पोखरा: नेपाली नयाँ वर्ष २०८१ सालको स्वागतार्थ पोखराको लेकसाइडमा १९ औं संस्करणको फेवा नववर्ष महोत्सव आजदेखि सुरु भएको छ । होटल संघ पोखराको आयोजनामा आजदेखि सुरु भएको महोत्सव यही वैशाख १ गतेसम्म सञ्चालन हुने छ । महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरे । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजित सो महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकको बसाई लम्बिने विश्वास लिएको छ । पोखराको खहरेचोकदेखि र ड्यामसाइडचोकदेखि र्याली आयोजना भएको थियो । सो र्यालीमा विभिन्न जातजातिको मौलिक सांस्कृतिक झाँकी, बाजागाजासहित नृत्यहरु प्रस्तुत गरिएको थियो । महोत्सव अवधिभर होटल संघ पोखरामा आवद्ध होटलहरुमा पर्यटकलाई २० प्रतिशत छुटको व्यवस्थासमेत गरेको छ । महोत्सवलाई करिब ३ लाख पर्यटकले अवलोकन गर्ने जनाएको छ । तस्बिर: अर्जुन गाहा (सुशान्त)
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले ध्वानी प्रदुषणलाई रोक्न कसरत गरेको छ । प्रहरी उपरीक्षक महोन कुमार थापाले कास्की प्रहरीको कमाण्ड सम्हालेदेखि ध्वनी प्रदुषणलाई रोक्न स्वरुप परिवर्तन गरिएका (मोडिफाइड) मोटरसाइकललाई कारवाहीको अभियान नै थाले । सोही अभियानलाई निरन्तरता दिदैं कास्की प्रहरीले अनावश्यक ध्वनी प्रदुषण गर्ने प्लाष्टिकका बाजालाई नियन्त्रणमा लिएको छ । विभिन्न चाडपर्व, मेलापर्वहरुमा ध्वनी प्रदुषण हुने गरी विभिन्न किसिमका प्लाष्टिकका बाजाहरु बजाउँदै हिड्ने र ध्वनी प्रदुषण गर्ने भन्ने जनगुनासो आधारमा पोखराको विभिन्न स्थानबाट १ हजार ९ सय १५ वटा प्लाष्टिकका बाजा नियन्त्रणमा लिएको कास्कीका प्रवक्ता डिएसपी बसन्त कुमार शर्माले जानकारी दिए । उनका अनुसार कास्की तथा मातहत वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा ६ लेकसाईडमा हुन गई रहेको ‘१९ औं फेवा महोत्सव तथा नयाँ वर्ष २०८१’ लाई मध्यनजर गर्दै ध्वनी प्रदुषण रोक्ने उद्देश्यले पोखरा ३ तेर्सापट्टीबाट विभिन्न प्लाष्टिकका ठुलो र सानो बाजाहरु ७ सय १५ थान र लेकसाईडबाट १ हजार २ थान गरी जम्मा १ हजार ९ सय १५ वटा ध्वनि प्रदुषण निकाल्ने प्लाष्टिकका बाजाहरु नियन्त्रणमा लिइएको हो । यससँगै कास्की प्रहरीले मोडिफाइड मोटरसाइकलमाथि पनि निगरानी बढाइरहेको छ ।
पोखरा: गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले इस्लाम धर्मावलम्बीहरूको महान पर्व इद (इद–उल–फित्र) को अवसरमा शुभकामना व्यक्त गरेका छन्। भट्टले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ‘ मुस्लिम समुदायले जकात अल–फित्र भनिने अनिवार्य दान गर्नुपर्ने मान्यता छ। इदमा विशेष नमाज समर्पण गरिसकेपछि आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिँदै मिष्ठान्न परिकारसमेत खाने र खुवाउने परम्परा रहिआएको छ। यस धार्मिक मान्यताले नेपाली समाजलाई सहयोगी तथा मानवीय बन्न उत्प्रेरित गर्दै आएको छ। यस पर्वसँग जोडिएको यस प्रकारको असल परम्परालाई हामीले संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्नेछ ।’ यस पर्वले मुस्लिम समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन र विकास गर्न टेवा पुग्नुका साथै धार्मिक तथा सांस्कृतिक पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता एवं पारस्परिक सहयोगको भावनालाई प्रगाढ तुल्याउने भट्टको विश्वास छ । आपसी सद्भावको चाडको रुपमा मनाइने इदले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउने, सामाजिक सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने, राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा प्रेरणा मिल्ने विश्वास लिँदै उनले शुभकामना व्यक्त गरेका छन् ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट एक जना अवैध लागूऔषध गाँजासहित पक्राउ परेका छन् । कास्की प्रहरीका अनुसार पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–१ फल्लापानी बस्ने ४२ वर्षीय कृष्णबहादुर सुनार रहेका छन् । उनलाई हिजो (बुधबार) दिउँसो प्रहरी चौकी नौडाँडाबाट खटिएको प्रहरी टोलीले करिब १ किलो ५ ग्राम गाँजासहित पक्राउ गरेको हो । सो विषयमा आवश्यक अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै छन् । इद तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो । बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताउनुभएको छ । मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ । “जकात ९दान० यही महिनामा दिइन्छ”, उहाँ भन्नुहुन्छ, “हामी यो महिनालाई पुण्य कमाउने महिना मान्छौँ ।” इद–उल फित्रमा ‘सेवइ’ खाएर र सामूहिकरुपमा नमाज पढेर यो पर्व मनाइन्छ । राष्ट्रिय जनगणना–२०७८ अनुसार देशमा मुस्लिम सुमदाय कूल जनसङ्ख्याको ५ दशमलव ९ प्रतिशत छ । यो तथ्याङ्क अपूर्ण भएको आरोप लगाउँदै उहाँले मुस्लिम समुदायको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृति, शैक्षिकलगायत अवस्थाको अध्ययन अनुसन्धान गरेर वास्तविक विवरण सरकारसमक्ष पेस गर्ने आयोगको योजना रहेको बताउनुभयो । काठमाडौँमा मुस्लिम धर्मावलम्बीका लागि मस्जिद भए पनि अलि ठूलो समूहमा मिलेर नमाज पढ्ने, सांस्कृतिक गतिविधि गर्ने सभा हलको अभाव भएको उहाँ बताउनुहुन्छ । “संस्कृति बचाउन स्थान चाहिन्छ”, उहाँ भन्नुहुन्छ, “देशका मुसलमान बहुल स्थानमा ‘कल्चर सेन्टर’ स्थापनाका निम्ति हामीले सरकारसँग माग गरिरहेका छौँ ।” इद पर्वको अवसरमा आज सरकारले सार्वजनिक विदा दिएको छ ।
पोखरा: पोखरा महानगरपालिकाका सव–इन्जिनियर उषा करिण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवा सुरज कुँवर १ लाख ५० हजार घुससहित प्रकाउ परेका छन् । पोखरामा घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले उनीहरुलाई घुससहित प्रकाउ गरेको हो । पोखरा महानगरपालिका सव–इन्जिनियर रोकाय र कन्सल्टेन्सी सेवाका कुँवरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले गएराति १ लाख ५० हजार रुपैयाँ घुससहित प्रकाउ गरेको हो ।
पोखरा: पोखरा महानगरपालिका २५ स्थित सुइखेतमा यात्रुवहाक बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । कास्की प्रहरीका अनुसार आज विहान करिब ३ बजे काठमाण्डौबाट बेनीतर्फ जाँदै गरेको ग २ ख १६३० नम्बरको दुर्घटना हुँदा बागलुङको तमानखोला गाउँपालिका ३ तमान बस्ने २५ वर्षीया रीता घर्तीसहित ( अवस्था मध्यम )७ जना घाइते भएका हुन् । यस्तै घाइते हुनेहरुमा म्याग्दीको मालिका गाउँपालिका वडा ५ देवीस्थान बस्ने ३० वर्षीय भिम कुमार बुढा (अवस्था सामान्य), सोही गाउँकै ६ वर्षी निश्चल फगामी, २७ वर्षीया