पोखरा:  कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा ३२ औं ऐतिहासिक चैते दशैं मेला जारी छ । ग्रीन हिल क्लबको आयोजनामा विविध कार्यक्रम मध्ये महिला भलिबल प्रतियोगितामा एलिट भलिबल एकेडेमील...

पोखरा:     पोखरामा जारी तेश्रो मनुश्रीरभिग्नाजित जुनियर टेनिसमा आज सेमीफाइनलका खेल सञ्चालन हुने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस सेन्टरमा जारी प्रतियोगितामा दोश्रो दिन हिजो विभिन्न उमेर समुहका २१ खेलहरु सम्पन्न भए संगै भोली सेमीफाइनलका खेलहरु सञ्चालन हुने भएका हुन् । प्रतियोगितामा यू–१२ गर्ल्स सिंगल्समा सारा पन्त र ऐरा खत्री र अनुश्री धोजु र जिवाश्री भट्टराई समेीफाइनलमा आमने सामने हुनेछन् । यू–१६ गर्ल्स सिंगल्समा आइशा म्याक्ग्लान र सुनिरा थापा सेमीफाइनलमा भिड्नेछन् ।  यू–१० गर्ल्स सिंगल्समा सारा पन्त र नैरा छोडेन घले तथा ताभिसी राना र जिवाश्री भट्टराई भिड्नेछन् । ब्वाइज सिंगल्सतर्फ अर्याशराज पौडेल, सभ्याजङ्ग कार्की, बेदान्त चालिसे र निश्चल ज्ञवाली सेमीफाइनल प्रवेश गरे ।   त्यस्तै यू–१६ ब्वाइज सिंगल्सतर्फ दर्शिल श्रेष्ठ र अमन नेपाली आमने सामाने हुँदा श्रीजन भट्टराई र शाश्वत बज्रचार्य फाइनलमा स्थान बनाउन भिड्ने छन् । यू–१४ ब्वाइज सिंगल्समा सन्दिप विक र रनिश श्रेष्ठ तथा सन्दिप जीशी र स्पन्दन उदासले अन्तिम चारमा स्थान बनाएका छन् । प्रतियोगितामा यू–९ गर्ल्सतर्फ नैरा छोडेन घले र समृद्धि खत्री तथा जियोभानी केसी र ताभिसी राना एक अर्का बीच भिड्नेछन् भने ब्वाइजतर्फ जसन गुरुङ र जिवस विक्रम भट्टराई तथा सोनाम छिरिङ घले र इभान भट्टराईले अन्तिम चारमा आफ्नो स्थान पक्का गरे । उनीहरु भोली एक अर्काको सामना गर्नेछन् । त्यसै गरी यू–८ गर्ल्स सिंगल्समा अमिरा जिशी र श्रेयाश्री पाण्डे उपाधिका लागि भिड्दा यू–१२ व्वाइज सिंगल्समा विश्व विशेष डल्लाकोटी र निश्चल ज्ञवाली तथा अर्याशराज पौडेल र सभ्याजङ्ग कार्की अन्तिम चारमा भिड्नेछन् । यू–१६ गर्ल्सतर्फ सुनिरा थापा र आयशा म्याक्ग्लान तथा आरुषी तुलाचन र दिव्यता भण्डारी सेमीफाइनलमा एक अर्का बीच भिड्नेछन् । प्रतियोगिता अन्तर्गत गर्ल्स ओपन डबल्समा शाल्भी र आरुषीको जोडीले आर्शीया स्वाराको जोडी आमनो सामने हुनेछन् भने दोश्रो खेलमा आहना र आयशाले शरिसा र ग्रिस्मा अन्तिम चारमा भिड्नेछन् । त्यसै गर िब्वाइज डबल्समा अमन र सूयाशंको जोडीले यूवेन र स्पन्दन उदासको जोडी भिड्दा दोश्रो सेमीफाइनलमा सन्दिप र दोजेन गुरुङको जोडीले प्रफुल श्रेष्ठ र सुभनको जोडीको सामना गर्नेछन् । चेत्र २५ गते सम्म पोखरा रंगशालास्थित टेनिस कोर्टमा सञ्चालन हुने प्रतियोगितामा कुल १४ वटा इभेन्टमा ब्वाईजतर्फ ४० र गर्ल्सतर्फ ३० गरी कुल ७० जना खेलाडीहरुले प्रतिस्पर्धा जनाएका छन् । प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ र यू–१६ ब्वाइज तथा गर्ल्स सिंगल्सका साथै ओपन ब्वाईज तथा गर्ल्स डबल्समा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा जनियर नेपाल र्‍याकिङ खेलाडीहरुको सहभागिता छ भने करिव २ लाख ३१ हजार पुरस्कार राशीमा खर्च हुने कास्की टेनिसले जनाएको छ । प्रतियोगितामा यू–१२ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले जनही नगद रु १० हजार तथा उपबिजेताले जनही नगद रु ५ हजार सहित मेडल प्राप्त गर्नेछन् । यू–१४ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले समान जनही नगद रु १५ हजार, उपबिजेताले समान जनही नगद रु ७ हजार ५ सयसहित मेडल प्राप्त गर्नेछन् । यू–१६ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले समान जनही नगद रु २० हजार उपबिजेताले समान जनही नगद रु १० हजार तथा ब्वाईज तथा गर्ल्स ओपन डबल्सतर्फ बिजेताले समान जनही नगद रु २० हजार उपबिजेताले समान जनही नगद रु १० हजारसहित मेडल प्राप्त गर्नेछन् । त्यस्तै यू–८, यू–९ र यू–१०, ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेता तथा उपबिजेताले नगद समान रु ४ हजार र २ हजारसहित मेडल प्राप्त गर्ने छन् । प्रतियोगितामा पोखरा, बुटवल, काठमाण्डौ र चितवनका खेलाडीहरुको सहभागिता छ । प्रतियोगिता विभिन्न उमेर समुहका नेपाल र्‍याकिङ्ग आयर्शराज पौडेल, शाल्भी शेरचन, इभान भट्टराई, जिवाश्री भट्टराई, जिवाश भटट्राई, दर्शिल श्रेष्ठ, जियोभानी केसी, शास्वत बज्रचार्य, शिर्जन भट्टराई, सन्दिप विक, इलेश गौतम, निश्चल ज्ञवाली, विशेष विश्व डल्लाकोटीले विभिन्न इभेन्टमा प्रतिस्पर्धामा छन् । प्रतियोगिता सम्पन्न गर्न करिव ४ लाख खर्च हुनेछ । प्रतियोगितालाई कुमार श्री मोहन बहादुर शाहीले मुख्य प्रायोजन गरेका छन् । उनले विगत तीन वर्ष देखि आफ्ना नाती–नातीनाको नाममा उक्त प्रतियोगितामा प्रायोजन गरेका हुन् ।  

काठमाडौं:    सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा तीव्र गतिमा सवारीसाधन हाँक्न नपाइने भएको छ । ठमेल पर्यटन विकास परिषद् र महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलले काठमाडौँको प्रमुख पर्यटकीयस्थल ठमेलभित्र तीव्र गतिमा सवारीसाधन हाँक्न र हर्न बजाउन नपाइने निर्णय गरेको हो । ठमेलभित्रका चोकचोकमा सीमित गतिका बोर्ड राख्ने र सिसी क्यामराद्वारा यसलाई निगरानी गर्ने निर्णय गरिएको ट्राफिक प्रहरी प्रभाग ठमेलका प्रमुख कमल गुरुङले जानकारी दिनुभयो ।  “ठमेलका गल्लीभित्र प्रतिघण्टा २० किलोमिटरको गतिमा मात्र सवारीसाधन गुडाउन पाइनेछ”, उहाँले भन्नुभयो । ठमेल क्षेत्रभित्र जथाभावी हर्न बनाउने सवारीसाधनलाई पनि कारबाही गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसअघि नै काठमाडौँ उपत्यकामा हर्न निषेध गरिसकेको छ ।  ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि ट्राफिक व्यवस्थापनलाई कडाइ गर्न लागिएको बताउनुभयो । “ठमेल भित्रिने र बाहिरिने नौवटै नाकामा सवारीको चाप हेरेर व्यवस्थापन गर्न लागेका छौँ”, उहाँले भन्नुभयो ।  अध्यक्ष शर्माले ठमेलभित्र सञ्चालनमा रहेका रिक्सालाईसमेत बाटोअनुसार एकतर्फी गर्दै लैजान लागिएको बताउनुभयो । ठमेलभित्र पानीका ट्याङ्करहरु बिहान ४ देखि ६ बजेसम्म सञ्चालन गरिदिन सम्पूर्ण व्यवसायी र घरधनीलाई अनुरोध गर्ने निर्णय गरेको ठमेल पर्यटन विकास परिषद र महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलको आज बिहानको बैठकले गरेको गरेको छ ।  