पोखरा: स्याङ्जा राम्चेली गडाभाई तमु समाज पोखराले नववर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोचन गरेको छ । स्याङजाको वालिङ्ग नगरपालिका वडानम्बर ३ राम्चेबाट पोखरा आई बसोबास गरेका राम्चेलीहरुको संस्था राम्चेली गडाभाई तमु समाज पोखराले शनिबार अमरसिंहस्थित एनएन क्याफेमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो । कार्यक्रममा समाजका सल्लाहकार, पदाधिकारी, सदस्यहरुले सामुहिक रुपमा यस वर्षको भित्तेपात्रोको विमोचना समेत गरिएको हो । समाजका अध्यक्ष भुपेन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ सल्लाहकार तथा संस्थापक अध्यक्ष ओम गुरुङ, काहुँडाडा होमस्टे संचालक जमान सिंह गुरुङ सल्लाहकार सदस्य सुवेदार लोक बहादुर गुरुङ, समाजका सदस्य चुत्र गुरुङ, समाजका सदस्य रुपक गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमका वक्ताहरुले नयाँ पुस्तालाई पढाइमा लगनशिल बनि आफ्नो भविष्यप्रति सजग बन्नुपर्नेमा जोड दिए । उनिहरुले समाजमा एक अर्का प्रति सदैव एकता र सद्भाव कायम गर्न सकोस् भन्ने शुभकामना दिए । कार्यक्रममा भित्तेपात्रो प्रकाशित गर्न सहयोग गर्ने संस्थापक सचिव आशिष गुरुङ सक्रिय सदस्य रुपक गुरुङ र पलमान गुरुङ र कार्यक्रम सफलताको लागि आर्थिक सहयोग गर्ने सक्रिय सदस्य चुत्र गुरुङ, चेत बहादुर र काहुँडाडा होमस्टे संचालक जमान सिं गुरुङ लगायतलाई सम्मान समेत गरिएको थियो । समाजका सह–सचिव रूपसिङ गुरुङले संचालन गरेको कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष, शैक्षिक व्यक्तित्व तथा एल.आई. सी. नेपाल प्रालि वालिङ शाखाका म्यानेजर औ बहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए ।
पोखरा: हेमजामा चैत २९ गते बिहान बस दुर्घटना हुँदा गम्भिर घाइते भएका नरबहादुर पुनको उपचारको क्रममा मृत्यु भएको छ । काठमाडौंबाट म्याग्दी जाँदै गरेको बस चैत २९ गते दुर्घटना हुँदा घाइते भएका ८ जना मध्ये नरबहादुरको आज उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । काठमाडौंबाट म्याग्दीका लागि छुटेको ग १ ख १६३० नम्बरको बस चैत २९ गते बिहान सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा ८ जना घाइतेका थिए । यो पनि पढ्नुहोस काठमाडौंबाट बेनी जाँदै गरेको बस पोखरामा दुर्घटना, ७ जना घाइते घाइते भएका ८ जना मध्य ७ जना सोही दिन उपचार पछि डिस्चार्ज भएको कास्की प्रहरीले जनाएको छ । घाइते मध्य म्याग्दीको मालिका गाउँपालिका–१ दरवाङ घर भएका ७२ वर्षीय नरबहादुर पुनको उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार काठमाडौंबाट म्याग्दी जाँदै गरेको बस सह–चालक चलाएको खुल्न आएको बताएको छ । बस दुर्घटनापछि प्रहरीले बस चालक र सह–चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
पोखरा: हिमाली सांस्कृतिक परिवारले संस्कृतिविद् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङलाई संरक्षकत्व अर्पण गरेको छ । हिमाली सांस्कृतिक परिवारले आज (शनिबार) प्राज्ञ डा. गुरुङको जन्मथलो याङ्जाकोट पुगेर संरक्षकत्व अर्पण गरेको हो । हिमाली सांस्कृतिक परिवारका संस्थापक संरक्षक नरबहादुर शेरचनले संस्कृतिविद् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, नेपाल ऋषि प्राज्ञ डा। जगमान गुरुङलाई जन्मथलो याङ्जाकोट पुगेर एक कार्यक्रमकाबीच संरक्षकत्व अर्पण गरे । सो अवसरमा बोल्दै प्राज्ञ डा। गुरुङले साँस्कृतिक परिवारप्रती आभार प्रकट गरे । उनले याङ्जाकोटमा आफ्नै कारणले साहित्यिक र सांस्कृतिक गतिविधि बढेको बताए । ‘मैले आफ्नो विज्ञापन गरेको होइन, म गाउँमै बस्न मन पराउँछु । गाउँकै अर्गानिक खाना खान्छु मलाई प्राय सबैले भेट्न गाउँमै आउँछन्’, प्राज्ञ गुरुङले भने, ‘मलाई कवि, लेखक, साहित्यकारहरुले गाउँमै भेट्न आउँदा गाउँमा साहित्यिक र सांस्कृतिक गतिविधि बढेको छ ।’ उनले अबका दिनमा हिमाली सांस्कृतिक परिवारले याङ्जाकोटमा प्रत्येक वर्ष सांस्कृतिक कार्यक्रम गर्नुपर्ने आशय व्यक्त गरेका थिए । यस्तै मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले गाउँपालिकामा साहित्यिक र सांस्कृति गतिविधि बढाउन हिमाली सांस्कृतिक परिवारसँग सहकार्य गर्ने तयार रहेको बताए । उनले स्थानीय तहमा प्रज्ञा प्रतिष्ठान गठन गर्न गाउँपालिकाको कार्यपालिकाको बैठकमा छलफल भइरहेको समेत बताए । कार्यक्रमकै अवसरमा हिमाली सांस्कृतिक परिवारले प्रमुख सल्लाहकारमा कवि, लेखक तथा साहित्यकार प्रकाश शायमीलाई मनोनित गरेको छ । यस्तै पृथ्वीमान गुरुङ, हरीचन्द्र रञ्जित, सोभित बुद्धचार्य र सुशान ताङ्वेलाई आजीवन सदस्य प्रदान गरेको छ । संरक्षक अर्पण तथा नयाँ वर्ष शुभकामना साँझमा हिमाली साँस्कृतिक परिवारका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम हिमाली सांस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मानार्थ सदस्य टिकाबहादुर कार्कीले स्वागत मन्तव्य र संस्थाका सल्लाहकार एवम् पत्रकार दिपेन्द्र श्रेष्ठको कार्यक्रम सञ्चालन गरेका थिए ।
पोखरा: हेमबहादुर पुन स्मृति प्रतिष्ठान र समाजिक कल्याण प्रतिष्ठान नेपालले नयाँ वर्ष २०८१ का अवसरमा आज पोखरा महानगरपालिका वडा नं ३२ स्थित राधाकृष्ण बृद्धाश्रममा खाद्यान्न सहयोग गरेका छन् । बृद्धाश्रममा आज आयोजित एक कार्यक्रमका बीच हेमबहादुर पुन स्मृति प्रतिष्ठानका सदस्य एवम् पूर्व मन्त्री उत्तम बहादुुर पुन, प्रतिष्ठानका अध्यक्ष क्या.रविन्द्र पुनले राधाकृष्ण बृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष प्रेम लिगललाई खाद्यान्न हस्तान्तरण गर्नुुभएको हो । कार्यक्रममा पूर्व मन्त्री उत्तम पुनले राधाकृष्ण बृद्धाश्रमले ज्येष्ठ नागरिकको सेवामा महत्वपूर्ण योगदान गरिरहेको बताउँदै सहयोग गर्न पाउँदा आँफूहरूलाई खुसी लागेको बताउनुुभयो । गरिब तथा असहायको सहयोगमा आँफू निरन्तर लागिरहेको बताउँदै उहाँले यस किसिमका सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुुभयो । हेमबहादुुुर पुन स्मृति प्रतिष्ठानका अध्यक्ष क्या.रविन्द्र पुनले बृद्धाश्रमको व्यवस्थापन राम्रोसँग चलिरहेको पाइएको बताउँदै सहयोगलाई अवसरमा रुपमा लिएको धारणा राख्नुुभयो । राधाकृष्ण बृद्धाश्रमका अध्यक्ष प्रेम लिगलले विभिन्न संघ, संस्था तथा व्यक्तिको सहयोगले बृद्धाश्रम सञ्चालनमा सहयोग पुुगेको बताउँदै आगामी दिनमा यस्तै किसिमको साथ र सहयोग पाउने विश्वास व्यक्त गर्नुुभयो । कार्यक्रममा करिब ५० हजार रुपैयाँ बराबरको दाल, चामल आलु लगायतका खाद्यान्न हस्तान्तरण गरिएको सामाजिक कल्याण प्रतिष्ठान नेपालका महासचिव सूूर्यप्रसाद बास्तोलाले जानकारी दिनुुभयो ।
काठमाडौं: नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि आइतबार बस्ने भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । सरकारले संसद्को चालु अधिवेशन भोलिदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निणय गरेको सन्दर्भमा कांग्रेस संसदीय दलको यो बैठक बस्न लागेको हो ।
