कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

काठमाडौंः  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया परिमार्जन गर्न आवश्यक रहेको बताउनुभएको छ ।   आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको ‘ट्राफिक सचेतना विशेष अभियान – २०८१’ को उद्घाटन गर्दै उहाँले रोड टेष्ट (सडकमा प्रयोगात्मक अभ्यास) नगरी ड्राइभिङ लाइसेन्स (सवारी चालक अनुमतिपत्र) दिने परिपाटी नै गलत भएको दाबी गर्नुभएको छ । हाल नेपालमा लिखित परीक्षा र ट्रायल सेन्टरभित्र गरिने प्रयोगात्मक परीक्षणबाट उतीर्ण हुनेलाई ड्राइभिङ लाइसेन्स दिने गरिएको छ । ‘म त भन्छु रोड टेष्ट नगरीकन ड्राइभिङ लाइसेन्स दिने परिपाटी छ । त्यो परिपाटी ठीक छैन । त्यसलाई परिमार्जन गर्न सक्नुपर्छ’, उहाँले बताउनुभयो ।   उहाँले सवारी साधन राम्रोसँग चलाउन आएपछि रोड टेस्ट गरेर मात्र लाइसेन्स दिनुपर्ने कुरामा आफू अडिग रहेको बताउनुभयो । गृहमन्त्री लामिछानेले सीप बिना नै रोड टेस्ट नगरी लाइसेन्स दिने प्रवृत्तिका कारण धेरै दुर्घटना हुने गरेको दाबी गर्नुभयो।   उहाँले सडक दुर्घटनामा बाइक चालकको सङ्ख्या बढी रहेको भन्दै त्यसलाई सुधार्न लाइसेन्स दिने प्रक्रियामै सुधार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले ड्राइभरलाई सवारी लाइसेन्स दिने निकाय एउटा तर त्यो लाइसेन्स प्राप्त गरेको मानिसले सही ढङ्गले सवारी चलाएको छ कि छैन ? भन्नेकुरा नियमन गर्ने निकाय अर्को भएकाले पनि समस्या भएको बताउनुभयो ।   उहाँले दुर्घटना न्यूनीकरण राज्यको दायित्व भएको भन्दै  नागरिकको ज्यान बचाउनु सबैभन्दा ठुलो दायित्व भएको बताउनुभयो । उहाँले सुरक्षित सवारीसाधनको सञ्चालन राज्यको प्राथमिकता हुनुपर्नेमा जोड दिनुभयो।

 काठमाडौंः  इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ ।   आइतबार बिहानैदेखि इरानले इजरायलको राजधानी तेल अविवलगायत क्षेत्रमा ड्रोन आक्रमण गरेपछि नेपाली दूतावासले सार्वजनिक सूचना जारी गरी आफ्नो सुरक्षाको ध्यान दिन आग्रह गरेको हो ।   ‘इजरायलमाथि इरानी हमला सुरू भएको सन्दर्भमा हालै इजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएका छन्’, दूतावासद्वारा जारी सूचनामा भनिएको छ, ‘आगामी सोमबार राति ११ बजेसम्म लागू हुने गरी शैक्षिक कृयाकलाप बन्द गर्ने र ठूलो स्तरको सभा/भेला नगर्ने भनी निर्देशन जारी भएको हुँदा आवश्यक सुरक्षाका लागि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौं ।’   सूचनामा कुनै समस्या परेको खण्डमा दूतावासका द्वितीय सचिव कुमारबहादुर श्रेष्ठलाई ०५२८२८९३०० र सहचारी सञ्जयकुमार साहलाई ०५४५५८२०७७ मा सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ । यसअघि प्यालेस्टाइनको विद्रोही संगठन हमासले इजरायलमा आक्रमण गर्दा १० जना नेपालीको मृत्यु भएको थियो भने एक जना बेपत्ता छन् ।

