पोखरा:  कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा ३२ औं ऐतिहासिक चैते दशैं मेला जारी छ । ग्रीन हिल क्लबको आयोजनामा विविध कार्यक्रम मध्ये महिला भलिबल प्रतियोगितामा एलिट भलिबल एकेडेमील...

गोरखाः उत्तरी गोरखाको धार्चे गाउँपालिका–२ मा पर्ने रुन्चेतगाउँ सडक सञ्जालबाट जोडिएको छैन ।   गाउँपालिकाको ३ नं वडामा पर्ने लुसीकाङगाउँबाट रुन्चेतगाउँ नजिक भए पनि त्यहाँ पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता छ ।   ुबुढीगण्डकी नदीका कारण रुन्चेत र लुसीकाङ विकट भएका हुन् तर अब घण्टौँ हिँड्नुपर्ने बाध्यताबाट स्थानीय मुक्त हुँदैछन् । रुन्चेत र लुसीकाङवासीको वर्षौँदेखिको समस्या समाधानका निम्ति भीर खोपेर कादुरी नेपाल संस्थाको सहयोगमा आगामी पाँच महिनाभित्रमा झोलुङ्गे पुल निर्माण पूरा गर्नेगरी काम सुरु भएको छ, धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भन्नुभयो, “करिब १ करोड ३३ लाखको लागतमा झोलुङ्गे पुल निर्माण थालिएको हो ।”   झोलुङ्गे पुल सञ्चालन भएपछि रुन्चेतवासी तीनघण्टाभन्दा समय हिँड्नुपर्ने बाध्यताबाट नहुने र एक घण्टामै गाउँ पुग्न सकिने अध्यक्ष गुरुङले बताउनुभयोे । पुल नहुँदा अहिले त्यस क्षेत्रका बासिन्दाले माछीखोला पारि भिरको बाटो प्रयोग गर्दै आएका छन् ।   गत फागुन १५ गतेदेखि तीव्ररूपमा निर्माणको काम अगाडि बढेको कादुरी नेपालका प्रजेक्टका प्रबन्धक प्रदीपकुमार सिलवालले बताउनुभयो । “प्राविधिक तथा स्थानीयवासी अहिले भिरको ढुङ्गा फोर्न तल्लीन छन्, आगामी असार १ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको छ”, उहाँले भन्नुभयो । निर्धारित समयमा निर्माण सम्पन्न गर्न छजना विज्ञसहितको टोली निर्माणस्थलमा खटिएको उहाँले बताउनुभयो ।   पुल निर्माण गर्न स्थानीवासीले रु एक लाख ७६ हजार बराबरको श्रमदान गर्नेछन् । पुल निर्माण भएपछि त्यस क्षेत्रका करिब तीन सयभन्दा बढी परिवार लाभान्वित हुनेछन् ।

पोखरा:  तेस्रो संस्करणको स्टार्स समर क्याम्प २०८० बुधवार समापन भएको छ ।   स्टार्स स्टुडियो नेपाल र स्टार्स फाउन्डेसन नेपालको संयुक्त आयोजनामा गत चैत १९ गते सुरु भएको कार्यक्रममा देश तथा विदेशका करिब ३५ भन्दा बढी बालबालिका सहभागी भएको कुरा आयोजकले बताए ।   परीक्षा पश्चात फुर्सदमा रहेका बालबालिकालाई लक्षित गरेर आयोजना गरेको कार्यक्रममा योगा,नाटक, पब्लिक स्पिकिङ,फेस पेन्टिङ, गायन, नृत्य, सँगीत, सेल्फ डिफेन्सको लागि तेक्वान्दो, कँराते, स्विमिङ, चित्रकला जस्ता ४५ भन्दा बढी गतिविधिहरू भएको कुरा कार्यक्रम संयोजक जसमाया गुरुङ जसुले बताइन् ।   कार्यक्रममा सहभागी बालबालिकाहरूले व्यक्तित्व विकास, सिर्जनात्मक सिकाई, मानसिक स्वास्थ्य, सामाजिक पाटोबारे बुझाउन पाएको कुरा गुरुङले बताइन् ।   लेकसाइडमा आयोजना भएको कार्यक्रममा चर्चित समर क्याम्प मेन्टर एलिजावेथ रोब सहभागी भएकी थिइन्। एलिजावेथले यस्ता कार्यक्रम नेपालमा भएको थाहा पाउदा आफू ज्यादै खुसी लागेको र बालबालिकालाई फाइदाजनक भएको कुरा बताइन्।   १० दिने कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिए वापत सुहना गुरुङलाई स्टार्स समर क्याम्प च्याम्प घोषणा गरियो । आयोजकले आवास, यातायात, खानाखाजा, स्वास्थ्यकर्मी तथा अवधिभर चाहिने सम्पूर्ण सामाग्रीको व्यवस्था मिलाएको आयोजकले जनाए ।   कोभिडले आक्रान्त पारेको बेला समर क्याम्पको खाका कोरेको संयोजक गुरुङले बताइन् ।   "कोभिडले घरमा थुनिँदा बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यमा निकै असर गरेको देखेँ। यो कार्यक्रम आयोजना गर्न पाए निकै राम्रो हुन्छ जस्तो लाग्यो ।" उनले भनिन्, " त्यति मात्र हैन अहिलेको बालबालिका कोठामा एक्लै घन्टौँसम्म मोबाइल चलाएर बस्छन्। उनीहरूलाई ग्याजेट एडिक्सनबाट छुटाउनु पनि कार्यक्रमको उदेश्य थियो। " उनले निकै प्रभावकारी भएको हुनाले वार्षिक रूपमा गर्दै आइरहेको यस कार्यक्रमलाई वर्षमा दुई पटक गर्ने जनाइन् ।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा जारी पर्यटन महोत्सवमा आयोजित चक्रिय पदमार्थ दौड प्रतियोगिताको उपाधि स्याङ्जाका सनम गुरुङले जितेका छन् ।   पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यसहित आयोजित दौड प्रतियोगिताको निर्धारित  ५.५ किमी दुरी  ३२ मिनेट ४६ सेकेन्डमा पार गर्दै सनमले उपाधि जितेका हुन् । उनले ३५ प्रतिस्पर्धिलाई पछि पारे ।   यस्तै स्थानीय उमेश नेपालीले ३३ मिनेट ३ सेकेन्डमा निर्धारित दुरी पार गर्दै द्वित्तिय बने भने घान्द्रुककै कृष्ण परियारले ३३ मिनेट २० सेकेन्डमा दुरी पार गर्दै तृतीय बनेको महोत्सवका आयोजक संस्थाका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए ।   उनका अनुसार प्रथम द्वित्तिय र तृतीय बनेका धावकहरुले क्रमश मेडल तथा प्रमाणपत्रसहित नगद रु १५ हजार, १० हजार र ५ हजार पुरस्कार प्राप्त गरे ।    कुल ३६ धावकको सहभागिता रहेको दौडमा १२ वर्षकी बालिकादेखि ५८ वर्षको वृद्धालेसमेत प्रतियोगितामा भाग लिगेका थिए ।   उक्त दौड मेश्रेम बराह माविबाट सुरु भएर चक्रिय पदमार्ग वडा नं. १० को कार्यालय हुँदै पञ्चे, कोटगाउँ, देउराली, बलाथे पार्क, नब्रुथी बराह मन्दीर, कायमा बराह, सात सय घान्दु्रकेले मान्दै आएको ब्रेजे मेश्रे बराह नेगु, चिया बगान, डाडागाउँ, कुमाभ्री, सिल्कु, खोलोभ्रो हुँदै विद्यालयमा आएर टुंगिएको थियो ।

पोखरा:   सामाजिक क्षेत्रमा क्रियाशिल यूनाइटेड क्लब पोखराले१४ औँ वार्षिकोत्सवको अवसरमा सताब्यापी कार्यक्रम गर्ने भएको छ ।    २०६७ बैशाख ७ गते स्थापना भएको सो क्लबले १४ औँ वार्षिकोत्सवको अवसर पारी यही बैशाख १ गतेदेखि ७ गतेसम्म साताब्यापी कार्यक्रमको घोषणा गरेको महासचिव दिनेश सुनारले जानकारी दिए ।   उनका अनुसार पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा काम गर्दै आइरहेको क्लबले नयाँ वर्षको दिन (१ गते) मानव सेवा आश्रम पोखरा २५ हेम्जा र जेष्ठ नागरिक मिलन केन्द्र पोखरा १५ टुुटुङगामा भोजन सेवा कार्यक्रमको आयोजना गर्नेछ ।   यस्तै २ गते पोखरा १४ मा रहेको बलभद्र माविमा खेलकुद समाग्री वितरण गर्नै कार्यक्रम छ ।   वैशाख ३ गते पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभुत विद्यालयमा शैक्षिक समाग्री वितरण कार्यक्रम छ ।    त्यसैगरी ४ गते पोखरा १७ महतगौडामा रहेको जानकी माविमा सेनेटरी प्याड मेशिन वितरण, ५ गते अमरसिंहमा रक्तदान कार्यक्रम, ६ गते पोखरा १५ टुटुङ्गामा रहेको पोखरा आरोग्य आश्रममा खाद्यान्न वितरण र वैशाख ७ गते १४ औँ वार्षिक उत्सव तथा सम्मान कार्यक्रमको आयोजना हुनेछ ।   क्लबले वार्षिकोत्सवको अवसरमा हरेक वर्षको वैशाख १ गतेदेखि ७ गतेसम्म साताव्यापी कार्यक्रम गर्दै आइरहेको छ ।   

