा अरुलाई आक्षेप लगाएर होइन आफुसँग क्षमता के छ त्यसको प्रदर्शन गर्न सक्नुपर्छ । इमान्दारिता हुनुपर्याे । ‘अर्कालाई हिलो छ्यापेर म सफा हुन्छु भन्ने भ्रम हो त्यो नपालौं ।’ हामी जहिल्यै इमान्दारिताको पक्षमा उभिएर काम गर्छाैं ।’
काठमाण्डौँ : लामो समय राजनीति गर्नुभएका पूर्वमन्त्री लोकेन्द्र विष्ट अहिले कृषि खेतीमा रमाइरहनुभएको छ । उहाँले लगाउनुभएको ‘ड्रागन फ्रुट’ अहिले राम्रोसँग फस्टाउँदै गएको छ । ‘सूर्यमुखी’ झै सूर्यतिर फर्किएका ड्रागन फूल हेरेर अहिले उहाँ खुशी हुनुहुन्छ । “राति फूलको कोपिला लाग्दा बिहान फूल आउँछ भन्ने थाहा पाएँ”,उहाँले भन्नुभयो“यही भएर बिहान खुसीका साथ सबेरै उठ्दा फूलेका ड्रागनका फूल देखेर निकै खुसी भएँ ।” ड्रागन फ्रुटलाई रातको रानी भनेर पनि चिनिन्छ । किनकी राति नै ड्रागन फ्रुट फुल्ने गर्छ । त्यो फूल लामो समय रहदैन । सोमबार बिहान फुलेको त्यो फूल मङ्गलबार बिहानसम्म ओइलिसक्छ । यो वर्ष विगतका वर्ष भन्दा बढी नै फूलेको छ । जहाँ फल लागेको हुन्छ्, त्यहाँ फूल फुल्ने गर्छ । विष्टले दुई प्रकारका ड्रागन फ्रुट रोप्नु भएको छ । उहाँले सबै भन्दा धेरै ‘रातोमा सेतो’ वाला रोप्नु भएको छ भने त्यही फार्ममा ‘रातोमा रातो’ ड्रागन फ्रुट पनि रोप्नु भएको छ । रातोमा सेतो जातले फल दिन थालेको यो तेस्रो वर्ष हो । तेस्रो वर्षको यो दोस्रो लट हो । साथै ‘रातोमा रातो’ जातले फल दिन थालेको यो दोस्रो वर्ष हो । प्रत्येक वर्ष जेठदेखि कात्तिकसम्म फल दिने गर्छ । यो बीचमा ६ लटसम्म वर्षमा फल प्राप्त हुने विष्टको भनाइ छ । विष्टले वर्सेनि फल दिनेक्रम बढिरहेको बताउनुभयो । विगतमा ३० क्वीन्टलसम्म फल भित्र्याउन सफल भएकोमा यसवर्ष ४० क्वीन्टलभन्दा बढी ड्रागन फ्रुट भित्र्याउने अपेक्षा लिनुभएको छ । “यस वर्ष प्रत्येक बोटमा १० देखि २० वटासम्म फल फलेका छन्”,उहाँले भन्नुभयो“त्यसले गर्दा यसवर्ष विगतभन्दा उत्पादन बढ्ने अपेक्षा छ ।” प्रत्येक लटमा फूल फुलेका २० दिनसम्ममा फल पाकिसक्छ । एउटा सेतो फल ५०० ग्रामसम्म हुने गर्छ भने रातो फल ३०० ग्रामम्म हुने गरेको उहाँ बताउनुहुन्छ । विष्टले तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीस्थित खाली जग्गालाई भाडामा लिएर ड्रागन फ्रुट खेती गरिरहनुभएको छ । त्यही खेतीबाट उहाँले वार्षिक २० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । फल मात्रै नभए बिरुवाबाट पनि वार्षिक ५ लाखसम्म आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । अहिले उहाँले उत्पादन गरेका बिरुवा दाङ मात्रै होइन्, बाहिरी जिल्लामा पनि उत्तिकै बिक्री हुन्छ । करिब एक करोड लगानी गरेर विष्टसहित तीन जनाले व्यावसायिक ड्रागन खेती गर्नुभएको छ । यसअघि पनि उहाँ कालो धानको खेती गरेर चर्चामा हुनुहुन्थ्यो । उहाँले तीन बिघा ६ कठ्ठा जग्गामा उक्त खेती गर्नुभएको छ ।
पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशन भदौंको २४ र २५ गते हुने भएको छ । संघका अध्यक्ष नारायण कोइरालाको मातहतमा हालै बसेको बैठकले उक्त निर्णय गरेको हो । महाधिवेशनले आउँदो २ वर्षको लागि अध्यक्ष र पदाधिकारीसहित नयाँ कार्यसमिति चयन गर्नेछ । संघका महासचिव सुरेन्द्रमान विजुक्छेका अनुसार महाधिवेशनअन्तर्गतको निर्वाचन कार्यक्रम सम्पन्न गर्नको लागि संघका पूर्वअध्यक्ष तथा सल्लाहकार दिपक श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ । चुनावले अध्यक्ष,वरिष्ठ उपाध्यक्ष, उद्योग र वाणिज्यतर्फका २ उपाध्यक्ष,महासचिव,कोषाध्यक्ष,उपमहासचिवसहित २९ सदस्यीय कार्यसमिति चयन गर्नेछ । निवर्तमान अध्यक्ष कार्यसमितिको पदेन सदस्य हुने व्यवस्था रहेको छ । संघको कार्यसमिति सदस्यमा खुलातर्फ १०, कर्पोरेट २ जना,औद्योगिकबाट १ जना तथा बस्तुगतबाट ४ सदस्य हुने व्यवस्था छ । ४ जना सदस्य अध्यक्षले मनोनित गर्ने विधानमा उल्लेख छ । असार मसान्तसम्म सदस्यता नवीकरण गरेका सदस्यहरुले मतदान प्रक्रियामा सहभागी हुन पाउने छन् ।
काठमाण्डौँ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ८०० ले घटेर रु ९७ हजार १०० मा आएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार ९००मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ६०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार ४०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले घटेर रु एक हजार २४५ कायम रहेको महासङ्घले जनाएको छ ।
काठमाण्डौँ : साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले यस वर्षका लागि जिम्मेवारी पाएको रासायनिक मल भित्र्याउन सुरुआत गरेको छ । तीमध्ये १७ हजार मेट्रिक टन डिएपी मल स्वदेश भित्रिई धमाधम आफ्ना डिपो/बिक्रीकक्षमार्फत वितरण भइराखेको र २२ हजार मेट्रिक टन युरिया मल आगामी असारको पहिलो सातादेखि स्वदेश भित्रिन थाल्ने कर्पोरेशनले जनाएको छ । कर्पोरेशनले २० हजार मेट्रिक टन डिएपी र २२ हजार मेट्रिक टन मलसहित एक लाख मेट्रिक टन ल्याउन सरकारबाट स्वीकृति पाएको थियो । डिएपीमध्ये बाँकी तीन हजार मेट्रिक टन भारतको कोलकाता बन्दरगाहमा आइसकेको उसले जनाएको छ । कर्पोरेशनका विभागीय प्रबन्धक बज्रेश झाले भन्नुभयो, “१७ हजार मेट्रिक टन अर्थात् चार लाख बोरा डिएपी आफ्ना डिपो÷बिक्री कक्षमार्फत वितरण गरिराखेका छौँ । बाँकी तीन हजार मेट्रिक टन पनि भारतको कोलकाता बन्दरगाहमा आइसकेको छ ।” मल प्रतिबोरा ५० केजीको हुन्छ । उहाँका अनुसार २२ हजार मेट्रिक टन अर्थात् चार लाख ४० बोरा युरिया मल कोलकाता आइसकेको र एक हप्ताभित्र स्वदेश भित्रिन थाल्ने छ । विभागीय प्रबन्धक झाले भन्नुभयो, “२२ हजार मेट्रिक टन युरिया कोलकाता आइसकेको र एक हप्ताभित्र स्वदेश भित्रिन थाल्नेछ । स्वेदेश आउनेबित्तिकै डिपो÷बिक्रीकक्षमार्फत बिक्री वितरण सुरु हुन्छ ।” रोपाइँका समयमा देशभर रासायनिक मलको चरम अभाव भइरहँदा ती मलले किसानलाई केही भए पनि राहत मिल्ने अपेक्षा कर्पोरेशनले लिएको छ । कर्पोरेशनले इण्डोनेसियाबाट युरिया मल झिकाएको हो । विश्व कृषि बजारमा इण्डोनेसियाको मल सर्वोत्कृष्ट मानिन्छ । सरकारले यसपटक कर्पोरेशनलाई कूल एक लाख मेट्रिक टन मल आयात गर्न अनुदान दिएको थियो । यो कूल अनुदान आयातको ३० प्रतिशत हिस्सा मात्र हो । बाँकी अर्को सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीलाई जिम्मेवारी प्रदान गरिएको छ । कृषि मन्त्रालयले यसपटक मलमा मात्र करिब रु ११ अर्बभन्दा बढीको अनुदान प्रदान गरेको जनाइएको छ । माटोको उर्वरा शक्ति बढाउन डिएपीको प्रयोग गरिन्छ । रोपाइँपूर्व अर्थात् खेतमा धान रोप्नुअगाडि सो मल हालिन्छ भने रोपिएका बिरुवालाई सपार्न र हलक्क बनाउन युरियाको प्रयोग गरिन्छ । ती दुवै मल अन्न बालीका उत्पादकत्व बढाउन अति आवश्यक मानिन्छ । विभागीय प्रबन्धक झाले भन्नुभयो, “कर्पोरेशन सरकारले सुम्पिएको दायित्वलाई पूरा गर्न अग्रणी छ । आयातित मलबाट थोरै भए पनि किसान लाभान्वित हुनेछन् । आगामी दिनमा सरकारले अनुदानको मलको कोटा थपिदिएमा यसको जिम्मेवारी बहन गर्न कर्पोरेशन सक्षम छ ।” कृषि मन्त्रालयका अनुसार विशेषगरी यस मौसम (सिजन)का धान र मकै बालीका लागि मात्र दुई लाख मेट्रिक टन रासायनिक मल (डिएपी र युरिया)को आवश्यक पर्दछ भने वार्षिकरूपमा पाँच लाख मेट्रिक टन मल खपत हुने गर्दछ । नेपालका ७० प्रतिशत बढी नागरिक कृषि पेशामा संलग्न छन् । नेपालको कूल ग्रार्हस्थ उत्पादन (जिडीपी)मा कृषि क्षेत्रको २७ प्रतिशत योगदान छ । कृषि उत्पादनको मुख्य बाली धानबाली हो र जिडीपीमा धानको योगदान सात प्रतिशत छ । धानबालीलगायत अन्य बालीको उत्पादन वृद्धिका लागि रासायनिक मल नभइ हुँदैन । किसानलाई मल प्रदान गर्न खडा भएका सरकारी डिपो सबै मलविहीन छन् । मनसुन सक्रिय सरकार निष्क्रिय बन्दा किसान मारमा परेको जनाउँदै सदनले आइतबार सरकारलाई तत्काल किसानलाई रासायनिक मल उपलब्ध गराउन निर्देशसमेत गरेको थियो ।
गल्छी, मैलुङ, स्याफ्रुबेँसी सडक खण्डका विभिन्न स्थानमा ३२ पक्की पुल निर्माणाधीन रहेका छन् । विस्तृत अध्यायन प्रतिवेदन (डिपिआर)ले औँल्याएका साना–ठूला ती पुलमध्ये १३ वटाको निर्माण सम्पन्न भइसकेको पुल निर्माणमा हालसम्म रु ५७ करोड ९५ लाख खर्च भइसकेको सडक सुधार आयोजनाका प्रमुख नीरज शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार सबै पुलको भारवहन क्षमता ४० टनसम्म हुने र निर्माण भइसकेका अधिकांश पुलबाटै सवारीसाधन ओहोरदोहोर भइसकेको जनाइएको छ । गल्छीबाट मैलुङसम्मको ४६ किलोमिटरमध्ये हालसम्म २६ किमी सडकको निर्माण सम्पन्न भइसकेको छ । मैलुङ, गल्छी खण्ड सडक सुधारको जिम्मा पाएको कोभेट÷तुन्दी जेभी कन्ट्रक्शनको काम निरन्तर अगाडि बढिहेका कारण सो कम्पनीले हालसम्म ७४ प्रतिशत प्रगति हासिल गरिसकेको छ । मैलुङदबाट स्याफ्रुबेँसीसम्मको १९ किमी राजमार्ग सडक विस्तार जिम्मा लिएको भारत–सिद्विसाई कन्ट्रक्शन जेभीले भने आफूले जिम्मा लिएको कार्य पूरा नगरी गत फागुनदेखि निर्माणको काम छाडेको छ । राष्ट्रिय गौरवको राजमार्गमा काम अलपत्र पारि छाडेकाले सिद्विसाई जेभीको ठेक्का रद्द गरी नयाँ प्रक्रियामा जाने गृहकार्य भइरहेको सडक सुधार आयोजनाले जनाएको छ । भारत सिद्विसाईले रु ३५ करोड भुक्तानी लिएर निर्माणको काम छाडेपछि पटक–पटक कार्यक्षेत्रमा फर्कन आग्रह गरिएता पनि सम्पर्कमा नआएपछि नियमानुसार ठेक्का रद्दको प्रक्रिया अगाडि बढिसकेको छ । आर्थिक वर्ष २०७२÷७३ देखि सुरू भएको सडक सुधार आयोजनामा रु छ अर्ब ५६ करोड खर्च भएको बताइएको छ ।