ठमेल क्षेत्रको सुरक्षाका लागि काठमाडौँ महानगरपालिकाको सहयोगमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयले ठमेलभित्रका गल्लीमा एक सय २० थान सिसी क्यामरा जडान गरेको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा सञ्चालन गर्ने निर्णयसमेत हालै गरेको थियो ।

काठमाडौं:    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको  छ । बिहिबार अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगत कंसाकर, पूर्व पर्यटन सचिव शंकर अधिकारीलगायत ३२ जना विरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।  वाइडबडी जहाज खरिद प्रकरणमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।

गलकोट:    नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा अहिले विदेशी सिकारी सिकार खेल्न व्यस्त छन् । दोस्रो सिकार याममा ढोरपाटन आरक्ष क्षेत्रमा धमाधम सिकार भइरहेको छ ।  यस याममा ११ नाउर, सात झारल र चार बँदेलको सिकार हुँदैछ । यस वर्षको दोस्रो सिकार याम सुरु भएसँगै केही विदेशी सिकारी सिकार खेलेर फर्केका छन् । केही सिकारी आरक्षभित्र सिकार खेल्न व्यस्त छन् भने केही सिकारी आउने क्रममा छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले वैशाखका लागि ११ नाउर र सात झारलको सिकार गर्न अनुमति दिएको थियो ।  ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले यस वर्षको दोस्रो सिकार याममा ११ नाउर र सात झारलको सिकार अनुमति दिएकामा केही सिकार भइसकेको बताउनुभयो । आरक्षले दोस्रो याममा चार बँदेलको सिकारका लागिसमेत अनुमति दिएको छ ।  कँडेलका अनुसार अनुमति पाएका सिकारीले नाउर, झारल र बँदेल गत फागुन १८ गतेदेखि वैशाखको दोस्रो सातासम्म सिकार गर्न आरक्ष खुल्ला गरिएको हो । सिकारका लागि नेपाली सहयोगीका साथ विदेशी व्यावसायिक सिकारी ढोरपाटन आरक्षमा आउनेजाने क्रम चलिरहेको छ । त्यसमध्ये केही विदेशी सिकारी सिकार खेलेर फर्केका छन् भने केही सिकारी आरक्षतर्फ आएका छन् । अन्य सिकारी आउने तयारीमा रहेको कँडेलले बताउनुभयो ।  “यस वर्ष आरक्षमा सूचीकृत कम्पनीमध्ये पाँच कम्पनीमार्फत अमेरिका, रसिया, स्पेन, उज्बेकिस्तान, मेक्सिको र बुल्गेरियाका सिकारीले सिकार खेल्न अनुमति पाएका थिए,” कँडेलले भन्नुभयो । यस वर्ष प्रतिस्पर्धात्मकता स्पेनका तीन, अमेरिकाका दुई, बुल्गेरियाका दुई, रसियाका दुई, मेक्सिकोका एक र  उज्बेकिस्तानका एक सिकारी सिकारका लागि छनोट भएका थिए । उनीहरूले बन्दोबस्तीका सामग्री फागुन १८ गतेपछि सिकार आरक्षमा वैधानिकरुपमा आफूले प्राप्त गरेको कोटाका आधारमा सिकार खेल्न सक्नेछन् । सिकार खेल्न नेपाली सहयोगीसहित आरक्षका कर्मचारीसमेत विदेशी सिकारीको साथमा खटिने गर्दछन् ।  सिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्गनिर्देशनका लागि ढोरपाटन सिकार आरक्ष कार्यालय आफ्ना कर्मचारी तथा सिकारीका भरिया सम्बन्धित ब्लकमा पठाइएको छ ।  