पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

काठमाण्डौँ :       प्रतिनिधिसभाको आजको बैठकमा काठमाडौँको वसन्तपुर डबलीमा अनशनरत बलात्कार पीडित भनिएकी निहारिका राजपुतलाई न्याय दिन माग गरिएको छ ।        आजको बैठकमा पूर्वमन्त्री तथा नेकपा (एमाले) का सांसद थममाया थापाले बलात्कारीलाई कारबाही गर्नुपर्ने माग गरी छ दिनदेखि अनशन बस्दासमेत सरकारले कुनै वास्ता नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।    विसं २०७६ कात्तिक ६ गते साँझ  नाबालिग हुँदा निहारिकामाथि धनुषाको भीमेश्वर नगरपालिका–३ बस्ने शिवराज श्रेष्ठले नसालु पदार्थ खुवाएर बलात्कार गरेको र गर्भ बसेको आरोप छ । उहाँ आफूमाथि बलात्कार गर्ने श्रेष्ठलाई अदालतले सफाइ दिएको भन्दै न्यायको माग गरी अनशन बस्दै आउनुभएको छ ।       सांसद थापाले भन्नुभयो, “सडकमा न्यायको माग गर्दै निहारिका छ दिनदेखि  अनशन बस्दै आउनुभएको छ, बलात्कारपछि राज्यका सबै तहमा न्यायको भिख मागिरहनुभएको छ, तर सरकारको ध्यान पुग्न सकेको छैन, सो घटनाबारे छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्छ ।” अनशनरत निहारिका आफ्ना २१ महिने बच्चाको डिएनए परीक्षण गर्नुपर्ने, चार महिनाअघि उच्च अदालत जनकपुरमा दर्ता गराएको मुद्दाको सुनुवाइ छिटो हुनुपर्ने लगायतका माग राखेर अनशन बस्नुभएको हो ।   जिल्ला अदालत धनुषाले उहाँमाथि बलात्कार भएको भन्ने दाबी नपुग्ने भन्दै शिवराजलाई सफाइ दिने फैसला सुनाएको थियो । सो फैसलाविरुद्ध उच्च अदालत जनकपुरमा पुनरावेदन दर्ता भएको छ ।  सांसद थापाले महिला हिंसा, हत्या र बलात्कार जस्ता घटना दिन प्रतिदिन बढ्दै गएको बताउँदै कानुन कार्यान्वयन गरी दोषीमाथि कडा कारबाहीको माग गर्नुभयो ।      

भोजपुर:      खेतबारी तथा पाखा पखेरामा पाउने वन लसुन (हाँडे लसुन) भोजपुरका अधिकांश वासिन्दाको राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक रुपमा यसको खेती थालनी नभएपनि यहाँका स्थानीयवासीले वन लसुन विक्री गर्दै आएका छन् ।      डिभिजन वन कार्यालय भोजपुरका अनुसार यसवर्ष मात्र यहाँबाट रु एक करोड बराबरको करिब ५५ टन वन लसुन बाहिएको छ । व्यावसायीहरुले वन कार्यालयबाट पूर्जी काटेर आधिकारिक रुपमा बिक्री गर्ने गर्दछन् भने कतिपयले सिधै बजारमा पुर्याउने गरेका छन् ।       वन लसुनको विक्रीबाट यस वर्ष जिल्लामा रु एक करोड १० लाख बराबर रकम भित्रिएको वन कार्यालय भोजपुरले जनाएको छ । खेती नगरिएपनि खेतबारी पाखाभित्तामा यो लसुन प्रशस्त मात्रामा पाइने गर्दछ । एक पटक खेतबारीमा लगाएपछि सामान्य हेरचाह गरे मात्र पनि २०/२५ वर्षसम्म आम्दानी लिन सकिन्छ ।     स्थानीयवासीले यसलाई सङ्कलन गरेर सुकाएपछि प्रतिकेजी २२० देखि २५० रुपैयाँसम्म पाउने गरेका छन् । यसको गानोलाई उसिनेर सुकाएपछि बिक्रीको लागि योग्य हुने गर्दछ । एक रोपनी जग्गामा १२० केजीसम्म उत्पादन लिन सकिने कृषकहरु बताउँछन् ।      