कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

पोखरा:  कास्की प्रहरीले घाँटीमा लगाएको सुनको सिक्री लुटेर भाग्ने क्रममा २ जना महिलालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा भारत रक्सौल घर बताउने ४० वर्षीया गीता हरिजन र ५५ वर्षीया खैरेनीया हरिजन रहेकी छिन् ।    प्रहरीका अनुसार पोखरा महानगरपालिका–९ नयाँबजारस्थित तनहुँ ब्यास नगरपालिका–३ घर भएकी ६० वर्षीया महिला गाडीबाट झर्ने क्रममा सोही गाडीमा आएका उनीहरूले घाँटीमा लगाएको करिब १ तोलाको सुनको सिक्री लुटी भागेकी थिइन् ।   त्यसपछि प्रहरीलाई प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले सिक्रीसहित उनीहरूलाई पक्राउ गरेको हो ।    सो विषयमा थप अनुसन्धान भइरुहेको कास्की प्रहरीले जनाएको छ ।  

पोखरा:     बागलुङको ताराखोला गाउँपालिका १ र २ नम्बरको सिमानामा ४ दिन अगाडिदेखि लागेको डढेलो बस्तीमा पस्दा २ घरसहित ५ वटा गोठ जलेर नष्ट भएको छ ।  गाउँपालिकाको १ र २ नम्बरको वडाको सिमानामा ४ दिन अगाडि लागेको डढेलो गुराँसेको बस्तीमा पस्दा २ घरसहित ५ वटा गोठ जलेर नष्ट भएको वडाध्यक्ष भद्रबहादुर घर्तीले जानकारी दिए ।  ‘ताराखोला गाउँपालिका १ र २ जोड्ने सिमानाको धुरीमा ४ दिन अगाडि आगो लागेको देखिएको थियो’, वडाध्यक्ष घर्तीले भने, ‘४ दिन अगाडि लागेको आगो बस्तीतीर आउने देखिएपछि हिजो र आज बस्ती जोगाउन स्थानीयसहित लागि परेका थियौं, दिउँसो खाना खाने समयमा बस्तीमा आगो पस्दा क्षति पुग्यो ।’ ताराखोला गाउँपालिका २ का वडाध्यक्ष घर्तीका अनुसार जंगलको बीचमा रहेको बस्ती जोगाउन अग्नि रेखा बनाएपनि बस्तो जोगाउन नसकिएको सुनगाभा न्यूजसँग बताए ।  ‘बस्ती जोगाउन हामी स्थानीयहरुसँग लागि परेका थियौं, आज बिहान अग्नि रेखा बनाएर बस्ती जोगाउने प्रयास गरेका थियौं’, उनले भने, ‘ बस्ती जंगलको बीचमा छ, बस्ती तल र माथी झाडी र खडेरीका कारण सुकेका स्याउला घाँसमा डढेलो बढ्दा नियन्त्रण गर्न सकेनौं ।’   स्थानीय नर बहादुर परियार खरको घर गोठ,हरिलाल परियारको खरको घर गोठ,अमृत परियारको २ वटा गोठ इश्वरा परियारको ढुङ्गाको  घर र खरको गोठ, याम बहादुर परियारको खरको गोठ फुलकुमारी परियारको खरको घर र गोठ डढेलो जले नष्ट भएको हो ।  डढेलोका कारण घर जलेर नष्ट भएपछि उनीहरुलाई दाजुभाई घरमा राखिएको वडा कार्यालयले जनाएको छ ।  उनका अनुसार २ घरसहित ५ वटा गोठ जलेर नष्ट हुँदा ४ वटा बाख्रा, १ वटा बोका, १ पाठी, २ वटा भैसी, १ वटा राँगो जलेर मृत्यु भएको छ । भने, आगोले २ वटा भैसीको केही भाग समेत जलेको छ ।  आगोले जलेका २ वटा भैसीको गाउँपालिकाबाट भेटेनरी डाक्टरले उपचार गरिरहेको वडाध्यक्ष घर्तीले बताए ।  ४ दिन अगाडि लागेको डढेलो पूर्ण रुपमा नियन्त्रणमा नआउँदा वस्ती जोखिमै रहेको स्थानीयहरुले बताएका छन् । आगलागी हुँदा मानवीय क्षति भने भएको छैन् । 

काठमाडौं:    सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदामघरमा सोमबार दिउँसो आगलागी भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी अस्पतालको गोदाम रहेको घरमा आगो लागेको हो । आगलागीबाट सशस्त्र प्रहरीका लत्ता कपडा लगायतका बन्दोबस्तीका सामान र अस्पतालका उपकरण समेत जलेका छन् । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगलागी के कारणले भयो भन्नेबारे बुझ्ने काम भइरहेको जानकारी दिए ।

