पोखरा:  कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा ३२ औं ऐतिहासिक चैते दशैं मेला जारी छ । ग्रीन हिल क्लबको आयोजनामा विविध कार्यक्रम मध्ये महिला भलिबल प्रतियोगितामा एलिट भलिबल एकेडेमील...

पोखरा:     पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी १ वैशाखमा लेखनाथ हाफ म्याराथन हुने भएको छ ।  कास्की जिल्ला एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथन हुने आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।    पुरुषतर्फ २१ किलोमिटर हाफ म्याराथन, १० किलोमिटरको महिला÷पुरुष राष्ट्रिय खुला दौड, विद्यालयतर्फ ५ किलोमिटर छात्रछात्रा र भेट्रान्सतर्फ ५ किलोमिटर दौड हुने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । चार वटा विधामा गरेर करिब एक हजार धावक सहभागी हुने अनुमान आयोजकको छ ।  हाफ म्याराथनको विजेताले ६० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । द्वितीय, तृतीय, सान्त्वना र पाँचौँले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।  १० किलोमिटरको महिला÷पुरुष राष्ट्रिय खुला दौडको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ पाउने छन् । तृतीय, सान्त्वना र पाँचौँ हुनेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँको साथमा मेडल र प्रमाणपत्रबाट पुरस्कृत हुनेछन् । ५ किलोमिटर विद्यालय छात्रछात्रा दौडको विजेताले १५ हजार रुपैयाँ, उपविजेताले १० हजार, तृतीयले ५ हजार, सान्त्वनाले ३ हजार र पाँचौँले २ हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र पाउने छन् ।  भेट्रान्सतर्फको विजेताले १० हजार, उपविजेताले ७ हजार, तृतीयले ५ हजार रुपैयाँ पाउने सदस्य सचिव खड्काले जानकारी दिए । दौड पुरा गर्ने सम्पूर्ण विधाका शीर्ष २० खेलाडीलाई मेडल प्रदान गरिने खेलकुद विकास समितिका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक राजेन्द्र जिसीले जानकारी दिए ।  दौडमा सहभागी हुन पोखरा महानगरपालिकाको शिक्षा महाशाखा वा आदर्श क्लब, भण्डारढिकको कार्यालय पुगी वा खेलकुद विकास समितिको फेसबुक पेजमार्फत गुगल फारम भरेर २९ चैतसम्म नाम दर्ता गर्न सकिने छ ।   भण्डारढिकबाट सुरू हुने हाफ म्याराथन उत्तरसिंह चोक, भुगोलपार्क, रामबजार, सितागुफाचोक, सातमुहाने बजार, राजाकोचौतारा, झउरीचोकबाट फर्केर सातमुहाने बजार, खुदी, नहरचोक, रामबजार, लेखनाथ उद्योग वाणिज्य संघको भवन हुँदै भण्डारढिक खेल मैदानमा आएर टुंगिने छ ।    खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले प्रतियोगिताले आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि गर्ने विश्वास व्यक्त गरे । उनले लेखनाथ पनि पोखराभित्रै पर्ने तर केही पिछ्डिएकोजस्तो महसुस भएर छुट्टै नाम दिएर म्याराथन गरिएको सुनाए ।  पोखरा–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरूङले लेखनाथमा राष्ट्रिय स्तरका अन्य प्रतियोगिता निरन्तर गर्न आवश्यक रहेको बताए ।  ‘लेखनाथ पोखरामा गाभिएपछि केही पछाडि परेको हामीले महसुस गरेका छौँ । यस्तै खाले राष्ट्रिय प्रतियोगिता यहाँ गरेर यो ठाउँ चिनाउनपर्छ,’ उनले भने, ‘यहाँ पर्यटनको थुप्रो सम्भावना छ । सात वटा ताल छन् । धेरै कोट पनि छन् ।’  भण्डारढिकमा रहेको रंगशालाको काम सक्न आफ्नो कार्यकालमा सक्दो प्रयास गर्ने र वडाबाट पनि बजेट लगानी गर्ने उनले बताए । पोखरा–२९ मा रंगशाला बनाउने भए आफूले स्थानीयसँग कुरा गरेर जग्गाको व्यवस्थापन गरिदिने वडाध्यक्ष गुरूङको भनाइ थियो ।   