केही वर्षदेखि वन लसुनको व्यावसायिक कारोबार गर्दै आउनु भएका रुद्र लुइँटेलले यसको बजार माग धेरै रहेको बताउनुभयो । वार्षिक रुपमा भोजपुरबाट एक करोड बढी मूल्यको वन लसुन अन्य देशमा जाने गरेको उहाँले बताउनुभयो । लुइँटेलले भन्नुभयो, ‘‘बजारमा वन लसुनको माग धेरै छ । व्यावसायिक रुपमा खेती गर्ने हो भने पनि बजारको समस्या छैन ।’’ आफूले यस वर्ष नै ३५ टन लसुन बजारमा बिक्री गर्न सकेको उहाँको भनाइ छ ।       एक प्रकारको फूल जस्तो देखिने यो लसुन फागुन÷चैत महिनामा सङ्कलन गर्ने गरिन्छ । यसरी सङ्कलन भएको लसुन स्थानीय ठेकेदारले झापा, काठमाडौँलगायत विभिन्न शहरमा मात्र नभई छिमेकी मुलुक भारतलगायत देशमा समेत निर्यात गर्ने गर्दछन् । स्थानीयमा व्यावसायिक धारणाको विकास भएमा वन लसुन राम्रो आम्दानीको स्रोत बन्ने व्यवसायी लुइँटेलले बताउनुभयो । यहाँका खेर गइरहेका जग्गालाई सदुपयोग गरेर यसको व्यावसायिक खेती गरे स्थानीयको आर्थिकस्तरमा सुधार ल्याउन टेवा पुग्ने देखिन्छ ।     वन लसुन आमचोक गाउँपालिकाको थिदिङ्खा, भोजपुर नगरपालिकाको दाँवा, बोखिम, आम्तेक, पौवादुङमा गाउँपालिकाको श्यामशिला, तिवारी भञ्याङलगायत जिल्लाका विभिन्न  ठाउँमा प्रशस्त मात्रामा पाइन्छ । खेतबारीमा उम्रिएर धान, मकै, कोदोलगायत बालीलाई ढाकेर दुःख दिने भएकाले किसानले उखेलेर नष्ट गर्दै आएका छन् । ‘‘यो बिक्री हुन्छ भन्ने पहिला हामीलाई थाहा थिएन । हाम्रो ध्यान यसलाई कसरी नष्ट गरेर अन्य बालीलाई जोगाउने भन्नेमा जान्थ्यो । बिक्री हुने थाहा भएपछि अहिले सङ्कलन गरेर सुकाएर बेच्न थालेका छौँ’’ टेम्केमैयुङ–१ तिम्माका कृषक डम्बरबहादुर विष्टले भन्नुभयो,‘‘सङ्कलन भएको लसुन किन्न ठेकेदारहरु घरमा नै आउँछन् । यसलाई केलाएर सुकाउन चाहिँ अलि झन्झटिलो छ ।’’     देशभरबाट सङ्कलन भएको यो लसुन डाबर नेपालमार्फत अन्य देशमा निर्यात हुने  गरेको काठमाडौँमा व्यवसाय गर्दै आउनु भएका पुष्पराज खड्काले बताउनुभयो । प्रशोधन गरेर राम्रो खालको चेवनप्रासमा र त्यसबाट बाँकी रहेको वस्तु साबुनसँगै अन्य धेरै वस्तुहरुको उत्पादनमा प्रयोग हुने खड्काले जानकारी दिनुभयो ।       यो लसुन समुन्द्री सतहबाट ८०० मिटरदेखि दुई हजार मिटरसम्मको उचाइमा प्रशस्त मात्रामा पाइने डिभिजन वन कार्यालयले जनाएको छ । स्थानीयवासीको आयस्रोतमा वृद्धि गर्नको लागि आगामी दिनमा यसको खेतीलाई प्रोत्साहन गर्ने योजना रहेको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख उदिमप्रसाद राईले बताउनुभयो । उहाँले भन्नुभयो,‘‘ यहाँ धेरै वन लसुन उत्पादन हुने सम्भावना रहेकाले कृषकलाई यसतर्फ आकर्षित गर्न सकिएमा राम्रो आम्दानी गर्न सकिने भएकाले योजनावद्ध रुपमा काम गर्ने तयारीमा छौँ ।’’       रामप्रसाद राई गाउँपालिका—१ ओख्रेका एक सय बढी कृषकले यसलाई आमदानीको भरपर्दो स्रोत बनाउन थालेका छन् । एक कृषकले २०० देखि ४०० केजीसम्म विक्री गर्दै आएको स्थानीय कृषक डिबी राईले जानकारी दिनुभयो । राम्रो ढङ्गले सङ्कलन गर्न सके यसबाट मकै, आलुभन्दा राम्रो आम्दानी लिन सकिने कृषक राईको भनाइ छ ।     