विराटनगर:     कोशी प्रदेश सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र)का तीन जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् ।  सामाजिक विकास मन्त्री राजेन्द्र कार्की, पर्यटन, वन तथा वातावरण मन्त्री  गणेशप्रसाद उप्रेती र खानेपानी सिँचाइ तथा उर्जा मन्त्री नारायण बुर्जा मगरले पदबाट राजीनामा दिएका हुन् । उनीहरुले मुख्यमन्त्री केदार कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।  नयाँ गठबन्धनबाट सरकार बनाउन सहमत भएपछि माओवादी केन्द्र संसदीय दलको सोमबार बसेको बैठकले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने र त्यसभन्दा अगाडि मन्त्रीहरूले राजीनामा दिने निर्णय गरेको थियो ।

विराटनगर:     कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) फिर्ता हुने भएको छ । सरकारबाट फिर्ता हुने विषयमा संसदीय दलको बैठकमा छलफल भइरहेको र सम्भवत: सोमबारै  मन्त्रीहरूले पदबाट राजीनामा गर्ने तयारी छ । केन्द्रमा दलहरूबिच नयाँ गठबन्धन बनेपछि परिवर्तित राजनीतिक परिवेश अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिनुभयो । सोमबार नेकपा (एमाले) र माओवादी केन्द्रले संयुक्तरूपमा सरकारलाई दिएको समर्थन फिर्ता लिने र विशेष अधिवेशन बोलाउन संसद् सचिवालयमा निवेदन गर्ने उहाँको भनाइ छ ।

ढोरपाटन:     बागलुङको तमानखोला गाउँपालिकामा कृषि संकलन केन्द्र निर्माण गर्न थालिएको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको ४० लाखबाट संकलन केन्द्र निर्माण गर्न थालिएको हो ।  गाउँपालिकाअन्तर्गतका किसानले उत्पादन गरेको कृषिउपज(वस्तुलाई संकलन गरी बजारीकरण गर्नका लागि केन्द्र निर्माण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए।  ‘तमानखोलाका अधिकांश नागरिक कृषि पेसामा आबद्ध भए पनि हालसम्म संकलन केन्द्र नहुँदा बजारीकरणमा समस्या हुँदै आएकामा अब समस्या समाधान हुनेछ’, उनले भने। अध्यक्ष मगरले तमानखोला–१ स्थित बोङ्गादोभानमा केन्द्र बन्ने भन्दै उक्त केन्द्र निर्माण भएपछि कृषकलाई राहत हुने बताए। अहिले किसानले उत्पादन गरेका वस्तुले बजार पाउन नसकेको भन्दै केन्द्र बनेपछि गाउँगाउँबाट कृषि उत्पादन संकलन गरेर यहाँ ल्याउने र बिक्री वितरण गरिने उनले जानकारी दिए। ‘यहाँका धेरै किसानले तरकारी, फलफूललगायत अन्य कृषिजन्य वस्तु उत्पादन गर्दै आएका छन् । उत्पादनले सजहरुपमा बजार पाएको छैन’, अध्यक्ष मगरले भने, ‘पालिका केन्द्र सञ्चालनमा ल्याएसँगै बजारीकरणको जिम्मा लिएर कृषकलाई आत्मनिर्भर र व्यावसायिक बनाउने योजना बनाएको छ । किसानलाई उचित मूल्य दिलाउन हामीले योजना बनाएर लाग्नेछौँ । संकलन केन्द्रमा छवटै वडाबाट उत्पादन ल्याइनेछ ।’ यही चैत ४ गते सम्झौता भएर केन्द्रको काम सुरु भएको छ । धमनी देउराली निर्माण सेवाले आगामी जेठ मसान्तमा सक्नेगरी  ३० लाखमा निर्माणको जिम्मा लिएको गाउँपालिकाका इन्जिनियर अर्जुन यादवले बताए। केन्द्रमा पशुजन्य वस्तु र कृषि उत्पादन संकलन गर्ने फरकफरक कोठाहरू निर्माण हुने उनको भनाइ छ । केन्द्रमा दुई वटा ‘कोल्ड रुम’ समेत बन्ने उहाँले जानकारी दिए। स्थानीय प्रेमबहादुर पुनले गाउँमा उत्पादन भएका तरकारीले बजार नपाउँदा कृषकहरू मारमा पर्दै आएको भन्दै संकलन केन्द्र सञ्चालनमा आएपछि ठूलो राहत मिल्ने बताए। तमानखोलामा ठूलो बजार नरहेको हुँदा किसानले डोकोमा बोकेर बुर्तिबाङ बजारसम्म पुर्‍याउनुपर्ने बाध्यता रहेकामा उक्त बाध्यताको अन्त्य हुने उनको भनाइ छ ।  गाउँपालिकाले निर्माण गरिरहेको उक्त केन्द्रमा सबै वडाबाट तरकारी तथा कृषिजन्य उत्पादन संकलन गरी ल्याउने र ठूला(ठूला बजारमा यहीँबाट ‘सप्लाई’ गर्ने हुँदा बजार र उचित मूल्य पाउनेमा आशावादी रहेको पुनको भनाइ छ ।