काठमाडौंः   सङ्घीय संसदको हिउँदे अधिवेशनमा ३ वटा विधेयक मात्रै पारित भएका छन् । विधेयक अधिवेशनको रुपमा लिइने सङ्घीय संसदको २०८० साल माघ २२ गतेबाट सुरु भई आइतबार सकिन लागेको हिउँदे अधिवेशनमा करिव ७० दिनमा तीन वटा विधेयक मात्रै पारित भएको हो ।   सभामुख देवराज घिमिरेले सो अधिवेशनमा भएको कामको आइतबार प्रतिनिधि सभा बैठकमा संक्षिप्त जानकारी गराउँदै सम्पत्ति शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६ र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ सभाबाट पारित भएको बताउनु भयो । अन्य ६ वटा विधेयकहरु भने सम्बन्धित समितिमा विचाराधिन रहेका छन् ।   यसैगरी, सङ्घीयता कार्यान्वयनका लागि महत्त्वपूर्ण मानिएको सङ्घीय निजामती सेवा विधेयक, २०८० माथिको सामान्य छलफल सकिएपछि सो पारित हुन सकेको छैन । सभामुख घिमिरेले राजनीतिक दलसम्बन्धि दोस्रो संशोधन विधेयक, २०८०  बैंक तथा वित्तिय संस्था सम्बन्धी पहिलो संशोधन विधेयक, २०८० प्रतिनिधि सभामा सभामा प्रस्तुत भएको र अर्को महत्त्वपूर्ण विधेयक आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक २०८० दर्ता मात्र भएको स्थितिमा रहेको बताउनु भयो ।   जम्मा ७० दिन चालु रहेको सो अधिवेशनमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधनका लागि पेश मात्रै गरिएको छ । सभाको यस अवधिमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम दुई पटक भएका छन् । यसैगरी, दुई वटा सन्धि सम्झौताहरु मध्ये बिमस्टेक बडा पत्रलाई मिति २०८० चैत्र २० गतेको सभाको बैठकले अनुमोदन गरेको थियो भने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन स्थापनासँग सम्बन्धी सम्झौता सम्बन्धी सामान्य छलफल प्रारम्भ गरिएका छन् ।   यसैगरी, मिति २०८० फागुन १४ गतेको बैठकमा पेश भएको आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रश्ताव बाहेकमाथि २०८० चैत्र १, ५ र ६ र ७ गतेको सभाको बैठकमा छलफल गरिएको पनि सभामुख घिमिरेले जानकारी दिनुभयो ।   अधिवेशनमा प्रतिनिधि सभाका सांसद मञ्जु अन्सारी र संविधानसभा सदस्य केशवबहादुर बुढाथोकीको निधनमा शोक प्रस्ताव समेत पारित गरिएको थियो ।  

मुगु:    मुगुस्थित एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको छ । शनिबार राति ९ः२१ बजे बैंकको मूल ढोका फोडेर एक जना व्यक्ति बैंकभित्र पसेको बैंकको सिसी क्यामेरामा देखिएको छ । उक्त व्यक्तिले बैंकभित्र प्रवेश गरी सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिएको प्रहरीले जनाएको छ । बैंकमा एक जना मात्र सुरक्षाकर्मी भएको र राति ८ बजेसम्म ड्युटी भएकोले त्यही मौकामा अज्ञात व्यक्ति बैंकको मूल ढोका फोरेर भित्र प्रवेश गरेको देखिएको छ ।   प्रहरीका अनुसार ती व्यक्ति बजार घुमिरहने मानसिक अवस्था ठिक नभएको एक युवा जस्तो देखिएकाले खोजी भइरहेको छ । बैंकको ढोका फोर्ने र जुत्ता खुकुरी चोर्ने बाहेक अन्य कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

धादिङ:     धादिङको खाल्टेमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते छन् । घाइतेको अवस्था गम्भीर रहेको स्थानीयले जानकारी दिएका छन् । नीलकण्ठ नगरपालिका ५ खाल्टेको पतेनीबाट पतेनीबेसीतर्फ जाँदै गरेको बा २ ख ८९४७ नम्बरको ट्रक पिमलखोला नजिकै पाल्पाली टोलमा दुर्घटना भएको हो । घाइते ८ जनालाई उद्दार गरी जिल्ला अस्पताल धादिङतर्फ ल्याइँदै गरेको स्थानीयले बताएका छन् ।   