पोखरा:      कास्कीको अन्नपूर्ण गाउँपालिका–१०/११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि सुरु भएको घान्द्रुक पर्यटन महोत्सव चैत ३० गतेसम्म सञ्चालन हुनेछ ।  सो महोत्सवको उद्घाटन अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले गरे । महोत्सवको उद्घाटनपछि बोल्दै अध्यक्ष केसीले घान्द्रुकको मौलिकता र संस्कृति जोगाउने कर्तव्य सबैको रहेको बताए ।  ‘अन्नपूर्ण गाउँपालिकाको ७ देखि ११ नम्बर वडा हामीले पर्यटकीय क्षेत्रको रुपमा अगाडि सारेका छौं, अध्यक्ष केसीले भने, ‘गाउँपालिकाको पर्यटकीय क्षेत्रको रुपमा १०/११ मा पर्ने घान्द्रुक आन्तरिक तथा बाह्य पर्यटकको रोजाईको केन्द्र हो । त्यसैले घान्द्रुकको मौलिकता र संस्कृति जोगाउनु हामी सबैको कर्तव्य हो ।’ अध्यक्ष केसीले आफ्नो कार्यकालमा घान्द्रुक आउने सडक कालोपत्र गर्ने बताउँदै घान्द्रुकमा पर्यटकको बसाई लम्बाउने विषयमा केन्द्रित हुनुपर्ने बताए । ‘हाम्रो कार्यकाल भित्र घान्द्रुकसम्म आउने सडक कालोपत्र गर्छौ । सडक कालोपत्र भएपछि पोखराबाट केही घण्टामै पर्यटक घान्द्रुक आउन सक्छन्, अध्यक्ष केसीले भने, ‘घान्द्रुक आएका आन्तरिक तथा बाह्य पर्यटकहरुको बसाई लम्बाउन स्थानीय सरकार, व्यवसायी र स्थानीयहरु त्यस विषयमा केन्द्रित हुनुपर्छ ।’ यस्तै अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकका वडाध्यक्ष गौतम गुरुङले घान्द्रुक पर्यटकका लागि स्थापित भइसकेकाले चुनौतीसमेत थपिदै गएको बताए ।  ‘घान्द्रुक आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि स्थापित भइसकेको छ । हिजोको घान्द्रुक र आजको घान्द्रुकमा परिवर्तन भएको छ, वडाध्यक्ष गुरुङले भने, ‘पर्यटकहरुका लागि स्थापित भइसकेको घान्द्रुकलाई जिवन्त राख्न घान्द्रुकको मौलिकता जोगाई राख्न सबैले हातेमालो गर्न आवश्यक छ ।’ उनले घान्द्रुकको ढुङ्गेली गाउँको संरक्षण गर्दै पर्यटकको बसाई लम्बाउन नयाँनयाँ कार्यक्रम र योजना अगाडि बढाउन आवश्यक रहेको धारणा राखे ।  कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष भरत गुरुङ, तमु प्हे ल्हु संघ घान्द्रुकका अध्यक्ष प्रेम गुरुङ लगायतले बोलेका थिए । घान्द्रुक पर्यटक व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङको अध्यक्षता भएको उद्घाटन समारोहलाई लामा अमृत फाउण्डेशनका संस्थापक अमृत गुरुङले सञ्चालन गरेका थिए ।  बास्केटबल प्रतियोगितामा दाङको विजयी सुरुवात महोत्सवको अवसरमा आयोजित खुला क्लबस्तरीय बास्केटबल प्रतियोगितामा दाङले विजयी सुरुवात गरेको छ ।  दाङले घान्द्रुकलाई पराजित गर्दै विजयी सुरुवात गरेको हो । यस्तै आर्मी र टाइम्सबीच भएको खेल भने वर्षाका कारण स्थगित भएको छ ।  महोत्सवका संयोजक अमृत लामा गुरुङका अनुसार उक्त खेल भोलि हुनेछ । सो प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ६० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । बास्केटबलतर्फ कुल १२ टिमको सहभागिता रहेको छ । यस्तै बधबारदेखि नै भलिबल प्रतियोगितापनि सुरु हुनेछ ।  क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११, उपविजेताले ७० हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महिलातर्फको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  ¬पुरुष भलिबलतर्फ विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, प्रशिक्षक, उदीयमान खेलाडीलाई (सेमिफाइनलबाट म्यान अफ द म्याच)  पुरस्कृत गरिनेछ । यस्तै महिलातर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, डिफेण्डर, सेटर हुने खेलाडीलाई (सेमिफाइनलबाट म्यान अफ द म्याच)  पुरस्कृत गरिने अध्यक्ष गुरुङले जानकारी दिए । यस्तै घोडा दौड प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५, उपविजेताले २७ हजार ७ सय ७७ र तेस्रो हुनेले ११ हजार ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यस्तै चक्रीय पदमार्ग दौड प्रतियोगिताको विजेताले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।  यस्तै ठेलो प्रतियोगितातफै विजेताले ८ हजार र उपविजेताले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । महोत्सवको अवधिमा ह्विलचियर बास्केटबलको समेत प्रर्दशन गरिने छ ।  सो महोत्सवको हरेक बेलुकी विभिन्न जातिका प्रचलित नृत्य तथा सांगीतिक कार्यक्रमहरु प्रस्तुत हुने संयोजक गुरुङले जानकारी दिए । उनका अनुसार सो महोत्सवमा आदिम कला केन्द्रले नृत्यहरु प्रस्तुत गर्नेछन् । महोत्सव अवधिभर पर्यटकलाई ३० प्रतिशत छुट घान्द्रुक पर्यटन व्यवस्थापन समितिले महोत्सव अवधिभर घान्द्रुक जाने पर्यटकलाई ३० प्रतिशत छुट दिएको छ ।  कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुकमा आज चैत्र २७ देखि ३० गतेसम्म आयोजना गरिएको घान्द्रुक पर्यटन महोत्सवमा पर्यटकहरुलाई ३० प्रतिशत छुट दिएको अध्यक्ष विक्रम गुरुङले बताए ।  उनका अनुसार प्रतियोगितामा सहभागि हुने खेलाडीहरुलाई खाना र बस्नको लागि प्रतिव्यक्ति ६ सय रुयैयाँ निर्धारण गरिएको छ । घान्द्रुकमा अहिले ७० वटा व्यवस्थित होटल र १७ वटा होमस्टे सञ्चालनमा रहेका छन् । महोत्सवमा जाने पर्यटक तथा दर्शकलाई घान्द्रुकमा उत्पादन हुने खाद्यान्न र संस्कार, संस्कृतिसँगै प्रतियोगिताबाट मनोरञ्जन दिने आयोजकले जनाएको छ ।   

पोखरा:    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।  नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको तर्फबाट वारेसमार्फत सम्झना केसीले रिट दायर गरेकी हुन्।  रिटमा खगराजले मुख्यमन्त्री दाबी गर्दा सभामुखको समेत संख्या जोडेर बहुमत पु¥याएको र यसरी गरिएको मुख्यमन्त्री नियुक्ती बदर गर्न माग गरिएको छ। ‘ नेकपा माओवादी केन्द्रको हुँदै नभएको संख्यालाई समेत जोडी संख्या पुगेको भनि देखाइएको कार्य प्रथम दृष्टिमा गैह्रकानुनी र त्रुटिपूर्ण भएको, यस्तो गैह्रकानुनी र त्रुटिपूर्ण दाबीलाई आत्मगत तवरबाट हुबहु मान्यता प्रदान गरी विपक्षी प्रत्यर्थी मध्येका खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भई सरकार गठन गरी शपथग्रहण गर्ने लगायका सम्पूर्ण निर्णय कामकारबाहीहरु संविधानविपरीत भएको हुँदा उत्प्रेषणको आदेशले बदर गरी पाउँ’, रिटमा भनिएको छ।    यस्तै यो दाबी खारेज भइसकेपछि प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस गण्डकी प्रदेश सभा संसदीय दलको नेता समेत रहेका पाण्डेले आफूलाई मुख्यमन्त्री पदमा नियुक्ती गराउनु भनि परमादेशको आदेश समेत माग गरेका छन्।  मुद्दाको अन्तिम किनारा नहुँदासम्म दूषित तबरले गरिएको दाबी पत्र र सोही आधारमा चैत २५ गते दिइएको नियुक्ती कार्यन्वयन नगर्न र त्यतिन्जेलसम्म मुख्यमन्त्रीको रुपमा आफूलाई नै निरन्तरता दिन पनि पाण्डेले अन्तरिम आदेश माग गरेका छन्।  उक्त रिटमा पेसी बुधबारलाई तोकिएको छ। ६० सदस्यीय गण्डकी प्रदेशमा मुख्यमन्त्री नियुक्त हुनका लागि ३१ सांसदको आवश्यकता पर्छ। तर हाल नियुक्त भएका एमालेका खगराज अधिकारीले सभामुख समेत रहेका माओवादीका प्रदेशसभा सदस्य कृष्णप्रसाद धितालको समेत मत जोडेर बहुमत जुटाएका थिए।

काठमाडौं:     ओमानमा हुने एसिसी प्रिमियर कपको लागि नेपालको १४ सदस्य टोली घोषणा भएको छ । एसिसी क्रिकेट काउन्सिल(एसिसी) ले अन्तिम १४ सदस्य टोली सार्वजनिक गरेको हो । भारत भ्रमणमा परेका तीव्र गतिका बलर आकाश चन्द भने अन्तिम १४ मा पर्न सकेनन् । अन्य टोलीमा कुनै परिवर्तन गरेको छैन । प्रिमियर कप १२ अप्रिलदेखि २१ अप्रिलसम्म ओमानमा हुनेछ । प्रिमियर कपको समूह ए मा नेपाल, मलेसिया, हङकङ, साउदी अरेविया र कतार छन् । समूह बी मा यूएई, कुवेत, बहराइन, ओमान र कम्बोडिया छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल हुँदै विजेता हुने टोलीले एसिया कप खेल्ने पाउनेछ । नेपाल, यूएई र ओमान विजेताको प्रमुख दाबेदार हुन् । नेपालको टोली:   रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी र अभिनाश बोहरा ।