काठमाडौं:     भिसा सकिएर नेपालमा अवैधरुपमा बसिरहेका १० जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरी आइतबार अध्यागमन विभागमा बुझाएको छ । विभिन्न मितिमा नेपाल प्रवेश गरी भिसा सकिए पनि गैरकानुनीरूपले बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा खोजतलास गर्दा १० जना बङ्गलादेशी नागरिक पक्राउ परेका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार प्रहरीको विशेष टोलीले काठमाडाँैको सोह्रखुट्टे तथा ठमेल क्षेत्रबाट गैरकानुनी तवरले बसिरहेका उनीहरुलाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा मोहम्मद अनिशुर रहमान, मोहम्मद अब्दुल्ला, मोहम्मद इमाउल हसन, मोहम्मद हाफिज रहमान, सजिव हसन, सैफुल इस्लाम, मोहम्मद विलल हसन, मोहम्मद सलिम, मोहम्मद नासिर उद्दीन र मोहम्मद एसिन खान रहेका छन् । एसपी रेग्मीले पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आज अध्यागमन विभाग, कालिकास्थान पठाइएको बताउनुभयो ।  यसअघि पनि यसैगरी शङ्कास्पद गतिविधि गरिरहेको पाइएपछि प्रहरीले पाँच जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरी अध्यागमनलाई बुझाइएको थियो । पछिल्लो समयमा बङ्गलादेशी नागरिकलाई युरोप पठाउने भन्दै नेपालमा ल्याएर बन्धक बनाउने तथा अवैधरुपमा नेपाल बस्ने घटना देखिन थालेकाले निगरानी बढाइएको प्रहरीले जनाएको छ ।

पोखरा:       नेपाल शैक्षिक परामर्श संघ कास्की (इक्यान)ले पोखरामा बृहत शैक्षिक बहस कार्यक्रम गर्ने भएको छ ।   इक्यान कास्कीले आज (सोमबारं पोखरामा पत्रकार सम्मेनल गर्दै चैत ३० गते शैक्षिक बहस कार्यक्रम गर्न लागेको जानकारी दिएको हो ।  नेपाल शैक्षिक परामर्श संघ कास्कीका उपाध्यक्ष सन्तोष शाहीले चैत ३० गते पोखरामा शैक्षिक बहस कार्यक्रम आयोजना गरिएको बताए । ‘हामीले चैत ३० गते राष्ट्र निर्माणको लागि विश्वव्यापी शिक्षा विषयमा बहस गर्दै छौं’, उपाध्यक्ष शाहीले भने, ‘कार्यक्रममा तीन सेसन हुन्छ, पहिलो र दोस्रो सेसनमा प्यानल डिस्कसन हुनेछ भने तेस्रो सेसनमा मुख्य वक्ताको विचार सुन्ने छौं जसमा मुख्य वक्तामा महानायक राजेश हमाल आउनुहुन्छ ।’ उनका अनुसार अन्य वक्तामा भने गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी,पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी विश्वविद्यालयका विज्ञान तथा प्राविधि संकाय (जीपास्ट)का कार्यकारी निर्देशक डा.ढाकाराम भण्डारी, डीन प्रोफेसर डा. कपील अधिकारी र इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराई रहनेछन् । ग्लोवल एजुकेशनका विषयमा lशिक्षाविद, सरकारका प्रतिनिधि, राजनीतिज्ञ, परामर्श व्यवसायी, विद्यार्थी र यो क्षेत्रसँग सरोकार राख्ने सरोकारवालाहरु बीच स्वस्थ छलफल गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको (इक्यान) कास्कीका सचिव कमल बरालले बताए ।  कार्यक्रममा विश्व बजारमा शिक्षामा भएका परिवर्तन, त्यसको महत्व, नेपाली विद्यार्थी विदेशिनुको कारण, गुणस्तरीय शिक्षाका लागि आवश्यक नीतिनिर्माणका विषयमा छलफल हुने बरालले बताए । बहस कार्यक्रममा विदेशमा अध्ययन गरी नेपाल फर्केकाहरुको समेत अनुभव सुन्न पाइने (इक्यान) कास्कीका अध्यक्ष रमेशकुमार थापाले बताए ।  कार्यक्रममा विद्यार्थी, अभिभावकलाईसमेत बोलाइएको छ । वैदेशिक अध्ययनको विषयलाई सकरात्मक तवरले बुझाउने प्रयास स्वरुप कार्यक्रमको आयोजना गरिएको अध्यक्ष थापाले उल्लेख गरे । इक्यान कास्कीले यसअघि पनि विभिन्न शैक्षिक मेला गर्दै आएको छ । विद्यार्थीहरुको चाहनाअनुसार नै शैक्षिक मेलाको आयोजना हुने गरेको आयोजक संस्थाको भनाई छ । हाल इक्यान कास्कीमा मात्रै ४६ वटा शैक्षिक संस्था आबद्ध छन् । कार्यक्रम पोखरा सिटी स्कवायर बेनक्यूट न्यूरोडमा हुनेछ । 