काठमाडौं:  नयाँ वर्ष २०८१ को छेकाे पारेर दुईवटा नेपाली फिल्म प्रदर्शनमा आएका छन्।   रामबाबु गुरूङको निर्देशनमा बनेको फिल्म 'डिग्री माइला' र फिडेल देवकोटाको निर्देशन रहेको फिल्म 'द रेड सुटकेस' शुक्रबारदेखि प्रदर्शनमा आएका हुन्।    'डिग्री माइला' मा दयाहाङ राई र आँचल शर्माको मुख्य भूमिका छ।   साथमा माओत्से गुरूङ, प्रकाश घिमिरे, विजय बराल, बुद्दि तामाङ, कमलमणि नेपाललगायत कलाकारहरूको अभिनय छ।   कमेडी र ड्रामा जनरामा राखिएको २ घण्टा ३० मिनेट लामो फिल्मले डिग्री हासिल हुनुको अहमताले भरिएको पात्र र समाजले ऊसँग राखेको अपेक्षाबीचको संघर्षको कथा प्रस्तुत गर्छ।    फिल्मको निर्मातामा विशाल गुरूङ, मणिराम पोखरेल, मधु मिजार र सुष्मा गुरूङ छन्। देशभरका हलले यो फिल्मलाई उत्साहजनक शो दिएका छन्।      'द रेड सुटकेस' विश्व प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियर हुनुका साथै विश्वका अन्य प्रतिष्ठित फेस्टिभलमा समेत पुरस्कृत भएको फिल्म हो।   काठमाडौं एयरपोर्टबाट पिकपअ भ्यानमा कफिन (शवको बाकस) लिएर पहाडी गाउँ जाने ड्राइभरको कथा फिल्मले प्रस्तुत गर्छ।   फिल्ममा सौगात मल्ल, विपीन कार्की, प्रविण खतिवडा र सृष्टि श्रेष्ठलगायत कलाकारको मुख्य भूमिका छ। निर्माताले फिल्मलाई क्युएफएक्स चेनका हलमा भने रिलिज गरेका छैनन्।    अन्य चार दर्जन भन्दा बढी हलमा फिल्म रिलिज भएको छ। यो फिल्म १ घण्टा २६ मिनेटको छ।  

काठमाडौं:  आजदेखि  सुरू हुने एसीसी प्रिमियर कपमा नेपालले आफ्नो पहिलो खेल आज अप्रिल १२ मा मलेसियासँग खेल्दै छ ।   ओमानमा हुने यस प्रतियोगिताको  दोस्रो खेल अप्रिल १३ (शनिबार) कतारसँग खेल्ने छ।   त्यस्तै तेस्रो खेल अप्रिल १५ (सोमबार) हङकङसँग खेल्ने छ भने चौथो तथा अन्तिम खेल अप्रिल १७ (बुधबार) साउदी अरेबियासँग खेल्ने छ। नेपालले खेल्ने सबै खेल नेपाली समय अनुसार अपराहन्न ४: १५ बजेदखि शुरु हुने छन्।   ओमानमा हुने यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी-२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन्।   एसीसी प्रिमियर कपमा ८ उच्च वरियतामा रेहका एसोसियट्स देश र एसीसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका दुई देश खेल्दै छन्।   जसमा उच्च वरियताका ८ देशमा नेपाल, युएई, ओमान, हङकङ, मलेसिया, कुवेत, बहराइन, कतार रहेका छन् भने एसीसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका साउदी अरेबिया र कम्बोडिया रहेका छन्।   प्रिमियर कपमा नेपाल समूह ए मा रहेको छ। समूह एमा नेपालसहित हङकङ, मलेसिया, कतार र साउदी अरेबिया रहेका छन्। त्यस्तै समुह बी मा बहराइन, युएई, कम्बोडिया, कुवेत र ओमान रहेका छन्।   समूह चरणका खेलपछि दुवै समुहका शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन्। त्यसपछि फाइनल खेल अप्रिल २१ मा हुनेछ।   नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी प्रिमियर कप खेल्न १४ सदस्यीय टिम छानेको छ।   जसमा रोहित पौडेल (कप्तान), आसिफ सेख, अनिल शाह, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, अविनाश बोहोरा, प्रतिस जिसी, गुलशन झा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, कुशल मल्ल, ललित राजबंशी र बिबेक यादव रेहका छन्।

पोखरा:  हेमजा महोत्सवमा माटोलाई स्वस्थ्य राख्नेबारे चर्चा गरिएको छ ।   १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्तर्गत बिहीबार भएको माटो तथा बाली संरक्षण विषयक अन्तरक्रिया गरिएको हो ।   कृषि अनुसन्धान निर्देशनालय लुम्लेको आयोजनामा भएको उक्त अन्तरक्रियामा धारणा राख्दै राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख, वरिष्ठ वैज्ञानिक डा.श्रीप्रसाद विष्टले माटोलाई जीवित राख्न त्यसमा रासायनिक नभई जैविक मलको उचित प्रयोग गर्नुपर्ने धारणा राखे ।   ‘साच्चै सफल रुपमा कृषि कर्म गर्ने हो भने माटोलाई बचाउनुको विकल्प हामीसँग छैन । त्यसका लागि प्राङगारिक चिजवस्तुहरु माटोसँगै कुहाउनु पर्दछ । जलाउदाँ माटोको माथिल्लो सतहका जीवाणुहरु पनि मर्दछन्, त्यो भनेको माटो मर्नु सरह हो,’ उनले भने ।      यस्तै कार्यक्रममा बागबाणी अनुसन्धान केन्द्र मालेपाटन प्रमुख वरिष्ठ वैज्ञानिक डा. सुनिल अर्यालले पनि कृषिको महत्वमाथि प्रकाश पारे ।   उनले फल कुहाउने औशाका कारण अमिलोजन्य कृषि उपजको उत्पादनमा आजकल कमी आइहेको स्पष्ट पार्दै त्यसका लागि उक्त फललाई नै व्यवस्थित ढङ्गले नष्ट गरे करिब ७० प्रतिशत समस्या समाधान हुने बताए ।   दिनहुँ दर्शक बढ्दै    हेमजामा जारी महोत्सवमा दिनहुँ दर्शकको सँख्या बढेको छ । बिहीबारसम्म २५ हजार दर्शक बढीले महोत्सव अवलोकन गरेको आयोजकको तथ्याङ्कमा उल्लेख छ ।    १ हजार ४ सय १० घरपरिवारले आलु खरिद गरेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।   उनले हालसम्म १४ लाख बढीको आलु कारोबार भएको पनि बताए ।   महोत्सव अन्तर्गत बिहीबार कलाकारहरु तारापति सुवेदी, प्रेमराज अधिकारी, शिवहरी ढुङगाना, परशुराम अधिकारी, नेत्र खड्का, सुनिता नेपाली, नवराज अधिकारी, दुर्गा क्षत्री, राजेश बर्देवा(पप आधुनिक), हास्य कलाकारद्वय राजेन्द्र नेपाली र युवराज भण्डारी साथमा स्थानीय कलाकारहरुले प्रस्तुति दिएका थिए ।   त्यस्तै आज (शुक्रबार) विष्णु खत्री, ज्योति लोहोनी, माधव चापागाई, जीवन सिग्देल, माया केसी, छ्यवाङ लामा, ओम गुरुङ तथा अंकित एण्ड कुशल व्याण्डका प्रस्तुतिहरु रहने छ ।   महोत्सव यही बैशाख ५ गतेसम्म महोत्सव चल्नेछ ।