काठमाडौंः   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रूपमा विद्यालय पठाउन आह्वान गर्नुभएको छ ।   ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ नयाँ वर्ष २०८१ को सुरूआतसँगै शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान शुभारम्भ भएको सन्दर्भमा प्रधानमन्त्रीले विद्यालय जाने उमेरका आफ्ना सन्तानलाई पाठशाला पठाउन अभिभावकरूलाई आह्वान गर्नुभएको हो ।   शिक्षा पाउनु हरेक बालबालिकाको संविधानप्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएकाले यसलाई कार्यान्वयन गर्न नेपालको संविधान र निःशुल्क शिक्षासम्बन्धी ऐनबमोजिम २०८५ वैशाखभित्र आधारभूत तहको शिक्षा अनिवार्य सुनिश्चित गराउनुपर्ने कार्यभार सरकारसामु रहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ ।   “गुणस्तरीय विद्यालय शिक्षामा समान पहुँचका लागि सरकारले विभिन्न प्रयास गर्दै आएको छ । सरकारले बर्सेनि विद्यालय शिक्षामा ठूलो लगानी गरेको छ । शिक्षाको मौलिक हकलाई कार्यान्वयनका निम्ति विकास साझेदार, नागरिक समाज एवं निजी क्षेत्रबाट गरिएको योगदान उल्लेख्य छ”, प्रधानमन्त्रीको आह्वानमा भनिएको छ, “हाम्रासामु एकातर्फ विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना सुनिश्चितता गर्नुपर्ने र अर्कातर्फ बीचमा नै विद्यालय छाड्ने अवस्था अन्त्य गर्नुपर्ने जिम्मेवारी छ । यसका लागि समुदाय तहबाट नै ठोस पहल गर्दै सुधार ल्याउन आवश्यक छ ।”   विद्यालय शिक्षाका निम्ति लगानीका प्रयासलाई सघन तुल्याउँदै थप परिणाममुखी बनाउन सामूहिक प्रयास केन्द्रित हुनुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभएको छ ।   सरकारले सार्वजनिक विद्यालयका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक, दिवाखाजा, छात्रवृत्तिका साथै उपयुक्त शैक्षिक पूर्वाधार र विद्यालयमा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष जोड दिँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विद्यालय शिक्षामा सङ्घ, प्रदेश र स्थानीय सरकारले पनि आफ्नो सामथ्र्यले भ्याएसम्म लगानी गर्दै आएका बताउनुभएको छ ।   शैक्षिक सत्र २०८१ मा पनि देशभरका सबै विद्यालयमा आवश्यक पाठ्यपुस्तक पुगिसकेका बताउँदै प्रधानमन्त्री दाहालले पाठ्यपुस्तकको वितरण सुनिश्चित गर्न स्थानीय सरकार, विद्यालय तथा आमनागरिकमा हार्दिक अनुरोध गर्नुभएको छ ।   यो वर्षको प्रारम्भमा नै सबै बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयन हुने पूर्ण विश्वासका साथ सबै नेपालीमा प्रधानमन्त्रीले नयाँवर्षको शुभकामना पनि व्यक्त गर्नुभएको छ ।