निर्मला फगामी, ४६ वर्षीया सुमित्रा फगामी रहेका छन् । यसैगरी मालिका गाउँपालिका १ दरवाङ् बस्ने ७२ वर्षीय नर बहादुर पुन र सोही वडाकै ६५ वर्षीया कृष्णकुमारी पुन रहेकी छिन् । घाइते सबैलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । कास्की प्रहरीले चालकको लापरबाहीका कारण दुर्घटना भएको भन्दै म्याग्दीको बेनी नगरपालिका ६ बस्ने ३२ वर्षीय बस चालक राजकुमार गैरेलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।
पोखरा: सिन्धुपाल्चोकका ३४ वर्षीय रामबहादुर तामाङको हत्या प्रकरणमा जिल्ला अदालत कास्कीले २ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । जिल्ला अदालत कास्कीले हत्या आरोपमा प्रकाउ परेका धनबहादुर लामा र कान्छी लामा तामाङलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । हत्या आरोपमा प्रकाउ परेका अन्य २ जना बालकलाई भने जिल्ला अदालतले बाल सुधार गृह चलान गरेको छ । गएको फागुन अन्तिम साता सिन्धुपाल्चोकको मेलन्ची हाइड्रोपावरमा काम गर्न जान्छु भनेका रामबहादुर तामाङ चैत ३ गते कास्कीको मादी गाउँपालिका–१ तउरेली नजिक सिक्लेस हाइड्रोपावर जाने कच्ची सडक खण्डको अन्दाजी २५/३० मिटर तल मृत फेला परेका थिए । यो पनि पढ्नुहोस श्रीमानको हत्यापछि घटना लुकाउन प्रेमीलाई ९० हजार !, सिन्धुपाल्चोकबाट सिक्लेस ल्याएर हत्या मृत अवस्थामा फेला परेका तामाङको कसैले हत्या गरेर फालेको हुनसक्ने अनुमान गरी घटनास्थलमा तालिम प्राप्त कुकुरसमेत लगेर अनुसन्धान गर्दा प्रहरीले मृतकसँगै आएका तीनजनासहित उनकी श्रीमती कान्छा लामा तामाङलाई प्रकाउ गरेको थियो । अनुसन्धानका क्रममा मृतक तामाङको श्रीमतीले नै श्रीमानको हत्या गर्न धनबहादुरलाई सुपारी दिएको खुलेको थियो । प्रहरीले हत्यामा आरोपित ४ जनालाई काठमाडौं र सिन्धुपाल्चोकबाट प्रकाउ गरेको थियो ।
पोखरा: पोखरा रंगशालामा जारी दोश्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साईड भेट्रान्स फुटवल प्रतियोगिताको उपाधीको लागि ढोलाहिटी फ्रीडम र हेटौडा भेट्रान भिड्ने भएका छन । प्रतियोगिता अन्तर्गत बुधवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा चितवन भेट्रानलाई २–० गोल अन्तरले पराजित गर्दै ढोलाहिटी फ्रीडमले फाईनल यात्रा तय गरेको हो । खेलमा ढोलाहिटीको तर्फबाट तेज बहादुर गलामि र प्रकाश राना मगरले १/१ गोल गरे । खेलमा भोटाहिटिका प्रकाश राना मगर म्यान अफ द म्याच घोषित भए । खेलको ३५ औ मिनेटमा चितवनका गोलरक्षक छन्नु चौधरिले रेडकार्ड पाएर बाहिरिए पछि ढोलाहिटीले लगातार दुई गोल गर्दै फाइनलको यात्रा तय गर्न सहज बन्यो । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा आयोजक एबिसी भेट्रानलाई पाखा लगाउदै हेटौडा भेट्रानले फाइनल यात्रा तय ग¥यो । हेटौडाका लागि सरोज थापाले निर्णायक २ गोल गरेका थिए । खेलमा सरोज थापा म्यान अफ द म्याच घोषित भए । प्रतियोगिताको विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५, शिल्ड र मेडल प्राप्त गर्ने छन भने उपबिजेताले नगद ७७ हजार ७ सय ७७, शिल्ड र मेडल प्राप्त गर्र्नेे आयोजक अमरसिंह ब्वाइज क्लबका सचिव बिजय घिमिरेले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल बिहीबार १ बजे पोखरा रंगशालामा हुने आयोजकले जनाएको छ ।