पोखरा:   जापानको कोची युनिभर्सिटीका प्राध्यापक डा. ता दासी हारा नेतृत्वको प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग प्रकोप व्यवस्थापन र फेवातालमा जम्मा भएको माटो तथा गेग्र्यान निकाल्ने प्रविधिका विषयमा छलफल गरेको छ ।   नगर प्रमुख आचार्यको कार्यकक्षमा भएको छलफलमा फेवातालमा माथिल्लो तटिय क्षेत्रबाट बगेर आउने नदजन्य सामाग्री रोकथामका लागि मड ड्याम निर्माण तथा फेवातालमा थुप्रिएको माटो लगायतका फोहोरहरू निकाल्ने प्रविधि तथा उपकरणका बारेमा छलफल भएको हो ।   सो क्रममा नगरप्रमुख आचार्यले हालै मात्र पर्यटन राजधानी घोषणा गरिएको पोखराको गहनाका रूपमा रहेको फेवातालको संरक्षणका लागि आफूहरू प्रतिबद्ध रहेको बताउँदै यसमा थुप्रिएको माटो लगायतका नदजन्य तथा फोहोर वस्तुहरू निकाल्न उपयुक्त प्रविधिको खोजीमा रहेको बताउनुभयो ।   यसका लागि प्रविधिमा निकै फड्को मारेको जापानको प्रविधि र विज्ञहरूसँग आवश्यक परामर्श सहित सहकार्य गर्न सकिने उहाँले बताउनुभयो ।   प्रा.डा हारा नेतृत्वको प्रतिनिधि मण्डलले फेवातालको संरक्षण र सौन्दर्यीकरणका लागि आफूहरू काम गर्न तयार रहेको बताएको छ । यसका लागि आफूहरूसँग विज्ञता सहित अत्याधुनिक उपकरणहरू रहेको टोलीले बताएको छ ।   फेवातालमा माथिबाट बगेर आउने माटो तथा गेग्र्यानका कारण यसको भविष्य माथि नै अनिश्चितता उत्पन्न भएको भन्दै आफूहरू स्थानीय सरकारसँग मिलेर काम गर्न चाहेको जापानी टोलीले बताएको छ ।   फेवातालको संरक्षणका लागि माथिल्लो क्षेत्रमा मड ड्याम निर्माण गरी माटो लगायत नदजन्य सामाग्रीहरू रोक्ने र तालको सौन्दर्यीकरण गर्दै थुप्रिएको पानी मुनिको माटो समेत निकाल्ने योजनामा महानगरपालिका रहेको छ ।

मकवानपुरः  चिउरी र चमेरो संरक्षण कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकार र स्थानीय सरकारबीच सम्झौता भएको छ ।   सामाजिक विकास मन्त्रालयमा आयोजित कार्यक्रमकाबीच प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकासमन्त्री कुमारी मोक्तान र प्रदेशका छ स्थानीय तहका प्रमुख-उपप्रमुखबिच सहमति भएको हो ।    चेपाङ समुदायको बाहुल्यता रहेको प्रदेशका तीन जिल्ला मकवानपुर, धादिङ र चितवनका गरी छ वटा पालिकासँग सम्झौता भएको हो ।   जसअनुसार मकवानपुरको राक्सिराङ, धादिङको गजुरी र बेनिघाट रोराङ तथा चितवनको राप्ती, कालिका र इच्छाकामना गाउँपालिकासँग प्रदेश सरकारले सम्झौता गरेको हो ।   प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट कार्यक्रममा नै समावेश गरी सिमान्तकृत जातिको उत्थानका लागि चिउरी र चमेरो संरक्षणको कार्यक्रम अघि सारेको थियो ।    उक्त कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकारले गत ११ माघमा बसेको प्रदेशको मन्त्रिपरिषद बैठकले ‘चिउरी र चमेरो संरक्षण कार्यक्रम सञ्चालन निर्देशिका, २०८० स्वीकृत गरेको थियो ।   यस्तै प्रदेश सरकारले उक्त कार्यक्रम कार्यान्वयनका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा ५० लाख बजेटसमेत विनियोजन गरेको छ । कार्यक्रम स्थानीय तहको २० प्रतिशत र प्रदेश सरकारको ८० प्रतिशत साझेदारीमा कार्यान्वयन हुनेछ ।   कार्यक्रममा स्थानीय सरकारले सात लाख ७५ हजार लगानी गर्नुपर्नेछ । सम्झौता कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले चेपाङ समुदायको आर्थिक तथा सामाजिक क्षेत्रको उत्थानका लागि उनीहरुको परम्परादेखि जोडिएको चेपाङ चिउरी र चमेरो संरक्षणले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।   सरकारले कार्यविधि नै बनाएर काम सुरु गरेकाले यसमा पालिकाहरुले पनि अपनत्व लिनुपर्ने उहाँको भनाइ छ ।