विभागले हरेक वर्ष नाउर र झारलका लागि कोटा निर्धारण गर्ने गरेको हुन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको पहिलो सिकार याम असोज–मङ्सिरका लागि आठ नाउर, चार झारल र आठ बँदेलको सिकार खेल्न अनुमति दिएको थियो ।  विभागले बोलपत्रमार्फत विश्वका धनाढ्य सिकारीबिच प्रतिस्पर्धा गराएर सिकार खेल्न अनुमति दिने गरेको छ । बोलपत्रमार्फत एउटै नाउर सिकार खेल्न सिकारीले आठ लाखदेखि १८÷२० लाखसम्म तिर्ने गरेकोसमेत तथ्याङ्क छ ।  सिकारका लागि आरक्षको क्षेत्रलाई सेङ्ग, बार्से, दोगाडी, घुस्तुङ, सुर्तिवाङ, सुनदह र फागुने सात ब्लकमा विभाजन गरिएको छ । ढोरपाटन क्षेत्रमा बर्सेनि (असोज÷मङ्सिर) पहिलो याम र (फागुन÷वैशाख)मा दोस्रो याम गरी दुई चरणमा सिकार हुँदै आएको छ ।  खर्चिला र साहसी सिकारीले विकटमा रहेका ‘ब्लक’मा सिकार खेल्न रुचि राख्ने गरेको सिकार आरक्ष कार्यालयले जनाएको छ । यस पटकको सबैभन्दा बढी सिकार घुस्तुङ, दोगाडी र सेङ्ग ब्लकमा हुनेछन् । विदेशी सिकारीसहितको समूहले १५ दिनभित्र सिकार खेलिसक्नुपर्ने हुन्छ । जङ्गलमै बास बिताउने सिकारीले आरक्ष प्रवेश गरेको १५ दिनभित्र सिकार खेल्न नसके रित्तो हात फर्कनुपर्ने नियम छ ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्छ । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ । नाउर, झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा एक सिकारीले करिब २० देखि ३० लाखसम्म खर्च गर्ने गरेको ढोरपाटन सिकार आरक्ष कार्यालयले जनाएको छ । वि.सं.२०४४ मा स्थापना भएको सिकार आरक्ष पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको भए पनि आरक्षको मुख्य कार्यालय भने बागलुङको ढोरपाटन उपत्यकामा पर्छ । सिकार आरक्षको सुरक्षाका लागि २०७३ सालदेखि नेपाली सेनाको गुल्म बस्दै आएको छ । सेनाले आरक्षको सुरक्षा दिन थालेपछि चोरी सिकारीमा कमी आएको छ । आरक्षमा यसपटक नेपाल वाइल्डलाइफ एडेभेन्चर, हिमालय सफारिज, ग्लोबल सफारिज, नेपाल ट्राभल एक्पेडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिजमार्फत सिकारीले सिकार खेल्न अनुमति पाएका हुन् ।

काठमाडौं:      नेपाली कांग्रेसले उप–निर्वाचनकालागि उम्मेदवार टुंग्याएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानलीकण्ठमा बसेको संसदीय बोर्ड बैठकले इलाम–२ र बझाङ प्रदेशसभा १ कालागि उम्मेदवार टुंग्याएको हो । इलाममा यसअघि कै उम्मेदवार डम्बर खड्का र बझाङ प्रदेशसभा १ अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी उप(सभापति धनराज गुरुङले जानकारी दिनुभयो ।  । यसअघि हिजो बसेको संसदीय बोर्डको बैठकमा सभापति देउवाले इलाम २ मा खड्का र बझाङ प्रदेशसभा १ मा सिंहको नाम प्रस्ताव गर्नुभएको थियो । संसदीय बोर्डको निर्णयलाई आजै बस्ने कार्यसम्पादन समितिले अनुमोदन गर्नेछ । वैशाख १५ मा हुने उप(निर्वाचनका लागि यही चैत २४ गते मनोनयन दर्ताको कार्यक्रम छ।