किसानले यसलाई फुलेको समयभन्दा पनि फूल झरिसकेपछि सङ्कलन गर्ने गर्दछन् । फूल फुलेको समयमा सङ्कलन गर्दा यसको तौल कम हुने कृषकको भनाइ छ । उचित समय पारेर सङ्कलन गरेमा एउटा गानो २५ ग्रामसम्मको हुने उनीहरुको भनाइ छ ।     के हो वन लसुन :     नेपालको रैथाने विरुवा वन लसुनको वैज्ञानिक नाम लिलियम एसपिपी हो । यसको बोट सामान्यतः एकदेखि दुई फुटसम्म अग्लो हुन्छ । यसलाई एक प्रकारको फूलको रुपमा पनि लिन सकिन्छ । चिल्ला पातको छेउबाट सुन्दर फूलहरू फुलेको हुन्छ । तापक्रम र उचाइको आधारमा यसका फूलहरु सेतो, सुनौलो, हल्का पहेंलो फूलेको देखिन्छ भने यसको  फूलमा छ वटा पुङ्केशर हुन्छ । यो बिरुवा वनस्पति जगतको लिली परिवारभित्र समावेश छ । यसको गानोमा लाग्ने पोटीहरू छाती दुख्दा खाने गरिन्छ भने यसलाई शक्तिबद्र्धक जडीबुटीको रुपमा पनि लिने गरिन्छ ।       शरीरमा तागत कम भएमा यसलाई खान सकिने स्थानीय जानकारहरुको भनाइ छ ।  वन लसुन घाउ, चोटपटक तथा शल्यक्रियाका बिरामीलाई औषधिको रुपमा प्रयोग हुने बताइएको छ । यसलाई कतिपय स्थानीयवासीले सजावटको लागि फूलबारीमासमेत रोप्ने गरेका छन् भने कतिपय कृषकले यसलाई मिचाहा प्रकृतिको वनस्पति रुपमा लिने गर्दछन् ।       भोजपुरलाई वन लसुनसँगै अन्य जडीबुटी उत्पादनको हिसाबले उर्बर जिल्ला मानिन्छ । यहाँ सतुवा, सेतक चिनी, शक्ति गुम्बा, पदमचाल, वन मूला, वन लसुन, टिमुर, किम्बु, भुत्केस, बुढो ओखती, लोठसल्ला, चिराइतो विखुम्बालगायत जडीबुटी पाइन्छ । 

काठमाण्डौँ :    सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले घटेर रु ९६ हजार ५०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार १०० मा कारोबार भएको थियो ।      नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार ६०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २४५ कायम रहेको महासङ्घले जनाएको छ । 

वागलुङ् :       माछा मार्ने क्रममा करेन्ट लागेर बडिगाड गाउँपालिका–२ का छबिलाल बलामीको मृत्यु भएको छ ।   स्थानीय बडिगाड खोलामा गए राति करेन्ट लगाएर माछा मार्न खोज्दा ३२ वर्षीय बलामीको मृत्यु भएको बडिगाड–२ का वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिनुभयो ।    बलामीको शवलाई अहिले परीक्षणका लागि बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको वडाध्यक्ष शेरचनले बताउनुभयो । विद्युतीय शक्ति (करेन्ट) लगाएर माछा मार्न नपाइने भए पनि बेलाबेलामा यस्ता गतिविधि हुने गरेका छन् । यसरी माछा मार्ने क्रममा करेन्ट लागेर धेरैले ज्यान गुमाएका छन् । 