पोखरा:    यूनाइटेड क्लब पोखराले १४ औं वार्षिकोत्सवको अवसर पारी शनिवार देखी सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन शनिवार एक कार्यक्रमका बिच पोखरा २५ हेम्जामा रहेको मानव सेवा आश्रममा आश्रितहरुलाई भोजन सेवा प्रदान गरेको छ । सो अवसरमा बोल्दै पोखरा महानगरपालिका वडा नं २५ का वडा अध्यक्ष तथा महानगरका प्रवक्ता  मोतीराज तिमिल्सिनाले यूनाइटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम गर्दै आइरहदा १४ औं वार्षिकोत्सव सम्म आइपुग्दा अतिनै श्रहानिय र उदारहणीय काम गरेको बताए । क्लबले महोत्सवको आयोजना गरी महानगर भित्र आर्थिक चलायमान गर्ने काम गरेको बताउदै युनाइटेड क्लबले गर्ने हरेक गतिविधीलाई महानगरले साथ र सहयोग गर्ने समेत प्रतिवद्धता ब्यक्त गरे । यूनाइटेड क्लबले यसअघि पनि मानव सेवा आश्रममा आयोजित महायज्ञ र अन्य अवसरमा पनि सहयोग गरेको आफुलाई अवगत भएको बताउदै तिमिल्सिनाले मानवसेवा जस्ता क्षेत्रमा यूनाइटेड क्लबले गरेको कामको प्रशंसा गरे । सो अवसरमा बोल्दै मानव सेवा आश्रम कास्की जिल्ला संयोजक सदिस पुनले मानव सेवा आश्रममा आश्रितहरुलाई लक्षित गरी यूनाइटेड क्लबले भोजन दान गरेकोमा धन्यवाद ब्यक्त गरे । क्लका पूर्व अध्यक्ष सुक बहादुर गुरुङले यूनाइटेड क्लबले स्थापना कालदेखीनै शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनमा काम गर्दै आइरहेको र हरेक वर्ष स्थापना दिवसको अवसर पारी सप्ताहव्यापी कार्यक्रमहरु गर्दै आइरहेकोमा यो पटक मानवहरुको सेवा गरी साताब्यापी कार्यक्रम सुरु गर्न पाउदा खुसी लागेको बताए । क्लबका कोषाध्यक्ष तथा भोजन सेवा कार्यक्रमका संयोजक सूर्य बहादुर बानियाँले यूनाइटेड क्लबले पोखरा महोत्सव सञ्चालन गरी विभिन्न विद्याका सामाजिक क्षेत्रहरुमा कार्यहरु गर्दै आइरहदा मानव सेवा आश्रममा समेत यूनाइटेड क्लबले भोजन सेवा कार्यक्रमको आयोजना गर्न पाउदा आफ्नो संस्था गौरवान्वित भएको वताउदै अन्य संघ संस्थाहरुलाई पनि साताब्यापी कार्यक्रममा सहयोग गर्ने बताए । यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लबले हरेक वर्ष आयोजना गर्ने सप्ताहव्यापी कार्यक्रमको शुरुवात पोखरामा रहेका वृद्धाश्रमहरुबाट शुरु गर्दै आइरहेको र यस पटक मानव सेवा आश्रमबाट सप्ताहव्यापी कार्यक्रम शुरु गर्न पाउदा साच्चैनै मानवकै लागि सेवा गरेको आभाष भएको बताए । क्लवले यस पटक मात्र नभइ मानव सेवा आश्रमको भवन निर्माणका लागि आयोजित महायज्ञमा समेत १ लाख ११ हजार १ सय ११  रुपैया सहयोग गरेको र त्यसभन्दा अगाडि पनि पोखराको छोरेपाटनमा रहेको मानव सेवा आश्रममा भाँडाकुँडा र खाद्यान्न सामाग्री वितरण गरेको बताए । क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रमको सञ्चालन क्लबका महासचिव दिनेश सुनारले गरेका थिए । यसैबिच क्लबले शनिवार नै पोखरा १५ मा रहेको राष्ट्रिय परोपकार महासंघ नेपाल वडा इकाई समिति द्धारा सञ्चालित परोपकार जेष्ठ नागरिक मिलन केन्द्र शिद्धेश्वर शिव मन्दिर भजन मण्डलीमा आवद्ध महिला सदस्यहरुलाई पोषक वितरणका साथै केन्द्रमा आवद्धहरुलाई भोजन सेवा प्रदान गरिएको महासचिव सुनारले जानकारी दिए । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आइतबार दोश्रो दिन पोखरा १४ छिनेडाँडा स्थित शुक्रराज वलभद्र माविमा खेलकुद सामाग्री वितरण कार्यक्रम रहेको क्लबले जनाएको छ ।

पोखरा:    १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन आलुको कारोबार बढ्दै गएको छ । महोत्सव मध्येतिर आइरहँदा दर्शक सहभागिताको साथमा आलुको कारोबार बढ्दै गएको हो । महोत्सवको सातौँ दिन बुधबारसम्म २२ लाख आलुको कारोबार भएको छ । २ हजार ११९  घरपरिवार मानिसले आलु किनी लगेको कृषि उपज व्यवस्थापन समितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिनुभयो।  बागलुङ,     स्याङजा, चितवन, तनहुँ लगायतका जिल्लाबाट समेत मानिस महोत्सवमा आई आलु किनी लगेको र हालसम्म न्यूनत्तम १० तथा अधिकत्तम ३ सय केजीसम्म प्रति परिवारले आलु खरिद गरेको संयोजक तिम्सिनाले बताउनुभयो । प्रतिकेजी रु।४० मा आलु बिक्री गरिएको छ । हालसम्म ४० हजार बढी दर्शकले महोत्सव अवलोकन गरिसकेको मूल आयोजक समितिका कोषाध्यक्ष राम सापकोटाले जानकारी दिनुभयो । महोत्सव प्रवेशका लागि साधारण ८० तथा विद्यार्थीका लागि ५० रुपैयाँमा टिकट व्यवस्था गरिएको छ । कृषि उपजका नाममा भएको महोत्सव आफैमा महत्वपूर्ण भएकाले परिवार सहित अवलोकन गर्न आउने गरेको महोत्सव अवलोकन गर्न आउने दर्शकको भनाइ छ ।  त्यसका साथै आलु लगायत अन्य स्टलवाट सामग्रीको बिक्रीवितरण हुने क्रम समेत ह्वातै बढेको छ । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत छन्।  