धनगढी:     बिरालोले टोकेपछि रेबिज विरुद्धको सुई लगाएकी कैलालीकी सीता डगौराको उपचारका क्रममा मृत्यु भएको छ। भजनी नगरपालिका(४, खैलाड घर भई हाल धनगढीमा बस्दै आएकी ४० वर्षीया डगौरालाई चैत १५ मा बिरालोले टोकेको थियो। त्यसपछि उनी रेबिज विरुद्धको सुई लगाउन सेती प्रादेशिक अस्पताल, धनगढीमा पुगेकी थिइन्। आफन्त मनीषा चौधरीका अनुसार घरमै पालेको बिरालोले डगौराको खुट्टामा टोकेको थियो। उनले सोही दिन सेती अस्पतालमा रेबिज विरुद्धको सुई लगाएकी थिइन्। दोस्रो डोज लगाउन चैत १८ गते अस्पताल पुगेकी थिइन्। सुई लगाउने बित्तिकै आफूलाई अप्ठ्यारो भएको भन्दै घरमा फोन गरेकी थिइन्। घरबाट आफन्त अस्पताल पुग्दा भेन्टिलेटरमा राखिसकिएको चौधरीले बताइन्। उपचारका क्रममा आज बिहान मृत्यु भएको भन्दै अस्पतालले खबर गरेको उनले बताइन्। “अस्पतालले आज शव बुझ्न अनुरोध गरेको छ,” चौधरीले भनिन्। स्वास्थ्यकर्मीको लापरवाहीले ज्यान गएको भन्दै आफन्तजनले विरोध जनाएका छन्। “आफैं हिंडेर सुई लगाउन आएको मान्छेको ज्यान गएको छ,” चौधरीले भनिन्, “कुनै ठूलो घाउ वा चोट पनि थिएन। यो त सरासर लापरवाही हो।” सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। शेरबहादुर कमरका अनुसार बिरालो, कुकुर सहित जंगली जनावरले टोकेपछि रेबिज विरुद्धको सुई लगाउनुपर्छ। रेबिज विरुद्धको सुई लगाउँदा विरलैमा यस्तो समस्या देखिने गरेको डा। कमरको भनाइ छ। “अस्पताल वा चिकित्सकको कुनै गल्ती छैन, लापरवाही पनि भएको छैन,” डा। कमर भन्छन्, “कहिलेकाहीं यस्तो समस्या देखिन्छ।” डगारौका परिवारजनले भने शव बुझ्न मानेका छैनन्। उनीहरू विरोधमा उत्रिएका छन्।  

पोखरा:  नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली चैत २३ गते भाेलि (शुक्रबार) पोखरा आउने भएका छन् । पार्टीको कास्की शाखाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रममा ओलीलाई प्रमुख अतिथिका रुपमा निम्त्याइने सचिव दर्शन लामाले जानकारी दिए ।   उनका अनुसार पोखरा सभागृहमा शुक्रबार बिहान १० बजेदेखि सपथ ग्रहण कार्यक्रम तय गरिएको छ ।   अध्यक्ष सहभागी कार्यमलाई भव्य र सभ्य बनाउन पार्टी कास्की कमिटीदेखि पोखरा महानगर कमिटी लगायत जनसंगठनहरुले तयारीलाई तीब्रता दिएका छन् । जिल्ला कमिटीले जनसंगठनहरुको भेला बोलाई तयारीलाई चुस्त बनाउन निर्देशन दिएको छ । नवनिर्वाचित अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जिल्लामा रहेका सबै संगठनहरुले धेरै भन्दा धेरै कार्यकर्ता सहभागी गराउन आग्रह गरे ।   भेलामा सहभागी जनसंगठनका पदाधिकारीले कार्यक्रमलाई भव्य बनाउन आफ्ना तर्फबाट कुनै कसर बाँकी नराख्ने बचनवद्धता प्रकट गरे ।   पोखरा महानगर कमिटिको बैठक बसी कार्यक्रम सफल पार्न विभिन्न निर्णय गरेको सचिव जीवन आचार्यले जानकारी दिए ।   अध्यक्ष दिलिप न्यौपानेको अध्यक्षतामा बुधबार बसेको १५ औं पूर्ण बैठकले नवनिर्वाचित कमिटीलाई बधाई ज्ञापन गर्दै उनीहरुका पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रमलाई सफल बनाउने निर्णय गरेको आचार्यले जनाए ।   