  म्याग्दी :      म्याग्दीका ४४ बस्ती पहिरो र कटानको जोखिममा छन् । बेनीस्थित भू–तथा जलाधार संरक्षण सम्पर्क कार्यालयले ३१ बस्ती पहिरो र १३ ठाउँमा नदी कटानका कारण करिब एक हजार घरधुरी जोखिममा रहेका जनाएको छ ।    कार्यालयका सहायक भूसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले म्याग्दीको ३५७।९ हेक्टर जमिन भू–क्षयबाट प्रभावित भएको जानकारी दिनुभयो । “म्याग्दीबाट वार्षिक दुई हजार ५१९ दशमलव ७६ मेट्रिक टन माटो भू–क्षयका कारण बगेर जाने गरेको छ”, उहाँले भन्नुभयो, “माथिल्लो क्षेत्रमा पहिरो र भूक्षय हुँदा नदीमा बाढीको आयातन बढेर कटान हुने गरेको छ ।”   धवलागिरिको लमसुङ, खोरिया, दर, ताकम, मालिकाको देवीस्थान, बिम, जुकेपानी, छाप, रातोढुङ्गा, रुम, घोर्सी, दिच्याम गोगनपानी, दरवाङ, मङ्गलाको खर्सुपानी, हाँडेभिर, बेनी नगरपालिकाको सिङ्गा तातोपानी, भकिम्ली, पुलाचौर, भसभसे, घतान, पात्लेखेत, रघुगङ्गाको पाखापानी, दग्नाम, राहुघाट, कटुवालटोल, भगवती, रानीपौवा, पिप्ले, अन्नपूर्णको दोवा, घोस्केखोर, शिख तल्लोगाउँ र फगाममा पहिराको जोखिम रहेको कार्यालयले जनाएको छ ।   यसैगरी म्याग्दी, राहुघाट र कालीगण्डकी नदीको तटीय क्षेत्रमा रहेको दरवाङ, दुखुबेँसी, सहश्रधारा, शेरफाँट, हाँडेभिर, पिपलचौतारी, पानावगर, काशेगर, ताराखेत, सिङ्गा तातोपानी, भसभसे, गलेश्वर र भुरुङ तातोपानीमा कटानको जोखिम भएको मिश्रले बताउनुभयो । जोखिमयुक्त ठाउँबाट ४५ स्थानमा पहिरो नियन्त्रण, २५ स्थानबाट खोला किनार सरक्षण र ३२ स्थानबाट गल्छी संरक्षण तथा व्यक्तिगत घर, खेतबारी संरक्षणका लागि ७५ जनाको माग निवेदन आएको छ ।    कालीगण्डकी, राहुघाट र म्याग्दी नदीमा सहायक खोलाबाट आउने बाढीले नदीको धार परिवर्तन गराउनु, सडक निर्माण गर्ने क्रममा भिरालो जमिन कटान गर्दा सडकभन्दा माथिको माटो तल फाल्नु र सोको व्यवस्थापन नगरिनु, सडकले गर्दा परापूर्वकालदेखि बग्दै आएको भलबाढी अनियन्त्रित हुनु र नदीमा बाढीको आयातन बढेर तटीय क्षेत्रमा कटान गर्ने समस्या रहेको मिश्रले बताउनुभयो ।    यसैबीच म्याग्दीमा मनसुनजन्य विपद् प्रतिकार्य योजना लागू गरिएको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले मनसुनजन्य विपद्को जोखियुक्त स्थान पहिचान, सतर्कता, विपद्को अवस्थामा उद्धार, राहत र व्यवस्थापनका लागि विगतको अभ्यास र सरोकारवालाको सुझावका आधारमा प्रतिकार्य योजना बनाएर कार्यान्वयन थालिएको बताउनुभयो ।    उच्च जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित ठाउँमा सार्ने र जिल्लाका ६ वटै स्थानीय तहले कालीगण्डकी, म्याग्दी र रघुगङ्गा नदीको तटीय क्षेत्रमा बाढीको पूर्वसूचनाका लागि सम्पर्क व्यक्ति खटाउने प्रक्रिया थालेका छन् । 

   काठमाण्डौँ  :      मेलम्चीमा बाढी आएको एक वर्ष पुगेको छ । गत वर्ष असार १ गतेको बाढीले २६ जनाको ज्यान गएको थियो धेरै भौतिक सम्पत्ति क्षति भयो ।    सिन्धुपाल्चोकलाई सरकारले गत वर्ष सङ्कटग्रस्त जिल्लासमेत घोषणा गरेको थियो । बस्ती संरक्षण, स्थानान्तरण र पुनःनिर्माणका कुरा उठे पनि अहिलेसम्म काम भने हुन सकेको छैन ।    गत वर्ष असार १ र साउन १६ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो । नदी तटीय क्षेत्रको खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो । सयौँ स्थानीयवासी विस्थापित भए । उनीहरु हालसम्म अस्थायी टहरामै बस्दैआएका छन् । उनीहरु सुरक्षित वासस्थानको पर्खाइमा छन् ।    तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले घरबारबिहीनलाई  रु पाँच लाखका दरले रकम उपलब्ध गराउने घोषणा गरेको थियो । उक्त निर्णय हालसम्म पनि कार्यान्वयन नहुँदा बाढी प्रभावितको बिचल्ली भएको छ । बाढीले घरखेत बगाएपछि बेसहारा बन्नुभएका हेलम्बु–२ गणेशेबगरका गोरी तामाङका आँखा अझै ओभाएका छैनन् । बाढीले उहाँको घर बगायो भने खेत बगरमा परिणत भयो । उहाँ हाल सुुकुम्बासी बन्नुभएको छ । “सरकारले घर बनाइदिने आश्वासन दिएको थियो, अझै त्यो हुन सकेको छैन”, उहाँले पीडा सुनाउनुभयो ।    हेलम्बु, मेलम्ची र पाँचपोखरीमा गरी बाढीले ५५१ घर बगाएको थियोे । पाँच हजार ४०० रोपनी खेतीयोग्य जमिन बगर बन्यो । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सात झोलुङ्गे पुल, नौ पक्की पुल र ३३ सार्वजनिक संरचना ध्वस्त भए । हालसम्म अस्थायी टहरामुनि बस्दै आएका बाढी पीडित सरकारको बाटो हेरेर बसिरहेका छन् ।    हेलम्बु गाउँपालिकाका लीलाबहादुर ज्योति बासको उचित व्यवस्था नहुँदा रोजगारीका लागि कतै निक्सिन सक्नुभएको छैन । बाढी घर बगाएपछि मेलम्चीका हरिशरण श्रेष्ठ सुरक्षित बासस्थानकै खोजीमा भौँतारीरहनुभएको छ । “सुरक्षित ठाउँमा घर कहिले बन्ला भन्ने चिन्ताले सधँै सताउँछ”, उहाँले भन्नुभयो ।    प्राकृतिक विपद्का हिसाबले सिन्धुपाल्चोक देशकै उच्च जोखिममा रहेको जिल्ला हो । गत वर्ष केही तयारी गरे पनि पर्याप्त नभएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा बताउनुहुन्छ । “निजी आवास निर्माणको प्रक्रिया अगाडि बढेको छ, केही समस्याका कारण यसमा ढिलाइ भएको छ”, उहाँले भन्नुुभयो । यस्तै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ बाढी प्रभावितका लागि छिट्टै काम गर्ने बताउनुहुन्छ ।   खोलाको अतिक्रमण गरी घरलगायत संरचना निर्माण गर्दा पनि अत्यधिक क्षति भएको हो । मेलम्ची, इन्द्रावती र पाँचपोखरी जानका लागि ह्युमपाइप हालेर बनाइएको अस्थायी पुल पनि केही दिन अघि आएको बाढीले बगाएपछि झन समस्या भएको छ । हेलम्बु–७ चनौटेमा नेपाली सेनाको सहयोगमा बेलीब्रिज निर्माणबाट आवतजावतमा सहज भएको स्थानीयवासी बताउँछन् । 

काठमाण्डौँ :      हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेकोे पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव छ ।    उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश नं १, मधेस र बागमतीमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आङ्शिक बदली रहेको छ । प्रदेश नं १, मधेस र बागमती प्रदेशमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने महाशाखाले जनाएको छ ।   राजधानी काठमाडौँमा बिहानैदेखि बदली रहनुका साथै केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज काठमाडौँको अधिकतम तापक्रम २९ दशमलव सात र न्यूनतम तापक्रम १९ दशमलव पाँच डिग्रि सेल्सियस रहेको छ ।