पोखरा: त्रिभुवन आर्मी क्लबका संजय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिले नयाँ वर्ष २०८१ को अवसरमा शनिबार आयोजना गरेको प्रतियोगितामा आर्मीका श्रेष्ठ प्रथम भएका हुन् । उनले १ घण्टा ४ मिनेट ४७ सेकेण्डमा निर्धारित २१ किलोमिटर दुरी पार गरे । श्रेष्ठले ६० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार पाए । १ घण्टा ६ मिनेट ३३ सेकेण्डमा दौड सकेर सशस्त्र प्रहरी बलका किरण बोगटी द्वितीय भए । उनले ३० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पाए । प्रथम संस्करणका विजेता त्रिभुवन आर्मी क्लबका रामजी बस्नेतले १ घण्टा ९ मिनेट २९ सेकेण्डमा दौड सकेर यसपटक तृतीय भएको आयोजक खेलकुद विकास समितिले जनाएको छ । सशस्त्रका खिमबहादुर खत्री १ घण्टा ९ मिनेट ४९ सेकेण्डमा दुरी पूरा गरेर चौँथो र आर्मीका प्रताप खड्का १ घण्टा १० मिनेट ४१ सेकेण्डमा दौड सकेर पाँचौँ भए । तृतीय, चौँथो र पाँचौँले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र पुरस्कार पाएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । १० किलोमिटर खुला पुरूष दौडमा आर्मीका श्रीकश राई विजेता, सुवास कार्की उपविजेता बने । गण्डकी मेडिकल कलेजका अजित कुमार यादव तृतीय, सोही कलेजका दिनेश बोगटी चौँथो र एपीएफका राजेन्द्र तामाङ पाँचौँ भए । १० किलोमिटर महिला दौडमा आर्मीकी पूर्णलक्ष्मी न्यौपाने प्रथम, नेपाल पुलिसकी राममाया बुढा द्वितीय र आर्मीकी र्सिजना पाण्डे तृतीय भएको आयोजकले जनाएको छ । एपीएफकी पुष्पा भण्डारी चौँथो र एपीएफकै आशा राउत पाँचौँ भए । १० किलोमिटरको महिला÷पुरुष राष्ट्रिय खुला दौडको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गरे । तृतीय, चौँथो र पाँचौँ हुनेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँको साथमा मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए । भेट्रान्स ५ किलोमिटरमा काठमाडौँका धर्म महर्जन प्रथम, धादिङका रैवतबहादुर दाहाल द्वितीय र पोखराका विश्वलाल श्रेष्ठ तृतीय भए । भेट्रान्सतर्फको विजेताले १० हजार, उपविजेताले ७ हजार, तृतीयले ५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाएको सदस्य सचिव खड्काले जानकारी दिए । विद्यालय छात्रतर्फ ५ किलोमिटर कास्की मोडनाइज्ड एकेडेमीका बादल कार्की प्रथम, कुमुदिनी होम्सका कृष्ण परियार द्वितीय, भद्रकाली माविका गंगा गुरूङ तृतीय, सोही विद्यालयका इमबहादुर गुरूङ चौँथो र छोरेपाटन माविका तेञ्जोन रोका पाँचौँ भए । छात्रातर्फ रेन्बो एकेडेमीकी सर्मिला विक प्रथम, कालिका माविकी स्वीकृति कार्की द्वितीय, छोरेपाटन माविकी नारायणी भण्डारी तृतीय भएको आयोजकले जनाएको छ । छोरेपाटन माविकी विष्णु थापा चौँथो र गौरीशंकर माविकी कविता मगर पाँचौँ भए । ५ किलोमिटर विद्यालय छात्रछात्रा दौडको विजेताले १५ हजार रुपैयाँ, उपविजेताले १० हजार, तृतीयले ५ हजार, सान्त्वनाले ३ हजार र पाँचौँले २ हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे । म्याराथनमा सहभागी पोखराका खेलाडीमध्ये सबैभन्दा पहिला निर्धारित दुरी पूरा गरेका चेतनाथ चालिसेले पोखरा च्याम्पियन बने । चालिसेले २१ किलोमिटर दौड १ घण्टा ३४ मिनेटमा पूरा गरेका थिए । चालिसे पोखरा–१७ बिरौटा निवासी हुन् । उनले १० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार पाए । प्रथम संस्करणमा पनि उनी नै पोखरा च्याम्पियन बनेका थिए ।