अध्यक्ष न्यौपानेले पोखराका ३३ वटै वडाबाट प्रत्येक वडाले कम्तिमा ५० जना र जनसंगठनले २० जना सहभागी गराउन निर्देश गरे । क्षेत्र नं. १ मा समन्वय गर्न नवनियुक्त कार्यालय सचिव नरेन्द्र ढुंगाना, क्षेत्र नं. २ मा जीवन आचार्य, क्षेत्र नं. ३ मा रामचन्द्र थापा र जनसंगठनमा समन्वय गर्न उपाध्यक्ष मोहन गुरुङलाई जिम्मेवारी तोकेको छ ।   एमाले कास्कीको गत १४ चैतमा सम्पन्न ११ औं अधिवेशनले बैन बहादुर अधिकारी क्षेत्रीको अध्यक्षतामा नयाँ कमिटी निर्वाचित गरेको थियो ।उपाध्यक्षमा भेषराज बराल, सचिवमा दर्शन लामा, उपसचिवमा लालबहादुर परियार र सन्तुदेवी सुवेदी निर्वाचित भएका थिए ।   गण्डकीमा नयाँ सरकार निर्माणमा संकट आइरहँदा केपी ओलीको पोखरा आगमनलाई महत्वका साथ हेरिएको छ ।

पोखरा:     रेनाँसा थिएटरको प्रस्तुतीमा पोखरामा नयाँ नाटक मञ्चन हुने भएको छ । नयाँ वर्षको शुरु (वैशाख) १ देखि १५ दिनसम्म नाटक मञ्चन हुने निर्देशक धुव्र पौडेलले जानकारी दिए ।  साहित्यकार बुद्धिसागरको कथालाई नाटकमा रुपान्तरण गरेर नाटक मञ्चन गरिनेछ । स्मृति बिक्रि केन्द्र शिर्षकको कथालाई ऋतेशले नाट्य रुपान्तरण गरेका हुन् । नाटकले विज्ञान र प्रविधिको क्षेत्रमा भविष्यमा हुनसक्ने चमत्कारिक विकासलाई उठान गरेको निर्देशक पौडेलले बताए । ‘विज्ञान र प्रविधिको क्षेत्रमा दैनिक जसो चमत्कारहरु भईरहेका छन् । निकट भविष्यमा हामीले नाटकमा उठाएको विषयजस्तो चमत्कार नहोला भन्न पनि सकिन्न ।’ उनले भने । पोखराको गैरापाटन स्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक मञ्चन हुनेछ । शनिवार तथा सार्वजनिक विदाको दिनमा दुई शो तथा अन्य दिन एक शो नाटक मञ्चन हुने रेनाँसा थिएटरका सँस्थापक एम डि काफ्लेले जानकारी दिए । नाटकमा प्रमिला तुलाचन, राजेन्द्र अधिकारी, विभु प्रसाद भुसाल, जनक पराजुली, विष्णु तिमिल्सिना, लक्ष्मण डुम्रे, उमा पुन, शितला अधिकारी, प्रियङ्का खड्का, कविता घर्तीमगर, सुस्मिता काप्री, सन्देश भण्डारी लगायतले अभिनय गरेका छन् ।   यो नाटकबाट पोखराका दर्शकले नयाँ स्वाद प्राप्त गर्ने रेनेँसा थिएटरले विश्वास व्यक्त गरेको छ । ‘पोखरामा धेरै नाटकहरु मञ्चन भए, दर्शकहरुले मन पराउनुभएको छ ।’ निर्देशक पौडेलले भने, ‘पौराणिक कथामा आधारित, लोक नाटक लगायत अन्य धेरै विषयहरुमा मञ्चन भएका छन्, तर अहिले हामीले विल्कुल फरक विषयमा प्रस्तुती दिन खोजेका छौ ।’ नाटक मञ्चनका लागि अहिले अभ्यास र सेट निर्माणको काम धमाधम भईरहेको थिएटरले जनाएको छ । 

धनगढी:    धनगढीमा एक प्रहरी जवान मृत फेला परेका छन्। दार्चुलाको शैल्यशिखर –९ स्थायी घर भएका प्रहरी जवान सुरुज विक मृत फेला परेका हुन्। बुधवार साँझ धनगढी उपमहानगरपालिका–७ मा रहेको मनेहरा सामुदायिक वनमा उनी जामुनको रुखमा झुण्डिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए। उनी जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत थिए। उनको परिवार धनगढीमा बस्दै आएको थियो। कामबाट बिदा मागेर उनी धनगढी आएका थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।