धादिङ :      धादिङको ईजारा र सिस्नेखोलामा आज भएको छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । धादिङको निलकण्ठ नगरपालिका–३ ईजारामा बा१८च २८२० नम्बरको बोलेरो जिप दुर्घटना भएको हो ।    धादिङवेसीबाट जुरेथुमतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा निलकण्ठ नगरपालिका–१ जुरेथुमका ३२ वर्षीय प्रेमबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो । दुर्घटनामा १७ जना घाइते भएका छन् । उनीहरुको धादिङ अस्पतालमा उपचार भइरहेको डा मधुकर दाहालले जानकारी दिनुभयो । उकालो बाटोमा क्षमताभन्दा धेरै यात्रु र सामान बोकेका कारण जिप दुर्घटना भएको बताइएको छ ।    यस्तै त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनीवेशी नगरपालिका– ९ सिस्नेखोला सुरुङ मार्गमा ट्रक दुर्घटनामा एकजनाको मृत्यु भएको छ । नौबिसेबाट काठमाडौँतर्फ जाँदै गरेको ना५ख ७३८६ नम्बरको मालबाहक ट्रक सोही दिशातर्फ जाँदै गरेको बा३क ३४०४ नम्बरको मिनि ट्रक र बा८२प ५६४५ नम्बरको मोटर साइकलसँग ठोक्किँदा  एक युवाको ज्यान गएको प्रहरीले जनाएको छ ।   धादिङको निलकण्ठ नगरपालिका–१२ का ४४ वर्षीय यमबहादुर मगरको मृत्यु भएको हो । दुर्घटनामा घाइते निलकण्ठ नगरपालिका–८ का गणेश श्रेष्ठको काठमाडौँमा उपचार भइरहेको छ ।

मोरङ :      विपद् व्यवस्थापनमा जोखिम उठाएर भए पनि प्रतिकार्य गर्न मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्देशन दिनुभएको छ । जिल्लामा आज विपद् व्यवस्थापनसम्बन्धी  छफलमा उहाँले सो निर्देशन दिनुभएको हो ।       विगतको अभ्यासबाट पाठ सिकेर अब सुरु हुने मनसुन र त्यसबाट हुन सक्ने जोखिमलाई नियन्त्रण एवं न्यूनीकरण गर्न सम्बन्धित कार्यालयले समयमै काम गर्नुपर्ने कुरामा जोड दिँदै प्रजिअ दाहालले अहिले सुक्खा मौसममा काम नगर्ने र बाढी आएपछि अनेक बहाना देखाउने काम नगर्न स्पष्ट पार्नुभयो ।      आफ्नो जिम्मेवारीको काम नगरेर जनतालाई दुःख दिने काम राष्ट्रसेवक कर्मचारीबाट सुहाउँदो नहुने धारणा राख्दै प्रजिअ दाहालले जिल्लामा तत्काल देखिएका समस्यामा गम्भीर हुन सम्बन्धित निकायलाई सचते गर्नुभयो ।      सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिमिल्सिनाले जिल्ला विपद् कोषबाट चालु आर्थिक वर्षमा रु ३९ लाख ७५ हजार खर्च भए पनि अहिले रु एक करोड २२ लाख ९६ हजार मौज्दात रहेको जानकारी दिनुभयो । गत वर्ष आएको बाढीले रु ५६ करोड ८७ लाख बराबरको किसानको बालीमा क्षति पुगेको उहाँले उल्लेख गर्नुभयो ।      मोरङको पहाडी क्षेत्रमा पहिरो तथा तराईमा डुबान एवं कटानको समस्या रहेको अवस्थामा जनधनको क्षति हुन नदिन तथा त्यस्तो भएमा राहत सङ्कलन र वितरणमा ध्यान दिन स्थानीय तहका प्रमुखलाई बैठकमा आग्रह गरिएको छ । कार्यक्रममा जिल्लाका १७ वटै पालिकाका प्रमुख, उपप्रमुख, प्रहरी प्रमुख, सरोकारवाला कार्यालयका प्रमुखलगायत सहभागी थिए ।