काठमाडौं:    नेपालले ओमनमा जारी एसिसि मेन्स प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गरेको छ । शुक्रवार मलेसिया माथि जित हात पारेको नेपालले आज भने कतार माथि ३२ रनको जित निकालेको हो । नेपालले दिएको २११ रनको विशाल लक्ष्य पछ्याएको कतारले २० ओभरमा विकेट गुमाउँदै १७८ रन मात्र बनाउन सक्यो । कतारका लागि कप्तान मुहम्मद तन्भिरले ३३ बलमा ६ चौका र ४ छक्का सहित सर्वाधिक ६३ रन बनाए । यस्तै मोहम्मद अहनाफले २३ तथा हिमांशु सिंहले २२ रन बनाए । अद्नान मिर्जाले १९ रन जोडे भने ओपनर कम्रान खानले १८ रन जोडे । नेपाललाई जिताउनका लागि ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुलशन झाले समान २(२ विकेट लिए । यस्तै कुशल मल्ल र अविनाश बोहोराले समान १(१ विकेट लिए । त्यसअघि दीपेन्द्र सिंह ऐरीको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले एसिसि प्रिमियर कप अन्तर्गत आफ्नो दोस्रो खेलमा कतार विरुद्ध विशाल योगफल खडा गरेको छ । अल अमेरातमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन जोडेको हो । नेपालका लागि दीपेन्द्रले अन्तिम ओभरमा ६ छक्का सहित २१ बलमा ६४ रन बनाए । उनले कुल ३ चौका र ७ छक्का प्रहार गरे । २०औं ओभरमा दीपेन्द्रले कम्रान खानको ओभरमा ६ छक्का प्रहार गरेका हुन् । यस्तै ओपनर आशिफ शेखले ४१ बलमा ६ चौका सहित ५२ रन बनाए । ओपनर कुशल भुर्तेलले आज पनि लामो इनिङ खेलमा सकेनन् । तेस्रो ओभरको पाँचौं बलमा उनी १२ रन बनाएर अमिर फरूकको।बलमा क्याच आउट भए । कप्तान रोहित पौडेलले भने मध्यम सुरुवात पाएका थिए । तर १८ रनमा रहेको अवस्थामा उनलाई हिमांशु राथोडले क्याच आउट गराए । कुशल मल्लले भने विष्फोटक सुरुवात गरेका थिए । १८ बलमा २ चौका र ३ छक्का सहित ३५ रन बनाएर कुशल मल्ल मुसावर शाहको बलमा मोहम्मद इर्सादद्वारा क्याच आउट हुन पुगे ।   सुरुवाती समयमा तीन जीवनदान पाएका आशिफ शेख आउट हुने चौथो ब्याटर थिए । कतारले उनको क्याच दुई पटक छोडेको थियो भने उनी एक पटक क्याच आउट हुँदा थर्ड अम्पाएरले नोबल दिएका थिए । सन्दिप जोरालाई पनि मुसावरले ७ रनमा क्याच आउट गराए । मलेसिया विरुद्ध अन्त्यमा जित दिलाएका गुलशन झालाई हिमांशुले ५ रनमा रहेको अवस्थामा बोल्ड आउट गरे । आज टोलीमा आएका विवेक यादव पनि ५ रनमा मुसावरको बलमा आउट भए । सोमपाल कामी शून्यमा नटआउट रहे । कतारका लागि हिमांशु राथोड र मुसावर शाहले ३/३ विकेट लिए भने आमिर फरूकले १ विकेट लिए । कतारको यो लगातार दोस्रो हार हो । कतार हिजो हंगकंग विरुद्ध पराजित भएको थियो । नेपालले भने मलेसिया माथि ५ विकेटको जित निकालेको थियो । समूह बी मा युएई, कुवेत, ओमान, बहराइन र कम्बोडिया रहेका छन् । ओमान र युएईले हिजो नै भएका खेलमा जित हासिल गर्दै विजयी सुरुवात गरेका थिए । ओमानले बहराइन विरुद्ध ३ रनले र युएईले कुवेत माथि ७ विकेटको जित निकालेको थियो । युएईले भने आज बहराइन माथि जित हासिल गर्दै लगातार दोस्रो जित दर्ता गरेको समेत छ । कुवेतले पनि आज कम्बोडिया माथि सहज जित दर्ता गर्यो । दुवै समूहबाट शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेता मात्र एसिया कपका लागि छनोट हुनेछ ।