पाल्पा : सासू–ससुराको राम्रो हेरचाह, पालनपोषण गर्ने असल बुहारीलाई सम्मान गरिएको छ । पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालको आयोजनामा परिवारका ज्येष्ठ नागरिक तथा सासू–ससुरालाई राम्रोसँग हेरचाह गर्ने बुहारीलाई सम्मान गरिएको हो । मित्यालका २७ बुहारीलाई लत्ताकपडा र सम्मानपत्रले सम्मान गरिएको छ । वडाले पहिलोपटक ल्याएको यस कार्यक्रम उदाहरणीय रहेको र सासू–ससुरालाई अपहेलना गर्ने बुहारीलाई थप जिम्मेवारी बन्न सिकाउने स्थानीयवासी धनबहादुर ठाडाले बताउनुभयो । वडा कार्यसमिति र सरोकारवालाले टोल–टोलमा पुगेर सासू–ससुरालाई राम्रोसँग लालनपालन, माया–ममता, स्याहारसुसार गर्ने बुहारी छनोट गरी सम्मान गरिएको वडाध्यक्ष सन्तवीर सुनारीले जानकारी दिनुभयो । समाजमा हिजोआज छोराबुहारी विभिन्न पेशा, व्यवसायमा व्यस्त रहने हुँदा घरमा एक्लै बस्नुपर्ने बाध्यता छ । पेशा, व्यवसायको व्यस्तता कतिपयले बुढ्यौली टेकेका सासू– ससुरालाई राम्रो स्याहारसुसार गर्न भ्याउँदैनन् भने कतिपयले ज्येष्ठ नागरिक भनेपछि अपहेलना गर्ने प्रवृत्ति छ । धनमाया ठाडाले घरका सासू–ससुरालाई राम्रो स्याहारसुसार गरेको भन्दै आफूलाई असल बुहारीका रूपमा सम्मान गरेकामा खुसी लागेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “घरका सासू–ससुरा भनेको हाम्रो अभिभावक हो, जन्मदिने बुवाआमासरह नै हामीले मायाममता, स्याहार संरक्षण गर्नुपर्दछ, उहाँहरूलाई खुसी बनाउन सकियो भने परिवार खुसी हुन्छ, हामीलाई आत्मसन्तुष्ट मिल्नेछ ।” कतिपय परिवारमा सासू–ससुरा उमेर ढल्कँदै गर्दा घरबाट निकाला गरिदिने, वृद्धाश्रममा लगेर राखिदिने पनि बुहारी हाम्रै समाजमा छन् । ज्येष्ठ नागरिक समाजको अभिभावक, मार्गदर्शक भएकाले उनीहरुको सदैव मायाममता, पालनपोषण गरियो भने परिवार, समाजमा खुसी मिल्नेछ ।
दोलखा : दोलखाको शैलुङ गाउँपालिकाको एक घरमा आगलागी हुँदा निसासिएर एक जनाको मृत्युभएको छ । शैलुङ गाउँपालिका–१ को एक घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा घरमा रहनुभएको ८५ वर्षीया निदकुमारी मगरको निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा विद्युत् सर्ट भएर आगलागी भएको र झ्यालढोका सबै बन्द रहेका कारण घरमा रहनुभएकी वृद्धाको आज मृत्यु भएको प्रहरीले जनाएको छ । घरको छुट्टै कोठामा वृद्धा एक्लै सुत्ने गरेको र घरमा आगलागी भएपछि स्थानीयवासीले उद्धारको प्रयास गरे पनि निसासिएर उनको घरभित्रै मृत्यु भइसकेको स्थानीयवासीले बताएका छन् । बिहानीको समयमा घरमा विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीमा परी घर पूर्ण रुपमा नष्ट भएको छ भने घरमा रहेको बाख्रा तथा कुखुरासमेत जलेर मरेका छन् । आगलागीबाट के कति क्षति भयो भन्ने बारेमा विवरण सङ्कलन भइरहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