कैलाली:     जंगली हात्तीको आक्रमणमा परेर आज टीकापुरमा एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार मृत्यु हुनेमा टीकापुर नगरपालिका वडा नं.१ ब्लक नं. १५ की जसुदा बटाला रहेकी छन ।  उनलाई जंगली हात्तीको बथानले टीकापुर नगरपालिका वडा नं.२ स्थित भुराखानी सामुदायिक वन भित्र आक्रमण गरेको डिएसपी विश्वराज अधिकारीले जानकारी दिए ।  मृतक बटाला स्थानीय महिलासँगै भुराखानी सामुदायिक वन क्षेत्रमा घाँस काट्न गएकी बताईएको छ । प्रहरी घटनास्थलमा पुगेको छ ।  यस क्षेत्रमा बेलाबेलामा बर्दिया राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावरको आक्रमणमा परेर सर्वसाधारणले ज्यान गुमाउने गरेका  छन ।

काठमाडौं:     प्रतिनिधि सभाको बैठक भोलि, बुधबारसम्मका लागि स्थगित भएको छ । यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठकमा अवरोध गरेपछि १५ मिनेटको लागि स्थगित गरिएको थियो । आज सूचना टाँसेर स्थगित गरिएको बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ । बैठक स्थगित गरेर सभामुख देवराज घिमिरेले नेपाली कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलका नेताहरूसँग छलफल गरेका थिए । कांग्रेस गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउने मागबाट पछि नहटेपछि छलफल निष्कर्षमा पुग्न सकेको छैन ।

स्याङजा:      स्याङजाको आँधीखोलामा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ ।  गल्याङ नगरपालिका–२ गराङ्दी का १४ वर्षीय युनिक रानाको पौडी खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरिक्षक पावलसिंह लामाले जानकारी दिए ।  मङगलवार बिहान ६ जना साथीहरु सहित पौडी खेल्न गएका राना खोलामा पस्ने बित्तिकै बेपत्ता भएका थिए । झण्डै दुई घण्टाको खोजबिन पछि उद्धार गरी गल्याङ नगर अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।।

काठमाडौं:      राप्रपाको प्रदर्शनमा प्रहरीले पानीको फोहोरा हानेको छ । ४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलुस भृकुटीमण्डपबाट सुरु भएको थियो । सिंहदरबारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । तर जुलुस अगाडि बढेपछि प्रहरीले पानीको फोहोरा हानेको छ ।

काठमाडौं:     राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको तर्फबाट छुट्टाछट्टै उम्मेदवारी दर्ता भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा एमालेका तर्फबाट बिमला घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको छ । घिमिरेको प्रस्तावकमा सांसद भगवती न्यौपाने र समर्थकमा सांसद गोपीबहादुर सार्की अछामी रहनुभएको छ । यस्तै, नेपाली कांग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराउनुभएको छ । पुडासैनीको प्रस्तावकमा सांसद दुर्गा गुरुङ र समर्थकमा सांसद नारायणदत्त भट्ट रहनुभएको छ । उपाध्यक्षको निर्वाचन बुधबार हुँदैछ । तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिनुभएपछि निर्वाचन हुन लागेको हो । उम्मेदवारी दर्ता गर्रापछि सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका तर्फबाट उपाध्यक्षका उम्मेदवार घिमिरेले आफूलाई मतदान गरी निर्वाचित गराउन आग्रह गर्नुभयो । आफूलाई आफ्नो दलले यो जिम्मेवारी दिएकाले धन्यवाद दिनुभयो । उहाँले राष्ट्रियसभालाई अध्यक्षसँग सल्लाह गरेर सभालाई थप मर्यादित बनाउने र विधेयकलाई छिटोछरितो पास गराउन सम्पूर्ण रुपमा सहयोगी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै, काँगेसका तर्फबाट उम्मेदवारी दर्ता गराउनु भएका पुडासैनीले राष्ट्रियसभालाई गरिमामय बनाउन आफूले भूमिका खेल्ने बताउनुभयो । आफूले स्थानीय रुपमा पनि काम गरेको जानकारी दिँदै उहाँले उम्मेदवार बनाउने निर्णय गर्ने पार्टीलाई समेत धन्यवाद दिनुभयो । उहाँले जनताको मन छुने खालका ऐन, कानुन बनाउनुपर्छ भन्ने आफ्नो मान्यता रहेको उल्लेख गर्दै सबै आफ्नै साथीभाइ भएकाले आफ्नो जीत सुनिश्चित भएको दाबी गर्नुभयो ।