मुस्ताङ:     मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका धार्मिकस्थल कागबेनी र मुक्तिनाथ मन्दिरमा आज भक्तजनको घुइँचो लागेको छ । कालीगण्डकीको तटमा अवस्थित कागबेनीमा औँसी तिथि पारेर दिवङ्गत आफन्तको नाममा पिण्डदान र पुण्य प्राप्तिका लागि मुक्तिनाथ मन्दिरको दर्शन गर्नेको बिहानैदेखि घुइँचो लागेको हो । कागबेनीस्थित जनशान्ति माविका शिक्षक मनबिर किसानले दिवङ्गत आफन्तको स्मरणमा पिण्डदान र तर्पण गर्नेहरुको बिहान ५ बजेदेखिनै कालीगण्डकी किनारमा घुइँचो लागेको जानकारी दिए । ‘चैतेदसैँअघिको औँसी तिथिमा कागबेनीमा श्रद्धा र तर्पण गरे पितृले मोक्ष पाउने धार्मिक विश्वास रहेको छ’, उनले भने, ‘नेपालका सबैजसो जिल्लाका साथै भारतबाट आएका हजारौँ भक्तजनले एकै दिन कागबेनीमा पिण्डदान गरेका छन् ।’ बडादसैँ र चैतेदसैँ सुरु हुने औँसीमा पिण्ड दान गर्दा दिवङ्गत भएकाले मुक्ति पाउने धार्मिक विश्वास छ । कागबेनीमा पिण्डदान गरेपछि भक्तजन समुन्द्री सतहदेखि तीन हजार आठ सय मिटर उचाइको मुक्तिनाथ मन्दिरको दर्शन र पूजाआजा गर्न पुग्दछन् । मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीका अनुसार विष्णु भगवान्को दर्शन, मूर्तिलाई पूजाआजा, एक सय आठ धारामा स्नान र परिसरमा रहेका दुई वटा पोखरीमा डुबिल्की मारेमा जान अञ्जानमा गरेका पाप नष्ट भई पुण्य मिल्ने धार्मिक विश्वास छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आइतबार एक हजार दुई सय सात वटा गाडीमा ११ हजार एक सय ९२ नेपाली र तीन सय ४७ जना विदेशी, शनिबार चार सय ३७ वटा गाडीमा तीन हजार पाँच सय २७ नेपाली र चार सय ५६ विदेशी पर्यटक भित्रिएका थिए । शनिबार र आइतबार मुस्ताङ भित्रिएकामध्ये अधिकांश कागबेनीमा पिण्डदान र मुक्तिनाथ दर्शन गर्ने भक्तजन रहेका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए । ‘तीर्थयात्री र पर्यटकलाई लक्षित गरेर जोमसोममा प्रहरीले स्वास्थ्य सहायता कक्ष सञ्चालन गरेको छ’, उनले भने, ‘तीर्थयात्रुको सुरक्षा, पूजा व्यवस्थापन र यातायात व्यवस्थापनमा पनि सुरक्षाकर्मी परिचालन गरिएको छ ।’ बडादसैँ र चैतैदसैँअघिको सोह्रश्रद्धा तथा औँशी तिथिमा कागबेनीमा दिवङ्गत आफन्तलाई पिण्डदान र मुक्तिनाथ दर्शन गर्ने तीर्थयात्रीको भीड लाग्ने गर्दछ । गत बर्खामा बाढीले क्षती पुर्‍याएको कागबेनीमा अस्थायी संरचना बनाएर पिण्डदान गर्ने व्यवस्था मिलाएको कागबेनीका अगुवा धारा गुरुङले बताए । वार्षिक परीक्षापछि विद्यालय बिदा भएको, अनुकूल मौसमका कारण मुस्ताङ घुम्नेको पनि चहलपहल बढेको छ । बिदाको फुर्सदमा परिवारसहित मुक्तिनाथ हुँदै कोरलासम्म घुम्न निस्किएको धवलागिरि गाउँपालिका(७ ताकमका शिक्षक जीवन पौडेलले बताए ।