काठमाडौं: नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा उक्त बैठक आइतबार बस्ने गरी बोलाइएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५औँ स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक यही वैशाख ८ र ९ गते ललितपुरको गोदावरीमा राखिएको छ ।
काठमाडौं: लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्दै ‘स्रष्टा चैत्र ३०’ अभियानले २०८० सालको सम्मान साहित्यकारद्वय ज्ञानुवाकर पौडेल र लक्ष्मी मालीलाई प्रदान गरेको छ । उहाँहरुले रचनाका माध्यमबाट लोकतान्त्रिक गणतन्त्रको स्थापना र त्यसलाई संस्थागत गर्न निर्वाह गर्नुभएको भूमिकाको कदर गर्दै सो सम्मान दिइएको हो । शुक्रबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले उहाँहरूलाई सम्मान गर्नुभयो । उहाँले स्रष्टाहरु सधैँ प्रतिपक्षी रही रचनात्मक भूमिका खेल्न तयार हुनुपर्ने बताउँदै आन्दोलनको मर्म र भावनालाई राजनीतिक नेताहरुले आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद सुवेदीले परिवर्तनलाई संस्थागत गर्ने सन्दर्भमा स्रष्टाहरुको भावनाअनुसार प्रतिष्ठान सञ्चालन भएको बताउनुभयो । साहित्यकार कोषराज न्यौपानेले स्रष्टा पौडेल गजल विधाका सिद्धहस्त व्यक्ति भएको टिप्पणी गर्नुभयोभने प्राज्ञ बाबा बस्नेतले स्रष्टा माली सशक्त नारी हस्ताक्षरका साथै आन्दोलनमा निरन्तर क्रियाशील व्यक्तित्व भएको बताउनुभयो । जनआन्दोलन–२ मा विसं २०६२ चैत ३० गते आरोहण ९गुरूकुल० नाट्यघरमा जनआन्दोनप्रति ऐक्यबद्धता भेलापश्चात् पुरानो बानेश्वरको चोकमा कफ्र्यु तोडेर कविता वाचन गर्दा सुरक्षाकर्मीले दमन र गिरफ्तार गरेको दिनलाई स्मरण गरिँदै आएको अभियानका अध्यक्ष मनोज न्यौपानेले बताउनुभयो । यसअघि आनन्ददेव भट्ट, साहित्यकार काइँला, डा। तुल्सीप्रसाद भट्टराई, निनु चापागाईं, किरण मानन्धर, देशभक्त खनाल, डा बेञ्जु शर्मा, मञ्जु काँचुली, पूर्ण विराम, डा अमर गिरी, हरिगोविन्द लुईटेल, उत्तमकृष्ण मजगैँया, किसान प्रेमी, अशेष मल्ल, विमल निभा, राम विनय, विजय बजियम, सुलोचना मानन्धर, मातृका पोखरेल, वियोगी बुढाथोकी, डा दुवसु क्षेत्री, पुरूषोत्तम दाहाल, पुरूषोत्तम सुवेदी, शार्दूल भट्टराई, कृष्ण धरावासी, वासुदेव अधिकारी, विवश पोखरेल, हरिहर अधिकारी ’ र तीर्थ श्रेष्ठले उक्त सम्मान प्राप्त गर्नुभएको छ ।
डोल्पा: हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ४ मा पर्ने सुँ सामुदायिक बनमा आगलागीमा परेका तीनै जना बालबालिकाको मृत्यु भएको छ । गत बिहिवार आगलागि घटनामा परेका तीनैजना बालबालिकाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताउनुभयो । उपचारको क्रममा जिल्ला अस्पताल डोल्पामा १० वर्षीय सुलस बुढाको र १२ वर्षीय विवस बुढा र १३ वर्षीय समन्त बुढाको काठमाण्डौमा उचारकाको क्रममा मृत्यु भएको हो । गाउँ नजिकै रहेको बनमा गुच्ची च्याउ टिप्न गएको बेला तीनै बालबालिका आगलागिमा परेर गम्भीर घाइते भएको थिए । आगलागिबाट बचाउन धेरै प्रयास गरिएकोमा तीनै बालबालिकाको मृत्यु भएपछि सिंगो गाउँनै शोकमा डुबेको वडा नं ४ का वडाध्यक्ष रञ्जित बुढाले बताउनुभयो । मृत्यु हुनेमा एकै घरका दुइ बालबालिकाको रहेका छन् । त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालबालिकाको उपचारकोलागि हेलिकप्टरको व्यवस्था गरेर काठमाण्डौ पुर्याइएको थियो । डोल्पामै गत मंगलबार ठुलिभेरी नगरपालिका ४ मा पर्ने मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार सैनिकमध्ये तीन जनाको मृत्यु भएको थियो ।

